कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरमा थापिएका धराप

सम्पादकीय

काठमाडौं उपत्यकाको उत्तरी बस्ती कपनको मिलनचोकमा बुधबार खुला राखिएको ढलमा एक बालक बगेर बेपत्ता हुनु कुनै सामान्य घटना मात्र होइन, यसले हाम्रो सरकारी प्रणालीको बेथिति, बेवास्ता र गैरजिम्मेवारीपनलाई एकसाथ उजागर गरेको छ । सबभन्दा दुःखद कुरा— कसैले गरेको यो लापरबाहीको सिकार एक जना बालक भएका छन् ।

सहरमा थापिएका धराप

मिलनचोकमा निर्माणाधीन एउटा ढलमा ह्युमपाइप मात्र राखेर त्यत्तिकै खुला छाडिदिँदा त्यो दुर्घटना भएको थियो । दर्केझरी परिरहेको र बाढी आएर ढलक्षेत्र जलमग्न भएको स्थितिमा ती बालक त्यही ढलभित्रै खसेका थिए । कपन क्षेत्रबाट अरू केही बालक पनि हराएकाले त्यहीँ परेको हुन सक्ने स्थानीय बासिन्दाको आशंका थप चिन्तित बनाउने किसिमको छ ।

विकासका ठूलठूला गफ गरिने हाम्रो मुलुकको राजधानी सहरमा यस किसिमका घटना बारम्बार दोहोरिनुले हामी पूर्वाधार निर्माणको व्यवस्थापनमा कति कमजोर छौं भन्नेसमेत देखाउँछ । नेपाल प्रहरीको तथ्यांकअनुसार, विगत पाँच वर्षमा काठमाडौं उपत्यकाभरि ४८ जना नागरिक सडकमा खनिएका यस्ता खाल्डाभित्र परेका छन्, जसमध्ये १४ जनाको त ज्यानै गएको छ, बाँकी घाइते भएका छन् । यो त प्रहरीको जानकारीमा आएको रेकर्ड मात्र हो, वास्तविक घटना यसभन्दा बढी भएका हुन सक्छन् । काठमाडौंबाहिरका सहरी क्षेत्रमा पनि यस्ता घटनाहरू हुने गरेका छन् । त्यसैले सहरका ज्यानमारा खाल्डाखुल्डीहरू अब सहरी सौन्दर्य बिगार्ने सामान्य समस्याका रूपमा मात्र रहेनन्, यिनले सुरक्षित जीवनयापन गर्न पाउनुपर्ने आम नागरिकको आधारभूत हकसमेत छिनिरहेका छन् र पछिल्लो समय त प्रवृत्तिजन्य रूप नै लिँदै आएका छन् । तसर्थ पनि यो सबैका निम्ति चिन्ताको विषय बन्नुपर्छ ।

काठमाडौं उपत्यका र बाहिरका थुप्रै सहरहरूलाई नियाल्ने हो भने लाग्छ— सरकारी प्रणालीले नै नागरिकविरुद्ध ठाउँ–ठाउँमा धराप थापिरहेको छ । अधिकांश अवस्थामा यसको सिकार सडकमा हिँड्ने सर्वसाधारण नागरिकहरू हुने गरेका छन् । यस्तै बेथितिका कारण सडक दुर्घटनाहरू पनि बढेका छन् । झट्ट हेर्दा यो कसैको लापरबाहीको परिणाम मात्र पनि लाग्न सक्छ, खासमा यो हामीकहाँ भइरहेको अव्यवस्थित सहरी विकासको दुष्परिणाम पनि हो ।

अहिले विकास–निर्माणका नाममा थुप्रै पूर्वाधारहरू बनाइँदै छन्, पुनर्निर्माण र मर्मतका कामहरू पनि उत्तिकै गरिँदै छन् । तर ती काम गर्दा नागरिक सुरक्षाको पाटोलाई बिलकुलै बेवास्ता गर्ने गरिएको छ । निश्चय पनि विकासका कार्यहरू रोकिनु हुन्न, यिनको गति अझ बढाउन जरुरी छ, तर विकासको नाममा नागरिकको ज्यानै जाने किसिमका लापरबाही र कमजोरी गर्ने छुट कहीँ–कसैले पाउँदैन । कुनै पनि पूर्वाधार निर्माणका क्रममा नागरिक सुरक्षाको पाटोलाई पहिलो प्राथमिकतामा राख्दै सावधानीका उपायहरू अपनाइनुपर्छ ।

अहिले सडक, ढल, खानेपानी, सिँचाइ, विद्युत्लगायत थुप्रै निकायहरूले आ–आफ्ना योजनाअनुरूप सडकक्षेत्रमा खाल्डा खन्ने, महिनौं अझ कतै त वर्षौंसम्म तिनलाई खुलै छाड्ने गरेका छन् । ती निकायहरूबीच न्यूनतम समन्वयसम्म भएको देखिन्न । एउटा निकायले खनेको खाल्डो पुर्‍यो भने पनि अर्कोले खनिहाल्ने र त्यत्तिकै छाडिदिने घटना पनि उत्तिकै भएका छन् । कतै ठेकेदारले काममा ढिलाइ गरिदिँदा पनि समस्या थपिएको छ । खोलानाला, कुलो, प्राकृतिक सम्पदा आदि मासेर पूर्वाधार बनाउँदा पनि दुर्घटना निम्तिने गरेको छ । कपनकै घटनामा पनि स्थानीय खहरेखोला मासेर ढल बनाइएको र त्यो ढललाई पनि खुलै छाडिएका कारण दुर्घटना निम्तिएको हो ।

यस्ता घटनालाई फगत दुर्घटना मात्र ठान्दै हल्काफुल्का रूपमा लिने र केही दिनमै त्यसलाई बिर्सिदिने प्रवृत्ति सबभन्दा घातक छ । कपनकै सन्दर्भमा पनि ती बालक बेपत्ता हुनुमा, जसको ज्यानसमेत गइसकेको हुन सक्छ, कुन सरकारी निकायका कुन कर्मचारी वा ठेकेदारको गल्ती कारक हो, त्यसको गहिराइमै पुगेर छानबिन गरिनुपर्छ । जो दोषी हो, उसमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ, ताकि मानवीय लापरबाहीका कारण यस्ता दुर्घटना फेरि नदोहोरिऊन् । यदि यस्ता घटनामा कसैको लापरबाहीका कारण ज्यानै गएको छ भने कतिपय विज्ञले सुझाएझैं दोषीमाथि फौजदारी अभियोगमै मुद्दा चलाएर कारबाही गरिनुपर्छ ।

नागरिकको जीवन हर्ने गरी सहरभित्र ‘धराप’ थाप्ने काममा तीनवटै तहका सरकारी निकायबाट कमी–कमजोरीहरू भइरहेका छन्, जसलाई यथाशीघ्र सुधार्न जरुरी छ । छिटो काम सक्ने, सकेपछि खाल्डाखुल्डीहरू पुरिहाल्ने, काम गरिरहेका बखत पनि पर्याप्त सावधानी अपनाउँदै संकेत चिह्न र बोर्डहरू टाँग्ने वा निर्माणथलोलाई कम्तीमा डोरीले घेरेर मात्र राख्ने हो भने पनि जोखिम निकै कम हुन सक्छ । सावधानीका न्यूनतम उपाय पनि नअपनाई लगातार हेलचेक्य्राइँ गर्नाले यस्ता घटना दोहोरिने गरेका हुन् ।

सामान्यतया कुनै पनि योजना बनाउँदा सडकमा हिँड्ने पैदलयात्रीलाई त ध्यानै दिइएको हुन्न । सडक बनाउँदा सडकपेटीको निर्माणलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्छ भन्ने चेतनाको विकास त भर्खरै हुँदै छ । त्यसैले ढलमा मान्छे ढालेर मारिएको घटना कुनै प्राविधिक त्रुटिका कारण मात्र भइरहेको छैन, यस्तो लापरबाही हुनुमा नागरिक सुरक्षालाई केन्द्रमा राखेर योजना बनाउने चलनै नहुनु सबभन्दा ठूलो कारक हो । तसर्थ सुधारको सुरुआत यसैबाट हुनुपर्छ ।

प्रकाशित : आश्विन ८, २०७८ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?