सम्पादकीय

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय उडानको प्रतीक्षा

सम्पादकीय

भारतको तेलगु चलचित्र ‘आरआरआर’ को ‘नाटु–नाटु’ बोलको गीत र तमिलनाडुको कथामा आधारित लघु वृत्तचित्र ‘द एलिफेन्ट विस्परर्स’ ले गत साता ९५ औं संस्करणको ओस्करमा आ–आफ्नो विधामा उपाधि जिते ।

यसबाहेक पनि पछिल्लो समय कान्स, बर्लिन, भेनिस लगायतका प्रसिद्ध अवार्डहरूमा एसियाका चलचित्रहरूका पृथक् कथावस्तुले आकर्षण पैदा गर्न थालेका छन् । नेपाली चलचित्र त्यहाँसम्म पुग्न बाँकी नै छ, तथापि यो हाम्रा लागि पनि आशाको सञ्चार गर्ने विषय भने अवश्य हो ।

चलचित्रलाई देशको संस्कृति चिनाउने सशक्त माध्यम मानिन्छ । नेपाली समाजका लोककथा, लोकसंस्कृति र कथानक मौलिक छन् । तर पनि नेपाली चलचित्रले अन्तर्राष्ट्रिय दर्शकहरूमाझ खासै पहिचान बनाउन सकेका छैनन् । भारतले ओस्करमा पाएको सफलतासँगै नेपाली चलचित्रले पनि कहिले यसरी अन्तर्राष्ट्रिय उडान गर्ला भन्ने जिज्ञासा आम रूपमा उठिरहेको छ । आधा शताब्दी पार गरिसकेको नेपाली सिने उद्योगबाट यस्तो अपेक्षा राख्नु मुनासिब भए पनि विद्यमान अवस्थामै भने यो प्रतीक्षा छिट्टै सकिने देखिन्न ।

खुला अर्थव्यवस्थासँगै नेपाली चलचित्र बन्ने क्रम बढिरहेको छ । गुणस्तर लगायतका पक्ष कमजोर हुँदा सयौंको हाराहारीमा बन्ने चलचित्रमध्ये औंलामा गन्न मिल्नेजतिले मात्र दर्शकको मन जित्ने तथा लगानी उठाउने गरेका छन् । वितरण र प्रदर्शनका क्रममा हुने आर्थिक कारोबारसम्म पनि अझै पारदर्शी छैन । आर्थिक सुरक्षाबिना जोखिमपूर्ण वातावरणमा दक्ष जनशक्तिहरू सृजनशील बनिरहन कति सम्भव छ भन्ने पनि आफैंमा प्रश्न छ, र यसको प्रत्यक्ष असर गुणस्तरमा परेको छ । तसर्थ, यस क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि सरोकारवाला निकाय एवं सम्पूर्ण चलचित्र जगत् सुस्पष्ट नीतिका साथ उद्देश्यमूलक ढंगबाट अघि बढ्न जरुरी छ ।

व्यक्तिविशेषको चाहना, रहर र सक्रियताले मात्र घिस्रिरहेको नेपाली चलचित्र उद्योग आन्तरिक रूपमा मजबुत बन्दा मात्र विश्व बजारमा पनि फड्किन सहज हुन्छ । भारतीय सिनेकर्मीले पनि रातारात सफलता पाएका होइनन् । झन्डै शताब्दी लामो इतिहास बोकेको सिने उद्योग, अत्याधुनिक स्टुडियो र प्रविधिको व्यापक प्रयोग, विशाल बजार र निर्माताको लगानी तथा जनशक्तिको सुरक्षाको जगमा त्यहाँका चलचित्रहरू विश्वप्यापी बन्न सकेका हुन् । नेपालको अवस्था त्यस्तो छैन । अपवादबाहेक यहाँका चलचित्रले भारत वा विकसित देशका चलचित्रहरूसँग कुनै पनि विधामा सोझै प्रतिस्पर्धा गर्न सक्दैनन्, तथापि संसारलाई देखाउने कथाहरू यहाँ पनि प्रशस्त छन् । गुणस्तर एवं प्रस्तुति कला–क्षमतालाई वृद्धि गर्दै तिनै कथालाई प्राथमिकता दिन सके ढिलोचाँडो मात्रै हो, सफलता असम्भव छैन ।

चलचित्र बजारको हिसाबमा नेपालभन्दा कमजोर भुटानमा सिने उद्योग संरक्षणका लागि राज्यले नै पहल गरिदिन्छ । सिने उद्योगलाई राष्ट्रिय पहिचानको जगेर्ना, पर्यटन विकास र रोजगारीको माध्यमका रूपमा विकास गर्दै उसले आर्थिक जोखिमलाई कम गर्न आन्तरिक बजारलाई व्यवस्थित बनाएको छ । अघिल्लो ओस्करमा भुटानी चलचित्र ‘लुनाना ः अ याक इन द क्लासरुम’ अन्तर्राष्ट्रिय फिचर विधामा मनोनयनमा पर्नु यसैको नतिजा हो । सीमित स्रोत–साधनमा चलिरहेको नेपालको सिने उद्योगका लागि पनि ‘भुटान मोडल’ उपयुक्त हुन सक्छ ।

अन्तर्राष्ट्रिय अवार्डहरूमा सबल प्रतिस्पर्धीका रूपमा उभिनुअघि विदेशी दर्शकहरूलाई नेपाली चलचित्रको स्वाद बसाउन सक्नुपर्छ । निर्णायक मण्डल र प्रबुद्ध दर्शकहरूको ध्यान तान्न चलचित्रको कथा मौलिक र जुनसुकै भूगोलको दर्शक रमाउन सक्ने हुनुपर्छ । प्रविधिको व्यापक विस्तार भइरहेको पछिल्लो समय अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्न सहज माध्यम पनि छ- ओटीटी । तर, नेपालमा उत्पादन भएका चलचित्र वा वृत्तचित्रहरू भने यस्तो माध्यमसम्म पुग्न सकिरहेका छैनन् । आफ्ना उत्पादनलाई ओटीटीबाट विश्वव्यापी बनाउन कोसिस गरिरहेका निर्माता–निर्देशकहरूको अनुभव अनुसार त्यसका लागि चाहिने प्राविधिक गुणस्तर अपुग छ । यसरी स्वदेशी दर्शकहरूमाझ मात्र रुमलिरहेको नेपाली चलचित्रलाई बाहिरको बाटो हिँडाउन सम्बन्धित सबैको समुचित प्रयत्न आवश्यक छ ।

चलचित्र उद्योगमा देखापरिरहेका चुनौती एवं समस्याहरूको समाधानार्थ सरकार अन्तर्गतकै राष्ट्रिय चलचित्र विकास बोर्डले समन्वयात्मक भूमिका खोल्न सक्छ, खेल्नु पनि पर्छ । चलचित्रको आन्तरिक बजारको सुरक्षा, गुणस्तर वृद्धि, जनशक्ति र प्रविधिको समयानुकूल उपयोगका लागि यस संस्थाले विशेष योगदान दिन सक्छ । यिनै सृजनशील कामका लागि सरकारले नियमित बजेटको व्यवस्था पनि गरिदिएको छ । विडम्बना भनौं, यो संस्था भए–नभएको तात्त्विक फरक चलचित्र जगत्ले महसुस गर्न सकेको छैन । त्यहाँ बेथितिका चाङ छन् । राजनीतीकरणले थलिएको यो संस्था कार्यशाला, गोष्ठी र तालिमजस्ता गतिविधिमा मात्र सीमित छ । अझ, कारोबार पारदर्शी नभएको आरोप छ । तसर्थ चलचित्र क्षेत्रको बृहत् हितका लागि यो संस्थाको सुधार पनि अपरिहार्य छ । यसको निर्णय प्रक्रिया, योजना तथा कामकारबाहीमा सिने क्षेत्रमा संलग्नहरूको अधिक उपस्थितिलाई सुनिश्चित गर्न जरुरी छ । चलचित्र उद्योगका यस्ता अनेकन् समस्याबारे अध्ययन–बहस र निदानका लागि पहल गर्न सक्ने जल्दोबल्दो संस्थाका रूपमा यसलाई विकास गर्नुपर्छ ।

सबैको समुचित पहलबाट आन्तरिक बजार बढाउँदै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन सकेमा सम्बन्धित निर्माता, निर्देशक र कलाकारहरूको मात्र नभएर देशकै साख बढ्नेछ, नेपाली कला–संस्कृतिकै प्रचारप्रसार हुनेछ । आधुनिक विश्वमा चलचित्रलाई पनि एउटा सशक्त सौम्य शक्ति अर्थात् ‘सफ्ट पावर’ मानेर कैयौं देश यसको प्रवर्द्धनमा गम्भीरतापूर्वक लाग्न थालिसकेको परिप्रेक्ष्यमा नेपालले पनि यसको तागतलाई बुझ्न सक्नुपर्छ, र सांस्कृतिक उत्पादनका रूपमा यसको महत्त्वलाई स्वीकार गर्दै तदनुरूप अघि बढ्नुपर्छ । यसो हुन सके मात्रै नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्न सक्नेछन्, नत्र जुगौंसम्म पनि घरेलु बजारमै अस्तित्वको संघर्षमा हराइरहनेछन् ।

प्रकाशित : चैत्र ८, २०७९ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

पुरुषलाई महिला बनाएर उडाएपछि...

चालकदल, परिचारिका, निगमका ताप्लेजुङ स्टेसन प्रमुख, काठमाडौं विमानस्थलका फ्लाइट डिस्प्याचरसहितलाई कारबाही
सुरज कुँवर

काठमाडौँ — ताप्लेजुङबाट सोमबार बिहान ७:४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले जहाजमा चढेका यात्रु र लोडसिट पेपरमा केही फरक देखे । पाइलटलाई ताप्लेजुङमा बुझाइएको लोडसिटमा १० महिला र ५ पुरुष लेखिएको थियो । तर, ४५ मिनेटको उडानपछि काठमाडौं आइपुग्दा चालकदलले जहाजमा ९ महिला र ६ पुरुष देखे ।

चालकदललाई तौलमा शंका लागेपछि उनीहरूले काठमाडौं विमानस्थलको आन्तरिक टर्मिनलमा रहेका निगमका कर्मचारीलाई जहाजको अगाडि र पछाडिको भागमा रहेको कार्गो कम्पार्टेन्टमा राखिएका यात्रुहरूको सामानको पनि पुनः तौल लिन भने । स्रोतका अनुसार काठमाडौंमा गरिएको तौल जाँचमा लोडसिट पेपरमा लेखिएको भन्दा कम्तीमा १८ किलोग्राम फरक पाइयो ।

यस घटनाबारे निगमले नियमनकारी निकायलाई जानकारी गराउनुपर्ने थियो । तर, गुपचुप राखियो । ‘कुनै सूत्रबाट उडानमा लेखिएको भन्दा बढी र पुरुषलाई महिला बनाइएको घटनाको उजुरी मंगलबार आयो,’ प्राधिकरणका एक विभागीय प्रमुखले भने, ‘त्यही सूचनाका आधारमा ७ जनालाई अर्को निर्णय नहुन्जेल ग्राउन्डेड (कारबाही) गर्ने निर्णय भएको छ ।’

प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्याडर्ड विभागले उक्त उडानका चालकदल, परिचारिका, ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख, काठमाडौं विमानस्थलस्थित आन्तरिक उडानमा कार्यरत फ्लाइट डिस्प्याचरसहित ७ जनालाई ग्राउन्डेड गर्ने निर्णय भएको हो । ‘निगमको

ट्वीनअटरले लोडसिटमा भन्दा ४८ किलोग्राम अतिरिक्त भार बोकेको र एक पुरुष यात्रुलाई महिला बनाई उडाएको विषयमा कारबाही गरिएको छ,’ प्रवक्ता जगन्नाथ निरौलाले भने ।

प्राधिकरणले यस घटनामा गम्भीर कानुनी दफा आकर्षित हुने भनेको छ । ‘जहाजमा सामान र यात्रुको तौल फरक पार्नु आर्थिक हिनामिना हुँदै हो,’ यसमा अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘त्यसबाहेक जहाजको भारवहन क्षमताभन्दा बढी लोड हुनु दुर्घटनाको जोखिम भएकाले यसमा अरू कानुन पनि आकर्षित हुन्छन् ।’ ती अधिकारीका अनुसार, यस घटनाको छानबिन गर्न निगमलाई प्राधिकरणले निर्देशन दिएको छ भने ताप्लेजुङ विमानस्थलमा रहेका निगमका स्टेसन प्रमुख लोकेन्द्र लिम्बूलाई बुधबार काठमाडौं झिकाएको छ । ताप्लेजुङमा रहेको निगमको कार्यालयले लास्ट मिनेट चेन्ज (एलएमसी) अन्तिम समयमा एक जना यात्रुलाई समेट्दा पुरुषको महिला हुन गएको भनेको छ । नेपालको दुर्गम उडानमा जहाजहरूले पुरुषको औसत तौल ७५ र महिलाको तौल ६५ किलोग्राम मानेको छ । यसैका आधारमा वायुसेवा कम्पनीले जहाजको कार्गो थपघट गर्न पाउँछन् ।

पछिल्लो पटक प्राधिकरणले उडान सुरक्षा असर पर्न नदिने भन्दै कडाइ गर्दा निगमका मात्रै ४ पाइलट, ७ क्याबिन क्रु, २ प्राविधिक, १ डिस्प्याचरसहित १४ जना कारबाहीमा परिसकेका छन् । जहाज पार्किङस्थलमा परिचयपत्र र सुरक्षा पोसाक नलगाएकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही दिनअघि निगमकै कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग लिखित स्पष्टीकरण नै मागेपछि उनले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै माफी नै मागेका थिए ।

प्रकाशित : चैत्र ८, २०७९ ०६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×