२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

क्रिकेटको सफलतामा प्रतिविम्बित गणतन्त्र

क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गर्न यसका नियामक निकायमा राजनीतिक हस्तक्षेप रोकिनु मात्र पर्याप्त हुँदैन । क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ट लगानीको वातावरणसमेत बनाउनुपर्छ । व्यावसायिक घरानाहरू उदारतापूर्वक अगाडि आउनुपर्छ ।
शंकर तिवारी

सिंगो देशलाई नै उद्वेलन गर्ने गरी सकारात्मक समाचारको खडेरी हुने नेपालमा गत हप्ता क्रिकेटले अभूतपूर्व खुसी दियो । असम्भव मानिएको कीर्तिमान भंग गर्नुपर्ने जितको लक्ष्यभेदन गर्दै क्रिकेट विश्वकप छनोट खेल्न जिम्बावे पुग्ने नेपाली सपना साकार भयो । सात टोली सम्मिलित लिगमा पुछारबाट दोस्रो टोली बाँकी १२ खेलमध्ये ११ वटामा विजयी हुँदै शीर्षबाट तेस्रो स्थानमा पुग्नु एउटा चामत्कारिक पुनरागमनको इतिहास बन्यो ।

क्रिकेटको सफलतामा प्रतिविम्बित गणतन्त्र

नेपाल गणतन्त्र भएयता क्रिकेटले जति आशा र उत्साह सञ्चारित गरेको छ, त्यो अरू कमैबाट भएको छ । यो आलेख खेलकुदले उत्पन्न गर्ने मनोविज्ञान र नेपाली क्रिकेटमा प्रतिविम्बित गणतन्त्रको असली अनुहारमाथि केन्द्रित रहनेछ ।

अस्ट्रेलियाबाट प्रकाशित हुने क्रिकेटको विख्यात पत्रिका ‘वाइजडेन’ हुँदै संसारभर नेपाली क्रिकेटप्रेमी दर्शकहरूको उत्साह र रूखमा चढेर समेत खेल हेरेका दृश्यहरू फैलिए । उनीहरूले ती दृश्यलाई आर्थिक दुरवस्था वा रंगशालाको अभावभन्दा पनि खेलको ‘क्रेज’ का रूपमा देखे र दक्षिण एसियामा क्रिकेटको आत्मा विराजमान भएको टिप्पणी गरे । दक्षिण एसियामा क्रिकेट राष्ट्रियता जोड्ने कडीको बलियो आधार रहेको छ । चाहे त्यो भारत होस् वा पाकिस्तान, श्रीलंका वा बंगलादेश । भारतलाई क्रिकेटका अलावा सिनेमाले पनि जोड्छ भनिन्छ । नेपाललाई पनि गणतन्त्रको राजनीतिले उति साह्रो उत्साहित नगरेका बेला एक ढिक्का बनाउने सामर्थ्य लिएर क्रिकेट अगाडि देखा परेको छ । खेलकुदलाई राजनीतिदेखि भूराजनीति र सामरिक मनोविज्ञानसम्म जोडिएको पाइन्छ ।

लोकतान्त्रिक देशहरूले तानाशाही शासन व्यवस्था भएको देशमा आयोजना हुने खेलमा भाग लिने कि नलिने भनेर प्रशस्त बहस भएका पाइन्छन् । सन् १९३६ मा जर्मनीमा आयोजित ओलम्पिक, सन् १९७८ मा अर्जेन्टिनामा आयोजित विश्वकप फुटबल अत्यन्त चर्चित मानिन्छन् । जर्मनीमा हिटलरको नाजीवाद सुरु भइसकेको थियो । अमेरिकी ओलम्पिक कमिटीमा जर्मनीमा आयोजना हुने खेलमा भाग लिने कि नलिने भनेर मतदान हुँदा एक मतले मात्र भाग लिने कुरा सदर भएको थियो । अमेरिकाले ओलम्पिकमा पहिलो पटक १३ जना अश्वेत खेलाडीलाई सहभागी गराएको थियो । तीमध्ये २२ वर्षका जेसी ओवेन्सले चमत्कार नै गरे, एथलेटतर्फ चारवटा विश्वकीर्तिमान कायम गरेर । आर्य नस्लको श्रेष्ठतामा आधारित हिटलरको नाजी दर्शनलाई ओवेन्सको उक्त रेकर्डले चकनाचुर पारेको थियो । ओलम्पिक उद्घाटनका दिन विजेता खेलाडीलाई पदक वितरण गरेर हात मिलाएका ओवेन्सको कीर्तिमान देखेर आहत हिटलरले ओलम्पिक कमिटीका अध्यक्षसँग तत्काल परामर्श गरे, उनले केहीसँग हात मिलाउन हुने कि नहुने भनेर । कि सबै विजेतासँग मिलाउने कि कसैसँग पनि नमिलाउने भनेर सल्लाह पाएपछि हिटलरले दोस्रो दिनदेखि कोही पनि पदक विजेतासँग हात मिलाएनन् । सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएपछि अमेरिकीहरूलाई एउटा अश्वेत खेलाडीले चकनाचुर पारेको हिटलरको घमन्डलाई सिंगो अमेरिका एकढिक्का भएर लाग्दा पक्कै पनि पराजित गर्न सकिन्छ भन्ने अभिमान भएको थियो । खेलकुदको परिणामले दिने मनोविज्ञानको तागत त्यति धेरै हुन्छ । सन् १९७८ मा अर्जेन्टिनाले सनसनीपूर्ण रूपमा विश्वकप जितेपछि फुटबलको चर्चा यति धेरै भयो कि तानाशाही दमन र बर्बर हत्याका खबरहरू ओझेल परे । तत्कालीन सत्ताले खेलकुदको उपलब्धिलाई आफ्नो हितमा उपयोग गर्यो । यी दुई विश्व खेल क्षेत्रका प्रतिनिधि घटना हुन ।

त्यस्तै अर्को बिर्सन नहुने घटना सन् १९९४ मा दक्षिण अफ्रिकामा आयोजित विश्व रग्बी फुटबल प्रतियोगिताको छ । रंगभेदले गर्दा आक्रान्त दक्षिण अफ्रिकालाई जोड्ने कडीका रूपमा रग्बी वरदान साबित भएको थियो । श्वेत र अश्वेत खेलाडीहरू रंगशालामा मिलेर खेलेपछि राष्ट्रिय एकता मात्र मजबुत भएन, दक्षिण अफ्रिका विश्वविजेतासमेत बन्यो । यसको रोमाञ्चक चित्रण ‘इन्भिक्टस’ सिनेमामा गरिएको छ । खेललाई सकारात्मक रूपमा प्रयोग गर्ने कौशल तत्कालीन दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेलाले देखाएका थिए । त्यसै गरी अफगानिस्तानले छोटो समयमा क्रिकेटमा गरेको अभूतपूर्व प्रगतिले त्यो देशको आत्मबल बढाएको मानिन्थ्यो । नेपालमा पनि दोस्रो संविधानसभाबाट सन् २०१४ मा संविधान बन्ने बेला विश्वकप टी–२० खेल्दै गर्दा के मधेश के पहाड सबैतिरका सहरहरूमा सार्वजनिक रूपमा ठूला पर्दामा खेल देखाइएका थिए । तर संविधान जारी हुँदा मधेश एकातिर र बाँकी भूगोल अर्कै मुडमा थिए । खेल हुँदा सबैतिर खुसियाली थियो, तर त्यत्रो राजनीतिक उपलब्धिमा देश विभक्त थियो । खेलको जादु अप्रतिम हुन्छ, त्यसले अंकुरण गराउने राष्ट्रिय भावना अलौकिक हुन्छ । चौतर्फी निराशाबीच राजनीतिले तोडेको देशलाई समेत जोड्ने सामर्थ्य खेलले नै राख्छ ।

क्रिकेट लामो र पट्यारलाग्दो खेल मानिन्छ । त्यसैले होला, क्रिकेट ओलम्पिकमा खेलाइँदैन । सुरुआती वर्षहरूमा पाँच दिन लगाएर खेलाइने खेल (टेस्ट) पछि एक दिनमा सक्ने गरी ओडीआई फर्म्याटमा आयो । ओडीआई सुरुमा ६० ओभर खेलाइन्थ्यो भने सन् १९८० पछि मात्र ५० ओभरमा खेल्न थालियो । पछिल्लो समय ज्यादा मनोरञ्जनसमेत होस् भनेर टी–२० को अवधारणा विकसित भएको छ र क्रिकेटको लोकप्रियता बेलायतको उपनिवेश रहेका कमनवेल्थ देशहरूबाट पर पनि पुग्न सकेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको नियमक संस्था आईसीसी अलिक अनुदार पनि मानिन्छ किनकि यसले विश्वकप खेल्ने देशको संख्यालाई सीमित राख्ने गरेको छ तर राउन्ड रोबिनका आधारमा खेल खेलाएर विश्वकपको सहभागितालाई अत्यन्त प्रतिस्पर्धात्मक हैसियतमा राखेको भने छ । सन् २००७ मा १६ टिमलाई चार समूहमा गरेर खेलाइएको थियो भने २०११ र २०१५ मा १२ टिमलाई दुई समूहमा राखिएको थियो । सन् २०१९ र अब हुने २०२३ को विश्वकपका लागि १० टिम छनोट गरेर राउन्ड रोबिनका आधारमा खेलाइन्छ । यसको राजनीति तीन ठूला क्रिकेटिङ देश इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतको अह्रन–खटन ज्यादा हावी हुन्छ । क्रिकेटको आर्थिक पाटो अत्यन्त बलशाली भएकैले २००७ मा भारत पहिलो चरणबाट बाहिरिएपछि त्यो विश्वकप व्यावसायिक हिसाबले घाटामा गयो र त्यसयता विश्वकपको फर्म्याट नै फेरिँदै आएको छ ।

नेपालमा क्रिकेटको कुरा गर्दा क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को चर्चा अनिवार्य हुन जान्छ । जय कुमार नाथ शाह सन् १९६६ देखि २००६ सम्म चार दशक पूरै त्यो संस्थाको अध्यक्ष थिए । उनीपछि उनकै समितिमा ३६ वर्ष सचिव रहेका विनयराज पाण्डे अध्यक्ष बन्न पुगे । यसरी नेपाली क्रिकेटको नेतृत्व लामो समय सम्भ्रान्त वर्गको नेतृत्वमा रह्यो । पाण्डेपछि पूर्वी पहाडका टंक आबुहाङ अध्यक्ष बने । आबुहाङको कार्यकाल राजनीतिक हस्तक्षेपका कारण विवादास्पद मात्र रहेन, आईसीसीले क्यानलाई प्रतिबन्धितसम्म गर्‍यो । क्यान प्रतिबन्धका वर्षमा समेत नेपाली क्रिकेट सफलताका हिसाबले उकालो लागिरह्यो ।

पछि आईसीसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रोहबरमा निर्वाचन भएर सन् २०१९ देखि सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीका चतुरबहादुर चन्दको नेतृत्वमा नेपाली क्रिकेट अगाडि बढिरहेको छ । आबुहङ र चन्द नेपाली क्रिकेटको नेतृत्वमा पुग्नु संयोग मात्र थिएन; विश्व क्रिकेटमा दक्षिण एसियाको बढ्दो दबदबा, घरेलु राजनीतिमा देखा परेको परिवर्तन, नेपाली खेलाडीको अन्तर्राष्टिय मञ्चमा लोभलाग्दो प्रदर्शन, खेल पूर्वाधार तयार गर्न नेतृत्वमाथि बढ्दो दबाब लगायतका अनेकन् कारण छन् त्यसमा ।

महावीर कप लामो समय नेपाली क्रिकेटसँग जोडिएको एउटा मात्र प्रतिष्ठित उपाधि थियो । अहिले त समय बदलिएर पछिल्लो दशकमा आईपीएल फर्म्याटमा क्रिकेटका लिगहरू खेलाइन्छन् । सातै प्रदेश मात्र नभएर सेना र प्रहरीका समेत क्रिकेट टोली छन् । पारस खड्का, विनोद दास, वसन्त रेग्मीहरू राष्ट्रिय आइकन बनेका छन् । बलात्कार प्रकरणमा मुछिनुअगाडि सन्दीप लामिछाने टी–२० का ग्लोबल स्टार थिए । उनले आईपीएलदेखि विश्वका अनेकन् टी–२० लिगमा पाएको अवसरले पनि क्रिकेटलाई एउटा लोभलाग्दो आकर्षणको खेल बनाएको हो । क्रिकेटमा नेपाली खेलाडीका विश्वकीर्तिमान पनि छन् । महबुब आलमले ५० ओभरको खेलमा लिएका १० विकेटको कीर्तिमान अहिलेसम्म भंग भएको छैन । कम उमेरमा छिटो अर्धशतक बनाउने सचिन तेन्दुलकरको कीर्तिमान वर्तमान नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले भंग गरेको केही समयमै अर्का नेपाली खेलाडी कुशल भुर्तेलले भंग गरे जुन अहिलेसम्म कायमै छ । क्रिकेटको रेकर्ड बुकमा नेपाली प्रतिभाहरूले स्थान बनाउनु चानचुने उपलब्धि होइन । यस्तो कीर्तिमानले गर्दा नै नयाँ पिँढीलाई सफलताको अर्को सोपान चढ्न थप प्रेरणा र ऊर्जा मिल्छ ।

ओलम्पिकमा डोपिङ, क्रिकेटमा म्याच फिक्सिङ भइराख्छन् तर खेल भावना जोगाउनका लागि नियामक निकाय हरदम चनाखो रहनुपर्छ । इटालीले फुटबल लिगमा माफियाको राज चलेका बेला नै विश्वकप जित्नु संयोग मात्र होइन । यस्ता घटनाले खेलमा रोमाञ्चकता थप्ने रहेछन् । क्यान प्रतिबन्धित भएका बेला एभरेस्ट (चार संस्करण), पोखरा (दुई संस्करण) र धनगढी प्रिमियर लिग (तीन संस्करण) खेलहरू हुँदा खेलाडी जति लाभान्वित भए, क्यानको प्रतिबन्ध फुकुवा हुँदा एउटा मात्र लिग पनि बिनाविवाद सम्पन्न हुन सकेन । क्यानको संलग्नतामा भर्खर सम्पन्न लिगमा भएको म्याच फिक्सिङको छानबिन ढाकछोप शैलीमा हुनु सन्तोषजनक मान्न सकिन्न । तर राष्ट्रिय टोलीले एकपछि अर्को सफलता हात पार्दा ती कुरा ओझेलमा पर्ने सम्भावना भने हुँदो रहेछ । यसबारे वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले चतुर्‍याइँ देखाउनुपर्नेछ । नेपालमा लिग आयोजना गर्ने आधिकारिकता एभरेस्ट प्रिमियर लिगबाट क्यानको पोल्टामा पार्नुपर्नेछ । महिला क्रिकेटमा समेत नेपालको सम्भावना उत्तिकै छ ।

सन् २०१४ मा टी–२० विश्वकप खेलेदेखि नेपाललाई क्रिकेट संसारले टी–२० खेल्ने राष्ट्रका रूपमा चिनेकामा गत हप्ता सन् २०१८ मा पाएको एकदिवसीय मान्यता जोगाउन सफल भएलगत्तै एकदिवसीय क्रिकेटको सम्भावनामा समेत उक्लेर नयाँ परिचय थपिएको छ । नेपाली टिमको औसत आयु २१ वर्षमुनि छ । नेपाल जवानहरूको देश हो र सुनौलो अवसरको व्यग्र आशामा विशाल पंक्ति क्रिकेटमार्फत आफ्नो

भाग्य अजमाउन चाहन्छ भन्ने यो दरिलो प्रमाण हो । यसले देखाउँछ, क्रिकेटमा कति प्रतिस्पर्धा छ र टिममा छनोट भइराख्न मैदानमा खेलकौशल देखाइरहनुभन्दा अर्को दोस्रो उपाय छैन । अहिले जुन शैलीबाट राष्ट्रिय टिमका लागि खेलाडी चयन गरिन्छ, त्यो हेर्दा नेपाललाई जस्तो तहको सफलता मिलेको छ त्यसलाई थेग्ने, भरथेग गर्ने संरचना भने हामीसँग छैन । फ्लडलाइट र इलेक्ट्रोनिक स्कोर बोर्डको समेत व्यवस्था नभएको एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशालाबाट यो तहको उपलब्धि साँच्चै आश्चर्यजनक नै मान्नुपर्छ । यो चुनौतीको सामना गर्नतर्फ बेलैमा सचेत हुनुपर्छ । पछिल्लो दशकमा नेपाली क्रिकेटले तय गरेको लोभलाग्दो यात्राको निरन्तरतामा बाधा उत्पन्न नहोस् भनेर सचेत हुनुपर्ने भएको छ । कुनै बेला नेपालको समकक्षी रहेको अफगानिस्तानले क्रिकेट विश्वकपमा स्थान बनाइसकेको छ ।

क्रिकेटमा प्राप्त उपलब्धिलाई रक्षा गर्दै बढोत्तरी गर्न यसका नियामक निकायमा राजनीतिक हस्तक्षेप रोकिनु मात्र पर्याप्त हुँदैन । क्रिकेट पूर्वाधार निर्माण र व्यवसायीकरणका लागि यथेष्ट लगानीको वातावरणसमेत बनाउनुपर्छ । व्यावसायिक घरानाहरू उदारतापूर्वक अगाडि आउनुपर्छ । काठमाडौंमा त्रिवि खेल मैदानका अलावा मूलपानी र बुढानीलकण्ठको सुवर्णशमशेर क्रिकेट रंगशाला तयार हुँदा तीनवटा अन्तर्राष्ट्रिय स्तरका मैदान तयार हुन्छन् । मूलपानीको रंगशालामा ध्यान दिएको भए अहिले दुबईमा रहेको आईसीसी एकेडेमी त्यहीँ बन्ने थियो, सशस्त्र हिंसाको उत्कर्ष र तत्कालीन क्यान नेतृत्वको अकर्मण्यतालाई दोष दिएर पछुताउनु समयको बरबादी मात्र हुन जान्छ । अहिले पनि काठमाडौंमा तीनवटा रंगशाला तयार हुँदा एसिया कप आयोजना गर्न सकिन्छ । तटस्थ खेल मैदानको खोजीमा दुबई पुग्ने भारत र पाकिस्तानबीच खेल खेलाउन सकिन्छ । चितवन, दाङ, धनगढीका रंगशालाको मात्र नभएर हिमाल हेर्दै क्रिकेट खेल्न सकिने पोखरा रंगशालाको पनि स्तरोन्नति गर्नुपर्छ । राष्ट्रिय प्राथमिकता राखेर युद्धस्तरमा लाग्ने हो भने एक–दुई वर्षमा यी पूर्वाधार तयार गर्न सकिन्छ । त्यसका लागि राजनीतिक इच्छाशक्तिको आडमा क्रिकेट सम्बन्धी राष्ट्रिय एकीकृत परियोजना आवश्यक हुन्छ । व्यावसायिक लिगहरू राष्ट्रिय स्तर, प्रादेशिक स्तर अनि पालिका तहमा हुने हो भने क्रिकेटमा भविष्य देख्ने प्रतिभाको कमी हुने थिएन र प्रतिभाको पर्याप्तताको सुनिश्चितता हुने थियो ।

अहिले क्यानले एबीसी गरी खेलाडीहरूलाई वर्गीकरण गरेको छ जसको मासिक तलब क्रमशः ६०, ५० र ४० हजार तोकिएको छ । भारतमा आईपीएलमा छनोट हुने खेलाडीको न्यूनतम मूल्य नै २० लाख भारु छ, त्योभन्दा कैयन् गुणा ज्यादा मूल्यमा खेलाडी अनुबन्धित हुन्छन् जम्मा डेढ महिनाका लागि । रणजी, इरानी, दुलिप ट्रफीका खेलाडीहरूको रेट अलग छ । खेलाडीको टेस्टदेखि ओडीआई हुँदै टी–२० सम्मको प्रतिभाको परख ती ट्रफीहरूमा हुन्छ, उनीहरूको आर्थिक भविष्य पनि सुनिश्चित भइरहेको हुन्छ । सन् २००६ वरिपरि नेपालमा पनि द्विदिवसीय र त्रिदिवसीय खेल आयोजना हुन्थे, नेपालले त्यस्ता खेलहरूमा भाग लिएको थियो । वर्तमान कोच मोन्टी देसाई नेपाललाई टेस्ट मान्यतामा पुर्‍याउने लक्ष्य राखेको बताउँछन् । तर टी–२० र ओडीआइ (ह्वाइट बल) अनि टेस्ट (रेड बल) मा धरती–आकाशको अन्तर छ । टी–२० मा बल खेल्ने हो भने टेस्टमा समयसँग खेल्ने हो । हाम्रा खेलाडीहरूले आजका दिनमा टेस्ट खेलको सामना गर्न सक्दैनन् । टेस्टमा खेलाडीको मनोवृत्ति र शान्तभावको जुन तहको अभ्यास हुन्छ, त्यो अरूमा हुँदैन । त्यसले खेलाडीमा खास निखार ल्याउँछ ।

नेपाली क्रिकेटको सर्वाधिक चाखलाग्दो कुरा के छ भने, यसमा समावेशिता, देशको भूगोल सबै एकै पटक देख्न सकिन्छ । त्यो संवैधानिक रूपमा निर्दिष्ट गरिएको कुनै आरक्षण नभएर खेल प्रतिभाको स्वतःस्फूर्त प्रस्फुरणका कारण सम्भव भएको हो । तर यो सबै गणतन्त्रबिना सम्भव थिएन । खस–आर्य समुदाय र काठमाडौंको केन्द्रीयतालाई माथ गर्दै मुस्लिम, दलित, मधेश, सुदूरपश्चिम, आदिवासी जनजाति नै आजको राष्ट्रिय टोलीको मूल आधार बनेका छन् । भर्खर मात्र संविधानको अनुदार व्याख्या गरेर राष्ट्रपति र उपराष्ट्रपति दुवै जना पुरुष निर्वाचित भएका बेला क्रिकेट त पथप्रदर्शक साबित भएको छ । ती सब एकसेएक प्रतिभा आफ्नो खेल साधनाबाट प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा छनोट भएका हुन् । नेपाली क्रिकेटको ‘रिसोर्स पुल’ पनि अति सक्षम र दक्ष देखिन्छ जहाँ एक मात्र अवसरका लागि उनीहरू अधीर भएर प्रतीक्षा गरिरहेका छन् । एउटा खेलाडी घाइते वा बिरामी पर्‍यो भनेर निराश हुनुपर्ने अवस्था छैन । कुनै बेला नेपालले खेल जित्न कि पारस खड्का वा वसन्त रेग्मी वा शक्ति गौचन चम्कनुपर्थ्यो, अहिले नेपाली टिमका हरेक सदस्यले म्याचविनर वा खेल जिताउने सामर्थ्य राख्छन् । गत महिना भएका खेलहरूमा त्यो स्पष्ट झल्कियो ।

नेपाली टिम म्याचविनरहरूको सशक्त टिम बनेको छ । क्रिकेट खेलले परिणाम दिएको छ, जसले राष्ट्रिय रूपमा सकारात्मक भावभूमि र मनोविज्ञान तयार गरेको छ । यसमा संलग्न प्रत्येक खेलाडीले आफ्नो उत्कृष्ट कौशल देखाएका छन् । यसरी नै प्रत्येक क्षेत्रबाट सकारात्मक मनोविज्ञान पैदा हुन सक्ने हो भने नेपाल निर्माण गर्न धेरै समय लाग्दैन । क्रिकेट खेलले हामीले परिकल्पना गरेको गुणकारी गणतन्त्रमा पुग्ने पहिलो खुड्किलोमा सफलतापूर्वक टेकाएको मात्र नभएर नयाँ राष्ट्रिय मूलधारसमेत निर्माण गरेको छ । यो सफलतमा सिंगो देशको अपनत्व छ । क्रिकेट खेल, नेपाली खेलाडी र दर्शकसमेत बधाईका भागी बनेका छन् । त्यसैले त क्रिकेटमा गणतन्त्रको सग्लो अनुहार प्रतिविम्बित भएको छ ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?