राजनीति ! ओ राजनीति !- विचार - कान्तिपुर समाचार

राजनीति ! ओ राजनीति !

युग पाठक

प्रत्येक हप्ता एउटा नयाँ स्क्यान्डलको झ्यालबाट राजनीतिको घाम उदाउँछ र सामाजिक सञ्जालको बार्दलीबाट हात हल्लाएर अस्ताउँछ । राजनीतिको नयाँ फर्मुला बनेको छ, स्क्यान्डल । स्क्यान्डल छ त राजनीति छ, छैन त छैन । तिमी विचारको कुरा गर्छौ ? हैट, विचार कहीँ बिक्ने कुरा हो ?

बजारको बुर्जामा त बिक्ने कुरा पो ल्याउनुपर्छ । सिंगै राजनीति बेचिदिए पनि फरक पर्दैन । जरुरी कुरा केही छ भने त्यो हो- बिक्ने स्क्यान्डल ।

एक थान टुकुचा पनि उधिन्न नसक्ने कुनै सानदार मेयर हुन्छ ? छाया सेन्टरतिर पो डोजरको छाया पनि देखिन हुन्न, शाही डोजर अन्त जहाँ जोते पनि हुन्छ । व्यापारी घरानाले बाँसबारीमा अर्बौंको बास हाले पनि हुन्छ, बालमन्दिरको जग्गामा आलिसान पाल गाडे पनि हुन्छ, ठेलागाडा र साइकलमा स्वरोजगारी रच्नेहरूलाई पो लघारीलघारी खेद्न मजा आउँछ । मकै पोल्ने, जुत्ता मर्मत गर्ने, तरकारी र फलफूल घरघर पुर्‍याउनेहरू कान्तिपुरी नगरीमा कुनै सुहाउने मान्छे हुन् ? सेयर, घडेरी वा मान्छेकै दलाली गरेर होस्, सामान्य मान्छेको खल्तीबाट रातारात अर्बौं रुपैयाँ उडाउन सक्ने महारथीहरूले करोड–करोडका गाडीमा सयर गर्ने सहर पो हो त यो !

स्क्यान्डल नै राजनीति हो भन्ने स्थापित भैसकेको हुनाले नै गुरु केशव स्थापितले खनेको डोजरे बाटामा शिष्य बालेन लुरुलुरु एकलव्यसरि हिँडिरहेका छन् । एउटा कुरा नोट गर्नुहोला- उनी काम गरिरहेका छन् ! हो, प्रधानमन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म अर्थमन्त्रीदेखि गृहमन्त्रीसम्म सबै काम गरिरहेका छन् । यो नसोध्नुहोला, उनीहरू के काम गरिरहेका छन् । कोही निर्देशनमाथि निर्देशन दिइरहेका छन्, कोही सडकका खाल्डा पुरेको निरीक्षण गरिरहेका छन्, कोही बातबातमा कसम खाइरहेका छन्, कोही स्पष्टीकरणको पुलिन्दा खोलिरहेका छन्, कोही आफैंले सरापेको उपप्रधानको पगरी गुथेर पूजापाठ र सलामी खानुको मजा लिइरहेका छन् । उनीहरू फगत काम गरिरहेका छन् !

राजनीतिको खास काम पदमा पुग्नु हो । राजनीतिको यो ‘भालेजुधाइ’ मा रौद्र पखेटा उज्याउनु, काँक्काँक् र कुँक्कुँक् गर्नु, उफ्रीपाफ्री होहल्ला मच्चाउनु, जेजसरी होस् पदमा पुग्नु । सांसद होस् वा सभामुख, प्रधानमन्त्री होस् वा मन्त्रीको निर्वाचन, मानौं त्यो जित्नु कुनै व्यक्तिगत ‘उपलब्धि’ हो । मानौं, निर्वाचन भनेकै कुनै व्यक्तिगत जितबाजीको खेल हो । मानौं सार्वभौम जनताले भोट दिइरहेका छन् त केवल कसैको व्यक्तिगत जित सुनिश्चित गर्न, अनि आफू हार्न । राजनीतिको रागजस्तो, मिडियाको आलाप पनि उस्तै । फलानोको यस्तो उपलब्धि, चिलानोको उस्तो जित ! अपरम्पार छ यो खेल ।

राजनीतिलाई केले चलायमान बनाउँछ ? अझ भनौं, जनसेवी र देश हाँक्न सक्ने केले बनाउँछ ? चुनाव जित्ने फन्डाले कि सरकार बनाउने खेलले ? राष्ट्रपति पदको छिनाझपटीले कि सभामुख/उपसभामुख भागबन्डाले ? निर्देशनहरूको लस्करले कि प्रत्येक किस्सामा कसम खाएर जिब्रो पड्काउने रहरले ? विचार र विचारनिष्ठ व्यवहारले भनौं भने हिजोआज एकसेएक नेताहरू कार्यकर्तालाई सिकाइरहेका छन्- विचारले चुनाव जितिन्न ! समाजवादी, साम्यवादी सबैका मनमा विचार होइन, पावर र पैसा नै राजनीतिको चालकतत्त्व हो भन्ने गहिरो विश्वास झाँगिएको छ । विचार भनेको बिस्तारै सोचौंला, सत्तामा खुट्टा घुसाइहाल्नु नै राजनीति हो भन्ने ‘विचार’ बोक्नेहरूका बारेमा त केही भनिरहनै परेन ।

दैनिक २५ सयभन्दा बढी युवा विदेश गैरहेका छन् तर यो हाम्रो राजनीतिको सरोकार होइन । कृषि उन्मूलन कार्यक्रम जोडदार ढंगले अघि बढिरहेको छ, यो कुनै अनौठो कुरा हो ? करको भार र महँगी दिनहुँ चुलिँदो छ, यो कुनै मुद्दा हो ? शिक्षा केवल एउटा फेसन बनिसक्यो तर यो कुनै जरुरी जिनिस नै होइन । आधारभूत जनताको स्वास्थ्य त झन् वास्ता गर्नुपर्ने एजेन्डा नै रहेन । जुन देशमा जनताका छोराछोरीले नागरिकता पाउने हकलाई कानुनी जालमा फँसाएर अल्झाइन्छ, त्यहाँ शंकास्पद नागरिकताधारी मान्छे गृहमन्त्री हुन सुहाउँछ । भ्रष्टाचार मुद्दा लागेको ठेकेदार सहरी विकासमन्त्री हुँदा स्वर्णयुग दैलैमा आइपुग्छ । म्यानपावरको धन्दामा महारथ व्यक्ति नै श्रममन्त्री हुँदा दाँतमा किरिकिरी लाग्दैन । त्यस्तो देशमा राजनीति केवल केही व्यक्तिको ‘करिअर बुस्टर’ भन्दा बढी के हुन्छ ?

२०७९ को आम चुनाव कुन विशिष्ट विचार वा मुद्दामा लडिएको थियो ? अनुसन्धान गरेर कसैले एउटा खाका निकालेर देखाओस् ! यो चुनाव केवल हल्लामा लडिएको थियो, गालीगलौज र विचारहीन सिँगौरीमा लडिएको थियो । सुशासन, भ्रष्टाचारको विरोध इत्यादि त भन्नका लागि भनिएका थिए । यो चुनावबाट उदाएका सर्वथा नयाँ र ‘चमत्कारी’ पात्र रवि लामिछानेलाई हेरे यथार्थ छर्लंग देखिन्छ । लामिछानेले दाम्लो चुँडाएर गृहमन्त्रीको कुर्सी किन ताके ? नागरिकताको खोटले नै उनलाई त्यति धेरै व्यग्र बनाएको थियो । त्यसैले तमाम जिल्ला प्रशासन कार्यालयमध्ये काठमाडौं जिप्रका नै ‘निरीक्षण’ गरिहाल्नुपर्ने बाध्यता भयो । अहिले उनकै नागरिकताको मुद्दामा गृह मन्त्रालय र काठमाडौं जिप्रकाले उनैलाई जोगाउन सरासर गैरकानुनी र रकमी जवाफ लेखेर अदालत पठाए । देखादेखी पासपोर्ट फ्रडमा त प्रहरीले अनुसन्धान नै बन्द गरिदियो । नीतिगत भ्रष्टाचार, कुशासन र ‘सानालाई ऐन ठूलालाई चैन’ को विशिष्ट उदाहरण अहिले यही काण्ड बनेको छ ।

विचारको संकटबाट पैदा भएको असमञ्जस र लज्जा यति बेला कसैलाई सबैभन्दा धेरै अनुभूति भैरहेको छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरूलाई भैरहेको छ । उनीहरूले सबैभन्दा सुन्दर भाषण गरे भने त्यही सबैभन्दा कर्कश र झुटजस्तो सुनिन्छ । पुराना दल र नेताहरूलाई त यतिखेर हाइसन्चो भएको छ । जसले ‘नो नट अगेन’ को नारा लगाए, उनीहरू नै यो हाइसन्चोका सूत्रधार हुन् । किनभने उनीहरूले राजनीतिलाई जग्गा दलालीको दाउपेचभन्दा बढी सोच्दै सोचेनन् । यद्यपि विचारको संकट ठूला दलहरूकै हेडक्वार्टरबाट पैदा भएको हो । कुनै पनि पार्टीको विचार, सिद्धान्त, नीति, घोषणापत्रप्रति जनताको विश्वास छैन । ती केवल कागजका खोस्टा वा बुद्धिविलासका पुलिन्दा साबित भैसकेका छन् । यो दुर्घटित राजनीतिको जर्जर यथार्थ हो ।

हवाईजहाज दुर्घटनाको छानबिन आयोग बन्छ (बस लगायत सवारीसाधन दुर्घटनाको पनि छानबिन आयोग बन्नुपर्ने हो), तर राजनीति दुर्घटनाग्रस्त हुँदा छानबिन आयोग कसले बनाउने ? त्यस्तो कुनै निकाय छ भने त्यो स्वयम् जनता मात्रै हो । जनताले नै आफूभित्रबाट छानबिन गर्ने र नयाँ चेतनाको बत्ती बाल्ने हो । त्यसका निम्ति दुर्घटना चिन्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अनि राजनीतिको दुर्घटना चिन्ने सबैभन्दा सरल यन्त्र हो, विचारको यन्त्र । विचारको दृष्टिबाट हेर्नासाथ राजनीतिको भविष्यवाणी सजिलै गर्न सकिन्छ ।

राजनीति भनेको कुनै पार्टी वा राजनीतिकर्मीको भविष्यको कथा होइन । यो त जनताको सामूहिक भविष्यको कथा हो, जो इतिहास र वर्तमानको जगमा बनेको हुन्छ । उदाहरणका लागि, सुगौली सन्धिदेखि सुरु भएको लाहुरे (वैदेशिक रोजगारी) इतिहास किन र कसरी आज हाम्रो एउटा बृहत्तर वर्तमान बन्न पुग्यो ? आज विप्रेषण (रेमिट्यान्स) नेपाली अर्थतन्त्रको मेरुदण्ड बनिसकेको छ । र, यही प्रवाहमा कृषि र अरू उत्पादनका क्षेत्र मृत्युशय्यामा छन् । विचारको दृष्टिबाट हेर्नुहोस्, कसैलाई पनि कृषिकर्म गरेर पिछडा वा ‘हलो जोत्ने’ अपमानजनक जिन्दगी बाँच्न मन छैन ।

मानौं, कुनै कारणवश १० लाख नेपालीले वैदेशिक रोजगारी गुमाउनुपर्‍यो र उनीहरूले पठाउने रेमिट्यान्स बन्द भयो; हाम्रो हालत के हुन्छ ? प्राण उब्जाउने कृषिलाई किसानको व्यक्तिगत बाध्यताभन्दा बढी केही ठानिएको छैन भने कुनै पनि संकटमा हामी के खाएर बाँच्छौं ? के यो सवाल हाम्रो राजनीतिमा प्रभावकारी मुद्दा हो ? होइन भने हाम्रो राजनीति विचारहीनताको दलदलमा फँसेर दुर्घटनाग्रस्त भैसकेको छ । राजनीतिमा फेरि पनि विचार फगत फेसन वा बुद्धिविलास मानिएको छ भने हामी दुर्घटनामा नपरे को पर्छ ? के यो दुर्घटनालाई पृथ्वी जयन्ती मनाएर टार्न सकिन्छ ?

देश र जनताको जीवनको जाज्वल्यमान यथार्थ नदेख्ने राजनीति कसको राजनीति हो ? विचारविहीन राजनीति कसको राजनीति हो ? कुनै करिअर खोजिरहेको राजनीतिक दलालको त होला, तर त्यो जनताको कदापि हुन सक्दैन ।

प्रकाशित : माघ १९, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

सिमसार र मूलको पानी : अन्तरसम्बन्धको विश्लेषण

मोती रिजाल, सिर्जना जोशी

फेब्रुअरी २ का दिन विश्वभरि सिमसार दिवस मनाइन्छ । यस पटकको नारा ‘सिमसारको पुनःस्थापना’ नेपालका लागि निकै सान्दर्भिक छ । भूमिगत जलस्रोत र सिमसारको संरक्षण गर्ने उद्देश्यसहित मनाइने यो दिवसले यसको महत्त्वलाई पनि प्रकाश पार्ने गरेको छ ।


पछिल्लो समय भूमिगत पानी, प्रयोग हुँदै आएका मूलहरू विभिन्न कारणले सुकिरहेका छन्, जसका कारण ढुंगेधारा तथा हिटी प्रणाली पनि मासिइरहेको छ । यस्तोमा सिमसार क्षेत्रको पुनःस्थापना र व्यवस्थापन गर्न भूमिगत पानीको संरक्षण गर्नु चुनौतीपूर्ण बन्दै गएको छ ।

भूमिगत जलस्रोतले सिमसारको पानीको स्रोतका रूपमा ठूलो योगदान पुर्‍याइरहेको हुन्छ । जलचक्रको एउटा अभिन्न पाटाका रूपमा भूमिगत जलस्रोतलाई लिन सकिन्छ र यसलाई जीवन्त राख्न सिमसार क्षेत्रको पनि उत्तिकै भूमिका हुन्छ । तसर्थ सिमसार र भूमिगत पानी अन्तरसम्बन्धित छन् । नेपालको राष्ट्रिय सिमसार नीतिले ‘प्राकृतिक अथवा कृत्रिम रूपमा स्थापित भएका क्षेत्रहरू जसमा दलदल, नदी र बाढीले बनाएका मैदान, ताल, पानी जमेका र कृषि क्षेत्रसँग सम्बन्धित पानी जमेका तथा पानी बगिरहेका स्थायी तथा अस्थायी, सफा तथा नुनिलो पानी भएका क्षेत्रहरूलाई’ सिमसार भनेको छ । नेपालको कुल क्षेत्रफलको लगभग ५ प्रतिशत सिमसारले ओगटेको छ । यीमध्ये दसवटा सिमसार महत्त्वपूर्ण भनी रामसार क्षेत्र अन्तर्गत पारिएका छन्, जसमा से फोक्सुन्डो ताल, कोसीटप्पु, जगदीशपुर ताल, गोसाइँकुण्ड, गोक्यो सिमसार शृंखला, घोडाघोडी ताल, बीसहजार ताल, रारा ताल, माईपोखरी र पोखराका नौ तालहरूको समूह पर्छन् । उच्चपहाडी, मध्यपहाडी तथा चुरे र तराई क्षेत्रमा प्राकृतिक रूपमा उत्पन्न हजारौं मूल छन् । ती विशेषतः मध्यपहाडी र चुरे शृंखलाबाट उत्पत्ति हुने नदी र तालतलैयाका लागि पानीका मुख्य स्रोत हुन् ।

सिमसार क्षेत्र फरक पारिस्थितिकीय पद्धति भएको भूमि हो, जहाँको माटो स्थायी वा मौसमी रूपमा पानीद्वारा सन्तृप्त भैरहेको हुन्छ र सोहीअनुकूल जलीय प्रणाली विकास हुन्छ । भूमिगत जलस्रोत जलभण्डारमा सञ्चित हुन्छ, जुन मूलको पानीका रूपमा सतहमा प्रकट हुन्छ । जमिनमुनिको पानीलाई आवश्यकता अनुसार मानिसले सोझै वा मेसिनको सहायताले निकाल्ने गर्छन् । सहरीकरण उन्मुख बस्तीहरूमा प्रायःजसो सतहमा उपलब्ध पानीका स्रोतहरू विभिन्न कारणले प्रदूषित हुने भएकाले भूमिगत जलस्रोतको ठूलो महत्त्व छ । खानेपानी, घरायसी प्रयोजन, सिँचाइ लगायत वातावरण सन्तुलन तथा पारिस्थितिकीय प्रणालीको नियमित सञ्चालनका लागि पनि यो प्रमुख स्रोत हो । पृथक् मौसम प्रणाली भएको, वर्षमा बढीमा सय दिन मनसुन प्रणाली सक्रिय हुने र बाँकी समय प्रायशः सुक्खा रहने नेपालजस्तो देशमा जलवायु परिवर्तन अनुकूलन र समानुकूलनका लागि पनि भूमिगत जलस्रोत एउटा सशक्त स्रोतका रूपमा रहेको छ ।

नेपालमा उपयोग हुँदै आएका र ठाउँ अनुसार मूल, मुहान्, कुवा, पँधेरा, नाउला भनिने भूमिगत जलस्रोतका प्रकारबारे अनेक किसिमका उखान तथा किंवदन्ती प्रचलित छन् । पानीको स्रोतका रूपमा हुनु अथवा सिमसार क्षेत्र मूलको पानीको स्रोतको रूपमा कसरी हुन्छ भन्ने भौगोलिक र जल–भौगर्भिक बनावटले निर्धारण गरेको हुन्छ । जस्तो– इलामको माईपोखरी सुक्दै जाँदा त्यसवरपरका थुप्रै मूल सुक्दै गएको अध्ययनले देखाएको छ । पोखरामा नौ तालको जलाधार क्षेत्र अध्ययन गर्दा पनि तालहरूमा ७६५ मूलहरू पानीको स्रोतका

रूपमा रहेको पाइएको छ । त्यस्तै, पोखराको दक्षिणतर्फ रहेको फुर्सेखोला जलाधार क्षेत्रमा पाइएका ८६ बाह्रमासे मूलहरूले सुक्खायाममा फुर्सेखोलाको जलप्रवाहलाई योगदान गरेको पाइयो । पश्चिमी पहाडी क्षेत्रमा रहेका पाँच जलाधारमा ४,२२२ मूल पाइएको एक अध्ययनले देखाउँछ । साथै जति पनि मध्यपहाडबाट उत्पत्ति हुने खोलानाला छन्, तिनमा हिउँदयाममा जलप्रवाहका लागि र जलीय पारिस्थितिकीय प्रणाली तथा सम्पूर्ण वातावरण सन्तुलनका लागि पनि मूलको पानीको ठूलो योगदान छ । पानी–ऊर्जा–खाद्यान्न–पारिस्थितिकीय प्रणालीका अन्तरसम्बन्धको एउटा महत्त्वपूर्ण अंश मूलको पानीले ओगटेको छ ।

भौगोलिक र भौगर्भिक बनोटका आधारमा सिमसार र मूलहरूको अन्तरसम्बन्ध नेपालमा प्रत्यक्ष देख्न सकिन्छ । निकै उच्च स्थानमा रहेका हिमाल पारिका मनाङ र मुस्ताङदेखि तराईका फाँटहरूसम्म मूलहरूले सिमसारहरूको उत्पत्ति तथा तिनको स्थिरता र दिगोपनाका लागि लगातार सफा पानी प्रवाह गरिरहेका छन् । मध्यपहाडी भेगका ठूलाठूला झरना, ताल, पानीका खोल्साखोल्सी, दलदल र चुरे भावर क्षेत्रहरूमा भएका थुप्रै मूलको रेखा र तिनको स्रोतबाट प्राप्त हुने पानीले पहाडी र तराई क्षेत्रहरूको सिमसार र सम्बन्धित पारिस्थितिकीय प्रणाली र त्यससँग सम्बन्धित सेवाहरू निर्बाध प्रवाह गरेका छन् । सिमसारको बहुउपयोग मध्यपहाडी तथा चुरे तराई क्षेत्रहरूमा बढी देख्न सकिन्छ ।

सिमसार क्षेत्रहरूको जलाधारमा तथा मूलहरूको पुनर्भरण क्षेत्रमा हुने मानवीय क्रियाकलाप भने पछिल्लो समय बढिरहेको छ । बस्तीहरू फैलिरहेकाले फोहोर पनि बढ्दै गएको छ, जसको उचित विसर्जनको तरिका अपनाइएको छैन । तसर्थ स्थान निर्धारण तथा त्यसको व्यवस्थापनमा उपयुक्त विधि अपनाउनुपर्छ । सिमसारको पुनःस्थापना गर्ने विधि अपनाउँदा तिनको माथिल्लो जलाधार क्षेत्रमा भैरहेका मानवीय क्रियाकलाप र परिवर्तित भएका जलाधार क्षेत्रका गतिविधिलाई समग्र रूपमा हेर्नुपर्छ । सिमसारको संरक्षण भए त्यसले प्रवाह गर्ने पारिस्थितिकीय प्रणाली तथा सम्बन्धित सेवाहरू पनि पुनःस्थापना हुनेछन् । होइन भने सिमसारहरू फोहोर थुपार्ने स्थान बन्न पुग्छन् ।

सिमसार र भूमिगत पानीको स्रोत मूललाई एकीकृत रूपमा हेरेर मूलाधार क्षेत्र पहिचान गरी पुनर्जागरण गर्नुपर्छ । त्यस्तै सिमसारका लागि जलाधार क्षेत्र पहिचान गरी पानीको संग्रह र बहावलाई निरन्तरता दिन उपयुक्त क्षेत्रहरू छनोट गरी संरचना बनाउनुपर्छ । यस कार्यसँग सम्बन्धित वनस्पतिहरूको प्रजाति तथा जंगल–जल विज्ञानको अवस्थिति पहिचान गरी त्यसको व्यवस्थापन गर्नु जरुरी छ । पुनर्भरण क्षेत्र यकिन गरी बस्ती विकास गर्नुपर्छ ।

सम्बन्धित सरकारी निकाय, निर्णयकर्ता तथा योजनाविद्हरूले यस विषयमा बेलैमा ध्यान पुर्‍याउनु आवश्यक छ ।

रिजाल त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक तथा भूमिगत जलस्रोत विज्ञ हुन् भने जोशी इसिमोडमा कार्यरत पारिस्थितिकीय प्रणाली विज्ञ ।

प्रकाशित : माघ १९, २०७९ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×