कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

समय बदलिन्छ, बदलिन्न आमाको मन

सुनीता गाइसी

अगाध माया प्रेम र स्नेह बोकेको छ ‘आमा’ शब्दले । आमाको त्याग, तपस्या र बलिदानको चर्चा गर्न शब्दकोशमा पनि शब्दहरूको अभाव हुन्छ । आफू भोकै बसेर, आफ्ना चाहनाहरूलाई कुण्ठित पारेर सन्तानहरूका इच्छा–चाहना हाँसीहाँसी पूरा गरिदिने व्यक्ति आमा नै हुन्छिन् । हरेक दुःख, कष्ट र अभावमा पनि चन्द्रमा जस्तै उज्याली र फुर्तिली भई अगाडि बढ्ने आमा नै हुन्छिन् । आमा साथमा हुँदा संसार आफूसँगै रहेको भान हुन्छ । आमाभन्दा टाढाका बाटाहरू अँध्यारा र अप्ठ्यारा हुँदै जान्छन् । आमा एउटा ज्योति हुन्, जसले निष्पट्ट अँध्यारोमा पनि आफ्ना सन्तानका लागि उज्यालो किरण छर्न सक्छिन्, सही बाटामा डोर्‍याउन सक्छिन् ।

समय बदलिन्छ, बदलिन्न आमाको मन

एउटी आमाले आफ्ना तीन–चार जना वा अझ बढी सन्तानहरूलाई पनि हाँसीहाँसी सही शिक्षादीक्षा दिने, पालनपोषण गर्ने गर्छिन् । तर जब तिनै आमा बूढी हुन्छिन्, त्यत्रा सन्तानहरूमध्ये कसैले पनि नहेर्नाले उनको पाटीको बास भएको तीतो यथार्थ पनि हाम्रो समाजमा यत्रतत्र भेटिन्छ । छोराछोरी साना हुँदा आमावरिपरि झुम्मिएर र आमाका हात समाउँदै ‘मेरी आमा, मेरी आमा’ भनी तानातान गर्छन्, तर तिनै छोराछोरी जब कमाउने हुन्छन्, अनि ‘मेरी’ शब्द ‘तेरी’ मा परिणत भएर एकअर्कालाई ‘तेरी पनि आमा हुन् नि, हेर् न’ भन्न थाल्छन् । यति हुँदा पनि ती बूढीआमा आफ्ना सन्तानको भलो नै चाहिरहेकी हुन्छिन् । आफ्ना सन्तानहरूले गरेका हजारौं गल्तीलाई माफ गरिदिन्छिन् । छोराछोरी जति नै ठूला, जान्नेसुन्ने भए पनि आमाको नजरमा सधैं सानै हुन्छन् ।

आमाको सम्मान गर्ने दिनका रूपमा हामी वैशाख कृष्णपक्षको औंसीलाई मातातीर्थ औंसीका रूपमा मनाउने गर्छौं । यसै दिन छोराछोरीहरू टाढाटाढाबाट आमाको मुख हेर्न भेला हुने गर्छन् । आमालाई मीठो खान र राम्रो लगाउन दिएर, विभिन्न उपहार दिएर आशीर्वाद ग्रहण गर्ने चलन छ । छोराछोरीले आमाप्रति विशेष भक्तिभाव प्रकट गर्ने अवसरका रूपमा पनि यो दिनलाई लिने गरिन्छ ।

आजकै दिन विवाहित छोरीचेलीहरू आफ्नी आमालाई मन पर्ने मीठामीठा परिकार, मिठाई र उपहार लिएर माइतीघर पुग्ने गर्छन् । आमालाई भेट्न पाउँदा छोरीचेलीहरू फुरुङ्ग पर्ने गर्छन् । यस्ता भेटघाटमा उनीहरू आफ्ना समस्याहरूबारे आमा र दिदीबहिनीहरूसँग छलफल गर्ने गर्छन्, जसले उनीहरूमा नयाँ ऊर्जा थप्ने गर्छ । यस्ता चाडपर्वले महिलाहरूलाई मानसिक तनावबाट मुक्त पार्ने थेरापीको काम गर्ने गर्छन् । आमाको सही निर्देशनले छोराछोरीको भविष्य राम्रो हुने गर्छ । त्यसैले आमालाई राम्रो काउन्सिलरका रूपमा पनि लिन सकिन्छ ।

अर्कातिर, यो संसार कम्ती विचित्रको छैन । कतिपय आमाबुबा छोराछोरी भएनन् भन्दै रुँदै हिँड्छन् त कतिपय छोराछोरी आफ्ना आमाबुबालाई धुरुधुरु रुवाउँदै हिँड्छन् । हामीसँग जे छ, त्यसलाई महत्त्व दिँदैनौं, जे हामीसँग छैन वा हामीबाट पर छ, त्यसलाई बढी भाउ दिन्छौं । त्यसैले त एक गीतकारले भनेका होलान्— ‘हातैमा जे धूलो, झरेपछि त्यही सुनको फूल’... ।

कतिपय परिवारमा आमाबुबा वृद्धावस्थामा पुगेपछि अब यिनले केही गर्न सक्दैनन् भनी बोझ ठान्ने गरेको देखिन्छ, जुन अक्षम्य कुरा हो । पाका सदस्यहरू भएको घरको दैलो सधैं उघारिएको हुन्छ र तालाचाबी कसले बोक्ने भन्ने टेन्सन पनि हुँदैन । यस्ता सकारात्मक कुराहरू हामीले आफ्ना परिवारका बालबालिकालाई सिकाउँदै जानुपर्छ । आज हामी जे गर्छौं, त्यही कुरा उनीहरूले पनि भविष्यमा अवलम्बन गर्न सक्छन् । यही सन्दर्भमा एउटा पुरानो कथाको सम्झना हुन्छ । एउटा परिवारमा युवा बाबु आफ्ना बूढा बालाई डोकामा हालेर फाल्न लान ठिक्क पर्छ । यो सब उसको सानो छोराले हेरिरहेको हुन्छ । जब आफ्नो बाबु हजुरबुबालाई डोकामा बोकेर फाल्न जान तयार हुन्छ, तब त्यस बालकले बाबुलाई भन्छ, ‘हजुरबालाई मात्र फालेर आउनू, तर डोकोचाहिँ घरै ल्याउनू । भोलिपर्सि तपाईंहरू बूढाबूढी भएपछि मैले पनि यसरी नै फाल्न लानुपर्छ । त्यति बेलालाई डोको चाहिन्छ ।’ सानो छोराको कुरा सुनेर बाबु तीन छक्क पर्छ, उसको घैंटामा घाम लाग्छ । उसले आफ्ना बाको राम्रो हेरविचार गर्न थाल्छ ।

हामीले के भुल्नु हुन्न भने, हाल आफूले गरेको कामकुराले पछि आफैंलाई पिर्न सक्छ । समय निरन्तर अघि बढिरहेको हुन्छ, सन्तानप्रति आमाको मन भने उस्तै रहिरहन्छ ।

प्रकाशित : वैशाख ७, २०८० ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?