प्रवासनको कामचलाउ यथार्थ र ढाकछोप- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रवासनको कामचलाउ यथार्थ र ढाकछोप

सम्पादकीय

औपचारिक ढंगमा राज्य तहबाट कुनै पहलकदमी नथाली र लगानी वा प्रवर्द्धनको प्रबन्ध नगरीकनै मुलुकको अर्थतन्त्र धान्ने प्रमुख हिस्सा बनेको वैदेशिक रोजगारीको मूल मुद्दा धेरै ढिलो गरेर मात्रै बहस–परामर्शमा आउन थालेको छ ।

उद्योग, कलकारखाना, बजारदेखि पर्यटनसम्म, देश धान्ने सबैजसो मूल बाटो अवरुद्धप्रायः भैसक्दा, वैदेशिक रोजगारीबाट आएको ‘रेमिट्यान्स’ ले मुलुकको अर्थतन्त्र धानिएको अवस्था पक्कै पनि त्यति सहज र सुलभ होइन । सरकार तथा राजनीतिक दलका प्राथमिकतामा वैदेशिक रोजगार र आप्रवासी कामदारका मुद्दाहरू सधैंजसो ओझेलमै रहेका बेला यसमा पुनरवलोकन जरुरी रहेको भन्दै सुरु भएको बहस आफैंमा स्वागतयोग्य देखिएको छ ।

नेपाली कामदारको प्रवासन तथा रेमिट्यान्सका विषयमा आत्मालोचना गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले ‘विभिन्न देशले आप्रवासी कामदारले पठाएको रकमले आर्थिक समृद्धि हासिल गरेको’ उदाहरण दिँदै ‘नेपाल भने त्यसमा चुकेको’ बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको ‘माइग्रेसन एन्ड रेमिट समिट–२०२१’ का अवसरमा मन्त्री खड्काले विदेशस्थित नेपाली दूतावासहरूमा पीडित कामदारको चाप रहेको तथा कामदार समस्याका बारेमा थुप्रै निवेदन आइरहेको यथार्थलाई खुला रूपमा राखेर यत्रो महत्त्वको थलोमा पनि हुन र गर्न नसकिएको प्रबन्धलाई औंल्याएका छन् । यथार्थमा मुलुकको अर्थतन्त्रमा औसतमा झन्डै ३० प्रतिशत हिस्सा धान्ने वैदेशिक रोजगारी र विदेश गएका श्रमिकको कथाव्यथामा राज्य संयन्त्रकै तहबाट यसरी ‘आत्मालोचना’ आउनु अबका दिनका निम्ति पक्कै सकारात्मक पक्ष हो, बहसको सकारात्मक सुरुआत हो भन्न सकिन्छ ।

अहिलेसम्म नेपालमा ‘माइग्रेसन’ र ‘रेमिट्यान्स’ को पक्षमा ठोस कार्यनीति नरहेको र सबै पक्षलाई समेट्ने गरी आप्रवासन नीतिसमेत नरहेको स्थिति छ । औपचारिक तह र औपचारिक कार्यक्षेत्रमा जाने कामदार, भारतसहितका मुलुकमा अनौपचारिक क्षेत्रमा जाने कामदार र महिला कामदारका विषयमा रहेको नीतिगत अन्योल कति विषम र विभेदकारी छ भने यसलाई लिएर आधारभूत तहमै पनि राज्यको धारणा बन्न सकेकै छैन । नीतिनिर्देशनमा तोकिएझैं मन्त्रिपरिषद्को निर्णयमा नगएरै पनि मान्य भएको ‘फ्री भिसा, फ्री टिकट’ को प्रबन्ध कति धरातलीय छ वा यो ‘पपुलिस्ट’ नारा मात्रै हो ?

के खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाउँदैमा त्यता जाने महिला कामदारको क्रम रोकिएको छ ? अथवा, भारतमा गएका औपचारिक–अनौपचारिक क्षेत्रका लाखौं कामदारलाई अभिलेखमा राख्ने र वैदेशिक रोजगारीमा गएका श्रमिकको हैसियत दिने काम भएको छ ? अथवा, इराकी भूमिमै रहेका १० हजारभन्दा बढी नेपाली श्रमिकको हैसियत कानुनी हो या गैरकानुनी ?

यस्ता पक्षहरूमा सधैंजसो यथास्थितिवादी शैलीमा कार्यसम्पादन गरिरहेको राज्य संयन्त्रले अब भने यथार्थमा व्यवस्थित, मर्यादित र सुरक्षित वैदेशिक रोजगारीका बारेमा सोचमग्न हुनैपर्ने बेला आएको छ ।

द्वन्द्वकालीन अवस्था होस् अथवा कोभिड संक्रमणको महामारीकाल, पर्यटन बजार पूरै सुस्ताएको घडी होस् वा राज्य–संयन्त्रका अरू पद्धति कामचलाउ बनेका बेला, रेमिट्यान्सको आशा र अपेक्षामा नेपाली समाज चलायमान हुन थालेको धेरै भैसकेको छ । तर, यसरी रेमिट्यान्समा जोडिएको कामचलाउ र तदर्थवादी शैलीमा मात्रै सिंगो संयन्त्रको दुहाई दिइरहेको अवस्था दिगो अर्थमा उपयोगी हुन नसक्ने निश्चित छ । यसकारण पनि समग्र आप्रवासन पद्धति र हामीले अपनाइरहेको प्रणालीमा पुनर्विचार हुन/गर्न जरुरी छ । अब यो क्षेत्रमा चाहिएको व्यापक सुधारलाई यथास्थितिवादका कारण रोक्नु बुद्धिमत्ता हुन्न ।

झट्ट हेर्दा धेरै सामान्य लाग्ने विषयवस्तु हुन्— बिनाअभिलेख र श्रमिक–प्रामाणिकता भारतमा गइरहेका नेपाली श्रमिकको सूचकांक । अथवा, खाडी मुलुकमा खतरा छ भनेरै प्रतिबन्धमा पारिएका नेपाली महिला कामदारको नियति । अथवा, रोजगारी र भविष्यको खोजीमा अनेक अप्ठ्यारा झेल्दै अफ्रिकी जंगलहरूमा पुगेर जीउज्यान गुमाइरहेका नेपाली युवाको कथा । मर्यादित र सम्मानित वैदेशिक रोजगारीको उपाय आत्मसात् गर्नैका निम्ति पनि राज्य संयन्त्रले वैदेशिक रोजगारी प्रणालीमा पुनरवलोकन गर्नुपर्ने बेला आइसकेको छ ।

अन्यथा, मानवअधिकार र जवाफदेहीका हिसाबमा प्रवासनको यो यथार्थलाई सधैंसधैं ढाकछोप गरेर मात्रै राज्य संयन्त्र विश्वासिलो बन्न सक्दैन, यो यथार्थलाई जतिसक्दो चाँडो आत्मसात् गर्नैपर्ने हुन्छ । र, समयानुकूल निर्णयहरू गरेर अगाडि बढ्नुपर्छ ।

प्रकाशित : पुस १६, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

‘राष्ट्रको प्रतिनिधित्व गर्न चाहनेले नै खेल्छन्’

‘कप्तान परिवर्तन हुने छैन । विश्वमा जहाँ पनि बोर्डलाई यो सबै गर्ने अधिकार छ र यो निर्णय यथावत् रहनेछ’
विनोद पाण्डे

काठमाडौँ — नवनियुक्त क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले खेलाडीहरूको पहिलो प्राथमिकता खेल्नु र राष्ट्रिय टोली हुनुपर्ने बताएका छन् । दुई दिनअघि दोस्रो पटक नेपालको प्रशिक्षक बन्न आएका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सञ्चारमाध्यममा प्रस्तुत गर्दा दासानायकेले खुलेर क्रिकेट खेल्ने वातावरण बनाउन आफू लागिपर्ने जनाए ।

सेन्ट्रल कन्ट्रयाक्टको वर्गीकरणको विषयलाई लिएर सञ्चारमाध्यममा गएर बोलेपछि क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्नुका साथै उनीहरू दुईसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको थियो ।

क्यानले चार खेलाडीमाथि कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । त्यसयता विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा, रोहित पौडेललगायतका खेलाडीले कारबाहीप्रति ऐक्यबद्धता जनाउँदै आएका छन् । त्यसयता क्यान र खेलाडीबीच अनौपचारिक वार्ता र छलफल भए पनि सहमति हुन सकेको छैन ।

यस्तो परिवेशमा आए पनि दासानायके विवाद समाधान हुनेतर्फ विश्वस्त देखिन्थे । खेलाडीबीच मौलाएको गुटका बारेमा प्रश्न गर्दा उनले अब कुनै गुट नरहने र एउटा टिम हुने, त्यो नेपाल राष्ट्रिय टोली हुने जनाए । ‘जसले नेपालको लोगो छातीमा राखेर राष्ट्रको प्रतिनिधित्व गर्न चाहन्छ, त्यो टोलीमा हुनेछ । जसले चाहँदैन, त्यो टोलीमा हुँदैन, त्यसको कुनै वरीयता वा अरू नै किन नहोस्,’ दासानायकेले भने, ‘राष्ट्रका लागि को कति खेल्न आतुर छन्, तिनीहरूलाई माहोल बनाइदिन चिन्तित छु । अब एक टिम हुनेछ र एक उद्देश्य ।’

आफूले दुवै पक्षसँग बसेर छलफल गरेको जनाए । खेलाडीहरूको एउटा सानो समूहसँगको छलफलले आफूलाई सबै विषय बुझाएको जनाए पनि कप्तानको निर्णय फर्काउन नमिल्ने उनले बताए ।

‘क्यानका तर्फबाट मलाई भनिएअनुरूप यस विषयमा उनीहरू आफ्नो निर्णयमा अडिग छन् । त्यसैले कप्तान परिवर्तन हुने छैन । विश्वमा जहाँ पनि बोर्डलाई यो सबै गर्ने अधिकार छ र यो निर्णय यथावत् रहनेछ । क्यानले कप्तान परिवर्तन गर्ने छैन, हामीले त्यो निर्णयको सम्मान गर्नुपर्छ,’ दासानायकेले भने, ‘मैले खेलाडीसँग लामो बैठक गरें, उनीहरू के चाहन्छन् भनेर बुझें । खेलाडीको हिसाबमा म उनीहरूको स्थितिलाई बुझ्न सक्छु । तर म जुन स्थितिमा छु त्यहाँबाट म आउनु अगाडि भएका निर्णयलाई फर्काउन सक्दिनँ । म भएको समयमा सबैलाई उत्कृष्ट क्रिकेट खेल्ने वातावरण बनाउनेछु, म त्यसमा निश्चित गर्न सक्छु । तर कप्तान हटाउने बोर्डको निर्णय हो । म त्यसलाई चुनौती दिन सक्दिनँ, त्यसैले कप्तान परिवर्तन गर्ने निर्णय फिर्ता हुँदैन ।’

सेन्ट्रल कन्ट्रयाक्ट र अन्य विषयमा क्यान निकै लचिलो रहेको र सहयोगका लागि तयार रहेको जनाउँदै उनले क्यानलाई खेलाडीमाथि लगाइएको सेन्ट्रल कन्ट्रयाक्ट निलम्बन फुकुवा गर्नुपर्ने भनेको र क्यान त्यसमा धेरै सकारात्मक रहेको दासानायकेले बताए । आफूले दिइएको सुझाव र अन्य विषयमा पनि क्यान सहयोगका लागि तयार रहेको उनको भनाइ थियो । खेलाडी कारबाही विवादको विषय २–३ दिनमा किनारा लगाउन आफू लागिपरेको उनी जनाउँछन् । ‘सबै पक्षसँग छलफल राम्रो भएको छ र खेलाडीहरू टिममा फर्किन्छन् भन्ने आशा लिएको छु तर क्याम्प सुरु भएपछि नै बाँकी थाहा हुनेछ,’ दासानायकेले अगाडि भने, ‘यो राष्ट्रिय टोली हो । व्यक्तिपिच्छेलाई हामी रोक्न सक्दैनौं, यो निर्णय उनीहरूले नै गर्नुपर्छ । राम्रो स्थिति के छ हामी त्यहीअनुसार हिँड्नुपर्छ । क्याम्प सुरु भएपछि होटलमा बसेर छलफल गरेर यो विषयलाई अझ सहज बनाउन सकिन्छ ।’ पछिल्ला छलफल र भेटघाटबाट उनी समाधन खोजिनेमा धेरै आशावादी छन् ।

दासानायके २०११ मा पहिलो पटक नेपालको प्रशिक्षक बन्न आएका थिए । विश्व क्रिकेट लिगको संरचनामा डिभिजन ४ मा रहेको नेपालले एकदिवसीय विश्वकप छनोटमा पुग्नुका साथै २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो । उनले विगतको ४ वर्षे कार्यकाललाई स्मरण गर्दै भने, ‘मैले २०११ देखि २०१५ सम्म पनि यस्तो स्थितिलाई किनारा लगाएको थिएँ । म आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछु । म खेलाडीले कडा मिहिनेत गरेर प्रशिक्षणमा २ सय प्रतिशत लगाएर राष्ट्रिय टोलीलाई प्रदर्शन दिऊन् भन्ने चाहन्छु । त्यसपछि सबै खेलाडीलाई जुनै कोणबाट खुसी मिल्ने पद्धतिको विकास गर्नेछु ।’ खेलाडीले सरोकार राखेको सेन्ट्रल कन्ट्रयाक्टलगायत अन्य विषय शतप्रतिशत समाधान हुने र त्यसपछि अगाडि बढ्न सजिलो हुने सम्भावना उनले देखेका छन् ।

फेब्रुअरी १५ देखि ओमानमा ट्वान्टी–२० विश्वकप छनोट आयोजना हुँदै छ । उनले त्यस अगाडि सबै योजनाहरू बनिसकेको, क्याम्प जनवरी १ बाट सुरुआत गर्ने जनाए । १० दिन बन्द प्रशिक्षणपछि खेलाडीहरूले प्रधानमन्त्री कप खेल्नेछन् । प्रधानमन्त्री कपलाई ट्वान्टी–२० संरचनामा ल्याउन राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरिएको क्रिकेट म्यानेजर विनोद दासले जनाए । ‘म नेपाल क्रिकेटबाट पछिल्लो चार वर्ष बाहिर रहें, त्यही भएर मैले धेरै खेलाडी देखेको छैन । धेरै युवा प्रतिभावान खेलाडी भएको सुनेको छु । त्यही भएर म सबैले प्रधानमन्त्री कप खेलेको हेर्न चाहन्छु । उनीहरूले म्याच परिस्थितिअनुसार खेलेको हेर्न चाहन्छु । त्यसपछि अन्तिम १४ र वैकल्पिक खेलाडी छान्नेछौं,’ दासानायकेले ४५ दिन पनि प्रशिक्षणका लागि पर्याप्त समय भएको जनाए ।

क्यानले छनोट समितिमार्फत मुख्य प्रशिक्षक दासानायकेसँग सल्लाह गरी बिहीबार नै कारबाही गरिएका चार खेलाडी समेट्दै ३० सदस्य प्रारम्भिक टोलीको घोषणा गरेको छ । छनोट गरिएका खेलाडीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, शाहव आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुलशन झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरिशंकर साह छन् ।

प्रकाशित : पुस १६, २०७८ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×