लोकतान्त्रिक पद्धतिका लागि नेतृत्व परिवर्तन- विचार - कान्तिपुर समाचार

लोकतान्त्रिक पद्धतिका लागि नेतृत्व परिवर्तन

पार्टीमा आन्तरिक लोकतन्त्रबिना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन ।
कांग्रेसका भ्रातृसंस्थाहरू भताभुंग छन्, विभाग र प्रतिष्ठानमा मनपरीतन्त्र छ । महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई गुटको तुलोमा जोख्दै पाउमा धार्नी थप्ने काम गरिएको छ ।
रामचन्द्र पौडेल

नेपाली कांग्रेस अहिले चौधौं महाधिवेशनको प्रक्रियामा जुटेको छ । सैद्धान्तिक रूपमा महाधिवेशनको अर्थ नबुझ्ने त कोही नहोला, तर यक्षप्रश्न हामीले महाधिवेशनमार्फत पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरूप नीति तथा नेतृत्व र नीतिअनुरूपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं कि सकेनौं भन्ने हो ।

कानुनी औपचारिकताका निमित्त गरिने महाधिवेशनले पार्टीको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने प्रणालीको विकास गर्न सक्तैन । त्यसैले महाधिवेशनका सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान् कार्यकर्ताहरूले कांग्रेसको सिद्धान्त के हो, यी सिद्धान्तहरूलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा केकस्ता कमजोरी र सबल पक्षहरू रहे भन्नेबारे विवेचना गर्नु आवश्यक छ । अहिले कांग्रेसको अवस्था कस्तो छ र यो अवस्थाका निम्ति को–कति जिम्मेवार छ भन्नेजस्ता सैद्धान्तिक र व्यावहारिक पक्षमा पनि गहन विचार गर्नुपर्छ ।

नेपाली कांग्रेसको अवस्था

मुलुकमा लोकतन्त्रको स्थापना र रक्षाका निमित्त कांग्रेसले सधैं अग्रमोर्चामा रहेर काम गरेको छ । कांग्रेस नेपालमा लोकतान्त्रिक पद्धतिको मापदण्ड बनेको छ । तर, कांग्रेसको आफ्नै अवस्था भने लोकतन्त्रको आदर्शअनुरूप हुन सकेको देखिँदैन । निरंकुश जहानियाँ शासनविरुद्ध २००७ सालमा क्रान्ति गरेको, तानाशाही पञ्चायतविरुद्ध निरन्तर ३० वर्ष लडेको, लोकतन्त्रको पुनःस्थापनाका निमित्त २०४६ र २०६२/६३ सालका जनआन्दोलनको नेतृत्व गरेको, नयाँ संविधान जारी गर्न अगुवाइ गरेको पार्टी कांग्रेसमा अहिले आन्तरिक लोकतन्त्रको अभाव खड्किँदै छ । संसदीय निर्वाचनमा कम्युनिस्टहरूसँग हार बेहोर्नुपरेको छ । अहिले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भए पनि कांग्रेसका आदर्श, मूल्य र मान्यताअनुरूप हामीले सरकारमा उपस्थिति जनाउन सकेका छैनौं । कम्युनिस्टहरूको फुटलाई नै अवसरका रूपमा हेर्नुपर्ने अवस्था कांग्रेसका निमित्त गर्वको विषय कदापि होइन ।

लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस विधि र विधानअनुरूप चलोस् भन्ने जनअपेक्षा छ । तर, पार्टी नेतृत्वले पटकपटक विधान मिचेर, यसका व्यवस्थाहरूको ठाडो उल्लंघन गरेर त्यो अपेक्षामाथि कुठाराघात गरेको छ । महाधिवेशनभन्दा एक वर्षअघि वितरण गरिसक्नुपर्ने क्रियाशील सदस्यता महाधिवेशन ढोकैमा आइसक्दा पनि विवादित छ । भ्रातृसंस्थाहरू भताभुंग छन्, विभाग र प्रतिष्ठानमा मनपरीतन्त्र छ । महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरूलाई गुटको तुलोमा जोख्दै पाउमा धार्नी थप्ने काम गरिएको छ । नीतिनियम र विधानविपरीत हजारौं चिठी काटिएका छन् ।

राजनीतिप्रति वितृष्णा

अहिले देशको राजनीति विषम मोडमा छ । तीनचौथाइ शताब्दीदेखि लोकतन्त्रका निमित्त गरिएका संघर्षहरूले आशानुरूप परिणाम दिन सकेका छैनन् । आम मानिसमा राजनीतिप्रति नै वितृष्णा पैदा भएको छ । युवाहरू राजनीतिबाट क्रमशः पलायन हुँदै गएका छन् । आम नागरिकमा राजनीति, राजनीतिक दल र नेतृत्व वर्गप्रति सद्भाव र सम्मानभाव घट्दै गएको छ । यस्तो वितृष्णा किन पैदा भयो भन्नेबारे गहन विचार र विश्लेषण गरेर तद्नुरूप नीति तथा कार्यक्रम तय गर्न आवश्यक छ ।

आम नागरिकमा राजनीतिप्रति वितृष्णा पलाउनुको प्रमुख कारण लोकतन्त्रको संस्थागत विकास हुन नसक्नु नै हो । विगत ७५ वर्षदेखि आम नागरिक लोकतन्त्रको स्थापनार्थ र रक्षार्थ लगातार सडकमा उत्रनु परिराखेको छ । तर, लोकतन्त्र केही सीमित स्वार्थी तत्त्वहरूको हतियार भएको छ । लोकतन्त्रलाई चुनावमा सीमित गर्न खोजिएको छ र त्यही चुनाव पनि इमानदारीपूर्वक हुन सकेको छैन ।

आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो । व्यक्तिव्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थामा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कार बस्न सके मात्र लोकतन्त्र मौलाउँछ, लोकतन्त्रको जग मजबुत हुन्छ । आवधिक निर्वाचनका साथै संस्थाहरू पारदर्शी, जिम्मेवार र जवाफदेह भए मात्र लोकतन्त्र मजबुत हुन सक्छ । यसका लागि पार्टीमा आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरूको हो । त्यसैले पार्टीमा आन्तरिक लोकतन्त्रबिना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन ।

नेता बलिया, पार्टी कमजोर

आफैंले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आफैंले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ? पार्टीमा आन्तरिक लोकतन्त्रको यो प्रश्न बारबार नेपाली कांग्रेसमा उठिरहेको छ । कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन । कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनुपर्छ । विधि, पद्धति र नियम अपरिहार्य हुनुपर्छ । यसो भए मात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ । नेताको अनुकूलमा विधि–पद्धति चल्ने हैन, विधि–पद्धतिअनुकूल नेता चल्नुपर्छ । चाहे पार्टी सञ्चालनमा होस् या राज्य, व्यक्ति होइन, विचार र विधि प्रधान हुनुपर्छ ।

यस्ता कुरातर्फ गम्भीर नहुने र विधि–पद्धति आफ्ना सुविधाअनुकूल सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्तैन । अहिले नेपालमा जवाफदेहीको अभाव खड्किँदै गएको छ । जनताप्रति उत्तरदायित्वको भावनाको परित्याग भइरहेको छ । जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्नेजस्ता अवस्था उत्पन्न भैरहेका छन् । यसरी राजनीतिक क्षेत्र पंगु बन्दै जान थालेपछि, राजनीतिक संस्थाहरूमा भर पर्न नसकिने भएपछि समाधानको खोजीमा कहाँकहाँ पुग्नुपर्ने हो ? अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो ? गम्भीर प्रश्न उठिरहेका छन् ।

आज कांग्रेसलाई आफ्ना नेताहरूका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभई, मुलाहिजामा नलागी निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनुपर्छ । प्रश्न महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र होइन, यसले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने हो । कुन विचार र पद्धति स्थापित गर्छ भन्ने मुख्य चासो हो ।

अहिले नेपाली समाजलाई लोकतन्त्रीकरण गर्ने एवं लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपरिहार्य छ । समाजमा यसरी लोकतन्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुनु जरुरी छ । अर्थात्, कांग्रेस पार्टीमै आन्तरिक लोकतन्त्र र लोकतन्त्रीकरणको आवश्यकता छ । र, यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ । विचारले नै कुनै पार्टी र समाजलाई अगाडि जाने बाटो देखाउँछ । लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न पार्टीलाई रूपान्तरण गर्न सक्छ न त देशलाई नै ।

लोकतन्त्रका निमित्त थकानरहित लडाइँ

प्रथम राष्ट्रपति निर्वाचन प्रसंगमा मेरो नाम अघि सारिँदा मैले गिरिजाबाबुसँग भनेको थिएँ, ‘देशमा लोकतन्त्र अझै सुरक्षित हुन सकेको छैन । लोकतन्त्रको लडाइँ बाँकी नै देख्छु । त्यसैले म त्यो लडाइँ मैदानमै रहेर लड्न चाहन्छु ।’ नभन्दै त्यो बेलाको मेरो अन्दाज आज सही साबित भयो । लोकतन्त्रकै लागि हामीले अहिले पनि लड्नुपरेको छ । त्यो लडाइँ मैले तनहुँको बुल्दी पुल उद्घाटन काण्डदेखि लडिरहेको छु । अधिनायकवादी सोचले अघि बढेको सरकारविरुद्ध बुल्दी पुलबाट सुरु भएको लडाइँ कानुनी मैदानमा पुगेर सकिएको छ । तर, यस्ता लडाइँ फेरि पनि लड्नु नपर्ला भन्न सक्ने अवस्था देखिँदैन ।

अमेरिकी लोकतन्त्रको अहिलेसम्मको इतिहासमा कहिल्यै नभएका कामकुरा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले गरेर देखाए । सत्ता पाएपछि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद् दुईदुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुपर्‍यो । संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन । महत्त्वाकांक्षीहरूबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नुपरिरहेको छ । जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, साम–दाम–दण्ड–भेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्त्व दिने पार्टीहरूभित्रका कार्यकर्ताको बानी–व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन् ।

राम्रो काम गरेर ख्याति कमाउन नसक्नु, तिकडमको भरमा सधैं सत्तामा हावी भैरहनु घोर अलोकतान्त्रिक चरित्र हो । तेस्रो विश्वका मुलुकहरू यस्तै म्याकियाभेलियन प्रवृत्तिबाट आक्रान्त छन् । मेरो लक्ष्य भनेको यही प्रवृत्तिलाई परास्त गर्नु हो । मेरो लडाइँ यही प्रवृत्तिका विरुद्धमा छ । उमेरले अनुमति दिन्न कि भनेर विश्राम लिने अवसर मिलेकै छैन । आफ्नै करङ भाँचिने गरी प्रतिगमनविरुद्ध होमिनुपर्ने कर्तव्यको बाध्यता कायमै छ ।

महाधिवेशनको जिम्मेवारी

विषम परिस्थितिबीच हुन लागेको कांग्रेसको चौधौं महाधिवेशन देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने अवसर बन्नुपर्छ । यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ । माथिका विषयहरू निश्चय पनि महाधिवेशनअन्तर्गतका प्रक्रियामा सहभागी भइरहेका पार्टी कार्यकर्ताहरूका लागि सोचनीय छन् । गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको पनि ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्र र देशको पनि ? यी प्रश्नसमेत गम्भीर छन् ।

कुनै देशको भविष्य त्यो देशको राजनीतिक सिद्धान्त, प्रणाली र आचरणले निर्धारण गर्छ । हामी लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास राख्ने मानिस हौं । सरकार मात्र होइन, हाम्रो पार्टी पनि यही सिद्धान्तबाट निर्देशित हुनुपर्छ । तर हाम्रो पार्टीमा लोकतान्त्रिक पद्धतिको क्षयीकरण भैराखेको महसुस हुन्छ । विधानअनुरूप नचल्ने, राम्रालाई भन्दा हाम्रालाई मौका दिनेजस्ता कुराले पार्टीको साख गिराएको छ ।

लोकतन्त्रको जीवनाधार एवं जनमत अभिव्यक्तिको आधार आवधिक निर्वाचन हो । यसमा कुनै हेलचेक्य्राइँ हुनु हुँदैन । ‘कम्युनिस्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाइ नादान हो । कांग्रेस आफ्नै दूरदर्शी दृष्टिकोण, खँदिलो विचारशक्ति, संगठनकौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आकर्षित गर्ने पार्टी बन्नुपर्छ । कठोर परिश्रम तथा नैतिक र चारित्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याउने पार्टी बन्नुपर्छ । आफ्ना आदर्श र सिद्धान्त पूरा गर्न कांग्रेसलाई सुदृढ र एकताबद्ध पार्टी पंक्ति आवश्यक पर्छ । भाग्यमा भर पर्ने हैन कर्ममा विश्वास गर्ने कर्मशील कांग्रेस मेरो विश्वास हो । मिहिनेतको फल सारगर्भित हुन्छ, सर्वजन हिताय हुन्छ । लोकतन्त्र वचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ । त्यसैले काग्रेसको लोकतन्त्रीकरण हुनुपर्छ । जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ ।

अन्तमा, कुनै पनि समाजको बानी–बेहोरा र संस्कारलाई त्यो देशको नेतृत्व वर्गको संस्कारले असर पार्छ भन्नेमा म विश्वास गर्छु । जर्ज वासिङ्टन, चर्चिल, महात्मा गान्धी, मन्डेला यसका उदाहरणहरू हुन् । सत्तरी वर्षको संघर्षबाट निर्माण भएको अहिलेको बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक संसदीय प्रणालीका पनि कतिपय कमजोरी होलान् । समसामयिक सुधारका साथ यसैलाई चिरस्थायी बनाएर अघि लानुको विकल्प नेपालसँग छैन । बारम्बारको अस्थिरता र नयाँनयाँ प्रयोग अब नेपालले धान्न सक्तैन । यसैअन्तर्गत अकुण्ठित मौलिक हक, विधिको शासन र सुसभ्य समाज निर्माण हाम्रो लक्ष्य हो ।

नेपाली कांग्रेसको वर्तमान नेतृत्व पार्टीलाई क्षयीकरण गर्न उद्यत छ । निष्ठावान् कार्यकर्ताको अवमूल्यन, पार्टीको विधान र सिद्धान्तप्रति पूर्णत उदासीन, सीमित कोटरीबाट पार्टी सञ्चालन, स्वार्थी तत्त्वहरूको हालीमुहालीजस्ता कुराले गर्दा पार्टी कम्युनिस्टहरूको फुटमा रमाउनुपर्ने अवस्थामा पुगेको छ । अतः पार्टीलाई पुनर्जीवित गरी पुनः आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आगामी महाधिवेशनले नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन ।

प्रकाशित : आश्विन ११, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

आमाले सिकाउनुभएको नारीवाद

टोलछिमेकमा अझै यस्ता अभिभावकहरू बग्रेल्ती भेटिन्छन्, जसले स्कुले शिक्षापछि छोराका लागि उच्च शिक्षा र छोरीका लागि ज्वाइँको सपना देख्न थाल्छन् ।
मधु राई

‘नारीवादी हुर्काइका लागि मुरीमुरी धन्यवाद तपाईं दुवैलाई ।’ केही दिनअघि छोरीले चिमामान्डा ङ्गोजी आदिचेका दुई पुस्तकको सिरानमा यस्तो लेखेर पठाइन् ।

छोरीले नै अनुवाद गरेका, ‘वी सुड अल बी फेमिनिस्ट’ र ‘डियर इजियावेले, अर अ फेमिनिस्ट्स मेनिफेस्टो इन फिफ्टिन सजेसन्स’ का नेपाली संस्करण ‘हामी सबै नारीवादी हुनुपर्छ’ र अर्को ‘डियर इजियावेले अर्थात् नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव’ पढेपछि जानी–नजानी हामीले पनि छोराछोरीलाई केही हदसम्म नारीवादी हुनुपर्छ भनेर हुर्काएका रहेछौं भन्ने लाग्यो । छोरीबाट धन्यवाद पाएपछि म पनि आफ्नो बाल्यकाल र किशोरावस्थातिर पुगें ।

तीनताक पल्टने बुवाको अनुपस्थितिमा हामीलाई वर्षका एघार महिना घरमूली भएर साक्षर आमाले हुर्काउनुभयो । आज सम्झँदा, मुखले केही नभने पनि व्यवहारले आमाले हामी दुई दिदीबहिनीलाई नारीवादी हुनुपर्छ भन्दै हुर्काउनुभयो जस्तो लाग्छ । मभन्दा झन्डै दस वर्षपछि जन्मेका भाइलाई उहाँले कसरी हुर्काउनुभयो भन्ने म त्यति सम्झिन्नँ, तर भाइ जन्मनुअघिसम्म हामी छोरीहरूलाई आमाले ‘पढे सुख नपढे दुःख पाइन्छ है छोरी हो’ भन्दै शिक्षाको महत्त्वसमेत बुझाउनुभयो ।

घरमा काम गर्दा होस् वा खेतबारीमा, आमाको रेडियो सुन्ने बानी पनि गज्जबै थियो । सन् सत्तरीको दशकमा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीबारे समाचार सुनेपछि आमाले मलाई बेलाबेला भनिरहनुहुन्थ्यो, ‘एइ मधु, आइमाई पनि पढ्यो भने त प्रधानमन्त्री हुने रैछ । राम्ररी पढ् ।’ यस अर्थमा आमाको नारीवादसम्बन्धी व्यावहारिक सिकाइको स्रोत पक्कै पनि रेडियो र त्यसको सामग्री हुनुपर्छ, जसले उहाँलाई नारीवादी हुनुपर्छ भनेर सिकायो र छोरीहरूलाई पनि त्यसतर्फ प्रेरित गर्‍यो ।

तीनताक छोरीहरूले विरलै सर्ट–प्यान्ट लगाउँथे । आमाले हामी छोरीहरूको नारीवादी हुर्काइको सुरुआत हाम्रो पहिरनबाट थाल्नुभो । कक्षा ९ पुगेपछि मलाई सर्ट–प्यान्ट किनिदिनुभो र पछि कलेज पढ्दा पनि मैले धेरैजसो सर्ट–प्यान्ट नै लगाएँ । र आजपर्यन्त तिनै सर्ट–प्यान्ट मेरा लागि प्रिय पहिरन बनेका छन् । मभन्दा दुई वर्ष कान्छी बहिनीलाई छोराको जस्तै कपाल काटेर आमा हाफ प्यान्ट र सर्ट लगाइदिनुहुन्थ्यो ।

यसरी बाल्यकालदेखि किशोरावस्थासम्म ममा नारीवादी सोच र व्यवहारको बीजारोपण गरिदिने आमाका ती गुणहरू आज आफ्ना छोराछोरीमा प्रतिविम्बित भएको देख्दा गर्व लाग्छ । छोरीले आफूले सिकेको ज्ञान र सञ्चारको सीपमार्फत बोलेर हुन्छ कि लेखेर हुन्छ कि, नारीवादी सोचको पैरवी गर्दै आएकी छन् । पछिल्लो समय उपर्युक्त दुई पुस्तक अनुवाद गरेर छोरीले नेपाली समाजमा नारीवादी सोचलाई जनस्तरसम्म पुर्‍याउने प्रयास गरेकी छन् । वास्तवमा विभेदरहित घरपरिवार र समाज निर्माण गर्न पनि हामी सबै नारीवादी हुनुपर्छ भन्ने चिमामान्डाका दुई पुस्तक नेपाली अभिभावकका लागि पठनीय मात्र छैनन्, उनले सुझाएका ती बुँदागत भनाइहरू मनन गरी छोराछोरी हुर्काउने हो भने उनीहरूको सोच र व्यवहारमा नारीवाद झल्कन सक्छ । र उनीहरूलाई नारीवादी हुनुपर्छ भनिरहनु पनि पर्दैन ।

विडम्बना, पितृसत्तात्मक हाम्रो घरपरिवार र समाजमा अझै पनि छोरा र छोरीको हुर्काइमा विभेद गरिन्छ । टाढाको के कुरा गर्नु, हाम्रै टोलछिमेकमा अझै यस्ता अभिभावकहरू बग्रेल्ती भेटिन्छन्, जसले स्कुले शिक्षापछि छोराका लागि उच्च शिक्षा र छोरीका लागि ज्वाइँको सपना देख्न थाल्छन् । यस्ता अभिभावकले छोरीलाई पनि छोरासरह समान शिक्षा र अवसर दिनुपर्छ भनेर सोचेको देखिँदैन ।

यसरी नेपाली घरपरिवार र समाजमा पितृसत्तात्मक सोच हावी भएका कारण पनि छोरी र महिलाप्रति घरपरिवार र समाज अनुदार रहँदै आएको देखिन्छ । विशेष गरी गृहिणीहरू छोरी–बुहारीप्रतिको पुरातन सोच र व्यवहारलाई शिरोधार्य गर्न बाध्य छन् भने कतिपय शिक्षित कामकाजी महिलाहरूले समेत जानी–नजानी यस्ता सोच र व्यवहारलाई निरन्तरता दिइरहेका छन् । छोरीले पनि छोरासरह उच्च शिक्षा र अवसर पाउनुपर्छ भन्नेमा अभिभावक, विशेष गरी आमाहरू स्वयं निरीह देखिन्छन् ।

नेपालको वर्तमान शिक्षाले पनि विद्यार्थीलाई औपचारिक ज्ञान मात्रै दिने गरेको छ । यसमा शिक्षक र अभिभावकलाई मात्र दोष दिन मिल्दैन । किनभने हाम्रा शिक्षक र अभिभावकहरूको हुर्काइ पनि उस्तै र उही परिवेशमा भएकाले शिक्षकहरूले दिने गरेको शिक्षा पनि पढाइ र लेखाइमा मात्र सीमित भएको छ । यस्तो विषम परिस्थितिमा मानिसको व्यक्तित्व र व्यवहारसँग प्रत्यक्ष जोडिने नारीवादका कुराहरू एकादेशको कथाजस्तो लाग्नु स्वाभाविक हो ।

त्यसो त नारीवादका कतिपय कुरा पुरुषद्वेषी छन् भन्ने बुझाइ नेपाली समाजमा व्याप्त छ । नारीवादसम्बन्धी चर्चा–परिचर्चा पढे–लेखेका जमातहरूबीच बेलाबेला हुने गरे पनि जनस्तरसम्म यसबारे बहस वा छलफल हुन सकेको छैन । नारीवाद भनेको छोराछोरी र महिला–पुरुषका सबै क्षेत्रमा समान पहुँच हुनु हो भन्ने बुझाइको कमीले पनि यसमा विषयान्तर हुने गरेको छ । पढे–लेखेका बहुसंख्यकले अरू वादको कुरा गरे पनि नारीवादसम्बन्धी चर्चा विरलै गरेको पाइन्छ ।

त्यस्तै, समाजवादभित्र समानताको कुरा परे पनि महिला र पुरुषबीच समान व्यवहार र सबै क्षेत्रमा महिलाको पहुँच हुनुपर्ने भन्नेबारे दुर्लभै चर्चा हुने गरेको छ । बहुसंख्यक दलभित्र पुरुषवादी चिन्तन हावी भएका कारण पनि महिलाहरूको अर्थपूर्ण सहभागिता हुन सकेको छैन भन्ने कुरा बेलाबेला जनसमक्ष आउने गरेको छ ।

राजनीतिक वृत्तमा समाजवाद र पुँजीवादबारे चर्चा–परिचर्चा गर्नेहरूले नेपाली समाजमा कम्तीमा यसबारे कुरा गर्ने र बोल्ने जमात तयार गर्दै छन्, तर महिला र पुरुषबीचको समान व्यवहार र पहुँच हुनुपर्ने भनी वकालत गर्ने नारीवादको चर्चा कहीँकतै सुनिँदैन । जुन विषयमा चर्चा–परिचर्चा बढी गरिन्छ, त्यसबारे मानिसको चासो–चिन्ता बढ्छ भने नेपाली समाजमा नारीवादबारे चर्चा–परिचर्चा गर्ने व्यक्ति र समूह नहुँदा नारीवादी हुनु भनेको पुरुषद्वेषी चरित्र निर्माण गर्नु हो भन्ने बुझाइ स्थापित भएको छ ।

त्यसो त सबै महिला नारीवादी हुँदैनन् भने कतिपय पुरुष नारीवादको वकालत मात्रै गर्दैनन्, नारीवादी पनि हुन्छन् । छोरी–बुहारी र श्रीमतीप्रति नारीवादी पुरुषहरूको सकारात्मक र प्रगतिशील व्यवहारकै परिणाम भन्नुपर्छ, आज हरेक क्षेत्रमा महिलाहरूको सहभागिता उत्साहजनक छ । तथापि सहभागिताले मात्र पुग्दैन, नीतिनिर्माणकै तहमा पुग्नुपर्छ भन्ने नारीवादी सोच भएका महिला र पुरुषको संख्या पनि बढ्दै छ । हुन त, नारीवादी सोचलाई जनस्तरमा पुर्‍याउन सञ्चार माध्यमले अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन् । छापामा मात्र हैन, विद्युतीय सञ्चार माध्यमहरूमा पनि नारीवादबारे खासै चर्चा–परिचर्चा गरिँदैन । यसो हुनुको कारण हो— सञ्चारकर्मीहरूको चासो–चिन्तामा नारीवाद नपर्नु । यी र यस्ता कतिपय कारणले गर्दा पनि नारीवादसम्बन्धी आधारभूत कुराहरू जनस्तरसम्म पुग्न सकेका छैनन् ।

नारीवादी चिन्तनलाई जनस्तरसम्म पुर्‍याउन सञ्चार माध्यमहरूले संवाहकको भूमिका निर्वाह गर्न जरुरी छ । यसका लागि नारीवादसम्बन्धी कार्यक्रम प्रचार–प्रसार गर्नुका साथै बहस कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसो हुँदै गए हिंसामुक्त घरपरिवार र समाज निर्माण हुँदै जान्छ । अर्को कुरा, नारीवादसम्बन्धी पुस्तक पढ्ने र लेख्ने काम नारीवादी चिन्तन गर्ने महिलाहरूको मात्रै हो भन्ने बुझाइ गलत हो । महिला–पुरुष सबैले यस्ता पुस्तक पढ्ने र आफ्नो लेखनमा नारीवादी चिन्तनलाई मिसाउने हो भने हामीकहाँ पनि नारीवादबारेको सही बुझाइ जनस्तरसम्म पुग्छ । नारीवादी चिन्तनलाई जनस्तरसम्म पुर्‍याउन सके र सोहीअनुरूप व्यवहार गर्न सके सबै क्षेत्रमा महिलाहरूको अर्थपूर्ण सहभागिताको वातावरण तयार हुँदै जान्छ ।

प्रकाशित : आश्विन ११, २०७८ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×