विद्यालय शिक्षामा लगानी धेरै, नतिजा कम- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय शिक्षामा लगानी धेरै, नतिजा कम

रेजिना पाण्डे

अचेल दुई अभिभावक भेट हुँदा विद्यालयको बारेमै गफ हुनेगर्छ । किनभने अभिभावकले आफ्नो आम्दानीको ठूलो हिस्सा छोराछोरीको पढाइमा खर्च गरेका हुन्छन् । तर सोचे अनुरूप लगानीको प्रतिफल पाएका छैनन् ।

पैसा तिरेबापत छोराछोरीको पढाइ नसुध्रेपछि गुनासो आउनु स्वाभाविकै हो । धेरै राम्रो पढ्लान् भनेर नाम चलेको विद्यालयमा राख्यो तर प्रतिफल शून्य बराबर । महँगो शुल्क तिर्दैमा विद्यालयको पढाइ गतिलो हुन्छ भन्ने छैन ।

केहीअघि मेरो एक साथीले भनेकी थिइन्, ‘ढाड सेक्ने गरी विद्यालयलाई पैसा बुझायो तर छोराले कक्षा ४ मा पुग्दा पनि सामान्य जोडघटाउ जान्दैन ।’ यस्तो अनुभव धेरै अभिभावकको हुने गर्छ । गणित मात्र होइन अरू विषयमा पनि बालबालिका कमजोर हुने गर्छन् । यसका कारण उनीहरूको व्यक्तित्व विकास पनि हुन सकेको छैन । विद्यालयमा लगानी गर्दा त्यसको प्रतिफल नपाउनुले हाम्रो शिक्षाको कमजोर परिस्थतिलाई दर्साउँछ । विद्यालय प्रशासनलाई यसबारे सोध्यो भने, अभिभावकले घरमा हेर्दैनन् त्यसैले बालबालिकाको पढाइ कमजोर हुन्छ भनेर पन्छिन्छन् । होला कतिपय अभिभावक काममा व्यस्त हुन्छन्, तिनले समय दिन नसके पनि, विद्यालयले आफ्ना विद्यार्थीका लागि शिक्षामैत्री वातावरण बनाउनुपर्छ । बालबालिकाको पढाइ कमजोर हुनुका कारण अभिभावक हुन भनेर पन्छिन मिल्दैन । विद्यालयको शिक्षण वातावरणमा सुधार ल्याउन आफ्नोतर्फबाट गर्न सक्ने काममा ध्यान दिनुपर्छ ।

बालबालिको पढाइ सुधार्ने नाममा जब परीक्षा आउँछ तब होस्टलमै राखेर भए पनि विद्यालयले पढाउने गर्छन् । त्यसका लागि थप खर्च गर्न अभिभावकलाई बाध्य पार्छन् । एकातिर अभिभाववका लागि थप आर्थिक बोझ अर्कातिर विद्यार्थीलाई पनि त्यसले सास्ती दिन्छ । यसरी जति नै बेला पनि बालबालिकालाई पढाइको बोझ थपेर उनीहरूको सर्वोपरि विकास हुन्न । राम्रो विद्यालय भर्ना गरेको भने पनि यस्तो घोकाउने पढाइले विद्यार्थीलाई सधैं कमजोर बनाउँछ भन्नेमा विद्यालय प्रशासन सचेत छैनन् ।

विद्यालयले पढाइ भनेको घोकाउने मात्र हो भन्ने ठानेर अरू क्रियाकलापमा विद्यालयले त्यति ध्यान पुर्‍याउँदैनन् । अभिभावकले सकीनसकी बुझाइको रकम अनुरूपको पढाइ सुधार्न ध्यान नदिनु दुःखलाग्दो छ । जहिले पनि पढाइका नाममा घोकाउन खोज्नुले विद्यालय यातनास्थल बनिरहेको प्रतीत हुन्छ । पछिल्लो समय महँगो शुल्क तिर्नु भनेको धेरै घोकाउने विद्यालयमा भर्ना गरिदिनु हो भन्ने अभिभावकलाई पर्न थालेको छ । परीक्षा नजिक आउँदा घोकाउने क्रम पनि बढ्छ । यस्तो परम्पराले विद्यार्थीको भविष्यमा ठूलो क्षति गरिरहेको छ । अब यसरी विद्यार्थीको भविष्यमै खेलबाड गर्नु हुन्न । शिक्षाका नाममा विद्यालयलाई यातनास्थल बनाउनु हुन्न ।

मेरो चिनजानका एक वरिष्ठ शिक्षक भन्नुहुन्छ, ‘बालबालिकाले प्रकृतिमा रमाएर, आफ्नो स्वभाव अनुसार खेल्दै, रमाउँदै पढ्नुपर्छ र यो वातावरण विद्यालयले बनाउनुपर्छ ।’ तर अधिकांश विद्यालयमा यो कुरा लागू हुन्न । घर नजिकै विद्यालय हुँदा पनि बालबालिकालाई घण्टौं बसमा ओहोरदोहोर गराउँछौं । विद्यालयको पढाइ अवधि त छँदैछ यसरी विद्यालय बसमा विद्यार्थी कोच्दा उनीहरूले दोहोरो यातना पाइरहेका छन् । यसले उनीहरूको रमाउने, खल्ने उमेर पनि खोसेको छ । पढाइका नाममा विद्यालयले तिनलाई कडा सजाय दिइरहेका छन् ।

विद्यार्थी शुल्क मात्र होइन पाठ्यपुस्तक पनि महँगो छ । सामान्य आम्दानी भएका अभिभावकले अचेल छोराछोरी पढाउनै नसक्ने भइसक्यो । यति महँगो पैसा तिरे पनि बालबालिकाले आफ्नो सृजनात्मक क्षमतालाई वृद्धि गर्न सकेका छैनन् । शिक्षकले पनि बालबालिकाको आवश्यकता अनुरूप शिक्षण शैलीलाई परिवर्तन गर्न सकेका छैनन् । शिक्षणसिकाइमा समयानुकूल परिवर्तन आजको आवश्यकता हो । सो अनुरूप विद्यालयहरूले आफूलाई ढाल्नुपर्छ ।

शिक्षालाई बालबालिकामैत्री बनाउने भनेर समयसमयमा बहस हुने गर्छ । कतिपय नीतिनियम पनि छन् । तर त्यसको लागू हुन नसक्दा प्रतिफल दिन सकेको छैन । एक त, शिक्षा क्षेत्र झन्झन् महँगो भइरहेको छ, अर्को पैसातिरे पनि सो अनुरूप विद्यार्थीहरूको पढाइ सुध्रेको छैन । यस्तो अवस्थाका कारण सरकारको विद्यालय सुधार्ने नीति सफल हुन सकेको छैन । सरकारको प्रतिबद्धताहरू भ्रम साबित भएको छ । विद्यालयभित्र केकस्ता गतिविधि भइरहेका छन् भन्नेबारे सरकारले अनुगमन गर्न सकेको छैन । सरकारले यो विषयमा ध्यान दिने हो भने अभिभावकलाई धेरै राहत महसुस हुनेछ । बालबालिकाको पढाइको विषय सरकार, अभिभावक तथा सम्बद्ध सबैको चासोको विषय बन्नुपर्छ । र, यसको सुधारका लागि सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।

प्रकाशित : पुस २७, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

म पनि जीवनमा रङ भर्दै छु

धैरै विषयले सताउँथे मलाई । जवानीमा उत्रेका रङ लिएर गन्तव्यको खोजी त गर्थें, तर जीवनमा न लालीगुराँस देख्थें, न इन्द्रेणी ।
रेजिना पाण्डे

काठमाडौँ — बाबा निकै रक्सी पिउनुहुन्थ्यो । त्यसैले हाम्रो घरको अवस्था असाध्यै दयनीय बनिरहेको थियो । घरभित्रको कोलाहल र झगडाबाट उत्पन्न आवाज घरको भित्ता छेडेर बाहिरसम्मै पुग्थ्यो । र, छिमेकीहरूलाई डिस्टर्ब गर्थ्यो । त्यो झगडा कहिले आँगनमै मञ्चन हुन्थ्यो । र, छिमेकीहरू, हामीहरू त्यो झगडाको रमिते भइरहन्थ्यौं ।

त्यसैले घरको वातावरण निराशाजनक थियो । खेलाबैला र कर्कश आवाज हाम्रो घरको परिचय–पहिचानै थियो । आमा–बाको झगडाको सधैंको मूक साक्षी म सानैदेखि दुःखी, तनावग्रस्त र बोर हुन्थें । खास कुरा त बाबाले पिएको रक्सीले उनलाई त खाइरहेकै थियो, हाम्रो जिन्दगी पनि सँगै खाइरहेको थियो ।

बाबा राजनीतिक प्राणी हुनुहुन्थ्यो । वडा सदस्य हुनुहुन्थ्यो । र, एउटा राम्रो संस्थामा जागिरे हुनुहुन्थ्यो, तर रक्सीकै कारण बाबाले सबै कुरा गुमाउनुपर्‍यो । बाबाकै कारण बाल्यकालदेखि नै हामी बाल्यअवस्थामै पाउनुपर्ने स–साना सुखसुविधाबाट वञ्चित भयौं ।

हामी साना नानीहरूलाई समाजका मान्छे घृणा गर्थे, बाबाकै कारण । समाजले मलाई/आमालाई एउटा छाप लगाइदिएको थियो– जँड्याहाकी छोरी, जँड्याहाकी श्रीमती । समाजले हामीलाई हेर्ने आँखा फरक थिए । मान्छेहरू हामीसँग तर्केर हिँड्थे । हामी पिँजडाको सुगाझैं बन्देजमा हुर्कियौं । परिवार थियो, समाज पनि थियो, तर भरिभराउ समाजबीच नितान्त एक्लै थियौं हामी ।

जीवनमा धैरै विषयले सताउँथे मलाई । जवानीमा उत्रेका रङ लिएर म गन्तव्यको खोजी त गर्थें, तर न जीवनमा लालीगुराँस देख्थें, न इन्द्रेणी । लाग्थ्यो, जीवन लाचारीको अर्को नाम हो । एक्लै झ्यालमा बस्थें र घोरिइरहन्थें, टाढाटाढा हेर्दै । सोच्थें, अरूको र मेरो जिन्दगी किन फरक छ ? अरूको जिन्दगी उज्यालो, मेरो अँध्यारो किन छ ? इन्द्रेणी भरिएको अरूको जीवन देखेर मलाई साह्रै डाहा लाग्थ्यो । म कल्पना गर्थें– मेरो जीवनमा पनि इन्द्रेणी छाइदिए... !

0 0 0

१४ वर्षको छँदा एउटा नेपाली फिल्म हेरेँ, नाम याद छैन । हारेपछि, असफल जिन्दगीबाट हरेस खाएपछि फिल्मकी नायिकाले कोठाभित्र पासो लगाएर मरेको एक दृश्यले मलाई निकै बिथोल्यो । मैले पनि नायिकाजस्तै पासो लगाउने प्रयास गरेँ । तर, एउटा विन्दुमा अड्किएँ । आँखा चिम्लेँ अँध्यारो भयो संसार, अनि आँखा खोल्दा उज्यालो । मलाई उज्यालो प्रकाशले पासोबाट निकाल्यो । र, मैले उज्यालो संसार रोजेँ ।

त्यसपछिका दिनमा आकाशजस्तै खुल्न थालेँ । आजकाल सोच्छु, धर्तीजस्तो सहेर होइन, समुद्रजस्तो गहिराइ पनि चाहिँदैन बरु शान्त खोलाजस्तै सलल बग्न सकूँ । उचाइमा पुगेर होइन फेदीमै बसेर जीवन सार्थक बनाउन सकूँ । सानो छँदा हामीलाई घृणा गर्ने समाजको प्रतिकार गर्दै आफ्नो बाटो पहिल्याउन सकूँ । मेरो जिन्दगी मेरो हो, आफ्नै पाराले बाँच्न सकूँ ।

रक्सीले बिग्रिएको, ध्वस्त भएको परिवार धैरै छ । मजस्ता पीडित पनि धैरै छन् । रक्सीले घर बर्बाद गर्न हिँडिरहेका मानिस पनि धेरै छन् । समाजले खोट देखाउँछ, टोक्छ र पिँजडाबाट मुक्त हुन दिँदैन । तर, समाजबाट भाग्नु हुँदैन, लडिरहनुपर्छ । मैलै उतिबेलै पासो लगाएको भए कहाँ रहन्थ्यो मेरो अस्तित्वको लडाइँ ? मेरो स्वाभिमानको लडाइँ ? मैले लडेर उठ्नुपर्छ, हारेर पनि जित्नुपर्छ ।

केहीअघिको एक साँझ पशुपतिमा थिएँ, आरती हेर्न । घाटमा सिँगारिएको चितामा पोल्न तयार राखिएको पिताको लास हेरेर रुवाबासी गरिरहेका थिए एक युवक । अर्का युवक थिए श्रीमतीको जलिरहेको लास हेर्दै टोलाइरहेको । अर्की थिइन् श्रीमान्को लास अँगालेर रोइरहेकी श्रीमती । कत्ति जोडी त्यहीँ थिए, जो रोमान्समै जिन्दगीको अर्थ खोज्दै थिए । त्यहीँ सयौं मान्छे आरतीमा मग्नमस्त पनि थिए । जीवनको बेला त रोकिँदैन, चलिरहन्छ ।

हामी सपनाको पछिपछि दौडेर जीवन घिसारिरहन्छौं । त्यही घिस्रिनुमा आनन्द छ सधैंभरि । समाजमा हामी आफ्नैलाई घृणा गर्छौं, अरूलाई चोट पुर्‍याउँछौं । यसमा असाध्यै दुःख लाग्छ । तर, जीवनको अर्थ बुझ्नतिर लाग्दैनौं र हरेस खान्छौं । यसमा झन् दुःख लाग्छ । आफैंलाई पासोमा बेर्नै लागेको त्यही दिन बोध भएको थियो– जन्मेपछि मर्नु छँदै छ, बीचमै जीवन किन नाश गर्ने ? किन चिन्ता लिने ? जीवन चुनौतीपूर्ण त छ, तर सुन्दर पनि छ । चुनौतीले नै अघि बढ्न सिकाउँछ । र, जिन्दगी रहस्यमय लाग्दै जान्छ । आफ्नै जीवन बुढ्यौलीमा पुराना याद–कथाहरूको संग्रहालय बन्दै जान्छ । सोच्छु, म भाग्यमानी रहेछु, मेरो मृत्यु त्यो फिल्मकी नायिकाको जस्तो भएन । र, आज सुन्दर जीवनको परीक्षण गरिरहेकी छु ।

बेलाबेला विगत सम्झिन्छु– मरेकी भए यति सुन्दर संसार देख्थें कसरी ? बूढा मान्छेहरूले ठीक भनेका रहेछन्– जिन्दगी घाम–पानी रहेछ । आज म इन्द्रेणी भरिएको अरूको जीवन देखेर खुसी हुन्छु । म पनि जीवनमा रङ भर्दै छु । साँच्चै जीवनमा इन्द्रेणीहरू छन् ।

प्रकाशित : मंसिर ३, २०७९ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×