ईपीजी प्रतिवेदनको अबको बाटो

लेखन, छलफल र दस्ताबेजीकरणमा सम्पूर्ण रूपमा सहभागी प्रबुद्ध समूहका सदस्यहरूको प्रतिवेदनलाई दुई देशबीचको साझा दस्तावेज बनाउन के गर्ने भन्नेमा पनि औपचारिक र अनौपचारिक तहमा छलफल भए प्रशस्त विकल्प निस्कने देखिन्छ ।
इन्द्र अधिकारी

विकसित भनिएका पश्चिमा नागरिकहरूले नेपालका गाउँघर घुमीवरी फर्कंदा लिएर जाने सन्देशहरूमध्ये सम्भवतः एउटा हो— नेपालका प्रायः गाउँले मानिसले सामान्यदेखि अति कडा रोगबारे समेत ‘विज्ञ अपिनियन’ दिँदै औषधिसम्म सुझाउने गर्छन् ।

आधुनिक स्वास्थ्य संरचनामा सहज पहुँच भएका र जे भए पनि सीधै डाक्टरकहाँ पुग्ने पश्चिमाहरूको बुझाइ आफ्नै परिवेश र विशेषताको होला, तर सिटामोल देख्नै धौधौ पर्ने नेपाली गाउँलेको त्यो ‘विज्ञता’ लाई पनि आफूलाई त्यही परिस्थितिसँग अनुकूलित गर्दै स्थानीय स्तरमा उपलब्ध झारबुटी र अस्वस्थताबीच साइनो गाँस्दै जिउने तरिका र मनोविज्ञानका रूपमा बुझ्न सकिन्छ । गाउँका हौं या सहरका, हामी नेपाली अरू धेरै विषयमा यस्तै ‘विज्ञ अपिनियन’ दिन माहिर छौं र सायद गाउँसहरका चोकचोक र चियापसलदेखि सेमिनार हलसमेतमा सबभन्दा ‘विज्ञ बहस’ हुने विषय नेपाल–भारत सम्बन्धको आयाम नै हुने गर्छ ।

आन्तरिक राजनीतिको हरेक आयाममा, चाहे कुनै दल बनोस् या टुक्रियोस्, कुनै नेताले चुनाव जितोस् या हारोस्, कोही मान्छेले कुनै पद पाओस् या गुमाओस्, भारतलाई जबर्जस्ती घुसाउनु नेपालमा परम्परा नै बनिसकेको छ । देशका मन्त्री या प्रधानमन्त्री जब भारत जाने प्रसंग आउँछ, समाजको हरेक तप्का आफूअनुकूलको मेनु सुझाउन उद्यत देखिन्छ भने ‘पपुलिस्ट’ बन्नका लागि मन्त्री–प्रधानमन्त्री पनि सुझाव संकलनको रीत पुर्‍याउँछन् ।

त्यस्ता मिटिङहरूमा आएका बुँदाहरू कति सुन्लान्, टिपोट या मनन गर्लान्, त्यो अर्कै विषय भयो, तर तुरुन्तै चोकचोकका बहस र मिडियाका लागि मसला भने छोडिदिन्छन् र भ्रमणमा जान्छन् । त्यहाँ आफ्नै पारामा प्रस्तुति दिएर, पुरानै बुँदाहरूको पुनरावृत्ति गरेर भ्रमण असाध्यै राम्रो र सफल भएको सन्देश दिँदै फर्कन्छन् । नेतृत्वहरूबीच भेटघाट र कुराकानीले आपसी सम्बन्धमा केही ताजापन ल्याउनु त स्वाभाविकै हो, तर तत्काल कुनै नवीनतम फड्को मार्ने सम्भावना नदेखिएको विषयमा समेत पक्ष र विपक्षमा बाँडिएर सक्रियतापूर्वक बहसमा उत्रिनु हाम्रो आदत बनिसकेको छ ।

यद्यपि हरेक विषयका सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन् र यस्ता बहसले समेत कतिपय सकारात्मक सन्देश, आशा र अपेक्षाहरू दिएका अवश्य होलान् । यही सन्दर्भमा यहाँ प्रधानमन्त्री पुष्पकमल दाहालको सम्भावित भारत भ्रमणको सेरोफेरोमा केही समयदेखि अत्यधिक बहसमा ल्याइएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) वास्तवमा के थियो, के गरिनुपर्ने थियो र के बनाउन खोजिएको छ भन्नेबारे चर्चा गर्ने प्रयास गरेकी छु ।

डा. बाबुराम भट्टराई र सुशील कोइराला हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा २०७२ माघ १३ मा मन्त्रिपरिषद्को बैठकबाट नेपालतर्फका सदस्यहरूको नामावली टुंग्याएर ईपीजीले अनौपचारिक रूपमा कार्य प्रारम्भ गरेको थियो, २०७२ चैतमा । २०७३ असार २० र २१ गते काठमाडौंमा ईपीजीको पहिलो संयुक्त बैठक बस्यो । ईपीजीको नेपाल सचिवालय व्यवस्थापनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकका हैसियतमा मलाई पनि केही जिम्मेवारी आइपरेको थियो । सुरुमा सचिवालयलाई नै प्रतिष्ठानको कार्यालय तोकेर त्यहीँबाट संयोजन गर्ने निर्णय भएको थियो । तर पछि ईपीजीको अनुरोधमा छुट्टै सचिवालयसहित काम सुरु गरियो । भारततर्फ ईपीजीका लागि रक्षा अध्ययन एवं विश्लेषण संस्थानको जस्तो नेपालमा प्रतिष्ठानको कुनै भूमिका त थिएन, तर पनि बहसमा भने विषयगत अध्येता र नागरिकका रूपमा आफू निरन्तर सहभागी र अद्यावधिक रहँदै आएका आधारमा मैले यो विषय उठाउन खोजेकी हुँ ।

नेपाल–भारतबीच विगतमा भएका सबै सहमति, सम्झौता र व्यवस्थापनको पुनरवलोकन गर्ने र २१ औं शताब्दीको विकसित परिप्रेक्ष्यको आवश्यकताका आधारमा दुवै सरकारलाई सुझाव र सिफारिस गर्ने; दुई देशबीच आपसी विश्वास, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्ध थप मजबुत बनाउन आवश्यक उपायहरूको सिफारिस गर्ने; यो शताब्दीमा दुई देशबीच थप सुदृढ सम्बन्धका निम्ति आवश्यक संस्थागत संयन्त्र र ढाँचा सिफारिस गर्ने; शान्ति, समृद्धि, हार्दिकता अभिवृद्धि गर्दै सीमापार अपराध निर्मूलीकरणका निम्ति उपाय सिफारिस गर्नेजस्ता कार्यादेशको जगमा गठन भएको थियो ईपीजी । यसको गठनको औचित्यलाई थप व्यापकता दिन ‘दुई देशबीच मित्रता प्रवर्द्धन र सुदृढीकरणका लागि आवश्यक अन्य क्षेत्र सिफारिस गर्ने’ भन्ने वाक्यांशसमेत गठन दस्तावेजमा राखिएको देखिन्छ । सुरुआती बैठक नेपालमा भयो भने अर्को संयुक्त बैठक भारतमा । यसरी पाँचवटा काठमाडौंमा र चारवटा भारत (तीनवटा दिल्ली र एउटा देहरादून) मा गरी नौ बैठक र छलफल भए । तोकिएको एक वर्षको अवधिमा अर्को एक वर्ष थपेर २०७५ असारमा ईपीजीले काम सम्पन्न भएको घोषणा गरेको थियो ।

कार्यविधि आफैं बनाउन स्वतन्त्र ईपीजी तत्कालीन परिस्थितिमा कति शक्तिशाली थियो या सरकारका तालुकदार निकायहरूले त्यसलाई कति महत्त्व दिएका थिए भन्ने कुरा उक्त समूहको बजेट र समय बढाउने प्रस्तावलाई किन्तु–परन्तु नभनी सहजै सहमति दिइनु र बोलाइएका अधिकांश अनुभवी तथा अध्येताहरू सहजै उपलब्ध हुनुबाट पनि पुष्टि हुन्छ । यसरी सबैको सहयोगमा नेपाल र भारत दुवैतर्फका सदस्यहरूको सहमतिमा तयार भएको प्रतिवेदन दुवै सरकारलाई बुझाउने सवालमा देखिएको विगत चार वर्षदेखिको अन्योललाई कसरी बुझ्ने ? कतै बुझाउने प्रक्रियाका सन्दर्भमा दुई पक्षबीच अझै समूहतहमै छलफलको आवश्यकता छ कि ? यी यावत् सवालमा चर्चा नगरी हामीले ‘भारतले प्रतिवेदन बुझ्न मानेन’ भन्दै एकोहोरो भाष्य बनाइरहेका छौं कि ?

लेखन, छलफल र दस्ताबेजीकरणमा सम्पूर्ण रूपमा सहभागी प्रबुद्ध समूहका सदस्यहरूको प्रतिवेदनलाई दुई देशबीचको साझा दस्तावेज बनाउन के गर्ने भन्नेमा पनि औपचारिक र अनौपचारिक तहमा छलफल भए प्रशस्त विकल्प निस्कने देखिन्छ । ईपीजी आफैंले प्रतिवेदन पहिले भारतमा र त्यो पनि प्रधानमन्त्री तहमा बुझाउने निर्णय गरेको थियो । यो नेपालमा तीन फरकफरक दलका नेतृत्वमा बनेका सरकारहरूको पहलको परिणाम भए पनि भारतमा समूह गठनताकाकै सरकार छ, तैपनि भारतीय प्रधानमन्त्री मोदीलाई यस विषयमा कम चासो भएर या अन्य कारणले प्रतिवेदन बुझ्न ‘समय मिलेको छैन’, जुन खोजकै विषय होला, तर त्यो भन्दैमा विदेशमन्त्री या सचिव तहमा बुझाउन हुन्न भन्नेचाहिँ होइन, किनकि ती पनि सरकारकै हिस्सा हुन् । अर्को, ईपीजीका आज पनि सक्रिय रहेका सदस्यहरूको द्विपक्षीय बैठक बसेर अनुकूलता अनुसार प्रतिवेदन पहिले नेपाल सरकारलाई बुझाउने निर्णय गर्ने हो भने सायद भारतमा बुझाउने वातावरण बनाउन पनि सकिन्थ्यो ।

प्रतिवेदन भारतमा प्रधानमन्त्री तहमा यतिका वर्षसम्म पनि बुझाउन नसक्नुमा ईपीजीका भारतीय पक्षकै बढी कमजोरी देखिन्छ । त्यो तहमा सम्पर्क गर्न र विश्वस्त तुल्याउन सक्ने आत्मविश्वास थिएन वा पहुँच नपाउन पनि सक्ने अवस्था थियो भने किन ईपीजीमा प्रधानमन्त्रीलाई नै बुझाउने सहमति गरियो भन्ने प्रश्न ती सदस्यहरूतर्फ सोझिनु अन्यथा होइन । तर यस असफलताबाट सिकेर यो विषय यसरी सतहमा आउनुअगावै अन्य विकल्प नखोजी त्यही रटानमा रमाउन खोज्नु नेपाली सदस्यहरूको पनि कमजोरी हो ।

यसबीच कहीँकतै नबुझाई ‘नाइँ, भारतलाई नै र त्यो पनि प्रधानमन्त्री तहमै बुझाउने हो, नेपाली राज्यले पनि भारतमा लबिइङ गरिदियोस्’ भन्ने प्रकारको ईपीजी ‘संयोजक’ को अडान बालहठसरह देखिन्छ । आफैंमा ‘सिजन्ड’ कूटनीतिज्ञ, पूर्वपरराष्ट्रमन्त्री तथा भारतका लागि पूर्वराजदूत भेखबहादुर थापाको यस्तो अडानबीच यसमा नेपालकै अन्य सदस्यको राय के छ, सधैंझैं यस पटक पनि बाहिर आएको छैन; यसर्थ सबैको सहमति रहेकै बुझिन्छ । तैपनि ईपीजीलाई कसैले कूटनीतिक रूपमै यो भनिदिएको छैन कि, यो विषय प्रधानमन्त्री तहमा भारत भ्रमणमा उठाउनुपर्ने द्विपक्षीय प्रमुख एजेन्डा हुन सक्दैन किनभने यसका लागि द्विपक्षीय नै सहमति चाहिन्छ ।

प्रतिवेदन नेपालमा र भारतमा पनि बुझाएर सार्वजनिक गर्न आग्रह गर्ने काम ईपीजी र नागरिक तहको हो भने सरकारी तहमा बुझेर अपनत्व लिइसकेपश्चात् संयुक्त प्रतिवेदनमा पनि समाहित तत्तत् बुँदा वा सुझावमा सरकारी तहमा सहमत भएर यसरी–यसरी कार्यान्वयनमा जाऔं भन्ने वा प्रस्ताव गर्ने वा समझदारी बनाउने जिम्मेवारी सरकारको हो ।

तर ईपीजीको नेपाल पक्षका ‘संयोजक’ यतातिर सोच्न र काम गर्नभन्दा नेपालका तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई गैरकूटनीतिक अडानका लागि आग्रह गर्ने लबिइङमा मात्र लागेनन्, २०७९ जेठ ९ मा विज्ञप्ति जारी गर्दै ‘प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीज्यूहरूलाई यथाशीघ्र हस्तान्तरण गर्ने र सो सम्भव नदेखिए जनसमक्ष ल्याउने तयारी हुँदै गरेको’ भन्नतिर समेत लागे ।

थापाले नेपालका तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई समेत तान्दै दुई देशका विज्ञहरूद्वारा संयुक्त रूपमा तयार गरिएको अनि कहीँकतै बुझाउन नपाएको र नेपाल सरकार पनि अनभिज्ञ रहेको भनिएको प्रतिवेदनलाई लिएर ‘एक्टिभिजम’ मा उत्रिए, यो नेपालको एकल पहल, चासो, सरोकार र सामर्थ्यको विषय हो भनेजसरी । कतिपय अवस्थामा त ईपीजी सदस्यले त्यसभित्रका सुझावहरूबारे पनि नेपालमा चर्चा गरे ।

परिणामतः, आजसम्म त्यही समूहमा सीमित प्रतिवेदनको हवाला दिँदै मिडिया र सर्वसाधारण पनि पक्ष र विपक्षमा तर्क गर्न थाले । प्रक्रिया नै पूरा नभई या पूरा गर्ने यथेष्ट प्रयास नै नगरी विषयलाई जनबहसमा लैजान मलजल गर्ने गरी जिम्मेवारहरू नै बहसमा उत्रिँदा ईपीजीको कूटनीतिक पहिचान र निष्ठामा अवश्य प्रश्न उठेको छ । किनभने दुई देशबीच मित्रता प्रवर्द्धन र सुदृढीकरणका लागि आवश्यक अन्य क्षेत्र सिफारिस गर्ने भन्ने उद्देश्यले गठित ईपीजीका नेपाल ‘संयोजक’ कै पपुलिस्ट दाउपेचका कारण दुई देशबीच सम्बन्धमा अरू शंका उत्पन्न हुने वातावरण बनेको छ; भारत पन्छिन खोजेको छ भनेर बुझ्ने अवस्था र सन्देशले त्यतै संकेत गर्छ । समाजले पनि ईपीजीका ‘संयोजक’ र अन्य सदस्यको नियति र असफलतामा प्रश्न गर्नुको सट्टा ‘सिजन्ड’ कूटनीतिज्ञका गैरकूटनीतिक कदममा साथ दिइरहेको देखिन्छ ।

नेपालमा धेरैजसो चल्दै आएको सन् १९५० को सन्धिको बहसलाई तीन वर्षयता ईपीजी प्रतिवेदनले प्रतिस्थापन गरिदिएको छ । सन्देश यस्तो छ मानौं शताब्दीदेखि गिजोलिएको द्विदेशीय समस्यामा यो प्रतिवेदन जादुको छडी हो र जादुगरले छु मन्तर गरेझैं यो भारतमा बुझाए सबै समस्याको स्वतः समाधान हुन्छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणका एजेन्डालाई लिएर परराष्ट्र मन्त्रालयद्वारा आयोजित छलफलका क्रममा एक पटक फेरि उही लवजमा ईपीजी ‘संयोजक’ ले प्रतिवेदनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । त्यसलाई नेपाली सञ्चारजगत्ले पनि बिनाप्रश्न समाचार बनाइदिएपछि परराष्ट्र मामिलामा ‘कखरा’ जानेबिना नै मन्त्री बनेकाहरू पनि ‘ए, साँच्चै हो कि क्या हो’ भन्नेमा नलाग्लान् भन्न सकिन्न ।

द्विदेशीय कूटनीतिक तहमा दुईमध्ये एउटा राजी नभएका विषयमा कुरा उठाउनु भनेको सहमति हुन सक्ने सम्भावना भएका अरू धेरै विषयमा पनि असहमति निम्त्याउनु हो । जुनसुकै रिपोर्ट या जेजति विषयमा बहस र चर्चा–परिचर्चा गरे पनि नेपाल र भारतका विषयहरू मुख्यतया सीमा व्यापार र एकअर्काका सुरक्षाचासोवरिपरि देखिन्छन् । ईपीजी प्रतिवेदन उल्लेख गरेर या नगरेर पनि हुने छलफलहरू यिनै विषयमा केन्द्रित हुने गर्छन् । तसर्थ ईपीजीले नै एक पटक आफैंले मन्थन गर्न र भारतीय समूहलाई साथ लिएर समाधान निकाल्नतिर लागेमा प्रतिवेदनले निकास पाउला र सम्बन्ध सुमधुरतातिरको यात्रामा सहजता होला कि ?

प्रकाशित : जेष्ठ ११, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

नागरिक बेच्ने शासकहरू

देश संगीन मोडमा आइपुगेको छ । यसलाई थप दरिद्र हुन नदिन र अघि बढाउन नेपाली समाज सामूहिक योग्यताको गठजोड गरेर देश बेच्ने शासकविरुद्ध नयाँ आँधी उमार्न अग्रसर हुन्छ कि हुँदैन, यसैले निर्धारण गर्नेछ नेपाली समाजको अबको लय ।
यस्तो लाग्छ, अब शासकहरूले बेच्न बाँकी केही छैन, देशै लिलाममा राख्नेबाहेक । हामी संसारकै गरिब, दरिद्र र हीनतर त छँदै थियौं, देशको स्वाभिमानसमेत लिलाममा चढाउनेहरूलाई पालैपालो सत्ताको गजुर पहिर्‍याउने संसारका निकम्मा मानिसहरूमा समेत दर्ज भएका छौं ।
यादव देवकोटा

विक्रम संवत् १८७१–७२ को नेपाल–अंग्रेज युद्धपछि नेपाली समाजको परम्परागत सास्कृंतिक–सामाजिक चिन्तनधाराले नयाँ अभ्यासको बाटो समात्यो ।

आफू समाहित राज्यका लागि दुई बित्ता भए पनि भूगोल जोड्ने अभ्यास नागरिक चेतनामा प्रवाहित थियो । त्यही चेतनाबाट अभिसारित मानिसहरू आफ्नो राज्यका लागि लड्नु र राज्यको भूगोल बढाउन युद्धमा सरिक हुनुलाई व्यक्तिगत अभीति र सामाजिक प्रतिष्ठाको विषयका रूपमा प्रदर्शन गर्न अनुरक्त थिए । राज्यको भूगोल बढाउन अभिघातक क्रियामा देखाउने प्रभावका आधारमा राज्य अधीनस्थ भूगोलबाट उठ्ने सिर्तोमा उसको हिस्सेदारीको पैमाना निर्धारण हुन्थ्यो । अर्थात्, सिर्तो उठाई खाने जमिनको उब्जाउको योग्यता र क्षेत्रफल निर्धारण हुन्थ्यो । शासकीय पदसोपानमा उसको हैसियतमाथि ठप्पा लाग्थ्यो ।

यसैले पनि राज्यका लागि जमिन जोड्ने अभियान नागरिकका लागि जीवन निर्वाह गर्ने र जीवन निर्वाहका लागि राज्यको निगाह प्राप्त गर्ने दैनन्दिन क्रियासमेत थियो । जीवनमरणको सवालका रूपमा नागरिकको जीवनाभ्यासमा प्रवाहित थियो । त्यही अभ्यासले उत्कर्षको स्वरूप ग्रहण गर्दा १२ हजार कुरिया भएको गोर्खा राज्य टिस्टादेखि काँगडासम्म विस्तारित भएको थियो । त्यो बेरोकटोक विस्तार अभियानले कहीँ न कहीँ अवरोधको पहाडको सामना गर्नुपर्ने नै थियो, ढिलोचाँडो ।

अनेकन् भारदार र तिनका नाबालक सन्तानसमेतको अमानवीय र नृशंस कत्लेआम गरेर सत्तामा ढलीमली गरेका भीमसेन थापालाई आफ्नो सत्तामाथि केन्द्रित नागरिक असन्तोषलाई विषयान्तर गर्ने मौका चाहिएको थियो । आजको भारतका तत्कालीन अनेकन् राज्यमाथि उपनिवेश कायम गरेर बसेको ब्रिटिस इस्ट इन्डिया कम्पनीले राज्य विस्तारको फुक्काफाल अभियानमा बत्तिएको गोर्खाबाट चुनौती महसुस गर्न थालेको थियो । परिणामतः ऊ गोर्खाली विस्तार अभियानको टाउकामा घन बजार्न अग्रसर भयो ।

बुटवल र स्युराज (शिवराज) नामका दुई गाउँको अत्तो थापेर किचलोका लागि अग्रसर ब्रिटिस चालबाजीलाई टार्नुको सट्टा (जिन्दगी नै गोर्खा राज्यको भूगोल विस्तारमा बिताएका जनरल अमरसिंह थापाजस्ता फिल्ड कमान्डरहरूले दिएको युद्ध टार्ने सल्लाह मान्नुको सट्टा) भीमसेनले राज्यलाई ब्रिटिससँगको युद्धमा होमे, आफ्नो सत्ताउपरको असन्तोषलाई विषयान्तर गर्न ।

परिणामतः राज्यका लागि एक बित्ता जमिन जोड्नसम्म कहिल्यै नलडेका भीमसेन सत्ताको हर्ताकर्ता बन्न आउँदा मौजुदा भूगोलको एकतिहाइ गुमाएर ब्रिटिससँगको युद्धमा गोर्खाली पक्षको पराजयपछि नेपाली समाजको परम्परागत सामाजिक चिन्तनधारामाथि भयानक पहिरो गयो । त्यस बखतसम्म सामूहिक स्वार्थका लागि सामूहिक प्रयत्न केन्द्रित गर्ने समाज उक्त युद्धमा गोर्खाली पराजयोप्रान्त व्यक्तिकेन्द्रित अभ्यासमा अग्रसर भयो । राज्यका लागि जमिन जोड्ने अभियान उप्रान्त राज्यको सरहदमा रहेको जमिनमा आफ्नो स्वामित्व कायम गर्ने अर्थात् आफ्ना लागि जमिन जोड्ने अभियानमा विघटित भयो । यो विघटनको सिलसिला आजपर्यन्त तीव्रतर छ ।

राज्यका लागि जमिन जोड्नेबाट राज्यभित्र आफ्ना लागि जमिन जोड्ने अभियान आरम्भ भएपछि धनसम्पत्ति जोड्न विदेशी श्रमबजारमा आफूलाई समर्पित गर्ने अभियान नालापानीको किल्लामा बहादुरीपूर्वक लडेका भनिएका बलभद्र कुँवरले पन्जाबी रणजित सिंहको फौजमा आफूलाई भाडामा लगाएर लड्न समर्पित गरेपछि आरम्भ भयो । उसो त त्यसअघि नै गोर्खा–ब्रिटिस युद्धमा गोर्खाली शासनाबाट प्रताडित कुमाउँ र गढवालका असन्तुष्ट गोर्खा अधीनस्थ भूगोलका नागरिकहरू जम्मा गरेर, पछिबाट फर्स्ट गोर्खा राइफल्स भनेर परिचय दिइएको, नासिरी बटालियन गठन गरेको थियो ब्रिटिस इस्ट इन्डिया कम्पनीले ।

ब्रिटिस जनरल अक्टरलोनी र गोर्खाली जनरल अमरसिंह थापाबीच मलाउमा भएको सम्झौताले (खासमा गोर्खाली समर्पणपत्रले) आफ्ना नागरिकलाई विदेशी फौजमा भाडामा लड्न पठाउने गोर्खाली शासकहरूको बहादुरी र स्वाभिमानी यात्राको लज्जाहीन उत्कर्षलाई आकार दियो । र, खोलियो सिरमुरको नहानमा सेकेन्ड गोर्खा राइफल्स अर्थात् सिरमुर बटालियन र थर्ड गोर्खा राइफल्स अर्थात् कुमाउँ बटालियन । त्यसपछि तीव्रतर भयो देशका नागरिकलाई भाडामा विदेशी फौजमा लड्न बेच्ने शासक स्तरको लज्जाहीन खेल ।

कहिले ब्रिटिस उपनिवेशित भूगोलमा चर्किएको आन्तरिक असन्तोष शमन गर्न त कहिले नेपाल युद्धको पक्ष नै नहुँदासमेत विश्वयुद्धमा लाखौं नेपालीलाई लड्न पठाए हाम्रा शासकहरूले, टाउको गनेर ब्रिटिस सरकारसँग भाडा असुल गर्दै ।

कतिसम्म भने, राजीखुसीले ब्रिटिसका लागि लड्न जान तयार नेपाली नागरिकको संख्या कम भएपछि सनदमार्फत भाडामा लड्न जान नागरिकलाई उर्दी जारी गरेर नजानेलाई सरकारलाई असहयोग गर्नेको सूचीमा राखिने धम्की मात्रै दिएका थिएनन्, रिक्रुट हुन आफैं तयार हुनेलाई तीन रुपैयाँदेखि विभिन्न संख्यामा रिक्रुट खोज्नेलाई इनाम दिनेसम्मको व्यवस्था गरेका थिए तत्कालीन शासक चन्द्रशमशेरले । भनिन्छ, त्यसरी ब्रिटिस फौजमा भाडामा मान्छे पठाएबापत चन्द्रशमशेरले ब्रिटिसबाट टाउको गनेर कमिसन, ‘हेड ट्याक्स’ (सलामी रकम) पाएका थिए । ब्रिटिस फौजमा त्यस बखत २ लाखभन्दा बढी नेपालीलाई भाडामा लड्न भर्ती गराइएको सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ पुस्तकमा उल्लेख गरेका छन् (पृ. १२१) । तर, बेलायतकै हाउस अफ कमन्सको डिफेन्स कमिटीले २ मार्च १९८९ मा पेस गरेको रिपोर्ट अनुसार, पहिलो विश्वयुद्धमा २ लाख ५० हजारभन्दा बढी नेपालीलाई इस्ट इन्डिया कम्पनीको फौजमा रिक्रुट गरिएको थियो (झलक सुवेदी, ब्रिटिस साम्राज्यका नेपाली मोहरा, पृ. ५४) । ब्रिटिस रिझाउने चन्द्रशमशेरको आत्मसर्मपणवादी खेलले नेपालीलाई आफ्नो उपनिवेशका नागरिकसरह भर्ती गरेको थियो आजको भारतमा उपनिवेश लादेको कम्पनी सरकारले, कलकत्तामा मुख्यालय खडा गरेर ।

यसरी एकातिर नेपाली नागरिकलाई आफूले पक्षधरता नै नलिएको युद्धमा एउटा देशको सेनामा भर्ना गराएर उसका तर्फबाट लड्न पठाइएको थियो भने, अर्कातिर नेपाली सेनालाई घोषित रूपमै कम्पनी सरकारको सहयोगार्थ परिचालन गरिएको थियो । युद्धमा परिचालित भएर गएको ब्रिटिस फौजको खाली क्याम्पको सुरक्षार्थ झन्डै १४ हजार नेपाली सैनिकको नफ्री पठाइएको थियो (नेपाली सेनाको इतिहास, २०६९, पृ. १५९) ।

...

यसरी पहिलो विश्वयुद्धमा नेपाली नागरिकलाई भाडामा लड्न पठाइएपछि कालान्तरमा त्यसले देशको आन्तरिक आर्थिक उत्पादन प्रणालीमा समेत व्यापक बदलाव ल्यायो । त्यस बखतको जनसंख्याको अनुपातमा लड्नका लागि भारा उठाई लगिएका तन्नेरीको संख्या चानचुने थिएन । मैले सन् १९९७ मा भेटेका गोरखाको सिरानचोकका एक वृद्ध गुरुङ बाले सुनाएका थिए— जम्मा चौध वर्षको उमेरका उनलाई बलजफ्ती घिसार्दै कम्पनी सरकारको फौजमा भर्ती हुन लगिएको थियो, पहिलो विश्वयुद्ध लड्न । जुँगाको रेखी आउन लागेका कलिला किशोरहरू र तिनका बालाई समेत कम्पनी फौजमा लतार्दै भर्ती हुन लपेटिएको उनले आफैं देखेका थिए ।

खेतीपाती र उत्पादनको काम गर्न सक्ने उमेरका अधिकतम मानिसलाई विदेशी फौजमा बेचेपछि देशभित्रको आन्तरिक उत्पादन चौपट भएको थियो । परिणामतः आत्मनिर्भर अर्थतन्त्रको ओरालो यात्रा त्यहीँबाट आरम्भ भयो । साढे २ लाखभन्दा बढी नेपालीलाई भाडाको सिपाहीका रूपमा बेलायतले लड्न लग्दा ५० हजार जनाभन्दा बढी युद्धमोर्चामा मारिएका थिए ।

युद्धपछि फर्केर आउँदा लडाकुहरूले १३ करोड रुपैयाँभन्दा बढी नेपाल भित्र्याएका थिए । अलिक वर्ष विदेशी फौजका लागि भाडामा लडेपछि यता आलसतालस भएर खनीखोस्री गरेको भन्दा निकै बढी धन, त्यो पनि नगदै हात परेपछि यताको परम्परागत खेतीपातीको काममा त्यसरी फर्की आएको विशालतम जनशक्तिको मन बसेन । त्यसमाथि एकपछि अर्को युद्धका कारण भर्तीको प्रक्रिया रोकिएन ।

त्यसरी लड्न गएकाहरू फर्किंदासाथमा त्यो रकम मात्रै भित्रिएन, अनेक नयाँ बानी–बेहोरा, मालताल, लवाइखवाइ पनि आए । नेपालको पहाडी भेकभरि लवाइ, खवाइ, बसाइ, घरव्यवहारमा परिवर्तन आयो । फौजी जवानले समुद्रपारबाट ल्याएको नयाँ विदेशी सामानले केही पहाडी गाउँमा भडक बढी लाहुरे नभएको गाउँमा पनि लाहुरेको हावा लाग्यो । जिन्सीको सट्टापट्टाले चलेको जुम्सो पहाडी घरव्यवहार एक्कासि नगदमा झटाझट चल्न थाल्यो (भीमबहादुर पाँडे, त्यस बखतको नेपाल, भाग १, पृ. १२१/१२३) ।

स्वदेशमा नागरिकको माग थेग्ने कुटीर उद्योग, कलकारखाना खोल्नुको सट्टा विदेशी सामानको आयात हुन थाल्यो । विदेशी मालको पैठारीमा लाग्दै आएको प्राचीन प्रतिबन्ध हटाइयो । तराईका नाकामा विदेशी महाजनलाई व्यापार गर्ने स्वीकृति दिइयो । भन्सार ठेक्कामा दिन थालियो र त्यसका लागि बोलकबोल गराउन थालियो । देशभित्रै जिल्लाजिल्लामा जगात (मालकर उठाउने अड्डा) खडा गरिए । रंगीचंगी विदेशी मालसामान छिटोछिटो झिकाउन विदेशी साहु–महाजनलाई प्रोत्साहन गरियो ।

भन्सार, जगातबाट सरकारी अधीनमा पुगेको धन पनि विदेशी बैंकमा गयो— राज्यको धन राणाको धनका रूपमा मनलाग्दी कुम्ल्याउने गरिएकाले र राणाहरूले भारतीय बैंकमा पैसा राख्ने गरेकाले त्यसरी जनताबाट खिचिएको पैसा घुमाउरो बाटोबाट जुन बाटो आएको थियो त्यही बाटो फर्कियो (भीमबहादुर पाँडे, त्यस बखतको नेपाल, भाग १, पृ. १२९/१३०) ।

...

त्यस कालदेखि यता आजसम्म पनि त्यही भइरहेको छ । लाहुर भन्नु नै कम्पनी फौज थियो पहिले । कम्पनी फिर्ता गएपछि भारतीय र बेलायती सेनामा हामीले आफ्ना नागरिकलाई भर्ती गरायौं । भर्तीमा जान नसक्नेहरूलाई तिनै लाहुरेको बाटो पछ्याउँदै भारतीय श्रमबजारमा भर्ती गरायौं— बहादुर, कुल्ली, मसल्ची आदि शीर्षकमा । त्यसले पछिबाट अरबका मरुभूमि गुलजार तुल्याउन श्रम बेच्न खाडी देशमा पुर्‍यायो नेपाली नागरिकलाई । संसारभरका श्रमबजारमा आज नेपाली नागरिक श्रम बेचिरहेका छन् । मानिसले आफूलाई सहज हुने जुनसुकै देशमा गएर पनि श्रम गर्नुलाई अन्यथा मान्न मिल्दैन, संसारभरका मानिसहरू यस्तो गरिरहेका छन्, तर छनोटको सुविधासहित जानु र अनिवार्य बाध्यताको दाम्लोमा बाँधिएर जान विवश हुनुमा भिन्नता छ । नेपालीहरू बाध्यताको चप्पल उनेर संसारको श्रमबजारमा पैताला घिसारिरहेका छन् ।

आजको नेपाली अर्थतन्त्रको सबैभन्दा ठूला आधार नै रेमिटेन्स भएको छ । तर, संसारभरका श्रमबजारमा सबैभन्दा जोखिमपूर्ण, जटिल र निम्नस्तरको वेतनमा काम गरेर नेपाली नागरिकले पठाएको रकम — आन्तरिक उत्पादन प्रणाली ध्वस्त हुँदा — जुन बाटो आएको हो, त्यही बाटो फर्किरहेको छ । देशभित्र कलकारखाना खोल्ने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने बाटो हिँड्नुको सट्टा नागरिकलाई विदेशी श्रमबजारमा निर्यात गरेर आएको रेमिटेन्सले देश चलाउने चन्द्रशमशेरका उत्तराधिकारीहरूको दास चेतनाको परिणाम (चन्द्रशमशेरले दास प्रथा उन्मूलन गरेका थिए नेपालबाट, त्यसको सट्टा देशलाई कम्पनी सरकारको दास बनाइदिएका थिए, तिनै चन्द्रले शासक खलकमा आरोपित गरेको दास चेतनाको दाम्लोबाट नेपाली सत्ता/शासकहरू मुक्त हुन सकेका छैनन्) देशको अर्थतन्त्र चौपट छ । बजेट घाटामा छ । आयात र निर्यातबीच अकल्पनीय दूरी छ ।

...

अब त हुँदाहुँदा शासकहरू राजनीतिक आवरणमा यति नग्न र लज्जाहीन व्यापारमा संलग्न भएका छन्, सत्तामा अडेस लगाएर कि देशका नागरिकलाई अनागरिक बनाएर बेच्नसमेत सत्ताको गठजोड गर्न थालेका छन्, खुलेआम । एकपछि अर्को गर्दै देशमा यति धेरै काण्ड सतहमा आएका छन् कि अब को भ्रष्ट छ भनेर खोज्न सम्भव छैन । कोचाहिँ कम भ्रष्ट छ या भ्रष्ट छैन भनेर खोज्नुपर्ने भएको छ । देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने धन्दामा उठाइएको रकम घपला हान्नेहरूमा पटकपटक प्रधानमन्त्री भएकाहरू र तिनका परिवारसमेत जोडिनु राष्ट्रिय लज्जाको विषय भएको छ ।

टोल समितिले बनाएको बाटोसमेत मैले बनाएको भन्ने, निजी क्षेत्रले चलाएको डुंगालाई समेत आफूले चलाएको ‘पानीजहाज’ भनेर ढोल पिट्ने निर्लज्ज शासक आफ्नो सत्ताले गठन गरेको समिति र त्यसको प्रतिवेदनमार्फत खेलेर नागरिक बेच्ने धन्दामा जवाफदेह नबनी टकटकिएर हिँडेको छ । आफू र आफ्ना बचाउन नानावली बतुराउँदै हिँडिरहेको छ । आफ्ना विश्वासपात्र र आफ्नै क्याबिनेटका मन्त्री–सचिवले राष्ट्रिय कागजात नै बदली देशका नागरिकलाई अनागरिक बनाएर बेच्ने खेलो चलाएको सार्वजनिक हुँदासमेत अर्को निर्लज्ज शासक राजनीतिमा गजधम्म बसिरहेको छ । यस्तो निर्लज्जता संसारमा अन्त कहाँ टिक्छ ? यस्ता निर्लज्जलाई संसारको कुन देशका नागरिकहरूले नेता, राजनेता मानेर शिरमा पहिरेर बस्छन्, नेपालमा बाहेक ?

यस्तो लाग्छ, अब शासकहरूले बेच्न बाँकी केही छैन, देशै लिलाममा राख्नेबाहेक । तिनले सत्तामा बसेर शरणार्थी बनाई आफ्ना नागरिक बेच्न नेपाल राष्ट्रको सार्वभौम स्वाभिमानसमेत लिलामीमा चढाएका छन् । राष्ट्रको अन्तर्राष्ट्रिय विश्वास धूलिसात् पारेका छन् । हामी संसारकै गरिब, दरिद्र र हीनतर त छँदै थियौं, देशको स्वाभिमानसमेत लिलाममा चढाउनेहरूलाई पालैपालो सत्ताको गजुर पहिर्‍याउने संसारका निकम्मा मानिसहरूमा समेत दर्ज भएका छौं ।

अन्यथा पालैपालो अनेक शीर्षकमा देश लुटिरहेका र देशका नागरिकलाई अनागरिक बनाएर बेच्न सामेल नांगा शासकहरू र तिनका खलकहरू यसरी खुलेआम शिर ठाडो बनाएर हिँड्न सक्ने थिएनन्, हामी चेतनामा समेत यति दरिद्र नभएका भए । यिनै नागरिक–बेचुवाहरूलाई सत्तामा चढाउन अनेकन् पटक आन्दोलनमा उत्रने हामीमा अलिकति पनि स्वाभिमान बाँकी भएको भए देशको स्वाभिमान लिलाम गराउने ज्योतिषीका भक्तहरूले साइत हेरेर संसद्को रोस्ट्रममा उभिएर हामीलाई लज्जित तुल्याउने हिम्मत गर्न सक्ने थिएनन् ।

अब नागरिक बेच्ने शासकले यो देश बचाउँदैनन् भन्ने प्रस्ट भएको छ । आजसम्म तै बिसेक बचाएको नागरिकको सामर्थ्यले हो । देश संगीन मोडमा आइपुगेको छ । यसलाई थप दरिद्र हुन नदिन र अघि बढाउन नेपाली समाज सामूहिक योग्यताको गठजोड गरेर देश बेच्ने शासकविरुद्ध नयाँ आँधी उमार्न अग्रसर हुन्छ कि हुँदैन, यसैले निर्धारण गर्नेछ नेपाली समाजको अबको लय ।

प्रकाशित : जेष्ठ ११, २०८० ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×