निषेधित महिला–मस्तिष्क- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधित महिला–मस्तिष्क

आवरण परिवर्तन आवश्यक भए पनि मुख्यतया वैचारिक क्षमता र चेतनालाई बेवास्ता गरेर महिला मुक्ति आन्दोलनले सही दिशा लिन सक्दैन भन्ने बोध हुनु अत्यावश्यक छ ।
सुमिना

महिला शरीरलाई विशेष महत्त्व दिनु भनेको महिला चेतना र विचारलाई ओझेलमा पार्नु हो । यसले महिला शारीरिक एवम् प्राकृतिक गुण वा अवगुणहरूका कारण शक्तिशाली या कमजोर, महान् या नीच र पूज्या या भोग्या हुन् भन्ने मान्यतालाई स्थापित गर्छ । साथै यसले उनीहरू शारीरिक श्रम गर्न सक्छन्, तर मानसिक र बौद्धिक ‘स्पेस’ हरूमा असफल हुन्छन् भन्ने स्त्रीद्वेषी भाष्यको पनि वकालत गर्छ ।

वास्तवमा चेतना र पदार्थको अन्तरसम्बन्ध नै समग्र मानव जीवन हो । मान्छे सबैभन्दा पहिले मान्छे हुन्छ, अनि मात्र ऊ महिला या पुरुष हुन्छ । तर, समाजमा महिला र पुरुषबीच विभाजन खिचेर एउटालाई पूर्ण मान्छे र अर्कोलाई अमान्छे घोषित गर्ने विभेदकारी परम्परा सदियौंदेखि स्थापित छ । पदार्थको जगमा उभिएको चेतनाबाट अलग्गै राखेर महिलालाई विशुद्ध शरीरधारी भौतिक अस्तित्वका रूपमा मात्रै चित्रित गर्ने परिपाटीले महिलाको वैचारिक पाटोलाई सधैं विलुप्त पारेको छ ।

पितृसत्ता र विवाह संस्था

‘परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति’ पुस्तकमा फ्रेडरिक एङ्गेल्स भन्छन्, ‘इतिहासमा एकनिष्ठ विवाहको प्रवेश विवाहको सर्वोच्च ढाँचाका रूपमा त कुरै छोडौं, पुरुष र महिलाबीच सहमतिका आधारमा समेत भएको थिएन । बरु एउटा लिंगमाथि अर्कोको उत्पीडनका रूपमा र त्यस समयसम्मको इतिहासमा कतै नभएको लिंगजन्य शत्रुताको घोषणाका रूपमा भएको थियो । सबैभन्दा पहिलो वर्गीय उत्पीडन पुरुषले महिलामाथि लादेको उत्पीडन थियो ।’

बाल्ज्याकजस्ता लेखकले महिलाको विशेषतालाई पुरुषको दिलको धड्कन बढाउन सक्ने कामुक वस्तुसँग तुलना गरेका छन् । उनी भन्छन्, ‘महिला त्यस्तो चलायमान सम्पत्ति हो, जसलाई पुरुषले जहाँ चाहन्छ हाँकेर लैजान सक्छ ।’ अठारौं शताब्दीमा बढ्दो प्रगतिवादी विचारधाराको प्रतिक्रियामा उनले यस्तो महिलाविरोधी घोषणा गरेका हुन् । उनका अनुसार, बुर्जुवा विवाह संस्था प्रेममा आधारित छैन र यसैकारण त्यहाँ व्यभिचार अनिवार्य छ । यसले हरेक पतिले आफ्नी पत्नीमाथि कडा लगाम लगाउनुपर्छ, उसलाई अशिक्षित राख्नुपर्छ, सम्भव भएसम्म कुरूप बनाई सांस्कृतिक रूपमा अलगथलग तुल्याएरै अन्य पुरुषको नजरबाट जोगाउन सकिन्छ र परिवार सुरक्षित रहन्छ भन्ने मान्यताको पक्षपोषण गर्छ । उनका शब्दमा, विवाहिता महिला त्यस्ती दास हो जसलाई सिंहासनमा राख्न सकियोस्, ताकि ऊ सधैं पराधीन रहिरहोस् र चुलाचौकाको साम्राज्ञी पनि बनोस् ।

आजसम्म पनि पुरुष मानसिकतामा यही सिद्धान्तले काम गरिरहेको देखिन्छ । अधिकांश पुरुषको मान्यता हुन्छ, कुनै महिलाले आफ्नी श्रीमती भएबापत शारीरिक तथा भौतिक सुखसुविधाहरू अवश्य पाउनुपर्छ, तर घरसंसारको चौघेराबाट मुक्त भएर उसलाई बाहिरी संसारमा रुमानी उडान भर्न भने सधैं बन्देज लगाइनुपर्छ ।

हाम्रै समाजमा पनि पढेलेखेका र सामाजिक प्रतिष्ठा कमाएका पुरुषहरूसमेत चाहँदैनन्, महिलाहरूमा चेतनास्तरको विकास होस् र उनीहरूको शारीरिक बनावटलाई गौण राखेर चेतनालाई प्रयोगमा ल्याइयोस् भनेर । उनीहरू चाहन्छन्, महिलाहरू घरबाट बाहिर निस्किएर सामाजिक तथा वैचारिक क्रियाकलापमा संलग्न नहोऊन् । जबसम्म महिलाहरू घरभित्र सीमित हुन्छन् तबसम्म मात्रै पुरुष हुनुको अहम् सुरक्षित भएको ठान्ने पुरुषहरूको घेरा अझै व्यापक छ । श्रीमती सुन्दर देखिँदा वा उन्मुक्त भएर हिँडडुल गर्दा या अन्य पुरुषसँग हाँसबोल गर्दासमेत असुरक्षित महसुस गर्ने र शंकाले हेर्ने मानसिकता बाँचिरहनुको पछाडि महिलाका निम्ति निर्मित यिनै मान्यताहरूले काम गरिरहेका हुन्छन् ।

शरीरको विनिमय

सामन्तवादी पितृसत्ताको प्रताडनाबाट मुक्ति नपाउँदै पुँजीवाद महिलाहरूको अघिल्तिर एउटा गुलियो तर घातक ललिपप लिएर उदायो । यसले स्वतन्त्रताको छद्म सपना बाँडेर बहुसङ्ख्यक महिलालाई विषाक्त भ्रममा लोभ्याइरहेको छ । पुँजीवाद महिलाहरूको चेतनासँग प्रपञ्चको खेल होसियारीपूर्वक खेलिरहेको छ । उसको उद्देश्य चेतनालाई प्रकाशमा ल्याउनु र महिलामा निहित वैचारिकीलाई उकास्नु हुँदै होइन । ऊ त महिलालाई घरबाहिर निकाली शरीरको व्यापार चलाएर मनग्य मुनाफा कमाउने ध्याउन्नमा छ । जब शरीरलाई प्राथमिकतामा राखिन्छ, चेतना स्वाभाविक रूपमा ओझेल पर्छ । मुख्य आकर्षणको केन्द्र नै शारीरिक सौन्दर्य भएपछि वैचारिक स्तर निर्माण गर्नुभन्दा पनि कसरी सुन्दर देखिने र शरीरलाई आकर्षक बनाइराख्ने भन्नेमै महिलाहरूले सम्पूर्ण मिहिनेत खर्चिने हुँदा यस्तो परिपाटीले चेतनालाई शून्यमा विलय गराउँछ ।

अर्कातर्फ, शारीरिक सुन्दरता प्राकृतिक रूपमै सदाबहार नहुने हुँदा क्रमशः महिलाहरूलाई आफ्नै शरीरमाथि हीनताबोध गराई मनोरोगको सिकार बनाइरहेको छ । संसारको सबैभन्दा सस्तो विज्ञापन अनुहारको विज्ञापन र अनुहारको प्रदर्शनजस्तो कमसल प्रतिस्पर्धामा अल्झाएर पुँजीवादले फेरि पनि महिलाको चेतनास्तरलाई उठ्नै नसक्ने बनाइरहेको छ ।

शरीरमाथिको राजनीति

महिलाहरूको वैचारिक क्षमतामा आधारित छलफल र बहस कतै भएको देखिँदैन । तर, शरीरलाई आधार बनाएर अनेक सोच भने जन्मिने गरेका छन् । तिनैमध्येका दुई अतिवादी सोच हुन्— महिलालाई प्रजनन क्षमताकै कारण शक्तिशाली हो भनेर पूज्याको दर्जा दिनु र महिनावारी वा गर्भधारण गर्ने भएकै कारण शारीरिक रूपमा कमजोर हुन्छन् भनेर हीन भावना भरिदिनु । वास्तवमा महिलाहरू शारीरिक कारणले न हिजो कमजोर थिए न आजै । बरु पितृसत्ताले प्रजनन क्षमतालाई निरन्तर महिलाको कमजोरीका रूपमा प्रयोग गर्दै आइरहेको छ ।

महिला केवल शारीरिक बनोट र निश्चित अंगहरूकै कारण महिला हो भन्ने भाष्य निर्माण गर्दै पितृसत्ताका हिमायतीहरूले महिलामाथि हुने हिंसालाई समेत प्रकृतिप्रदत्त घटना भनेर सामान्यीकरण गरी आफूमाथिको उत्पीडन र हिंसालाई भाग्य र नियतिका नाममा चुपचाप ग्रहण गर्ने मनोविज्ञान निर्माण गरिरहेका छन् । महिला उत्पीडनका निम्ति प्रकृति नभएर यो समाज उत्तरदायी छ ।

प्रकृतिले महिला र पुरुषलाई समन्वय र सहकार्यका निम्ति निर्माण गरेका केही शारीरिक भिन्नतालाई सुनियोजित रूपमा यी दुईबीच पर्खाल खडा गरी उत्पीडन लाद्ने माध्यम बनाइयो । मानवशास्त्री एभलिन रिडको अनुसन्धानले पनि महिला जैविक रूपमा कमजोर हुँदैनन् भन्ने तर्कलाई नै अघि सार्छ । ‘जीवविज्ञान महिलाको नियति होइन’ भन्ने लामो आलेखमा उनले यसबारे प्रभावशाली तर्क गरेकी छन् । मानव इतिहासको प्रारम्भदेखि नै महिलाहरू उत्पीडित रहेको भनी महिलालाई हीन ठान्ने ‘गर्भाशय सिद्धान्त’ र पुरुषलाई श्रेष्ठ देखाउने ‘लिंग सिद्वान्त’ को गलत व्याख्या–विश्लेषणलाई उनले बौद्धिक ढंगबाट चिरफार गरेकी छन् । साथै ‘सौन्दर्य प्रसाधन र महिलाको शोषण’ शीर्षक आलेखमा ठूला व्यवसायीहरूले धेरै नाफा कमाउन महिलालाई कसरी उपयोग गर्छन् र श्रमिकहरूमाथिको उत्पीडनलाई टिकाइराख्छन् भन्ने तथ्य प्रस्तुत गरेकी छन् ।

एक थरी महिलाहरू सौन्दर्य प्रसाधन र फेसनले बाहिरी व्यक्तित्वलाई सुधार गर्ने हुँदा यसको प्रयोग आवश्यक रहेको तर्क गर्छन् भने अर्का थरी इच्छाअनुसारको पोसाक र सौन्दर्य प्रसाधनको उपयोगलाई महिला अधिकारसँग जोडेर हेर्छन् । यसको बाछिटाले नेपालको महिला आन्दोलनसमेत भिजेको देखिन्छ । नेपाली महिला आन्दोलनमा पनि महिलाहरूमा निहित बौद्धिक सक्षमतालाई लिएर खासै बहस भएको पाइँदैन, बरु शारीरिक तडकभडक र लवाइखवाइलाई ‘सेल्फ कन्फिडेन्स’ सँग जोडेर तर्क गर्ने गरिएको छ । तर, आजको पुँजीवादी विश्व व्यवस्थामा सौन्दर्य प्रसाधन महिलाको अधिकार र आवश्यकताभन्दा पनि बाध्यतामा परिणत भइरहेको यथार्थबारे खासै चिन्ता गरेको देखिँदैन । मुख्यतया वैचारिक क्षमता र चेतनालाई बेवास्ता गरेर महिला मुक्ति आन्दोलनले सही दिशा लिन सक्दैन भन्ने बोध हुनु अत्यावश्यक छ ।

शरीरकेन्द्रित घातक सौन्दर्यचेत

शरीरकेन्द्रित गलत सौन्दर्यचेतले विविध हिंसाका अवयवहरूलाई निम्त्याइरहेको हुन्छ । यौनांगधारी कामोत्तेजक वस्तु देख्ने मानसिकताले दिनहुँ यौनहिंसा र बलात्कार बढाइरहेको छ । यही मानसिकता बोकेको समाजको एउटा हिस्सा छोटो कपडा र अंग प्रदर्शनकै कारण महिला बलात्कृत हुने कुतर्क पेस गर्छ । महिला शरीरमा त्यस्तो के छ, जसले पुरुषलाई एकाएक मान्छेबाट अपराधी बनाउँछ ? यो महिला शरीरप्रतिको अतिरञ्जित र गलत सौन्दर्यचेतकै परिणाम नभए के हो ?

विवेकशीलतालाई ललकार्ने र शरीरधारी वस्तु मात्रै देख्ने प्रवृत्तिले जब महिलालाई घृणा गर्छ तब अंगमै प्रहार गर्छ । सक्षमतामाथि सन्देह व्यक्त गर्दै महिलाको सफलताका पछाडि पनि शारीरिक प्रदर्शन मात्रै देख्छ र चरित्रलाई उसमाथि प्रहार गर्ने हतियारका रूपमा प्रयोग गर्छ । यस्ता खाले प्रवृत्तिबाट सत्तासीनदेखि विभिन्न संघसंस्थामा आबद्ध तथा पत्रपत्रिका र सामाजिक सञ्जालमा बोल्ने र लेख्ने महिलाहरूसमेत प्रताडित छन् ।

अरस्तु भन्छन्, ‘महिला केही प्राकृतिक गुणहरूको कमीकै कारण महिला बन्छे ।’ प्लेटो ईश्वरले आफूलाई पुरुष बनाउनुलाई अहोभाग्य मान्छन् । पाइथागोरस महिलालाई अशुभ सिद्धान्तसँग तुलना गर्छन् । यसरी इतिहासदेखि नै पुरुष श्रेष्ठतावादीहरूले केही भिन्न गुण एवम् जीव वैज्ञानिक संरचनाकै कारण पहिलाहरू कमजोर तथा हीन हुने तर्क गर्दै आइरहेका छन् । तर यो भाष्य आफैंमा तथ्यहीन रहेको तर्क लुइस हेनरी मोर्गन, फ्रेडरिक एङ्गेल्स, एलभिन रिड आदिले निजी सम्पत्ति र एकनिष्ठ विवाह पद्धतिमा आधारित पितृसत्ताको उदयभन्दा अघिको समाजका महिलाहरूको सामाजिक अवस्थाको अध्ययनमार्फत गरेका छन् ।

मातृप्रधान समाजको पतनसँगै सुरु भएको पितृसत्तामा महिलाहरूलाई सामाजिक तथा सांस्कृतिक क्षेत्रबाट अलग्याएर घरभित्रै सीमित गर्न निर्माण गरिएको चिन्तन नै समस्त उत्पीडनको जड हो । त्यहीँबाट सुरु भएको हो, दोस्रो दर्जाको नागरिक करार गरी महिलाहरूको मस्तिष्क र चेतनामाथिको नियन्त्रण । सामन्तवाददेखि पुँजीवादसम्म महिला उत्पीडनको सवाल शरीरदेखि शरीरसम्मै पुगेर कैद भएको छ ।

अब पुँजीवादको पन्जाबाट निस्किएर शारीरिक प्रतिस्पर्धाको मोहजाल त्याग्दै ठूलो संख्यामा महिलाहरू आर्थिक, राजनीतिक, सांस्कृतिक र वैचारिक हस्तक्षेपमार्फत सामाजिक वर्चस्व कायम गर्दै र शताब्दियौंदेखि नियन्त्रणमा राखिएको मस्तिष्कका लक्ष्मणरेखाहरू तोड्दै वर्जित गरिएको वैचारिक यात्रामा लामबद्ध हुनु आवश्यक छ । हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गरी वैचारिक लडाइँमार्फत पितृसत्ताको शरीरकेन्द्रित झाष्य खारेज गर्नु आवश्यक छ ।

प्रकाशित : पुस ४, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

संस्काररूपी दासताको साङ्लो

सुमिना

महिलामा निहित दास मनोवृत्ति पितृसत्तात्मक संरचनाले पुस्तौंदेखि संस्थागत तथा मलजल गरी महिलाको चेतनामा सुषुप्त रूपमा उमारिदिएको बिरुवा हो, जसले बिनाकरकाप, खुसीखुसी शोषणकारी दासताका लागि स्वीकृति दिन्छ र विभिन्न विभेद तथा हिंसालाई आफूमा समाहित गर्छ, जुन चेतन वा अवचेतन रूपमा कतै मुखर त कतै सुषुप्त भएर अनेक प्रकृति र प्रक्रिया हुँदै व्यवहारतः बाहिर प्रस्फुटित हुन्छ ।

यसका उदाहरणहरू हाम्रै आँखाअगाडि छरपस्टै छन् । यस्तै पितृसत्ताप्रति दासत्वको एउटा ज्वलन्त उदाहरण हो- नेपाली समाजमा निहित हरितालिका तीज ।

अनि सबैभन्दा विरोधाभास के छ भने, वर्तमान नेपाली समाजमा एकातर्फ नारी उन्मुक्तिका आवाजहरू उठिरहेका छन्; समयले आह्वान गरिरहेको छ— अब अति भैसक्यो यो दासताको निरन्तरता, यसमा पूर्णविराम लगाउनैपर्छ, यो सिलसिलामा क्रमभंगता ल्याउनैपर्छ; अर्कातर्फ ठीक विपरीत, स्वतन्त्रताको बाटामा सदियौंदेखी पर्खाल बनेर उभिएको परम्परा नामक मीठो शब्दभित्र लिप्त हुँदै पितृसत्तात्मक संरचनाले फालेको जालोमै नेपाली महिलाहरू जकडिइरहेका छन् । चाहे धर्मका नाममा होस् या संस्कृति र परम्पराका नाममा, पितृसत्ताले महिलालाई राजीखुसी दासत्व स्वीकार गर्ने संरचना निर्माण गरिरहेकै छ ।

हाम्रो समाजमा दासत्व वा पराधीनता स्वीकार गराउन पितृसत्ताले अफगानिस्तानी तालिबानले झैं सैन्यबल प्रयोग गरिरहनैपर्दैन, बरु परम्पराका नाममा स्वतःस्फूर्त र राजीखुसी महिलाहरू आफैं दासत्वतिर उन्मुख हुने अवस्था उत्पन्न गरिरहेको छ । एन्टोनियो ग्राम्सीले प्रतिपादन गरेको एउटा सिद्धान्त छ, ‘हेजेमोनी’ अर्थात् वर्चस्ववाद अथवा प्रभुत्ववाद । ग्राम्सीका अनुसार जो शोषक/शासक छ, ऊ शोषित/शासितमाथि जबर्जस्ती सैन्यबल प्रयोग गरेर मात्रै राज गर्दैन; उसले मानिसको मनमस्तिष्कमा संस्कृति र विचारधाराका माध्यमबाट राजीखुसीसाथ राज गर्ने माहोलसमेत उत्पन्न गर्छ । नेपाली समाजमा पनि पितृसत्ताले संस्कार र परम्पराका नाममा दासत्व स्वतः स्वीकार गराउन संरचनात्मक रूपमै प्रभुत्व वा आधिपत्यको अवस्था बनाएको छ । यही सांस्कृतिक आधिपत्यकै कारण धर्म, परम्परा, आस्था, विश्वास, संस्कार र संस्कृतिका नाममा अन्धविश्वासलाई चिर्न नसकी अथवा धर्म र अन्धविश्वासको भेद नै छिचोल्न नसकी घुम्दैफिर्दै महिलाहरू दासत्वकै गोलचक्करमा फन्को मारिरहेको प्रस्ट देखिन्छ ।

कुसंस्कार नै महिला मुक्तिको अवरोधक

महिलालाई नै प्राथमिकतामा राखेर महिला विशेष भन्दै नेपाली समाजले धर्म तथा संस्कृतिको अभिन्न हिस्साका रूपमा अत्यधिक महत्त्व दिएको पर्व हो— तीज । तर ‘महिला विशेष’ भनिएको यही चाड सम्भवतः स्वस्थानीपछिकै सबैभन्दा भयानक स्त्रीद्वेषी पर्व हो भन्ने तथ्य यससँग सम्बन्धित मान्यताहरूले प्रमाणित गर्छन् ।

पार्वतीले शिवलिंगको स्थापना गरी लामो समयसम्म पानीसमेत नपिई निराहार व्रत बसेपछि शिव प्रकट भएर आशीर्वाद दिएको र शिवसँग पार्वतीको विवाह भएको पौराणिक कथन छ । यसका साथै शिवको सुस्वास्थ्य तथा उनलाई कुनै पनि प्रकारको रोग एवं दुःख–कष्ट नआओस् भनी पार्वती व्रत बसेको भाद्र शुक्ल तृतीयालाई तीजको दिन मानेर नेपाली हिन्दु महिलाले पनि त्यसलाई परम्पराका रूपमा मान्दै आएका छन् ।

सतही रूपमा यसलाई स्त्रीले इच्छा लागेको वर चुन्न पाउने अधिकारको प्रयोगका रूपमा व्याख्या गर्ने गरिए पनि समग्रमा यसले दिने सन्देश भनेको पुरुष, पति या प्रेमीहरूको देवत्वकरण नै हो । पुरुष देवता हुन् र महिला भक्त हुन् भन्ने यसको स्थापित मान्यता छ । त्यसैले महिलाहरू आजीवन पुरुषको सेवा, भक्ति वा कामनामा लागिरहनुपर्छ भन्ने सामाजिक–धार्मिक मान्यताकै यसले वकालत गर्ने गर्छ ।

तीजका दुइटा पाटा छन्- तृतीया र पञ्चमी । मानवशास्त्री डोरबहादुर विष्टले उल्लेख गरेका छन्, महिलासम्बन्धी र सँगसँगै आउने धार्मिक गतिविधिका कारण समग्रमा तीजलाई एउटै पर्वका रूपमा नेपाली समाजले लिने गरेको छ तर यसका दुई खण्ड छन् । अमेरिकी मानवशास्त्री लिन बनेटले पनि ‘डेन्जरस वाइभ्स एन्ड स्याक्रिड सिस्टर्स सोसियल एन्ड सिम्बोलिक रोल्स अफ हाई–कास्ट वुमेन इन नेपाल’ मा तीजका यी दुवै पक्षबारे सूक्ष्म ढंगले अध्ययन गरेकी छन् ।

पहिले, तृतीयाको निराहार व्रत केवल पति ‘देव’ को सुस्वास्थ्य र दीर्घायुका लागि बसिन्छ र पतिका खुट्टा धोएर पानी खानेसम्मका गतिविधि यस पर्वको दौरान गरिन्छन् । नेपाली समाजमा वर्षैभरि घरेलु हिंसाका समाचारहरू व्यापक मात्रामा आइरहन्छन् । अनि वर्षभरिका नारी हिंसाको क्षतिपूर्ति हरितालिकामा उल्टो नारीलाई नै पुरुषका खुट्टाको पानी खुवाएर असुल्ने गरेको छ नेपाली समाजले ।

तृतीयाको भन्दा भयावह पाटो छ, पञ्चमीको । अपमार्गले दतिउन गर्दै सहस्र धाराद्वारा नुहाएर समापन गरिने गतिविधिको प्रमुख औचित्य भनेको वर्षभरि रजस्वला हुँदा जान–अनजानमा पुरुषलाई छोइएको पाप पखाल्नु हो । महिलामा स्वतःस्फूर्त र प्राकृतिक रूपमा हुने रजस्वलालाई पाप र अपराधका रूपमा व्याख्या गर्ने ऋषिपञ्चमी आफैंमा ठूलो अन्धविश्वास र कुसंस्कार हो ।

रजस्वलालाई नै अपराध र पापका रूपमा लिएकै कारण बर्सेनि दर्जनौं किशोरी र महिला छाउगोठ जीवन गुमाउन बाध्य हुन्छन् । हाम्रो समाज एकातिर छाउगोठ भत्काउँदै हिँड्छ भने अर्कातिर ऋषि पञ्चमीजस्ता ‘कुसंस्कार’ हरू लादेर महिनावारी पाप र अपराध हो भन्ने उपदेश दिन पनि पछि पर्दैन ।

संस्कार र कुसंस्कारबीचको भेद छुट्याएर जबसम्म हामी आम महिलाले हिम्मतका साथ दासताको जन्जिर चुँडाल्न सक्दैनौं, जबसम्म महिला मुक्तिका तगाराहरू भत्काउन सक्दैनौं, तबसम्म स्वतन्त्रताको नीलो आकाशमा हाम्रो निस्फिक्री उडान असम्भव छ ।

कसरी लादिन्छ संस्कारका नाममा कुसंस्कार ?

खास गरी विवाहित महिलाहरूलाई पतिको चरण र सेवामा नतमस्तक बनाउन पितृसत्ताले धर्म वा संस्कार नामको जाल निकै होसियारीपूर्वक बिछ्याउने गरेको छ । धर्मको विशेष अर्थ हुन्छ— ‘धारण गर्नु’, ‘अपनाउनु’ वा ‘अनुसरण गर्नु’ । यसमा किन्तु वा परन्तुका लागि कुनै स्थान हुँदैन । केवल स्विकार्ने मात्रै छुट हुन्छ । सुरुआतमा धर्मको आधार भक्ति नभएर भय र भ्रम नै हुन्छ अनि कालान्तरमा त्यो मानिसका निम्ति आस्था र विश्वास बन्न पुग्छ ।

तीज ठ्याक्कै कहिले, कसले र कसरी सुरु गर्‍यो, भन्न सकिँदैन तर जेसिका भ्यानटाइन ब्रिकेनहोल्टले स्वस्थानीबारे गरेको अनुसन्धान हेर्दा तीज पनि पितृसत्ताले सुरु गरेको एउटा प्रपञ्च थियो भनी अनुमान लगाउन गाह्रो हुँदैन ।

ब्रिकेनहोल्टको अनुसन्धानले भन्छ, स्वस्थानीको कथा सर्वप्रथम नेपाल भाषामा नेपाल संवत् ६९३ (सन् १४७३) आसपास लेखिएको थियो । यो जयदेवले लेखेका थिए । तत्कालीन नेपाल (काठमाडौं उपत्यका) मा त्यति बेला मल्ल राजाहरूको शासन थियो । १९ औं शताब्दीको सुरुआततिर जब उपत्यकामा शाह राजाहरू भित्रिए, त्यति बेला मात्रै यसलाई नेपालीमा रूपान्तरित गरियो र सम्पूर्ण नेपाली समाजमा बिस्तारै यही कथालाई धार्मिक अनुष्ठान र महिलाको पर्वका रूपमा स्थापित गरियो ।

यो तथ्य बुझ्न त्यति गाह्रो छैन कि नेपाली समाजको अधिकांश हिस्सामा आदिवासी जनजातिको बाहुल्य थियो । आदिवासी जनजाति समुदायमा तुलनात्मक रूपमा महिला बढी स्वतन्त्र थिए । त्यसैले महिलालाई तुच्छ करार गरेर सामन्तवादी पितृसत्ता तिनलाई पनि कज्याउन चाहन्थ्यो । यसका लागि लैंगिक हिसाबले विभेदकारी स्वस्थानीको कथा एउटा यस्तो हतियार बन्न पुग्यो, जसलाई हातमा लिएर महिलाहरूमाथि दासत्व लाद्न पितृसत्ताले अनेक प्रपञ्च रच्यो ।

तीज पनि महिलालाई कज्याउनकै लागि यसरी नै नेपाली खस–आर्य समाजमा लादिएको थियो भनेर बुझ्न त्यति कठिन पर्दैन । यो संस्कारलाई अझ सशक्त रूपमा लागू गराउन यसलाई हिन्दु धर्मसँग जोडिएको पनि स्पष्ट हुन्छ । धर्मसँग जोडिदिएपछि त्यसले महिलामाथि त्रास पैदा गर्ने नै भयो र महिलाहरू यो विभेदकारी प्रपञ्चलाई अनुसरण गर्न बाध्य हुने नै भए ।

फेरि सबै हिन्दु धर्मावलम्बीले तीज र स्वस्थानी मनाएको पनि पाइँदैन । अर्को कुरा, सम्भ्रान्त वर्गमा भन्दा काठमाडौं उपत्यकाको काँठ क्षेत्र आसपासको निम्न–मध्यमवर्गीय समाजमा यी दुवै पर्वको प्रभाव बढी देखिन्छ । अनि केही ठाउँलाई अपवादका रूपमा लिने हो भने मध्यनेपालबाट जतिजति पूर्व वा पश्चिम गयो, त्यति नै यी दुवै पर्वको प्रभाव कम हुँदै गएको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने, यी दुवै प्रचलन हिन्दु धर्मद्वारा प्रतिपादित नभई धर्मसँग जोडेर नारीलाई कज्याउन नेपालकै आन्तरिक पितृसत्ताले गरेका विशुद्ध उत्पादन हुन् ।

त्यसो त पूर्व वैदिककाल (इपू १४००–१०००) मा महिलाको रजस्वलालाई लिएर कुनै निषेध वा वर्जितीकरण गरिएको पाइँदैन । उत्तर वैदिककाल (इपू १०००–६००) मा जब उपनिषद्हरू लेखिए, बिस्तारै महिलालाई तुच्छ करार गर्ने परम्परा पनि सुरु भयो । त्यसयता ठाउँ र सम्प्रदायपिच्छे हिन्दु धर्मावलम्बीहरूबीच पनि फरकफरक स्वरूपका स्त्रीद्वेषी र लैंगिक रूपमा विभेदकारी प्रचलनहरू संस्कारका रूपमा सृजिने र लाद्ने काम हुँदै आयो । तीज र स्वस्थानी यसैका स्थानीय उदाहरणहरू मात्रै हुन् ।

भारतीय साहित्यकार महादेवी वर्मा भन्छिन्, ‘सरकार त लिखित कानुनका आधारमा चल्छ, तर समाज भने अलिखित परम्पराद्वारा नियन्त्रित छ ।’ संस्कारका नाममा महिलामाथि नियन्त्रण गर्न र शासन लाद्नकै लागि पितृसत्ताले तीजजस्ता परम्पराहरू सृजना गर्दै आएको छ । सँगसँगै यस्ता कुरीतिहरूप्रति नतमस्तक भएर सहर्ष स्वीकार गर्ने महिलाहरूको जमात पनि डरलाग्दो छ । उनीहरू लामो अभ्यासद्वारा पितृसत्ताले सुषुप्त रूपमा लादेको ‘हेजेमोनी’ अर्थात् सांस्कृतिक आधिपत्यबाट आज पनि मुक्त हुन सकेका छैनन् ।

धर्म र संस्कारका नीतिनियम, दायरा र कायदा–कानुनबाट सञ्चालित हजुरआमा पुस्तादेखि नातिनी पुस्तासम्म संस्थागत रूपमा हस्तान्तरण भएको परम्परागत दासताको अमिट छापबाट विकट ग्रामीण भेगका अशिक्षित महिलाहरू मुक्त हुन नसक्नुलाई चेतनाको अभाव पनि मान्न सकिएला । तर, सहरवरपर रहेका र तुलनात्मक रूपमा शिक्षित तथा आधुनिक भनिने महिलाहरू यस खाले स्त्रीद्वेषी पितृसत्तात्मक षड्यन्त्रबाट मुक्त हुन नसक्नु एकदमै दुःखद विषय हो । यसले मानिसको चेतनाको रूपान्तरणमा कुनै भूमिका नखेल्ने, हामीले झेलिरहेको शिक्षा प्रणालीमाथि नै सन्देह पैदा गरेको छ । साथसाथै निरन्तर पुरातन मूल्यमान्यताहरूको संरक्षण गर्दै फगत महिलाहरूलाई दासको दर्जामा राखिरहन चाहने राज्यसत्ताको चरित्रमाथि पनि निर्मम प्रश्न तेर्स्याएको छ ।

२१ औं शताब्दीसम्म आइपुग्दा पनि हामीलाई दासत्वको बोध नहुनु, अस्तित्व टकरावको महसुस नहुनु, परम्परा र दासतामा एवम् भक्ति र अपमानमा भिन्नता गर्न नसक्नु, दासतामै एक प्रकारको आनन्दानुभूति गरेर मदमस्त भइरहनु वास्तवमै ठूलो विडम्बना हो । यस्तो दास मनोवृत्ति नै समग्र महिला मुक्तिको मार्गमा अवरोधको पर्खाल बनेर उभिएको छ । पढेलेखेका र शिक्षित भनिने महिलाहरू, जसले महिला मुक्ति आन्दोलनको नेतृत्व गर्नुपर्थ्यो, तिनै संस्कृति र परम्पराका नाममा रूढि र अन्धभक्तिमा लीन भएकै कारण महिला मुक्तिको यात्रा दिशाहीन भएर कतै भूलभुलैयामा अलमलिइरहेको छ ।

परम्परा र महिला मुक्तिको सवाल

नारीवादी विचारक तथा अभियन्ता कमला भासिनले एउटा प्रसंगमा कम्तीमा सिन्दूर, पोते र चुरा लगाएर महिला अधिकारको लडाइँ नलड्न समस्त महिलालाई आह्वान गरेकी छन् । यसको तात्पर्य विवाहित महिलाहरूले अधिकारको कुरा नगरून् भन्ने होइन कि तिनले चुरा, पोते र शृंगारसँग जोडिएको परम्परागत दासताको जन्जिर चुँडाल्न सकून् भन्ने हो । परम्परामा जेलिएर अधिकारको उचित लडाइँ लडिँदैन भन्ने उनको मत हो ।

‘फेमिनिजम एन्ड थ्यौरी’ मा क्रिस विडन भन्छिन्, ‘हाम्रो नारित्व र यौनिकतालाई कसरी परिभाषित गरिएको छ भन्ने कुरालाई अब हामीले पुनर्व्याख्या गर्नुपर्छ ।’ महिनावारीजस्तो प्राकृतिक प्रक्रियालाई पापको भारीका रूपमा सुदृढीकरण गर्न लगाउने स्वस्थानी र ऋषिपञ्चमीको भाष्यलाई बुझ्न अब अबेर गरिरहनु हुँदैन । धर्म, परम्परा र संस्कृतिका नाममा पुरुषकै लागि भनेर निराहार व्रत बसी पुरुषकै खुट्टा पखालेको जल पान गर्न सिकाउने यस्ता विभेदकारी पर्वहरू सदैव महिला अस्तित्वको बाटामा काँडेतार बनिरहेका छन् । यसको भ्रमबाट महिलाहरू छिटोभन्दा छिटो मुक्त हुनु आवश्यक छ ।

दास मानसिकता अँगालेर अस्तित्वको लडाइँ लडिँदैन । महिला आन्दोलनलाई अग्रगमनतिर डोर्‍याउन र स्वतन्त्रता तथा समानता प्राप्तिको यात्रा तय गर्न दास मानसिकताबाट मुक्त हुँदै रूढि, अत्याचारी र विभेदकारी परम्पराहरूविरुद्ध विद्रोह गर्नु आजको अनिवार्य सर्त हो । विभेदकारी संस्कृति र परम्पराको अवलम्बन दासताको मौन स्वीकारोक्ति नै हो । आखिर कहिलेसम्म जकडिइरहने हामी यो संस्काररूपी दासताको साङ्लोमा ?

प्रकाशित : भाद्र १६, २०७८ २१:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×