स्वभाषा, स्वजाति, स्वराष्ट्रको भाष्य- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वभाषा, स्वजाति, स्वराष्ट्रको भाष्य

राजेन्द्र महर्जन

विविधताबीच एकता नै नेपालीको पहिचान हो ।’ यो पदावली देखेर कसैलाई नेपाली राष्ट्रवादका प्रणेता श्री ५ महाराजाधिराज महेन्द्रवीरविक्रम शाहदेव याद आउन सक्छन्, कसैलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका सर्वेसर्वा अध्यक्ष एवं सर्वाधिक राष्ट्रवादी खड्गप्रसाद शर्मा ओलीको सम्झना आउन सक्छ ।

खासमा यो वर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादीका सुप्रिमो पुष्पकमल दाहाल प्रचण्डको ताजाताजा उद्गार हो । शाहदेवदेखि शर्मा ओलीलाई सम्झाउने हदसम्मको प्रभावशाली पदावली नेपालका सबैजसो शासकलाई साह्रै प्रिय लाग्दो रहेछ, अतः उनीहरूका मुख–मुखमा झुन्डिरहेकै हुन्छ । र त, जनजाति नेपालीहरूका चाडबाडमा उनीहरूका मुखारविन्दबाट फ्याट्ट झरिहाल्छ, ‘अनेकतामा एकता नै नेपालीको शक्ति हो । नेपाल भनेकै विविधतामा समन्वय, सद्भाव र शान्ति भएको देश हो ।’

‘राष्ट्रिय एकताको सरकार’ को उपहार

एकातिर, विभिन्न जाति र समुदायका नेपालीहरूका ल्होछार/लोसार वा नयाँ वर्षमा गरिमामय आतिथ्य ग्रहण गर्ने क्रममा खस–आर्य नेपाली शासकहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको गीत नगाउनु त अपवाद मात्रै हुन्छ । चाहे राजावादी होऊन् या गणतन्त्रवादी, चाहे लोकतन्त्रवादी होऊन् या जनवादी–समाजवादी–साम्यवादी, सबैजसो एकजातीय शासक र नेताहरूले ‘अनेकतामा एकता’ र ‘विविधतामा सामञ्जस्य’ को गफ दिएनन् भने अनौठै हुन्छ । अर्कातिर, विविध जाति र समुदायका नेपालीहरूको मन–मस्तिष्क जित्न लगाइने उनीहरूका नारा र सामाजिक जीवनका व्यवहारमा भने एक वा एकल वा ‘स्व’ लाई राष्ट्रियकरण गर्ने अभियान जारी रहन्छ, एक व्यक्तिलाई राष्ट्रिय एकताका प्रतीकका रूपमा अनूदित गरिन्छ, एक राजाको जन्मदिन नै राष्ट्र–निर्माणको शिलान्यासमा रूपान्तरित हुन्छ, नेपालकै निर्माताका रूपमा देशभरि सार्वजनिक बिदासहित जन्मोत्सव मनाइन्छ ।

लोकतान्त्रिक गणतन्त्रमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले गठनकै अवस्थामा सबै जात/जाति/लिंग/क्षेत्रका नेपालीलाई एक राजाका नाममा बुनिएको राष्ट्रिय एकताको महान् भाष्य उपहार दिइसकेको छ । यसबीच विभिन्न जातिको लोकरिझ्याइँका लागि अनेकतामा एकताको नारा लगाउँदै करिब एकलजातीय एकताको सरकारी नेतृत्व निर्माण गर्न भ्याइसकेको छ, एकलजातीय पुरुष–प्रदेश सरकार पनि सृजना गर्ने काम भइसकेको छ । नेपालकै नागरिक हुन् कि होइनन् भन्ने टुंगो नभएका व्यक्तिले पार्टी चलाउने, उम्मेदवारी

दिएर जित्ने अवस्थाबीच नागरिक हैसियत अदालतमा विचाराधीन रहेका विवादास्पद व्यक्तिलाई उपप्रधान तथा गृहमन्त्रीको पगरी गुथाउने र उनको राष्ट्रवादी भगवान्पनाको गुणगान गाउने सुवर्ण मौका पनि दिइएको छ । कथित प्रतिपक्षको समेत विश्वासको मत पाएपछि आफूलाई ‘राष्ट्रिय एकताको सरकार’ समेत दाबी गर्ने दाहाल–श्रेष्ठ–पौडेल–लामिछाने–लिङ्देन सरकारले जनगणसामु राष्ट्रिय एकता नै प्रदर्शन गरिसकेका छन्, सबैजसोले राष्ट्रिय पोसाक लगाएर ।

खस–आर्य शासकहरूका त्रास र भाष्य

नेपाली समाजको विविधता र अनेकता देखेर खस–आर्य नेपाली शासकहरू कि साँच्चै त्रसित छन्, कि त डर लागेको भान पार्दा रहेछन् । नभए ‘विविधता’ शब्दको उच्चारणसँगै सामञ्जस्यको राग अलाप्नु जरुरी हुँदैन, नभए अनेकतासँग एकताको ताल तुरुन्तै ठोकिहाल्नु आवश्यक हुँदैन । विविधता र अनेकतालाई राष्ट्रिय एकता, समन्वय, मेलमिलापको प्रतिलोमका रूपमा हेर्दा विविधताको त्रास जन्माएको मात्रै देखिन्छ; जनगणमा अनेकताको डर मात्रै फैलिन्छ; राष्ट्रियता, राष्ट्रिय संस्कृतिमाथि वैदेशिक हस्तक्षेपको भाष्य मात्रै विस्तार हुन्छ । कुनै पनि उत्पीडित जात, जाति, लिंग, भाषा, सभ्यताका मानिसले समान अधिकारको माग गर्दा जातीयता, संकीर्णता, साम्प्रदायिकता, विखण्डनवाद फैलाएको आरोप लगाइन्छ । र, सवर्ण समुदाय, त्यसमा पनि ब्राह्मण महापुरुष शासक र बुद्धिजीवीहरूका जुनसुकै मूल्यमान्यता, विचार र भाष्य राष्ट्रिय हुन्छन्; सभ्य, श्रेष्ठ, पवित्र र उन्नत हुन्छन् ।

‘सबै भाषालाई समान अधिकार र नेपाल संवत्लाई राष्ट्रिय मान्यता देऊ’ भन्ने माग गर्नासाथ साम्प्रदायिकताको आरोप लगाउने काम यही त्रास र भाष्यको विस्तार हो । मधेशको क्षेत्रीय स्वायत्तता र संघीयताको मागलाई विखण्डनकारी ठान्ने, धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको आवाज बुलन्द गर्दा देशनिकाला गर्नेदेखि जेलमै कोच्ने, वर्ण व्यवस्थाको दलन र जात व्यवस्थाको उत्पीडनविरुद्ध आन्दोलन गर्दा थप दमन गर्ने काम यही डर र वर्चस्वको फैलावट हो । त्यसैको अर्को पाटो हो- संकीर्णता, साम्प्रदायिकता, विखण्डनवाद रोक्ने नाममा अनेकताबीच एकताका लागि राष्ट्रियकरणको आलाप लगाउने

अभियान । र, संविधानमै राष्ट्रको चिनोका रूपमा धर्म, भाषा, लुगाफाटा, टोपी, फूलदेखि जनावरसम्मलाई राष्ट्रिय प्रतीकमा ढाल्ने राजनीतिक–सांस्कृतिक काम । यो मूल रूपमा सवर्ण ब्राह्मण महापुरुषका मूल्यमान्यता र प्रतीकलाई मात्रै राष्ट्र, राष्ट्रिय र राष्ट्रियता मान्ने–मनाउने उपक्रमबाहेक केही होइन ।

शाहकालमा अनेक चीजको राष्ट्रियकरण भोगेका डा. देवेन्द्रराज पाण्डेको खरो मत छ, ‘महेन्द्रको राष्ट्रवादले विविधतामा एकता भन्न सिकायो, तर त्यो विविधतालाई कहिल्यै सम्बोधन गरेन । नेपाल भनेको गोर्खा राज्य मात्रै हो ? हाम्रो राष्ट्रियताको प्रतीक खुकुरी मात्रै हो ? खुकुरीले काट्ने त वीर गोर्खाली भए, तर काटिने पनि नेपाली थिए नि, तिनलाई पनि खुकुरी नै हाम्रो प्रतीक हो भन्न लगाउने उनको राष्ट्रवाद हो । अब महेन्द्रको राष्ट्रवाद सम्झिएर ती दिन ठीक थिए भन्नु त अमेरिकी शासनमा ह्वाइट एङ्लो सेक्सन प्रोटेस्टेन्ट (गोरा प्रोटेस्टेन्ट इसाई अंग्रेज) को राज हुँदा नै अमेरिका ठीक थियो भन्नुपर्ने हुन्छ  । वस्तुनिष्ठ भएर भन्ने हो भने यो असुरक्षाभाव हो ।’

अनेकता र एकताको द्वन्द्व

नेपाल देश निर्माण गरेको, विदेशी हमलाबाट सुरक्षित राखेको, सयौं वर्षसम्म यसलाई विखण्डित हुन नदिएको, चार वर्ण छत्तीस जातको ‘फूलबारी’ स्याहार्दै आएको दाबी गर्ने शाह र राणा शासकहरूको लोकप्रिय नारा हो- ‘अनेकतामा एकता ः नेपालको राष्ट्रियता’ । करिब सात दशकअघिसम्म पनि ‘नेपाल र नेपाल सरकार’ भन्नुको सट्टा ‘गोर्खा राज भर मुलुक’ भन्न रुचाउने, नौ दशकअघिसम्म आफ्नो भाषालाई ‘गोर्खा भाषा’ नै लेख्ने राजा–महाराजाका नारा लोकतान्त्रिक गणतन्त्रका राजनीतिक नेता र आम नागरिकका दिलदिमागमा पनि रचेबसेका छन् । विभिन्न जात, जाति, लिंग, भाषा, धर्म र क्षेत्रका जनतालाई ‘रैती दुनियाँ’ ठान्ने र सिंगो देशलाई आफूले कमाएको भूमि वा सम्पत्ति वा मुलुक (पोजेसन) मान्ने शासकहरूका संकथन (डिस्कोर्स) र भाष्यमा निहित ‘एकता’ शब्द सबैभन्दा प्रभावशाली शास्त्र र शस्त्र हो । तर, नेपाली समाजको विविधता र अनेकताबीच निर्माण गरिएको एकता र समन्वयका मूलभूत तत्त्वहरू हेरियो भने अत्यधिक लोकप्रिय नारा ‘राष्ट्रिय एकता’ को वास्तविक पाटो उजागर हुन्छ । त्यो पाटो हो- स्थायी सत्ताबाट राष्ट्रिय एकताको नारा अन्तर्गत जारी प्रभुत्वशाली (डोमिनेन्ट), वर्चस्वशाली (हेजिमोनिक) र दमनकारी (रिप्रेसिभ) भूमिका ।

‘डि–ब्राह्मनाइजिङ हिस्ट्री’ का लेखक एवं अध्येता व्रजरञ्जन मणिको विचारमा, भारतको सामाजिक–सांस्कृतिक विकासको विशेष सन्दर्भमा ‘एकता’ र ‘विविधता’ दुईवटा मूल्यनिरपेक्ष र अराजनीतिक शब्द होइनन् । आम धारणाभन्दा ठीक उल्टो, ‘एकता’ र ‘अनेकता’ दुई द्वन्द्वात्मक शब्द हुन्, जसको गहिरो सामाजिक–राजनीतिक अर्थ छ । यहाँ एकातिर, ‘एकता’ ले केन्द्रीयता र एकात्मकताको अर्थ बोक्छ, वर्चस्वकारी सांस्कृतिक–विचारधारात्मक शक्तिहरू, विशेष गरी शास्त्रीय ब्राह्मणवाद/हिन्दुत्वको प्रतिनिधित्व गर्छ र यस रूपमा एकता स्वयंमा दमनकारी र उत्पीडक रहेको छ । अर्कातिर, ‘अनेकता’ ले भने केन्द्रीय र आक्रामक तत्त्वबाट पृथकतालाई र वर्चस्वको प्रतिरोधको मूल्यलाई बोक्छ, नेपाली समाजमा विद्यमान विविध सभ्यता र बहुल पहिचानको इन्द्रेनीपनालाई प्रतिनिधित्व गर्छ ।

एकात्मकताको विस्तार : अनेकतामाथि दमन

नेपालको विशिष्ट सन्दर्भमा हेर्दा एकता वा एकात्मकता वा केन्द्रीयताको मियोका रूपमा हिन्दु राजा, हिन्दु अधिराज्य, हिन्दु मूल्य–मान्यता लामो समयसम्म प्रभावशाली रहेको पाइन्छ, जसले देश र समाजको राष्ट्रिय एकीकरण गर्दै आएको भाष्य बलियो छ । खासमा तिनको मूल काल्पनिकीको चुरोमा ‘असिल् हिन्दुस्थाना’ थियो भने राजनीतिक–सांस्कृतिक–आर्थिक अभ्यासको केन्द्रमा ‘जाततन्त्र’ थियो, जुन अद्यापि एक वा अर्को नाममा प्रचलित छ । ती दुवै अन्योन्याश्रित सम्बन्ध रहेका राजनीतिक–सांस्कृतिक संरचना विस्तारका क्रममा एकताका नाममा एकल पहिचानको केन्द्रीयता लादिएको हो । त्यसअनुरूप एकताका अनेक भाष्य सृजना गरिएका हुन्, सञ्चार र शिक्षामार्फत मनमस्तिष्कमा घुसाइएका हुन्, जनमनमा तीप्रति स्वीकार्यता बढाइएको हो । र, अनेकताको पर्यायका रूपमा रहेका अन्य सबै धर्म, जात, लिंग, क्षेत्र, भाषा, संस्कृतिमाथि दमन पनि गरिएको हो । राजनीतिक–सांस्कृतिक जीवनमा वर्णव्यवस्थाको निरन्तरतासँगै सर्वश्रेष्ठ वर्णका रूपमा ब्राह्मण पुरुषको प्रभुत्व विस्तार गरिएको हो । आर्य वा देव भाषाका रूपमा संस्कृतको सर्वोच्चता कायम राखिएको हो, जसलाई गोर्खा भाषासहित सबै भाषाको जननी र ज्ञानको खानीका रूपमा प्रचार गरिन्छ । गोर्खा भाषालाई पछि ‘नेपाली भाषा’ न्वारन गरियो, जसको प्रभुत्वसँगै अन्य नेपाली भाषा विलोप हुने क्रम जारी छ । अन्य सबै लिपिको जीवन–मूल्यमा नागरी (देव) लिपिको एकाधिकार निरन्तर छ ।

एकता वा एकात्मकता वा केन्द्रीयताबारे अनेक मिथक निर्माणमा स्थायी सत्ताको भूमिका जति छ, त्योभन्दा कम भूमिका छैन स्थायी सत्ताको वर्चस्व विस्तारका सारथि बनेका बुद्धिजीवी, लेखक र कलाकारहरूको पनि । नेपालमा राज्य, प्रशासन, अड्डा–अदालत, शैक्षिक क्षेत्र र सञ्चारमाध्यममा एकल भाषाको प्रभुत्व र जनमनमा त्यसको वर्चस्वका आधारमा कसरी राष्ट्रिय एकात्मकता र केन्द्रीयता स्थापित गरियो, खासमा कसरी एक भाषाभाषीको राष्ट्र निर्माण गरियो त ? एक भाषाका आधारमा बन्ने–बनाइने राष्ट्र–राज्य (नेसन–स्टेट) बारे महाकवि लक्ष्मीप्रसाद देवकोटाको विचार मात्रै हेरियो भने पनि यसको उत्तर प्रस्ट हुन्छ । स्वभाषा, स्वजाति, स्वराष्ट्र र स्वधर्मका पक्षमा खरो र आक्रामक रूपमा उत्रिएका देवकोटाले २००४ जेठमा भएको तीनदिने कवि सम्मेलनमा सभापतिका हैसियतले दिएको लामो भाषणमा एक भाषाका आधारमा बन्ने राष्ट्रबारे प्रस्ट बोलेका थिए । समाजशास्त्री बेनेडिक्ट एन्डरसनले राष्ट्र/राष्ट्रियतालाई ‘इम्याजिन्ड कम्युनिटिज’ (काल्पनिक समुदाय) का रूपमा परिभाषित गर्नुअघि नै देवकोटाले किटान गरेका थिए, ‘एक भाषाले एक जाति बनाउँछ । एक जातिले राष्ट्र बनाउँछ । एक राष्ट्र भएपछि एक सभ्यता हुन्छ, एक धर्म्म हुन्छ, एक ध्येय हुन्छ । सब चीज एकट्ठा रहन्छन् । सहस्र्रशीर्षा पुरुषः सहस्राक्षः सहस्रपात्- हाम्रो विराट् राष्ट्र जन्मिन्छ, धपधपाउँछ, जगमगाउँछ ।’ (रचना, २०३३, वर्ष १४, अंक ४ : १७)

राष्ट्र–राज्यको प्रतिरोधमा

वर्णव्यवस्थालाई सैद्धान्तिकीकरण गरेको र आर्य नस्ल/जातिको पवित्र ग्रन्थ मानिएको ऋग्वेदको पुरुष सूक्तलाई उद्धृत गर्दै देवकोटाले जुन भाषिक राष्ट्रको कल्पना गरेका थिए, जुन राष्ट्र–राज्य (नेसन–स्टेट) को विराट् कल्पना, जपना र तपना गरेका थिए, आज त्यही नेपाली भाषाको राष्ट्र–राज्य अन्य नेपाली भाषाको विकासका लागि बाधक बनिरहेको छ । राष्ट्रिय एकता वा राष्ट्रिय एकीकरणको नारामा एकात्मकता लाद्ने क्रममा बहुभाषिक देशमा एक भाषाको राष्ट्र–राज्यले कति हदसम्म औपनिवेशिक रूप लिन्छ, नेपालका सबैजसो ‘राष्ट्रभाषा’ को बेहालले देखाउँछ । अहिले तिनको दुरवस्था देवकोटाकै भाषामा ‘अरू भाषाहरूले श्वास फेर्न, आत्मविकास गर्न ठाउँ पाऊन्, हामी रोक्तैनौं, तर नेपाली नै हामी सबैको मातृभाषा हो,’ र यसैलाई फल्ने–फुल्ने बनाउनुपर्ने राष्ट्रिय ध्येयले बताउँछ ।

यही ध्येयका साथ एकल राष्ट्र/राष्ट्रिय/राष्ट्रियताका नाममा थोपरिएको दलनको प्रतिवाद हो- विविधता र बहुलता । एकता/एकात्मकता/केन्द्रीयताका नाममा लादिएको प्रभुत्व र वर्चस्वकै प्रतिरोध हो- अनेकता पनि । चाहे त्यो अनेकता भाषाको होस्, चाहे त्यो विविधता जातिको होस्, चाहे त्यो बहुलता धर्म, पन्थ, सम्प्रदाय, संस्कृति र सभ्यताको होस् । नेपालभित्रका अनेक ‘राष्ट्रभाषा’ राज्यका तीनै अंग, प्रशासन, अदालत, शैक्षिक संस्थाका भाषामा प्रयोग हुने समान अधिकार र लोकतान्त्रिक अभ्यासका लागि संघर्षरत छन् । सबैजसो जात न्यायसहितको समानता, समता र सम्मानका लागि लडिरहेका छन् भने सबैजसो जाति सहअस्तित्व, स्वायत्तता र स्वशासनका लागि भिडिरहेका छन् । सबैजसो धर्म, पन्थ, सम्प्रदाय, संस्कृति र सभ्यताचाहिँ मूलतः ब्राह्मण/हिन्दु सनातन धर्म र संस्कृतिको रक्षा गर्ने राष्ट्र–राज्यसँग धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको अभ्यासका लागि जुझ्दै छन् ।

यी सबै समुदायका साना–ठूला प्रतिरोधको केन्द्रमा छ- समतायुक्त समाजको सृजना; एकल वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, भाषा, धर्म र संस्कृतिको समाप्ति; सत्ता–शक्ति–सम्पत्ति–शिक्षा–शास्त्रमा समान अधिकारको स्थापना । यिनै अवधारणाको द्वन्द्वात्मकता र द्वन्द्वात्मक अवस्थाबीच स्थायी सत्ताका सारथि बनेका प्रधानमन्त्री दाहालसँग एकता/एकात्मकता/केन्द्रीयताका पक्षमा उभिनेबाहेक; एकल राष्ट्र/राष्ट्रिय/राष्ट्रियताका पक्षमा नीति–निर्णय गर्ने बाहेक; अनेकता, विविधता र बहुलताको धरातलबाट समताका लागि प्रतिरोध गर्ने कुनै वैचारिकी र काल्फनिकी बाँकी छ ?

प्रकाशित : माघ १०, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

दौरा–सुरुवालको ठाँटबाँट

नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको देशमा एकल राष्ट्रवाद थोपरिँदा यहाँ विद्यमान राष्ट्र र राष्ट्रहरूको समस्या सुल्झिनुको सट्टा झन् बल्झिएको छ ।
राजेन्द्र महर्जन

पुष्पकमल दाहालले लबेदा–सुरुवाल लगाएर, ढाका टोपी ढल्काएर, शुद्ध संस्कृतयुक्त नेपाली भाषामा कुनै पदको शपथग्रहण गरेको हेर्ने इच्छा छ । त्यसपछि नेपालको माओवादी क्रान्ति पूरा भएको ठहरिन्छ ।’

प्रखर राजनीतिक विश्लेषक सीके लालको इच्छा थियो यो, माओवादी क्रान्तिका द्विविधा र त्यसका सर्वोच्च नेताका अन्तरविरोधलाई लिएर हानिएको कटाक्ष थियो । विश्लेषक लालको पाँच वर्षअघिको कटाक्षयुक्त इच्छा नेता दाहालले प्रधानमन्त्रीको तेस्रो पटकको शपथग्रहणमा पूरा गरिदिए, वर्चस्वशाली भाषा, संस्कृति र प्रतीकसामु ‘त्वं शरणम्’ गर्दै । ‘प्रचण्ड’ ले माओवादी क्रान्तिका नाममा जुन भाषिक–जातीय वर्चस्वविरुद्ध शास्त्र र शस्त्र उठाएका थिए, त्यही वर्चस्वसामु आत्मसमर्पण गरेपछि क्रान्ति विसर्जन भएकामा अब त माओवादीहरूलाई पनि शंका छैन ।

पुनःसंरचना नभएको दाहाल–मन

वर्चस्वशालीहरूसँग सोह्रबुँदे साँठगाँठबाट २०७२ सालमा संविधान जारी गरेपछि नेकपा एकीकृत माओवादीले ‘वैज्ञानिक समाजवाद’ शीर्षक प्रकाशन गर्न लागेको थियो । त्यसलाई विचार–विश्लेषण दिएर सघाउन अनुरोध गर्न युनियन हाउसमा बोलाइएको बसाइमा उनीहरूलाई मैले भनेको थिएँ, ‘युद्धको क्रममा उठाइएका सबैजसो मुद्दाको विसर्जन र सत्ता–शक्तिका लागि आधारभूत मूल्य–मान्यताको पनि मोलमोलाइ गरेपछि बौद्धिकहरूमा सबै उत्पीडित समुदायका सवाल त क्रान्तिको नाममा लडाइँमा भर्ती विस्तार गर्न उठाइएको एजेन्डा भन्ने मत प्रबल छ ।’

यस्तो मत सुनेपछि रातोपिरो भएर दाहालले युद्धमा एक से एक बुद्धिजीवीको भूमिकाबारे जानकार रहेको भन्दै दिएको प्रचण्ड प्रतिक्रिया अझै सम्झनामा छ । उत्पीडित समुदायका एजेन्डा स्थापित गर्न नसकेकामा क्षमाप्रार्थी हुनुको सट्टा बौद्धिकहरूको हिसाब–किताब गर्न तम्सिएका प्रचण्ड अहिले ‘पुनर्मूषिको भव’ को अवस्थामा देखिनु टीठलाग्दो हुन सक्छ । प्रचण्ड पुष्पकमल दाहालमै पश्चगमन भएकामा प्रचण्ड नामसमेत मन नपराउने र दाहाल नै नाम राख्नुपर्ने मूढाग्रही वर्चस्वशालीहरू अचेल दङदास हुन सक्छन् । तर, एक वर्ग–वर्ण–जात–जाति–लिंग–क्षेत्रको प्रभुत्व र वर्चस्व भएको राज्यको पुनःसंरचनाका लागि शस्त्र नै उठाउने माओवादी नेतृत्वकारीहरूको मनको पुनःसंरचनासम्म नभएको देखेर कुनै पनि अग्रगामी खुसी हुन सक्दैन ।

जनयुद्धको थालनीको सेरोफेरोमा ‘हिमाल’ द्वैमासिक पत्रिकाले चीनका नेता माओ त्सेतुङका विचार नेपाल लगायत दक्षिण एसियामा कसरी फैलियो भन्ने प्रश्नमा विशेष सामग्री छाप्ने क्रममा एउटा ‘मोन्टाज’ आवरणमा छापेको थियो- माओलाई ढाका टोपीमा ढल्काएर, दौरा–सुरुवालमा सजाएर । अट्ठाइस वर्षपछि ‘जनयुद्धका नायक’ प्रचण्ड पनि प्रधानमन्त्री दाहालका रूपमा दौरा–सुरुवालमा सजिएर भाषण गर्दै हिँडेका छन्, क्यापबाट भादगाउँले टोपीमा र भादगाउँले टोपीबाट ढाका टोपीमा ढल्किँदै । र, दाहालका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उनी ढाका टोपी र दौरा–सुरुवालमा ठाँटिएको देखेर खुसी छन्, कुनै विशेष पोसाकलाई राष्ट्रियकरण गर्ने वर्चस्वशालीहरूको सांस्कृतिक राजनीतिबारे पूरै अनभिज्ञजस्तै बन्दै ।

सबै जात–जातिका नेपालीको राष्ट्रिय लुगा, प्रशासनिक पोसाक, सांस्कृतिक प्रतीकका रूपमा ढाका टोपी र दौरा–सुरुवाललाई स्थापित गर्ने सांस्कृतिक राजनीतिबारे दाहाल वा श्रेष्ठ अज्ञात छैनन् । टोपी नलगाईकन नागरिकताको प्रमाणपत्रसमेत नपाउने वा अनागरिक बनाइने महेन्द्रीय राष्ट्रवादले फैलाएको टोपी र दौरा–सुरुवालको राष्ट्रियकरणबाट उनीहरूको मन पनि मुक्त छैन । उनीहरूको सांस्कृतिक अभ्यासमा देखिएको महेन्द्रीय राष्ट्रवादको चुरो हो- एउटै जातिलाई ‘राष्ट्र’ (नेसन) का रूपमा उभ्याउनु ।

महेन्द्रीय राष्ट्रवादको चुरो

संसारमा कतै जातिका आधारमा, कतै भाषाको जगमा, कतै संस्कृतिको टेकोमा ‘राष्ट्र’ को निर्माण गरिएको इतिहास छ । विशेषतः युरोपमा भाषिक र जातीय समुदायका आधारमा ‘राष्ट्र’ को निर्माण गरिएको छ भने त्यही ‘राष्ट्र’ मा ‘राज्य’ जोडिएपछि देशै बनेको विगत छ । एकल भाषा र जातिका आधारमा ‘राष्ट्र–राज्य’ बनाइँदा एउटै भाषाभाषी वा जाति भएको देशमा ‘राष्ट्रिय’ भावनाका साथ सबै मानिसलाई एक ढिका बनाउन र ‘राष्ट्र’ का नाममा मर्न–मार्न लगाउन सहज हुन्छ । तर, धेरै भाषा, जाति, समुदाय भएका देशमा एकल ‘राष्ट्र’ का आधारमा एकीकरण गर्न खोजियो भने द्वन्द्व, दमन र विग्रहसँगै प्रतिरोध अनिवार्य बन्न पुग्छ । नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको देशमा एकल राष्ट्रवाद थोपरिँदा यहाँ विद्यमान राष्ट्र र राष्ट्रहरूको समस्या सुल्झिनुको सट्टा झन् बल्झिएको छ ।

महेन्द्रीय राष्ट्रवाद खासमा एकल राष्ट्रवाद हो, जसले एकल भाषा र जातिका आधारमा राष्ट्रियकरणको अभियान चलाएको छ, जसले एउटै प्रतीकका आधारमा राष्ट्रिय एकीकरणको भाष्य सृजना गर्दै मन–मस्तिष्कमा वर्चस्व (हेजिमोनी) स्थापित गर्दै आएको छ । बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको देशमा एउटै पक्षलाई मात्रै राष्ट्रका रूपमा कसरी निर्माण गरियो; जन–मनमा कसरी स्थापित गरियो; त्यसले राजतन्त्रको अन्त्यपछि पनि कसरी निरन्तरता पायो; महेन्द्रीय राष्ट्रवादको गुदी खोतलियो भने प्रस्ट हुन्छ ।

महेन्द्रीय राष्ट्रवादबाट प्रेरित बुद्धिजीवीहरूका लागि देश भनेकै राष्ट्र हो, एउटै जाति हो, एउटै भाषा हो, एउटै समुदाय हो, एउटै समुदायको पोसाक हो, एउटै राजा हो । ‘विभिन्न जातीय समूहबीच राम्रो अन्तरसम्बन्ध रहेको र नेपाललाई एउटै ढिकोमा एकीकृत पारिराख्न सामन्ती व्यवस्थाको ठूलो हात रहेको’ मान्ने बुद्धिजीवीहरूको कमी छैन । नेपालमा विभिन्न क्षेत्रमा गरिएको राष्ट्रियकरणबारे पुरातत्त्व, इतिहास र संस्कृतिका ज्ञाता प्रयागराज शर्माको भनाइ छ, ‘पृथ्वीनारायण शाह र उनीपछिका सबै शासकले चार प्रमुख कुराहरूलाई देशको एकीकरणको आधार बनाएका थिए । ती हुन्- गोरखाका हिन्दू राजाको निर्विवाद शासनाधिकार र शक्ति, राष्ट्रिय जीवनमा हिन्दू परम्परा र मूल्यहरूको सर्वोच्चता, जात विभाजनमा आधारित हिन्दू सामाजिक व्यवस्थाका माध्यमबाट सामाजिक एकीकरण तथा सरकारी, प्रशासनिक कामकाज र पछि आएर शिक्षामा पनि नेपाली भाषाको प्रचलन र मान्यता ।’

एकल राष्ट्रवादका आधारमा कस्तो एकता ?

शाह राजाहरूबाट राष्ट्रिय एकीकरण भएको महागाथा लेख्ने, पढाउने र जन–मनलाई दीक्षित गर्ने बुद्धिजीवी र तागाधारी शासकहरूले बेवास्ता गर्ने सवाल हो- कुनै एक भाषालाई नेपाली भाषा वा नेपालको भाषा नामकरण गरिएपछि अरू भाषा अनेपाली वा नेपाली–इतर वा गैरनेपाली वा नेपालकै र नेपाली नै नभएको ठानिने भए कि भएनन् ? कुनै एउटा भाषालाई मात्रै शैक्षिक, सरकारी र प्रशासनिक भाषाका रूपमा तोकिएपछि अरू राष्ट्रभाषाको अस्तित्व, मूल्य–मान्यता र अर्थवत्ता कति हुन्छ; ती अराष्ट्रिय ठहर्‍याइएको प्रस्ट हुन्छ कि हुँदैन ? जसले जे भने पनि शिक्षामार्फत नेपाली भाषालाई राष्ट्रिय सर्वोच्चता दिँदै अन्य भाषाको विलोपीकरणको प्रयास कसरी गरियो भन्ने तथ्य जगजाहेर छ । एकल भाषाका आधारमा राष्ट्रिय एकताका पक्षपाती सरदार रुद्रराज पाण्डेको संयोजनमा सन् १९५३ मा स्थापित राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन र त्यसका आधारमा सात दशकको शैक्षिक अभ्यासले प्रस्ट भन्छ- ‘नयाँ पुस्ताका विद्यार्थीहरूलाई नेपाली भाषा उनीहरूको आधार–भाषाका रूपमा सिकाए अरू भाषाहरू क्रमशः लोप हुँदै जानेछन् र यसले नेपालको राष्ट्रिय एकतालाई अझ बढी मजबुत बनाउनेछ ।’ शासक वर्गले बोल्ने भाषाभन्दा फरक रहेका नेपालकै अन्य राष्ट्रभाषाको लोप हुने सांस्कृतिक आधारमाथि टेकेर नेपालमा कस्तो राष्ट्रिय एकतालाई अझ बढी मजबुत बनाउन खोजिएको होला, अहिले प्रस्ट हुँदै छ ।

आफ्नो जात, जाति, धर्म, संस्कृतिलाई मात्रै राष्ट्रिय मान्यता दिने बुद्धिजीवी र शासकहरूले जवाफ दिनुपर्ने सवाल हो- एउटा जातलाई मात्रै माथिल्लो, श्रेष्ठ, पवित्र, शुद्ध जात ठान्दै विभाजन गर्ने र अन्य जात–जातिलाई मतवाली, मासिन्या, कमसेल, पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने, म्लेच्छ मान्ने सवर्ण पुरुषहरूको धार्मिक राज्यले अन्य जात–जातिलाई कसरी सामाजिक एकीकरण गर्छ ? अपराध गर्ने र मर्कामा पर्ने व्यक्तिको जात–जाति अनुसार दण्ड–सजाय दिने ‘आइन’ (संविधान) द्वारा शासित मुलुकमा राष्ट्रिय एकीकरण भएको महागाथा गाउने एकल जात–जातिका बुद्धिजीवी र शासकहरूले बाहेक अरूले आफूलाई नागरिक नै ठान्न किन नसकेका होलान् ? धेरैजसो मानिसले अनागरिक ठान्ने देशको राष्ट्रिय एकता वा एकीकरण कस्तो होला ?

‘हाम्रो राजा, हाम्रो देश, हाम्रो भाषा, हाम्रो भेष’

यस्ता प्रश्नका जवाफ राष्ट्रिय एकीकरणको भाष्यमा खोतल्नु जरुरी छ, जहाँ हिन्दू धर्म, हिन्दू राजा, हिन्दू राजाका मूल्य–मान्यता, संस्कृति र भाषासँगै पोसाक र प्रतीकलाई राष्ट्र/राष्ट्रिय/राष्ट्रियताको प्रतीकका रूपमा उभ्याएर जन–मनलाई शासनको जुवा र अनुशासनको मर्यादामा राखियो । एउटा उदाहरणले हाम्रो एकल राष्ट्र–राज्यका अनेक नामधारी सम्राट् र शासकहरूको राष्ट्रवादको दौरा–सुरुवाल फुकाल्न सक्छ । समाजशास्त्री सौभाग्य शाह अनुसार, कवि तथा नाट्य सम्राट् बालकृष्ण समले महेन्द्रीय राष्ट्रवादको जगजगी भएको जमानामा ‘हाम्रो राजा, हाम्रो देश, हाम्रो भाषा, हाम्रो भेष’ भन्ने नारा रचेका थिए । राजा महेन्द्रद्वारा सन् १९६२ मा डाकिएको बुद्धिजीवी सम्मेलनमा ललितपुरका एक प्रतिनिधिले लगाएको नारालाई नै पञ्चायतका पण्डितहरूले ‘एक भाषा, एक भेष, एक देश’ भनेर फेरेका थिए । ३० वर्षसम्मको दलविहीन राज्यव्यवस्थामा खुब रटाइएको समनिर्मित नाराले महेन्द्रको राष्ट्रवाद र उनले सृजना गरेको पञ्चायत व्यवस्थाको एकात्मक दर्शनको प्रतिनिधित्व गरिरहेको छ ।

आज नेपालबाट जनआन्दोलनका कारण राजा, राजतन्त्र र त्यसको राजनीतिक व्यवस्थाको अन्त्य भएको पनि जुग भइसकेको छ, तर देशको राजनीतिक–सांस्कृतिक जीवनमा तिनले रोपेको विषवृक्ष कति हदसम्म झाँगिएको छ, लोकतान्त्रिक गणतन्त्रका संविधानमा, संविधाननिर्माता दलहरूमा, सरकारहरूका नीति र नियतमा मात्रै होइन, जन–जनका मनमस्तिष्कमा समेत देख्न पाइन्छ । शासक वर्ग–वर्णको भाषा, धर्म, संस्कृतिको मात्रै होइन, राष्ट्रिय प्रतीकमा गाईजस्तो तिनको पूज्य धार्मिक–राजनीतिक जनावरको एकाधिकार तथा एक जाति–क्षेत्रको पोसाकको राष्ट्रियकरण अझै प्रश्नभन्दा माथि राखिएको छ । यस्तो प्रवृत्ति आफूलाई लोकतान्त्रिक र वामपन्थी भन्न रुचाउने, सांस्कृतिक बहुलवादको झन्डा उचाल्ने विभिन्न दल, सरकार र अदालतमा देखिँदै आएको छ, जसको पछिल्लो अभिव्यक्ति दौरा–सुरुवालमा शपथग्रहणका लागि एमाले सुप्रिमो केपी शर्मा ओलीको उर्दी र ओलीको कृपाबाट नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा क्रियान्वयन हो ।

एकल पोसाकको राष्ट्रियकरणको नाटक

महेन्द्रीय राष्ट्रवादको प्रेत आफूलाई अब्बल दर्जाका क्रान्तिकारी, वामपन्थी र राष्ट्रवादी ठान्ने एमालेको सांस्कृतिक अभ्यासमा बेसी प्रकट भएको पाइन्छ । ओलीको उर्दी र दाहालको दौरा–सुरुवाल लगाइएको नेपथ्यमा एमाले र एमाले–कांग्रेस सरकारले जारी गरेको आदेशको इतिहासको पानामा देख्न सकिन्छ । एमाले–कांग्रेस सरकारले २०६७ भदौमा सरकारी सभा–समारोहमा कर्मचारीलाई ‘राष्ट्रिय पोसाक’ का नाममा दौरा–सुरुवाल लगाउन निर्देशन नै जारी गरेको थियो । कुनै शंका छैन, पञ्चायतकालीन पोसाक कोडकै निरन्तरता हो, राजा वीरेन्द्र र ज्ञानेन्द्रको छत्रछायामा कांग्रेस, एमाले र राप्रपा शासित संसदीय प्रजातन्त्रकालमा दौरा, सुरुवाल, टोपीलाई मात्रै राष्ट्रिय पोसाक मान्ने प्रावधान; लोकतान्त्रिक, गणतान्त्रिक र समावेशी भनिएको नेपालमा पनि नेकपा एमालेको शासनकालमा त्यही पोसाकलाई राष्ट्रिय पोसाकका रूपमा निरन्तरता दिने सरकारी उर्दी ।

आफूलाई प्रजातन्त्रवादी, मार्क्सवादी लेनिनवादी वा माओवादीसमेत भन्न रुचाउनेहरूका रुचि, संस्कार, विचार निरंकुश राजा महेन्द्रको एकलजातीय राष्ट्रवादी आदेशबाट सञ्चालित रहेको तथ्य पटकपटक प्रकट भइरहेको छ, विभिन्न रूपरंगमा । एकलजातीय राष्ट्रवादको पञ्चायती भूत गणतान्त्रिक राज्य र राज्य चलाउने दलहरूमा मात्रै होइन, अदालत र न्यायाधीशहरूमा पनि प्रकट भएको पाइन्छ । एमाले–कांग्रेस सरकारले जारी गरेको ड्रेस कोडलाई सर्वोच्च अदालतले पनि सदर गर्दै अन्य धेरै पोसाकलाई अन्याय गरेको तथ्य विदितै छ । ‘राष्ट्रिय पोसाक भन्नाले दौरा–सुरुवाल सम्झनुपर्छ’ भन्ने राज्य सञ्चालक तागाधारी नेताहरू र त्यही उर्दीलाई लालमोहर लगाउने न्यायाधीशहरूले एक सयभन्दा जातजाति र उनीहरूका आफ्नै विशिष्ट पहिरनको बदख्वाइँ गरेको प्रस्ट छ ।

यसरी सरकारी उर्दी र अदालती फैसलाका आधारमा स्थापित एकल पोसाकको राष्ट्रियकरणपछि प्रधानमन्त्री दाहालको ढाका टोपीमा ढल्काइ र दौरा सुरुवालमा सजाइजस्ता सांकेतिक स्वरूप (सिग्निफायर) भित्र कस्तो अर्थ वा संकेतित (सिग्निफाइड) भाव अटाएको छ, बुझ्न कठिन छैन । वर्चस्वशाली वर्ग–वर्ण, जात–जाति–संस्कृति–धर्म–भाषाको सुरुङमा छिरेपछि, उनीहरूकै आदेश, निर्देश र उर्दीलाई शिरोपर गरेपछि ‘सांस्कृतिक बहुलवाद’ को झन्डाको उठान बेइमानीको प्रतीक हुन्छ । ‘विविधतामा एकता नै नेपालीको पहिचान हो’ भन्ने दाहाल–वचनमा पनि महेन्द्र शाहदेखि ओलीसम्मको एकल राष्ट्रवादी झुसिलो डकार मात्रै आउनु अनौठो होइन । विविध पोसाकबीच अभ्यासमा एकता वा एकरूपताका लागि, सरकारी, प्रशासनिक वा अन्य औपचारिक कर्मकाण्डका लागि एउटा न एउटा जातीय पोसाक त चाहियो नि, अनेक राष्ट्रबीच एकताका लागि एक जना राष्ट्रिय एकीकरणकर्ता त आवश्यक भयो नि भन्ने वर्चस्वकारी सांस्कृतिक वैचारिकीबाट दाहाल वा श्रेष्ठका मन पनि मुक्त छैनन् । यही मनले नै लबेदा–सुरुवाल लगाएर, ढाका टोपी ढल्काएर, शुद्ध संस्कृतयुक्त नेपाली भाषामा शपथग्रहण गराउने हो; राज्यका नीति नियममार्फत एकल राष्ट्रवादको प्रदूषण फैलाउने हो । अतः आफ्नै मनको पुनःसंरचना नगरीकन एकल राष्ट्र–राज्यको पुनःसंरचनाको नारा लगाउनु पाखण्ड पुराणको फाठ गर्नु ठहरिन्छ कि ठहरिँदैन, दाहाल र श्रेष्ठज्यू ?

प्रकाशित : पुस २६, २०७९ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×