कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बौद्ध सम्पदा, संस्कृति र पशुपति

पशुपति महादेवलाई काठमाडौं उपत्यकाका बौद्ध तामाङहरू अद्यापि घुलाङ फोद्राङ (नन्दीनाथ) का रूपमा सम्बोधन गर्छन् । वज्रयानी नेवार समुदायले पशुपतिलाई श्रीहेरुक अर्थात् धर्मपाल मञ्जुश्रीका रूपमा लिन्छन् ।
मल्ल के. सुन्दर

सर्वविदितै छ, पशुपतिनाथ शैव र हिन्दुहरूका एक प्रमुख आराध्यदेव हुन् र पशुपति क्षेत्रलाई सोही अनुरूप व्याख्या पनि गर्ने गरिन्छ । वागमति नदीको पूर्व–पश्चिम दुई सय चालीस हेक्टरमा फैलिएको श्लेष्मान्तक वनलाई पाशुपत रूप धारण गरेका महादेवको क्रीडास्थल भनिएको छ । गोपालराज वंशावली अनुसार त्यहाँ कुनै समय ज्वलनशील ग्यास निस्किन्थ्यो, आगोको मुस्लोजस्तै । नेप नामक ग्वालाले त्यसको भेउ पाएको थियो ।

बौद्ध सम्पदा, संस्कृति र पशुपति

कालान्तरमा त्यस ज्योतिर्लिंगलाई दैवी शक्तिको स्वरूप मानेर राजा सुपुष्पद्वारा त्यसमाथि मन्दिर निर्माण गरियो । इतिहासकारहरूका अनुमानमा यो विक्रम संवत् ४९० तिरको कुरा हो । शिवदेव द्वितीयले विक्रम संवत् ७५० मा तामाको छानासहित त्यहाँ मन्दिर बनाए । अनन्त मल्ल राजा भएपछि विक्रम संवत् १३५१ मा मन्दिरको छानामा सुनको मोलम्बा लगाउन लगाए ।

तर विक्रम संवत् १४०६ मा बंगालका सुल्तान समसुद्दिनबाट उपत्यकामा गरिएको विध्वंस र लुटपाटका क्रममा पशुपतिको शिलामूर्ति तीन टुक्रा हुने गरी नष्ट भयो । बनेपाका महासामन्त जयसिंह रामवर्द्धनले पछि मन्दिरको पुनर्निर्माण तथा पशुपतिको मुखलिंग प्रतिष्ठापित गराए । ऐतिहासिक कालक्रममा अनेक शासकले पशुपति मन्दिरको भौतिक अवस्था आकर्षक र व्यवस्थित बनाउन अनेक सुधार गरे । शिवरात्रि, बालाचतुर्दशी र तीज एवं हरिबोधनी र हरिशयनी एकादशीका दिन लाखौं भक्तजनको घुइँचो लाग्ने पशुपतिलाई हिन्दु आख्यानहरूले चार धाममध्ये शीर्षस्थानको मान्यता दिएका छन् ।

तर धेरैलाई थाहा नहुन सक्छ, पशुपतिनाथ र त्यो परिसरले हिन्दु तथा शैवहरूका लागि मात्र होइन, बौद्ध सम्प्रदायका लागि पनि त्यत्तिकै ऐतिहासिक र धार्मिक महत्त्व राख्छ । त्यहाँ छरपरस्ट रूपमा भेटिने कतिपय पुरातात्त्विक तथा धार्मिक स्मारक र अन्य अवशेषले पनि त्यस स्थानसँग बौद्ध समुदायहरूको सम्बन्धलाई उजागर गर्छन् । तीमध्ये एक हो— विश्वरूप मन्दिरसँगैको चैत्य, वास्तुकला हेर्दा जुन पूर्वलिच्छविकालीन हुन सक्ने अनुमान गरिन्छ । त्यस्तै, राजराजेश्वरी घाटमा अवस्थित भविष्य व्याकरण मुद्रामा उभिएका बुद्धको मूर्ति अर्को महत्त्वपूर्ण सम्पदा हो । हालसम्म उपत्यकाभित्र बुढानीलकण्ठ तथा काठमाडौं महानगरपालिका–२५ बांगेमुढामा मात्र यस खाले बौद्ध कलाकृति भेटिएका छन् । प्राचीन कला अनि आकृतिका आधारमा ती मूर्तिहरू चौथो वा पाँचौं शताब्दीको हुन सक्ने अनुमान छ । पशुपति मन्दिर परिसरमै बौद्ध मान्यताका धर्मचक्रअंकित शिलामूर्ति, बौद्ध तोरण तथा अन्य कलाकृतिका अवशेषहरू पनि पाइएका छन् । यस अतिरिक्त विरूपाक्षको प्राचीन मूर्तिको अस्तित्वबाट पनि अरू थप कुरा उजागर हुन सक्लान् । यद्यपि विरूपाक्षका सम्बन्धमा किरात राजा, कलि मूर्ति, मातृसम्भोगमा फसेका अधर्मी आदि थरीथरी आख्यान र लोकोक्ति पाइन्छन् । तर संस्कृतिविद् र इतिहासकारहरू उनलाई मूलतः बौद्ध धर्म अनुयायीका रूपमा स्विकार्छन् । अध्येताहरूका लागि इतिहासका वास्तविक सत्यतथ्यसम्म पुग्न यी सब बलिया आधार बन्न सक्छन् ।

काठमाडौं उपत्यकाको भूबनोट विशिष्ट प्रकृतिको छ । त्यति बेला स्वच्छ र सुन्दर पर्यावरण, खोला, नाला, झरना अनि वनजंगलले जोकोहीलाई उद्वेलित गरिदिन सक्थे । सम्भवतः यिनै कारणले प्रागैतिहासिक कालदेखि नै आत्मचिन्तन, आध्यात्मिक ज्ञानप्राप्तिको खोजमा लाग्नेहरूले, सिद्ध–महापुरुषहरूले उपत्यकाभित्र यत्रतत्र साधना गरेका प्रसंग हामी पाउँछौं । आदिबुद्धहरूमध्ये विपश्वी बुद्ध उपत्यकाको उत्तर–पश्चिम पर्वत जामाच्व (नागर्जुन) मा आई साधनारत भएका थिए । स्वयम्भूपुराण अनुसार, जलमग्न नागहृद दहमा उनै विपश्वी बुद्धले कमलको बीउ रोपेपछि त्यसैबाट स्वयम्भू ज्योतिपुञ्ज प्रज्वलित भए । तत्पश्चात् स्वयम्भू ज्योतिपुञ्जछेउ ध्यानस्थ हुन शिखि बुद्ध पनि उपत्यका आए । कालान्तरमा महाचीनबाट आइपुगेका मञ्जुश्रीले स्वयम्भू ज्योतिपुञ्जको दर्शनपछि लामो समय ध्यानमा बिताए । पछि उनैले चोभारको गल्छीबाट नागहृद दहको पानी निकासको व्यवस्था गरेर उपत्यकालाई मानव बसोबासका लागि योग्य बनाए । उपत्यकाको महायानी बौद्ध समाजमा यो आख्यान निकै प्रचलित छ ।

तर ऐतिहासिक रूपमा पुष्टि भएका यथार्थहरूमा हामी बौद्ध सिद्ध पद्मसम्भवको चर्चा गर्न सक्छौं । उनले आठौं शताब्दीतिर उपत्यकाको फर्पिङको गुफामा लामो समयसम्म साधना गरेर आत्मज्ञान प्राप्त गरे । यसबारे तिब्बती वृत्तान्तहरूमा यथेष्ट चर्चा भेटिन्छ । सिद्धिप्राप्तिपछि मात्र उनी धर्मप्रचारका लागि उनी तिब्बततिर लागेका थिए । ज्ञान, प्रतिभा र आत्मानुशीलनका कारण तिब्बती गेलु सम्प्रदायमाझ उनी गुरु रिम्पोच्छेका रूपमा अति सम्मानित छन् ।

त्यस्तै, बौद्ध विद्वान् ज्ञानश्री अतिशाले पनि आध्यात्मिक चिन्तनका लागि काठमाडौं उपत्यकालाई छनोट गरेका थिए । एघारौं शताब्दीतिर काठमाडौंको ठमेलस्थित विक्रमशील महाविहारमा वर्षौं बसेर उनले बौद्धिक उन्नयनको अवसर जुटाए । अर्कातिर, गौड देशका राजा प्रचण्डदेव पनि स्वयम्भूमा साधनारत भई ज्ञान प्राप्त गरे । तत्पश्चात् उनी शान्तिकर आचार्यका रूपमा चिनिए ।

तर पशुपति परिसरकै चर्चा गर्दा बौद्ध सिद्धहरूसँग सम्बन्धित अझ महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भहरू फेला पर्छन् । विशेषतः महायानी बौद्ध सम्प्रदायभित्र जसरी वज्रयान विकसित भए, तेस्रो शताब्दीपश्चात् स्थापित तन्त्र, मन्त्र र मुद्रामा आधारित साधना विधि नै यसको मूल्यमान्यता रह्यो । उत्तर भारतबाट विस्तारित यस साधना विधिले सिद्धिप्राप्तिका लागि विहार वा गुम्बाभित्र बसेर गरिने साधनाको परम्परामा परिवर्तन ल्याए । प्रकृतिसँगको सान्निध्यका लागि वनजंगलभन्दा गुफा वा कन्दरालाई ध्यानागार बनाउन थाले । कठिन योग साधनाका माध्यमबाट महामुद्राको बोध तथा महासिद्धि प्राप्त गर्ने एक मात्र लक्ष्य तय गरे । चौरासी महासिद्ध यसै सम्प्रदायका शीर्ष व्यक्तित्व हुन् ।

पशुपति परिसर र बागमती नदीको किनारा यी महासिद्धहरूका लागि साधनारत हुन पवित्रस्थल ठहरिए । तीमध्ये महासिद्ध तिलोपा वर्षौंसम्म त्यस क्षेत्रमा ध्यानमा बसे । बंगलादेशको चटगाउँमा सन् ९८८ मा ब्राह्मण कुलमा जन्मिएका उनी प्रज्ञाभद्रका रूपमा चिनिन्थे । बौद्ध विहारसँगको सामीप्यमा उनले त्रिपिटकदेखि अन्य धर्मग्रन्थबारे ज्ञान हासिल गरे । तर क्षेत्र योगिनीसँगको सम्बन्धका कारण उनी समाजबाट बहिष्कृत बने । जीविकोपार्जनका लागि तिल पेल्ने व्यवसाय गर्दै हिँडेपछि मानिसहरूले उनलाई तिली भन्न थाले । त्यसैबाट उनको पछिल्लो नाउँ तिलोपा रहन गयो । महाब्राह्मणसरह पण्डित नागर्जुन र मातंगीजस्ता विद्वान् उनका गुरु थिए । ज्ञानको तिर्खा र सिद्धिप्राप्तिको चाहनामा उनी पशुपति बागमतीको किनारा एउटा गुफामा वर्षौंसम्म चुपचाप ध्यानस्थ रहे । कठोर साधनापश्चात् अन्ततः महासिद्धि प्राप्त गरे ।

काग्यु महायानी बौद्ध लामा धर्मको एउटा प्रमुख सम्प्रदाय हो । कर्मपालाई यही सम्प्रदायका शीर्ष गुरु मानिन्छ । तिलोपाले साधनापछि जीवन र जगत् अनि सांसारिक यथार्थताका सम्बन्धमा शून्यता नै अन्तिम सत्य हो भन्ने बोध गरे र त्यसैका आधारमा उनले गीति शैलीमा उपदेश दिए । ती उपदेश नै काग्यु सम्प्रदायका लागि निर्दिष्ट सिद्धान्त बने । तसर्थ तिलोपा महासिद्धलाई काग्यु सम्प्रदायको अग्रज मानिन्छ ।

त्यस्तै अर्का थिए नारोपा, जो कुनै समय विख्यात बौद्ध ज्ञान केन्द्र विक्रमशील महाविहार, नालन्दाका क्षेत्रपाल थिए । एक पटक एउटी डाकिनीसँगको बौद्धिक अन्तरसंवादमा मुद्रा, महासिद्धि, वज्रवाराही आदिबारे आफ्नो अल्पज्ञानको बोध भएपछि उनी झस्किए । अनि पूर्ण ज्ञान र सिद्धिप्राप्तिको महायात्रामा गुरु तिलोपालाई खोज्दै नारोपा पनि काठमाडौं उपत्यका आए र पशुपति परिसर पुगे । बागमती किनारमा गुफाभित्र साधनारत महासिद्ध तिलोपासमक्ष नतमस्तक भएर ज्ञानप्राप्तिको आग्रह गरे । तिब्बती वृत्तान्तमा उल्लेख गरिए अनुसार, तिलोपाले नारोपालाई आफूसँगैको अर्को गुफामा विभिन्न छवटा आध्यात्मिक आधारबारे अभ्यास गर्न लगाए । बाह्र वर्षको कठिन साधनापछि नारोपाले पशुपति परिसरमा रहेर महासिद्धि प्राप्त गरे । उनै नारोपाबाट प्रशिक्षित शिष्यहरू थिए— तिब्बती धर्मगुरु मार्पा, मिलेरपा र लोलिपा ।

बौद्ध समुदायसँग ऐतिहासिक रूपमा यस खाले महत्त्वपूर्ण सम्बन्ध रहेकाले नै होला, पशुपति महादेवलाई उपत्यकाका बौद्ध तामाङहरू अद्यापि घुलाङ फोद्राङ (नन्दीनाथ) का रूपमा सम्बोधन गर्छन् । अनि प्रत्येक वर्ष चैत्र पूर्णिमाको एक दिनअगाडिदेखि तेस्रो दिनसम्म झिन्सेक (यज्ञ/दीप प्रज्वलन) का लागि कैलाशमा बास बस्छन् । तिमाल पर्व मनाउँछन् । उता उपत्यकाका वज्रयानी नेवार समुदायले पनि पशुपतिलाई श्रीहेरुक अर्थात् धर्मपाल मञ्जुश्रीका रूपमा लिन्छन् । अत्यन्त चाखलाग्दो पक्ष, प्रत्येक वर्ष कार्तिक शुक्ल (कछलाथ्वः) अष्टमीका दिन पशुपतिको देवपाटनका विसेतहरूले परम्परागत बाजागाजासहित एउटा भिन्न खाले जात्रा गर्ने गर्छन् ।

स्थानीय बासिन्दाहरूले तिकिन्चा जात्रा भनिने यसलाई छाया दर्शन पनि भन्ने चलन छ । पशुपतिका मुखाकृतिहरू पूर्वतर्फ तत्पुरुष, पश्चिममा सद्यजात, उत्तरमा वामदेव र दक्षिणमा अघोरका अतिरिक्त ऊर्ध्वमुख ईशान वा निराकार छन् । जात्रा गरेर ल्याएको विशेष खाले मुकुट, जसमा पञ्चबुद्धका आकृतिहरू हुन्छन्, पशुपति महादेवको ऊर्ध्वमुखमाथि दिनभरि राख्न लगाइन्छ । पञ्चबुद्ध आकृतियुक्त मुकुट पशुपतिको शिरभागमा लगाइने भएकाले त्यस दिनलाई रैथानेहरूले आजपर्यन्त आफ्नै भाषामा ‘मुख अष्टमी’ का रूपमा सम्मान गर्ने गर्छन् ।

त्यसो त एउटा लोककथन पनि छ, जस अनुसार महादेव र विरूपाक्षको सम्बन्ध तिक्ततापूर्ण थियो । कालान्तरमा बुद्धका अनुयायी बनेका विरूपाक्ष क्षुब्ध भएर महादेवलाई आक्रमण गर्न हिँडे । त्यसलाई बुद्धिमत्तापूर्वक रोक्ने युक्तिका रूपमा पुजारीहरूले पशुपति पनि बुद्ध नै हुन् भन्ने बोध गराउने चेष्टास्वरूप यसरी पशुपतिको शिरमा पञ्चबुद्धको मुकुटले छोपछाप गरेर विरूपाक्षको सम्भावित आक्रमणलाई रोकेका थिए रे !

मल्ल राजाका तर्फबाट भएको जीर्णोद्धारका क्रममा पशुपतिको सुनको गजुरको प्राणप्रतिष्ठा आफ्नै पूर्वजहरूबाट बौद्ध पूजा विधि अनुसार गरिएको थियो भनी सम्झना गर्ने बौद्ध विद्वान् र संस्कृतिविद् यज्ञमानपति वज्राचार्यको दाबी छ— पशुपति गर्भगृहका पुजारी कुनै समय देवपाटनको पिंगला विहारका वज्राचार्यहरू थिए । जयस्थिति मल्लको शासनपछि काठमाडौंको सत्तामा आएका रत्न मल्लको समयदेखि मात्र दक्षिण भारतबाट भट्ट ब्राह्मणहरूलाई पशुपतिको मूल पुजारीको जिम्मा दिइएको हो ।

खोजी अझै आवश्यक छ । तर पशुपति हिन्दु र बौद्ध सम्प्रदाय तथा संस्कृतिमाझको अन्तरसम्बन्ध र सहकार्यमा स्थापित एउटा जीवन्त स्मारकका रूपमा रहिरहेकै छ । र, यो विशिष्ट खाले इतिहासमा हामीलाई गर्व छ ।

प्रकाशित : वैशाख २२, २०८० ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×