कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

एउटा गीतको समाजशास्त्र

हामी ठूला क्रान्ति र सिद्धान्तका कुरा गर्छौं, व्यवस्था बदल्ने कुरा गर्छौं । किनकि हामीलाई बिहानको छाक टारेर साँझ के खाने, यो सहरमा कहाँ ओत लाग्ने भन्ने पिरलो छैन । समस्या त्यहीँनेर छ ।
आन्तरिक र बाह्य मानव बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङ भन्नुहुन्छ, ‘प्रकाश सपूतको गीतले भुसको आगोजस्तो समाजमा सल्किरहेको समस्यालाई सतहमा ल्याएको छ ।’
नीलम शर्मा

पछिल्लो तथ्यांकअनुसार नेपालको ४१ प्रतिशत जनसंख्याले सामाजिक सञ्जाल प्रयोग गर्छ । यदि तपाईं टिकटकमा हुनुहुन्छ वा युट्युब हेर्नुहुन्छ भने अहिले कुन गीत ट्रेन्डिडमा छ, भनिरहनु परेन । ट्वीटर र फेसबुकतिर हुनुहुन्छ भने पनि तपाईं पक्कै जानकार हुन सक्नुहुन्छ ।

एउटा गीतको समाजशास्त्र

यदि तपाईं ५९ प्रतिशत वा सामाजिक सञ्जालको पहुँचबाहिरको जनसंख्यामा पर्नुहुन्छ, तर यस लेखको पहुँचभित्र हुनुहुन्छ भने तपाईंलाई यो जानकारी गराऊँ, केही दिनयता प्रकाश सपूतको ‘फूलमाया (सकम्बरी)’ भन्ने गीत युट्युब र टिकटकको ट्रेन्डिडमा छ । आज त्यही गीतबारे केही विमर्श गरौं ।

सकम्बरी गीतले समाजलाई तरंगीत पार्ने केही लहर उत्पन्न गरेको छ । यसले टिकटक बनाउने गजबका लाइनहरू मात्र दिएको छैन, एउटा सिंगो कथा बोकेको छ । यसलाई गीत नभनेर गीतिकथा भन्दा पनि फरक नपर्ला । कलिलो उमेरकी फूलमाया एक थान सपना सँगालेर गाउँबाट सहर पस्छे । सहर पस्नु उसको रहर नभएर बाध्यता हुन्छ । नजिकैको दाइ पर्नेले सहर जाने मेसो मिलाउँछ, काम खोजिदिन्छ, बास मिलाइदिन्छ । तर फूलमायाले सोचेको सहर र भोग्ने सहर भिन्न हुन्छ । सहरमा फूलमायाले केही कुरा पाउँछे र त्योभन्दा कैयौं बढी गुमाउँछे । सहर पुगेदेखि नै एकपछि अर्को गर्दै फूलमायाका जीवनमा विभिन्न पात्र आउँछन्— कोही दाइ बनेर, कोही ग्राहक, कोही साहु, कोही लगानीकर्ता आदि बनेर । सबैले फूलमायालाई वस्तुका रूपमा भरपूर प्रयोग गर्छन् । बिस्तारै ऊ सहरको रंगीन दुनियाँमा अभ्यस्त हुन थाल्छे । एक दिन उसले आफ्नो जीवनलाई पुनः आफ्नै नियन्त्रणमा लिन्छे र सकम्बरी बन्छे । विम्बकै रूपमा पनि सकम्बरी बन्नु यो समाजका लागि आजको दिनमा पनि चुनौती हो । उसको यौनिकता र गतिशीलतामा नियन्त्रण गर्दै नाफा लुट्न अभ्यस्त वर्ग, समूह र लिंगलाई यो सह्य हुने कुरै भएन । जमातले ऊमाथि चोरीऔंलो ठड्याउँदै भन्छ- तँ पापिनी होस्, कुलंगार होस्, इज्जत नभएकी बेसरम होस् ।

सपूतले यो गीत वयस्क मनोरञ्जन क्षेत्रमा काम गर्ने एक श्रमिक युवतीको जीवनमा आधारित भएर बनाएका छन् ।

के हो वयस्क मनोरञ्जन क्षेत्र ?

नेपालमा डान्सबार, डान्स रेस्टुरेन्ट, क्याबिन रेस्टुरेन्ट, दोहोरी साँझ र मसाज पार्लरलाई वयस्क मनोरञ्जन क्षेत्रभित्र परिभाषित गरिएको छ, जुन परिभाषा आफैंमा अन्योलग्रस्त छ । यो क्षेत्रमा कति श्रमिकहरू काम गर्छन्, हालसम्म सरकारसँग तथ्यांक छैन । यस क्षेत्रलाई रात्रिकालीन व्यवसाय पनि भनिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार, यहाँ ४०–५० हजार श्रमिक कार्यरत छन् तर यो तथ्यांक अद्यावधिक छैन । रात्रिकालीन व्यवसाय भनिए पनि राति काम गर्ने श्रमिकहरू र तिनका विशिष्ट अधिकार र सुविधाहरूबारे श्रम ऐन मौन छ । यस क्षेत्रका श्रमिकहरू सरकारको सामाजिक सुरक्षा प्रणालीभित्र पर्दैनन् । राष्ट्रिय मानव अधिकार आयोग र विभिन्न गैरसरकारी संस्थाहरूका प्रतिवेदन अनुसार, यस क्षेत्रमा १७ प्रतिशत बालबालिका छन् र २० प्रतिशत मानव बेचबिखनबाट प्रताडित छन्; कार्यस्थलमा हुने यौन शोषण, श्रम शोषण व्याप्त छ । न्यूनतम पारिश्रमिक नभएको, ग्राहकहरूसँग बसेर धूमपान र मद्यपानसँगै इच्छा विपरीतका कामहरू गर्नुपर्ने बाध्यता रहेको, कार्यस्थल र खानपान स्वस्थ नरहेको, कर्मचारीका रूपमा नियुक्तिपत्र र आधारभूत सुविधाहरू नरहेको, सरकारले तोकेका मापदण्डहरू व्यवसायीले पालना नगरेको जस्ता धेरै तथ्य राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख छन् । एउटा अर्को अध्ययन अनुसार, ७० प्रतिशत कामदारले तलब नपाउने र ३० प्रतिशतले सरकारले तोकेको न्यूनतम मासिक तलबभन्दा कम पाउने गरेका छन् । अधिकांश श्रमिकको आयस्रोत मासिक तलब नभएर ग्राहकहरूबाट प्राप्त टिप्स र आफूले बिक्री गराएको रकमको कमिसन रहेको हुन्छ ।

को हुन् श्रमिकहरू र कसरी आइपुग्छन् यस क्षेत्रमा ?

वयस्क मनोरञ्जन क्षेत्रमा श्रमिकका रूपमा काम गर्ने युवतीहरूमा सबैभन्दा बढी सीमान्तीकृत वर्ग समुदाय (जनजाति, दलित), भूकम्प प्रभावीत जिल्ला (धादिङ, सिन्धुपाल्चोक, नुवाकोट आदि) का एवं सुदूरपश्चिम र कर्णालीका छन् । पर्पल फाउन्डेसनले आईडीएस, यूकेसँगको सहकार्यमा हालै गरेको अनुसन्धानमा पाइए अनुसार, ५४ प्रतिशतले आठ कक्षासम्म मात्र पढेका छन्, ५२ प्रतिशतले १८ वर्षभन्दा कम उमेरमा घरबाहिर काम गर्न थालेका छन् भने तीमध्येका २० प्रतिशतले १४ वर्षभन्दा कम उमेरमा काम सुरु गरेका छन् । चरम गरिबी, लैंगिक र जातीय विभेद, घरेलु हिंसा, परिवारमा आर्थिक भरथेग गर्नुपर्ने बाध्यता, सानै उमेरमा विवाह र विछोडजस्ता कारणले उनीहरू काम गर्न बाध्य छन् । डान्सबार र रेस्टुरेन्टहरूमा अनुभव र सर्टिफिकेटबिनै कसैले सिफारिस गरिदिएको भरमै काम पाइने हुनाले यो क्षेत्र उल्लिखित जनसंख्याका लागि सजिलो प्रवेशविन्दु बन्न जान्छ । ७० प्रतिशत श्रमिकहरू आफ्ना नातेदार, साथी, परिचितहरूद्वारा नै यस क्षेत्रमा काम गर्न पुर्‍याइएका हुन्छन् । तर श्रमिकहरू एउटै ठाउँमा धेरै दिन टिक्न सक्दैनन्, जसका प्रमुख कारण हुन्— तलब सुविधा नहुनु, श्रम र यौन शोषण हुनु । टिप्स नै आम्दानीको स्रोत भएको हुनाले उनीहरूले त्यसका लागि ग्राहकको माग बमोजिम काम गर्नुपर्ने हुन्छ । बहुसंख्यक ग्राहक अधबैंसे, उच्च ओहदाधारी, व्यापारी, राजनीतिकर्मीर् र वैदेशिक रोजगारीमा जान लागेका वा त्यताबाट फर्किएका हुन्छन् । श्रमिकहरू जता बढी व्यापार र आम्दानी हुन्छ, त्यतै आकर्षित हुन्छन् । त्यसपछि एक साहुबाट अर्को साहु, एक डान्सबारबाट अर्को दोहोरी ! बहुसंख्यक कामदारको यो क्रम चलिरहन्छ ।

के सबै कुरा नकारात्मक छन् ?

यस क्षेत्रको सबै कुरा नकारात्मक मात्र छैनन् । केही श्रमिक आफ्नो कला र सीप प्रस्तुत गर्ने स्थान पाएकामा खुसी छन् । केहीले प्रगति गरेका छन् । महत्त्वपूर्ण कुरा त त्यही टिप्स र कमिसनका भरमा घर चलाएका छन्, परिवार पालेका छन्, भाइबहिनी र छोराछोरी पढाएका छन्, आफ्नो पढाइलाई निरन्तरता दिएका छन् र अभिभावकको हेरचाह गरेका छन् । यस क्षेत्रले सीप र शिक्षा दुवैबाट वञ्चित समाजको सबैभन्दा पीँधमा रहेका व्यक्तिहरूलाई रोजगारी दिएको छ । समाजमा कहीँकतै अवसरबाट वञ्चितहरूले सहरमा बास पाएका छन् । केही व्यवसायी साँच्चिकै व्यावसायिक तवरबाट चलेका अनि श्रम र कलाको इज्जत गर्ने पनि नभएका होइनन् । दोहोरी घरहरूले मौलिक संस्कृतिबाट विदेशी र स्वदेशी पर्यटकहरूलाई आकर्षित गरेका छन् । सबैतिरबाट ओरालो लागेको अर्थतन्त्रमा थोरै नै भए पनि योगदान पुर्‍याएका छन् । तर दुर्भाग्य, यस्ता व्यवसायीहरू सीमित मात्र छन् । सरकारको कमजोर र अस्पष्ट नीति, अनुगमनको अभाव, व्यवसायीहरूको मनोमानी, उपभोक्तावादी बजार, महिलाको वस्तुकरणजस्ता कारणहरूले यो क्षेत्र बदनाम र विवादित छ । ठूलो संख्यामा रोजगारी सृजना गर्न सक्ने, अर्थतन्त्रलाई नै टेवा पुर्‍याउन सक्ने सम्भावनाका बावजुद यो क्षेत्र मानव बेचबिखन र शोषणको केन्द्रका रूपमा विस्तार हुँदै छ । काठमाडौं र पोखराजस्ता सहरहरूमा मात्र रहेको यो व्यवसाय देशका प्रमुख सहरहरूमा द्रुत गतिमा विस्तार हुँदै छ र एकपछि अर्को शोषणका घटनाहरू बाहिर आउँदै छन् । केही श्रमिकद्वारा नै नेतृत्व गरिएका गैससहरूले निरन्तर रूपमा यस क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन काम नगरेका होइनन्, तर सरकारको ठोस र प्रभावकारी पहलकदमीका अभावमा बेथिति बढ्दै छ ।

सकम्बरी गीतको सन्देश

गीत, नाटक, सिनेमा आदिलाई समाज देखाउने ऐना भनिन्छ । तर एउटा गीत वा सिनेमाले कति कुरा पस्कन सक्छ ? पक्कै पनि यसले कुनै निश्चित विषयवस्तुको उठान गर्ने हो, न कि त्यसभित्रका सबै समस्याको हल । समाजमा वर्तमान वा विगतमा भएका वा भइरहेका, उठाइएका वा नउठाइएका मुद्दाहरूलाई बहसको विषय बनाउन सक्नुलाई सृजनाविशेषको सफलता मान्न सकिन्छ होला । यस अर्थमा गीत प्रभावकारी छ । आन्तरिक र बाह्य मानव बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङ भन्नुहुन्छ, ‘यस गीतले भुसको आगोजस्तो समाजमा सल्किरहेको समस्यालाई सतहमा ल्याएको छ । समस्यालाई नजरअन्दाज गर्नुको सट्टा समाधानका बाटाहरू खोज्नु आवश्यक छ । हालैका वर्षहरूमा मनोरञ्जनका नाममा देशभित्र र देशबाहिर भइरहेको श्रम शोषण, अत्याचार, बेचबिखन, र यौनशोषणको मुद्दालाई गीतले सजीव ढंगले प्रस्तुत गरेको छ ।’

गीत सर्वगुणसम्पन्न पक्कै पनि छैन । अडियो मात्र सुन्ने, दृश्य र कथाको बहावलाई बुझ्न नसक्ने हो भने यो एकोहोरो र महिलामाथि प्रश्नैप्रश्नले भरिएको पाइन्छ । मनोरञ्जन क्षेत्रका मुद्दाहरूसँग अनभिज्ञहरूका लागि यो गीतले उठाउन खोजेका विषयलाई महसुस गर्न कठिन पर्न सक्छ । सबैभन्दा कमजोर पक्ष यसको अन्त्य हो । यहाँ सकम्बरीले आफूलाई लाञ्छित गर्नुपर्ने कुनै पनि कारण छैन तर ऊ भन्छ, ‘बाध्यतामा बाटो बिराएकाले सायद पाप मलाई पनि लाग्छ ।’ यही एउटा वाक्य समस्याग्रस्त छ । जुन परिस्थितिबाट ऊ गुज्रिई, त्यो उसको गल्ती होइन । जब समस्याको कारक फूलमाया होइन भने अपराधबोध किन ? यसले फेरि पनि प्रभावितलाई नै प्रश्न गर्ने र अपराधीकरण गर्ने मनोविज्ञानलाई बढावा दिन सक्छ । अन्त्यका केही संवाद फरक ढंगले प्रस्तुत गरिएका भए गीतको सन्देश अझै सकारात्मक हुने थियो । गीतले समस्याको चित्रण मिहिन ढंगले गरेको छ, समाजको काल्पनिक होइन कि वास्तविक चित्रण गरेको छ ।

सामाजिक सञ्जालमा उठेका तर्कहरू

अहिले सामाजिक सञ्जालमा उक्त गीतलाई लिएर पक्ष र विपक्षमा तर्कहरू आइरहेका छन् । मनोरञ्जन क्षेत्रमै काम गर्ने केही श्रमिकले व्यवसायमा समस्या छ भन्दैमा सबैलाई एउटै डालोभित्र हाल्न नहुने तर्क गरेका छन् । दोहोरी व्यवसायी तथा रात्रिकालीन मनोरञ्जन व्यवसायी संघले गीतलाई युट्युबबाट हटाउनुपर्ने माग गरेका छन् । केही अधिकारकर्मीले यसले महिलाको अस्मितामाथि प्रहार गरेको भनेका छन् । कतिपयले गीतले गलत भाष्य निर्माण गरेको भन्ने तर्क गरेका छन् । तर विरलैले यस गीतले उठाएको र उठाउन खोजेको सामाजिक यथार्थलाई बहसमा ल्याउनुपर्ने र यस क्षेत्रको सुधार हुनुपर्ने तर्क गरेका छैन । के गीतमा देखाइएका दृश्य र घटनाहरू केवल काल्पनिक हुन् ? यदि काल्पनिक हुन् भने एउटा गीतमा यति समस्या किन ? यदि होइन भने हामी सबैका अगाडि हजारौं महिलाको अस्तित्वको व्यापार भइरहेको सत्यचाहिँ हाम्रा लागि समस्याग्रस्त किन बन्दैन ? मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूले भोगिरहेका पीडाहरूप्रति हामी बोल्न, लेख्न र बहस गर्न किन उदासीन छौं ? तर तिनले भोगेका यथार्थलाई गीतमा प्रस्तुत गर्दा भने किन समस्यैसमस्या देख्छौं ? किनकि यस्ता अभिव्यक्ति दिने हामी निश्चित संरचनात्मक लाभमा बाँचेका छौं, जातको वा लिंगको वा वर्गको । बेचबिखनमा पर्ने, रात्रिकालीन व्यवसायमा श्रम गर्ने वर्ग र समूहभन्दा आफूलाई उपल्लो वर्गको सम्झिन्छौं र तिनका समस्यालाई साझा मान्न तयार हुँदैनौं । हामी ठूला क्रान्ति र सिद्धान्तका कुरा गर्छौं, व्यवस्था बदल्ने कुरा गर्छौं । किनकि हामीलाई बिहानको छाक टारेर साँझ के खाने, यो सहरमा कहाँ ओत लाग्ने भन्ने पिरलो छैन । समस्या त्यहीँनेर छ ।

हजारौं वर्षदेखि महिलाको शरीरलाई वस्तुकरण गरेर नाफा कमाउने समाज र अर्थ व्यवस्था कदाचित् महिलालाई टाउको उठाउने मौका दिन चाहँदैन । जुनसुकै अस्त्र प्रयोग गरेर होस्; चाहे मायाका नाममा होस् या सौन्दर्यका नाममा; डरधाकबाट होस् या सत्ता, शक्ति, पदको प्रभाव र लालचमा पारेर; महिलाको यौनिकतालाई प्रयोग र नियन्त्रित गरेर अर्थव्यवस्थादेखि संस्कृति, धर्म, पितृसत्ता र पुंसत्वसम्म बचाइराख्न चाहन्छ । यो नियन्त्रण कुनै निश्चित उमेरमा सीमित नभएर जन्मनुअगावै र मृत्युपश्चात् कायम राख्ने कोसिस जारी नै छ । यस गीतले थोरै मात्र भए पनि यस विषयको उठान गरेको छ । यस अर्थमा गीतका निर्माता धन्यवादका पात्र छन् । बाँकी रह्यो गीतलाई कसरी लिने भन्ने प्रश्न, कहीलेकाहीँ आफूलाई विज्ञ हुँ भन्नेहरूले पनि समस्यालाई निश्चित रंगको चस्मा लगाएर मात्र बुझ्न खोज्छन् । रंग त त्यस्तै देखिन्छजस्तो रंगको चस्मा तपाईंले लगाउनुभएको छ । त्यसैले गीत हेर्नुअगाडि तपाईंको चस्मा कुन रंगको छ, एकपल्ट हेर्नुहोला । अथवा एकै छिन त्यो चस्मालाई खोलेर खुला आँखाले पढे वा हेरेमा केही फरक पनि पाउन सकिन्छ, पूर्वदृष्टिकोणभन्दा पृथक् ।

अन्त्यमा, सकम्बरी गीतले मनोरञ्जन क्षेत्रको बेथितिको उठान गरेको छ । यसको सुधारको विकल्प छैन । यसमा सम्बन्धित सबैको ध्यान जान सकेमा र सुधारको थालनी गरेमा वास्तविक मानेमा गीतको सफलता झल्किनेछ ।

प्रकाशित : वैशाख ६, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?