कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडितलाई हेरौं, विपत्‌लाई बुझौं

सम्पादकीय

मनसुन सकिएको साता नबित्दै आइतबारदेखि देशभर परेको लगातारको भारी वर्षाले पुर्‍याएको क्षति जति अकल्पनीय छ, जलवायु परिवर्तनले निम्त्याएको यस प्रकारको बेमौसमी विपत्ति त्यत्ति नै चिन्तनीय छ ।

पीडितलाई हेरौं, विपत्‌लाई बुझौं

त्यसैले सरकारले बाढी, पहिरो र डुबानपीडितहरूको उद्धार तथा राहत व्यवस्थाका लागि तत्काल प्रभावकारी कदम चाल्नुका अतिरिक्त भविष्यमा यस्तो विपत्तिसित जुध्ने यथोचित पहल थाल्नु पनि उत्तिकै आवश्यक छ । साथै यसबीचमा हामी कहाँ–कहाँ चुकेका कारण अहिलेको वर्षा र बाढीपहिरोले यति धेरै क्षति निम्त्यायो भन्नेबारेमा पनि उचित समीक्षा गरी भोलिका दिनमा यस्ता त्रुटि सच्याउने तत्परता देखाउनुपर्छ ।

मनसुन सकिए पनि बंगालको खाडी र मध्यभारतमा रहेको न्यून चापीय प्रणालीमा पश्चिमी वायुको बलियो प्रभाव थपिएपछि १२ वर्षयताकै भारी वर्षा भएको हो । पानी पर्ने क्रम जारी रहेकाले जोखिमपूर्ण क्षेत्रका बासिन्दाले पर्याप्त सावधानी अपनाइराख्न आवश्यक छ, यससम्बन्धी सूचना प्रणालीलगायतका विषयमा सरकारले उचित व्यवस्थापन गर्नुपर्छ । विज्ञहरूका अनुसार मनसुन सकिइसकेपछि यस्तो घटना विरलै हुन्छ । जलवायु परिवर्तनकै कारण मनसुन सकिँदा पनि बाढीजन्य विपत् निम्तिएको हो । त्यसैले मनसुन अवधिभर सञ्चालित बाढीको पूर्वसूचना सेवालाई कात्तिकसम्मै विस्तार गर्नुपर्ने पाठ यो विपत्तिले सिकाएको भन्ने विज्ञहरूको धारणा मननीय छ ।

बाढीपहिरो र डुबानमा परेर भएको क्षतिको यकिन भइसकेको छैन । बुधबार अबेरसम्मको तथ्यांकअनुसारै कम्तीमा ८८ जनाको ज्यान गएको खबर छ । बेपत्ताहरूको खोजी भइरहेकाले यो संख्या थपिइरहेको छ । डोटी, पाँचथर, इलामलगायतका जिल्लामा ठूला पहिरो गएका छन् । तराई क्षेत्रमा कैयौं घरहरू डुबेका छन् । देशकै प्रमुख बाली धान भित्र्याउने बेलामा भारी वर्षा भएकाले किसानहरू ठूलो मर्कामा परेका छन् । कतिको काटेको धान बाढीले बगाएको छ, निहिनमा बाढी पसेको छ । कति स्थानमा काट्न बाँकी धान पनि ढलेका छन् । यसबाट कैयौं किसानको मिहिनेत र अन्न–धन मात्रै खेर गएको छैन, उनीहरूलाई यो वर्ष के खाने भन्ने चिन्ताले पनि सताउन थालेको छ ।

कुल गार्हस्थ्य उत्पादनको एकचौथाइभन्दा बढी हिस्सा ओगट्ने कृषि क्षेत्रको प्रमुख बालीमा भएको यो क्षतिले देशकै अर्थतन्त्रमा असर पुग्ने निश्चित छ । सरकारले यो क्षतिको आकलन गरी यसबाट पर्न सक्ने भावी असरको मूल्यांकन गर्नुपर्छ र तदनुरूप योजना अघि सार्नुपर्छ । यस्तै, पीडित किसानहरूको समस्या सुनेर सरकारले राहत वितरण गर्नुपर्छ । विपत्ति प्रभावित सबैका लागि आवश्यक पर्ने उद्धार, राहत र पुनःस्थापनालगायत कार्यलाई सरकारले प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले मृतकको परिवारलाई राहत, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई आवासको प्रबन्ध गर्ने निर्णय गरेको छ । बुधबारै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि परिचालित हुन विपद् व्यवस्थापन परिषद्लाई निर्देशन दिएका छन् र बजेटको अभाव नहुने गरी व्यवस्था गर्न अर्थ मन्त्रालयलाई अह्राएका छन् । यी निर्णय तथा निर्देशनको उचित कार्यान्वयन हुनुपर्छ ।

जल तथा मौसम विज्ञान विभागले शुक्रबार साँझ विशेष बुलेटिन प्रकाशित गरेर सम्भावित वर्षाबारे पूर्व जानकारी गराए पनि गृह र कृषिजस्ता सम्बन्धित मन्त्रालयले नागरिकलाई सचेत बनाउन नसक्दा पनि धेरै क्षति भएको देखिन्छ । त्यसबीचमा दसैं परेकाले होस् या अरू कुनै कारणले, यति धेरै जनधनको क्षति हुने विषयमा पनि पूर्व संकेत हुँदा हुँदै आवश्यक सावधानी अपनाउन नसक्नु विडम्बनापूर्ण छ । यदि किसानहरूलाई सचेत गराउन सकेको भए या उनीहरूले धान काट्दैनथे या बाली भित्र्याइसक्थे, त्यसो हुँदा स्वाभाविक रूपमा क्षति कम हुन्थ्यो । तसर्थ, यो घटनालाई पाठ मानी अबका दिनमा मौसमसम्बन्धी सूचना वितरण र लक्षित वर्गमा त्यससम्बन्धी सचेतना वृद्धिमा पनि सरकारले ध्यान दिनुपर्छ ।

यो विपत्ले हाम्रा विकास पूर्वाधारहरूको गुणस्तरमा पनि पुनः प्रश्न उठाएको छ । बाढीपहिरोका कारण ठाउँ–ठाउँमा सडक र सञ्चार पूर्वाधारहरूमा क्षति पुगेको छ । त्यसैले सडक, तटबन्धलगायतका पूर्वाधारहरूको गुणस्तर सुधारमा सरकारले ध्यान दिनुपर्छ । जुनसुकै संरचना बनाउँदा त्यसको दिगोपनमा विचार पुर्‍याउनुपर्छ । मौसमी–बेमौसमी सबैखाले विपत्ति एक नियमित नियतिजस्तै बन्न थालिसकेकाले हाम्रा नीतिनिर्माण र नीति–कार्यान्वयनहरू अब अनिवार्य रूपमा जलवायु परिवर्तनका असरहरूलाई केन्द्रमा राखेर गरिनुपर्छ ।

जलवायु परिवर्तन निरन्तर छ, संकट गहिरिँदो छ । यसको अर्थ भोलिका दिनमा यस्ता घटना हामीले अझ बेहोर्नुपर्नेछ । यस्तो अवस्थामा अनुकूलन र जुध्ने उपाय अपरिहार्य छ । वैज्ञानिक अनुसन्धानले औद्योगिक क्रान्तियता १.१ डिग्री सेल्सियसले तापक्रम बढेको देखाएको छ । राष्ट्रसंघअन्तर्गतको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले अहिलेकै किसिमले कार्बन उत्सर्जन कायम रहे सन् २०४० अगावै विश्वको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ । यसबाट गम्भीर असर पर्नेमध्ये नेपाल अग्रपंक्तिमै पर्छ ।

अहिल्यै हिमालय क्षेत्र, हिमताल, हिमनदी पग्लिने र अनियन्त्रित डढेलो तथा आरीघोप्टे वर्षाजस्ता चरम मौसमी गतिविधि बढिरहेका छन्; विकसित मुलुकहरूले कार्बन उत्सर्जनको मात्रा नघटाएमा यो क्रम अझ बढ्नेछ । त्यसैले आउँदो कोप–२६ जस्ता विश्व सम्मेलनमा पनि नेपालले आफूले खाँदै नखाई लागेको यो विषको प्रभावबारे विश्व समुदायलाई सुनाउन र झकझक्याउन भूमिका खेल्नुपर्छ । र, मुलुकभित्र पनि जलवायु परिवर्तनलाई सदाबहार र अति आपत्कालीन चिन्ताका रूपमा ग्रहण गरी त्यहीबमोजिम योजनाहरू अघि सार्नुपर्छ ।

प्रकाशित : कार्तिक ४, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?