३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फेरि उही अध्यादेशको आत्मघाती बाटो

सम्पादकीय

जति जे गरे पनि कहिल्यै नचेत्ने र नसुध्रनेहरूका निम्ति नेपालीमा एउटा अलि कडा उखान छ, ‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रामा हाले पनि बांगाको बांगै ।’

फेरि उही अध्यादेशको आत्मघाती बाटो

खासमा मुख्य राजनीतिक दलहरूको चरित्र ठीक यस्तै छ, घरीघरी यस्तै देखिँदै छ, जो पढेर–देखेर जान्न त खोज्दै–खोज्दैनन्, आफैंलाई पर्दा पनि कसैगरी चेत्दैनन् । चेत्ने चेष्टाधरी गर्दैनन् । हुँदा–हुँदा आफू प्रतिपक्षमा छँदा जे कुरामा तीव्र विरोध गर्नुपरेको थियो, सरकारका पुगेपछि लाजै नमानी त्यही क्रिया दोहोर्‍याउनसम्म पछि पर्दैनन् । मन्त्रिपरिषद्

बैठकले मंगलबार राजनीतिक दल फुटाउन हदैसम्म सजिलो हुने गरी अध्यादेश ल्याउन सिफारिस गरेको विषय यस्तै एउटा विस्मयकारी दृष्टान्त हो । यो घटना आफू सत्तामा भएपछि जे गरे पनि हुन्छ भन्ने उही स्वेच्छाचारी शैली–प्रवृत्तिको पुनरावृत्ति तथा निरन्तरता हो । सत्तासीन भएको एक महिनामै सरकारले प्रदर्शन गरेको नैतिकताहीन राजनीतिक चेष्टाले हाम्रो संवैधानिक मर्ममाथि पुनः गम्भीर प्रहार गरेको छ । संसदीय मान्यताविपरीतको यो आत्मघाती बाटोबाट सरकार सक्दो चाँडो बाहिर निस्कनुपर्छ, र यो अध्यादेश फिर्ता लिनुपर्छ ।

संसद् छलेर अध्यादेश ल्याउने जुन रबैया सरकारले अपनायो, त्यो नै आफैंमा उदेकलाग्दो र घातक छ । आफैंले लडेर ल्याएको जनप्रतिनिधिमूलक थलोलाई पंगु बनाएर चालिएको यस कदमबाट बदनियतपूर्ण शासकीय मनोकांक्षा उजागर भएको छ । हाम्रो संविधानले जुन किसिमको राजनीतिक तथा नीतिगत स्थायित्वको परिकल्पना गरेको छ, त्यसले यति सजिलै दल फुटाउन सक्ने गरी कानुन बनाउन दिँदैन । सरकारलाई लाग्न सक्छ— यस्तो अध्यादेश ल्याउनु आजको राजनीतिक तथा वस्तुगत आवश्यकता हो । यदि त्यस्तो नै हो भने पनि अघिल्लो दिन संसद् अधिवेशन अन्त्य गरेर भोलिपल्टै अध्यादेश ल्याउने चोर बाटो समाउनु कसैगरी उचित हुन सक्दैन । सरकारलाई मनासिब नै लाग्छ भने पनि संविधानको मूल मर्म र जनभावनासित जोडिएको यस्तो कानुन संसद्मा व्यापक छलफल गरेरमात्र ल्याइनुपर्छ, अन्यथा यो सर्वथा अस्वीकार्य र खारेजयोग्य हुन्छ । महत्त्वपूर्ण विषयहरूमा यस्तो छद्म विधायनको प्रयोग गरी जनप्रतिनिधिमूलक शासन व्यवस्थालाई प्रयोजनहीन बनाउने दुष्कार्य नगर्न सर्वोच्च अदालतले आफ्ना विभिन्न फैसलाहरूमा सचेत गराएको सन्दर्भ सरकारले मनन गर्नुपर्छ ।

यहाँ भुल्नु हुँदैन अघिल्लो वर्ष वैशाखमा तत्कालीन केपी शर्मा ओली सरकारले यस्तै अध्यादेश ल्याउँदा सर्वत्र व्यापक आलोचना भएपछि त्यसलाई फिर्ता लिइएको थियो । संसदीय दल वा केन्द्रीय समितिमा दुवैतिर ४० प्रतिशत सदस्य संख्या पुर्‍याउनुपर्ने कानुनी प्रबन्धको सट्टा त्यतिबेला एउटामा मात्रै ४० प्रतिशत पुर्‍याए हुने व्यवस्था गरिएको थियो । अहिलेको अध्यादेशमा त झन् २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहे मात्रै पनि पनि दल विभाजन गर्न पाउने अझ प्रतिगामी व्यवस्था गरिएको छ । पूर्ववर्ती सरकारले गलत प्रवृत्ति देखायो भन्ने मान्यताको जगमा विकसित घटनाक्रमका आधारमा बनेको यो सरकारले पनि उस्तै प्रवृत्ति दोहोर्‍याउनु बडो विरोधाभासपूर्ण छ ।

ओली सरकारले अध्यादेश ल्याउँदा ‘आपत्तिजनक कदम र गैरजिम्मेवार प्रवृत्ति’ भन्दै विज्ञप्ति नै जारी गरेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आफू पनि सोही पथमा देखिनु चिन्ताको विषय हो । अर्को अचम्म त, त्यतिबेला ओली कदमको विरोध गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवकै उत्प्रेरणामा अहिले देउवाले यो अध्यादेश ल्याएको देखिन्छ । हाम्रा दलहरूमा यति छिट्टै देखिएको यस्तो द्वैध प्रवृत्ति मुलुकको समुन्नत राजनीतिका निम्ति सदैव बाधक बन्नेछ । यस अध्यादेशले फुटको डिलमा पुगेको एमाले विभाजनको कानुनी आधार दिने र जसपाभित्र पनि आधिकारिकता गुमाइसकेका महन्थ ठाकुरलगायतका नेताहरूलाई बाहिरिनका लागि ढोका खुल्नेछ भने यसबाट प्रधानमन्त्री देउवालाई सरकार चलाउन पनि पक्कै ‘सजिलो’ हुनेछ । तर प्रधानमन्त्रीले हमेसा ख्याल राख्नुपर्छ— सरकार शासकीय कौशलका आधारमा चलाउनुपर्छ, यस्तो छलछामको राजनीतिबाट होइन ।

सरकार बनेको एक महिना भइसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको छैन≤ कोभिड संक्रमण दर अझै उच्च छ, नियन्त्रणमा पाइला चालिएको छैन≤ जनमुखी सरकार बनेको आभास हुने कुनै काम भएकै छैन, तर आम जनतासित बिलकुल बेसरोकार रहेको बेमौसमी बाजा भने यसरी अध्यादेशमार्फत बजाइएको छ, जुन अत्यन्त अशोभनीय छ । सरकार बनेपछि अरू कुनै कामका लागि पनि नदेखाइएको हतारो अध्यादेश ल्याउन देखाइएको छ, तत्काल त यसबाट कुनै पक्षलाई राहत मिल्ला, समग्र मुलुकका लागि भने यसबाट भोलिका दिनमा दुःखद परिणाम नै निस्कनेछ । एउटा त अध्यादेशको मनलाग्दी प्रयोग अझ बढ्न सक्नेछ भने अर्को दलहरू टुट्ने–फुट्ने क्रम पनि झाँगिने निश्चित छ ।

सरकारले यस्तो अध्यादेश ल्याएर हिजो संसदीय राजनीतिमा भएका विकृति सच्याउन दलहरूले जनतासित गरेका वाचा र त्यसअनुरूप गरिएका संवैधानिक तथा कानुनी व्यवस्थाको धज्जीमात्र उडाएको छैन, मुलुकलाई उही पुरानो गन्धे–राजनीतिको बाटोमा डोर्‍याउनसमेत खोजेको छ । सत्ताको फोहोरी राजनीति अन्त्य गर्ने दलहरूको वाचा २०६२–६३ को जनआन्दोलन सफल हुनुका केही आधारमध्ये एउटा भएको यहाँ स्मरणीय छ । त्यसैअनुरूप निश्चित अवधिपश्चात् मात्रै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन पाउने, राजनीतिक स्थायित्वका निम्ति संसद्मा समानुपातिक प्रतिनिधित्वका लागि न्यूनतम सीमा (थ्रेसहोल्ड) राख्ने र दल विभाजनमा कडाइ गर्नेजस्ता संवैधानिक र कानुनी प्रबन्धहरू गरिएका हुन् ।

नागरिकको दबाब र राष्ट्रिय आवश्यकताका आधारमा इतिहासका गल्तीबाट सिकेर व्यवस्था गरिएका यस्ता नीतिगत पक्षहरूलाई सरकारले जस्केलाबाट भत्काउनु हुँदैन । यस्तो उल्टो मतिको अध्यादेशले मुलुकलाई पुनः ५० को दशकतिरको राजनीतिक किचलोको युगमा फर्काउनेछ । त्यसैले, संविधानप्रतिकूल यो अध्यादेशलाई सरकारले अविलम्ब फिर्ता लिएर संवैधानिक मर्मको रक्षा गर्नुपर्छ र आफ्नो सरकार चलाउन विधि र नीतिसम्मत बाटो अपनाउनुपर्छ । र, विधिको शासनको अवधारणालाई नै समग्रमा आफूलाई पर्दा मात्र आवाज उठाउने ‘यो त सब भन्ने कुरा न हो’ जस्तो बनाउनु हुँदैन ।

प्रकाशित : भाद्र २, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?