नेपालमा भारत–चीनको सहयोग- विचार - कान्तिपुर समाचार

नेपालमा भारत–चीनको सहयोग

महेन्द्र पी‍. लामा

डिसेम्बर १९६० मा तिनताकका राजा महेन्द्रले राणा शासनकाल समाप्त भएपछि बनेको पहिलो प्रजातान्त्रिक सरकारलाई बरखास्त गरेपछि नेपालमा भारत र चीनको आर्थिक अनुदान र विकास सहयोगले एउटा चाखलाग्दो रूप धारण गर्‍यो ।

चुनाव जितेर सरकार बनाएका विश्वेश्वरप्रसाद कोइरालालाई हटाएर राजा महेन्द्रले पञ्चायत व्यवस्थाको संवैधानिक घोषणा गरेपछि भारतसँगको नेपालको सम्बन्धलाई लगभग सन्तुलन नै गर्न उत्तरतिरबाट चीनलाई ल्याइयो । राजा महेन्द्रलाई भारतसँग ठूलै गुनासो एवं मतभेद थियो । नेपालमा प्रजातन्त्र ल्याइनुपर्छ भन्ने विभिन्न राजनीतिक दलको कर्मथलो भारत नै भएको थियो । राजतन्त्रका निम्ति तसर्थ यी राजनीतिक दल र नेताहरूलाई सघाउ पुर्‍याउने भारतीय राजनीतिक दल र नेताहरू आँखाको छारो भएका थिए । भारतीय कंग्रेस पार्टी, कम्युनिस्ट पार्टी र समाजवादी अन्य पार्टीसँगको घनिष्ठ सम्बन्ध भएका विशेषतः नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले नेपालको राजनीतिक एवं अन्तर्राष्ट्रिय सम्बन्धमा हस्तक्षेप गरी राजतन्त्रलाई अस्थिर बनाएर, राजाको संस्थालाई नै आघात पुर्‍याउने दृश्यहरू अघि आएपछि, राजा महेन्द्र विचलित भएका कुरा लेख–पुस्तक–दस्तावेजमा प्रशस्तै मात्रामा छन् ।

यसै पृष्ठभूमिमा भारत र चीनको आर्थिक सहयोगले नेपालमा जरा गाड्यो । सन् १९५० को दशकमै भारतले त्रिभुवन राजपथ र गौचरन हवाई अड्डा आफ्नो आर्थिक सहयोग अन्तर्गत निर्माण गरेपछि, १९५१ मा केवल ३७६ किलोमिटरको गाडी हिँड्ने मार्ग भएको नेपालमा आवतजावत निकै बढ्न गयो । भारतको रक्सौल (बिहार) लाई काठमाडौंसँग जोड्ने त्रिभुवन राजपथ १९५३–५६ को अवधिमा ५.६५ करोड भारुमा भारतीय सेनाका इन्जिनियरहरूले बनाएका थिए । भारत–नेपाल सिमानादेखि सुरु हुने यो राजमार्गले वीरगन्ज, सिमरा, अमलेखगन्ज, हेटौंडा, भीमफेदीलाई छुन्छ । यसरी नै नेपालको पहिलो हवाई अड्डास्वरूप भारतले १९५४ मा गौचरन हवाई अड्डा (त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डा) ७० लाख भारुमा निर्माण गर्‍यो । भारतले नेपाललाई दिने आर्थिक अनुदान–सहयोगलाई अझै सुगठित बनाउन १९५४ मा इन्डियन एड मिसन र १९६६ मा इन्डियन को–अपरेसन मिसन बनायो ।

तत्पश्चात् भारतले नेपालका अनेक भौगोलिक क्षेत्रमा विभिन्न विकासका आधारहरू निर्माण गर्‍यो । यी आधारहरूले नेपालका सहर–गाउँ, पहाड–मधेश, समुदाय–समाज आदिलाई आपसमा जोड्न ठूलै भूमिका निभाए । नेपालमा सन् १९९० को दशकको सुरुआतमै, बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको आगमन नहुन्जेल भारतले नेपाललाई प्रदान गरेका आर्थिक अनुदान र कार्यहरू साँच्चै आकर्षक एवं विश्लेषण गर्नलायककै छन् । गत तीन दशकमा भारतले नेपाललाई पुर्‍याएको सहयोग अझै भिन्नै प्रकारको छ । नेपालभित्रै आफ्नै व्यापक विकासरूपी पहलहरू एकापट्टि, अनि विभिन्न राष्ट्र एवं अन्तर्राष्ट्रिय संस्थाहरूको योगदान अर्कोपट्टिÙ राम्ररी अध्ययन भएकै छैन । यस लेखमा सन् १९९० अघि भारत र चीनले नेपालमा विकासका कस्ता आधारहरू बनाए भन्नेमा मात्रै सीमित हुँदै केवल एउटा विहंगम दृश्य अघि राख्ने प्रयास गरिएको छ ।

भारतले विशेषतः पाँच क्षेत्रमा नेपाललाई ठूलै सहायता पुर्‍यायो । ती हुन्— परिवहन एवं सञ्चार, शिक्षा, स्वास्थ्य, औद्योगिकीकरण एवं जल संसाधन अनि बिजुली । सन् १९६४ मा सिद्धार्थ राजमार्ग (सुनौली–पोखरा) को निर्माण सुरु गरियो । २०० किलोमिटरको यो राजमार्ग २० करोड भारु खर्च गरी १९७० मा पूरा गरियो । नेपालको पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग को ९०० किलोमिटरको दूरीमा भारतले ६४६ किलोमिटर निर्माण गर्ने तय गरेपछि २८.३८ करोड भारुको अनुदानमा यसको ३०० किलोमिटरको पूर्वी भाग (काँकरभिट्टा–ढल्केबर) १९६७ मा सुरु गरी १९७५ मा सम्पन्न गर्‍यो । यसरी नै २५१ किलोमिटरको मध्य भाग (बुटवल–नेपालगन्ज) १० करोड भारुको अनुदानमा १९८६ मा पूरा भयो । र अन्तिम पश्चिमी भाग (कोहलपुर–वनबासा) पनि भारतीय आर्थिक सहयोग अन्तर्गत नै निर्माण गरियो । यसरी नै भारतले काठमाडौं–त्रिशूली मार्ग (१९६२), काक्रावा–लुम्बिनी मार्ग (१९५८), त्रिपुरेश्वर–थानकोट मार्ग (१९६६), काठमाडौं–दक्षिणकाली मार्ग (१९६९), काठमाडौं–गोदावरी मार्ग (१९७५), हनुमाननगर–फत्तेपुर मार्ग (१९७७) आदि बनायो ।

सन् १९६० को दशकमा भारतले नेपालका अन्य व्यावसायिक एवं पर्यटन केन्द्रहरूमा हवाई अड्डा निर्माणमा व्यापक अनुदान दियो । यसै अन्तर्गत विराटनगर, जनकपुर, सिमरा, भैरहवा अनि पोखरामा हवाई अड्डाहरूको निर्माण गरियो । नेपालमा पोस्ट अफिस र सञ्चार व्यवस्था अति नै बुनियादी स्थितिमा रहेको समय भारतले गाउँ–सहर–नगर आदिमा रेडियो, टेलिफोन, टेलिप्रिन्टर, ओभरहेड ट्रंक कोन्स, टेलिग्राफ, टिलेबस मेसिन, कोक्सियल केबल पुर्‍यायो । नेपालको पहिलो विदेशी डाकघर १२ लाख भारुमा भारतीय अनुदान अन्तर्गत नै १९६८ मा निर्माण गरियो । यसरी नै शिक्षा क्षेत्रमा भारतले नेपालमा विश्वविद्यालय निर्माणको अनुदानबाहेक पुस्तकालय, प्रयोगशाला, भारतमा अध्ययन गर्नलाई छात्रवृत्ति आदि व्यापक रूपमा अघि राख्यो । सुन्दरीजल (काठमाडौं) बाहेक वीरगन्ज अनि अमलेखगन्ज (१९६२), विराटनगर (१९६४), जनकपुर अनि पोखरा (१९६६), भैरहवा एवं भक्तपुर (१९७०) आदिमा पिउने पानीको आपूर्तिमा भारतीय आर्थिक अनुदान गहकिलो थियो । परोपकार (काठमाडौं) सहित कैलाली, राजविराज, धनगढी, तौलिहवा, इलाम, गुल्मी आदिमा अस्पताल एवं विभिन्न स्वास्थ्यचौकीमा प्रशिक्षण दिने प्रबन्धमा भारतको अनुदान सक्रिय थियो । वनजंगल, पशुचिकित्सा, फलफूल, कृषि आदि क्षेत्रमा अनेक परियोजनासँगसँगै पाटन, नेपालगन्ज अनि धरानमा औद्योगिक केन्द्रहरू भारतको आर्थिक अनुदान अन्तर्गत नै बनाइए ।

जल संसाधन एवं बिजुली उत्पादनका क्षेत्रमा, भारतले सन् १९५४ मा कोसी परियोजना सम्झौतामा हस्ताक्षर गरेपछि १९६९ मा बिहारसँग जोडिएको सीमा क्षेत्रमा १२० किलोमिटर लामो तटबन्ध बनायो । २० मेगावाट बिजुली उत्पादनको व्यवस्था पनि गरियो । यसरी नै १९५९ मा भारत–नेपालबीच गण्डकी नदी सम्झौता भएपछि १९५९–८४ सम्मको लामो अवधिमा तटबन्ध निर्माणसँगसँगै १४ मेगावाट बिजुली उत्पादनको प्रबन्ध मिलाइयो । १९७२ मा १३.५५ करोड भारुमा भारतले २१ मेगावाटको त्रिशूली जलविद्युत् परियोजना र १९८४ मा १४ मेगावाटको देवीघाट परियोजना बनायो ।

सन् १९६०–९० सम्मका तीन दशकमा भारत र चीनबीच नेपाललाई दिइने आर्थिक अनुदान–सहयोगमा गहिरै प्रतिस्पर्धा भयो । यो प्रतिस्पर्धा अहिलेको जस्तो खुला एवं प्रत्यक्ष रूपमा भने भएन । नेपाल सरकारले यस प्रतिस्पर्धामा सन्तुलन ल्याउन धेरै कोसिस गर्‍यो । पहिलो तीन दशक (१९६०–९०) र दोस्रो तीन दशक (१९९१–२०२१) मा भारत र चीनले नेपाललाई दिएका आर्थिक अनुदान–सहयोगमा निकै ठूलो अन्तर पाइन्छ । दोस्रो तीन दशकमा भएको प्रतिस्पर्धाबारे पछि लेखौंला, तर पहिलो तीन दशकमा चीनले नेपालमा व्यापक रूपमा अनुदान–सहयोग गर्‍यो । भारत जहाँजहाँ पुग्यो, चीनले त्यहीँ पुग्ने कोसिस गर्‍यो ।

जुलाई १९५५ मा राजा महेन्द्रले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउने प्रयास गरेपछि १९५६ मा पहिलो पटक चीनले ६ करोड भारुको नरम ऋण दियो र नेपालले लगभग तीन वर्षभित्रै त्यो ऋण रकम उपयोग गर्‍यो । १९६० मा पहिलो पटक १० करोड भारुको आर्थिक अनुदान दिएपछि चीनले नेपाल पसेर विकासको सहयोगी बन्ने तय नै गर्‍यो । १९६० मै चीन–नेपाल मैत्री सन्धिमा हस्ताक्षर गरिएपछि त्यसै वर्ष नेपालमा चीनको दूतावास बन्यो । चीनले नेपालमा उद्योगधन्धादेखि बाटोघाटो, बिजुली उत्पादनदेखि जल सिँचाइ, कृषिदेखि स्वास्थ्य, शिक्षादेखि व्यापार–वाणिज्यसँगसँगै आर्थिक र अन्य तकनिकी सहयोग पुर्‍याउँदै आएको छ ।

चीनले काठमाडौं र कोदारीबीच ११४ किलोमिटरको अरनिको राजमार्ग निर्माण गर्नलाई सन् १९६१ मा नेपालसँग तय गरेपछि १९६२ मा आफ्ना तकनिकी विशेषज्ञहरू पठाए । १९६३ मा राजमार्ग बनाउन थालियो र २६ मे १९६७ मा यो काम ७ करोड भारुमा पूरा गरियो । यो राजमार्ग निर्माणमा ५५ जना चिनियाँ तकनिकी व्यक्तिहरू सामेल भएका थिए । बनेपा, धुलिखेल, बाह्रबिसे हुँदै कोदारी पुग्ने यो राजमार्गको धेरै हिस्सा सुनकोसी–भोटेकोसी नदीको किनारैकिनारमा बनाइएको छ । चिनियाँ र नेपालीहरू एकअर्काका राष्ट्रमा चार घण्टाभित्रै पुग्न सक्ने भए । यसरी चीनले १९७० मा काठमाडौं–भक्तपुरबीचको १६ किलोमिटर लामो राजमार्ग ५ करोड भारुमा बनायो । १९६५ मा सुरु गरेर १९७३ मा पूरा भयो अर्को

भव्य काठमाडौं–पोखरा राजमार्ग । चिनियाँ आर्थिक सहयोग (१४.१ करोड भारु) मा यो पृथ्वी राजमार्ग अरनिको राजमार्गझैं त्रिशूली–मर्स्याङ्दी नदीका किनारमा निकै लामै बनाइएको छ । यो राजमार्गमा काठमाडौं, धादिङ, चितवन, गोरखा, तनहुँ, कास्की जिल्ला समेटिएका छन् ।

चीनले काठमाडौं–भक्तपुर राजमार्गमा सन् १९७३ मा ट्रली बस सेवा निर्माण सुरु गर्‍यो र १९७५ मा सक्यो । पहिलो पटक २२ वटा बस चल्न थाले, जसमा १५–१७ हजार यात्रु दैनिक रूपमा चढ्थे । चीनले काठमाडौंमा आर्थिक अनुदान अन्तर्गत बनाएका परियोजनाहरूमध्ये रिङरोड घतैलाग्दो प्रकारको रह्यो । यो २७ किलोमिटरको मार्ग १९७३ मा बन्न थाल्यो र चार वर्षभित्रै सम्पन्न भयो । यसरी नै चीनले १९७२ मा निर्माण सुरु गरेको ६१ किलोमिटरको गोरखा–नारायणगढ राजमार्ग १९८१ मा सम्पन्न भयो । पहाड–मधेश जोड्ने र २२ वटा पुल रहेको यो राजमार्ग बनाउँदा २६ हजार टन सिमेन्ट, ८७२ टन फलाम, २८५ टन विस्फोटक, ४२८३ टन तेल र १६०५ टन अलकत्रासहित ६२ लाख मानव दिन (म्यान डेज) लागेको थियो । पोखरा–सुर्खेत र पोखरा–बागलुङ राजमार्गहरू पनि चिनियाँ अनुदान अन्तर्गत नै बनाइए ।

सन् १९७९ मा चीनले हेटौंडामा लुगाको कारखाना निर्माण गर्‍यो जस अन्तर्गत बर्सेनि १ करोड मिटर सुतीको कपडा बनाउन थालियो । १५ करोड भारुमा बनाइएको यस कारखानाले एक समय नेपालको मोठ कपडा मागको ८ प्रतिशत पूरा गर्थ्यो । १९६५ मा चीनले बनाइदिएको बाँसबारी छाला–जुत्ता कारखानाबाट बर्सेनि ३० हजार जोडी जुत्ता र २१ हजार छाला टुक्राको उत्पादन हुन्थ्यो । यो पहिलो कारखाना थियो जहाँ नेपालभित्रकै कोरा माल (छाला) व्यापक रूपमा प्रयोग गरिन्थ्यो । १९६७ मा चीनले काठमाडौं र वीरगन्जमा ७ हजार वर्गमिटरका ठूलठूला गोदाम बनायो । अनि १९६९ मा ललितपुरमा १५ लाख भारु अनुदानमा इँटा–टायल कारखाना निर्माण गर्‍यो । यस कारखानाले त्यस बखत बर्सेनि २ करोड इँटा र ५० लाख टायल बनाउँथ्यो । यस्तै इँटाको कारखाना १९७९ मा भक्तपुरमा पनि ३.५ करोड भारु अनुदानमा बनाइयो, जसको बर्सेनि २ करोड इँटा बनाउने क्षमता थियो ।

सन् १९८६ मा नवलपरासीको गैंडाकोटमा चीनले भृकुटी कागज कारखाना बनायो । कृषि र वनजंगलमा रहेका–फ्याँकिएका सामग्रीहरूलाई सँगालेर कोरा मालका रूपमा प्रयोग गरिने यस कारखानाले एक समय सयौं श्रमिकलाई प्रत्यक्ष रूपमा रोजगारी दिन्थ्यो र ६०० टनभन्दा बढी कागज उत्पादन गर्थ्यो । यसरी नै लुम्बिनीमा चिनी मिल निर्माण गरियो जस अन्तर्गत बर्सेनि १० हजार टन चिनी उत्पादन हुन थाल्यो । सन् १९७० मै चीनले काठमाडौंमा भव्य टाउन हल निर्माण गर्‍यो ।

सन् १९७२ मा चीनले १० करोड भारुको लागतमा १० मेगावाट क्षमताको सुनकोसी जलविद्युत् परियोजनाको निर्माण गर्‍यो । लामोसाँघुमा अवस्थित यस परियोजनाले त्यसताक नेपालको बिजुली क्षमतामा १५ प्रतिशत योगदान दिन्थ्यो । दक्षिण एसिया क्षेत्रीय सम्मेलनसमेत आयोजना गरिएको काठमाडौंस्थित वीरेन्द्र कन्भेन्सन सेन्टर पनि चीनको सहयोगमै निर्माण गरिएको हो ।

नेपालको आर्थिक विकासमा भारत र चीनको भूमिका अति नै चाखलाग्दो रहिआएको छ । गत ६०–७० वर्षको अवधिमा यी राष्ट्रहरूले नेपाललाई किन आर्थिक एवं अन्य सहायता दिए भन्ने विषयमा व्यापक छलफलहरू भइआएका छन् । त्यस्तो सहयोग केवल विकासकै लागि हो त ? विकासको झोलाभित्र राजनीतिक–सामरिक–व्यापार आदि केके लक्ष्यहरू लुकाई–छिपाई राखिएका छन् त ? भारत–चीन सिमाना विवाद र नेपालले खेल्दै आएको मध्यम भूभाग (बफर स्टेट) को भूमिकाले यी दुई राष्ट्रलाई कहिलेसम्म यस्तो आर्थिक सहयोग दिनैपर्ने स्थितिमा पुर्‍याउला ? एक हातले दियो, अर्को हातले लियो भन्ने कथन कहाँसम्म सत्य ठहर्छ ? अलिकति दियो, धेरै लियो भन्ने आरोप साँच्चै साबित हुन्छ र ? चीनलाई रोक्ने र आफ्नो प्रभुत्व फैलाउनेदेखि ढोकामै थुन्नेसम्मको अमेरिकाको विदेशनीतिको प्रपञ्चमा पर्दा आर्थिक सहयोगले अरू केके बाटो अपनाउला र कहिल्यै नदेखिएको रूप धारण गर्ला त ?

पहिलो तीन दशकमा नेपालमा आर्थिक अनुदान अन्तर्गत देखिएको भारत–चीन प्रतिस्पर्धा एवं खिचातानी र दोस्रो तीन दशकमा भारत–चीन आर्थिक सहायताभित्र रहेको नेपाल–रणनीतिमा कहाँ किन के कुन फरक पाइन्छ, अति नै रुचिपूर्ण एवं महत्त्वपूर्ण विषय भएर अघि आउँदै छ । पुराना पोखरा–बागलुङ र अरनिको राजमार्ग एवं हाल बीआरआई अन्तर्गत निर्माण गरिने केरुङदेखिको रेलवे लाइनमा चीनको रणनीतिको मर्म कहाँ किन कसरी लुकेको छ अनि नेपालको बिजुलीलाई भारत भएर बंगलादेश र पछि बर्मा–थाइल्यान्डसम्म जान दिने भारतको विदेशनीति सुधारमा केकस्तो राष्ट्रहित समाहित छ, यी सबमा व्यापक र गम्भीर विश्लेषणहरू अघि आउँदै छन् । सबै लेख्दै जाऔंला, त्यान्द्रा र तन्तुहरू निस्कँदै जालान्, नयाँ ज्ञानले विक्षिप्त पार्दै जाला ।

प्रकाशित : माघ १०, २०७९ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल : नयाँ सरकारले के गर्ने ?

महेन्द्र पी‍. लामा

नेपालको संसद्को चुनाव चाखैलाग्दो भयो । कहिल्यै नचिताएको गठबन्धन भयो, त्यही पनि चुनावअघि, अनि फेरि नसोचेकै नतिजा पनि । कसैले अर्काको आङ–पिठ्युँमा चढेरै जिते भने, कसैले एकअर्काको काँध–कुममै खुट्टा–शरीरसम्म राख्दा पनि हारे । विदेशीहरूले घोडादौडमा झैं बुक्की खोज्दै दाउ लगाए ।

कसैले इन्डो–प्यासिफिकको घोडा दौडाए, कसैले चीनलाई पछार्ने घोडसवारी अघि ल्याए र फेरि कसैले त गँड्यौला, झुसुले र खुम्लेकीरा सबैलाई एउटै ढाकीमा हाली सलबलाउन लगाए । के यो नेपालकै चुनाव थियो ? के नेपालीले नै लडेको प्रजातन्त्रको होडबाजी थियो ? के बस्तीवाला–पहाडे–मधेशी सबैले चाहेकै सरकार बन्यो ? प्रश्नहरू धेरै अघि आए र आउँदै छन्, चुनाव सकेर सरकारसमेत बनेपछि पनि । नेताले डाँडाको घाम भइसकेर पनि फेरि झुल्किएर न्यानोपन दिन नसकेपछि बादल र तुवाँलोलाई औंल्याएको पनि देख्यौं । केही गर्न सक्ने आँट र क्षमता भएको नौलो पिँढीलाई रकेटको जमानामा पनि गोरुगाडा नै हाँक्न लगाउने ज्ञान–प्रज्ञा–अनुभवले विक्षिप्त नेताहरू पनि देख्यौं । तर नेपाललाई मात्र किन ठिंग उभ्याउनु; अमेरिकादेखि मलेसियासम्म, ब्राजिल र क्युबादेखि भारतका कर्नाटक, सिक्किम र पश्चिम बंगालसम्मै बूढापाकाले जरैबाट नउखेलिउन्जेल गद्दी सम्हालेकै हुन् ! गद्दी–चौकीमा बस्नासाथ चाउरिएका गाला–छालामा गुलाबी–रातो रंग चढेको र फेरि रोम–रोम रोमाञ्चित हुने बैंसको आगमन भएको पनि नदेखेका होइनौं । नेपाल–भारत–चीनमा यस्ता उदाहरणहरू लछेप्रै छन् । फरक यति मात्रै हो, नेपालमा गद्दी–चौकीले दशकौं बितेर जाँदा पनि तिनै तीन–चार–पाँच अनुहारबाहेक अरू देख्दै देखेन । ‘घुमीफिरी रुम्जाटार’ खेलमा गद्दी–चौकीले समेत हार खायो । कोसी–गण्डकी–मेची ओरालो बगे पनि त्यही जहाजी र उकालो बग्दा पनि त्यही जहाजको चालक ! तीन करोडजति जनसंख्या भएको नेपालमा मानौं एउटा डोकोभरि अट्ने मात्रै नायकहरू छन् ! नेपालको अहोभाग्य–दुर्भाग्य, डोकोभरि अटाएका नायकहरूमध्ये को फुत्रुक्कै बाहिर निस्कन्छ, उसैले तय गर्ने भयो । भाग्य, भविष्य र उज्यालोपन ल्याउन सक्ने लाखौंलाई चाहिँ डोको रुँघेर बसिरहने बनाइए ।

र नै, गत तीस वर्षमा डोकोबाट निस्केका नेता र उनीहरूका सरकारले डोकोलाई अठ्याउने, ताक्ने र मजबुत बनाउने काम मात्रै गरे । डोकोबाहिरका जनता, वातावरण र राष्ट्रलाई परबाह नै गरेनन् । विदेशीलाई डोको लपेट्न अति नै सहज, ओल्टाइपोल्टाइ गर्न त अझै मज्जा र डोकोभित्रकाहरूलाई मर्काउन र चड्काउनमा झनै अलौकिक आनन्द । र विदेशीले डोको नै औधी मन पराउँछन्, एकदुई झुल्किने घाम र तिरिमिरी पारिदिने नयाँ नक्षत्रलाई पनि सम्हालेर पछ्यौरी तान्दै डोकोभित्रै हालिदिन्छन् । यो पालि पनि झन्डै त्यस्तै त भएन ? डोको, त्यसभित्रका साथीहरू जति नै लाप्पा खेलेको देखिए पनि पाहा त डोकोभित्रैबाट उम्क्यो । यो कुनै नयाँ कुरो हुँदै भएन । सबैले जानेकै–बुझेकै र अडकल गरेकै कुरो भयो । अब आउने पाँच वर्ष वा अर्को चुनाव नहुन्जेल ज्योतिषीलाई भन्दा पनि साधारण जनतालाई कसले कसरी कहाँ खेल्छ र गोल कसले गर्छ, पेनाल्टी दिने रेफरी र लाइन्सम्यानहरू कहाँ कसरी दौडिरहेका छन्, कस्तो झन्डा बोकेका छन् भन्नेबारे अति नै परिपक्व ज्ञान–सूचना छ ।

धेरैले भन्छन्- नयाँ सरकारले अब कम्प्रोमाइज–सम्झौता गर्दैन, जोखिम उठाउँदैन । जनहितका कार्य गर्नुभन्दा सत्ता बचाउनु सरकारका लागि महत्त्वपूर्ण हुनेछ । रूखको घनत्व चाहिँ सानो–कमजोर तर हाँगाबिँगा चाहिँ गह्रौं र असुहाउँदिला । हावापानी–बर्खा–चट्याङ–भुइँचालो त के, एउटा ठूलै विदेशी शक्तिले हल्लाएको खण्डमा पनि रूख लच्कन्छ र ढल्न पनि सक्छ । अर्को चुनावसम्म धराशायी भने सायद नहोला, बरु अर्को रूखको खाँबो ठोकठाक पारी, क्रिसमसमा झैं रंगीचंगी हाँगाबिँगा–नक्षत्र–सान्तक्लज टाली अर्को नयाँ साल आउन देला । यही हो अहिलेको नेपालको राजनीतिक नेतृत्व र सरकारलाई चुनौती भने पनि, मौका भने पनि वा गरेरै देखाउँछौं भन्ने भावना–संकल्पले ओतप्रोत हुनु भने पनि । हामी भारतीयहरूलाई, प्रजातन्त्रमा रुमलिन थालेको नेपालले अब के गर्छ भन्ने प्रश्नले सधैं कुतकुत्याइरहन्छ । नेपालमा के छैन, नेपालीले के गर्न सक्तैनन् र अब कसरी अघि बढ्लान् भन्ने कुरोमा हामी अन्य राष्ट्रहरूका जनता जनार्दन कौतूहलले विक्षिप्त हुन्छौं । किन नेपाल भनेझैं अघि बढ्न सकेन ? बंगलादेशसमेत विकासशील राष्ट्रहरूको झुन्डमा प्रवेश गरिसक्यो, नेपाल त झन् विश्वसमुदायले नै भलो चिताएको राष्ट्र । गत ७०–७५ वर्षमा विश्वसमुदायले पुर्‍याएको आर्थिक अनुदानले मात्र पनि नेपालको द्र्रुत गतिमा विकास हुनुपर्ने हो । भारत र चीन छिमेकी हुँदाहुँदै नेपालले किन भनेजस्तो आर्थिक प्रगति अघि ल्याउनै सकेन ?

हालै गठन गरिएको नेपाल सरकारका निम्ति डोकोभित्रबाट निस्कने सक्ने पाँच–छवटा मार्ग छन् । यी मार्गहरू कुनै भयानक क्रान्तिले देखाएका किञ्चित् होइनन्; तर निश्चय पनि, साधारण जनताले भोग्दै आएको पीरमर्का, बिदेसिएका नेपालीहरूले देखेको राष्ट्र निर्माणको सपना, छरछिमेकी राष्ट्रहरूले चाहेको नेपालको अन्तर्राष्ट्रिय नीति एवं कार्यकुशलता र नेपाली युवा पिँढीले ठूलै खेल्ने मैदानको चाहना राख्दै आफूलाई होमेर गरेका चुनावी चर्चा–परिचर्चाले संकेत गरेका हुन् ।

नेपालले आज खोजेको ठूलो स्थान हो- पारम्परिक परिचयदेखि एउटा नयाँ र व्यापक पहिचान–व्यक्तित्व एवं ब्रान्ड नेम । सगरमाथाको काखमा अवस्थित सुन्दर शान्त राष्ट्र, मिलनसार र वीरताको इतिहास बोकेका नेपालीहरू र एकपल्ट छिमेकी राष्ट्रहरूसमेत काम्ने शक्तिशाली देश - यी सबै पहिचान लिएर नेपाल दशकौं रह्यो । राष्ट्र जति अघि बढ्छ, जति उमेर खाँदै जान्छ, आफ्नो भित्री परिचय र बाह्य पहिचान पनि बदल्दै जान्छ । यो अकाट्य कुरो हो र ऐतिहासिक परिप्रेक्ष्यमा विज्ञानझैं साँचो र तथ्यपरक पनि । चीनको सन् १९६०–७० को दशकको परिचय कस्तो थियो ! सांस्कृतिक क्रान्ति (कल्चरल रेभोल्युसन) ले छियाछिया पारेको, अनिकालले ग्रस्त र भोकमारीले दबाएको । चिनियाँको चीत्कारमा विश्वले नै आँसु बहाउने स्थिति थियो । उता भियतनामलाई पनि, उत्तर भियतनाम र दक्षिण भियतनामका नाममा अमेरिकाजस्तो क्रूर राष्ट्रले लगभग स्वाहा नै पारेको थियो । भारत अंग्रेजको उपनिवेशवादले कुल्चेर अस्तव्यस्त–शोषित राष्ट्र । गरिबीले जरा गाडेको अनि फेरि चारैतिर फैलने साम्प्रदायिक दंगा–द्वन्द्वको राष्ट्र । त्यस्तो तिरस्कृत एवं भँगालिएको पहिचानदेखि आज चीन, भियतनाम र भारत कसरी विश्वमा ब्रान्ड नेम परिवर्तन गर्दै अग्रपंक्तिका राष्ट्रहरूमा गनिन थाले ! अर्थात्, केही दशकअघिको यी राष्ट्रहरूको परिचय र आज विश्वले नै सराहना गर्ने पहिचान (आइडेन्टिटी) मा आकाश–पातालको फरक छ । जापान–युरोप–क्युबा सबैको यही इतिहास छ ।

नेपाललाई नयाँ र सुगठित पहिचान (ब्रान्ड नेम) अघि ल्याउन विश्वले नै मौका दिएको छ । विश्वमा चलिरहेको सबैभन्दा विस्तीर्ण एवं गहिरो परिचर्चा हो- जलवायु परिवर्तन (क्लाइमेट चेन्ज) ले ल्याएका मौका र खतराहरू । जलवायु परिवर्तन परिचर्चामा हिमालय क्षेत्रको परिप्रेक्ष्यमा नेपाल सिंगो र ठिंग उभिएको राष्ट्र हो । सम्पूर्ण हिमालय क्षेत्रलाई प्रतिनिधित्व गर्ने मौका र क्षमता आजको नेपालमा छ । भारत–चीन–बर्मा–भोटाङ–पाकिस्तान–अफगानिस्तान सबैलाई नेपालको नेतृत्वमा अघि ल्याउन सकिन्छ । नेपालमा केपी शर्मा ओलीको सरकारले ‘सगरमाथा डायलग’ गर्ने जो जमर्को गर्‍यो, त्यो अति नै प्रशंसनीय थियो । नेपालले जलवायु परिवर्तनको प्रवर्तक भएर विश्वमा हिमालय क्षेत्रबारे बहस राख्नु, वैज्ञानिक संस्थाहरू निर्माण गर्नु, विश्व चर्चा–परिचर्चाको केन्द्र हुनु र नयाँ खोज–ज्ञानको भण्डार बन्नु नै नयाँ विश्वपहिचान प्राप्त गर्नु हो । के नयाँ सरकारले यस दिशातर्फ ठूलो सोच र विश्वलाई नै अँगाल्ने कार्यक्रम बनाउन सक्छ ? राजा वीरेन्द्रले सन् १९७५ उसो ‘नेपाल अ जोन अफ पिस’ अर्थात् नेपाललाई शान्तिक्षेत्र घोषणा गर्नुका पछाडि राष्ट्रलाई नयाँ विश्वपहिचान दिने महत्त्वपूर्ण प्रयास पनि थियो ।

दोस्रो, नयाँ सरकार राष्ट्रमा अहिलेसम्म नबनेका संस्थाहरू (इन्स्टिच्युसन) बनाउनपट्टि लाग्नुपर्छ । विश्व कहाँ पुग्यो, नेपाली जनता विश्वव्यापी बने र राष्ट्र पनि अघि बढोस् भन्ने चाहना–चासो राख्दाराख्दै पनि सरकारहरूले संस्था निर्माण गर्न भने सक्दै सकेनन् ! भारत–अमेरिका–जापान–चीन–सिंगापुर अघि बढे; कारण, त्यहाँका सरकारहरूले संस्था निर्माणमा आफूलाई लगभग होमिदिए । सात–आठ दशक खाइसकेको राणा शासनपछिको नेपालले अहिलेसम्म पनि त्रिभुवन र काठमाडौं विश्वविद्यालय लगायतमै आफूलाई सीमित राखेको छ । दिल्ली र वरिपरि हेर्नुस्, के छैन यहाँ ? अस्पताल, मन्त्रालय, शिक्षण संस्था, वैज्ञानिक एवं टेक्नोलोजीका संस्था, निजी क्षेत्रका व्यापार–वाणिज्य र उद्योगधन्धा, दूरसञ्चारदेखि सांस्कृतिक संस्थासम्म । नेपालमा जबसम्म विश्वस्तरका आफ्नै संस्थाहरू बन्दैनन्, तबसम्म नेपाल र नेपालीहरू अरू राष्ट्र–संस्था आदिमा निर्भर रहन कर लाग्छ । दशरथ स्टेडियमजस्तै खेलकुदका २०–२५ संस्थाहरू हुनुपर्‍यो । भाटभटेनी, ब्लुबर्ड आदि बन्न सक्छन् र तिनमा जनआकर्षण हुन सक्छ भने चिकित्सा, पर्वतमाला, ओखतीमुलो, पानी, जंगल, खेत आदिबारे विश्वस्तरका संस्थाहरू किन बन्न सक्दैनन् ? यी संस्थाहरू काठमाडौंदेखि टाढा मेचीको बगरमा, सिंहदरबारदेखि दूर कालीगण्डकीको छेउछाउमा बन्नुपर्‍यो । यी संस्थाहरूले नेपालका जनजाति, दलित, मधेशी सबैलाई आत्मा–शरीर–भविष्यसम्मै छुनुपर्‍यो । सात–सातवटा प्रान्त त बने, तर त्यहाँ खोइ संस्था ? अझै पनि भारत–विदेश वा काठमाडौं ताक्छन् त्यहाँका बासिन्दाहरूले । किनकि संस्थाहरू नै छैनन्; बैंक, दूरसञ्चार, इन्सुरेन्स, शिक्षा, स्वास्थ्य र अनुसन्धान एवं अदुवा–सुन्तलामा लाग्ने कीटाणु–रोग आदि सम्बन्धी पनि ।

तेस्रो, नेपालले आफूसँग जे प्राकृतिक संसाधन छ त्यसलाई पर्याप्त एवं वैज्ञानिक ढंगले प्रयोगमा ल्याउनुपर्छ । ८३ हजार मेगावाट बिजुली उत्पादन गर्ने क्षमताको ढोलपिटाइ एकापट्टि, फर्पिङमा सन् १९११ मै एसियाकै दोस्रो जलविद्युत् कारखाना खुलेको, अर्कापट्टि अहिले पनि केवल २ हजार मेगावाट बिजुली उत्पादनमै पाखुरी–सुर्क्याइ ! यसबारे कसले कसरी बुझाउन सक्छ ? नेपालले चाहे पनि नचाहे पनि खोला–नदीको पानी तलैतिर बगेको सयौं वर्ष भइसक्यो र पनि बिजुलीभन्दा पनि पानीको कूटनीति गर्नपट्टि लाग्छ । भोटाङ बिजुली बेचेरै कहाँ पुग्यो ! सरकार डोको–नाम्लो वा नक्षत्र मण्डलबाटै किन नआओस्, पानीमाथिको नीति लामो सोच राखेर बनाउनुपर्‍यो । अहिले गठन भएको सरकारले पानी–बिजुलीमाथि ठीक नीति बनाएर भारतले सन् २०२१ मा जारी गरेको बिजुली व्यापारबारेको दिशानिर्देश र नीतिलाई गतिलै रूपमा प्रयोगमा ल्याउन सक्नुपर्छ । यस नीति अन्तर्गत नेपालले अब बिजुली भारतलाई मात्रै नभई अन्य छिमेकी राष्ट्रमा पनि बेच्न सक्नेछ । नेपालको बिजुली भारतको उत्तरपूर्वी क्षेत्र भएर त्रिदेशीय (भारत, बर्मा, थाइल्यान्ड) राजमार्ग हुँदै मलेसिया, सिंगापुर र कम्बोडिया पुग्नु नै नेपालले अरूलाई आफूमा निर्भर बनाउनु हो । सरकारले यस्तो सोचमा आफूलाई चुर्लुम्म डुबाउनुपर्छ नै ।

चौथो, नयाँ सरकारले भारत र चीनलाई नेपाल राष्ट्रको विकासमा प्रभावशाली ढंगमा प्रयोग गर्नुपर्छ । संस्था निर्माणदेखि बाटाघाटा–रेल–हवाई–पानी–शिक्षा–स्वास्थ्य–वैज्ञानिक अनुसन्धान सबैमा भारत र चीनलाई चलाउनुपर्छ । अहिलेसम्मको भारत–चीनतर्फको नेपालको रणनीति नै फेल भयो; कारण, यस रणनीतिमा संस्थाभन्दा पनि गहिरो भूमिका व्यक्तिले खेल्ने भयो । नेताहरूलाई नै स्थायी ढंगमा भारतपरस्त, चीनविरोधी आदिको छाप लाग्यो । संस्था त कहाँ गयो–गयो ! अर्को, नेताहरूले ठोस रूपमा नेपालको राष्ट्रिय हितबारे कुरा नराखेर भारतलाई कसरी खुसी र चीनलाई कसरी सन्तुष्ट राख्ने भन्ने विषयमा ध्यान दिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दुइटै राष्ट्रबाट लिनुसम्म लिएर पनि दुवैसँगको सम्बन्धमा सन्तुलन नै कायम राखिरहेकी छन् ।

पाँचौं, के नेपाल सरकारले आफ्नो खेतीपाती–उद्योग, जाति–जनजाति–दलित आदिलाई एसियाली क्षेत्रीयताको व्यापक रूप दिन सक्ला ? नेपालले आफ्नोमा लछेप्रै पाइने ओखतीमुलो, धामी–झाँक्री–फेदाङ्मा–बोन्वो आदिको ज्ञानलाई मूल्य शृंखला (भ्यालु चेन) बनाएर भारतीय–बंगलादेशी–बर्मेली–थाई आदि उद्योगधन्धामा घोलेर विश्वबजार खान सक्ला । त्यो मूल्य शृंखलामा अदुवा–अलैंची–पाखनवेद–तितेपाती नै किन नहोऊन् ! राई–लिम्बू–बाहुन–तामाङ–शेर्पा–थकाली–मधेशीको पारम्परिक पहिरनबाट फेसन टेक्नोलजी चलाएर पनि नेपालले विश्वबजार खान सक्ला । दक्षिण कोरिया, जापान, इटलीले यही त गरे !

अनि त फेरि युवा पिँढीका निम्ति नेपाल सरकारले भद्रपुरदेखि डडेलधुरासम्म विभिन्न आधुनिक प्रशिक्षण एवं दक्षता केन्द्रहरू खोल्न सक्छ । भारतले, चीनले यही गरे र त आज भारत आफ्ना श्रमदान–श्रमिक आदिबाट विश्वमै सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने राष्ट्र भएको छ । नेपाल सरकारले आफू डाइसको गोटी भएर अरूलाई हल्लाउन दिनु हुँदैन । नेपालीहरू अघि बढ्न चाहन्छन्, वीरतादेखि परतिर जान चाहन्छन् ।

प्रकाशित : पुस १९, २०७९ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×