कम्युनिस्ट नेताका महिलाद्वेषी अभिव्यक्ति
भनिन्छ, हरेक व्यक्तिको बोलीबाट उसको मानसिकता र दृष्टिकोण अभिव्यक्त हुन्छ । अहिले नेपालका कम्युनिस्ट नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ, उनीहरूले दशकौंदेखि भन्दै आएको महिलामुक्ति र लैंगिक समानता दस्तावेजमा सजाउनका लागि मात्र हुन् ।
केही हप्ताअघि काठमाडौंमा भएको मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दूल’ को विमोचन कार्यक्रमको प्रसंगबाट सुरु गरौं । प्रमुख अतिथि थिए नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । अनि पुस्तकको टिप्पणीकर्ता संघीय सांसद तथा नेकपा (एमाले) को केन्द्रीय सदस्य डा. विन्दा पाण्डे । पाण्डेले ‘महिलालाई नेता मान्न नसक्ने सोच पुस्तकमा झल्किएको’ एक प्रसंग उठाएकी थिइन् । पार्टीको पाँचौं महाधिवेशनको उद्घाटन कार्यक्रमको अध्यक्षता ‘पुष्पलालकी पत्नी सहाना प्रधानले गरेको’ पुस्तकमा उल्लेख हुनुले सहाना प्रधानको सर्वविदित राजनीतिक पहिचान ‘पुष्पलालकी पत्नी’ मा खुम्च्याइएकोतर्फ इंगित गर्दै ‘यो सहाना प्रधानको मात्रै हैन, राजनीतिक हिसाबबाट नागरिक अभियान सुरु गर्ने योगमायादेखि सबै महिलामाथिको दृष्टिदोष हो’ भन्ने उनको टिप्पणी थियो ।
प्रधानलाई नेपाली राजनीतिको एक जुझारु, प्रभावशाली र दृढ नेता मानिन्छ । संगठित तवरले २००४ सालमा पहिलो पटक नागरिक अधिकारको नारा लगाउने कर्मठ महिलामध्ये उनी एक थिइन् । जेलनेललगायत अनेकौं बाधा अड्चनका बाबजुद बाल्यकालदेखि नै राजनीतिमा समाहित भएकी प्रधानको बेग्लैखाले राजनीतिक अस्तित्व र परिचय स्थापित छ । अधिकांश पुरुषनेतामा समेत अभाव रहेको उच्चशिक्षा, आत्मविश्वासी चरित्र, दृढता र नेतृत्वदायी क्षमता उनको व्यक्तित्वभित्रका विशेषताहरू हुन् । पार्टीभित्र मात्र हैन, अन्तरपार्टी सञ्जालमा समेत उनको भूमिका स्वीकार्य रहन्थ्यो । २०४६ सालको जनआन्दोलनले सफलता पाउनुमा प्रधानले नेतृत्व गरेको संयुक्त वाममोर्चा र कांग्रेसबीचको गठजोडलाई प्रमुख कारण मानिन्छ । आ–आफ्ना धारबाट टसकोमस नहुने वामघटकहरू प्रधानको नेतृत्व स्वीकार्दै कांग्रेससँग मिलेर आन्दोलन गर्न तयार हुनु सहानाको समन्वयात्मक क्षमताको परिचायक पनि हो । आन्दोलनको सफलतापछि सरकारमा रहेर महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीसमेत उनले कुशलतापूर्वक निर्वाह गरेकी थिइन् ।
आफ्नो छुट्टै उच्चस्तरीय राजनीतिक पहिचान बनाएकी प्रधान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकी श्रीमती पनि हुन् । तर आफ्नै पहिचान र पार्टीमा प्राप्त राजनीतिक दायित्वका आधारमा उनले अध्यक्षताको भूमिका निर्वाह गरेकी थिइन् न कि ‘पुष्पलालको श्रीमती’ को हैसियतले । लेखनप्रति गरिएको टिप्पणीलाई मनन गर्नुको साटो मन्तव्यका क्रममा अध्यक्ष ओलीले उल्टै टिप्पणीकारतर्फ व्यङ्गवाण प्रहार गरे । ‘मदन भण्डारीले उठाउने गरेको सामाजिक न्याय, समानता र महिला अधिकारसम्बन्धी विषयवस्तु अहिलेको तहमा आइपुग्नुमा २०६३ जेठ ४ मा पुनःस्थापित संसद्मा पेस गरेको ४ बुँदे संकल्प प्रस्ताव एउटा सुखद संयोग रहेको’ तर्क ओलीले अघि सारेका थिए । तर वाक्य पूरा नहुँदै उनले ‘मदन भण्डारीको श्रीमती भन्न हुने हो कि हैन, त्यो त थाहा छैन तर उक्त प्रस्ताव पेस गर्ने विद्या भण्डारीजी मदन भण्डारीको श्रीमती हुनुहुन्छ’ भने । ओलीको त्यो झटारो टिप्पणीकार पाण्डेतर्फ लक्षित थियो । उनको भनाइलगत्तै हलभर हाँसो गुन्जाएर दर्शकदीर्घाका कार्यकर्ताहरूले ओलीको महिलाद्वैषी अभिव्यक्तिलाई थप हौस्याए ।
प्रधानजस्तै भण्डारी पनि श्रीमान्को नामले चिनिनुपर्ने व्यक्तित्व होइनन् । न भण्डारीले संसद्मा मदनको श्रीमतीका रूपमा राखेकी थिइन् । त्यो त सार्वभौम सांसदको हैसियतमा गरिएको काम थियो र त्यसलाई त्यसै रूपमा बुझ्नसक्नु सही हुन्छ । सामाजिक संरचनाकै कारण बिहेपछि राजनीतिबाट पछाडि धकेलिएकी भण्डारी मदन भण्डारीको मृत्युपछि पुनः राजनीतिक लगाम समातेकी भए पनि छोटो अन्तरालमै एमालेभित्र उनको पहिचान कुनै पुरुष नेताको भन्दा कम रहेन । राष्ट्रपति हुनुअघिसम्म एमालेको उपाध्यक्ष, अनेमसंघको अध्यक्ष र पटकपटक मन्त्री भएकी भण्डारीलाई प्रथम महिला राष्ट्रपति बन्ने चाँजो पार्टीभित्रको उनको हैसियतले जुराएको थियो । दोस्रो कार्यकालकी बहालवाला राष्ट्रपति भण्डारी विश्वप्रसिद्ध पत्रिका फोर्ब्सद्वारा २०१६ को विश्वव्यापी शक्तिशाली महिलाहरूमध्ये ५२ औं स्थानमा सूचीकृत भएकी थिइन् । राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नै चिनारी बनाइसकेकी भण्डारीले सांसदको भूमिकामा गरेको कामको प्रसंगमा ‘मदन भण्डारीको श्रीमती’ फुँदा जोडिरहनुको कुनै औचित्य थिएन । तर आफ्नै पार्टीकी सहयोद्धा तथा पुस्तकको टिप्पणीकर्ता पाण्डेको धारणाप्रति कटाक्ष गर्नकै लागि ओलीले त्यो जुक्ति निकालेका थिए, जबकि उक्त त्रुटि आफ्नो असावधानी भएको स्वीकार्दै पुस्तकका लेखकले टिप्पणीलाई सकारात्मक रूपमा लिएका थिए ।
ओली मुलुकभित्र समाजवादी भनिएको सबैभन्दा ठूलो कम्युनिस्ट दलको अध्यक्ष हुन् । समाजवादले महिला सशक्तीकरण र मुक्तिको सवाललाई आफ्नो सिद्धान्तभित्र समाहित गरेरै यहाँसम्म आएको मानिन्छ । तर, नेपालको हकमा समाजवादलाई व्यवहारमा रूपान्तरण गर्ने दायित्व बोकेका नेताहरू नै लैंगिक समवेदनशीलताबाट विमुख देखिँदै छन् । महिलाको आत्मसम्मानमा चोट पुर्याउने र हतोत्साही अभिव्यक्ति दिनेमा ओली अग्रस्थानमा छन् । नेकपा बन्दै गर्दा महिला सहभागिताको प्रसंगमा ‘ट्याउ ट्याउ गर्न पर्दैन’ भन्ने उनको अभिव्यक्ति निकै विवादित र आलोचित बनेको थियो ।
आफूले अँगालेको राजनीतिक सिद्धान्तबमोजिम महिलासम्बन्धी धारणाउपर आफ्नै पार्टीभित्रका समकक्षी महिला राजनीतिकर्मीहरूप्रति समेत यति पूर्वाग्रही छन् भने समग्र लैंगिकताको मुद्दालाई उनी कसरी हेर्छन् ? पार्टीभित्र माथिल्लो स्तरको पदाधिकारी तथा सरकारमा सहभागी हुने अवसर दिइनु नदिइनु अलग पक्ष हो । तर पाण्डे स्वयंको राजनीतिक व्यक्तित्व शीर्षस्थदेखि उच्च जुनसुकै पदहरूका कुनै पनि पुरुष नेताभन्दा कम छैन । उनले हासिल गरेको उच्च शिक्षा, सादा जीवनपद्धति, सिद्धान्तप्रतिको निष्ठा र वैचारिक स्पष्टता जस्ता कम्युनिस्ट नेताहरूमा हुनुपर्ने गुण र विशेषता भनौं वा पार्टी निर्माणमा उनको योगदान कसैको भन्दा कम छैन । वर्तमान संविधानको मौलिक हकभित्र महिला अधिकार यो रूपमा समावेश हुनुमा पाण्डेको भूमिकालाई विशेष रूपमा लिइन्छ । यति सशक्त राजनीतिक व्यक्तित्व भएका नेताहरू त महिला भएकै कारण सार्वजनिक समारोहमा आफ्नै अध्यक्षको हेलाहोचो र व्यङ्गवाण खेप्न बाध्य छन् भने समाजवादभित्रको महिलावादले कहिले साकार रूप लेला ?
पार्टी हाँक्ने नेताहरू नै महिला सवालमा सकारात्मक हुन नसक्नुको प्रभाव अन्य नेता/कार्यकर्ताहरूमा पनि प्रशस्तै देखिन्छ । तत्कालीन प्रधानमन्त्री ओलीका सञ्चार सल्लाहकार सूर्य थापाले केहीअघि सञ्चारकर्मीहरूकै अगाडि कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेको बदख्वाइँ गरे । ‘अरूका कुरा सापटी लिएर महिला अधिकारको कुरा नगर्न’ तुम्बाहाम्फेलाई सुझाव दिएको उनले सगर्व सञ्चारकर्मीलाई बताएका थिए । महिला सवालमा विद्यावारिधि गरेकी र पार्टी राजनीतिमा थापाभन्दा बढी योगदान दिएकी तुम्बाहाम्फेविरुद्ध थापाको अभिव्यक्ति कुनै हालतमा पनि जायज थिएन, अझ ‘अरूका कुरा सापटी लिएर’ भन्ने पदावली आफ्नै पार्टीका अन्य महिला नेताविरुद्ध प्रहार गर्न अघि सारेका थिए उनले । अध्ययनशील र शालीन व्यक्तित्वका रूपमा चिनिने नेता रघुजी पन्तले समेत गतवर्ष पार्टीभित्रकै महिला नेताहरूविरुद्ध अशोभनीय टिप्पणी गरेका थिए, जसका कारण माफीसमेत माग्नु परेको थियो । नेताहरूका यस्ता सिलसिला कहिलेसम्म जारी रहला ?
कम्युनिस्टमा हुनुपर्ने आचरण र संस्कारलाई नेपालका कम्युनिस्टहरूले पाखा लगाइसकेको टिप्पणी सर्वत्र हुने गरेको छ । तर लोकलाजकै कारण कम्युनिस्ट भनाउन चाहने कम्युनिस्ट नेतागणका लागि केही आधारभूत विशेषता र चरित्र अपरिहार्य ठहर्नुपर्ने हो । लैंगिकताको सवालमाथि सकारात्मक धारणा नभई कुनै व्यक्ति कसरी कम्युनिस्ट नेता ठहरिएला ? वर्गीय सँगसँगै लैंगिक विभेदजन्य लेखाइ, बोलाइ र व्यवहार जहाँसुकै देखियोस् त्यसलाई आफ्नै विवेकले गलत ठहर्याउने चेत नभएको व्यक्ति कम्युनिस्ट समर्थक हुन त योग्य नहुनुपर्नेमा त्यस्ता अभिव्यक्ति दिने नेताहरू कसरी कम्युनिस्ट भइरहेका छन् ? देशको सबैभन्दा ठूलो कम्युनिस्ट दलको अध्यक्ष र दुई पटक प्रधानमन्त्री भइसकेका ओलीले यस सवाललाई सबैभन्दा छिटो मनन गर्नु जरुरी छ । आफूलाई समाजवादी भन्न रुचाउने अरू दलका नेताहरू पनि यस सन्दर्भमा चोखा छैनन् । आफ्नो बोली र व्यवहारले आफ्नै उचाइको मापन हुनेतर्फ उच्च नेतृत्व सचेत हुन सके त्यसको सकारात्मक प्रभाव सिंगो पार्टीपंक्ति र सर्वसाधारणमा समेत पर्न सक्छ ।
प्रकाशित : कार्तिक ४, २०७८ ०७:३१