‘सुसाइड नोट’ पढिरहेको देश
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
‘फिराद वाङ्मय’ भन्ने कुनै चीज हुन सम्भव छ भने प्रेमप्रसाद आचार्य ‘सन्तोष’ को आत्महत्या टिपोटलाई ‘क्लासिक’ को दर्जा दिन सकिएला । संसद् भवनसम्मुख आत्मदाह गरेका प्रेमले आफ्नो फिरादपत्रमा सबैविरुद्ध नालिस दिएका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![‘सुसाइड नोट’ पढिरहेको देश](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/ped/binodbikram-0122023031625-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
छिमेकी, आफन्त, परिवार, समाज, देश, सरकार, नीति, तन्त्र, व्यवस्था; कोही छुटेका छैनन्, केही छुटेका छैनन् । सिङ्गो युवा पुस्ताको चरम निराशाको सामूहिक घोषणापत्र हो यो । चुनावी घोषणापत्रहरूको शौचकागजजति पनि मूल्य र महत्ता बाँकी नरहेपछि के हुन्छ ? सायद अवसादग्रस्त कुनै नागरिक यसरी यस्तो घोषणापत्र लेख्न बाध्य हुन्छ । प्रेमको आत्मदाहमा ककसले पेट्रोल छर्किएर आफ्ना गच्छे अनुसार योगदान गरे, त्यो पनि छर्लङ्गै छ ।
धनाढ्यहरूको जीवनी, आत्मकथा र सफलताका कथाबाट रोमाञ्चित र प्रेरित हुन बानी परेको समाजलाई एक युवा उद्यमी आफ्नो ‘असफलताको कथा’ छोडेर गएका छन् । सामाजिक सञ्जालमा, मानौं बिदाइ उपहारस्वरूप, उनले अभिलिखित गरेको दस्तावेजबाट नराम्रोसँग झस्किनुपर्ने पर्याप्त कारण छन् । सबैभन्दा बढी झस्किनुपर्ने युवाले छ ।
प्रेमको आत्मदाहले इंगित गरेका धेरै पक्षमध्ये एउटा हो- युवा वर्गमा फैलिरहेको मानसिक समस्याको डढेलो । सामान्य नियम के हो भने, जब हालत र महत्त्वाकांक्षाबीच तालमेल हुँदैन, तब निराशा पैदा हुन्छ । आज हरेक युवा जीवनको ध्येय भौतिक समृद्धि मात्रै मान्ने विश्वव्याप्त ‘स्कुलिङ’ बाट प्रशिक्षित छ । घर, गाडी, विलासी चीजबीज, सुखसुविधाको प्रबन्धमा जो पछाडि पर्यो, उसले आफूलाई असफल ठान्यो । अनि, सफल को हो त ? एलन मस्क नि, अरू को ? बिल गेट्सबाहेक दोस्रो को सफल हुन्छ ? उनीहरू नै त हुन्, पृथ्वीका सफलतम सन्तति ! तर, फोर्ब्सको धनाढ्य–सूची जति सत्य हो, वैश्विक भोक सूचकांक (ग्लोबल हंगर इन्डेक्स) पनि उति नै सत्य हो । र, त्यति नै सत्य हो, आजको विश्व व्यवस्थाद्वारा संरक्षित असमानताको कहालीलाग्दो प्रणाली । यस्तोमा नेपालजस्तो गरिब देशको युवाले स्वयंद्वारा स्वयंको मनोचिकित्सा गर्नु आवश्यक पर्ला । अर्थात्, तय गर्नुपर्ला, एलन मस्कजस्तो बन्न खोज्ने या संघर्षशील जिन्दगी बाँच्ने ? यसको मतलब गरिबी छनोट गर्नुपर्छ भन्ने होइन । यत्ति हो, महत्त्वाकांक्षाको हद भने निर्धारण गर्नैपर्छ ।
सचेत र समाज बुझ्ने अभिरुचि भएका मनोविद्हरू प्रेमको आत्मदाहले झस्किएको हुनुपर्छ । हरेक चियापसलमा ‘देशमा गरिखाने वातावरणै छैन’ भनेर गुन्जिने सुस्केरादेखि आत्महत्याको प्रयाससम्म पुगेका युवाको मनोजगत् उनीहरूको अध्ययनको विषय हुँदै हो । आत्महत्याको बढ्दो तथ्याङ्कबीच अब मनोविद्, मनोचिकित्सकका तर्फबाट अभियानै चलाउने बेला भइसकेको छ, जसको केन्द्रमा युवा हुनुपर्छ ।
झस्किनेहरूकै पंक्तिमा ती पेसेवर चिन्तकहरू छन् कि छैनन् होला, जसलाई सामाजिक सद्भावको उग्र चिन्ता छ । उत्पीडित समुदायले युगौंदेखिको अन्यायविरुद्ध बोल्दा, जातीय विभेदको विरोध गर्दा, आन्दोलित हुँदा हाम्रा पेसेवर चिन्तकहरू सामाजिक सद्भाव बिथोलिने भयले ज्वरग्रस्त हुन्थे । प्रेमले ‘म डिप्रेसनग्रस्त छु, कैयौं पटक आत्महत्या प्रयास गरिसकें, मलाई सहयोग गर्नुहोस्, मलाई बचाउनुहोस्’ भनी याचना गर्दा समाजले बेवास्ता गरिरह्यो । के हाम्रो सामूहिक विवेक पंगु भइसकेको हो ? के हामी यति आत्मकेन्द्रित छौं कि अरूको वेदनाले हामीलाई छुँदै छुँदैन ? के हामी यस्तो समाज बनिसकेका हौं, जो बिरामीको उपचार गर्नभन्दा ऊ मरेपछि मलामी जान सजिलो र सुविधाजनक मान्छ ? अन्य सन्दर्भमा सामाजिक सद्भावको परबाह गर्नेहरू यस प्रकरणमा झस्किएका छन् कि छैनन् ?
प्रेमको आत्मदाहपश्चात् हेक्कायोग्य अर्को पाटो छ । यसले ‘अनुकरणको संक्रमण’ फैलायो भने के हुन्छ ? भारतीय दलित नेता तथा विद्वान् बीआर अम्बेडकरले जातहरूको निर्माण प्रक्रियालाई व्याख्या गर्न प्रयोग गरेको शब्दावली हो— ‘अनुकरणको संक्रमण’ । यसलाई सामान्य शाब्दिक अर्थमा मात्रै बुझ्ने हो भने मान्छेमा नक्कल गर्ने प्रवृत्ति बलियो हुन्छ । ‘द न्युयोर्कर’ म्यागजिनको २०१२ को मार्च अंकमा २०१० डिसेम्बरमा ट्युनिसियाली नागरिक मोहम्मेद बुअजिजीको आत्मदाहपछि ट्युनिसिया र अन्य केही देशमा चलेको आत्मदाहको शृंखलामाथि पत्रकार जेम्स भेरिनीको एउटा आलेख प्रकाशित छ । बुअजिजीकै आत्मविध्वंसक पदचाप पछ्याउँदै नर्वे, तिब्बत (चिनियाँ शासनको विरोधमा सन् २०११ मा कम्तीमा ४० जना तिब्बतीले आत्मदाह गरेका थिए), मोरक्को, जोर्डन, बहराइन आदि देशमा आत्मदाहका घटना भएको भेरिनीले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘वर्षौंदेखिको गरिबी र प्रहरीको अत्याचारले थिलथिलो भएर बुअजिजीले आफूलाई आगोमा झोसेका थिए । उनको आत्मदाह खासमा सत्ताको विरोधभन्दा बढी अस्तित्व संकटको परिणाम थियो । उनको आत्महत्या नितान्त व्यक्तिगत थियो, तर यसलाई जनविद्रोहका रूपमा व्याख्या गरियो । उनी अरब संसारको धोकेबाज सत्ताविरुद्ध प्रतिरोध र बेचैन युवाहरूको आक्रोशको प्रतीक बने । यस्तो लाग्छ, उनी आत्मदहनकर्ताहरूको नयाँ पुस्ताको प्रेरणा पनि बनेका छन् ।’ प्रेमको आत्मदाहपछि सामाजिक सञ्जालमा व्यक्त टिप्पणी र प्रतिक्रियाहरूको लक्षण त्यति गतिलो छैन । कतै–कतै त उनको कदमको वीरत्वकरण र महिमामण्डन पनि भएको देखिन्छ, जो अत्यन्त खतरनाक प्रतीत हुन्छ । खास गरी, निराशा, हताशा र ‘देश खत्तम छ’ युक्त उच्छ्वासहरूको विस्फोट भएको छ । त्यसमाथि देशमा एंग्जाइटी डिसअर्डर, सिजोफ्रेनिया, डिप्रेसन आदि मानसिक समस्या बढिरहेका छन् । प्रेमले भोगेका जीवनका जटिलताहरू कुनचाहिँ युवाले नभोगेको होला ? व्यक्ति, संस्था, राज्यबाट प्रेमजस्तै उपेक्षित नभएको युवा को होला ? त्यसैले उनको आत्मदाहको अनुकरण हुँदैन भन्ने ग्यारेन्टी के नै छ र ? झस्किनुपर्ने एउटा विषय यो पनि हो ।
फिरादपत्रमा प्रेमले नेपाली राजनीतिका ताजा र नयाँ अनुहारसँग जनताका समस्या समाधान हेतु ‘बिन्ती’ गरेका छन् । विडम्बना के छ भने, उनले नाम लिएका नयाँ अनुहारहरूसँग न नयाँ राजनीति छ, न नयाँ वैचारिकी । नयाँ अनुहार हुनुबाहेक तीसँग अर्को कुनै नयाँपन छैन । सर्वदा नयाँ नायकको खोजीमा रहने दुःखी समाज आशा गर्न अभिशप्त हुन्छ, पछि निराश हुन अभिशप्त हुन्छ र फेरि नयाँ नायकको खोजी गर्न अभिशप्त हुन्छ । अभिशप्तताको यो चक्र कहिलेकाहीँ यतिसम्म घातक भइदिन्छ, आम मानसिकताले कुनै व्यक्तिलाई आफ्नो मसिहा वा मुक्तिदाता नै ठान्छ र उस्तै परे फासीवादसमेत स्विकार्न तयार हुन्छ । सामान्यजनको निराशालाई पुँजीकृत गरेर उदाएका नयाँहरूसँग प्रेमको पनि अपेक्षा छ । तर, केही महिनामै तिनले पुरानो राजनीतिबाट अध्यवसायका तिकडम (ट्रिक्स अफ द ट्रेड) सिकिसकेका छन्, सिकिरहेका छन् ।
प्रेमले फिरादपत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सआक्रोश सम्बोधन गरेका छन् । उनले प्रचण्ड भनेर सम्बोधन गरे पनि पुष्पकमल स्वयंलाई विगतको ‘प्रचण्डत्व’ घाँडो भएको प्रेमले उति ख्याल गरेका छैनन् (क्लासिकहरूमा पनि त्रुटिहरू हुन्छन्) । पुष्पकमलप्रति अर्पित तीन वाक्य यस्ता छन्, ‘यदि युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहनेछैन । तिम्रो देश खाली हुनेछ । अनि रित्तो देशको प्रधानमन्त्री बन्नू ।’ अहिले पुष्पकमलका निम्ति सत्ता अन्तिम सत्य हो । सत्ताको उनी यति अम्मली भइसकेका छन्, रित्तो देशको प्रधानमन्त्री त के, उनी रित्तो गाउँको वडाअध्यक्ष हुन पनि तयार छन् । कुनै पनि लत, चाहे त्यो सुर्तीको होस् या सत्ताको, आफैंमा खतरनाक हुन्छ । लतकै कुरा गर्ने हो भने उनलाई आनुष्ठानिक लत पनि छ । भैंसीपूजनदेखि दौरा–सुरुवाल धारणसम्म त्यही लतका परिणाम हुन् । अनुष्ठान यसै पनि पश्चगामी र अन्धविश्वासमय हुन्छन् । तर, जति अनुष्ठानप्रेमी भए पनि पुष्पकमलसँग प्रेमप्रसादको आत्मदाहलाई आफ्नो सत्तारोहणको पवित्र अवसरमा सम्पन्न भएको हवन ठान्ने धृष्टतापूर्ण सुविधा छैन ।
एक जना भरभराउँदो युवाले आफ्नो आत्महत्या टिपोटमा नेपाल सरकारका नाममा नत्थी गरेका मागहरू यति जायज छन्, तिनका नाममा दुई–चार पुस्ता नै आन्दोलित हुन सक्छन् । बुअजिजीको आत्मदाहबाट ‘चमेली क्रान्ति’ सुरु भएजस्तै प्रेमप्रसादबाट ‘लालीगुराँस क्रान्ति’ किन सुरु नहुने ? हामीसँग ढाल्न बाँकी तानाशाह छ र भन्ने प्रश्न पनि आउँदो हो । जबसम्म आम मान्छेलाई गरिखान नदिने अड्चनहरू हुन्छन्, आम मान्छेको जीविका संकटमा परिरहन्छ, ढाल्न बाँकी तानाशाह चोकचोकमा उपलब्ध हुन्छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)