वित्तीय संकटमा नेतृत्वको परीक्षा

राजस्वमा विप्रेषणले होइन कृषि उत्पादनको योगदानले, भन्सार राजस्वलाई अन्तःशुल्कको अंकले र वैदेशिक रोजगारीलाई स्वदेशी आत्मनिर्भरवादी रोजगारीले जित्नुपर्ने हो, तर हामी ‘सुनको थाली थापेर सुका भीख माग्ने’ उखान चरितार्थ गरिरहेका छौं ।
अर्जुननरसिंह केसी

नेपाल वित्तीय संकट र भ्रष्टाचारको महाचक्रव्यूहमा फसिसकेको छ । राजनीतिक खिचातानी र आर्थिक अराजकतामा रमाइरहने मनस्थिति भएकाहरूले यसलाई गम्भीरतापूर्वक लिएको भने पाइन्न । प्रधानमन्त्रीले ‘आत्तिइहाल्नुपर्ने अवस्था छैन’ भने पनि त्यसमा सनातनी भाषाबाहेक भरोसा भेटिन्न ।

३७ विकसित मुलुकहरूको संलग्नतामा गठित वित्तीय कार्यदल (फाइनेन्सियल एक्सन टास्क फोर्स- एफएटीएफ) ले गत पुसमा नेपालमा वित्तीय संकट समाधान, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र व्यावसायिक वातावरण प्रवर्द्धनसँग गाँसिएका १९ आर्थिक मामिलाका ऐनमा नवीन संशोधन, अद्यावधिक परिमार्जन र कडाइका साथ कार्यान्वयन गर्न दिएको दबाबमूलक सुझाव र सल्लाहले प्रधानमन्त्रीको भनाइसँग विमति राख्छ । राजनीतिक, आर्थिक एवं सामाजिक मानदण्डले हेर्दा मुलुक सिकिस्त बिरामी भइसकेको छ ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित न्यायिक आयोगले १ हजार ४ सय व्यक्तिको स्रोत नखुलेको विवादास्पद सम्पत्तिको छानबिनसहित कारबाही गर्न सिफारिस गरेको थियो । तर सो प्रतिवेदन रहस्यमय तरिकाले बीचैमा हरायो । सो प्रतिवेदन थन्क्याउनुकै मुख्य परिणति हो— आजको परिस्थिति ।

विगतमा कृषिबाट राजस्वमा ४२ प्रतिशत योगदान हुने गर्थ्यो, खाद्यान्न र तरकारीमा मुलुक आत्मनिर्भर थियो । अहिले चामल, गहुँ, मकै, कोदो मात्र होइन, माछा–मासु, तरकारी र फलफूलसमेत बर्सेनि करिब ६० अर्ब रुपैयाँको आयात गर्नुपर्ने अवस्था छ । ग्रामीण अर्थतन्त्र धराशायी हुँदै छ । कृषिलाई लिएर वितृष्णा बढ्दै गएको छ, जग्गा बाँझो छोड्ने दरसमेत बढिरहेको छ । रासायनिक मलको सधैं हाहाकार छ । एकातिर किसानहरूलाई आफ्नो उत्पादनको लागत उठाउन धौधौ छ, अर्कातिर सत्ताको अभयदान पाएका बिचौलियाहरूबाट किसान र उपभोक्ताहरू ठगिने क्रम घट्नुको साटो बढिरहेको छ; यसबाट हरेक घर–परिवार पीडित भइरहेको छ ।

कर छली तथा चुहावट, तस्कर व्यापार, सम्पत्ति लुकाउने लहर, आतंककारी गतिविधि, लागूऔषध लगायत अन्य आपराधिक आर्जनको चलखेलले भ्रष्टाचार, दण्डहीनता, विधिविहीनता र अराजकता व्याप्त भएको मुलुक खोज्छ । त्यसका लागि नेपाल सुरक्षित थलो (सेफ हेभेन) हुँदै गएको छ । कोरोना महामारीबाट तंग्रिन थालेको विश्व अर्थतन्त्रलाई रुस–युक्रेन युद्धमा शक्तिराष्ट्रको प्रत्यक्ष संलग्नताले गम्भीर बनाउँदै लगेको पृष्ठभूमिमा नेपालजस्ता मुलुकको अर्थतन्त्र थप प्रभावित भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालजस्ता अल्पविकसित मुलुकहरूमा आर्थिक मन्दीको असर अझ भयावह हुने चेतावनी दिइसकेको छ । देशभित्र बढिरहेका भ्रष्टाचार, विधिविहीनता, दण्डहीनता तथा आर्थिक दुश्चक्रले यो खतरा झन्झन् टड्कारो बनाउँदै ल्याएको छ ।

उत्पादनशील क्षेत्रमा घट्दो लगानी, घटिरहेको निर्यात र दिनहुँ साढे २–३ अर्ब रुपैयाँका दरले थपिइरहेको व्यापार घाटा अर्को खतरा हो । उत्पादनशील तथा पुँजीगत (विकास) क्षेत्रमा बजेट खर्च गर्नमा सरकारको निरन्तर अक्षमता र असफलता, साधारण वा अनुत्पादक क्षेत्रमा सरकारी दायित्व र खर्चमा अनियन्त्रित वृद्धि एवं सार्वजनिक ऋणमा मनपरी बढोत्तरी संकटलाई कहालीलाग्दो बनाउने कारकतत्त्व हुन् । नेपालको सार्वजनिक ऋण लगभग २० खर्ब ७१ अर्ब रुपैयाँ पुगिसकेको छ, जसमा ११ खर्बभन्दा बढी बाह्य र करिब १० खर्ब आन्तरिक ऋण छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ४९ खर्ब भएका आधारमा जीडीपीको ४३ प्रतिशत ऋणकै अनुपात देखिन्छ । यो उत्साहजनक अवस्था होइन कि वित्तीय असफलताको भयावह सूचक हो ।

यो आर्थिक वर्षको मध्यावधिसम्म राजस्व ५ खर्ब ६७ अर्ब रुपैयाँ मात्र उठ्यो । यसै अवधिमा साधारण खर्च ५ खर्ब ९८ अर्ब पुगेर ३१ अर्ब ऋणात्मक भयो । विकास खर्च केवल ८१ अर्ब हुनुले सरकारको क्षमतामा प्रश्न उठ्छ, साधारण वा अनुत्पादक क्षेत्रमा जति पनि खर्च गर्न सक्ने सरकारले विकासमा हात फुकाउन किन सकेन ? औद्योगिक क्षेत्रलाई पक्षाघातझैं भएको छ । गाउँबाट जनशक्ति पलायन र अवैज्ञानिक सहरीकरण, सहरी योजनाको भूमाफियाकरण, प्राकृतिक सम्पदाको विनाश नयाँ राष्ट्रिय समस्याका रूपमा थपिएका छन् । औद्योगिक घरानाहरू व्यापारिक घरानामा बदलिइरहेका छन् । देशमा चिनीको माग दिनहुँ बढिरहे पनि, पहिले २९ वटा चिनी मिल स्थापित भएकामा अहिले ६ वटा पनि राम्रोसँग चल्न सकेका छैनन् । अन्य उद्योगको हालत पनि यस्तै छ । अर्कातिर, औद्योगिक वातावरणको विनाश, दैनिक २ हजारभन्दा बढी श्रमशक्तिको पलायन, गरिखाने क्षेत्रलाई आक्रान्त तुल्याउने गरी हुने ‘आन्दोलन’ र राजनीतीकरण, कालो धनको दबदबा लगायतले गर्दा वैदेशिक लगानीको सहज अपेक्षा गर्नसमेत सकिन्न ।

स्वीस बैंकको विवरणलाई उद्धृत गर्दै अर्थशास्त्रीहरू औंल्याउँछन्- सन् २००३ मा स्वीस बैंकमा नेपालीहरूको ३ अर्ब ५८ करोड रुपैयाँ जम्मा थियो, जुन २०१० मा १२ अर्ब ५५ करोड रुपैयाँ पुग्यो । २०१९ मा यस्तो रकम २२ अर्ब र २०२० मा ४६ अर्ब ६४ करोड पुगिसकेको छ । शासनमा बसेर मच्चाएको भ्रष्टाचार, तस्करी, कालोबजारी, आतंककारी गतिविधि, लागूऔषध ओसारपसारजस्ता आपराधिक क्रियाकलापबाट बटुलेको रकम हो स्वीस बैंकमा थुपारिएको धनराशि । संसारका तानाशाह, भ्रष्ट शासक, कालो धनका मालिक तथा उनीहरूका कृपापात्रको दुश्चरित्रबाट नेपाल मुक्त छैन । राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा रकम राख्न नपाइने नियमविपरीत यो धनराशि कसरी स्वीस बैंकमा पुग्यो ? यसको खोजी गर्नु राज्यको कर्तव्य हो ।

आर्थिक प्रणाली सही ढंगले परिचालित होला भनेर हरेक वर्षको जेठ १५ गते बजेट प्रस्तुत गर्ने प्रत्याभूति संविधानमै भयो, भौचर मिलाएर राजस्व हिनामिना गर्ने ‘असारे विकास’ लाई निरुत्साहित गर्न अन्तिम त्रैमासिकमा ठेक्कापट्टा स्वीकृत नगर्ने नियम बनाइयो, भ्रष्टाचारलाई प्रभावकारी नियन्त्रण गर्ने प्रतिबद्धतालाई सबै पार्टीका चुनावी घोषणापत्रहरूमा प्राथमिकताका साथ उल्लेख गरियो, तर यस्ता प्रयासहरू निरर्थक साबित भए । राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न होइन, रकमदोहन र बाँडचुँडका लागि हुन् भन्ने वास्तविकता घामजत्तिकै छर्लंग छ ।

निर्धारित अवधिभित्र काम नसक्ने वा स्तरहीन काम गर्ने निर्माण व्यवसायीहरू, तस्करी र आपराधिक धन्धाबाट आर्जित रकम राजनीतिमा लगानी गर्नेहरू, भ्रष्टाचार तथा दण्डहीनताको रक्षाकवच पाएर आर्थिक अराजकता र संकट निम्त्याउनेहरू आजको दुरवस्थाका मुख्य दोषी हुन् । स्वार्थ बाझिएका विवादास्पद पात्रलाई निर्णायक जिम्मेवारी, भ्रष्टाचार तथा आर्थिक अनियमिततामा मुछिएको पात्रलाई नेतृत्वको संरक्षण र अभयदान अर्को गम्भीर दुष्प्रवृत्ति हो । यही कारण नेपालको राजनीति र वैध अर्थतन्त्रलाई कालो धनको तुजुकले वशीभूत गर्दै छ ।

विकासका लागि दुवै छिमेकी अर्थतन्त्रबाट लगानी बढाउने, आर्थिक उन्नति र प्रविधि हासिल गर्ने सम्भावना नेपालसँग छ । तर नेतृत्वमा क्षमता, योग्यता र कूटनीतिक दक्षता छैन भने सतही ज्ञान र लापरबाहीपूर्ण समाधानको तरिकाबाट विकसित मुलुकहरूलाई मनाउन सकिन्न । सिमेन्ट, ट्रान्सफर्मर, औषधि, चस्माको पावर लेन्स, जुत्ता, घरेलु वा हस्तकला, गलैंचा, पस्मिनाका उत्पादन, चिया तथा कफी, जडीबुटी, फलफूल, नेपाली कागजजस्ता वस्तु निर्यातका लागि नेपाल यथास्थितिमै सक्षम छ । एसियाली हावापानीको राजधानी मानिने हिमालयलाई पर्यटन र राष्ट्रिय गौरव प्रबर्द्धनका लागि पूर्णतः मार्केटिङ गर्न सकिन्छ तर हुन सकेको छैन । राजस्वमा विप्रेषणले होइन कृषि उत्पादनको योगदानले, भन्सार राजस्वलाई अन्तःशुल्कको अंकले र वैदेशिक रोजगारीलाई स्वदेशी आत्मनिर्भरवादी रोजगारीले जित्नुपर्ने हो, तर हामी ‘सुनको थाली थापेर सुका भीख माग्ने’ उखान चरितार्थ गरिरहेका छौं ।

आर्थिक–सामाजिक विकासको अभावमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति पनि प्रभावकारी हुँदैन । वित्तीय अनुशासन कायम राख्न सरकारी खर्चको प्राथमिकता क्रम निश्चित गर्नु जरुरी छ । बैंक, लघुवित्त तथा सहकारी संस्थाहरूबाट भइरहेको मनपरीमा कडा नियमन तथा नियन्त्रण अनिवार्य भइसक्यो । ब्याजदर बढिरहेका कारण खराब कर्जामा वृद्धि र ऋण असुलीमा शिथिलता, गैरबैंकिङ र आपराधिक आर्थिक गतिविधिका बीच सीमाको अभाव लगायतले अर्थतन्त्रमा विकृति झनै देखा परिरहेका छन् । चौबीसै घण्टा केवल राजनीतिमा ध्यान, गठबन्धन जोगाउने चिन्ता, सत्तामा पहुँच प्रभाव र हालीमुहाली, जनउत्तरदायित्वमा उदासीनताले नेतृत्वमा चुनौतीको सामना गर्ने दक्षता बन्दैन । सरकारमा कुन पार्टीका कति जना जाने भन्ने छलफलभन्दा गठबन्धनको न्यूनतम साझा कार्यक्रममा यी विषयमाथि प्राथमिकतापूर्ण सम्बोधन हुनुपर्ने खाँचो छ, ताकि जनतामा व्याप्त घोर निराशालाई आशामा बदल्न सकियोस् ।

भ्रष्टाचार, सरकारी साधन–स्रोतको निर्ममतापूर्ण नोक्सानी, अनेकौं आर्थिक अपराधबाट मालामाल भएको भुइँफुट्टा वर्गका अवैध गतिविधिलाई कानुनी कठघरामा ल्याएर मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक संकटबाट मुक्ति दिन ढिलो भइसक्यो । आजसम्मका सबै गैरकानुनी, खास गरी चर्चित र आपराधिक आर्थिक काण्डमाथि निर्मम छानबिन र कारबाहीका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरी दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति नमिल्ने संयन्त्रको स्थापना गरे मात्र नयाँ युगको सूत्रपात भएको अनुभव हुनेछ । थुप्रिएको कालोधन र नक्कली नोट प्रचलनको बढ्दो अवस्थाले पाँच सय र हजारका बैंकनोटमा प्रतिबन्ध लगाउनुपर्ने स्थिति आएको छ । आर्थिक अपराधलाई कठोरताका साथ नियन्त्रण गर्न सरकार तयार रहनुको विकल्प छैन । सरकारका लागि यो अग्निपरीक्षाको घडी हो, परिस्थितिको निर्मम समीक्षाका साथ कठोर निर्णय राष्ट्रको आवश्यकता भएको छ । लोकतन्त्रलाई जनताको जीवन–आधार बनाउन सके मात्र राजनीति सार्थक र सफल हुन्छ ।

केसी प्रतिनिधिसभा सदस्य हुन् ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

जाततन्त्रका बाछिटा

विचारमा चाहिँ दलित प्रतिनिधित्व, समावेशीकरण, समानुपातिक सहभागिता र पुनःसंरचनाको माग गर्ने; व्यवहारमा भने एकलजातीय प्रभुत्व लागू गर्ने काम राजनीतिक पाखण्डबाहेक के हुन सक्छ ?
राजेन्द्र महर्जन

अहिले बानेश्वरमा दलीय राजनीतिको नौटंकी चलिरहेको छ भने बत्तीसपुतलीमा सामाजिक राजनीतिको नाटक जारी छ, समानान्तर रूपमा । दुई जना महापुरुषलाई राष्ट्रपति र उपराष्ट्रपति पदमा विराजमान गर्ने गरी भएको छदलीय राजनीतिको नौटंकी ।

यस नौटंकीमा जनआन्दोलनको मर्म र संविधानको भावलाई भन्दा मृत शब्दमाथि टेकेर महिलालाई राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित गर्नुपर्ने दायित्वबाट दलहरूले उन्मुक्ति लिए । राज्यबाट सबैभन्दा उत्पीडनमा पारिएका र राज्यमा सबैभन्दा कम प्रतिनिधित्व गर्न दिइएका दलित, तिनमा पनि महिला, तिनमा पनि मधेशी महिलालाई राष्ट्राध्यक्ष हुने अधिकारबाट वञ्चित गर्न दलपतिहरू सफल भए ।

हुन त महिला राष्ट्रपतिले नै महिलालाई लामो समयसम्म अनागरिक बनाउने काम गरी महिला प्रतिनिधित्वलाई बदनाम गरिएको घटना इतिहासमा दर्ज भइसकेको छ । अतः प्रतिनिधित्वको खाँटी सिद्धान्त र व्यवहारले भन्छ, प्रतिनिधित्व भनेको मुहारको मात्रै होइन, मुद्दाको पनि हुनुपर्छ । राज्ययन्त्र र दलमा मात्रै होइन, सामाजिक संघसंस्थामा मात्रै पनि होइन, सांस्कृतिक उत्पादन र कलात्मक सृजनामा पनि यही कुरा लागू हुन्छ । यही मूल्यमान्यताबाट विशेष गरी कलात्मक सृजनामा प्रतिनिधित्व वा प्रतिविम्बनको मामिला पृथक् छैन । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा जारी ‘विमोक्ष : द साल्भेसन’ नाटक हेर्दा पनि मन–मस्तिष्कलाई यही प्रश्नले टोकिरह्यो ।

मुद्दा र मुहारसहित प्रतिनिधित्व खै ?

नाटककार एवं अभिनेता घिमिरे युवराजले ‘विमोक्ष’ मा नेपाली समाजलाई जकडेको जात र लिंगजस्ता सामाजिक निर्मिति (सोसल कन्स्ट्रक्सन) ले प्रेम–सम्बन्धमा पार्ने दुष्प्रभावलाई उजागर गरेका छन् । प्रवीण खतिवडाको निर्देशकीय खुबीका कारण थप उजेलिएको ‘विमोक्ष’ हेर्दा लाग्यो- सत्ता–शक्ति–सम्पत्तिको विशाल खाडलबीच, जात र लैंगिकताको चिनियाँ पर्खालबीच सहज प्रेम सम्भव छ ? मान्छे नै नठानिने दीप दर्नालहरूले कमल घिमिरेको मुकुण्डो नलगाईकन डेरा त नपाइने समाजमा अन्तरजातीय, अन्तरवर्गीय, अन्तरपुस्तैनी माया कसरी सम्भव होला ? अजित मिजार र नवराज विकहरूको अन्तरजातीय प्रेम वर्जित रहेको समाजमा जात ढाँटेर घिमिरे बन्न बाध्य दर्नालहरू शक्तिशाली कर्नेल्नी साहेब रश्मिदेवीहरूका खेलौना मात्रै बन्न किन अभिशप्त छन् ?

‘विमोक्ष’ नाटकमा देखाइएको प्रेम वा यौनजस्ता मानवीय सम्बन्ध नै न अराजनीतिक सवाल हो, न त राष्ट्रपतीय चुनाव र अन्य नौटंकीमा देखिएको राज्य र संघसंस्थामा प्रतिनिधित्व मात्रै राजनीतिक मुद्दा हो । यी सबै सवाललाई सबैभन्दा पीँधमा परेका समुदायको धरातल र नजरियाबाट, उनीहरूको मनमस्तिष्कबाट, उनीहरूका संघर्ष र प्रतिरोधको कोण हेर्ने कि नहेर्ने ? यही नै संस्कृतिदेखि राजनीतिसम्मको धरातलमा उठाइनुपर्ने मूल राजनीतिक प्रश्न हो, जसलाई अनुत्तरित छाड्न पटक्कै मिल्दैन ।

जातीय र लैंगिक विभेदकेन्द्रित यथार्थवादी नाटकमा होस् या दलित मुक्तिको सपना कोरल्ने राजनीतिक दल र समाजवाद–उन्मुख राज्यमा, जहाँ पनि मुद्दा र मुहारसहित दलितको सही प्रतिनिधित्व किन हुन सकेन होला ? जात–व्यवस्थासँग जोडिएका मुद्दा र समस्यामा दलितहरूले गरेका प्रतिरोधको बलमा स्थापित गरेको आफ्नो एजेन्सीको प्रतिविम्बन सही रूपमा किन हुन सकेन होला ? यही प्रश्न रङ्गमञ्चमा कर्नेल श्यामकुमार बस्नेत र रश्मिदेवी बस्नेतको घरमा डेरा गरेर बस्ने भूतपूर्व कमल घिमिरे अर्थात् वर्तमानका दीप दर्नालको संघर्षको हकमा जति लागू हुन्छ, त्यत्तिकै लागू हुन्छ सामाजिक रङ्गमञ्चमा अनेक दलितको हकमा पनि ।

जाततन्त्रले थिचिएका दलितका काँध

सामाजिक नाटक ‘विमोक्ष’ का एक मूल पात्र दीप दर्नाल चौतारी रिसर्च सेन्टरका निर्देशक र रिसर्चर हुन् । सामाजिक वृत्तमा पनि दलित मुक्तिको सपना साँच्दै अध्ययन, अनुसन्धान र पैरवीको काममा दीप दर्नालजस्ता अनेक दलित कार्यरत छन् । केही दलित अगुवाले यस्ता अध्ययन–अनुसन्धानका संस्था बनाउँदै अगुवाइ गर्दै छन् भने केही दलित युवा बनीबनाउ संस्थाका निर्देशक र अध्यक्ष पनि भएका छन् । केही दलित अध्येता अरू संस्थामा क्रियाशील छन् । जात–व्यवस्था र दलितका मुद्दामा काम गर्ने गैरसरकारी संस्थाको संख्यात्मक वृद्धि पनि जारी छ । तीमध्ये समता फाउन्डेसन र डिग्निटी इनिसियटिभजस्ता केही संस्थाले दलित प्रतिनिधित्वबारे; केही हदसम्म दलितको अवस्थाबारे; दलित मानव–अधिकार, समावेशिता, सुशासन, लैंगिक न्यायबारे अध्ययन गरेका छन् । धेरै संस्थाले भने अन्य गैससले जस्तै बिस्कुट र चाउचाउ बाँड्नेदेखि भेडाबाख्रा पालन गराउनेसम्म गर्दै आएका छन् । जजसले विकासे काम गर्दै आएका छन्, उनीहरूको भन्दा बेसी दायित्व र जिम्मेवारी जात–व्यवस्थाबारे अध्ययन–अनुसन्धान गर्ने र दलित समुदायको पक्षमा पैरवी गर्ने संस्था र संस्थाका प्रमुख, अभियन्ता तथा अध्येताहरूको काँधमा छ । विडम्बनाको कुरा, तिनका काँध भने आ–आफ्नै जाततन्त्र, लिंगतन्त्र र परिवारतन्त्रको बोझले दबिएका छन्, नेपाली राज्य र दलहरूजस्तै ।

आफूलाई ‘थिंक ट्यांक’ कै रूपमा दाबी गर्ने संस्था र संस्थाका प्रमुख र अध्येताहरूले यस्तो बोझबाट मुक्तिका लागि उठाउनैपर्ने एक प्रश्न हो- राज्य संयन्त्र र राजनीतिक दलमा दलित प्रतिनिधित्वको जायज राजनीतिक माग उठाउँदा आफ्नो संस्थालाई लोकतन्त्रीकरण र पुनःसंरचना गर्नु जरुरी छ कि छैन ? प्रहरी, प्रशासन, अदालत, शैक्षिक संस्था र मिडियामा समावेशीकरणको उचित सवाल खडा गर्दा आफ्ना

संघसंस्थामा जातीय विविधता झल्किने गरी पुनर्गठन र विस्तार गर्नु आवश्यक हुन्छ कि हुँदैन ? एकात्मक र केन्द्रीकृत नेपाली राज्यले, राज्य चलाउने राजा–महाराजाले, राजतन्त्र फाल्ने र राज्य पुनःसंरचनाका नारा उराल्ने राजनीतिक दलहरूले जसरी जाततन्त्र चलाए, जसरी एउटै वर्ण, जात, लिंग, क्षेत्र, धर्म, भाषाको राज गरे, त्यसरी नै आफ्नो संस्था चलाउनु जायज हुन्छ ? आफ्नो संस्थालाई पनि राजा–महाराजाकै शैलीमा एकै जातको प्रभुत्व भएको बनाउने तथा अन्य जातका सक्षम र विज्ञलाई समेत अनेक रूपमा निषेध गर्ने हो भने राज्य र दलहरूको एकलजातीय प्रभुत्वको विरोध गर्ने नैतिक हैसियत कसरी रहन्छ ?

जातका आधारमा बनाइएका सामाजिक–राजनीतिक संरचना, शक्ति–सम्बन्ध र उत्पीडन–विभेदको संस्कृतिलाई कुनै न कुनै रूपमा आफूले पनि जारी राख्ने हो भने बाह्य र आन्तरिक जातीय विभेदको भर्त्सना गर्ने वैधता र वैधानिकता कसरी बाँकी रहन्छ ? विचारमा चाहिँ दलित प्रतिनिधित्व, समावेशीकरण, समानुपातिक सहभागिता र पुनःसंरचनाको माग गर्ने; व्यवहारमा भने एकलजातीय प्रभुत्व लागू गर्ने काम राजनीतिक पाखण्डबाहेक के हुन सक्छ ? जात–व्यवस्थाको अन्त्य र दलित लगायत सबै उत्पीडितको विमोक्षका लागि खाँटी प्रक्रियामा लाग्ने नै हो भने आत्मसमीक्षाका साथ सोध्नैपर्ने मुख्य सवाल हो- बहिष्करण, उत्पीडन, विभेदको मामिला शासक वर्ण–जात–लिंगका व्यवहार र बहुसंख्यकवादीहरूका विचार–संस्कृतिभन्दा आफूहरू के मानेमा भिन्न छौं ?

संस्थाको निजीकरण र परिवारीकरण

आफूलाई न्याय, समता र आत्मसम्मानको पक्षपाती ठान्ने दलित अभियन्ताहरूले आफैंलाई सोध्नुपर्ने सवाल हो- धेरैजसो गैससमाथि लाग्ने गरेको संस्थाभित्र परिवारतन्त्र चलाएको आरोपलाई विचार र व्यवहारमा कसरी खण्डन गर्ने ? आफ्नो संस्थामा भाइ–भतिजा–भान्जा–भान्जी, बहिनी, बुहारी र सम्धीको भर्ती गर्ने तथा पद पालैपालो खाने प्रचलनले संस्थाको निजीकरण र परिवारीकरणलाई त बलियो बनाउँछ होला, आन्तरिक लोकतन्त्रलाई कसरी बढावा दिन्छ ? अमुक संस्थाले निजीकरण र परिवारीकरणका आधारमा स्रोत र साधनको वृद्धि र संगठनको शक्ति सुदृढ गर्दैमा त्यसले समावेशिता र समानुपातिक सहभागिताको मूल्य–मान्यतालाई आत्मसात् र विस्तार गरेको ठहरिन्छ ?

नेपालका दलित समुदायका राजनीतिक अगुवा र नागरिक अभियन्ताहरू मौन रहँदै आएको समस्या हो- संस्थाको निजीकरण र परिवारीकरणसँगै अभिन्न रुपले जोडिएको शक्ति, स्रोत, साधन र सम्पत्तिको दुरुपयोगको पाटो । आफ्ना आफन्तहरूको भर्तीका कारण स्रोत–साधनको वितरण पारिवारिक वृत्तमा त हुने नै भयो, स्रोत–साधनको दुरुपयोगका सत्य–तथ्य गुपचुप राख्न पनि सहज हुने भयो । संस्थाको निजीकरण सुशासनको सट्टा कुशासनको परिचायक हो, जुन राज्य र दलहरूको सन्दर्भमा मात्रै लागू हुँदैन । कुनै पनि संस्था वा राज्यलाई आफूले कमाएको सम्पत्ति ठान्नासाथ सुशासन बेपत्ता हुन्छ र एकाधिकारसँगै भ्रष्टाचार मौलाउँछ । यसले संस्था प्रमुखहरू गाडी–बंगलाका मालिक हुने र तिनकै संस्था सधैं घिटीघिटी भइरहने दुरवस्था सामान्य बन्न थाल्छ । कुनै पनि संघसंस्था, संगठन र आन्दोलन दिगो, स्वचालित, स्वशासित र संस्थागत हुन नसक्नुजस्तो क्रोनिक बिमारीको निदान र उपचारका लागि अब तयार हुने कि नहुने ? अरूले होइन, आफैंले जवाफ दिनुपर्ने सवाल हो यो ।

दबिएको लैंगिक न्याय

दलित समुदायसँग जोडिएका गैससले बेवास्ता गर्दै आएको अर्को मुद्दा हो- लैंगिक न्यायको पक्ष । सार्वजनिक रूपमा बोल्दा, सरकारसँग माग गर्दा, दाताका लागि प्रतिवेदन बुझाउँदा लैंगिक न्यायको पक्षपोषण नगर्ने कोही हुँदैन । अपसोसको कुरा, तिनै बोली, माग र प्रतिवेदनमुनि दबिएको हुन्छ- लैंगिक न्यायको आवाज । अधिकांश पुरुष–प्रभुत्वका संस्थामा महिलाको मत, प्रश्न, विचार, अगुवाइ, नेतृत्वमा सहभागितालाई सम्मान गर्ने र स्विकार गर्ने संस्कृति नगण्य छ । अझ दलित महिला नेतृत्वका परियोजनालाई असहयोग गर्ने मात्रै होइन, बाधा–अवरोध हाल्ने प्रचलन कम छैन । मधेशी दलित महिला, दलित यौनिक अल्पसंख्यक वा दलित क्वेयरको हकमा त उनीहरूको अस्तित्व नै अस्वीकार गर्ने विषाक्त वातावरण सहजै अनुभूति गर्न पाइन्छ । दाताका आँखामा छारो हाल्न उनीहरूका लैंगिकता र यौनिकतालाई सांकेतिक रूपमा उपयोग गर्नु–गराउनु आफैंमा अप्रतिनिधित्वको राजनीति र अस्वीकार गर्ने प्रवृत्तिको द्योतक हो । के यसरी नै भालेवादी राजनीति गर्दै, लैंगिक प्रतिनिधित्व र आत्मसम्मानलाई कुल्चँदै हाम्रा संस्था, संगठन, दल, आन्दोलन र राज्यमा लैंगिक न्याय स्थापित गर्न सकिन्छ र ? आफूलाई राज–नैतिकताको कठघरामा उभ्याएर स्वयंले जिरह गर्नुपर्ने सवाल हो यो ।

खाली त छैन थिंक ट्यांक ?

कुनै पनि संस्था, संगठन, दल, आन्दोलन र राज्यमा नेतृत्व भनेको बलियो वैचारिकी र काल्पनिकीका आधारमा, सांगठनिक अगुवाइ गर्ने क्षमताका आधारमा हुनुपर्ने हो । यहाँ त ती सब आधारमा भन्दा पनि कुनै अग्रगामी विचार, कल्पना र सपनाबिना पनि, संस्थागत लक्ष्य, उद्देश्य र नीतिप्रति कुनै प्रेम र प्रतिबद्धताबिना पनि पद हडप्ने र कुर्सीमा ‘कुण्डली मारेर’ बस्ने प्रवृत्ति बलियो छ । जात–व्यवस्थाबारे ‘रिसर्च’ गर्ने थिंक

ट्यांकको दाबी गर्ने संस्थामा समेत कुनै अध्ययन-अनुसन्धान नगरेका, कुनै प्राज्ञिक लेखन नगरेका, सम्बन्धित विषयमा गहिरो ज्ञान नभएका, ज्ञानगुन प्राप्त गर्ने खासै हुटहुटी पनि नभएका व्यक्ति जब आसीन हुन्छन्, तब संस्था र मुद्दा कसरी उँभो लाग्छन् ? उनीहरू पदमा रहँदा नयाँ–नयाँ ज्ञान उत्पादन कसरी हुन्छ ? अध्येता र अनुसन्धाता कसरी ज्ञान उत्पादनका लागि निरन्तर लागिपर्न प्रेरित हुन्छन् ?

जात–व्यवस्थाबारे अध्ययन गर्ने दलित नेतृत्वको थिंक ट्यांकले समेत ‘कथित दलित’ लेख्ने हदसम्मको हचुवा तालमा गरिएका अध्ययन–अनुसन्धान–पैरवी कसरी विश्वसनीय र आधिकारिक हुन्छन् ? कसरी नयाँनयाँ क्षेत्रमा अध्ययन–अनुसन्धान–पैरवीका लागि सहयोग जुट्छ ? चाउचाउ बाँडेर; भाते गोष्ठी गरेर; दुई–चार मीठा भाषण गरेर; जिल्लाजिल्लामा भीड जुटाएर; मेयर, सीडीओ, मुख्यमन्त्री, प्रधानमन्त्रीसँग कुम जोड्दै फोटो खिचेर; कोट र सारी फेर्दै देश–विदेशको सयर गरेर खरो ज्ञान उत्पादन हुन्छ ? त्यसरी नै नयाँनयाँ ज्ञान प्राप्त हुने भए आँखाको प्रकाश नै गुम्ने गरी, रक्तचाप र मधुमेह बढ्ने गरी किन अध्ययन–अनुसन्धान गर्नु जरुरी हुन्छ र ? कुनै नयाँ ज्ञानबिनाका ‘थिंक ट्यांक’ चलाउनेहरूले मनन गर्नुपर्ने विषय हो यो ।

कुनै शंका छैन, उद्देश्यमूलक संस्थागत कामले जीविका पनि दिन्छ । तर, संस्थागत लक्ष्य–उद्देश्य–नीतिप्रति प्रतिबद्धता र प्रेमबिना जीविका मात्रै गर्नु कुनै पनि संस्थाको स्खलनको कारक बन्न पुग्छ । संस्थालाई पद, पैसा, पदवी र प्रतिष्ठाका लागि सिँढी बनाउने प्रवृत्तिले संस्थाको साख गुम्छ । एउटा खुट्टा संस्थाको अध्यक्ष वा निर्देशकको कुर्सीमा राख्ने, अर्को खुट्टा राजदूत, सांसद वा अन्य राजनीतिक नियुक्तिका लागि उचाल्दै हिँड्ने रबैयाले व्यक्तिगत प्रतिनिधित्वलाई त उकास्ला, संस्थागत दिगोपनालाई भने थचार्छ नै । आगे सबै जिम्मेवार दलित नेता, अगुवा र अभियन्ता र अध्येता–अनुसन्धाताबाट कठोर आत्मसमीक्षाका साथ गम्झीर विचार–विनिमय हुनु जरुरी हुन्छ ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×