कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०
सम्पादकीय

आत्महत्या रोक्न पूर्वसंकेतको पहिचान

सम्पादकीय

के–कस्ता मनोवैज्ञानिक र मनोसामाजिक अवस्थाका कारण मानिसहरू अन्तिम विकल्पका रूपमा आत्महत्या रोज्न बाध्य हुन्छन् भन्ने ठम्याउन जटिल भए पनि यस्ता अधिकांश घटनामा केही समानता भेटिन्छन् ।

आत्महत्या रोक्न पूर्वसंकेतको पहिचान

कमजोर सामाजिक–आर्थिक अवस्थिति तथा परिवार र समाजसँगको सम्बन्धमा देखा पर्ने भावनात्मक उतारचढावले व्यक्तिमा मनोविचलन आउने गर्छ । यस्तो परिस्थिति र आत्महत्याको निर्णयबीच देखा पर्ने अप्रत्याशित व्यवहारलाई पहिचान गरी बेलैमा सम्बन्धित व्यक्तिलाई व्यक्तिगत वा व्यावसायिक मनोसामाजिक परामर्शसहितको उपचार पुर्‍याउन सके आत्महत्याका घटनालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यसका लागि आत्महत्याका पूर्वसंकेतहरूलाई गम्भीरतापूर्वक लिन परिवार र समाज, अनि पहिचानपछि मानसिक स्वास्थ्य समस्याको उपचारका लागि मनोचिकित्साको सहज प्रबन्ध मिलाउन राज्यको भूमिका महत्त्वपूर्ण हुने गर्छ ।

पछिल्लो समय नेपाली समाजमा गरिबी, बेरोजगारी, कमजोर सामाजिक सुरक्षाभाव बढ्दो छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध र मन्दीतर्फ उन्मुख विश्व अर्थतन्त्रका कारण यो अवस्था झनै सघन बन्दो छ । व्यक्तिविशेषको उन्नतिलाई अवरोध पुर्‍याउने यस्तो वातावरणले जोकोहीमा मनोविचलन ल्याउन सक्छ । यिनै कारण हुनुपर्छ, विज्ञहरूका अनुसार नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या एउटा मुख्य जनस्वास्थ्य समस्याका रूपमा देखा परिरहेको छ, र आत्महत्याका घटना डरलाग्दो गरी बढिरहेका छन् । नेपाल प्रहरीका अनुसार मुलुकमा हरेक दिन औसत १८ जनाले आत्महत्या गर्छन् । पाँच वर्षयता मात्रै ३३ हजार ८ सय ६१ जनाले आत्महत्या गरेका छन् । यो संख्या दुर्घटना तथा अरू स्वास्थ्य समस्याबाट हुने अकाल मृत्युभन्दा निकै धेरै हो ।

त्यसमा पनि आत्महत्या गर्नेहरू धेरै युवा उमेर समूहका छन् । युवाहरूले अन्तिम विकल्पका रूपमा आत्महत्या रोज्न बाध्य हुनुले कतै समाज संकटोन्मुख दिशामा त छैन भन्ने देखाउँछ । त्यसैले यसलाई खतराको सूचकका रूपमा बुझ्नुपर्छ, र व्याप्त निराशालाई चिर्दै आर्थिक–सामाजिक सुधारको थालनी गर्नुपर्छ । आत्महत्यालाई नितान्त व्यक्तिगत मानसिक समस्याका रूपमा मात्र लिनु हुँदैन; यो अवस्थासम्म पुग्नुमा समाजमा व्याप्त निराशाको पनि भूमिका हुने गर्छ । कोभिड महामारी तथा विश्व आर्थिक मन्दीको मारमा पर्दा पनि त्यसबाट आमजनलाई बाहिर निकाल्न उपयुक्त आर्थिक नीतिका लागि सरकारले खासै प्रयास नगरेको परिस्थितिमा बढ्दो आत्महत्याका घटनाप्रति पर्याप्त चिन्तन गर्नु आवश्यक छ । यस्तो बेला युवामाझ आशाको सञ्चार गर्न सक्ने राजनीतिक इच्छाशक्तिको आवश्यकता नेपाली समाजलाई निकै बढी छ ।

आर्थिक–सामाजिक समस्याहरू हल गर्न आवश्यक कदम चाल्नुका अतिरिक्त, आत्महत्या रोकथामका लागि यसका पूर्वसंकेतहरू पहिचान गर्न पनि उत्तिकै आवश्यक छ । आत्महत्या गर्ने ९० प्रतिशतभन्दा बढी व्यक्तिले कुनै न कुनै पूर्वसंकेत दिने गरेको विज्ञहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक व्यक्तिले आत्महत्या गर्नुअघि पनि २० पटकसम्म यस्तो प्रयास गरेका हुन्छन् । यसको अर्थ आत्महत्याको घटनाभन्दा २० गुणाभन्दा बढी त्यस्ता प्रयासका घटना भएका हुन्छन् । यी व्यक्तिहरूले दिने पूर्वसंकेतहरू पहिचान गर्न परिवार, साथीसँगी, सहपाठी–सहकर्मी लगायतले सक्छन् । जस्तो- धेरैजसो व्यक्ति शिक्षा र पेसा–व्यवसायमा भोग्नुपरेको असफलता, सम्बन्धविच्छेद, नजिकका व्यक्तिको मृत्यु लगायतका भावनात्मक कारण उदास हुने गर्छन् । यसबाट असुरक्षाभाव पैदा भई कतिपयले असहाय महसुस गर्छन्; कतिले मृत्युबारे कुरा गर्छन्; विषादी, हतियार, औषधि अथवा अन्य माध्यमकै खोजी पनि गर्छन् ।

नेपाली समाजमा मनोस्वास्थ्य समस्यालाई गम्भीरतापूर्वक लिने नगरिएकाले पनि यस्ता पूर्वसंकेतहरूलाई त्यति वास्ता गरिन्न । यसले गर्दा तनाव व्यवस्थापनमा सघाएर आत्मबल वृद्धि गर्नेसहित पहिलो परामर्शदाता बन्न परिवार वा नजिकका व्यक्ति चुकिरहेका छन् । यसर्थ, आत्महत्या तथा आत्महानिका व्यावहारिक संकेतहरू चिनेर त्यसपछिको उपचार प्रक्रियालाई सहज बनाउनु जरुरी छ । प्रथमतः नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या भएकाहरूमा हेय दृष्टि दिने प्रवृत्तिमै सुधार ल्याउनु जरुरी छ । आफूहरूलाई जनाउने शब्द असाध्यै अमर्यादित भएकैले पनि धेरैले मानसिक स्वास्थ्य समस्यालाई लुकाउने गरेको यथार्थ बुझ्न आवश्यक छ । त्यसैले मानसिक रोगलाई अरू स्वास्थ्य समस्याजत्तिकै सामान्य रूपमा समाजमा स्थापित गराउनुपर्छ । र, समस्यामा रहेका व्यक्तिलाई परिवार र समाजले पर्याप्त ढाडस दिई आवश्यकता अनुसार आधिकारिक मनोविज्ञ/मनोचिकित्सकहरूकहाँ पुर्‍याउनुपर्छ ।

अर्को, यसको उपचारको सहज पहुँच बढाउनुपर्छ । अहिले मनोचिकित्सा उपचार सेवा काठमाडौं लगायत ठूला सहरकेन्द्रित छन् । त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग अनुसार त्यहाँ हरेक महिना सरदर १५–२० जना आत्महत्याको प्रयास गरेकाहरू उपचारका लागि पुग्छन् । कतिपय सहरकेन्द्रित निजी परामर्श केन्द्रमा पनि यस्तो सुविधा छ । यस्ता केन्द्रहरू जति देशव्यापी रूपमा स्थापित हुन्छन्, त्यति मनोसमस्या न्यूनीकरणमा सघाउ पुग्छ । त्यसैले व्यावसायिक मनोपरामर्शका लागि सरकारले लगानी बढाउनुपर्छ । स्वास्थ्य मन्त्रालयले नै कर्णाली तथा सुदूरपश्चिम लगायतका प्रादेशिक वा जिल्ला अस्पतालमा मानसिक स्वास्थ्य विशेषज्ञ पुर्‍याउन नसकेको स्विकारेको अवस्थामा यो कार्य चुनौतीपूर्ण पक्कै छ । तर पनि सुविचारित योजना बनाएर अघि बढ्नुको विकल्प छैन; देशभरका स्वास्थ्य संस्थाहरूमा निश्चित वर्षभित्र मनोचिकित्सक वा सम्बन्धित तालिमप्राप्त स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन सरकार दृढसंकल्प हुनैपर्छ ।

प्रकाशित : फाल्गुन २१, २०७९ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×