नेपाली चलन, विदेशी अनुसन्धान- विचार - कान्तिपुर समाचार

नेपाली चलन, विदेशी अनुसन्धान

शिशु स्वास्थ्यको रक्षा गर्न तेल मालिस गर्ने हाम्रो प्राचीन प्रचलनबारे खुलेर बोल्न पनि मलाई विदेशीहरूको अनुसन्धान पढ्नुपर्‍यो । म र मजस्ता जनस्वास्थ्यकर्मीले यस्तो विषयमा अनुसन्धान गर्न नसक्नु हाम्रै कमजोरी हो । 
अरुणा उप्रेती

नेपालमा तेल मालिस गर्ने चलन ‘यो पुरानो काम हो, तेलले छाला खराब गर्छ, मालिस गर्नु हुँदैन’ भनेर बिस्तारै छाडिँदै गएको छ, जबकि स्वास्थ्यका लागि यो अति लाभदायक अभ्यास हो ।

तेल लगाउने कि नलगाउने भन्नेबारे बहस गरिरहेको हाम्रो समाजले बिर्सिनु हुन्न, जाडो याममा बालबालिका मात्र होइन, वयस्क व्यक्तिहरूले पनि घाममा राखेर तेल मालिस गर्नु–गराउनु तिनको शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक छ । हाम्रो यस्तो चलनमा अब ‘वैज्ञानिक मोहर’ लागेको छ । मालिसको महत्त्वबारे केही दिनअघि बीबीसीमा छापिएको लामो लेखको प्रसंग उल्लेख गर्नु यहाँ सान्दर्भिक हुन सक्छ ।

भारतको बैङलोरकी रेनु सक्सेनाको समयभन्दा अघि जन्मेको बच्चा दुई किलो तौलको मात्र थियो । उनले बच्चालाई मालिस गर्नुपर्ने भनेर परिवारमा कुरा राखिन्, डाक्टरसँग पनि सल्लाह लिइन् । डाक्टरले ‘हुँदैन, केही दिन पर्ख’ भनेछन् । रेणुले यो सल्लाह मानिन् । तर बच्चाको तौल एक हप्तामा एक सय ग्राम मात्र बढ्यो, राम्रोसँग सुत्न पनि नसक्ने । रेणुले नर्सको सहायताले बच्चालाई हरेक दिन तेल मालिस गर्न थालिन् । त्यसपछि भने उसको तौल पनि बढ्यो, निदाउने अवधि पनि बढ्यो ।

बंगलादेश र पाकिस्तानमा भएका विभिन्न अनुसन्धानले शिशुलाई तेल मालिस गर्दा संक्रमण तथा शिशु मृत्युदर घट्छ भन्ने निष्कर्ष निकालेका छन् । म पनि सम्झिन्छु, आमाले मलाई ६–७ वर्षकी हुँदासम्म पनि नुहाउनुअघि तेल लगाइदिनुहुन्थ्यो । पेट दुख्दैनथ्यो, तैपनि पेटमा तेल मालिस गरिदिनुहुन्थ्यो ।

स्ट्यानफोर्ड विश्वविद्यालयका डाक्टर प्रोफेसर गेरी डार्मस्टाडले बंगलादेश र भारतमा तेल मालिसका विषयमा अध्ययन गरे । तेल मालिस गर्दा शिशुमा संक्रमण न्यून हुन्छ, पेटमा हलुको तरिकाले मालिस गर्दा शिशुको पेटको स्वास्थ्य पनि राम्रो हुन्छ भन्ने निष्कर्ष उनले निकाले । शिशुको स्वास्थ्य रक्षाका लागि हाम्रो समाजमा व्याप्त यस्तो प्राचीन प्रचलनबारे खुलेर बोल्न पनि मलाई विदेशीहरूको अनुसन्धान पढ्नुपर्‍यो । म र मजस्ता जनस्वास्थ्यकर्मीले यस्तो अनुसन्धान गर्न नसक्नु, हाम्रै कमजोरी हो ।

शिशुलाई मात्र होइन, वयस्कलाई पनि तेल मालिसको धेरै फाइदा छ । कपाल र जीउमा तेल मालिस गर्दा शरीर स्वस्थ रहनुका साथै मन पनि फुर्तिलो हुन्छ । तेल मालिस गर्दा आनन्द महसुस हुन्छ र जीउको अल्छी कम लाग्छ । भोक पनि मज्जाले लाग्छ । तर कतिपयले शरीरमा तेल लगाउनुलाई राम्रो मान्दैनन् । तारे होटलमा गई बास्नादार तेलले ‘मसाज’ चाहिँ गर्छन् तर मैले किन मालिसका लागि यतिका पैसा तिरे हुँला भन्ने बुझ्दैनन् ।

बालबालिकालाई पाउडर लगाइदिनुभन्दा तेल मालिस गर्दा राम्रो हुन्छ । तर कसैलाई तोरी वा अन्य कुनै तेल लगाउँदा एलर्जी हुन्छ भने मालिस गर्नु हुँदैन । सामान्यतया तोरी, नरिवल तथा तिलको तेलले मालिस गर्न सकिन्छ । मालिसपछि शरीरमा रक्त सञ्चालन सहज हुन्छ, छाला पनि स्वस्थ हुन्छ । तेल मालिस गरेर बच्चालाई सफा गरिएन, चिसो लाग्छ भनेर गुम्स्याएर राखियो भने चाहिँ यसको गन्धले स्वास्थ्यमा असर पर्न सक्छ । बच्चालाई नुहाउन मिल्दैन भने तेल मालिस गरेपछि मनतातो पानीले जीउ पुछिदिनैपर्छ ।

सुत्केरी र नवजात शिशुले लगाएको तेल सफा नगरिए कोठै गन्हाउँछ । उनीहरूलाई चिसो लाग्छ भनी झ्यालढोका थुनेर राख्ने पनि गरिन्छ । यसले गर्दा स्वच्छ वायु नपाई बच्चा वा सुत्केरीको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।

बच्चालाई ‘तालु पुर्ने’ भनेर तालुमा तेल लगाएर टोपीले गुम्स्याइदिने, चिसो लाग्छ भनेर कोठाभित्र कोइलामा तेल तताएर धूवाँले कोठा भर्ने गर्नु राम्रो होइन । बच्चाको तालुमा पटक–पटक तेल लगाउने, गुम्स्याउने गर्दा कपालमा ढुसी पर्न सक्छ, र संक्रमणको सम्भावना हुन्छ । तेलको लेपले तालु पुरिने पनि होइन, आफैं पुरिन्छ । तेलले मालिस गरेपछि नुहाएर सफा लुगा नलगाए गन्ध रहिरहने हुनाले होला, ‘आधुनिक’ मानिसहरूले ‘तेल लगाउनु पर्दैन’ भन्ने गरेका । तर सफा गर्न अल्छी नगर्ने हो भने सबै उमेर समूहकाले तेल मालिस गर्दा निकै फाइदा हुन्छ । सुत्केरी, शिशु तथा बालबालिकालाई घाममा राखेर मालिस गर्दा भिटामिन ‘डी’ पाइन्छ, रक्तसञ्चर सुचारु हुन्छ, हड्डीको स्वास्थ्य पनि राम्रो हुन्छ । यसले शिशुको शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

आजकल कतिपय अस्पताल र स्वास्थ्यचौकीमा त शिशु दस दिन नहुँदै भिटामिन ‘डी’ को झोल दिने परम्पराजस्तै बसिसकेको छ । तर घाममा राखेर तेल लगाउने परामर्श कसैले दिँदैन, जबकि नेपालमा जस्तो घाम नलाग्ने युरोपेली देशहरूमा पनि शिशुहरूका लागि सूर्यबाट पाउने ‘अल्ट्रा भाइलेट’ किरण शरीरमा पुगोस् भनेर ‘बत्ती बाल्ने ल्याप्प’ जस्तोबाट भिटामिन डी दिने विशेष व्यवस्था गरिएको हुन्छ । हामीले भने किन आँगन, बार्दली र कौसीमा छरिएको सूर्य किरणलाई बेवास्ता गरेका हौंला !

सन् २०१६ मा गरिएको एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट समयअगाडि नै जन्मेका, कम तौल भएका बच्चाहरूलाई हलुका तरिकाले मालिस गर्दा शरीर स्वस्थ रहन, तौल बढ्न, पेट दुख्ने समस्या कम हुनमा मद्दत गर्छ भन्ने थाहा भयो । हाम्रो देशमा पनि हजुरबा र हजुरआमाले काखमा राखेर नातिनातिनालाई तेल लगाउने चलनले धेरै फाइदा गरेको छ । विदेशमा जस्तो हाम्रोमा यसको वैज्ञानिक अनुसन्धान भएको छैन, तर सयौं वर्षदेखिको चलनले दिएको ज्ञान हो— शिशुका साथै वयस्क, वृद्धवृद्धा वा बिरामीबाट तंग्रिन लागेका व्यक्तिलाई मालिसले फाइदा नै गर्छ । यही अनुसन्धानलाई ध्यानमा राखेर होला, सन् २०१६ मा धुलिखेल अस्पतालमा शिशुलाई कसरी तेल लगाउने भनेर विदेशी विज्ञ स्टेफन र सुसी ग्रोलीले केही नेपाली महिलालाई सिकाए । नेपालमा बज्यैहरूले गर्ने मालिसलाई धुलिखेल अस्पतालले नयाँ पुस्तालाई सिकायो । यस्तो प्रयोग तथा प्रयासले अरूलाई पनि मालिसको महत्त्व बुझाउन सहयोग गर्नेछ । आयुर्वेद चिकित्सा विज्ञानमा पनि विभिन्न थरीका तेलहरूको मालिसले विभिन्न समस्या निराकरण गर्न मद्दत गर्छ भनिन्छ । त्यसैले वैद्यहरूले मालिस उपचार गर्छन् । लामो यात्रापछि गोडा दुख्दा तेल लगाए दुखाइ कम हुने त छँदै छ, मीठो निद्रा पनि लाग्छ ।

ग्रीस, चीनमा मालिसको चलन थियो । भारतमा त प्राचीनकालमा राजारजौटालाई मालिस गर्न ‘हजामहरूको’ नियुक्ति नै हुन्थ्यो । अहिले पनि गाउँघर, सहरबजारमा हजामहरूले टाउकामा ‘चम्पी’ गर्छन् । ‘छाला सुक्खा हुने, हातखुट्टा करकर खाने’ भन्दै गुनासो गर्ने वृद्धवृद्धालाई मालिसले फाइदा गर्छ । उमेर बढ्दै गएपछि छालामा चिल्लोपन कम भएर सुक्खा हुने र चिलाउने गर्छ, अलिकता हिँड्दा वा काम गर्दा पनि थकाइ अनुभव हुन्छ । यसलाई कम गर्न मालिसले मद्दत गर्छ । यसरी शिशुदेखि वृद्धवृद्धासम्मलाई तेल मालिस गर्ने नेपाली चलन अब ‘विदेशबाट सिकेर’ भए पनि फेरि चलाउन सके फाइदै हुने थियो ।

प्रकाशित : कार्तिक ७, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको मानसिक स्वास्थ्य

बच्चा जन्मिएपछि ७० प्रतिशत महिलामा यो समस्या देखिन सक्छ र धेरैजसोलाई बिस्तारै ठीक हुँदै पनि जान्छ । यस्तो बेलामा कतिपय महिलाले बच्चालाई दूध नखुवाउने, बेवास्ता गर्नेजस्ता व्यवहार पनि गर्न सक्छन् ।
अरुणा उप्रेती

महिला स्वास्थ्यको छलफल प्रायः प्रजनन स्वास्थ्यमा केन्द्रित हुन्छ, त्यसमा पनि प्रजनन उमेर (१५–४९ वर्ष) का महिलाबारे बढी चर्चा गरिन्छ । यो उमेर समूहभन्दा अघि र पछिको प्रजनन स्वास्थ्यको विषयले पनि खासै प्राथमिकता पाउँदैन । महिलाका ठूला स्वास्थ्य समस्यामध्ये मानसिक समस्या पनि एक हो । तर, यसले त्यति महत्त्व पाएको देखिँदैन । 

मानसिक स्वास्थ्य समस्या सबै उमेरका महिलामा हुन सक्छ । सामान्य अवस्थामै पनि प्रायः रजस्वला सुरु हुन लागेका किशोरीहरूमा यस्तो समस्या देखा पर्छ । त्यसै गरी प्रजनन उमेरका र रजोनिवृत्ति भइसकेका महिलाहरूमा पनि शारीरिक तथा आर्थिक, सामाजिक, पारिवारिक, सांस्कृतिकलगायत कारण मानसिक समस्या भएको हुन्छ । कतिपय अवस्थामा मानसिक समस्याले नै शारीरिक समस्या उब्जाइरहेको हुन्छ । शारीरिक अवस्था कमजोर भएपछि पनि मानसिक समस्याहरू आइरहेका हुन्छन् । सामाजिक बन्धनहरू, घरायसी समस्या, कामको बोझ र तिनलाई धान्न नसक्दा अनि शरीरका रयासनहरूमा परिवर्तन आउँदा पनि यस्तो समस्या हुन सक्छ ।

मानसिक तनावका कारण किशोरीहरूमा आत्महत्या गर्ने प्रवृत्ति बढेको छ । र, यस्ता आत्महत्याका घटनालाई प्रतिष्ठा जोगाउने नाममा लुकाउने गरिन्छ । फलस्वरूप, यसको यकिन तथ्यांक बाहिर आउँदैन । यसरी आत्महत्या बढ्नुका पछाडि बढ्दो महिला मानसिक समस्या मुख्य कारण हो । मैले पछ्याएको केहीअघिको एउटा घटनाले पनि यही भन्छ, जसमा किशोरीको आत्महत्या लुकाइएको थियो । ती किशोरीको प्रेमसम्बन्ध रहेछ । उनले विवाहको प्रस्ताव राखिन् तर प्रेमी केटाले उमेर नभएको भन्दै केही वर्ष पर्खन आग्रह गरेछ । ती किशोरीले यसलाई अर्कै अर्थमा बुझिछन् । उनलाई अपमानित महसुस भएछ । यसबाट उत्पन्न तनाव व्यवस्थापन गर्न नसक्दा उनले आत्महत्या गरिन् । तर, परिवारले बेइज्जतीको डरले आत्महत्यालाई बिरामी भएर मृत्यु भएको भनेको थियो ।

महिनावारी सुरु हुनुअघि साना कुरामा झर्को लाग्ने, दिक्क लाग्ने, बोल्न मन नलाग्नेजस्ता समस्या देखा पर्छन् । तर, यस्ता समस्या दुई–चार दिनपछि आफैं हराउँछन् । रजोनिवृत्ति भएपछि पनि धेरैजसो महिलालाई यस्तै समस्या देखा पर्छ । परिवारले यो बुझेर सोहीअनुसार व्यवहार गर्न सक्नुपर्छ । यस्तो समस्या लामो समय रहेमा उपचार गनुपर्ने हुन्छ । रजोनिवृत्तिपछि देखा पर्ने मानसिक समस्या प्रायः शरीरमा भएका हर्मोनको गडबडीले हुने गर्छ ।

उपचार तथा परामर्शले यस्ता समस्या समाधान गर्न सकिने भए पनि विविध कारणले गर्दा महिलाहरू उपचार गराउँदैनन् । यस उमेरमा महिलाहरू प्रायः सासू बनेका हुन्छन् । रजोनिवृत्तिका कारण उनीहरूमा आएको झर्किने, रिसाउने, चिडचिडाहट हुने बानीलाई नेपाली समाजमा प्रायः सासूले बुहारीलाई कज्याएको वा सास्ती दिएका रूपमा लिने गरिन्छ । यो सन्दर्भलाई बुझ्ने हो भने धेरै समस्या सामान्य बन्छन् ।

कतिपय महिलालाई गर्भवती अवस्थामा दिग्दारी, खिन्नता, तनाव, डर लागेजस्तो हुने हुन्छ । त्यस्तै कतिपय महिलालाई बच्चा पाएपछि हुने एक प्रकारको मानसिक समस्या ‘पोस्टपार्टम डिप्रेसन’ हुन्छ । शिशु जन्मेपछि शरीरमा हर्मोनको मात्रामा घटबढ भइरहन्छ । बच्चा पाएपछि महिलामा बच्चाको स्याहारसुसार गर्ने, दूध खुवाउनेलगायत जिम्मेवारी थपिन्छ । यस्तो बेला महिलालाई मद्दत गर्ने र ढाडस दिने कोही भएन भने झन् धेरै समस्यामा पर्न सक्छन् । घरकै समझदारी र सहयोगले यस्ता समस्या समाधान गर्न सकिन्छ । हाम्रो संस्कृतिमा सुत्केरी महिलालाई स्याहार्न विशेष व्यवस्था गरिएको हुन्छ । उनलाई भिन्नै कोठामा राखेर सुत्केरी मसला खुवाउने, घाममा राखेर बच्चा–आमालाई तेल लगाइदिने गरिन्छ । यी राम्रा चलनले महिलालाई धेरै मद्दत गर्छ । तर विविध कारणले कतिपय महिलाले परिवारबाट राम्रो सहयोग पाउँदैनन् । यसो हुँदा समस्या बढ्दै जान सक्छ र लामो समयसम्म रोगकै रूपमा रहिरहन्छ । यस्तो बेला उपचारको आवश्यकता पर्न सक्छ । तर, नेपाली समाजमा यसलाई रोगका रूपमा लिएर उपचार गर्ने प्रवृत्ति कमै छ । यसले महिलाहरूलाई पीडा दिइरहेको हुन्छ र यसको प्रभाव परिवारमा पनि परिरहेको हुन्छ ।

एक अध्ययनअनुसार, बच्चा जन्मिएपछि ७० प्रतिशत महिलामा यस्तो समस्या देखिन सक्छ र धेरैजसोलाई बिस्तारै ठीक हुँदै पनि जान्छ । यस्तो बेलामा कतिपय महिलाले बच्चालाई दूध नखुवाउने, बेवास्ता गर्नेजस्ता व्यवहार पनि गर्न सक्छन् । मानसिक समस्याका कारण यस्तो व्यवहार देखाउँदा घरका सदस्यहरूले ‘यो त अल्छी रहेछ, कस्तो बच्चाको पनि वास्ता नगर्ने, कस्ती आमा रहेछ’ भनेर टिप्पणी गर्ने गर्छन् । यसले महिलालाई झन् समस्या पर्न सक्छ । यस्तो बेला सकेसम्म शारीरिक र मानसिक रूपमा सहायता गर्ने, सुत्नका लागि समय दिने, दूध खुवाउन गाह्रो हुँदा मद्दत गर्ने गरेर समस्या समाधान गर्नुपर्छ ।

केही वर्षअघि एक मानसिक रोग विज्ञले आफ्नो अनुभव सुनाएका थिए । उनका अनुसार झापामा एक महिलालाई बच्चा पाएपछि पोस्टपार्टम डिप्रेसन भएछ र ‘म त गंगा हुँ, यो मेरो छोरोलाई लगेर नदीमा बगाइदिनू’ भन्न थालिछन् । अनि घरका सदस्यहरूले तुरुन्त मानसिक रोग विशेषज्ञकहाँ लगी उपचार थालेपछि उनको समस्या समाधान भएको रहेछ । उनलाई ६ महिनासम्म औषधि उपचार गर्नुपरेको थियो रे ।

आर्थिक तथा पेसागत कारण पनि कतिपय नेपाली महिलामा मानसिक समस्या देखा परिरहेको छ । नेपाली महिला खाडी मुलुकलगायतमा कामका लागि जाने क्रम बढेको छ, अचेल । यस्ता महिलामा पनि मानसिक समस्या निकै बढेको पाइएको छ । तलब नपाउनु, बस्ने–खाने राम्रो वातावरण नहुनु, पासपोर्ट पनि खोसेर राखिदिनु, परिवारबाट टाढा रहनु, सामाजिक–सांस्कृतिक भिन्नताजस्ता कारण उनीहरूमा मानसिक तनाव भइरहेको छ । कतिपय महिला विकसित देशमै गएर पनि आफ्नो बाल्य पृष्ठभूमिका कारण मानसिक समस्यामा परेको पाइएको छ । अमेरिकामा आफ्नो पतिसँग चार वर्षदेखि बसिरहेकी एक महिला कमजोर आत्मविश्वासका कारण एक्लै बाहिर जान सक्दिनन् । उनका श्रीमान्ले यताउति जाऊ, मानिससँग भेट, मोटर चलाउन सिक, कतै सानोतिनो काम गर भन्दा पनि उनी मान्दिनन् । यसको कारण खोज्दा, उनले आफूलाई सानैदेखि घरबाहिर निस्कन कडाइ गरिएको, अभिभावकले बाहिर निस्के हातखुट्टा काटिदिन्छु भनेको, विद्यालयभन्दा टाढा कतै जान नदिएको र समयमा घर नआउँदा पिटाइ खाएकाले बाहिर जाने आँट नभएको बताएकी थिइन् । बाल्यकालमा दिइएको मानसिक र शारीरिक यातनाले गर्दा ५० वर्षपछि पनि उनमा आत्मविश्वास हराएको छ । उनी परिवारमै बोझजस्तो बन्न पुगेकी छन् ।

नेपालमा मानसिक रोग लागेका महिला वा पुरुषलाई एकातिर भूत लागेको भनेर धामी–झाँक्री देखाएर फुकफाक गर्ने चलन छ, अर्कातिर यो रोगको उपचार गर्न मानसिक रोग विशेषज्ञकहाँ जाने क्रम बढ्दैँ छ । सेवा दिने स्वास्थ्य संस्थाको संख्या पनि बढ्दो छ । विश्व स्वास्थ्य संघले मानसिक स्वास्थ्यको समस्यालाई उठाउन थालेपछि यसलाई पनि स्वास्थ्यको एक महत्त्वपूर्ण अंगका रूपमा हेरिन थालेको छ ।

तर, अरू रोगजस्तो देखिने नभएकाले महिलाको मानसिक समस्याको उपचारतिर त्यति ध्यान दिइन्न । यसलाई लुकाउने र बेवास्ता गर्ने प्रवृत्तिले गर्दा महिलाहरूमा यो समस्या जटिल बनिरहेको छ । यसको समयमै उपचार नगर्दा जीवनको गुणस्तर नै कमजोर हुन्छ । ढिलो उपचार सुरु गर्दा निको पार्न झन् बढी समय लाग्ने हुनाले, छिट्टै गर्नुपर्छ । परिवार, समाज र राज्यले पनि यस समस्यालाई बुझ्ने र समाधान गर्नेतिर प्रयास गर्नु जरुरी छ ।

प्रकाशित : आश्विन २४, २०७८ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×