कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

खाँचो भूकम्प पूर्वसूचना प्रणालीको

नेपाल र समग्र हिमालय क्षेत्रमै भूकम्पहरू नियमित रूपमा गइरहेका हुन्छन् । हिमालयमा, अझ नेपालमा सानाठूला भूकम्प नियमित रूपमा दैनिक रेकर्ड तथा मापन गरी राखिएको हुन्छ । सामान्यतया म्याग्नेच्युड ३ भन्दा ठूला भूकम्पहरू मात्र मानिसहरूले अनुभव गर्न सक्छन् ।

खाँचो भूकम्प पूर्वसूचना प्रणालीको

साना भूकम्पहरू दैनिकजसो गइरहने भए पनि नेपालमा विगतमा केही ठूला तथा महाभूकम्पसमेत गएका छन् । १९९० सालको भूकम्प पूर्वी नेपालमा गएको थियो र त्यसले करिब १० हजार मानिसको ज्यान लिएको थियो । नेपालमा गएका ठूलामध्ये सबैभन्दा पछिल्ला भूकम्पहरू हुन्- २०४५ सालको उदयपुर भूकम्प, २०६८ सालको ताप्लेजुङ–सिक्किम भूकम्प, २०७२ सालको गोरखा र सिन्धुपाल्चोक भूकम्प । विभिन्न अध्ययन अनुसार, कुनै ठूलो भूकम्पका परकम्पहरू केही दशकसम्म पनि जान सक्छन् । २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको ७.९ म्याग्नेच्युडको भूकम्पका परकम्पहरू अझै पनि जाँदै छन् ।

शक्तिशाली तथा महाभूकम्पहरूले छोटो समयमा ठूलो क्षति पुर्‍याउँछन् । त्यस्तो बेला हजारौं प्राणीको ज्यान जाने, लाखौं घाइते हुने, लाखौं घर तथा अन्य भौतिक संरचनामा क्षति हुने हुनाले देशको समग्र आर्थिक अवस्था नै धराशायी हुन्छ । हालसम्मका अध्ययन–अनुसन्धानले भूकम्प जाने सम्भावित स्थान, सम्भावित म्याग्नेच्युड, सम्भावित पुनरावृत्ति समय तथा सम्भावित कम्पनको तीव्रताबारे धेरै कुरा पत्ता लगाएका छन् । भूकम्पको भविष्यवाणीका लागि जनावरहरूको अस्वाभाविक गतिविधि, पृथ्वीको भित्री भागबाट निष्कासन हुने रेडन तथा कार्बन डाइअक्साइडजस्ता ग्यासहरू तथा तातोपानी, पृथ्वीको सतह तथा सतहमुनिको पानीको सतहमा आउने परिवर्तन, नियमित रूपमा गइरहने साना भूकम्पहरूको संख्यामा हुने घटबढजस्ता विषयमा अध्ययन भैरहेको छ । यद्यपि भूकम्पको निश्चित समय, निश्चित स्थान र निश्चित म्याग्नेच्युड भन्न वैज्ञानिकहरू सफल भइसकेका छैनन् ।

नेपाल यस्तो देश हो जहाँ भूकम्प जान सक्दैन भन्न सकिन्न । तर, हाम्रो देशमा भूकम्पको जोखिम उच्च हुँदाहुँदै पनि हाम्रा संरचनाहरू भूकम्पप्रतिरोधी छैनन् । फलस्वरूप, ठूला भूकम्पहरूले पुर्‍याउने क्षति हाम्रो कल्पनाभन्दा बाहिर हुन सक्छ । नेपालमा करिब ४० प्रतिशत घर ढुंगा र माटाले मात्र बनेका छन् एवं देशको धेरै जनसंख्या त्यस्तै घरहरूमा बस्छ । त्यस्ता घरहरू ठूलो भूकम्पको केही सेकेन्डमै भत्किन्छन् । नेपालमा भूकम्पबाट मात्र करिब ५० वर्षयता १९ हजारभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक छ, जुन उक्त अवधिमा नेपालमा प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेको ४० प्रतिशत हो । त्यसैले अहिलेको भवन निर्माण अभ्यास र मानिसहरूमा भएको भूकम्प सम्बन्धी जानकारीका आधारमा भोलिका दिनमा आउन सक्ने भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न धेरै अप्ठेरो छ । भूकम्पप्रतिरोधी भवन र संरचनाहरू बनाउनु नै एउटा दीर्घकालीन समाधान हो । विश्वभरिका भूकम्पविद्हरूले विभिन्न कालखण्डमा संकलन गरेका तथ्यांक, फरकफरक तरिकाले गरेका विभिन्न अध्ययनले नेपाल र हिमालय क्षेत्रमा ठूला तथा महाभूकम्प जुनसुकै बेला पनि जान सक्ने देखाएका छन्, जसले भविष्यमा भूकम्पबाट हुन सक्ने मानविय क्षति घटाउनका लागि नेपालमा तत्काल पूर्वसूचना प्रणालीको आवश्यकता रहेको जनाउँछन् । स्मरणीय छ, २०७२ सालको गोरखा भूकम्पपछि सर्वोच्च अदालतले सरकारलाई तत्काल भूकम्प पूर्वसूचना प्रणालीको स्थापना गर्न निर्देशनात्मक आदेश दिएको थियो ।

तर, भूकम्प पूर्वसूचना प्रणाली सामान्य तरिकाले छोटो समयमै सञ्चालनमा ल्याउन सकिन्न । हाल प्रचलनमा आएका त्यस्ता प्रणालीहरूले निश्चित ठाउँमा भूकम्प गइसकेपछि त्यसका शक्तिशाली तरंगहरू अन्य ठाउँमा नपुग्दै त्यसबारे सन्देश पठाउने मात्र गर्छन् । यसको सफल परीक्षणका लागि राम्रो बजेट, दक्ष जनशक्ति उपलब्ध हुँदा पनि केही वर्ष लाग्न सक्छ । यो प्रणालीको स्थापना गर्न भूकम्पको स्रोतबारे पर्याप्त जानकारी हुन आवश्यक हुन्छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४० वर्षभन्दा बढी अवधिदेखि नेपालमा जाने भूकम्पबारे अध्ययन गर्दै आइरहेको छ । त्यस्ता अध्ययनका नतिजाहरू भूकम्प पूर्वसूचना प्रणाली स्थापनामा उपयोगी हुन्छन् ।

भूकम्प पूर्वसूचना प्रणालीका लागि सर्वप्रथम त सम्बन्धित क्षेत्रमा भूकम्पीय उपकरण (सेस्मोमिटर, एक्सेलेरोमिटर तथा अन्य) हरू बाक्लै जडान गर्नुपर्छ । यी उपकरणहरूले जमिनमा हुने विभिन्न किसिमका कम्पनहरू मापन गर्छन् । सैद्धान्तिक रूपमा त्यस्ता उपकरणले जुनसुकै कारणले जमिन हल्लिएको भए पनि मापन गर्छन्; ट्रक गुडेको, मान्छे हिँडेको, भूकम्प सबै । सञ्चारका आधुनिक माध्यमहरूमार्फत धेरै ठाउँमा रेकर्ड गरिएका भूकम्पका तरंगहरू केही सेकेन्डभित्रै भूकम्प अध्ययन केन्द्रमा पठाइन्छन् जहाँ भूकम्पविद्हरूले तिनको गहिरो अध्ययन गर्छन् । जमिन भूकम्पले नै हल्लिएको हो भने त्यसको समय, केन्द्रविन्दु, म्याग्नेच्युड आदि पत्ता लगाउने काम पनि पूर्वसूचना प्रणालीको एउटा महत्त्वपूर्ण पाटो हो । पूर्वसूचना प्रणालीको अर्को पक्ष भूकम्पको नियमित निगरानी हो । यसरी निगरानी गर्दा विभिन्न ठाउँमा जडान भएका उपकरणले दिएका जानकारीका आधारमा भूकम्प पत्ता लगाई त्यसको केन्द्रविन्दु, म्याग्नेच्युड, गहिराइ आदि निश्चित गर्नुपर्छ । उपर्युक्त सबै चरण पार गरेपछि मात्र मानिसहरूलाई भूकम्पबारे सूचना पठाउन सकिन्छ । जब कुनै भूकम्पबारे आवश्यक जानकारी निश्चित हुन्छ तब उक्त त्यसको कम्पन पुग्न सक्ने ठाउँका मानिसहरूलाई सचेत तुल्याउन सन्देश पठाइन्छ । त्यस्तो सन्देश पठाउनका लागि सञ्चारका विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ; जस्तै- मोबाइल नेटवर्क, साइरन, एफएम रेडियो, टेलिभिजन आदि ।

भूकम्प जानुभन्दा कति समयअगाडि सूचना प्राप्त गर्न सकिन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । आधुनिक भूकम्पीय उपकरणहरू बाक्लै जडान गरिएका छन् र उत्कृष्ट सञ्चारमार्फत भूकम्पका तरंगहरू अध्ययन केन्द्रमा प्रसारण गरिएका छन् भने कुनै एउटा तरंग अध्ययन गरेर भूकम्पबारे सन्देश पठाउन १०–१५ सेकेन्ड लाग्छ । केन्द्रविन्दु आफू बसेको ठाउँनजिक छ भने पूर्वसूचना भूकम्पको पहिलो कम्पनभन्दा केही सेकेन्डअगाडि मात्र पाउन सकिन्छ तर केन्द्रविन्दु टाढा छ भने पूर्वसूचना पहिलो कम्पनभन्दा केही मिनेटअगाडि पनि प्राप्त गर्न सकिन्छ । उदाहरणका लागि, ताप्लेजुङमा ठूलो भूकम्प गयो भने विराटनगरले त्यसको पहिलो कम्पन आउनुभन्दा २–४ सेकेन्ड अगाडि मात्र सूचना पाउँछ भने काठमाडौंले २०–२५ सेकेन्डअगाडि । यस उदाहरणमा ताप्लेजुङमा गएको भूकम्पको पूर्वसूचना विराटनगरलाई दिन सकिँदैन भने काठमाडौंमा लाखौंको ज्यान बचाउन सकिन्छ ।

भूकम्प पूर्वसूचना प्रणालीले सन्देश पठाउँदा मानिसहरूले आफूलाई सुरक्षित राख्न पाउने समय भनेको केही सेकेन्डदेखि थोरै मिनेटसम्म मात्र हो । यो समय थोरै भए पनि धेरै तरिकाले मानिसलाई बचाउन सकिन्छ; जस्तो— सन्देश प्राप्त गरेपछि उच्च गतिमा गुडेका सवारीसाधनहरू रोकिन सक्छन्, जोखिमपूर्ण उद्योगहरूले मेसिन बन्द गर्न सक्छन्, विद्युतीय काम रोक्न सकिन्छ, अति महत्त्वपूर्ण र जोखिमपूर्ण काम (मेडिकल शल्यक्रिया) रोक्न सकिन्छ, जहाजहरू उड्न र अवतरण गर्न नदिन सकिन्छ, घरभित्रका मानिसहरू बाहिर निस्किन सक्छन्, स्कुलमा भएका विद्यार्थीहरू सुरक्षित हुन सक्छन् ।

मानिसहरूले त्यस्तो सन्देश पाएपछि गर्ने व्यवहारले पनि भूकम्प पूर्वसूचना प्रणालीको सफलतालाई मापन गर्छ । मानिसहरूलाई यसबारे थाहा छैन र भूकम्प आउँदै छ भन्ने सन्देश पाए पनि आफूलाई बचाउनेभन्दा आत्तिने, डराउने हुन सक्छ, जसले गर्दा क्षति झन् बढ्न सक्छ । सफल पूर्वसूचना प्रणाली विकासका लागि समुदायको हरेक पक्षलाई यसबारे जानकारी तथा अपनाउनुपर्ने विधिबारे तालिम दिनुपर्छ । तर, नेपालमा यो प्रणालीको स्थापना भइनसकेकाले पूर्वतयारी नै तत्काल जान सक्ने भूकम्पबाट आफूलाई बचाउने उत्तम उपाय हो ।

- सुवेदी स्विटजरल्यान्डको लोजान विश्वविद्यालयमा पोस्ट–डक्टरल गर्दै छन् भने अधिकारी नेपाल सरकारको खानी तथा भूगर्भ विभागमा कार्यरत छन् ।

प्रकाशित : माघ २, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट ल्याउने समय एक साता मात्र बाँकी रहँदापनि संघीय संसद्को गतिरोध खुलाउन सरकारले किन तदारुकता नदेखाएको होला ?