शुष्क शास्त्र र हरियो राजनीति- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शुष्क शास्त्र र हरियो राजनीति

रिहा हुनासाथ कान्तिपुरमा सभापति देउवासित लामो अन्तर्वार्ता प्रकाशित भयो । अन्तर्वार्तामा अन्य कुराबाहेक संविधानसभाका बारेमा पनि पार्टीको के कस्तो धारणा छ ? भनी सभापति देउवालाई प्रश्न सोधिएको थियो । सदाझैं शेरबहादुरजीको रमाइलो जवाफ थियो– के को संविधानसभा ? कहाँबाट ल्याउने संविधानसभा ? राजाले दिने होइनन् । के हो माग ? हिरासत बसेर निस्कनु भएका शेरबहादुरजीका निम्ति संविधानसभा राजाले दिने कुरा थियो, राजाको निगाहले दिने कुरा थियो । जनताको जन्मजात अधिकारको कुरा थिएन ।
प्रदीप गिरि

काठमाडौँ — नेपालका राजनीतिक दलहरु एकपछि अर्कोले आफ्ना महाधिवेशनहरु सम्पन्न गर्दैछन् । बुद्धिजीवीहरुले पार्टीको अधिवेशनमा कहीं कसैले पनि विचारधारा, नीति र कार्यक्रमलाई महत्व दिएन भनेर चिन्ता व्यक्त गर्दैछन् । प्राध्यापक कृष्ण खनाल एक सुपचिरित प्राज्ञ हुनुहुन्छ, राजनीतिशास्त्री हुनुहुन्छ । तर उहाँको परिचय त्यत्तिमा मात्र सीमित छैन ।

१५ वर्षअघि भएको दोस्रो जनआन्दोलनको दर्वियानमा उहाँ अग्रपंक्तिमा हुनुहुन्थ्यो । आन्दोलनका क्रममा जोखिम उठाएर ठाउँ–ठाउँमा सभालाई संबोधन गर्नु उहाँको दिनचर्या थियो । तिनताका उहाँका साथ नै यत्रतत्र सभाहरुलाई सँगै संबोधन गरेको मेरो सम्झनामा छ । त्यस्ता अनुभवी प्राज्ञले दलहरुमा विचारधाराको अभाव देख्दा चिन्ता व्यक्त गर्नु स्वाभाविक हो । (हेर्नुहोस् मंसिर १९, २०७८ को कान्तिपुर ) तर फेरि यो विषय कदाचित उहाँजस्ता मनिषीका निम्ति सारै खिन्नताको विषय भने होइन । एउटा कुरो सजिलै सम्झन सकिन्छ, २०६२/६३ को जनआन्दोलनमा समेत दलहरुले लक्ष्य र विचारधाराको क्षेत्रमा अगाडि बढेर बाटो देखाएका थिएनन् । आन्दोलन चर्किएपछि दलहरु घस्रिएर समर्थन दिन अवश्य आएका थिए । होइन भने, चाहे संविधानसभा होस् या गणतन्त्र या संघीय राज्य होस्, कुनै पनि मुद्दाप्रति नेपाली कांग्रेस र एमालेमा विशेष उत्साह थिएन ।

दोस्रो जनआन्दोलनको विकासका क्रममा मुख्यत: ३–४ वटा मुद्दा देखिए । पहिलो, संविधानसभाको निर्वाचनद्वारा नयाँ संविधान बनाउने । संविधान गणतन्त्रउन्मुख हुने र संघीय राज्यलाई राज्यप्रणालीको अभिन्न अंग बनाउने ।

दोस्रो, यिनीहरुकै माझमा धर्मनिरपेक्ष राज्यको एजेन्डा थपियो । खासमा संविधानको मस्यौदा लेखन र बहसको प्रक्रिया सर्वथा प्रश्नवाचक थियो । संविधानको मस्यौदालाई अनुमोदनका निम्ति आमजनतामा लैजाने, सिंगो संविधानसभामा धारापिच्छे छलफल हुने विषय यसै हरायो ।

संविधान लेखन, अनुमोदन र घोषणा यस ऐतिहासिक दस्तावेजको अन्तरवस्तुभन्दा पनि सत्ताको बाँडफाँटको विषय हुनपुगेको थियो । कांग्रेसका सभापति र तत्कालीन प्रधानमन्त्री सुशील कोइराला वार्धक्य र बिमारीका माझ शीघ्रातिशीघ्र संविधान घोषणा गर्न चाहनुहुन्थ्यो । संविधानको मर्मप्रति उहाँमा बडै अभिरुची थिएन । एमाले संसदीय दलका सर्वशक्तिमान नेता केपी ओलीको रवैया झन् अचम्मको थियो । दोस्रो संविधानसभामा उपस्थित भएका दिनदेखि उहाँले प्रस्तावित मस्यौदाका उपर मजाक उडाइरहनुहुन्थ्यो । शीघ्रातिशीघ्र प्रधानमन्त्री बन्ने कुरामा उहाँको अर्जुनदृष्टि केन्द्रित थियो । उहाँको सहयोगविना ‘नेपालको संविधान’ अनुमोदन सम्भव थिएन । प्रधानमन्त्री कोइरालाले ओलीलाई प्रधानमन्त्री छाडिदिने वचन दिएपछि मात्र संविधान घोषणा सम्भव भयो ।

यस्तो हास्यास्पद र विरोधाभासले भरिएको परिस्थितिमा संविधान घोषणा भएको थियो । परिणाम स्पष्ट थियो राजधानीमा सरकारले संविधान घोषणाको दीपावली गर्‍यो तर सिंगो मधेस र कतिपय पहाडी क्षेत्रमा संविधानको स्वरुप र अन्तर्वस्तुको घोर विरोध भयो । मधेसले यस परिघटनालाई ‘कालो दिवस’को रुपमा लियो । तर अहिले यी सबै कुरा पनि सम्झिरहनु परेन । संविधान घोषणाको इतिहास र यसको अन्तर्वस्तुको अध्ययन धेरै समयसम्म भइरहने छ ।

मुख्य कुरो प्राध्यापक कृष्ण खनाललगायतका अभिजनहरुको सामयिक निराशाको कुरो भयो । उहाँहरुले दलहरुबीच बद्धमूल रहेको विचारविहीनता र सत्तामुखी सोचमा बारम्बार विलाप गर्नु भएको छ । तर यहाँ एउटा कुरा उहाँहरुले हेक्का राख्नै पर्छ । २०६२/६३ को जनआन्दोलनको ठीक अघि कांग्रेस र एमाले कसैले पनि पार्टीका रुपमा आन्दोलनको संवैधानिक लक्ष्यबारे सोचेका थिएनन् । हो, राजा ज्ञानेन्द्रको मूर्खतापूर्ण, निरंकुश काम कार्यवाहीबाट दलहरु त्रस्त थिए । श्री ५ वीरेन्द्रको बर्बर एवम् रहस्यमय हत्याकाण्डले आमजनता आक्रोशित थिए । दुवै प्रमुख दल गणतन्त्रको मागप्रति सर्वथा उदासीन थिए । उदासीन मात्र थिएनन्, कदाचित नकारात्मकसमेत थिए । माओवादीले लामो समयदेखिन् सशस्त्र संघर्ष गर्दै आएको थियो । तर, ऊ त्यो बाटो छोड्न खोज्दै थियो । माओवादीका निम्ति त्यो बाटो छोड्नैपर्ने वाध्यता खडा भइसकेको थियो । त्यसोहुँदा उसलाई सम्मानजनक अवतरण चाहिएको थियो । माओवादीले कुनै संवैधानिक प्रणाली वा बुर्जुवा गणतन्त्रको लक्ष्य राखेर जनयुद्ध थालेका थिएनन् । तर अब उनीहरुको विकल्प विलकुलै साँघुरिएको थियो । जे होस् मुलुकमा गणतान्त्रिक मनस्थिति झन् बलियो हुँदै गएको थियो । कांग्रेस र एमालेभित्र गणतन्त्रका पक्षमा बोल्ने साथीहरुको संख्या थपिँदै थियो । तर उहाँहरुको आवाज सुनिएको थिएन । पार्टीका पदाधिकारी र आधिकारिक नेताहरु राजा ज्ञानेन्द्रसँग सम्झतौका अनेक संभावनाबारे सोच्दै थिए । कांग्रेस र एमाले माओवादीप्रति अझै सशंक थिए ।

कांग्रेसका हकमा यस पार्टीभित्र गणतन्त्रका पक्षमा विचार व्यक्त गर्ने पार्टीका तत्कालीन प्रवक्ता नरहरि आचार्य सभापति गिरिजाप्रसाद कोइरालाबाट तिरस्कृत हुनुभएको थियो । लोकप्रिय विद्यार्थी नेता गगन थापा आफ्ना यस्ता विचारका खातिर नेतृत्वको कोपभाजन भएका थिए । कांग्रेस त्यस समयमा विभाजित अवस्थामा रहेको थियो । कांग्रेस प्रजातान्त्रिकले पहिलोपटक अन्य कुनै पार्टीभन्दा एक कदम अगाडि बढी एउटा पार्टीका रुपमा संविधानसभा, गणतन्त्र र विशेष गरेर संघीय गणतन्त्रको पक्षमा प्रस्ताव पारित गरेको थियो । कांग्रेस प्रजातान्त्रिकको शीर्ष नेतृत्वमा भने संस्थापन पक्षमा जस्तै यस्ता अग्रगामी विषयमा कुनै उत्साह थिएन ।

कांग्रेस प्रजातान्त्रिकका सभापति देउवा तिनताका हिरासतमा हुनुहुन्थ्यो । संघीय राज्य, गणतन्त्र र संविधानसभाका विषयमा कुराकानी गर्न हिरासतमा उहाँलाई भेट्न जाँदा उहाँले व्यक्त गर्नु भएको विचार साथीहरुलाई सम्झना होला । हिरासतमा शेरबहादुरजीसँगै नीजिस्तरमा भएको कुरा यहाँ उल्लेख गर्नु उचित हुने छैन । केही दिनमा शेरबहादुरजी हिरासतबाट रिहा हुनुभयो । रिहा हुनासाथ कान्तिपुरमा सभापति देउवासित लामो अन्तर्वार्ता प्रकाशित भयो । अन्तर्वार्तामा अन्य कुराबाहेक संविधानसभाका बारेमा पनि पार्टीको के कस्तो धारणा छ ? भनी सभापति देउवालाई प्रश्न सोधिएको थियो । सदाझैं शेरबहादुरजीको रमाइलो जवाफ थियो– के को संविधानसभा ? कहाँबाट ल्याउने संविधानसभा ? राजाले दिने होइनन् । के हो माग ? हिरासत बसेर निस्कनु भएका शेरबहादुरजीका निम्ति संविधानसभा राजाले दिने कुरा थियो, राजाको निगाहले दिने कुरा थियो । जनताको जन्मजात अधिकारको कुरा थिएन । राज्यसंरचना, राजनीतिक प्रणाली र परिपाटी छनोट गर्न पाउने आमजनताको अधिकार उहाँका निम्ति त्यस परिस्थितिमा केवल एउटा स्वैरकल्पनामात्र थियो । जिज्ञासु पाठकले आज पनि कान्तिपुरको पुरानो फाइल पल्टाएर उक्त अन्तर्वार्ता पढ्न सक्छन् ।

यता जनता सडकमा उत्रिने मनस्थितिमा पुगिसकेका थिए । जनतामा द्विविधा थिएन । संविधानसभा र गणतन्त्र राजाले निगाह गरेर दिने कुरा थिएन । यो त जनताको प्राकृतिक अधिकारको दावामात्र थियो । आन्दोलन चर्कंदै गएपछि भारत सरकारका दूतका रुपमा दल र राजाबीच सझौता गराउन महाराज कर्ण सिंह आएका थिए । परराष्ट्र सचिव श्याम शरण उनका साथ थिए । वैशाखको पहिलो साता सम्झौताको लिखतलाई लिएर ठूलो अन्योल देखियो । राजा ज्ञानेन्द्रले वैशाख ८ गते एउटा घोषणा गरे । प्रमुख दलका झण्डै सबै पदाधिकारीले खुट्टा कमाएका थिए । राल चुहाएका थिए । त्यतिबेला तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले अपेक्षाकृत दृढता देखाउनु भएको थियो । यस प्रसंंगलाई नेपालले आफ्ना अन्तर्वार्ताहरुमा बिस्तारमा बोली या लेखिसक्नु भएको छ । अहिलेलाई त्यता नजाऊँ ।

अन्तत: कति मुस्किलले वैशाख ११ गते आयो, त्यो कुनै दिन लेखिएला । भूमिगत वा निर्वासनमा रहेको माओवादीको नेतृत्वले गणतन्त्रका विषयमा त्यस घडीमा सम्झौताविहीन अडान राखेको थियो । खास गरेर वैशाख ९ र १० गते साँझमा डा. बाबुराम भट्टराईले दिल्लीबाट हामीहरुसँग बारम्बार सम्पर्क गर्नुभएको थियो । उपरोक्त तथ्यहरु अहिले अभिलेखमा आएका छैनन् । तर प्राध्यापक खनालजस्तो मान्छे यी सबै घटनाबाट अन्जान पनि हुनुहुन्न । न त अन्य विद्वद्जन पनि छन् । अनि आजको निराशा किन ?

सत्तामुखी राजनीतिमा आकंठ डुबेका दल र नेताहरु यथास्थितिवादी राजनीतिभन्दा अगाडि हत्तपत्त कहिल्यै सोच्दैनन् । यसैकारण आज माओवादीहरु पराभूत र पराजित मानसिकताबाट ग्रस्त छन् । होइन भने एउटा कुरा भन्नै पर्छ, ऐतिहासिक निर्णयको त्यस घडीमा आज जनताको तीव्र र व्यापक असन्तोषलाई प्रतिनिधित्व गर्ने श्रेय त्यस समय भूमिगत अवस्थामा रहेको माओवादीलाई नै जान्छ ।

सामयिक राजनीतिशास्त्रीले यसबाट के शिक्षा लिनुपर्ने हो ? हाम्रो राजनीतिशास्त्रको एउटा समस्या छ । राजनीतिशास्त्रका सबै ज्ञान पुस्तकबाट हामीले ग्रहण गर्दछौँ । यी पुस्तक पनि मुख्यत: आफ्नो मुलुकभन्दा बाहिर लेखिएका छन्, बहिरमा पनि चीन र भारतभन्दा बेलायत र अमेरिकाका पुस्तकले हाम्रा राजनीतिशास्त्रलाई सूचित, प्राञ्जल र संस्कृत बनाएको छ । यस्तो अवस्थामा मुलुकका अगाडि आफ्नै जीवनकालमा आफ्नै अगाडि घटित भइरहेका, स्वयम् आफ्नै सहभागिता र प्रयासले भएका परिघटनाबारे प्राध्यापक खनालजस्ता वरिष्ठ विद्वानले आफ्नै निष्कर्ष निकाल्दा एक सर्वथा नवीन र मौलिक राजनीतिकशास्त्रको निर्माण हुनेछ ।

नेपालमा हाम्रै जीवनकालमा दुई महान् जनआन्दोलन सम्पन्न भए । दुवै जनआन्दोलन कुनै म्यक्स वेबर वा माक्र्स वा फुकुयामाका यावत् ठेलीबाट उत्प्रेरित छैनन् । भनिन्छ– शास्त्रको रंग खैरो हुन्छ, जीवनको रंग हरियो हुन्छ । यी दुवै जनआन्दोलन नेपालीले भोगेको यथार्थबाट उत्पन्न भएका उपलब्धी थिए ।

नेपालका राजनीतिशास्त्रीले चाहेमा जनआन्दोलन एक र दुईलाई आधार बनाएर आफ्नो मुलुकको अनुभवलाई केन्द्रीयता प्रदान गरेर शास्त्र लेख्न सक्छन् । तर त्यो भएको छैन । राजनीतिकर्मीले पनि यस विषयलाई आफ्नो प्रतिपाद्य बनाउन सकेनौँ । होइन भने हाम्रो राष्ट्रिय इतिहासको शिक्षा स्पष्ट छ । विगत ४० वर्षमा हामीले २०३६ सालको छात्र विद्रोहदेखि आजसम्म अनेकौँ आन्दोलन देख्यौँ । ती सबै आन्दोलन स्वत:स्फूस्र्त थिए । २०३६ सालमा त आजको जस्तो सामाजिक सञ्जाल पनि थिएन । ठीक त्यस्तै स्थापित र सत्तारुढ राजनीतिक पार्टीले पनि आफूभित्रबाट नयाँ व्यवस्था र नयाँ आन्दोलनको सिर्जना गर्न सकेका छैनन् । राजनीतिक पार्टीभित्र केही सजग व्यक्तिले विद्रोहीका रुपमा नेतृत्वसँग मतभेद राखेर परिवर्तनको सूत्रधार भएका छन् ।

भारतमा तिनताका इन्दिरा गान्धीको बडो चकचकी थियो । उनकै पार्टीका एकजना चन्द्रशेखरले मात्र उनलाई चुनौति दिन सकेका थिए । भारतीय राष्ट्रिय कांग्रेसभित्र आन्तरिक निर्वाचन हुँदा उनले इन्दिरा गान्धीको बन्दसूचीको अवज्ञा गरे । उनी एक्लै चुनाव उठे । आफू बन्दसूचीमा नपरे पनि विद्रोह गरेर व्यक्तिगतरुपमा पार्टीको चुनाव उठे । उनले जिते पनि । पछि जयप्रकाश नारायणको आन्दोलनका पक्षधर भए । उनलाई मुलुकले पुरस्कृत गर्‍यो । उनी जनता पार्टीका अध्यक्ष भए र प्रधानमन्त्री पनि भए । नरहरि आचार्य र गगन थापाले गणतन्त्रको कुरा गर्दा पार्टीले उनीहरुमाथि कार्यवाही गरेको थियो । कांग्रेस प्रजातान्त्रिकभित्र संविधानसभा र संघीयराज्यको कुरा गर्दा विमलेन्द्र निधि, मिनेन्द्र रिजाल लगायतका स्वयम् यो पंक्तिकारसमेतका साथीहरु विलकुलै अल्पमतमा थियौँ । आखिर पछि पार्टी भित्रको अल्पमत नै मूलधार भयो ।

निष्कर्ष स्पष्ट छ । दलभित्र पनि पदमा रहेका व्यक्तिले सामान्यत: नयाँ एजेण्डा ल्याउँदैनन् । सत्तामा बसेका व्यक्ति कसैले पनि नयाँ एजेण्डा ल्याउँदैनन् । नेतृत्वले नयाँ कार्यभार अगाडि सार्दैन । बरु…… पार्टीको नेतृत्वसँग असन्तोष व्यक्त गरेर राय बझाएर पार्टीभित्रै रहेर विद्रोह गर्नेहरुका वरिपरि नयाँ र क्रान्तिकारी चिन्तन विकसित हुन्छ । स्वयम् प्रचण्ड र बाबुरामले आफ्ना समयमा मोहनविक्रम सिंह र निर्मल लामाको नेतृत्वसँग विद्रोह गरेका थिए । मालेले पुष्पलालको नेतृत्वसँग विद्रोह गरेको थियो । पार्टी सिद्धियो, पार्टी नेतृत्वले केही गरेन भनेर पार्टी भित्रको प्रतिपक्षले भनिरहनु पर्छ । तर राजनीतिक विज्ञानले सूक्ष्म र व्यापक अन्तर्दृष्टिको प्रयोग गर्नु पर्छ । शास्त्र शुष्क हुन्छ तर राजनीति सधैँ हरियो हुन्छ ।

प्रकाशित : मंसिर २४, २०७८ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्

‘अथातो ब्रह्म जिज्ञासा’

एक्काइसौं शताब्दीको कुनै पनि समाजवादले नागरिक स्वतन्त्रतालाई नवनिर्माणको अनिवार्य सर्तका रूपमा राख्नुपर्नेछ । तर अर्को कुरा हेक्का राख्नै पर्छ– यो अनिवार्य सर्त हो, पर्याप्त सर्त होइन ।
प्रदीप गिरि

ठ्याक्कै ५२ वर्ष भएछ । जुँगाको रेखी पनि नबसेका एक किशोरले मलाई प्रश्न गरेका थिए– त्यसो भए समाजवाद भनेको के हो त ? ती किशोरको नामसमेत किशोर नै थियो । उनले आफैंले ‘झुत्रे’ उपनाम रोजेका थिए । अब उनी झुत्रे रहेनन् । ‘नेपाल’ को उपाधि छ । झुत्रे हुँदा उनले राखेको प्रश्न भने नेपाल भैसक्दा पनि अनुत्तरित छ । हामी दुवै त्यस दिन भद्रगोल जेलमा सँगै टहलिँदै थियौं ।

विश्व अहिले कोरोनाको मारमा छ । विश्व पुँजीवादको प्रधान सेनापति रहेको संयुक्त राज्य अमेरिकामा बाइडन राष्ट्रपति पदमा निर्वाचित भएका छन् । आफूलाई समाजवादी भन्नेहरूले पनि उनलाई समर्थन गरे । तर समाजवाद के हो भन्ने कुरो अहिले पनि जसको तस छ । समाजवादको परिभाषाको हकमा, न्वारनका दिनदेखि यो संज्ञा विवादको विषय भएको छ । विगत शताब्दीहरूमा यस विषयमा अनगिन्ती ग्रन्थहरू लेखिए । प्रत्येक ग्रन्थले झन् अन्योल थप्यो । ग्रन्थहरूको ओइरो लागेर यस्तै अन्योल भएका बेला एक जना आत्मवान् पण्डितले ढुक्क भनेका थिए– ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्... ।’ यसै शैलीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको पूर्वाधारका रूपमा ‘आत्मवत् सर्वभूतेषु यः पश्यति स पण्डितः’ को भावना र दृष्टिको प्रतिपादन गर्नुभएको छ । उहाँले बिलकुलै ठीक गर्नुभएको छ । कात्तिक २१ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘समाजवादको सान्दर्भिक मीमांसा’ शीर्षक आलेखमा उहाँले थप लेख्नुभएको छ, ‘आर्थिक नीतिका हिसाबले समृद्धि दरको पछि लाग्नुभन्दा रोजगारीप्रधान अर्थनीति अँगाली आफ्नो श्रमशक्ति आफ्नै मुलुकमा फर्काउने, हाम्रा युवावर्ग बिदेसिन नपर्ने, आफ्ना अपार सम्भावनाका आधारमा यहीँ काम–माम पाउन सक्ने नीति र कार्यक्रम अघि बढाउनुपर्‍यो । त्यसका लागि गाउँमुखी अर्थनीति, जनमुखी र श्रमको सम्मान गर्ने संस्कृति समाजवादका लागि आवश्यक छ ।’

पौडेलजीको लेखमा योबाहेक अरू कुरा पनि छन् । यस्तै विषयमा विगत महिनामा पौडेलजीका अरू लेख पनि आएका छन् । ती सबै लेखले समाजवादको विमर्शलाई गहिराइ प्रदान गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको लेख छापिएकै दिन कात्तिक २१ गतेको कान्तिपुर दैनिकमा नवचिन्तक उज्ज्वल प्रसाईले मनज्ञ सन्दर्भ र प्रसंग गुथेर कतिपय प्रस्ताव राख्नुभएको छ । कोरोना प्रसंगको बाध्यता सम्झेर उहाँ लेख्नुहुन्छ, ‘जागिर नखोसिए पनि विगत सात महिनादेखि तलब नआएका निजी विद्यालय र कलेजका शिक्षकले खुइय्य गर्दै भन्न थाले, ‘अलिकति खेती बचाएर राखेको भए यस्तो बिजोग त बेहोर्नुपर्ने थिएन !’ निर्वाह धानिदिएको खेतीलाई पछौटेपनको द्योतक बनाउनुभन्दा स्वावलम्बन, उद्यम र जीवनको आलम्ब बनाउने कोसिस हुनुपर्थ्यो । खेती मात्रमा केन्द्रित जीवन कष्टकर छ भन्ने अनुभवलाई खेतीबाट भाग्ने र कतारको श्रमबजारमा सस्ता श्रमिक हुन पुग्ने उपक्रममा टुंग्याउनु हुने थिएन । भन्न सजिलो, काम गरेर परिणाम देखाउन अप्ठ्यारो छ । भएका प्रयत्नबारे पढेर, बुझेर हौसला प्राप्त गर्न सकिन्छ, आफ्नै सृजनात्मक गोरेटो खन्न सकिन्छ ।’

लेखकद्वयले एकअर्काका कृति अवश्य पढ्नुभयो होला । दुवै लेख एक हदसम्म एकअर्काका पूरक छन् । यताका महिनामा काठमाडौंका अभिजनका माझ समाजवाद बुद्धिविलासको गहन विषय भएको छ । केही दिनअघि कान्तिपुरमा पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारीले ‘पुँजीवाद कि शास्त्रीय समाजवाद’ शीर्षकमा एक्काइसौं शताब्दीको समाजवाद कस्तो हुन्छ भनी उत्कट जिज्ञासा व्यक्त गर्नुभएको थियो । नेपालको संविधान, २०७२ ले समाजवादलाई आफ्नो लक्ष्य राखेको छ । कस्तो बहस, विवाद र विडम्बनाका बीच त्यो प्रस्तावना लेखिएको थियो, त्यसलाई अहिले छाडिदिऔं । तर त्यसले एउटा राम्रो काम गर्‍यो । चिन्तनको इतिहासमा पाखण्डले उत्प्रेरकको काम गर्छ भन्ने कुरो एकपटक फेरि सिद्ध भयो ।

५२ वर्षअघिको किशोर झुत्रेको प्रश्नले नवजीवन प्राप्त गरेको छ । समाजवादी चिन्तनको इतिहासमा कार्ल मार्क्सको उदय एक गुणात्मक फड्को थियो । लेनिनले त्यसबाट प्रेरणा लिए । अक्टोबर १९१७ मा रुसमा सोभियत क्रान्ति फलित भयो, विश्व हल्लियो । लगभग ७२ वर्षको जटिल प्रयोगपछि १९८९ मा सोभियत युनियन विघटित भयो । यस विघटनको ऐतिहासिक मूल्यांकन अझै हुन सकेको छैन । विघटनको भोलिपल्ट नै विश्व पुँजीवादले आफ्नो अन्तिम विजयको घोषणा गर्‍यो । निजीकरण, बजारीकरण र भूमण्डलीकरण विश्वको निर्विकल्प धर्म भयो । नेकपाको समाजवाद पनि यसबाट उम्कन सकेको छैन । अझ भनौं, उम्कन खोजेकै छैन । नेपाली कांग्रेसको आधिकारिक धारणाले पनि विश्व पुँजीवादको लक्ष्मणरेखा नाघ्न सकेको छैन ।

सोभियत युनियनको पतन एउटा राज्य वा साम्राज्यवादको पराजय थियो । विश्वमा रहेका सबै थरीका समाजवादी त्यसबाट हतप्रभ र हताश हुने कुरा थिएन । प्रजातान्त्रिक समाजवादको उज्यालोमा संगठित र सञ्चालित सोसल डेमोक्र्याटिक पार्टीहरूले हीनताबोध राख्ने काम थिएन । उनीहरूले बेलैमा भनेका थिए– नागरिक स्वतन्त्रता र प्रजातन्त्रको अभावमा समाजवादको निर्माण हुनै सक्दैन ।

सोभियत युनियन आफ्नै अन्तर्विरोधले ढलेको थियो । स्वतन्त्रताको अनुपस्थितिमा ढलेको थियो ।तर प्रजातन्त्रवादीहरू त्यसै तर्सिए । किन तर्सिए, त्यो अध्ययनको विषय छँदै छ । बडो सुन्दरताका साथ पौडेलजीले कुनै पनि किसिमको समाजवादको निर्माणका निमित्त एक अनिवार्य सर्तको प्रस्तुति गर्नुभएको छ । अर्थगाम्भीर्यका हिसाबले गागरमा सागर भरिएझैं पौडेलजी भन्नुहुन्छ, ‘चौराणां चन्द्रमा रिपुः ।’

नागरिक स्वतन्त्रताको अभावमा समाजवादको कल्पना गर्न सकिँदैन । उदारवादी लोकतन्त्र पनि टिक्दैन । न त पुरानो वा नौलो जनवाद नै टिक्छ । सुशासन हुने छैन । भ्रष्टाचार, दुराचार, बलात्कार, चोरी, डकैतीको बिगबिगी हुनेछ । अनि तथाकथित समाजवादी व्यवस्था स्वतः धराशायी हुन्छ ।तदनुरूप एक्काइसौं शताब्दीको कुनै पनि समाजवादले नागरिक स्वतन्त्रतालाई नवनिर्माणको अनिवार्य सर्तका रूपमा राख्नुपर्नेछ । तर अर्को कुरा हेक्का राख्नैपर्छ– यो अनिवार्य सर्त हो, पर्याप्त सर्त होइन ।

नागरिक स्वतन्त्रताका दुइटा आयाम छन् । पहिलो, कुनै संविधानको धारामा लेख्दैमा नागरिक स्वतन्त्रता बहाल हुँदैन । विगत वर्षहरूमा मुलुकविशेषको संविधानमा लेखिएका अधिकारहरू केकस्ता प्रकारले अपव्याख्या र दुरुपयोग गरिएका छन्, त्यो विश्वलाई थाहा छ । कम से कम अभिजनलाई थाहा छ । अभिजनको जानकारी जनजनमा पुर्‍याउनु सुशासनको पहिलो सर्त हो । दोस्रो, नागरिक स्वतन्त्रता फगत अनिवार्य सर्त हो, पर्याप्त सर्त होइन । राज्यको स्वरूप, संविधानले खडा गरेका विभिन्न स्वायत्त संस्थाहरूको दायित्वबोध, विभिन्न राजकीय एकाइको संरचना र रीत पुगेको कानुनको शासनको मर्मका बारेमा नागरिकहरू सदैव जागरुक रहनुपर्छ । राज्यका विभिन्न एकाइले आजका मितिमा अमेरिकामा ट्रम्पलाई सघाए भने के होला ? लोकतन्त्र र समाजवादका निमित्त यो एक गहन प्रश्न छ ।

उज्ज्वलजीले आफ्ना कुरा अगाडि सार्दा फिलिपिन्स र जापानको एउटा ठोस उदाहरण दिनुभएको छ । उज्ज्वलजीले आफ्नो प्रस्तावको पक्षमा शास्त्रको उल्लेख गर्नुभएको छ, शास्त्रार्थ गर्नुभएको छैन । तर उहाँका उदाहरणका केही निहितार्थ छन् । उत्पादनको स्वरूप र सारका विषयमा गरेको कुराले आजसम्म विश्वमा प्रचलित रहेको समाजवादका विषयमा उहाँले नवप्रस्तावना राख्नुभएको छ । औद्योगीकरण समाजवादको पूर्वसर्त होइन । अघिअघि दुनियाँका मार्क्सवादीहरू भन्थे– विपुल उत्पादन नभई यथोचित वितरण हुन सक्दैन । तर एक्काइसौं शताब्दीमा यो गलत मात्र होइन, खतरनाक पनि छ । पर्यावरण र कोरोनाको संयुक्त चुनौतीले हाम्रो आत्मघाती जीवनशैलीसँग साक्षात्कार गरेको छ । पर्यावरणको विनाश विशेषज्ञको विषय मात्र रहेको छैन, यो हाम्रो घरघरमा पुगेको छ । आजसम्म प्रचलित र सम्माननीय रहेका यावत् विचारधारा शंकाको घेरामा परेका छन् । एक्काइसौं शताब्दीको समाजवादले विगत पाँच वर्षको विकासक्रमलाई पुनरावलोकन नगरी भएको छैन । शास्त्रहरू रहने नै छन् । कसैले चिताउँदैमा शास्त्रहरू निमिट्यान्न हुँदैनन् । तर समाजवाद र मानववादको पक्ष र विपक्षमा हुनसम्म शास्त्रार्थ भैसकेको छ । कोरोना कहरले हामीलाई शास्त्रको सीमा र सामर्थ्य बताएको छ, विज्ञानको औकात देखाएको छ । सन्त्रस्त मानवताले आज अन्य कुराको भन्दा पनि ठोस जीवनमूल्यको चाहना गरेको छ । हामीलाई एकपटक फेरि सम्झाएको छ– ‘गुह्यं ब्रह्म तदिदं ब्रवीमि, न मानुषात् श्रेष्ठतरं हि किंचित् ।’ युधिष्ठिर प्रश्नकर्ता थिए । उत्तर दिने भीष्म थिए । भीष्म भन्छन्– यो ब्रह्म भन्ने कुरो जानेर साध्य भएन । मानिसलाई जान र मान, त्योभन्दा गतिलो अर्थोक छैन । शास्त्रका हिसाबले जाने हो भने, ५२ वर्षअघिको किशोरको जिज्ञासा अझै अनुत्तरित छ । यस्तो उत्तर बाहिरबाट वा कुनै शास्त्रबाट पाइँदैन । र फेरि, यस्ता उत्तरभन्दा सधैं उठिरहने प्रश्न महत्त्वपूर्ण हुन्छन् ।

प्रकाशित : मंसिर ७, २०७७ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×