रेबिजबाट जोगिन खोप अनिवार्य- विचार - कान्तिपुर समाचार

रेबिजबाट जोगिन खोप अनिवार्य

सुरेन्द्र कार्की

रेबिज मानव सभ्यताले झेल्दै आएका पुराना रोगहरूमध्ये पर्छ, तैपनि अझै यसबाट विश्वभरि बर्सेनि ५९ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको अनुमानित तथ्यांक छ । नेपालमा पनि बर्सेनि लगभग १०० जनाले रेबिजका कारण जीवन गुमाउनु परिरहेको आकलन छ । 


रेबिज पुरानो रोग भए पनि यससम्बन्धी विभिन्न हल्लाका कारण मानिस डराइरहेको पाइन्छ । तथ्यको प्रचार र गलत हल्ला कम गर्न सके रेबिजको नियन्त्रण गर्न सकिन्छ । रेबिज रोकथामका लागि पशु र मानिस दुवैका लागि प्रभावकारी खोप उपलब्ध छ । पशु सेवा विभाग मातहतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा पशुको रेबिज खोप बर्सेनि डेढ लाख हाराहारीमा उत्पादन भैरहेको छ । जनशक्ति थपे यसलाई अझ बढाउन सकिन्छ । मानिसलाई लगाउने रेबिज खोप भने आयात गरिन्छ, तर सरकारले चाहे यो पनि नेपालमै उत्पादन गर्न सकिन्छ ।

मानिसमा देखिनेमध्ये ९५ देखि ९९ प्रतिशतसम्म रेबिज बहुला कुकुरको टोकाइबाट सर्ने गर्छ । त्यसकारण घरपालुवा र भुस्याहा कुकुरहरूलाई वर्षको एकपटक रेबिज खोप लगाउन सके जोगिन सकिन्थ्यो । कुकुर, बिरालो, स्याल, फ्याउरो आदिले टोकेमा तुरुन्तै नजिकको स्वास्थ्य चौकीमा गई खोप लिनुपर्छ । आफैंले पालेको वा खोप लगाएकै कुकुरले टोके पनि स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ, अवस्थाको आकलन गरी आवश्यकताअनुसार खोप दिने/नदिने उनीहरूले निर्णय गर्छन् । संघीयस्तरमा टेकु, काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रेबिजका लागि विशेषज्ञ स्वास्थ्यकेन्द्र हो । दूरदराजमा काम गर्ने स्वास्थ्यकर्मीहरूमा रेबिज खोप प्रयोग सम्बन्धमा द्विविधा छ भने, टेकु अस्पतालका रेबिज विशेषज्ञसँग वा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका विशेषज्ञहरूसँग सोधखोज गर्न सकिन्छ ।

यदि बहुला कुकुर, बिरालो र जंगली जनावरले टोकेर रेबिजको लक्षण देखा पर्‍यो भने मृत्यु लगभग निश्चित छ, लक्षण देखा परेपछि खोपले पनि काम गर्दैन । तर, टोक्नासाथ पूरा मात्रा खोप लगाएमा बच्न सकिन्छ । रेबिजको मानिसमा देखिने प्रमुख लक्षण भनेकै पानीसँग डराउने हो । र्‍याल काढ्ने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, तनाव हुने, निल्न गाह्रो हुने, आक्रामक हुने, झम्टिने, बिस्तारै पक्षाघात हुने जस्ता लक्षण पनि देखिन्छन् । रेबिज लागेको पशुमा पनि लगभग समान लक्षण हुन्छ । रेबिज लागेपछि कुनै पशु निष्क्रिय हुन्छ त कुनै एकदमै आक्रामक, कसैमा पक्षाघात पनि देखिन्छ र केही दिनभित्र त्यो मर्छ ।

रेबिजबाट हुने मृत्यु एकदमै हृदयविदारक हुने हुँदा यस्तो अवस्था आउन दिनु हुँदैन । रेबिजबाट धेरैजसो १५ वर्षमुनिका बालबालिका प्रभावित हुन्छन् किनभने उनीहरूले कुकुरले टोके पनि अभिभावकलाई भन्न डराउने गर्छन् । त्यसैले अभिभावकहरूले आफ्ना बच्चालाई कुकुरले टोकेमा खबर गर्न सिकाउनुपर्छ ।

रेबिजबारेका भ्रमहरूका कारण सर्वसाधारण अनावश्यक त्रसित हुन्छन्, फलस्वरूप कुकुरहरूलाई विष खुवाएर वा अमानवीय तरिकाले मार्ने गरेको घटना बारम्बार सार्वजनिक भइरहेका छन् । कुकुर मानिसको साथी प्राणी हो, स्वस्थ कुकुरले रेबिज सार्ने पनि होइन । कुकुरहरूलाई मारेर मात्र रेबिज नियन्त्रण भएको उदाहरण संसारमा कतै छैन । बरु यिनीहरूलाई माया गरेर वर्षको एकपटक रेबिज खोप लगाएर सुरक्षित पार्न सकिन्छ । यसमा पालिकाको भूमिका महत्त्वपूर्ण हुन्छ, आफ्नो तहभित्रका सामुदायिक कुकुरहरूलाई खोप लगाउने दायित्व तिनले लिनुपर्छ । घरमा पालिने कुकुरको हकमा, पाल्ने मानिसले दायित्व लिनुपर्छ । विकसित देशमा झैं यहाँका पालिकाहरूले कुकुरपालकलाई कुकुर दर्ता र खोप अनिवार्य गराउनुपर्छ ।

हाम्रोमा कुकुरका छाउराछाउरीले टोक्दा रेबिज लाग्दैन भन्ने भ्रम छ, जुन गलत हो । पंक्तिकारलगायतको टोलीले केही महिनाअघि काभ्रेमा रेबिज प्रकोपका कारण दुई जनाको मृत्यु भएको घटनाको अन्वेषण गर्दा तीनमहिने छाउराको टोकाइबाट रेबिज सरेको पाइएको थियो । त्यसकारण कुकुरले टोकेमा त्यसको उमेर नहेरी खोप लिनुपर्छ । अनि रेबिज रोग नियन्त्रणका लागि सामुदायिक र भुस्याहा कुकुरहरूको संख्या नियन्त्रण गर्नुपर्छ अनि यसका लागि कुकुरहरूलाई मानवीय ढंगबाट समातेर पशु अस्पताल, क्लिनिक आदिमा अपरेसन गरी बन्ध्याकरण गर्नुपर्छ । घाउ निको भएपछि रेबिजविरुद्घको खोप र जुकाविरुद्घको सुई लगाई पहिलाकै ठाउँवरिपरि छोडिदिने उपाय बढी प्रभावकारी र स्वीकार्य हुँदै गएको छ । दीर्घकालीन रूपमा सामुदायिक र भुस्याहा कुकुरहरूको संख्या नियन्त्रणका लागि फोहोर व्यवस्थापन र यत्रतत्र सञ्चालित खुला वधशालाहरू व्यवस्थित गर्नुपर्छ ।

२१ औं शताब्दीमा पनि रेबिजजस्तो रोगबाट मानिसहरू मर्नुपर्ने विडम्बनाको अन्त्य गर्नु जरुरी छ । यसका लागि पशु स्वास्थ्य र मानव स्वास्थ्यको समन्वयमा संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यमा एक स्वास्थ्य नीतिअनुसार काम गर्नुपर्छ । यसअन्तर्गत सामुदायिक र भुस्याहा कुकुरहरूमा व्यापक खोप अभियान सञ्चालन, तिनको संख्या नियन्त्रण र समुदायमा जनचेतना जगाउने काम हुनुपर्छ । यस पालिको विश्व रेबिज दिवस (सेप्टेम्बर २८) मा पर्याप्त बजेटसहितको राष्ट्रिय रेबिज रोग नियन्त्रण अभियान चलाउन सके सन् २०३० सम्ममा कुकुरको टोकाइबाट सर्ने रेबिजबाट हुने मानिसको मृत्युलाई शून्यमा झार्ने विश्वव्यापी लक्ष्य हासिल गर्न सकिन्छ ।

(कार्की पशु चिकित्सक र इपिडेमियोलोजी विषयमा विद्यावारिधि हुन् ।)

प्रकाशित : आश्विन ११, २०७८ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार अभ्यास खेलमा ओमानसँग ७–२ को हार बेहोरेको छ । पहिलो हाफमा २–१ ले पछाडि रहेको नेपालले त्यसपछि पाँच गोल खाएको थियो ।

पहिलो हाफमा कम अनुभवी खेलाडीलाई उतारेको ओमानले दोस्रो हाफमा भने अधिकांश पहिलो रोजाइका खेलाडीलाई खेलाएको थियो । उसका लागि अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे ।

नेपालका लागि आयुष घलान र अनन्त तामाङले एक गोल गरे । ओमान फिफा वरीयताको ९०औं स्थानमा रहेको बलियो टिम हो । खेल कतारको दोहामा भएको थियो । अब नेपाली टिम सोमबार माल्दिभ्सको मालेतिर लाग्नेछ ।




प्रकाशित : आश्विन ११, २०७८ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×