कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंको शुभकामना !

सम्पादकीय

यो शरदको मौसम नै उसै उत्सवमय छ । मनसुनी वर्षा सकिएको छ, दिनहरू रमाइला र घमाइला बनेका छन् । न जाडो छ न गर्मी, घाम र शीतल दुवै प्यारो लाग्ने यो याममा प्रकृतिको वातावरण नै आनन्ददायक छ । त्यसमाथि थरीथरी फूलहरू फुल्दै छन्, फलहरूमा दाना भरिँदै छन्, खेतका फाँटहरूमा धानका बालाहरू झुल्दै छन् । देशकै प्रमुख पर्वहरू यही याममा पर्नु हाम्रो प्रकृति, पर्यावरण, खेतीपाती र संस्कृतिको सुखद संयोग हो । यो खुसीको मौसममा यति बेला हामी बडादसैं मनाइरहेका छौं । मित्रता, भाइचारा, पुनर्मिलन र आपसी सम्मान–प्रेमको यस पर्वमा हामी बृहत् पारिवारिक हर्षोल्लासमा मग्न छौं । 

दसैंको शुभकामना !

त्यसो त, २०७६ पुसबाट सुरु भएको कोरोना भाइरसको महाव्याधिले यो पर्वको रौनकलाई पनि प्रभावित तुल्याएको छ । वैशाखयता मात्र ८ हजार जनाभन्दा बढीको निधन यही महामारीका कारण भएको छ, तिनका परिवार तथा प्रियजनहरू यति बेला आफन्त गुमाएको वेदनामा छन् । अर्कोतर्फ संक्रमण फैलिन सक्ने सम्भावनाका कारण सतर्कता अपनाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ । ज्यान रहे अर्थात् स्वस्थ भइराखे पर्वहरू फेरि–फेरि पनि मनाउन सकिन्छ, जीवनलाई नै जोखिममा धकेल्ने गरी चाड मान्नुको के अर्थ ! त्यसैले स्वास्थ्य सवालमा सावधान रहनुपर्ने खाँचो छ ।

गत वर्ष त यो चाड यही महामारीकै कारण झनै फिक्का–फिक्काजस्तै थियो । यसपालि कोभिड–१९ विरुद्धको खोपका कारण मानिसहरूमा आत्मविश्वास बढेकाले हुन सक्छ रौनक बढेको देखिन्छ, बजारको भीड र काठमाडौंबाट जिल्ला–जिल्लामा फर्कनेको ताँती हेर्दा यही आभास हुन्छ । तर भुल्नु हुँदैन, अहिलेसम्म करिब २० प्रतिशतले मात्र दुवै मात्रा खोप लगाउन पाएका छन् । खोप लगाउनुपर्ने जनसंख्या अझै ठूलो छ । फेरि, खोप लगाएकैले पनि स्वास्थ्य सावधानीमा हेलचेक्य्राइँ गर्नु घातक हुन सक्छ । खोप लगाई नसकेकाहरू त अझ सतर्क रहनु अपरिहार्य छ । अर्कोतर्फ, अहिले पनि दैनिक ५ सयदेखि हजार जनासम्म संक्रमित भैरहेको तथ्य पनि सम्झनुपर्छ ।

त्यसैले किनमेलका निम्ति बजार निस्कँदा होस् या दर्शनका लागि शक्तिपीठहरू पुग्दा, लिंगेपिङ, रोटेपिङजस्ता गाउँ–टोल जम्मा भएर खेलिने खेल खेल्दा होस् या टीका–जमराका लागि पारिवारिक जमघट गर्दा, हरेकले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू अनिवार्य रूपमा अपनाउनुपर्छ । ताकि यिनै क्रियाकलापहरू भोलि संक्रमण फैलाउने अवसर नबनून् । स्वास्थ्य सावधानी अपनाउन सक्यौं र संक्रमणबाट जोगियौं भने हाम्रा आगामी दिनहरू पक्कै अझ उत्सवमय बन्नेछन् । त्यही भएर, यो दसैंलाई पर्याप्त सावधानीका साथ मनाऔं ।

शताब्दीयौं पुरानो यो चाडको धार्मिक र ऐतिहासिक पक्ष आफ्नो ठाउँमा छ, यससँग जोडिएका किंवदन्तीहरूका पनि आफ्नै अर्थ छन्, तर ती सबैबाट माथि उठेर दसैं बहुसंख्यक नेपालीको लोकचाड बनेको छ । परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिने हाम्रो संस्कृति आफैंमा अनुपम छ, अन्यत्रका हिन्दुहरूले यसै अवधिमा मनाउने पर्वभन्दा फरक छ । यिनै मौलिकपन र सांस्कृतिक तथा सामाजिक विशेषताहरूकै कारण दसैं देशकै ठूलो सांस्कृतिक पर्वका रूपमा स्थापित भएको हो, जहाँ सबै नेपालीहरू आफ्नो संकट भुलेर, आपसी वैमनस्य बिर्सेर रमाउने गर्छन् ।

१५ दिनभरि मनाइने यस पर्वको आज आठौं दिन हो । घटस्थापनाका दिन घरघरमा जमरा राखी दसैं सुरु हुन्छ । नवरात्रिभर शक्तिका प्रतीक विभिन्न देवीहरूको पूजा–आराधना गरिन्छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका लगाइन्छ । देशका केही भागमा यो दिन मात्रै टीका लगाइन्छ भने कतिपय ठाउँमा यो क्रम दसैंको पन्ध्रौं दिन अर्थात् कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यस क्रममा परिवारबाहिर प्रत्यक्ष भेटघाट गर्दा तथा टीका लगाउँदा मास्क लगाउनेलगायत स्वास्थ्य सुरक्षाका नियमहरूको पालना गर्न नभुलौं । सम्भव भएसम्म टाढैबाट सुस्वास्थ्यको आशीर्वाद र आशिषमा बढी जोड दिऔं ।

रोजीरोटीका निम्ति सहर पसेका र बिदेसिएकाहरू दसैंका अवसरमा घर फर्किन्छन् । मुलुकमा लामो सार्वजनिक बिदा पनि यही समयमा हुन्छ । अहिलेसम्म चाड मनाउन कति आफ्नो गन्तव्यमा पुगिसकेका छन्, कति पुग्ने क्रममा छन् । यसरी दसैं पारिवारिक पुनर्मिलनको खास पर्वका रूपमा रहेको छ । मीठो खाने, राम्रो लाउने र रमाइलो गर्ने चलन रहेकाले यसपर्वको आर्थिक महत्त्व पनि उत्तिकै छ ।

नेपालीको यो खुसीको चाडमा सरकारका तर्फबाट भने कुनै भरथेग छैन । नागरिकहरू जसरी–तसरी तथा सकी–नसकी रमाइरहेका छन्, आ–आफ्नो परिवारमा खुसी बाँडिरहेका छन् । ‘लकडाउन’ र निषेधाज्ञाले नोकरी र आम्दानी गुमाएका नागरिकहरूलाई झनै मार पर्ने गरी बजार भाउ बढिरहँदा पनि सरकारले नियन्त्रण गर्न सकेको छैन । झन् यही बेला सार्वजनिक यातायातको भाडा पनि अचाक्ली बढेको छ । उसै त सार्वजनिक यातायातको सुलभ पहुँच छैन, त्यसमाथि यसपालि संक्रमणको जोखिम छ, त्यसैले जोकोहीले सावधानीपूर्वक यात्रा गर्न आवश्यक छ ।

जेजस्तो अवस्था भए पनि, आफ्ना सबै दुःख भुलेर नेपालीहरू दसैं मनाउँछन्, आपसमा रमाउँछन्, रमाइरहेका छन् । खालि यस क्रममा दौडादौड र भीडभाड कम गरौं, सानोतिनो जमघटमा पनि मास्क पहिरिन र व्यक्तिगत दूरी कायम राख्न नभुलौं । सानो हेलचेक्य्राइँले ठूलो जोखिम निम्त्याउन सक्छ भन्ने तथ्यको हेक्का राखौं । जोगिएर पर्व मनाऔं, ताकि हाम्रा आगामी हरेक दिन उत्सवमय भैरहोस् । बडा दसैंको पावन अवसरमा सबैलाई हाम्रो हार्दिक शुभकामना !

प्रकाशित : आश्विन २७, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?