कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

किसानका नाममा को मोटाइरहेको छ ?

सम्पादकीय

किसानको जीवनस्तर उकास्न भन्दै अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय संस्थाहरूको अनुदानमा चलेका परियोजनामा भैरहेको सरकारी अधिकारी र परामर्शदाताको मिलेमतो तथा रजाइँ विडम्बनापूर्ण छ । विश्व बैंक, अन्तर्राष्ट्रिय कृषि विकास कोष, खाद्य सुरक्षा कार्यक्रमजस्ता संस्थाहरूको ऋण तथा अनुदानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेका चार आयोजनाका परामर्शदाताले मात्रै झन्डै ८९ करोड खर्च बुझ्दा किसानहरू भने जहाँको तहीँ छन् । कतिपय आयोजनाको दुईतिहाइ समय सकिँदा प्रगति भने एकतिहाइ पनि भएको छैन ।

किसानका नाममा को मोटाइरहेको छ ?

यसबाट स्वाभाविक रूपमा प्रश्नहरू उठ्छन्— यस्ता कार्यक्रम कसका लागि ? किसानका नाममा को मोटाइरहेको छ ? लक्षित वर्गभन्दा अन्यत्रै बजेट खर्च हुनुमा परियोजनाको तौरतरिकामा मात्रै कमजोरी छ कि नियतमै खोट छ, र नाम मात्र किसानको भजाइएको हो ? यस्ता परियोजनाहरूलाई सफल तुल्याउन यी प्रश्नहरूको समुचित जवाफ खोज्न आवश्यक छ ।

जगजाहेरै छ, देशका बहुसंख्यक जनता कृषिमा संलग्न छन् । कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान भने एकचौथाइबाट पनि घटिरहेको छ । र, आयातको ठूलो हिस्सा कृषिउपजमै खर्चनुपरेको छ । तैपनि खेतीकिसानी न आधुनिक हुन सकेको छ, न सम्मानित तथा मर्यादित पेसा नै । दुःखलाग्दो त किसानका नाममा सञ्चालित परियोजनाहरू स्वयं किसानकै हुन सकिरहेका छैनन् । सरकारी अधिकारीहरूको मिलेमतोका कारण परामर्शदाता मात्रै लाभान्वित भैरहेका छन् । यो चक्र वर्षौंदेखि उही छ । किसानका लागि राज्य र दातृ निकायको ठूलो बजेट खर्च हुँदा पनि त्यसका लाभभोक्ता भने परियोजनामा संलग्न कर्मचारी र परामर्शदाताहरू मात्रै बन्ने गरेका छन् । किसानको जीवनस्तर र खेतीकिसानीको अवस्था सदैव उस्तै छन् ।

आर्थिक वर्ष २०७७/७८ देखि विश्व बैंकको ऋण सहयोगमा ग्रामीण उद्यमशीलता तथा आर्थिक विकास आयोजना, २०७५/७६ देखि अन्तर्राष्ट्रिय कृषि विकास कोषको ऋण तथा अनुदान सहयोगमा कृषि क्षेत्र विकास कार्यक्रम र अन्तर्राष्ट्रिय कृषि तथा खाद्य सुरक्षा कार्यक्रम (जीएएफएसपी) को आईडीएमार्फत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, र २०७४/७५ देखि विश्व बैंकको ऋण सहयोग लगायतमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सञ्चालित छन् । यी चारै आयोजनामा गरी २०७८/७९ सम्ममा ५ अर्ब ८१ करोड १४ लाख खर्च भएको छ, जसमध्ये ८८ करोड ७७ लाख त परामर्श सेवामा मात्रै सकिएको हो । एउटा विपन्न देशका न्यूनवर्गीय किसानलक्षित परियोजनाको परामर्श सेवामै २२.२५ प्रतिशतसम्म खर्च हुनु आफैंमा लुटको नमुना हो ।

निश्चय पनि यस्ता परियोजनाहरूमा परामर्शदाताको आवश्यकता पर्न सक्छ; आन्तरिक जनशक्तिको क्षमताले नभ्याउने मामिलामा बाहिरका दक्ष व्यक्ति तथा संस्थाहरूलार्ई काम लगाउनुपर्ने हुन्छ । तर, यीमध्ये दुई आयोजनाले आयोजना कार्यान्वयन, अनुगमन र मूल्यांकनसमेत परामर्शदाताबाट गराएका कारण परामर्श सेवा खर्च बढ्न गएको महालेखा परीक्षकको प्रतिवेदनको ठहर छ । जबकि, आयोजना कार्यान्वयन, अनुगमन र मूल्यांकन, खरिद, लेखा लगायत आन्तरिक जनशक्तिबाटै पनि हुन सक्ने काम हुन् । तसर्थ, ‘आयोजनाका जनशक्तिले गर्न सक्ने कामका लागि परामर्श सेवा खरिद नगरी नेपाल सरकारकै जनशक्तिबाट गराई यस्तो खर्च नियन्त्रण गर्नुपर्ने’ महालेखाको सुझाव मननयोग्य छ, जसको कार्यान्वयन गरिनुपर्छ ।

परामर्श खर्च घटाउन परियोजनाका जिम्मेवार अधिकारीहरू स्वयं उत्तरदायी हुनुपर्छ, र सरकारले पनि उनीहरूलाई यसप्रति जवाफदेह तुल्याउनुपर्छ । कमिसनको लोभमा आन्तरिक क्षमताबाट हुने कामका निम्ति पनि व्यक्ति वा संस्थालाई परामर्शदाताका रूपमा नियुक्त गर्ने बेथिति तोडिनुपर्छ । उत्पादकत्व वृद्धिमा नसघाउने खर्चलाई निरुत्साहित गर्न राजनीतिक नेतृत्वले पनि अग्रसरता देखाउनुपर्छ । यसका निम्ति मन्त्री र सचिवले नै पनि आफ्ना मान्छेलाई परामर्शदाता नियुक्त गराउने लोभ त्याग्न सक्नुपर्छ, मातहतमा पनि यस सम्बन्धी निर्देशन जारी गर्नुपर्छ । जिम्मेवार सबै अधिकारीहरूले उचित तदारुकता देखाएमा अनावश्यक परामर्शदाता नियुक्त गरी परियोजना रकम सक्ने प्रवृत्तिमा सुधार ल्याउन सकिन्छ, ल्याउनु पनि पर्छ ।

यी परियोजना सकिएपछि पनि कृषिमा फेरि अरू यस्ता कार्यक्रमहरू पक्कै सञ्चालन हुनेछन् । र, अहिल्यै सुधारका पाइला नचालिएमा भविष्यका सबै कार्यक्रमहरू पनि यही दुष्प्रवृत्तिको सिकार बन्नेछन् । तसर्थ जसरी हुन्छ, दातृ निकायसित ऋण लिएर सञ्चालित परियोजनाको दुरुपयोग रोक्नुपर्छ, र लक्षित वर्गलाई अधिकतम फाइदा पुर्‍याउनुपर्छ । किसानका नाममा सञ्चालित परियोजनाका लाभभोक्ता पनि किसानलाई नै बनाउनुपर्छ ।

प्रकाशित : वैशाख ७, २०८० ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×