कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक अर्थतन्त्रका सम्भावना  

ग्रामीण गाउँबस्तीमा निहित सामुदायिक अर्थतन्त्रको जगलाई बलियो बनाउनु भनेको नयाँ संसारको कल्पना गर्नु हो । नयाँ विकल्पहरूको खोजी गर्नु हो ।
भास्कर गौतम

काठमाडौँ — संसारका धेरै ठाउँमा सामुदायिक अर्थतन्त्रको बलमा अर्थ व्यवस्थालाई समुदाय र वातावरणको हितमा थप उन्नत बनाउने प्रयासहरू भइरहेका छन् । धेरै ठाउँमा ती प्रयासहरू अभियानमा परिणत हुने कोसिसमा छन् । सो अभियानको मूल नारा हो, ‘अर्थतन्त्र फिर्ता लिऔं ।’ समुदायले अर्थतन्त्र फिर्ता लिने आह्वान त गरिरहेछन्, तर लिने कसरी ?

सामुदायिक अर्थतन्त्रका सम्भावना  

सन्दर्भ नेपालकै हेरौं । मधेस, पहाड र हिमालका कतिपय ग्रामीण बस्तीहरूमा नितान्त भिन्न प्रकारका खानपान छन् । खानपान विविध हुनुको अर्थ ती गाउँका खाद्य अनुभव फरक छन् । खाद्यान्न उत्पादन गर्ने विधि, खाद्यान्न व्यवस्थापन गर्ने अभ्यास र उपभोग गर्ने तरिका पृथक् छन् । ती गाउँहरूमा निहित विविध खाद्य अभ्यास हेर्दा खाद्य व्यवस्थाको उत्पादन, भण्डारण र उपभोग एकै किसिमको छैन । समुदायमा निहित भिन्न खाद्य अभ्यासले अर्थतन्त्रको विकल्पबारे समेत प्रशस्तै संकेत दिइरहेका छन् । तर हाम्रो शोध अभ्यास र सार्वजनिक विमर्श ती विकल्पहरूलाई पहिल्याउन हच्किरहेको स्थिति छ ।

ग्रामीण बस्तीहरूमा उपलब्ध विकल्प पहिल्याउने हरेक प्रयासले स्थानविशेषमा बलियो रहेको वा रहन सक्ने सामुदायिक अर्थतन्त्रबारे गम्भीर चिन्तनको माग गर्छ । तर ‘माथि’ बाट निर्देशित सामुदायिक परिचालन, सामूहिक बचत, सामुदायिक वन, सामुदायिक विकास आदिबारे सोच्न हामी अभ्यस्त छौं । त्यसैले समुदायमै निहित अभ्यासलाई परम्परा, रूढिवाद, पछौटेपन आदि सम्झेर सजिलै खारेज गरिदिने चलन छ । आधुनिकता र पुँजीवादी अर्थतन्त्रले यही सिकाएको छ । हामीले पनि यही सिकेका छौं ।

खाद्यान्न उत्पादन गर्ने विधि, खाद्यान्न व्यवस्थापन गर्ने अभ्यास र त्यसलाई उपभोग गर्ने तौरतरिकामा भिन्नताबारे घोत्लिँदा सामुदायिक अर्थतन्त्रबारे सोच्न पुगिन्छ । ती भिन्नता त्यस्तो ग्रामीण भेगमा पाइन्छन्, जहाँ खाद्यान्न अभ्यासमा बजार पूर्णत: प्रवेश गरिसकेको छैन । बजारको उपस्थिति जहाँ कमजोर छ । अनि त्यस्ता गाउँबस्ती जहाँ खाद्य उत्पादन र व्यवस्थापन कतिपय हिसाबले पर्याप्त हुन्छ । जहाँ वस्तुको लेनदेन केवल पैसाको मोलतोलमा टिकेको छैन, समुदायका आधारभूत कामको ठूलो हिस्सा अन्नपानी र वस्तुको सहयोगले चलेको छ । जहाँ खाद्य उपभोगको समग्र अंशमा पैसाको हिस्सा ठूलो छैन; श्रमको सहयोग ज्यालामा मात्र होइन, आवश्यक पर्दा पाइने समुदायको गुहारमा चलेको छ । ती गाउँबस्ती जहाँको वातावरण मानवजातिका लागि मात्र होइन, अन्य प्राणीको हितमा समेत सम्पन्न छ । न पर्यावरणको विनाश, न प्रदूषणको पीडा ।

आधुनिक अर्थतन्त्रका जानकार र सिद्धान्तकार यी पक्षहरूबारे त्यति घोत्लिँदैनन् । उनीहरूले अर्थतन्त्रलाई मूलत: एकात्मक र निरन्तर विस्तार भइरहने प्रणालीका रूपमा मात्र बुझे । त्यस्तो एकात्मक र विस्तारवादी प्रणाली जहाँ समुदायको अवमूल्यन अनिवार्य छ । समुदायको विस्थापन अपरिहार्य छ । त्यसैले उनीहरू सामान्यत: सामुदायिक अर्थतन्त्रबारे सोच्दैनन् । बजारको प्रभाव र शक्तिको मात्र चर्चा गर्छन् ।

सामुदायिक अर्थतन्त्रबारे सोच्न सजिलो पनि छैन । किनकि समुदाय र अर्थतन्त्र आपसमा बाझिने दुई शब्द हुन् । आधुनिक अर्थशास्त्रका विद्यार्थीहरूलाई यस्तो लाग्नु झन् स्वाभाविक छ । उनीहरू परम्परागत र स्थानीय अर्थतन्त्रका अभ्यासहरू सामाजिक सम्बन्धहरूमा जेलिएको त्यति देख्दैनन् । कतिपय सन्दर्भमा देख्न चाहँदैनन् । समुदायको सांस्कृतिक र जातीय पक्षले अर्थतन्त्रलाई कसरी धानेको छ, त्यो ठम्याउँदैनन् । त्यसैले आधुनिक अर्थतन्त्रका जानकारहरू समुदायमा हुने आपसी भरथेगबारे बोल्दैनन् । न सामूहिक उन्नतिको जगजस्तै रहेको पारस्परिक सहयोगबारे केही भन्छन् । अझ यी अभ्यासहरूले स्थानविशेषको पहिचान र सम्बन्धलाई कसरी बलियो बनाएका छन्, त्यसबारे मौनप्राय: रहन्छन् ।

निरन्तर विस्तार भइरहेको पुँजीवादी अर्थतन्त्रलाई निजी उपयोगिता विस्तार गर्ने प्रणाली ठानिन्छ, जहाँ बजार विनिमयमा व्यक्तिले आफ्नो पहिचान लुकाउँदै आफूलाई जोगाउँछ । अनि अर्थतन्त्रले एकैसाथ उस्तै किसिमको संस्कृति र स्थानको निर्माण गर्छ । त्यसैले पुँजीवादी अर्थतन्त्रमा एकात्मक र विस्तारवादी चरित्र निहित छ । यस्तो अर्थ व्यवस्थाले सके सामाजिक थितिलाई दबाउँछ, नसके समुदायलाई दोस्रो दर्जाको ठान्छ । दुवै अवस्थामा समुदायमा विद्यमान व्यवस्थालाई खास किसिमको स्वरूप दिने कोसिस गर्छ । अर्थात्, पुँजीवादी अर्थतन्त्रले समुदायलाई परम्परागत र रूढिवादी सामाजिक संस्थामा सीमित बनाउँछ । अर्थतन्त्रभन्दा फरक भएकाले त्यस्ता अभ्यासहरूले आधुनिक पुँजीवादी अर्थतन्त्रको आवश्यकता र गतिशीलतालाई सम्बोधन गर्न सक्दैनन् भन्छ । यसो भन्नुको आशय हो— आधुनिक अर्थतन्त्रले चाहेअनुसारको नयाँ स्वरूप ग्रहण गर्न ग्रामीण बस्तीहरू अभिशप्त छन् ।

तर समुदायको सहारा लिनासाथ अर्थतन्त्रलाई फरक तरिकाले हेर्न सकिन्छ । समुदायको आवश्यकता र चाहनाअनुसार अर्थतन्त्रले खास आकार लिएका दृष्टान्त संसारमा धेरै छन् । त्यसैले समुदाय आफैं अर्थतन्त्रको त्यस्तो स्वरूप हुन सक्छ जुन पुँजीवादी बुझाइभन्दा फरक छ । जस्तै— दास अर्थतन्त्र वा घरधुरी अर्थतन्त्र वा वातावरणमैत्री अर्थतन्त्र । त्यसैले पुँजीवादी दृष्टिकोणभन्दा बाहिर निस्कनासाथ समुदायमा निहित विशिष्ट किसिमका अभ्यासहरूका आधारमा त्यहाँ विद्यमान आर्थिक प्रणालीलाई फरक तरिकाले ग्रहण गर्न सकिन्छ । त्यस्तो व्यवस्था जहाँ सामुदायिक र वातावरणीय स्वास्थ्य एकअर्कामा टिकेको छ ।

हामीले शोध गर्ने नयाँ विधि, तौरतरिका र अवधारणबारे घोत्लिएनौं भने समुदायमा आधारित अर्थतन्त्रका विविध पक्ष पहिल्याउन गाह्रो छ । जुन गाउँबस्तीमा खाद्यव्यवस्था पर्याप्त छ र जहाँको खाद्य उपभोगमा विशिष्टता छ, त्यहाँ समुदायले अर्थतन्त्र फिर्ता लिने अभियान सञ्चालन गर्न कठिन हुँदैन । आर्थिक प्रणालीलाई धेरै हदसम्म स्थानीय स्वामित्वमा लिने सम्भावना बढी रहन्छ । कम्तीमा निश्चित स्थानहरूमा । यसका लागि आवश्यक छ त केवल सामूहिक प्रतिबद्धताको । अनि निश्चित वैचारिकीको । तर आर्थिक अभ्यासहरूमाथि स्थानीय हकदाबी गर्दै सामुदायिक अर्थतन्त्रलाई जीवन्त बनाउन सजिलो छैन । अर्थतन्त्रबारे पुनर्विचार गर्ने कार्य सँगसँगै भयो भने मात्रै अर्थतन्त्रको स्वामित्व समुदायले लिने अभियान सम्भव छ । खास गरी ती गाउँबस्तीहरूमा जहाँ अर्थतन्त्र खास किसिमको शक्ति र संरचनामा होइन, आफैंमा निर्भर छ । यी सम्भावनाका नयाँ पत्रहरू खुल्दै गए भने अर्थतन्त्रबारे पुनर्विचार गर्ने कार्यसमेत सहज हुन्छ । किनकि अर्थतन्त्रको सम्बन्ध समुदायसँग बलियो रहेका, समुदाय गतिहीन र बहिष्कृत नरहेका स्थानहरूमा मात्र यस्तो प्रयोग हुने सम्भावना रहन्छ ।

अर्थतन्त्र फिर्ता लिने अभियानबारे सोच्दा समुदायबारे समेत पुनर्विचार गर्ने स्थिति बन्छ । विभिन्न प्रक्रिया, अभ्यास र कर्ताहरूले आर्थिक गतिविधिलाई स्थानीय स्वामित्वमा लिइरहँदा अर्थतन्त्रका सम्बन्धहरू फेरिन्छन् । आर्थिक प्रणालीका शक्ति–सम्बन्ध फेरिनासाथ अर्थतन्त्र एकात्मक र विस्तारवादी रहिरहन सक्दैन । आर्थिक विमर्श, सामाजिक संसाधन, प्रविधि एवं आर्थिक सूत्र र आँकडाहरू पुँजीवादी ढर्राको मात्र रहँदैन । अनि अर्थतन्त्रलाई समुदायभन्दा नितान्त स्वतन्त्र विश्वव्यापी रूपमा विस्तार भइरहेको एकात्मक प्रणाली मात्र ठान्ने अवस्थासमेत रहँदैन ।

विभिन्न समुदायले अर्थतन्त्रलाई आफ्नो अभियान ठान्नासाथ भिन्न प्रक्रिया, अभ्यास र कर्ताले उत्पादन र वितरणको समग्र प्रक्रियालाई धेरै किसिमले प्रभावित तुल्याउँछन् । स्थानीय कार्यले हस्तक्षेप गर्न सक्ने प्रणालीमा अर्थतन्त्र सीमित हुन्छ । पुँजीवादी अपरिहार्यताभन्दा बाहिर अर्थतन्त्रले नयाँ सम्भावनाहरू लिएर आउँछ । सम्भवत: सामुदायिक अर्थतन्त्रले त्यस्तो विविधता ल्याउन सक्छ जहाँ उत्पादनको सहकार्य, सामुदायिक सम्पत्ति, वस्तुको विनिमय आदि कार्यले नयाँ दृष्टान्त दिन्छन् । कृषक र आदिवासीको जनजीविका, वैकल्पिक खाद्य व्यवस्था तथा उत्पादन र उपभोगका अनेकौं अभ्यास बलिया हुन्छन् । सामुदायिक र वातावरणीय स्वास्थ्यका अनेकौं खाका पहिल्याउने सम्भावना रहन्छ ।

यस्ता वैकल्पिक आर्थिक अभ्यासहरूले वैकल्पिक काल्पनिकीको माग गर्छन् । त्यस्तो काल्पनिकी जहाँ अर्थतन्त्र हस्तक्षेप गर्न नसकिने विश्वव्यापी र एकाधिकारपूर्ण प्रणाली होइन, त्योभन्दा फरक अनेकौं सम्भावना बोकेको र मानवीय मूल्यमान्यताले निर्दिष्ट गर्न सकिने व्यवस्था हुन्छ । धेरै गाउँबस्तीमा अर्थतन्त्र अहिले पनि सामाजिक सम्बन्धहरूमा टिकेको छ । सौदा पूर्णत: पैसामा मात्र परिणत भएको छैन, आत्मनिर्भर र सामुदायिक उत्पादन सम्बन्धमा टिकेको छ । घरधुरी र समुदायमा आधारित श्रमले धानेको छ । ती गाउँबस्तीबाट हेर्दा राष्ट्रियकरण र औद्योगिकीकरण हुन नसकेका उद्योगधन्दा, खास व्यापारिक घरानाको निजी स्वार्थमा फैलिएका व्यापार र वित्त संस्थाहरू एवं राज्यनिर्देशित आर्थिक अभ्यासहरू सबै अर्थतन्त्रका भिन्न पक्ष मात्र हुन् ।

समुदाय सधैं परम्परा, रूढिवाद, एकात्मकता र बहिष्करणको द्योतक हुन्न । समुदायको आफ्नै सामथ्र्य हुन्छ । आमूल परिवर्तनकारी आकांक्षा र निष्ठाजन्य शक्ति हुन्छ । समुदायमा आर्थिक रचनात्मकता र नयाँनयाँ प्रयोग गर्ने विश्वास हुन्छ । यिनै विशेषताले समग्र सामुदायिक र वातावरणीय स्वास्थ्यलाई निश्चित आकार दिएका हुन्छन् । यी सबै सम्बन्ध समयअनुसार परिवर्तनसमेत भइरहँदा जीविकोपार्जनले नयाँनयाँ आधारसमेत लिन्छ । सँगै समुदायले पनि नयाँ स्वरूप ग्रहण गरिरहेको हुन्छ । यस्ता परिवर्तन मूलत: स्थानीय चरित्रका हुन्छन् । बसोबासका दृष्टिले जति नै छ्यासमिस भए पनि समुदायले खास भूगोल, सीमा र त्यहाँ बसोबास गरिरहेकाहरूलाई समेट्छ । त्यसैले समुदायको मूल अर्थ समूहमा बाँच्नु हो जहाँ व्यक्तिको सम्बन्ध मूलत: स्थानीयता, वातावरण र अर्थतन्त्रसँग विशिष्ट किसिमले गाँसिएको हुन्छ ।

त्यसैले ग्रामीण गाउँबस्तीमा निहित सामुदायिक अर्थतन्त्रको जगलाई बलियो बनाउनु भनेको नयाँ संसारको कल्पना गर्नु हो । नयाँ विकल्पहरूको खोजी गर्नु हो । यस्ता सम्भावनालाई कसरी सार्थक बनाउने भन्ने सवालमा प्रवेश गर्दा केही आधारभूत प्रश्नहरूबारे शोध, चिन्तन र बहस गर्न आवश्यक हुन्छ । जस्तै— हामी राम्रो तरिकाले कसरी बाँच्ने ? राम्रो तरिकाले बाँच्ने मानवीय आवश्यकता र स्वास्थ्यबारे सोचिरहँदा अन्य प्राणीको र पृथ्वीको स्वास्थ्यसँग हाम्रा चाहनालाई कसरी एकाकार गर्ने ? हाम्रो बाँच्ने आवश्यकता पूर्ति भएपछि रहने अतिरिक्त पुँजीलाई सामुदायिक र वातावरणीय स्वास्थ्य उन्नत बनाउन वितरणलाई कसरी व्यवस्थित गर्ने ? वस्तुको सौदाबाजीलाई विस्तार र व्यवस्थित गरिरहँदा मानवजाति र अन्य प्राणीसँगको हाम्रा नैतिक व्यवहारहरू केकस्ता बनाउने ? सामुदायिक र वातावरणीय स्वास्थ्यलाई समग्रतामा सोचिरहँदा हाम्रा उपभोगका तौरतरिकालाई कसरी स्थायी र न्यायिक बनाउने ? मानवीय र अन्य प्राणीको आवश्यकताबारे सोचिरहँदा प्राकृतिक र सांस्कृतिक समुदायलाई कसरी मिलाउने ? हाम्रो सञ्चित पुँजीलाई भावी पिँढीको समेत जीवन उन्नत बनाउन कहाँ र कसरी लगानी गर्ने ? के हामी यी सवालहरूबारे गहिरिएर नसोची पुँजीवादको एकोहोरो विरोध गर्दै तर पुँजीवादलाई नै टेवा पुर्‍याइरहन अभिशप्त छौं ?

प्रकाशित : आश्विन २४, २०७८ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?