कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पुरुष योनि’ वरिपरि रुमलिएको महिला जिन्दगी

जबसम्म सम्पूर्ण समाजले ‘छोरीलाई अंश र वंशको रक्षा गर्न सक्षम छिन्’ भन्दैन तबसम्म महिलाले छोराका लागि पाठेघर नै फुटाउनुपर्ने अवस्थाको अन्त्य हुँदैन ।
अरुणा उप्रेती

गत साउनमा सुदूरपश्चिमको बाबला गाउँकी ३५ वर्षीया विष्ट थरकी महिला बाह्रौं पटक सुत्केरी भइन् । १७ वर्षदेखि गर्भवती हुन थालेकी उनले सात छोरी जन्माइन्, दुई गर्भपतन भयो र दुई सन्तान मरेका जन्मे । यसपालि बच्चा पेटमा आएपछि, उनी निकै अशक्त भएकी थिइन् । व्यथा लाग्न थालेपछि भने गाउँलेहरूले तीन घण्टा गाडीमा राखेर जसोतसो अछामको बयलपाटा अस्पताल पुर्‍याएका थिए ।

‘पुरुष योनि’ वरिपरि रुमलिएको महिला जिन्दगी

अस्पताल आउँदा उनको होसहवास केही थिएन । उनको जाँच गर्दा शिशु पेटभित्र मरिसकेको र पाठेघर फुटिसकेको थाहा भयो । डाक्टर–नर्सलाई बचाउन सकिन्छ कि सकिँदैन धुकचुक थियो । डा. मन्दीप पाठक, डा. दिल र नर्सहरूले अति मिहिनेत गरेर उनको आकस्मिक शल्यक्रिया गरे । उनको शरीरमा रगत कम भएकाले स्वास्थ्यकर्मीहरूले नै रगत दिए । उनलाई बचाउन सबैले जीउज्यान लगाएर कोसिस गरे, सफल पनि भए ।

ती महिलाको यस्तो नाजुक अवस्था हुनुका कारण हो— परिवारलाई महिला योनिको सट्टा ‘पुरुष योनि’ को चाहना । बाह्र पटकसम्म गर्भवती भएर पाठेघर फुटे पनि छोरा जन्माउनैपर्ने उनको व्यथा कुन नेता, कुन धार्मिक गुरुले बुझ्यो होला ? जब उनी बाँच्न संघर्ष गर्दै थिइन् तब अछामका लोकतान्त्रिक र वामपन्थी नेताहरू कुर्सीका लागि झगडा गर्दै थिए । सुदूरपश्चिमले राष्ट्रिय स्तरका धेरै नेता अझ प्रधानमन्त्री पनि पाइसक्यो । तर अझै महिलाको जीवनमा कुनै परिर्वतन आएको छैन । कुनै नेताले महिलाको जीवन तथा स्वास्थ्य सुधार्न स–साना कदम पनि चालेका छैनन्, त्यसैले त अझै पनि ‘तराईमा गोरु नहुनू, पहाडमा महिला नहुनू’ भन्ने गरिन्छ ।

यसपालि, यदि छिमेकी महिलाहरूले पिँढीमा सुतिरहेकी उनको नाजुक अवस्था देखेर चासो नराखेका भए, समयमै अस्पताल नपुर्‍याएको भए, अस्पतालमा पनि डाक्टर र शल्यक्रिया उपकरण नभइदिएको भए, बाह्रौं गर्भमा त उनको मृत्यु हुने रहेछ । सुदूरपश्चिम र नेपालकै कुनाकुनामा यसरी ‘पुरुष योनि’ जन्माउन जीवन नै त्याग्नुपर्ने महिलाहरू कति होलान् ? यसरी मर्न बाध्य महिलालाईकतिपयले ‘धेरै बच्चा पाउनु हुन्न भनेर आफैं विचार गर्नुपर्थ्यो’ भन्ने गरेको सुनिन्छ । तर, १५ वर्षकी अक्षरै नचिन्ने छोरी— जसलाई ‘गाई’ झैं आमाबुबाले दान दिएका थिए— ले आफ्नो हकका लागि कसरी बोल्न सक्नु !

उपचारको क्रममा बयलपाटा अस्पतालकी एक नर्सले मलाई भनेकी थिइन्, ‘पाठेघर गुमाएकी ती महिलाको श्रीमान्ले अब अर्को विवाह गर्छन् होला, गाउँघरको चलनै यस्तै छ ।’ यो सुनेर म खिन्न भएकी थिएँ । उपचार भइसकेपछिको तीन हप्तामा मैले उनलाई भेट्दा पहेंलो र उदास अनुहार लिएर पिँढीमा बसेकी थिइन् । यति धेरै कष्ट पार गरेर बाँचेकी ती महिलाको जीवन नै मानौं ‘छोरा’ जन्माउनकै लागि थियो । यस्तो अवस्था देख्दा पनि हामीले उनलाई सहानुभूति पनि दिन सकेनौं । उनलाई भन्ने शब्द नै के पो थियो र ! महिलाको यस्तो कष्टकर जीवनबारे ठूला मन्त्री, नेता, कोही बोल्दैनन् । १२१ किलोका माला लगाउने शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले हरेक वर्ष १२१ भन्दा बढी महिला ‘पुरुष’ लाई जन्म दिनैपर्ने कारण जीवन र मृत्युको दोधारमा पुग्ने गरेको पत्तै पाउँदैनन् ।

समाजका कथित पुरोहित तथा धर्मगुरुहरूलाई यसरी महिलाको ज्यान जोखिममा परेको मतलबै हुँदैन । उनीहरू त ‘छोरा नभए पिण्ड दिने कोही नभएर पितृहरू नरकमा पर्छन्’ भन्दै हिँड्छन् । पितृलाई छोरीहरूले पनि पिण्ड दिएर तार्न सक्छन् भनेर कहिले भन्दैनन् । त्यसैले अछाममा मात्र होइन काठमाडौंजस्तो ठाउँमा पनि छोरी मात्र भए वंश चल्दैन भन्दै छोरा जन्माउन बाध्य बनाउने गरेका घटना थुप्रै छन् ।

काठमाडौंका एक व्यापारीको बाह्र वर्षीय छोराको दुर्घटनामा मृत्यु भयो । उनको एक छोरा र एक छोरी थिए, छोराको मृत्युपश्चात् ती व्यापारीले ४५ वर्षीया श्रीमतीलाई ‘कि छोरा पाऊ, कि म अर्को विवाह गर्छु’ भनेर विकल्प दिएछन् । ती महिला अनेक औषधि गरेर गर्भवती भइन् । अझ भ्रूण छोरी भए गर्भपतन गराउनुपर्ने परिवारको योजना रहेछ । धन्न भ्रूण छोरा नै रहेछ तर गर्भवतीलाई बेस्सरी बान्ता हुने, उच्च रक्तचाप तथा जीउ सुनिनाले ८ महिनामै शल्यक्रिया गरेर बच्चा निकालेछन् । आमाको ज्यान खतरामा पारेर छोरा पाएकोमा ५० वर्षे बाबु दंग परेका थिए । यस घटनाबाट परिवारकै २२ वर्षीया छोरी अपमानित भएको महसुस गरी अमेरिका गइन् । अहिले उनी बाबुसँग त्यति बोल्दिनन् ।

हजुरआमाको दबाबले पनि बाबाले छोरा पाउन आमालाई कर गरेकाले, हजुरआमाको पनि वास्ता गर्दिनन् । यदि उक्त परिवारमा छोरीको मृत्यु भएको भए, श्रीमान्ले श्रीमतीलाई उमेर ढल्किसकेपछि पनि ज्यानै खतरामा पार्दै छोरो जन्माउन बाध्य पार्थे होलान् र ? ती छोरी सायद नेपाल फर्किन्नन् अब । आमाको जिन्दगी खतरामा पारेर वंश चलाउन छोरा नै चाहिने बाबु र हजुरआमासँग उनको ठूलो गुनासो छ । बिचरा तिनले पनि के गरून्, ‘छोरो नभए मरे नर्क जान्छौ’ भनेर पण्डितले भनेपछि, त्यसैको विश्वासमा परे होलान् ।

ती महिलाले पनि छोरा नभए जिन्दगी नै खतम हुन्छ भन्ने ठानिन् होला । काठमाडौंमै यस्तो छ, सुदूरपश्चिममा त के कुरा भयो र ? सायद पण्डितहरू नै श्रीमतीले छोरी पाए, जसरी पनि छोरा नै चाहिन्छ भन्छन् अझै पनि । जबसम्म सम्पूर्ण समाजले ‘छोरीलाई अंश र वंशको रक्षा गर्न सक्षम छिन्’ भन्दैन तबसम्म महिलाले छोराका लागि पाठेघर नै फुटाउनुपर्ने अवस्थाको अन्त्य हुँदैन ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?