कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जर्नलको बाढीसँगको अवसर

अधिकांश नेपाली जर्नलहरूले नवीन ज्ञान सम्प्रेषणमार्फत समाजमा परेका उल्लेख्य प्रभावहरूको चित्र नसमेट्ने मात्रै होइन, अन्तर्राष्ट्रिय गुणस्तरका मानकहरूमा समेत गतिलो स्थान बनाउन सकेका छैनन् ।

सन् २०१३ को मध्यतिर म पीएचडीको बिट मार्ने तरखरमा थिएँ । अमेरिकाबाट काठमाडौं आएका बेला चेक गणतन्त्रबाट पीएचडी सकेर नेपाल फिरेका प्रकाश पौडेलसँग प्रत्यक्ष भेट भयो । जैविक विविधता संरक्षणको विधामा नेपालबाट जर्नल निकाल्ने हाम्रो पूर्वयोजनालाई मूर्तरूप दिने सहमति बन्यो । र, जन्मियो नयाँ जर्नल— ‘कन्जरभेसन साइन्स’ । प्राविधिक तयारीपछि सार्वजनिक रूपमा लेख मागियो । समकक्षी समीक्षा (पियर रिभ्यु) बाट प्रकाशनयोग्य सिफारिस भएका दस लेख समेटेर जर्नलको पहिलो अंक सन् २०१३ को अन्त्यमा निस्कियो ।

जर्नलको बाढीसँगको अवसर

नयाँ वैज्ञानिक जर्नलको औचित्यबारे सम्पादकीयमा हामीले तीन बुँदा लेखेका थियौं । जर्नल लेख पढ्न पाठकबाट शुल्क नलिने खुला पहुँच (ओपन एक्सेस) को मोडलमा प्रकाशित हुनेछ । ठूला अन्तर्राष्ट्रिय जर्नलले जसरी प्राप्त लेखलाई तत्कालै अस्वीकृत नगरी गुणस्तर सुधारका लागि चरणबद्ध रूपमा सुझावहरू दिँदै प्रकाशनयोग्य बनाई छापिनेछ । र, संरक्षण विधामा बहुआयामिक अनुसन्धानलाई जर्नलले प्राथमिकतामा राख्नेछ । जर्नल प्रकाशन गर्न सकेकामा हामी मक्ख थियौं । तर पाँचौं वार्षिकोत्सव मनाउन नपाई उक्त जर्नल सन् २०१७ यता कोमामा गएको छ ।

नेपालमा जर्नलको बाढी

आफू प्रत्यक्ष संलग्न भएको ‘कन्जरभेसन साइन्स’ औसत जर्नल थियो । त्यसैले बन्द हुँदा म खासै दुःखी छैन, जति दुःखी म आफू असंलग्न ‘हिमालयन जर्नल अफ साइन्सेस’ बन्द हुँदा भएको छु । किनभने ‘हिमालयन जर्नल अफ साइन्सेस’ मा नेपालको विज्ञान क्षेत्रलाई उकास्न सक्ने केही तत्त्व देखिन्थे । विधागत आयतन, लेखको गुणस्तर, साजसज्जा, सम्पादकीय टिमको लगन र सम्पादकीय नीतिको कसीमा उक्त जर्नल ‘गुणस्तरीय’ भनिन लायक थियो । तर सुरुआती सम्भावना राम्रो भए पनि उक्त जर्नलले पनि एक दशकको आयु देखेन । सन् २००३ मा सुरु गरिएको उक्त जर्नल २०११ यता छापिएको छैन ।

‘कन्जरभेसन साइन्स’ र ‘हिमालयन जर्नल अफ साइन्सेस’ जस्ता नयाँ जर्नलहरू मात्रै होइन, सन् १९७८ देखि नेपाल ज्योग्राफिक सोसाइटीले प्रकाशित गर्दै आएको पुरानो जर्नल ‘हिमालयन रिभ्यु’ पनि यतिखेर बन्द छ । सन् १९८७ देखि नियमित रूपमा प्रकाशित हुँदै आएको अर्धवार्षिक जर्नल ‘वनको जानकारी’ पछिल्ला वर्षहरूमा वर्षको एक चोटि मात्रै निस्केको देखिन्छ । नास्टबाट प्रकाशित ‘नेपाल जर्नल अफ साइन्स एन्ड टेक्नोलोजी’ को नयाँ अंक चार वर्षको अन्तरालमा सन् २०२० मा आयो । यसले नेपालमा प्राज्ञिक जर्नल प्रकाशनको ‘सकस’ देखाउँछ । नेपालमा जर्नल प्रकाशनको अप्ठ्यारोका बारेमा विगत २६ वर्षदेखि निरन्तर प्रकाशित जर्नल ‘स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिनास)’ का सम्पादक प्रत्यूष वन्तले अन्तर्वार्ता र लेखहरूमा प्रशस्त कहेका छन् ।

विविध चुनौतीले पुराना जर्नलहरू धमाधम बन्द हुँदा पनि जर्नल प्रकाशनको नयाँ उभार रोकिएको छैन । नेपालबाट प्रकाशित हुने जर्नलहरूको अनलाइन डेटाबेस नेप्जोल भनिने नेपाल जर्नल्स अनलाइनमा हालसम्म २३८ जर्नलहरू सूचीकृत छन् । गत नोभेम्बरयता मात्रै त्यस सूचीमा दुई नयाँ जर्नलहरू चढेका छन् । मर्स्याङ्दी बहुमुखी क्याम्पसको ‘मर्स्याङ्दी जर्नल’ र त्रिवि अंग्रेजी शिक्षा विभागको ‘स्टडिज इन ईएलटी एन्ड एप्लाइड लिंग्विस्टिक्स’ ।

नेप्जोलमा नेपालका सबै प्राज्ञिक तथा वैज्ञानिक जर्नलहरू समावेश छैनन् । जस्तो— मार्टिन चौतारीको ‘सिनास’ र पुरातत्त्व विभागले सन् १९६७ देखि निरन्तर प्रकाशन गर्दै आइरहेको सम्भवतः नेपालको पहिलो जर्नल ‘एन्सिन्ट नेपाल’ । तथापि नेप्जोल नेपाली जर्नलहरूको मोटामोटी अनुहार हो जसलाई नियाल्दा देखिन्छ, नेपालमा कुनै शैक्षिक संस्थान, प्राज्ञिक पेसागत संगठन, सरकारी थिंक ट्यांक र अनुसन्धान संस्था यस्तो छैन जसले ‘पियर रिभ्यु’ झुन्ड्याएर जर्नल प्रकाशन गरेको नहोस् । यहाँसम्म कि, नेपाली सेनाले प्रकाशित गर्ने ‘पियर रिभ्यु’ जर्नल ‘युनिटी नेपाल’ त्यहाँ भेटिन्छ । एउटै संस्थाका धेरै (जस्तो— वन विज्ञान संस्थानको ‘फरेस्ट्री : जर्नल अफ इस्टिच्युट अफ फरेस्ट्री’ र ‘जर्नल अफ फरेस्ट एन्ड नेचुरल रिसोर्स म्यानेजमेन्ट’) र एकै विधाका थुप्रै वैज्ञानिक जर्नलहरू (‘बुलेटिन अफ द डिपार्टमेन्ट अफ प्लान्ट रिसोर्सेस’, ‘बोटानिकल ओरिएन्ट्यालिस’, ‘प्लास्ट रिसोर्सेस’) त्यहाँ भेटिनुले नेपालमा जर्नल खेती राम्रै फस्टाएको देखिन्छ ।

गुणस्तर र नियतमाथि प्रश्न

जर्नलमा लेख प्रकाशन गर्नु अध्येताहरूका लागि इज्जत र प्रतिष्ठाको विषय मात्रै होइन, कर्तव्य पनि हो । नयाँ विचार, अनुसन्धानको नतिजा र वैज्ञानिक संवादले वैधता पाउनका लागि विश्वसनीय जर्नलमा प्रकाशित हुन आवश्यक छ । जर्नल प्रकाशन अनुसन्धान प्रणालीको अभिन्न अंग हो, जसले ज्ञान–विज्ञानको विकासमा उल्लेख्य भूमिका खेल्छ । जर्नलले अनुसन्धान र समाजबीचको पुलको काम गर्छ । त्यसैले वैज्ञानिक जगत्मा भनिन्छ— ‘पब्लिस अर पेरिस’ अर्थात् प्रकाशन या विघटन ।

वैज्ञानिक जगत्ले जर्नलमा लेख प्रकाशित गर्नेलाई औपचारिक डिग्री, रोजगारी, बढुवा र प्रतिष्ठाजस्ता उत्प्रेरणा दिने भएकाले वैज्ञानिक जीविका धान्न प्रकाशन अनिवार्यजस्तै भएको छ । यसले गर्दा विश्वभर जर्नलमा लेख प्रकाशन गर्ने क्रम र जर्नलको संख्या बढ्दो छ । तर देशभित्रका जर्नलमा प्रकाशित लेखहरूले यहाँ बन्ने सार्वजनिक नीतिहरूमा कति योगदान गरे ? देशभित्र उब्जिएका नयाँ विचार वा भएका अभिनव आविष्कारहरूले स्वदेशी जर्नलमा कति ठाउँ पाए ? त्यस्तो प्रभाव मूल्यांकन भेट्न मुस्किल छ ।

अधिकांश नेपाली जर्नलले नवीन ज्ञान सम्प्रेषणमार्फत समाजमा परेका उल्लेख्य प्रभावहरूको चित्र नसमेट्ने मात्रै होइन, अन्तर्राष्ट्रिय गुणस्तरका मानकहरूमा समेत गतिलो स्थान बनाउन सकेका छैनन् । उदाहरणका लागि, विश्वभरका जर्नलहरूको गुणस्तर नाप्ने एक सूचकांक, साइम्यागो जर्नल र्‍याङ्कमा नेपालका पाँच जर्नल मात्रै सूचीकृत छन् । र, ती पनि सबै गुणस्तरको चौथो चतुर्थक (फोर्थ क्वार्टाइल) मा पर्छन् । त्रिविका विभिन्न विभाग, संकाय र क्याम्पसहरूले निकाल्ने जर्नलहरू त्यहाँ हुने बढुवाका लागि आवश्यक लेख–रचनाको कोटा पूरा गर्ने अभिप्रायले प्रकाशित हुने गरेको आरोप लाग्ने गर्छ । त्यसैले नेपालमा जर्नल प्रकाशनको बाढी आए पनि प्रकाशित जर्नलहरूमध्ये एकाधबाहेक धेरैको गुणस्तर र नियतमाथि प्रश्न छ ।

सम्भवतः कमजोर गुणस्तर, सीमित पहुँच र नगण्य प्रभावका कारण नेपालमा बसेर अनुसन्धान गर्ने थुप्रै अनुसन्धानकर्ताहरूको रोजाइमा स्वदेशीभन्दा विदेशी जर्नलहरू पर्ने गरेका छन् ।

साइम्यागोका अनुसार, सन् २०२० मा नेपाली अध्येताहरूले २८७३ अनुसन्धानमूलक लेखहरू विदेशी जर्नलमा प्रकाशित गरे, जुन सन् २०१० को भन्दा लगभग चार गुणाले बढी हो । यसरी अन्तर्राष्ट्रिय जर्नलमा नेपालबाट प्रकाशित गरिने लेखको संख्या उल्लेख्य बढ्दा नेपालबाट प्रकाशित असल नियतका जर्नलहरू चाहिँ गुणस्तरीय लेख नपाई बन्द भइरहेका छन् ।

अकुत मुनाफाको उद्यम

वैज्ञानिक जर्नल प्रकाशन एउटा सकसपूर्ण र सीमित घेराको उद्यम भए पनि विश्वमै यो ठूलो मुनाफा कमाउने व्यवसायमध्ये पर्छ । सत्रौं शताब्दीतिर अध्येताहरूले वैज्ञानिक लेखका पाण्डुलिपि वरिष्ठ अध्येताकहाँ टिप्पणी गरिदिन पठाउँथे । मूल पाण्डुलिपि एवं

त्यसमाथिका हस्तलिखित टिप्पणी र संवादहरूलाई प्राज्ञिक संस्थाले छाप्थ्यो, जसलाई जर्नल भनिन्थ्यो । हस्तलिखित पाण्डुलिपिलाई छपाइ सामग्रीले विस्थापित गरेपछि जर्नल लेखिनेबाट छापिनेमा फेरियो । जर्नलको छापिने मोडल लामो समयसम्म चल्यो । तर पछिल्लो समय इन्टरनेटको विकास र पहुँचले जर्नललाई छापाखानाबाट निकालेर अनलाइनमा पुर्‍यायो । वर्तमानमा जर्नल प्रकाशनको मूलधार अनलाइन बनेको छ । अहिले धेरै जर्नल छापिँदैनन् र छापिनेहरूले पनि लेख सुरुमै अनलाइनमा राख्छन् ।

अनलाइनमा गएपछि जर्नल छपाइको मुख्य खर्चमा कटौती भयो जसले गर्दा प्रकाशकहरूले त्यसमा नाफा कमाउने अवसर देखे । किनभने जर्नल प्रकाशनको उद्यममा कच्चा पदार्थको संकलन, वस्तुको उत्पादनदेखि वस्तुको गुणस्तर परीक्षणसम्म सबैमा स्वयंसेवा हुन्छ तर बजारको ग्यारेन्टी हुन्छ । अर्थात्, अनुसन्धानको आर्थिक स्रोत सरकारी वा अन्य स्रोतबाट जुटाइन्छ, अनुसन्धानको नतिजास्वरूप जर्नल लेख अनुसन्धानकर्ताले स्वंयसेवी रूपमा उत्पादन गर्छ एवं त्यसको गुणस्तर र वैधताको मूल्यांकन समकक्षी समीक्षकले निःशुल्क गरिदिन्छ ।

तर यसरी उत्पादित वस्तु अर्थात् जर्नल लेख भने विश्वविद्यालय वा अनुसन्धान संस्थाहरूलाई ग्राहक बनाएर सजिलै बेच्न पाइन्छ । विकसित देशका विश्वविद्यालयहरूले वार्षिक रूपमा करोडौं डलर जर्नल प्रकाशकलाई तिरेका हुन्छन् ताकि आफ्ना विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताहरूले त्यस्ता लेखहरू पढ्न सकून् ।

त्यस कारण बिनालगानी अकुत नाफा कमाइने जर्नल प्रकाशनको यो मोडल (पे–वाल मोडल) लाई विकृत पुँजीवादको नमुना भनिन्छ । कतिपय प्रकाशकले ३६ प्रतिशतभन्दा बढी मुनाफा कमाएका छन् जुन ठूला प्रविधि कम्पनीहरू एप्पल, गुगल र अमेजनको भन्दा बढी हो । जस्तै— नेदरल्यान्डस्थित विश्वको सबैभन्दा ठूलो जर्नल प्रकाशक एल्सभियरले सन् २०१९ मा करिब २ बिलियन युरो आम्दानी गरेको थियो । त्यसैले यस्ता नाफामूलक प्रकाशकहरूका हातमा ज्ञान–विज्ञानलाई बन्धक हुन नदिन ओपन एक्सेस मोडलबाट जर्नल प्रकाशन गर्ने चलन बढ्दो छ । तर ओपन एक्सेस मोडलमा लेखकले ‘लेख प्रशोधन शुल्क’ बापत केही रकम जर्नललाई तिर्नुपर्छ, छापिएका लेखहरूचाहिँ निःशुल्क पढ्न पाइन्छ ।

अबको अवसर

नेपालका अधिकांश जर्नल प्रिन्ट र अनलाइनमा छन् । छापिने जर्नलहरूमा छपाइबापत ठूलै रकम खर्च भएको देखिन्छ जसलाई प्रकाशकले बेहोर्छ । एकाध जर्नलको मात्रै बिक्री गरिन्छ । त्यस कारण एकातिर गुणस्तरमा प्रश्न उठ्ने, अर्कातिर नेपालका अध्येताहरूले राम्रा लेख विदेशी जर्नलहरूमा पठाउने र छपाइका लागि ठूलो रकम खर्चिनुपर्ने नेपाली मोडलको जर्नल प्रकाशन अब फेरिन जरुरी छ ।

अहिले विदेशी नाफामूलक जर्नलहरूमा प्रकाशित लेख पढ्न पैसा तिर्नुपर्छ । नेपालका सबै शैक्षिक/अनुसन्धान संस्थानहरू वार्षिक दसौं लाख डलर तिरेर त्यस्ता जर्नलका ग्राहक बन्ने अवस्थामा पनि छैनन् । त्यसैले यहाँ बसेर अनुसन्धान गर्नेहरू पे–वाल भएका जर्नलहरूमा प्रकाशित लेखहरू पढ्नबाट वञ्चित भइरहेका छन् । त्यसको विकल्पका रूपमा ओपन एक्सेस जर्नलमा प्रकाशित गर्न त सकिन्छ तर त्यस्ता जर्नलहरूमा लेख छाप्न ‘लेख प्रशोधन शुल्क’ तिर्नुपर्छ ।

हालसम्म त्यो शुल्क हामीलाई, कम विकसित देशका भएकाले, मिनाहा गरिन्छ । तर सन् २०२६ पछि नेपालको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदै छ । र हाम्रो स्तरोन्नतिसँगै हाल मिनाहा हुने ‘लेख प्रशोधन शुल्क’ को सहुलियत गुम्नेछ । एकातिर ‘लेख प्रशोधन शुल्क’ नलाग्ने जर्नलमा लेख छपाउँदा त्यसलाई पढ्न शुल्क लाग्ने, अर्कातिर पढ्दा शुल्क नलाग्ने ओपन एक्सेसमा छपाउँदा ‘लेख प्रशोधन शुल्क’ तिर्नुपर्ने भएमा यहाँका अनुसन्धानकर्ताहरू मारमा पर्नेछन् ।

त्यसकारण विकासोन्मुख देशको स्तरोन्नतिसँगै अनुसन्धान क्षेत्रमा आइपर्ने यो चुनौती स्वदेशी जर्नललाई गुणस्तरीय, विश्वसनीय, पारदर्शी र मर्यादायुक्त बनाउने अवसर पनि हुन सक्छ ।

प्रकाशित : पुस १, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?