मधेशका आँखामा प्रचण्ड- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेशका आँखामा प्रचण्ड

प्रचण्डले मधेशको ऋण चुक्ता गर्न चाहने हो भने टीकापुरलाई न्याय गर्नुपर्छ । संघीयता र समावेशीकरणमा इमानदार देखिनुपर्छ । नागरिकताबाट वञ्चित युवाहरूको संकट चुँडाल्नुपर्छ ।
चन्द्रकिशोर

एक समय यस्तो थियो, जब पुष्पकमल दाहाल प्रचण्डले मधेशलाई साँचो अर्थमा नयाँ बिहानीमा पुर्‍याउँछन् भन्ने सबैको आशा थियो । त्यसो हुनुका विशिष्ट कारण थिए । प्रचण्डको नेतृत्वमा नेपालमा आन्तरिक औपनिवेशीकरणका दिन सकिए भन्ने सन्देश गएको थियो । उनको नेतृत्वमा उठान गरिएका मुद्दाहरूले गर्दा मधेशले हिजोको तीतो अतीतलाई बिर्सिएको थियो । र उनलाई समर्थन दियो ।

नेतृत्वले व्यापक ऐतिहासिक परिप्रेक्ष्यमा काम गरेको हुन्छ । त्यो ऐतिहासिक परिप्रेक्ष्यलाई नसम्झिने हो भने प्रचण्डप्रति अन्याय हुन जान्छ । प्रत्येक सरकार मधेशलाई एउटा पाठ दिएर जान्छ, प्रत्येक नयाँ सरकार एउटा नयाँ उम्मिद लिएर आउँछ । देहातमा भनिन्छ पनि, ‘बीति ताहि बिसार दे, आगे की सुध लेय ।’ प्रचण्डको सरकार शीतलहरमाझ घाम लिएर झुल्किने हो कि भनी आशा गर्नेहरू कम्ती छैनन् । अर्कातिर, सत्तारोहणका लागि उनले अपनाएको भावभंगिमा देखेपछि ‘कुछ नहीं करेगा’ भन्नेहरू पनि प्रशस्त देखिएका छन् ।

राम्रो समाजले नै राम्रो देश बनाउँछ । वर्तमान राजनीतिको सबैभन्दा ठूलो संकट के हो भने, विचारबाट टाढिएर फगत चुनाव जित्नुमा सीमित हुँदै गएको छ । एउटा चुनाव जितेपछि अर्को चुनाव जित्ने तयारी सुरु भैहाल्छ । संसद् अंकगणितमा अल्झिएको छ । चुनाव जित्न अनेकौं जोडघटाउ गर्नुपर्छ र त्यसबाट उदय हुन्छ— सम्झौतामुखी र ‘जुगाडु’ नेता । प्रचण्डका प्रशंसकहरू ‘उनलाई उचित किसिमले प्रयोग र परीक्षण हुने मौका दिइएन’ भन्ने तर्क गर्छन् । तर उनीसँग असहमत हुनेहरूको ठाडो जवाफ हुने गर्छ— प्रचण्ड स्वयंमा अन्तरविरोधका धनी हुन् । जब संघर्षरत कुनै सिपाही सम्झौता गरेर मूलधारको राजनीतिमा आउँछ, उसका मान्यताहरू झन्झन् समृद्ध र परिपक्व भएका छन् । चाहेका भए प्रचण्डको पनि उत्तरोत्तर विकास सम्भव थियो । तर उनको शक्ति तीव्र गतिमा नकारात्मकतामा परिणत हुँदै गएको छ । उनी आफ्नो दल र मूलधारको राजनीतिमा निर्णायक भइरहन चाहन्छन्, त्यसका लागि आफूलाई अन्य पात्र र पंक्तिको समीपमा राखिरहन्छन् । यस्तो भएपछि प्रचण्डलाई अन्य पक्षले आफ्नो अनुकूलमा खेलाउँछन् ।

अहिलेको सरकारलाई कतिपयले ‘बाह्र मसाला तेह्र स्वाद’ को भनेका छन् । तर यो सरकारको साँचो केपी ओलीको हातमा छ । नाम प्रचण्डको, शासन ओलीको । प्रचण्ड ‘किङमेकर’ हुनु र अरूको मर्जीमा गद्दीनसीन हुनुमा फरक छ । अरूको मर्जीमा गद्दीनसीन हुँदा आफ्नो उच्च प्रेरणाशक्ति र मनोबलबाट भन्दा पनि अर्काको निर्देशनमा हिँड्नुपर्ने हुन्छ । प्रचण्ड यसअघि पनि दुई पटक प्रधानमन्त्री भैसकेका हुन् तर कुनै पनि क्षेत्रमा सिन्को भाँचेनन् । यस पटक उनको सत्तारोहण हुँदा प्रशस्तिगान गर्नेहरू मधेशमा समेत देखिए । तर, त्यो घुरको आगो ताप्न झुम्मिएको जमात हो ।

नेपालको सामाजिक विविधता आधुनिक नेपालको जग हाल्नुअगावैको हो । नेपालको दक्षिणी भूगोलमा मधेशीहरूको बसोबास प्राचीन छ । शासक वर्गले मधेशको भूमि जागिर, बिर्ता, बक्सिस, नजराना, बकस, दान, दाइजो आदिका रूपमा बाँडीचुँडी गर्‍यो । मधेशमा बसोबास कम्पनी, सुकुम्बासी आयोग, बस्ती विकास कम्पनी भित्र्याइए; राजनीतिपीडित, बर्मा–भुटानबाट विस्थापित, भारतबाट धपाइएकाहरू बसाइए । तर यहाँका रैथाने बासिन्दाहरूलाई ‘असली नेपाली’ मानिएन । तिनका भाषा, संस्कृति, भेष, भोजनलाई तिरस्कृत गरियो । त्यसका विरुद्ध, प्रचण्ड नेतृत्वको माओवादी सशस्त्र संघर्षका क्रममा आवाज उठाइयो । नेपाली समाजको जातीय, भाषिक, सांस्कृतिक विविधतालाई हिजोसम्मको शासक वर्गले राम्ररी सम्बोधन गर्न सकेन भन्दै प्रचण्डको नेतृत्वमा विभिन्न पहिचानधर्मीका आकांक्षाहरू संघीयताभन्दा कममा सम्बोधन गर्न नसकिने निष्कर्षमा पुगे । संघीयता सबै खाले आकांक्षालाई सम्बोधन गर्न उपयुक्त माध्यम भएको बताए ।

यी कुराहरू दलका दस्तावेजहरूमा राखे, सार्वजनिक भाष्य निर्माण गर्न पार्टी पंक्ति लाग्यो । त्यतिखेर लाग्थ्यो, संघीयता उनका लागि केवल नाराबाजीको विषय हुँदै होइन । प्रचण्ड नेतृत्वको माओवादीले राज्यमा अन्य समुदायको जस्तै मधेशी–थारूहरूको पनि सहज पहुँच स्थापित हुनुपर्ने आवश्यकताबोध गरेको छ । आज कतिपयले प्रचण्ड नेतृत्वको सरकारको सामर्थ्य र सम्भाव्यतालाई हेर्नु र यसबीच मधेशसँग सन्तुलनको पनि खोजी गर्नु जरुरी रहेको बताउँदै छन् । सरकारले आउँदा दिनमा मधेशी–थारूहरूका लागि केही गर्ला कि, हेर्न बाँकी छ ।

विगतमा प्रचण्ड आफ्ना अग्रगामी र प्रगतिमुखी अवधारणाप्रति अडिग रहेनन् । उनी मधेशका हाटबजारमा देखिने त्यस्ता तमासाई (चटके) जस्ता भए, जसले सुरुआतमा त कागजको हवाईजहाज उडाइदिने गफ दिएर मान्छेहरूलाई आफ्नो प्रभावमा पार्छ र अन्तमा सस्ता खाले दन्तमञ्जन बेचेर हिँड्छ । प्रचण्डले मधेशलाई वरेण्य र वाञ्छनीय शक्तिका रूपमा कहिल्यै लिएनन्, मधेशी–थारूहरू उनका लागि सत्ता र शक्ति आर्जनका सोपान मात्र रहे । उनको निर्णायकत्वमा दुई पटक संविधान बन्यो । अन्तरिम संविधान बन्दा उनी संघीयताका सन्दर्भमा मौन बसे । २०७२ को संविधान बन्दा मधेशको असन्तुष्टिप्रति उनी मुक द्रष्टा बनिरहे । मधेशी–थारूमाथि राज्यदमन भैराख्दा त्यसको ‘मौन साक्षी’ रहनुलाई उनको मजबुरी मान्न सकिँदैन । संघीयता र समावेशीकरणको अर्थ एवं आयामलाई संकुचित तुल्याउनेहरूमध्ये उनी पनि एक हुन् ।

संविधानसभाको दोस्रो निर्वाचनका बेला सिरहाको क्षेत्र नम्बर ५ बाट प्रचण्डले उम्मेदवारी दिनुलाई ‘ब्रिलियन्ट’ निर्णय मानिएको थियो । कुनै पनि राष्ट्रिय नेताको सबै क्षेत्रमा पहुँच र प्रतिनिधित्व हुनुपर्छ भन्ने हिसाबले त्यसको सराहना गरिएको थियो । उनले भनेका थिए, ‘मधेशसँग मेरो लभ परेको छ । मेरो यो मायामा कहिल्यै कमी आउनेछैन ।’ त्यो निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर १० मा पराजित भएका उनले सिरहाबाट जिते । तर उनले भुइँतहका मधेशीका भोगाइलाई न्यायिक आधारमा हेर्न सकेनन् । सवाल त्यसपश्चात् उनी चितवन वा गोरखा कहाँबाट चुनाव लडे, त्यो होइन; मूल प्रश्न हो— सीमान्तीकरणको प्रक्रिया रोक्न उनले के गरे ?

यस पटक पनि उनी नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा चुनाव लडे । उनले चाहेका भए प्रत्यक्षतर्फ मधेशी दलितलाई प्रतिस्पर्धामा ओराल्न सक्थे, पहाडबाट कुनै मधेशीलाई उम्मेदवार बनाउन सक्थे । उनले नयाँ लिक समातेनन् । मधेशका आँखामा उनी कांग्रेस–एमालेका नेताजस्तै भए । भारतलाई रिझाए मधेश त्यसै शान्त हुन्छ भन्ने बुझाइ प्रचण्डको मानसमा छैन भन्ने अवस्था छैन । रैथाने थारू, सन्थाल, मधेशीहरूको समस्या नेपालका अन्य वञ्चित समुदायको भन्दा मौलिक एवं पृथक् छ भन्ने तथ्यप्रति उनले बुझ पचाएका छन् । अहिले नै उनको सरकारले मधेशी–थारू लगायतका वञ्चित समुदायलाई अवसर दिने कुरा त छँदै छ, त्योभन्दा पनि उनले मधेशको ऋण चुक्ता गर्न चाहने हो भने टीकापुरलाई न्याय गर्नुपर्छ । संघीयता र समावेशीकरणमा इमानदार देखिनुपर्छ । नागरिकताबाट वञ्चित युवाहरूको संकट चुँडाल्नुपर्छ । संकटबाट मुक्त हुनका लागि पूर्वसर्त यही हो । नत्र प्रचण्ड तेस्रो वा चौथो पटक प्रधानमन्त्री बन्नुको औचित्य छैन ।

चुनावमा संघर्षरत शक्तिहरू के–कुन हैसियतका छन् भन्दा पनि तिनीहरूले बोकेको अभिभारा महत्त्वपूर्ण हुन्छ । मुलुकको मध्यमार्गी राजनीतिक स्पेस जोगाउन पनि तिनीहरूका कुरा सुनिनुपर्छ । कुनै बखत कांग्रेस र एमालेले सुनेनन्, त्यसैले माओवादीको उदय भयो । प्रचण्ड पनि यथास्थितिवादी रहिरहे भने भोलि अर्को परिवर्तनकारी शक्ति आउँछ । समय घर्किंदै छ । तर प्रचण्ड सुरुवालको इँजार बाँध्नमै मस्त र व्यस्त छन् ।

आज प्रचण्डको दलभित्र मधेशी–थारूको आवाज को हो ? मधेशबाट पछिल्ला वर्षहरूमा केकस्तालाई भित्र्याइएको छ ? मधेशको जातीय समीकरणभित्र खेल्न उनी कति चाख राख्छन् ? मधेशी–थारू कोणबाट उनी लिटमस टेस्टमा फेल भइसकेका छन् । यतिखेर उनले त्यस्तो परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने अभिलाषा राखिँदै छ, जसका लागि तयारी नै गरेका छैनन् । प्रचण्डले ‘अबकी बार कुछ तो करेंगे’ भनी कामना गर्नु ब्ल्यांक चेकमा हस्ताक्षर गरेर दिनुजस्तै हो ।

प्रकाशित : पुस २१, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

भाग्यविधाता संसद्

संसद्‌मा जब सरकार बनाउन अंकगणितको आवश्यकता हुन थाल्छ, त्यतिखे र प्रत्येक सांसद 'संख्या' मा अनुवाद हुन्छ । केवल 'संख्या' बन्न पुग्दा निर्वाचित व्यक्ति कतिखेर दलदलमा भासिइसकेको हुन्छ, उसैले चाल पाउँदैन ।
चन्द्रकिशोर

प्रतिनिधिसभा सदस्यहरू आज शपथग्रहण गर्दै छन् । नयाँ संसद्ले आकार लिइसक्यो । यतिखेर नूतन कलेवरको प्रतिनिधिसभा किन चाहिएको थियो ? संविधानले निर्दिष्ट गरेको आवधिक मतादेशको खोजी गर्न मात्र यो अपरिहार्य थिएन । यसका आधारमा सत्ता सञ्चालनको नयाँ अध्याय सुरु गर्नु थियो ।

मूल पक्ष त्यति मात्र पनि थिएन । नयाँ संसद् चाहिनुको अर्को पक्ष के थियो ? आगामी मूलधारको राजनीतिक यात्राका लागि नयाँ संसद्को अर्थ के हुन्छ ? लोकतन्त्रमा संसद् राजनीतिको केन्द्र हो । प्रधानमन्त्री छनोट गर्ने–फेर्ने, राष्ट्रपति बनाउने–हटाउने तथा प्रस्तावित प्रधानन्यायाधीश अनुमोदन गर्ने–नगर्ने संसद्को परिधि हो । संसदीय सुनुवाइमार्फत सरकारले न्यायाधीश, राजदूत तथा अन्य संवैधानिक अंगहरूका पदाधिकारीका रूपमा प्रस्ताव गरेका व्यक्तिहरूको उपयुक्तता परीक्षणलाई प्रभावकारी बनाउने काम पनि संसद्को हो ।

मुलुकको गति र मति

संसद् मुलुकको राजनीतिलाई डोर्‍याउने प्रकाशस्तम्भ हो । मुलुकलाई गति र मति दिने संवैधानिक हैसियतप्राप्त निर्वाचित एकाइ हो । निर्णय प्रक्रियामा सहभागिता र लोकतान्त्रिक सरकारका लागि नागरिकहरूको सहमतिको महत्त्वजस्ता विचारले नेपालमा लोकतान्त्रिक व्यवस्थाको निर्माण गरेका छन् । लोकतन्त्र र जनप्रतिनिधि शासन आम जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने प्रणाली हो । संसद् नेपाली लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण प्रतीक हो र संविधानको केन्द्रीय तत्त्व पनि । नेपालमा संसद् वा संसदीय व्यवस्थाको खोजी पहिचान, प्रतिनिधित्व र पहुँच अर्थात् नागरिकबीच सबै प्रकारका असमानता र असन्तुलन हटाउने संकल्प हो । विविधतापूर्ण नेपाली समाजको जातीय, भाषिक, सांस्कृतिक र ऐतिहासिक पहिचान प्रकट गर्ने एवं स्वीकार्य गराउने साझा मञ्चका रूपमा संसद्को परिकल्पना गरिएको छ । यसैका लागि चुनाव प्रणालीलाई मिश्रित बनाइएको छ । सयौं थुँगा फूलको प्रतिनिधित्व होस् भन्ने संवैधानिक आकांक्षा छ ।

सहमतिको विचार लोकतन्त्रको प्रस्थानविन्दु हो । सहमतिको मतलब चाहना, स्वीकृति र नागरिकको हिस्सेदारी हो । आम नागरिकको निर्णयले नै लोकतान्त्रिक सरकारको गठन गर्छ र त्यसका कामकाजबारे फैसला दिन्छ । एउटा नागरिकले आफ्नो अनुमति कसरी दिन्छ ? नागरिकले संसद्का लागि आफ्ना प्रतिनिधिहरूबीच चुनाव गर्छ र निर्वाचित हुनेहरूमध्ये एउटा समूहले सरकार बनाउँछ ।

संसद्को सौन्दर्य

नेपाली संसद् देशको सर्वोच्च कानुननिर्मात्री संस्था हो । यसले सरकारलाई नियन्त्रित गर्छ, मार्गदर्शन गर्छ र जानकारी दिन्छ । संसद्मा प्रश्न र जिज्ञासाहरू राखेर प्रतिनिधिसभा सदस्यहरूले सरकारका कामकाजबारे जानकारी हासिल गर्छन् । प्रश्नमार्फत सरकारका कमीकमजोरीप्रति ध्यानाकर्षण गराइन्छ । सांसदले थाती रहेका तनाव, दृश्यमान हुन थालेका द्वन्द्वबारे सरकारलाई अवगत गराउँछ, व्यवस्थापन गर्न दबाब दिन्छ । संकट, समस्या वा सम्भावनाबारे ज्ञानको खोजी गर्नु; तर्क–वितर्क वा बुद्धिको परीक्षण गर्नु अनि विवेक र सरल समाधानका उपाय खोज्नु सांसदको दायित्व हो । सांसदहरूमार्फत जनताको अभिमतबाट सरकार अवगत भैरहन्छ । नेतृत्वहरू विभिन्न पृष्ठभूमिका हुनु संसद्को सौन्दर्य हो । संविधानले नै समावेशी प्रतिनिधित्वमूलक संसद्को परिकल्पना गरेको छ ।

विगतका अभ्यासका आधारमा प्रश्नहरू उठ्ने गरेका छन्— नेपाली संसद्ले आफ्नो प्रासंगिकता समाप्त पारेको हो ? के विपक्ष सरकारलाई जवाफदेह बनाउने कर्तव्य निर्वहनमा असफल हुन पुगेको हो ? विपक्षको भूमिका सरकारका लोकहित नीतिमा समर्थन गर्ने, सरकारले आँखा चिम्लेका वा असमर्थ रहेका पक्षहरू सच्याउन सुझाव दिने हो । सरकारले विपक्षलाई अस्वीकार गर्‍यो, किनारा लगाउन खोज्यो वा ठाउँ दिन कन्जुस्याइँ गर्‍यो भने सडक संघर्ष गर्ने हो । एउटा जिम्मेवार विपक्षको अभावमा सरकार बेलगाम बन्न पुग्छ । विगतमा हामीले पक्ष र विपक्ष मिलेर भागबन्डाका आधारमा सार्वजनिक हितलाई कमजोर बनाउन अनेक काम गरेको देखेभोगेका छौं ।

सांसदहरूले संसद्मा पेस भएको बजेटको समीक्षा गर्छन् । त्यस्तै कानुन बनाइँदा तत्पर रहने, लोकहित एवं राष्ट्रहितप्रति खबरदारी गर्ने र सरकारका क्रियाकलापप्रति निगरानी राख्ने गर्छन् । तर सांसदहरू यो भूमिका बिर्सेर आआफ्ना दलपतिको निर्देशनमा सदनमा प्रस्तुत हुने गरेको कटु अनुभव छ । कतिपय अवस्थामा सांसदहरू दलपतिको कठपुतलीका रूपमा देखिएका छन् । तिनले आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित बजेटका लागि सरकारसामु चाहिने कुरा पनि राख्न सक्दैनन् । विभिन्न दलका शीर्ष नेताहरूले नै संसद्मा कमै समय बिताउँछन् । प्रधानमन्त्रीहरू स्वयंले संसद्मा बढी समय दिने गर्दैनन् । कैयौं सांसद पाँच वर्षमा एक पटक पनि बोलेनन् । सांसदहरूले निर्वाह गर्नुपर्ने काम नगर्दा संसद्मा ‘नो वर्क नो पे’ लागू गर्नुपर्ने माग उठिरहेको छ ।

सांसदहरू संसद्मा बढी सक्रिय, समर्पित र सृजनशील देखिनुपर्छ । त्यसका लागि संसद्मा प्रतिनिधित्व गर्न पुगेका दलहरूले परामर्श, प्रशिक्षण र परीक्षणलाई प्राथमिकता दिनुपर्छ । सांसदहरूको प्रभावकारिता कम हुँदै जानुमा दलहरूलाई दोषी ठहर्‍याइनैपर्छ । प्रधानमन्त्रीले उपस्थिति बढाउन थाले संसद् राष्ट्रिय विमर्शको केन्द्रविन्दु बन्ने निश्चित हुन्छ । सांसदको तयारी, तत्परता र तन्मयताले समेत संसदीय भूमिका निर्वाहमा तिनको अग्लोपन झल्काउँछ । कुन परिस्थितिमा दलको ह्वीप मान्ने र दलले अह्राएको अनुसार गर्ने, कहिले आफ्नो उच्चतम विवेक प्रयोग गर्ने, कतिखेर आफ्नो संसदीय क्षेत्रको मात्र कुरा गर्ने र कहिले त्यसभन्दा माथि उठेर बहस गर्नेजस्ता विषय समेटेर स्वैच्छिक अनुशासन बनाउन सके सांसदलाई नै सहयोग पुग्छ ।

संसद्को प्रयोग

नयाँ संसद्मा सबैभन्दा जटिल र संवेदनशील विषय सांसदहरूको भूमिका नै हो । संसद् आफैंमा न कुनै वरदान हो, न कुनै अभिशाप । यसले ल्याउने प्रतिफल प्रयोगमा निर्भर हुन्छ । संसदीय प्रणालीमा जाने निर्णय नेपालका लागि आवश्यक थियो वा थिएन भन्नेमा अझै भिन्न धारणा छन्, तर आज संसदीय अभ्यास सबैको साझा प्रतिबद्धता बनिसकेको सत्य हामीसामु छ । अब कसैले चाहेर पनि संसदीय अभ्यासको प्रतिबद्धताबाट मुलुक पछाडि फर्कन सक्दैन । यसरी साझा प्रतिबद्धता बनिसकेको संसद्लाई साझा विमर्शको केन्द्र बनाउनु र लोकतन्त्रको मन्दिर कहलिने भावलाई संयोजित गर्नु वर्तमानको युगधर्म हो ।

हाम्रा बीच संसद्प्रति फरकफरक दृष्टिकोण छन् र यो यथार्थ स्विकारेरै छलफल अगाडि बढाइनुपर्छ । संसद्मा मन्त्री वा प्रधानमन्त्रीलाई प्रश्न सोधिँदा, त्यसको समयबद्ध जवाफ आउनुपर्छ । सभामुखको सुझबुझले पनि संसद्को गरिमा उकास्न सघाउँछ । सभामुख दलविशेषको मुखुन्डो बने भने त्यसले संसदीय अभ्यासका मूल्यमान्यतालाई अतिक्रमण गर्छ, कतिपय अवस्थामा सरकारका अक्षमतालाई ढाकछोप गर्न सहयोगी बन्न पुग्छ । पछिल्ला वर्षहरूमा प्रधानमन्त्री संसद्मा उपस्थिति हुनु नै महत्त्वपूर्ण घटना बन्दै गएको छ ।

लोकतन्त्रको प्रतीक नेपाली संसद्को ओज क्षरण हुने क्रम पछिल्ला संसद्मा देखा परेको थियो । संसद्मा हुनुपर्ने विमर्श अन्यत्र बन्दकोठामा हुने तथा दलपतिहरूको स्वार्थमा आधारित निर्णयलाई बिनाविमर्श संसद्मा अनुमोदन गर्न लगाउनेजस्ता अवाञ्छित गतिविधि भए । संसदीय कारबाही लोकतन्त्रको साखको प्रतीक मानिन्छ । तर भुक्तभोगीहरू भन्छन्, ‘यस्तै रवैया रहने हो भने संसद् मन्दिर होइन, जुवाघर बन्छ जहाँ धेरै कुरा गोटीको चालमा निर्भर हुन्छ ।’ संविधान कार्यान्वयनपछि यो दोस्रो चुनाव हो, हामी संविधानका कारण विफल भयौं कि संविधानलाई हामीले विफल पार्‍यौं भन्नेमा साझा आत्मसमीक्षाको खाँचो छ । संसद्ले कत्तिको स्थिरता दियो भन्दा पनि दायित्वको पालन कत्ति गर्‍यो भन्ने प्रश्नको जवाफ खोज्नुको विकल्प छैन । संसदीय लोकतन्त्र संसदीय सरकारभन्दा एक कदम अगाडि हुन्छ । यसमा बहुमतको खोजी मात्र गरिँदैन; थप प्रतिनिधिमूलक, खुला र पारदर्शी, जवाफदेह र प्रभावी हुनुपर्ने नैतिक दायित्व पनि हेरिन्छ । तर यस पटकको संसद् नयाँ–पुराना दल र पात्रहरूको संगम हुने भएको छ । केही परीक्षणमा आइसकेका छन्, केही बाँकी छन् । गठबन्धनका माध्यमबाट संसद्मा आइपुगेका दलहरूको अर्जुनदृष्टि सत्ताको अंशबन्डामा छ । बहुसंख्यक दलको यथार्थ हो— द्रुत गतिमा व्यक्तिविशेषको कब्जामा पुग्नु । दलहरू यथास्थितिमा नरहन पनि सक्छन्, टुक्रिने उपक्रम सुरु हुन सक्छ ।

जनताको संसद्

नयाँ संसद्मा प्रवेश गर्ने प्रत्येकसँग फरकफरक कथा छन् । को कुन निहितार्थ बोकेर छिरेका छन्, पदको रेशमी वस्त्रले आवरण दिन खोजिए पनि अनावृत छ । संसद्मा जब सरकार बनाउन अंकगणितको आवश्यकता हुन थाल्छ, त्यतिखेर प्रत्येक सांसद एउटा संख्यामा अनुवाद हुन थाल्छ । केवल ‘संख्या’ बन्न पुग्दा एउटा निर्वाचित व्यक्ति कतिखेर दलदलमा भासिइसकेको हुन्छ, उसैले चाल पाउँदैन । व्यक्तिगत सम्पत्ति बढी भएकाहरूले जित्ने क्रम बढेको छ । तमाम बाधा–अड्चनका बावजुद पुस्तान्तर देखिएकै छ । तुलनात्मक रूपमा समावेशी छ । भनिन्छ, संकट परेपछि चेत्न खोज्ने प्रवृत्तिले संस्था, समाज वा व्यक्तिलाई सुधार्छ । अहिले संसद् र सांसदको भविष्यबारे चिन्तन–मनन हुन थालेको छ । यस्तो प्रक्रिया सीमित परिधिमा भए पनि यसले बृहत् संसदीय स्वभाव लिने संकेत देखा परेको छ, जसले अन्ततः एउटा अभियानको रूप लिने मौका पाउनेछ । यस्तो परिवर्तित संसदीय स्वभावले राजनीतिलाई पनि नयाँ मोडमा लैजान सघाउनेछ । नेपाल र नेपालीजनको भाग्यविधाता नयाँ संसद्लाई यही शुभकामना छ !

प्रकाशित : पुस ७, २०७९ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×