यो त मेरो छोरो हो नि !

‘यो मेरी छोरी होइन, छोरो हो’ भनेर छोरीहरूको प्रशंसा झट्ट सुन्दा सकारात्मक लाग्छ, तर यसले पित्तृसत्तालाई जबर्जस्ती लाद्न खोज्ने विभेदकारी एवं आपत्तिजनक अर्थ बोकेको छ ।
प्रीति मित्तल

परिवारकी जेठी छोरी भएकाले एकै पटक अनेक जिम्मेवारी सम्हाल्नुपर्ने परिस्थितिले मलाई विचित्र अवस्थामा पुर्‍याएको छ । कुनै काम पूरा गर्न आफूमा मात्रै भर पर्नुपर्ने बाध्यताले, असुरक्षाभाव र अन्योललाई चिरेर काम फत्ते गर्नु तथा स्वतन्त्रता र सबलताका सिकाइलाई एकसाथ अघि बढाउनु कहिलेकाहीं कठिन हुँदो रहेछ । व्यक्तिगत उपलब्धि कायम राख्दै आमाबाबुप्रतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सकेकामा मेरो प्रशंसा पनि उत्तिकै हुने गर्छ । अर्कातिर, यति गर्दागर्दै पनि ‘यो मेरी छोरी होइन, छोरो हो’ भनेको सुन्दा म हरेक पटक चिमोटिने गर्छु ।

यो त मेरो छोरो हो नि !

यद्यपि छोरो जन्माउने सवालमा सामाजिक मूल्यमान्यतामा बिस्तारै परिवर्तन आउँदै गएका छन् । छोरी जन्मिँदा पनि मानिसले अब छोरो जन्मिएजत्तिकै उत्साहित भएर खुसी साटासाट गरेको पाइन्छ । तर यसबीच अचेल अर्को सामाजिक रोग पनि फैलिइरहेको छ । जानी–नजानी हामी बारम्बार यस्तो भनिरहेका हुन्छौं, जुन एक किसिमले प्रशंसा लाग्न सक्छ तर साँचो अर्थमा त्यो कसैका लागि निकै हतोत्साही वा अपमानजनक हुन सक्छ । शब्दको गलत प्रयोगले हुने अपमानका उदाहरण प्रशस्त छन् । यद्यपि यो प्रवृत्ति जारी छ । यस्तो कुरा जानाजान भनिने गरेको छ ।

‘यो मेरी छोरी होइन, छोरो हो’ भन्ने वाक्यांश प्रायः छोरीमान्छेले व्यावसायिक, शैक्षिक वा पेसागत क्षेत्रमा पाएको सफलतासँग जोडेर उसको प्रशंसामा खर्च गरिन्छ । झट्ट सुन्दा यसको अर्थ सकारात्मक लाग्छ, तर के यो साँच्चै सकारात्मक छ ? अहँ, पटक्कै छैन । बरु यसले पित्तृसत्तालाई जबर्जस्ती लाद्न खोज्ने विभेदकारी एवं आपत्तिजनक अर्थ बोकेको छ । यसले छोराजस्तै नभएसम्म छोरी बेकार हुन्छन् भन्ने बुझाउँछ । छोरीलाई सफलताको श्रेय ‘छोरा’ सँग गाँसेर मात्र दिइन्छ । छोराहरू मात्र सफल हुन्छन् भन्ने भाष्यलाई स्थापित गर्न खोजेको छ यसले । छोराको क्षमतासँग तुलना नगरेसम्म छोरीहरू आफैंमा सफलताका लागि योग्य हुँदैनन् भन्ने आम बुझाइ छ । यस्तो प्रशंसाले सम्पूर्ण महिला आफैंमा अपूर्ण हुन्छन् र छोराले मात्र आमाबाबुको राम्रो हेरविचार र पालनपोषण गर्छन् भन्ने चित्रण गर्छ । तर पूर्णताको अनुभूति दिलाउन छोरीको तुलना छोरासँग गर्नु आवश्यक छैन ।

छोरीको सफलतामा गर्व गर्दै ‘यो मेरी छोरी होइन, छोरो हो’ भन्ने मानिस समाजमा बग्रेल्ती भेटिन्छन् । नबुझिने कुरा, छोरीलाई ‘तिमी यति अब्बल छ्यौ कि तिमी त छोरो भएर जन्मिनुपर्ने’ भनेर कसरी भन्न सक्छन् आमाबुबा ? के यो साँच्चै राम्रो सन्देश हो ? छोरी भएर जन्मनु नै अभिशाप हो ? के छोरीलाई छोरासँग तुलना नगरिएसम्म जीवनमा ऊ आफ्ना जिम्मेवारी पूरा गर्न र सफलता हासिल गर्नलायक हुन्न ? हामी लोग्नेमान्छेसँग तुलना नगरी छोरीका उपलब्धिलाई प्रशंसा गर्न किन सक्दैनौं ? छोरीकै रूपमा उसले आफ्ना जिम्मेवारी निभाउँदा हामीलाई केको समस्या ? जिम्मेवारीलाई पुरुषत्वको पर्यायवाची ठान्नुपर्ने आवश्यकता किन ? उदेकलाग्दो त, कुनै छोरीले आमाबाबुलाई आफूले गर्नुपर्ने स्वाभाविक हेरचाह र सेवा गरे पनि उसलाई छोरी होइन छोराकै रूपमा हेरिन्छ ।

हामी किन सधैं ‘यो मेरी छोरी होइन, छोरो हो’ भनेर रटान लगाउँछौं ? किन यसको ठाउँमा ‘यो मेरो छोरो होइन, छोरी हो’ भन्न सक्दैनौं ? केटाहरूलाई केटी भनिँदा हीनताबोध किन हुन्छ ? आखिर महिला पनि नैसर्गिक मूल्य र भावना बोकेका मानव नै हुन् । उनीहरूलाई विपरीतलिंगीसँग तुलना गरेर, एकअर्काविरुद्ध खडा गरेर दुवै लिंगको गरिमालाई हामी अवमूल्यन गर्दै छौं । महिला र पुरुष दुवै बराबर छन्, यद्यपि उनीहरूमा एकरूपता छैन । त्यसकारण उनीहरूलाई भिन्नभिन्न भूमिका दिइएको छ । यसले कुनै पनि लैंगिक सृष्टिलाई उद्देश्यविहीन बनाउँदैन । उनीहरू दुवै आ–आफ्ना प्रयासको प्रतिफलको उत्तिकै हकदार छन् । महिला र पुरुषबीच तुलनै गर्न सकिँदैन किनकि तुलना समान वस्तुहरूमा मात्र सम्भव हुन्छ । महिला र पुरुष पूर्णतया फरक लिंग हुन् । एउटा लिंगको मौलिकता चोरेर अर्को लिंगसँग तुलना गरी कमजोर बनाउनु सरासर लैंगिक अपमान हो ।

छोरीको उपलब्धिलाई ‘छोराजस्तै छिन्’ भन्ने आवरणले ढाकेर पित्तृसत्तात्मक समाजलाई खुसी पार्ने अपमानजनक बाटो रोज्नुको साटो हामी किन मुक्तकण्ठले कामको प्रशंसा गर्न सक्दैनौं ? छोरीको मर्यादा र आत्मसम्मान निमोठिने गरी संवेदनहीन भएर छोरासँग तुलना गर्दै कमजोर र अक्षम वर्गमा राख्नु किन आवश्यक छ ? अनि छोरीलाई छोरासरह भन्ने फुर्को झुन्ड्याएर मात्र प्रशंसा गर्नुपर्ने के त्यस्तो बाध्यता छ हामीसँग ? हामी सबैलाई किन समान रूपले अँगाल्न सक्दैनौं ?

एक पटक मेरी साथीका बाबुले आफ्नी छोरीले गरिरहेको कामको बखान गर्दै उनीप्रति आफू कति गर्व गर्छु भन्ने सुनाएका थिए । यद्यपि कुरैकुरामा उनको मुखबाट हठात् ‘यो त मेरो छोरो हो’ भन्ने वाक्य निस्कियो । मलाई थाहा छ, उनी मेरी साथीलाई संसारमै सबैभन्दा बढी माया गर्छन् तर के छोरीलाई छोरीकै रूपमा स्वीकार गरेर गर्व गर्न सक्दैनन् ? के समाजमा छोरीको अस्तित्व यति धेरै निरर्थक छ र ? छोरीहरूले आफ्नै सफलता पनि छोराको आवरण पहिरिएर लिनुपर्ने ? यो कति न्यायसंगत छ ?

महिलालाई मर्यादा र सम्मान दिन नसक्नु हाम्रो सामाजिक दुर्भाग्य हो । जीवनको हरेक पाइलामा हामी छोरीहरूलाई कमजोर र निकृष्ट महसुस गराउन लागिपरेका हुन्छौं । र यो सबै घरबाटै सुरु हुन्छ । पुरुषत्वले मान्छेलाई उँचो बनाउँछ भन्ने कुरालाई एउटी महिलाले स्वतः स्वीकार गर्नुपर्ने अवस्था सृजना गरिएको छ । के उसको अस्तित्व छैन ?

तसर्थ, सबैले आफ्ना छोरीहरूप्रति यस्तो लैंगिक अपमान बन्द गरौं । उनीहरूको सम्मानजनक अस्तित्वलाई सहर्ष स्वीकार गर्दै भन्नुपर्छ, ‘उनीहरू हाम्रा छोरीहरू हुन्, हामी गर्व गर्छौं र केवल छोरीकै रूपमा रहेको हेर्न चाहन्छौं ।’ उनीहरूले चाहेको कुरा गर्न सक्छन्, त्यसो गर्ने क्षमता पनि छ । महिलाहरूले पुरुषसामु आफ्नो श्रेष्ठता प्रमाणित गरिरहनु जरुरी छैन । जीवनमा अघि बढ्न प्रोत्साहन दिने नाममा हामी किन बारम्बार छोरीलाई छोरासँग तुलना गरिरहेका हुन्छौं ? यसो गरेर हामीले प्रोत्साहन होइन घुमाउरो पाराले लैंगिक विभेद गरिरहेका छौं । छोरा र छोरीको क्षमता र प्रयासको तुलना कदापि गर्नु हुँदैन ।

कतिपय बेला छोरीहरू स्वयम् परिवारमा छोराको हैसियतमा रहेकामा खुसी भएको पनि मैले देखेकी छु । यो कुनै प्रशंसा होइन, महिलाहरूको मौलिक पहिचान नकार्नु हो । छोरीहरू आफैंमा विशेष हुन्छन् । त्यसैले कसैलाई गर्वानुभूति दिलाउन पुरुष बनिरहनु आवश्यक छैन ।

प्रकाशित : चैत्र ९, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x