कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्पदा फिर्तीमा खट्किएका पक्ष

सम्पादकीय

पाटन, पट्कोटोलमा रहेको नारायण मन्दिरबाट आजभन्दा झन्डै ३७ वर्षअघि लक्ष्मी–नारायण मूर्ति चोरिएको थियो । चोरिएको यो मूर्ति अमेरिकाको एक लिलामी कम्पनीमा पुगेको रहेछ भन्ने २८ वर्षअघि नै जानकारी मिल्यो । लिलामी हुँदै यो सम्पदा अमेरिकाकै डल्लासस्थित म्युजियममा पुगेको छ भनेर प्रमाणित सूचना बाहिरिएकै पनि ७ वर्ष भैसकेको थियो । ‘पुरातात्त्विक सम्पदालाई कतै ढाकछोप गरेर वा लुकाएर राख्न मिल्दैन, यसलाई उत्पत्तिको मुलुकमा फिर्ता गर्नैपर्छ’ भन्ने अन्तर्राष्ट्रिय अभियान चलेको वर्षौं बितेपछि बल्लतल्ल लक्ष्मी–नारायण घर फर्किएका छन् । अझ आफ्नै मन्दिरमा र यथास्थान यो सम्पदा प्रतिष्ठापित भएको छ, जुन खुसी र गौरवको कुरा हो ।

सम्पदा फिर्तीमा खट्किएका पक्ष

यसो भन्दैमा, लक्ष्मी–नारायण सम्पदा घर फर्किएको र यथास्थान बसेको यो खबर समुद्रबाट टिपिएको एक थोपा पानीजस्तो मात्रै हो । मौलिक कला–सम्पदा र पुरातत्त्वको ओजका कारण नेपाल–नेपालीको छवि उच्च हुँदाहुँदै पनि संरक्षण–संवर्द्धन अभावमा अझै पनि हराएका मूर्ति र मूर्ति हराउने दुवैको चिन्ता उत्तिकै छ । आज लक्ष्मी–नारायणजस्ता पहिचान खुलेका वा नखुलेका सयौं नेपाली कला–सम्पदा, अभिलेख र पुरातत्त्वका प्रमाणहरू विदेशी संग्रहालय, निजी संग्रह वा लिलामी बजारमा छँदै छन् ।

दुःखका साथ भन्नैपर्छ— सम्पदा सरोकार राख्ने कुनै विदेशी अभियन्ताले आवाज उठाइदिए मात्रै नेपाली सम्पदाको हविगत थाहा हुने र घरफिर्तीको पहल थालिने अवस्था हट्न सकेको छैन । हालै घरफिर्ती भएको लक्ष्मी–नारायण मूर्ति पनि यसैको उदाहरण हो । यसको घरफिर्तीमा नेपाल सरकारको संयन्त्रभन्दा बढी बाहिरी विश्वमा रहेका अभियन्ता र नेपालमै निजी क्षेत्रका सरोकारवाला बढी सक्रिय थिए, लेखेर र बोलेर ।

‘चोरिएका वा हराएका पुरातात्त्विक सम्पदाहरू उत्पत्ति भएको मुलुकमै फर्कनुपर्छ’ भन्ने अन्तर्राष्ट्रिय बाध्यकारी नियम कार्यान्वयनको पहल गर्न हाम्रो राज्य संयन्त्र कुन हदसम्म चुकेको छ भन्ने अर्को उदाहरण फ्रान्स, पेरिसको राष्ट्रिय संग्रहालय गिमेमा रहेको श्रीधर विष्णु र उमा महेश्वरका १२ औं शताब्दीमा निर्मित प्रस्तर मूर्तिसमेत हुन् । अन्वेषक लैनसिंह बाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (सन् १९८९) मा समेत उल्लिखित यी सम्पदामध्ये विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) पाटनको च्यासलहिटीबाट सन् ७० दशकको अन्त्यतिर हराएको थियो भने भक्तपुरको नासमना टोलमा रहेको उमा महेश्वर सन् १९८४ मा चोरिएको थियो ।

यी सम्पदा गिमे म्युजियममा रहेको थाहा पाएर कला अन्वेषक डीना बाङ्देलले समेत सम्पदाको घरफिर्तीबारे लेख्ने–बोल्ने अभियान जारी राखेकी थिइन् । झन्डै तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिमे म्युजियममै पुगेर सम्पदा घरफिर्तीबारे प्रारम्भिक सहमतिसमेत गरेका थिए । तर, हाम्रा परराष्ट्र र संस्कृति मन्त्रालय, पुरातत्त्व विभाग एवं पेरिसस्थित नेपाली दूतावास अझै पनि श्रीधर विष्णु तथा उमा महेश्वर चोरिएको ‘प्रहरी रिपोर्ट’ बनाउनमै कतै हराइरहेका छन् ।

प्रमाण र आधिकारिकता रहे पनि यही कार्यका निम्ति समर्पित खास संयन्त्रको अभावमा आफ्नो हक–अधिकार दाबी गर्ने विषयमै नेपाल सरकार अरूको मुख ताकेरै बसिरहेको जस्तो देखिन्छ । अमेरिकाको सिकागोस्थित म्युजियममा प्रदर्शनीमा राखिएको तलेजु देवीको हार (नेकलेस), न्युयोर्कको मेट्रोपोलिटन म्युजियममा रहेका दर्जनौं नेपाली सम्पदा, न्युयोर्ककै रुबिन म्युजियममा रहेका पुरातात्त्विक सामग्री, बरकत ग्यालरीको अमेरिका र बेलायतदेखि हङकङ शाखासम्म भेटिएका नेपाली सम्पदाको सूची लामै हुन सक्छ । तर, ‘लस्ट आर्टस् अफ नेपाल’ जस्ता निजी तहका सोधखोजमा लागेका सम्पदा सरोकारका निकाय वा केही सम्पदाप्रेमीबाहेक सरकारी संयन्त्रले यस्तो दाबी वा अभियान चलाउने यत्न अहिलेसम्म नगर्नु उदेकलाग्दो छ ।

अन्वेषक लैनसिंहका अनुसार सन् ७० देखि ९० सम्मको दशक नेपाल–नेपालीका लागि ‘स्टोलन इमेज’ को कालखण्ड थियो । त्यो समयमा काठमाडौं उपत्यकाभित्रैबाट चोरिएका/हराएका पुरातात्त्विक सम्पदा २ सयभन्दा बढी छन् । अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय जागरण तथा सचेतनाका कारण नेपाली पुरातात्त्विक सम्पदाको बाहिरी विश्वमा रहेको ‘पहिचान र अवस्थिति’ खुल्दै जान थालेको छ । यसकारण पनि आफ्नो सम्पदाजन्य वैभव र पुरातात्त्विक पहिचानलाई पुनःस्थापना गराउने अभियानमा सरकारी तहमा एउटा तोकिएको संयन्त्र/निकाय स्थापना गरिनुपर्छ । अनेक जोडबलले घर फर्काएर ल्याइएका सम्पदालाई छाउनी संग्रहालयको अँध्यारो कुनामा थुपार्ने तौरतरिकामा समेत पुनर्विचार गरिनुपर्छÙ अहिले पाटनमा पुनःस्थापन गरिएको लक्ष्मी–नारायण मूर्तिकै शैलीमा साबिककै स्थानमा सम्पदालाई संरक्षण दिन सक्नुपर्छ ।

आफ्ना सम्पदाको लगत राख्न पनि नसकिरहेको पुरातत्त्व र भेटिएका सम्पदा घर फर्काउन ‘पैसा भएन’ भन्दै रोइलो गरिरहने सरकारले कम्तीमा बाहिरी विश्वमा फेला पर्दै गएका आफ्ना सम्पदामा अपनत्व दर्साउन सक्नुपर्छ । बाहिरी विश्वमा फेला परेका आफ्ना सम्पदा घर फर्काउने मामिलामा पुरातत्त्वले संस्कृति मन्त्रालयलाई देखाउने, संस्कृतिले परराष्ट्र मन्त्रालयलाई र मन्त्रालयले दूतावास वा प्रधानमन्त्री कार्यालयतिर औंला तेर्स्याउने अहिलेको प्रवृत्तिको अन्त्य हुनुपर्छ । एउटा निश्चित निकाय/संयन्त्रले आफ्ना सम्पदाको पहिचान, अभिलेखीकरण वा घरफिर्तीका मामिलामा सम्पूर्ण जिम्मेवारी वहन गर्ने प्रणाली बसालिएमा मात्रै यो अभियान सार्थक हुन सक्छ ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?