आमाले सिकाउनुभएको नारीवाद- विचार - कान्तिपुर समाचार

आमाले सिकाउनुभएको नारीवाद

टोलछिमेकमा अझै यस्ता अभिभावकहरू बग्रेल्ती भेटिन्छन्, जसले स्कुले शिक्षापछि छोराका लागि उच्च शिक्षा र छोरीका लागि ज्वाइँको सपना देख्न थाल्छन् ।
मधु राई

‘नारीवादी हुर्काइका लागि मुरीमुरी धन्यवाद तपाईं दुवैलाई ।’ केही दिनअघि छोरीले चिमामान्डा ङ्गोजी आदिचेका दुई पुस्तकको सिरानमा यस्तो लेखेर पठाइन् ।

छोरीले नै अनुवाद गरेका, ‘वी सुड अल बी फेमिनिस्ट’ र ‘डियर इजियावेले, अर अ फेमिनिस्ट्स मेनिफेस्टो इन फिफ्टिन सजेसन्स’ का नेपाली संस्करण ‘हामी सबै नारीवादी हुनुपर्छ’ र अर्को ‘डियर इजियावेले अर्थात् नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव’ पढेपछि जानी–नजानी हामीले पनि छोराछोरीलाई केही हदसम्म नारीवादी हुनुपर्छ भनेर हुर्काएका रहेछौं भन्ने लाग्यो । छोरीबाट धन्यवाद पाएपछि म पनि आफ्नो बाल्यकाल र किशोरावस्थातिर पुगें ।

तीनताक पल्टने बुवाको अनुपस्थितिमा हामीलाई वर्षका एघार महिना घरमूली भएर साक्षर आमाले हुर्काउनुभयो । आज सम्झँदा, मुखले केही नभने पनि व्यवहारले आमाले हामी दुई दिदीबहिनीलाई नारीवादी हुनुपर्छ भन्दै हुर्काउनुभयो जस्तो लाग्छ । मभन्दा झन्डै दस वर्षपछि जन्मेका भाइलाई उहाँले कसरी हुर्काउनुभयो भन्ने म त्यति सम्झिन्नँ, तर भाइ जन्मनुअघिसम्म हामी छोरीहरूलाई आमाले ‘पढे सुख नपढे दुःख पाइन्छ है छोरी हो’ भन्दै शिक्षाको महत्त्वसमेत बुझाउनुभयो ।

घरमा काम गर्दा होस् वा खेतबारीमा, आमाको रेडियो सुन्ने बानी पनि गज्जबै थियो । सन् सत्तरीको दशकमा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीबारे समाचार सुनेपछि आमाले मलाई बेलाबेला भनिरहनुहुन्थ्यो, ‘एइ मधु, आइमाई पनि पढ्यो भने त प्रधानमन्त्री हुने रैछ । राम्ररी पढ् ।’ यस अर्थमा आमाको नारीवादसम्बन्धी व्यावहारिक सिकाइको स्रोत पक्कै पनि रेडियो र त्यसको सामग्री हुनुपर्छ, जसले उहाँलाई नारीवादी हुनुपर्छ भनेर सिकायो र छोरीहरूलाई पनि त्यसतर्फ प्रेरित गर्‍यो ।

तीनताक छोरीहरूले विरलै सर्ट–प्यान्ट लगाउँथे । आमाले हामी छोरीहरूको नारीवादी हुर्काइको सुरुआत हाम्रो पहिरनबाट थाल्नुभो । कक्षा ९ पुगेपछि मलाई सर्ट–प्यान्ट किनिदिनुभो र पछि कलेज पढ्दा पनि मैले धेरैजसो सर्ट–प्यान्ट नै लगाएँ । र आजपर्यन्त तिनै सर्ट–प्यान्ट मेरा लागि प्रिय पहिरन बनेका छन् । मभन्दा दुई वर्ष कान्छी बहिनीलाई छोराको जस्तै कपाल काटेर आमा हाफ प्यान्ट र सर्ट लगाइदिनुहुन्थ्यो ।

यसरी बाल्यकालदेखि किशोरावस्थासम्म ममा नारीवादी सोच र व्यवहारको बीजारोपण गरिदिने आमाका ती गुणहरू आज आफ्ना छोराछोरीमा प्रतिविम्बित भएको देख्दा गर्व लाग्छ । छोरीले आफूले सिकेको ज्ञान र सञ्चारको सीपमार्फत बोलेर हुन्छ कि लेखेर हुन्छ कि, नारीवादी सोचको पैरवी गर्दै आएकी छन् । पछिल्लो समय उपर्युक्त दुई पुस्तक अनुवाद गरेर छोरीले नेपाली समाजमा नारीवादी सोचलाई जनस्तरसम्म पुर्‍याउने प्रयास गरेकी छन् । वास्तवमा विभेदरहित घरपरिवार र समाज निर्माण गर्न पनि हामी सबै नारीवादी हुनुपर्छ भन्ने चिमामान्डाका दुई पुस्तक नेपाली अभिभावकका लागि पठनीय मात्र छैनन्, उनले सुझाएका ती बुँदागत भनाइहरू मनन गरी छोराछोरी हुर्काउने हो भने उनीहरूको सोच र व्यवहारमा नारीवाद झल्कन सक्छ । र उनीहरूलाई नारीवादी हुनुपर्छ भनिरहनु पनि पर्दैन ।

विडम्बना, पितृसत्तात्मक हाम्रो घरपरिवार र समाजमा अझै पनि छोरा र छोरीको हुर्काइमा विभेद गरिन्छ । टाढाको के कुरा गर्नु, हाम्रै टोलछिमेकमा अझै यस्ता अभिभावकहरू बग्रेल्ती भेटिन्छन्, जसले स्कुले शिक्षापछि छोराका लागि उच्च शिक्षा र छोरीका लागि ज्वाइँको सपना देख्न थाल्छन् । यस्ता अभिभावकले छोरीलाई पनि छोरासरह समान शिक्षा र अवसर दिनुपर्छ भनेर सोचेको देखिँदैन ।

यसरी नेपाली घरपरिवार र समाजमा पितृसत्तात्मक सोच हावी भएका कारण पनि छोरी र महिलाप्रति घरपरिवार र समाज अनुदार रहँदै आएको देखिन्छ । विशेष गरी गृहिणीहरू छोरी–बुहारीप्रतिको पुरातन सोच र व्यवहारलाई शिरोधार्य गर्न बाध्य छन् भने कतिपय शिक्षित कामकाजी महिलाहरूले समेत जानी–नजानी यस्ता सोच र व्यवहारलाई निरन्तरता दिइरहेका छन् । छोरीले पनि छोरासरह उच्च शिक्षा र अवसर पाउनुपर्छ भन्नेमा अभिभावक, विशेष गरी आमाहरू स्वयं निरीह देखिन्छन् ।

नेपालको वर्तमान शिक्षाले पनि विद्यार्थीलाई औपचारिक ज्ञान मात्रै दिने गरेको छ । यसमा शिक्षक र अभिभावकलाई मात्र दोष दिन मिल्दैन । किनभने हाम्रा शिक्षक र अभिभावकहरूको हुर्काइ पनि उस्तै र उही परिवेशमा भएकाले शिक्षकहरूले दिने गरेको शिक्षा पनि पढाइ र लेखाइमा मात्र सीमित भएको छ । यस्तो विषम परिस्थितिमा मानिसको व्यक्तित्व र व्यवहारसँग प्रत्यक्ष जोडिने नारीवादका कुराहरू एकादेशको कथाजस्तो लाग्नु स्वाभाविक हो ।

त्यसो त नारीवादका कतिपय कुरा पुरुषद्वेषी छन् भन्ने बुझाइ नेपाली समाजमा व्याप्त छ । नारीवादसम्बन्धी चर्चा–परिचर्चा पढे–लेखेका जमातहरूबीच बेलाबेला हुने गरे पनि जनस्तरसम्म यसबारे बहस वा छलफल हुन सकेको छैन । नारीवाद भनेको छोराछोरी र महिला–पुरुषका सबै क्षेत्रमा समान पहुँच हुनु हो भन्ने बुझाइको कमीले पनि यसमा विषयान्तर हुने गरेको छ । पढे–लेखेका बहुसंख्यकले अरू वादको कुरा गरे पनि नारीवादसम्बन्धी चर्चा विरलै गरेको पाइन्छ ।

त्यस्तै, समाजवादभित्र समानताको कुरा परे पनि महिला र पुरुषबीच समान व्यवहार र सबै क्षेत्रमा महिलाको पहुँच हुनुपर्ने भन्नेबारे दुर्लभै चर्चा हुने गरेको छ । बहुसंख्यक दलभित्र पुरुषवादी चिन्तन हावी भएका कारण पनि महिलाहरूको अर्थपूर्ण सहभागिता हुन सकेको छैन भन्ने कुरा बेलाबेला जनसमक्ष आउने गरेको छ ।

राजनीतिक वृत्तमा समाजवाद र पुँजीवादबारे चर्चा–परिचर्चा गर्नेहरूले नेपाली समाजमा कम्तीमा यसबारे कुरा गर्ने र बोल्ने जमात तयार गर्दै छन्, तर महिला र पुरुषबीचको समान व्यवहार र पहुँच हुनुपर्ने भनी वकालत गर्ने नारीवादको चर्चा कहीँकतै सुनिँदैन । जुन विषयमा चर्चा–परिचर्चा बढी गरिन्छ, त्यसबारे मानिसको चासो–चिन्ता बढ्छ भने नेपाली समाजमा नारीवादबारे चर्चा–परिचर्चा गर्ने व्यक्ति र समूह नहुँदा नारीवादी हुनु भनेको पुरुषद्वेषी चरित्र निर्माण गर्नु हो भन्ने बुझाइ स्थापित भएको छ ।

त्यसो त सबै महिला नारीवादी हुँदैनन् भने कतिपय पुरुष नारीवादको वकालत मात्रै गर्दैनन्, नारीवादी पनि हुन्छन् । छोरी–बुहारी र श्रीमतीप्रति नारीवादी पुरुषहरूको सकारात्मक र प्रगतिशील व्यवहारकै परिणाम भन्नुपर्छ, आज हरेक क्षेत्रमा महिलाहरूको सहभागिता उत्साहजनक छ । तथापि सहभागिताले मात्र पुग्दैन, नीतिनिर्माणकै तहमा पुग्नुपर्छ भन्ने नारीवादी सोच भएका महिला र पुरुषको संख्या पनि बढ्दै छ । हुन त, नारीवादी सोचलाई जनस्तरमा पुर्‍याउन सञ्चार माध्यमले अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन् । छापामा मात्र हैन, विद्युतीय सञ्चार माध्यमहरूमा पनि नारीवादबारे खासै चर्चा–परिचर्चा गरिँदैन । यसो हुनुको कारण हो— सञ्चारकर्मीहरूको चासो–चिन्तामा नारीवाद नपर्नु । यी र यस्ता कतिपय कारणले गर्दा पनि नारीवादसम्बन्धी आधारभूत कुराहरू जनस्तरसम्म पुग्न सकेका छैनन् ।

नारीवादी चिन्तनलाई जनस्तरसम्म पुर्‍याउन सञ्चार माध्यमहरूले संवाहकको भूमिका निर्वाह गर्न जरुरी छ । यसका लागि नारीवादसम्बन्धी कार्यक्रम प्रचार–प्रसार गर्नुका साथै बहस कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसो हुँदै गए हिंसामुक्त घरपरिवार र समाज निर्माण हुँदै जान्छ । अर्को कुरा, नारीवादसम्बन्धी पुस्तक पढ्ने र लेख्ने काम नारीवादी चिन्तन गर्ने महिलाहरूको मात्रै हो भन्ने बुझाइ गलत हो । महिला–पुरुष सबैले यस्ता पुस्तक पढ्ने र आफ्नो लेखनमा नारीवादी चिन्तनलाई मिसाउने हो भने हामीकहाँ पनि नारीवादबारेको सही बुझाइ जनस्तरसम्म पुग्छ । नारीवादी चिन्तनलाई जनस्तरसम्म पुर्‍याउन सके र सोहीअनुरूप व्यवहार गर्न सके सबै क्षेत्रमा महिलाहरूको अर्थपूर्ण सहभागिताको वातावरण तयार हुँदै जान्छ ।

प्रकाशित : आश्विन ११, २०७८ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

भीरबाट धकेल्नुअघि पनि करणी

स्वेटर, चप्पल, विषादीको बट्टा र उनको मोबाइलसमेत पुष्पालाई लडाएतिरै फालेपछि उनले ‘मरेकी छैन भने मार्ने’ भन्दै अर्को गोरेटो बाटो केही तल गई हेरेका थिए
आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ–८ दोखु चारपाटे क्षेत्रबाट शुक्रबार बिहान दूध बिक्री गर्न सदरमुकाम फुङलिङ बजार आउनेले पैदल मार्गको तल्लोपट्टि एक युवती लडिरहेको अवस्थामा देखे । शरीरको माथिल्लो भाग नाङ्गै र तल्लो भाग सुरुवाल लगाएको अवस्थामा देखिएकी ती युवतीले हलचल नगरेको देखेपछि ‘मरेको हो कि अचेत’ भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर गरे । सादा पोसाकमा प्रहरीको विशेष टोली बिहान साढे ८ बजेतिर घटनास्थल पुग्यो । बर्दीधारी टोली करिब ९ बजे घटनास्थल पुग्यो र वरिपरि रेखांकन गर्‍यो ।

घटनास्थलको अवलोकन गर्ने क्रममा शव रहेको स्थानदेखि करिब एक सय मिटरमाथि ढुंगाको पहाडमा एउटा ज्याकेट र मेटासिडको खाली बोतल फेला पार्‍यो । त्यो बोतल भेट्ने प्रहरीका अनुसार भर्खरै प्रयोग गरेको हो कि जस्तो गन्ध आइरहेको थियो । डीएसपी वालनरसिंह राणा नेतृत्वको टोलीले घटनास्थलमा जम्मा भएकालाई आलोपालो गराएर शव देखायो । कसैले पनि पहिचान गर्न सकेनन् ।

त्यसपछि फुङलिङ नगरपालिका–७ का वडाध्यक्ष राजन गुरुङको रोहबरमा शव उठाएर प्रहरीले जिल्ला अस्पतालको शवगृहमा पुर्‍यायो । त्यतिबेलासम्म एक युवती मृत भेटिएको खबर पहाडी बजारमा सनसनीपूर्ण भइसकेको थियो ।

मध्याह्नपछि पहिचान खुल्यो । ती युवती फक्ताङलुङ–३ लिंखिम घर भई फुङलिङको भानुजन माविमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया पुष्पा लिम्बू हुन् । वीरबहादुर लिम्बूकी साइँली छोरी । उनी आफ्नै दिदी र आफन्तसँग फुङलिङ बिहीबारेमा बसेर स्कुल जान थालेकी थिइन् । उनले यसै वर्षमात्रै युवा वर्ष मावि कैजलेबाट एसईई उत्तीर्ण गरेकी थिइन् ।

भानुजन माविका प्रधानाध्यापक किशोर राईका अनुसार अघिल्लो सोमबार मात्रै शिक्षा विषय लिएर पढ्न विद्यालयमा भर्ना भएकी हुन् । डाँडामा मेटासिडको बोतल भेटिएको र त्यसको तल शव भेटिएकाले प्रहरीले यतिबेलासम्म उनले आत्महत्या गरेको हुन सक्ने आकलन गरिरहेको थियो ।

डीएसपी राणा त्यो बेलाको घटनाक्रमले त्यस्तो देखिए पनि हत्या भएको हो कि भन्ने पाटोबाट पनि अनुसन्धान गरेको दाबी गर्छन् । परिवारका सदस्य पुष्पाले आत्महत्या गरेको मान्न तयार भएनन् । फुपाजु केदारजंग ताप्मादेनका अनुसार उनीहरूलाई फुङलिङ–१० फुरुम्बुका २४ वर्षीय ट्र्याक्टर चालक रामकुमार कार्कीमाथि शंका थियो । प्रहरीलाई भने पनि गम्भीरतापूर्वक लिएको जस्तो लागेन । कार्की फुङलिङबाट फुरुम्बु, लिंखिम हुँदै तापेथोकतिर ट्र्याक्टर चलाउँछन् । पुष्पासँग उनको कुरा भइरहने दिदीले सुइँको पाएकी थिइन् । त्यसका आधारमा उनीहरूले कार्कीमाथि शंका गरेका थिए । प्रहरीले चासो नदिएपछि शनिबार दिउँसो पुष्पाका बाबु, आमा, गाउँपालिका अध्यक्ष सरोज एभेङलगायतको टोली घटनास्थलमा गए, हेरे । निष्कर्ष निकाले– ‘पुष्पाको हत्या नै भएको हुनुपर्छ ।’

प्रहरीले अनुसन्धानमा ध्यान नदिएको र जबर्जस्ती आत्महत्या भन्न खोजेको भन्दै आइतबार बिहान उनीहरूले पत्रकार सम्मेलन गरे र सोमबारदेखि हडताललगायत कार्यक्रम गर्ने घोषणा गरे । यसअघि नै अपराधीको खोजी नभएसम्म पोस्टमार्टम नगर्न भनेका उनीहरूले शव नबुझ्ने बताइसकेका थिए । त्यही बिहान प्रहरीले परिवारले नै दाबी गरेका कार्की पक्राउ परेको र उनले हत्या स्वीकार गरेको जनायो ।

राणाका अनुसार आठ/नौ महिनाअघि चिनजान भएका उनीहरूबीच प्रेमसम्बन्ध भई शारीरिक सम्पर्कसमेत भएको थियो । गत शुक्रबार बिहान करिब ३ बजे कार्कीले फोन गरेर आफ्नो डेरा रहेको ठाउँ सुकेटार जाने सडकमा पुष्पालाई बोलाए । मोटरसाइकलमा राखेर वडा नम्बर ४ को सेती चौतारा पुर्‍याए । त्यहाँ करणी गरेको बयान कार्कीले प्रहरीलाई दिएका छन् । करणीपछि ‘विवाह गरौं’ भन्दा नमानेका कारण केही विवाद भएको र पुष्पाले ‘तेरो इज्जतमाथि दाग लगाइदिन्छु’ भनेपछि टाउकाको पछाडिको भागमा ढुंगाले प्रहार गरेको बताएका छन् । जमिनमा लडाएपछि ‘मलाई नमार्नु’ भन्दाभन्दै साथमा बोकेको मेटासिडको बिर्को खोलेर पुष्पाको मुखमा हालिदिएर भीरबाट धकेली झारिदिएको उनले बयान दिएको राणाले बताए ।

घटनास्थलमा स्वीटर, चप्पल, विषादीको बट्टा र उनको मोबाइलसमेत पुष्पालाई लडाएतिरै फालेपछि ‘मरेकी छैन भने मार्ने’ भन्दै कार्कीले अर्को गोरेटो बाटो केही तल गई हेरेका थिए । कोल्टे अवस्थामा सास फेरिरहेको जस्तो देखेपछि पुनः हात समाई केही तलसम्म तानी बाटोमुनि खसाई फर्किएको उनले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । त्यसपछि सुकेटारतर्फ गएका उनी त्यहाँबाट फर्किएर ग्यारेजमा गई मोटरसाइकल धोइपखाली कोठामा पुगेका थिए । घटनापछि पनि शनिबार कार्कीले ट्र्याक्टर लिएर तापेथोक गएको स्थानीयले देखेका थिए ।

प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको दाबी गरेको छ । पुष्पाको मोबाइल अहिलेसम्म फेला नपरेको र कार्कीले फालेको भनेको ठाउँमा खोजिरहेको प्रहरीले जनाएको छ । पुष्पाकी दिदीले अघिल्लो दिन बेलुका पनि आफूहरू सुत्दा बहिनी कोहीसँग बोलिरहेको बताएकी छन् । तर आफैं मर्ने वा तनावको मुडमा भने उनी थिइनन् ।

पुष्पाको आइतबार बेलुका पोस्टमार्टम भएको छ । विषसमेत खुवाइएको खुलेकाले घटनामा कार्कीबाहेक अरूको संलग्नता भए नभएको पाटो पनि प्रहरीले केलाउँदै छ । परिवारले पनि मिहिन ढंगले अनुसन्धान गर्न दबाब दिएका छन् । पोस्टमार्टम रिपोर्ट आएपछि अझ तथ्य खुल्ने डीएसपी राणाले बताए ।

प्रकाशित : आश्विन ११, २०७८ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×