कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पढे अघि बढे

पुस्तक पढ्ने बानीले खुसी र सृजनशील बनाउँछ, स्मरणशक्ति बढाउँछ, मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न मद्दत गर्छ र निद्रा लगाउँछ । इन्टरनेटको अम्मलले मानिसलाई निद्रा नलाग्ने, बेखुसी बनाउने र डिप्रेसन हुने देखिएको छ ।
उत्तमबाबु श्रेष्ठ

१९०६ माघ ४ गते प्रधानमन्त्री जंगबहादुर राणा दलबलसहित काठमाडौं उपत्यकाबाट चिसापानी भन्ज्याङको बाटो हुँदै बेलायत यात्रामा निस्किए । यात्राको सातौं दिन उनी पटना पुगे । र, पटनाबाट गंगा नदीमा चल्ने स्टिमरमा चढेर सुन्दरवनको बाटो हुँदै ११ दिन लगाएर कलकत्ता ।

पढे अघि बढे

कलकत्तामा केही दिन आतिथ्य सत्कारमा भुलेपछि उनी र उनको दलबल ‘तीन सय फिट लामो पानी जहाज’ चढेर युरोपका लागि रवाना भए । भनिन्छ, जंगबहादुर उक्त यात्राका क्रममा बेलायतमा ८० दिन र फ्रान्समा ४० दिन बिताएर नेपाल फर्केका थिए ।

कमल दीक्षितद्वारा सम्पादित ‘जंगबहादुरको बेलाइत यात्रा’ पुस्तकमा जंगबहादुरको यात्रा विवरण सविस्तार वर्णित छ, जसमा पानीजहाजमा जंगले देखेका कुराहरूबारे यसरी लेखिएको छ, ‘जहाजमा १२ सय मानिस छन्, एक मानिस पनि बोल्दैनन्, खल्याङमल्याङ गर्दैनन्, कोही बन्दुकको तारा हान्छन्, कोही कौसीमा बसी हावा खान्छन्, कोही देशदेशका कथा शास्त्रका कुरा हेर्छन्, कोही किताप पढ्छन् ।’ करिब १७० वर्षअघिको उक्त घटनामा पश्चिमाहरूको पुस्तक पढ्ने बानीबाट जंगबहादुर चकित परेको हुनुपर्छ । सायद त्यसैले होला, उनले युरोपबाट फर्कंदा आफूसँगै पुस्तक छाप्ने छापाखाना लिएर आए ।

तर त्यति बेलाको समाजमा पढ्ने भनेको पुरेत्याइँ गर्न र सरकारी कागजात पढ्नका लागि मात्रै हो भन्ने मान्यता थियो । पुस्तक पढ्ने सामाजिक बानीको विकास त परै जाओस्, त्यसको सुरुआतसम्म नेपालमा भइसकेको थिएन । र, अझै पनि नेपालमा पठन संस्कृति गतिलो छैन ।

पढ्ने बानीको निर्माण

सिक्ने र आफूले जानेका कुराहरू आफ्ना सन्तानलाई सिकाउने गुण मानव प्रजातिकै विशिष्ट गुण हो । तथापि नयाँ कुरा सिक्नका लागि पुस्तक पढ्ने संस्कृतिको विकास भने हाम्रो उत्पत्तिका तुलनामा धेरै नै नयाँ हो । मानिसले लेखपढको सुरुआत करिब ५ हजार वर्षअघि मात्रै गरेको मानिन्छ । युरोपमा योहानेस गुटनबर्गले सन् १४४० मा छापाखानाको विकास गरेर पुस्तकलाई मेसिनमा छाप्न सक्ने बनाएपछि मात्रै आम मानिसको पहुँचमा पुस्तक पुग्यो र सँगै पढ्ने संस्कृतिको विकास भयो । त्यसकारण पठनपाठन मानवजातिको जन्मजातभन्दा पनि उसले निकैपछि विकास गरेको बानी हो । आधुनिक शिक्षाको सुरुआतसँगै बाँच्ने सीप सिक्नका लागि पनि पढ्नैपर्ने बाध्यता भएपछि यतिखेर मानवजातिका लागि उसका जन्मजात गुणहरू खानु, सुत्नु, हिँड्नु, शौच गर्नुजत्तिकै अपरिहार्य बनेको छ— पढ्नु । पुस्तक पढ्नु ।

रक्सी–चुरोट खाने र जुवातास खेल्नेजस्ता नराम्रा, नियमित व्यायाम गर्ने र तोकिएको ठाउँमा फोहोर फाल्नेजस्ता राम्रा अनि बिहानै उठेर दाँत माझ्नेजस्ता सामान्य बानीहरू जस्तै हो— मानिसको पढ्ने बानी । यस्ता कामहरूमा बानी परेपछि हामीले उक्त काम नसोचीकनै स्वतःस्फूर्त रूपमै गर्न थाल्छौं । मानव मस्तिष्कभित्र भिन्न बानीहरूका लागि पनि एउटै किसिमको आचरणजन्य र स्नायुजन्य क्रियाकलाप हुने गर्छ । मानव मस्तिष्कको सरदर तौल १३ सय ग्राम हुन्छ तर मस्तिष्क एक्लैले हाम्रो शरीरको लगभग २० प्रतिशतजति ऊर्जा (इन्धन) खपत गर्ने गर्छ । सघन ऊर्जा खपत गर्ने अंग भएकाले हाम्रो मस्तिष्कले हरेक काममा दिमाग खियाएर (बढी ऊर्जा खर्च गरेर) गर्नुभन्दा नियमित गरिने कामहरूलाई बानीका रूपमा विकास गरी स्वतःस्फूर्त रूपमा (अटोमेटिक) गर्ने गरी शरीरको ऊर्जा जोगाउन खोज्छ ।

त्यसकारण खानाबाट प्राप्त गर्ने ऊर्जालाई अनावश्यक रूपमा खेर जान नदिनका लागि मस्तिष्कले तय गर्ने छोटो बाटो (सर्टकट) हो— बानी वा लत । युरोपियन जर्नल अफ सोसियल साइकोलोजीमा प्रकाशित लेखका अनुसार, करिब ६६ दिनसम्म एउटै काम नियमित गरिरहेपछि मस्तिष्कले उक्त कामलाई बिनासोचविचार स्वतःस्फूर्त गर्न थाल्छ अर्थात् नयाँ बानीको विकास गर्छ । मानिसले दैनिक जीवनमा गर्ने लगभग ४३ प्रतिशत कामहरू यसरी नै धेरै सोचविचार नगरी स्वचालित रूपमा सञ्चालित हुन्छन् ।

‘द पावर अफ ह्याबिट : ह्वाई वी डु ह्वाट वी डु इन लाइफ एन्ड बिजनेस’ पुस्तकका लेखक चार्ल्स डुहिगका अनुसार, मान्छेमा हरेक बानी निर्माणको मनोवैज्ञानिक तरिका एकै किसिमको हुन्छ । यसलाई उनले बानीको सुर्केनी (ह्याबिट लुप) भनेका छन् । उक्त सुर्केनीमा मान्छे तीन तरिकाले बेरिन्छ । पहिलो, ‘क्यू’ वा ‘ट्रिगर’ अर्थात् संकेत जसले मस्तिष्कलाई इसारा गरेर तत्काल कुनै निर्णय लिन उक्साउँछ । जस्तो— धूमपान गर्नेलाई चुरोट देख्नासाथ खाऊँखाऊँ लाग्ने । दोस्रो, आफ्नो दिनचर्या जसलाई सम्झनासाथ मस्तिष्कले गर्ने निर्णय नैत्य अर्थात् ‘रुटिन’ । जस्तो— दिउँसो चिया खाने दिनचर्या छ भने दिउँसोको समय चियाको सम्झना हुनासाथ बनाउन थाल्ने । र तेस्रो, ‘रिवार्ड’ अर्थात् कर्मको प्रतिफल जसलाई कल्पेर पुलकित हुँदै मस्तिष्कले उक्त काम स्वतःस्फूर्त रूपमा गर्ने । जस्तो— साथीसँग रक्सी पिउँदाको आनन्द सम्झेर तत्काल जमघटमा जान तयार हुने 

स्नायु वैज्ञानिकहरूका अनुसार, मानव मस्तिष्कको ‘वेसल ग्याङ्ग्लिया’ भनिने भागमा कुनै पनि आचरणको वा लतको विकास हुन्छ । ‘सर्पको दिमाग’ भनिने मस्तिष्कको उक्त भागले भावनासँग जोडिएका कामहरू पनि गर्ने गर्छ । तर कुनै कुरालाई सोचविचार गरी विवेकपूर्ण निर्णय गर्ने जिम्मेवारी भने मस्तिष्कको अर्को भाग ‘प्रिफन्टल कर्टेक्स’ को हुन्छ । जब कुनै कार्य बानीमा परिणत हुन्छ, त्यो बेला विवेकी निर्णय लिँदा सक्रिय हुनुपर्ने मस्तिष्कको भाग प्रिफन्टल कर्टेक्स सुषुप्त भइदिन्छ अर्थात् दिमाग स्वचालित रूपमा चल्न थाल्छ । किनभने त्यसरी प्रिफन्टल कर्टेक्सलाई निष्क्रिय राख्दा मस्तिष्कले ऊर्जा बचाउन सक्छ । मस्तिष्क उद्विकासको यो गुण र लतको यही सुर्केनीमा परेर मानिस नचाहँदा–नचाहँदै कुलतमा पनि फस्न पुग्छ । तर मानविय बानी विकासको यस्तो सुर्केनी बुझेपछि असल बानी — जस्तै : दैनिक व्यायाम गर्ने, नियमित पुस्तक पढ्ने — को विकास वा प्रबलीकरण गर्न सकिन्छ भन्छन् चार्ल्स डुहिग ।

पढ्न उक्साउने संकेत र पढ्दा पाइने इनाम

पुस्तक पढ्ने बानी वा रुटिनको विकासका लागि हामीले सुरुमा दिमागलाई पढ्ने रुटिनमा लैजान ट्रिगर गर्ने कुराहरू सहजै उपलब्ध गराइदिनुपर्छ । सार्वजनिक पुस्तकालयको स्थापना, त्यसमा सहज पहुँच अनि विभिन्न स्वाद र रोजाइका पुस्तकहरूको उपलब्धता, पुस्तकका बारेमा छलफल गर्न सकिने फोरमहरू र पुस्तक क्लबहरूले मानिसको मस्तिष्कलाई पढूँपढूँ लाग्ने ‘क्यू’ दिन्छन् । उदाहरणका लागि, विश्वमै पहिलो नम्बरमा पढ्ने बानी भएको मुलुकमा फिनल्यान्डमा प्रति ६ हजार जनसंख्या बराबर एक पुस्तकालय छ । त्यहाँ ७० प्रतिशत बासिन्दा पुस्तकालयको तीन किलोमिटरवरपर र ९३ प्रतिशत बासिन्दा पुस्तकालयको दस किलोमिटरवरपर बस्ने गर्छन् । त्यहाँका नागरिक वर्षमा नौ पटक पुस्तकालय जान्छन् र पुस्तकालयबाट सोह्रवटा पाठ्य सामग्री ल्याउने गर्छन् ।

मस्तिष्कलाई पढ्ने रुटिनमा लान क्यू मात्रै होइन, पढेपछि पाइने प्रतिफल अर्थात् रिवार्डको भूमिका पनि महत्त्वपूर्ण हुन्छ । त्यसैले राम्रो बानी बसाल्न सुरुमा इनामका रूपमा पैसा, खाना वा प्रशंसा गरिदिने गर्ने चलन छ । त्यस्तो चलन विश्वमै दोस्रो नम्बरमा पढ्ने बानी भएको मुलुकमा नर्वेमा छ, जहाँ प्रतिव्यक्ति वार्षिक सरदर १५ पुस्तक पढिन्छन् । नर्वेली भाषामा पुस्तक प्रकाशन लागत महँगो हुने भएकाले राज्यले त्यहाँ विभिन्न सहुलियत — जस्तै : कर मिनाहा गर्ने, पुस्तकको स्थिर बिक्री मूल्य तोक्ने — दिएको हुन्छ । पढ्ने संस्कृति बनाउनका लागि नयाँ शीर्षकको पुस्तकका १ हजार प्रति संस्कृति विभागले किनेर पुस्तकालयहरूमा वितरण गर्ने चलन छ । आइसल्यान्ड विश्वमै तेस्रो पढैया मुलुक हुनुमा त्यहाँ पढ्नका लागि त्यहाँ प्रशस्त ट्रिगरहरू भेटिनु हो । पुस्तकहरूको देश भनिने आइसल्यान्डमा विश्वमै प्रतिव्यक्ति सबैभन्दा बढी लेखक छन् र बढी पुस्तक प्रकाशन हुन्छन् ।

नेपालमा पढ्ने बानीको विकास नहुनुको मुख्य कारण पढूँपढूँ लाग्ने उत्प्रेरक वातावरण (ट्रिगरिङ इन्भाइरोमेन्ट) र लेखपढ गर्नेलाई सकारात्मक उत्प्रेरणाको अभाव हो । पढ्न उक्साउने वातावरण बनाउनमा राज्य कति उदासीन छ भन्ने प्रमाण भूकम्पपछि तहसनहस भएका सार्वजनिक पुस्तकालयहरू अझै नबन्नु हो । यतिखेर स्थानीय निकायहरूबीच अनुत्पादक भ्युटावर, स्वागतद्वार र प्रतिमा निर्माणमा होडबाजी छ तर आफ्नो ठाँउमा सानदार पुस्तकालय बनाएर त्यसलाई एकपल्ट पुग्नैपर्ने गन्तव्यका रूपमा विकसित गर्ने सोच उनीहरूमा देखिन्न । देशका प्रधानमन्त्रीलाई मन्दिरजस्तो मध्ययुगीन संरचनामाथि अर्बौं रुपैयाँ खर्चेर जलहरी राख्ने रहर चल्छ तर ज्ञानको मन्दिर अर्थात् पुस्तकालय बनाउन कुनै उत्साह जाग्दैन । यस्तो वातावरणमा हाम्रा केटाकेटीहरूमा नयाँ बानीको विकास जे प्रचुर छ, त्यसैमा आधारित भएर नै हुने हो ।

नेपालमा अहिले प्रचुरता भएमध्येका दुई चीज हुन्— इन्टरनेट र स्मार्ट फोन । देशका लगभग ९६ प्रतिशत घरमा मोबाइल फोन छ । फोनको डाटा वा ब्रोडब्यान्डमार्फत इन्टरनेटको सुविधा ८७ प्रतिशत जनतामा पुगिसकेको छ । देशभरमा १ करोड २३ लाख फेसबुक प्रयोगकर्ता छन् । नेपालमा चलाइने इन्टरनेट ट्राफिकमध्ये गुगल र फेसबुकले देशको ८२ प्रतिशत इन्टरनेट ट्राफिक ओगट्छन् । पछिल्लो समयमा युट्युब चलाउनेको संख्या उल्लेख्य बढेको छ । एकातिर पुस्तक पढ्न उक्साउने वातावरणको अभाव र अर्कातिर डिजिटल स्क्रिनको प्रचुरता भएको अवस्थामा हाम्रा केटाकेटी हुर्कने भनेको डिजिटल कोकिन भनिने इन्टरनेट र सामाजिक सञ्जालको लत लागेर नै हो । त्यसको प्रभाव बिस्तारै देखिन थालिसकेको छ । मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सका अध्येताहरूले गरेको एक अध्ययनले काठमाडौंका ४६ प्रतिशत किशोरकिशोरी इन्टरनेटको अम्मली भएको देखाएको थियो ।

अन्त्यमा, युरोपमा आविष्कार भएको छापाखानालाई नेपाल भित्रिन ४ सय वर्ष लाग्यो तर चीनमा आविष्कार भएको सामाजिक सञ्जाल टिकटक आउन चार महिना पनि लागेन । पुस्तकालयको अभाव र इन्टरनेटको प्रचुरताले गर्दा देशमा पुस्तक पढ्ने बानीको विकास नहुँदै इन्टरनेटको अम्मलीका रूपमा देश परिणत हुने खतरा बढ्दो छ । पुस्तक पढ्ने बानीले नयाँ कुरा जानकारी दिन्छ, मानिसलाई खुसी र सृजनशील बनाउँछ, स्मरणशक्ति बढाउँछ, मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न मद्दत गर्छ र निद्रा लगाउँछ । पढ्ने मानिस अरूप्रति बढी दयालु हुने अध्ययनहरूले देखाएका छन् । तर इन्टरनेट सोसल मिडियाको बानीले मानिसलाई निद्रा नलाग्ने, बेखुसी बनाउने र डिप्रेसन हुने समस्या देखिएको छ । सामाजिक सञ्जालको प्रयोगका कारण अपराध पनि बढ्न थालेको छ । जनतालाई पुस्तकको अम्मली बनाउने कि फेसबुकको भन्ने कुरा देशमा विद्यमान सार्वजनिक पूर्वाधारहरूले पनि धेरै हदसम्म निर्धारण गर्छन् । संविधानमै समाजवाद–उन्मुख भनिएको देशमा एउटा पनि गतिलो सार्वजनिक पुस्तकालय नबनाउने त ?

प्रकाशित : भाद्र २४, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?