कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाठ्यपुस्तक हुन् कि प्रतिवेदन ?

मधु राई

कोरोनाको पहिलो लहर सुरु हुनुअघि विराटनगरकी एलिशा शर्माले कक्षा यूकेजी उत्तीर्ण गरिसकेकी थिइन् । लकडाउन खुलेपछि पनि उनले केही महिना पुरानै विद्यालयमा यूकेजी दोहोर्‍याइन् । दोस्रो लहरले गर्दा यस वर्ष पनि विद्यालय जान पाएकी छैनन् । कक्षा एकको पुरानो पुस्तक ल्याएर घरैमा पढ्न थालेकी छन् ।

पाठ्यपुस्तक हुन् कि प्रतिवेदन ?

बेलुकी अभिभावकले एलिशाका लागि दुई घण्टा ट्युसन पढाउने चाँजोपाँजो मिलाएका छन्, दिउँसो मैले उनलाई घरमा बोलाएर उति नै समय पढाउन थालेकी छु ।

अरू विषयको भन्दा पनि नेपाली र अंग्रेजी पुस्तकको मोटाइ, लम्बाइ, चौडाइलगायत यसमा समाविष्ट पाठ र अभ्यासहरू सरसर्ती हेरेपछि कसरी पढाउने भनेर म धेरै बेर असमञ्जसमा परें । झट्ट हेर्दा पुस्तकभन्दा पनि कुनै सरकारी तथा गैरसरकारी संस्थाको प्रतिवेदनजस्ता देखिने ती दुवै पुस्तक चित्त नबुझेर पसलमा जोख्न पठाएँ । जम्मा ११ वटा पाठ समाविष्ट १६७ पानाको नेपाली पुस्तक जोख्दा चार सय ग्राम भयो, यस्तै १७ युनिटअन्तर्गतका उपशीर्षकका पाठ र २२० पाना भएको अंग्रेजी पुस्तक जोख्दा ठ्याक्कै ५ सय ग्राम भयो । त्यसो त ‘मेरो सेरोफेरो’ र ‘गणित’ पुस्तकको मोटाइ, लम्बाइ र चौडाइ पनि उस्ताउस्तै थियो । तर, ती सबैको चर्चा यहाँ सम्भव छैन ।

गत वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले नयाँ ढाँचामा नेपाली, अंग्रेजीलगायत पुस्तक प्रकाशन गर्न निजी प्रकाशनहरूलाई स्वीकृति दिएपछि, सामुदायिक र निजी विद्यालयहरूले नेपाली भाषाका एकैखाले पुस्तक पढाउन थालेका छन् । केन्द्रले २०७७ असार २८ को निर्णयअनुसार शैक्षिक सत्र २०७७ देखि २०७९ सम्मका लागि उक्त पुस्तक पाठ्यसामग्रीका रूपमा स्वीकृति दिएको जानकारीसमेत गराएको छ ।

गत वर्ष उक्त पुस्तकबारे सरोकारवालहरूले कहीँ–कतै चर्चा गरेको पाइएन, यसपालि पनि स्थिति उस्तै छ । सामुदायिक विद्यालयको बालविकास कक्षा तथा निजी विद्यालयबाट पूर्वप्राथमिक तह छिचोलेका साना विद्यार्थी लक्षित, ‘प्रतिवेदन’ जस्ता देखिने यस्ता पुस्तकका लेखक तथा सम्पादकहरूले बालमनोविज्ञानलाई नजरअन्दाज गरेका छन् । कक्षा एकमा पढ्ने विद्यार्थीका मस्तिष्कले यस्ता पुस्तकका पाठ र अभ्यास कति बुझ्छन् भन्ने विषयलाई लेखक र प्रकाशनगृहले बुझेको देखिँदैन ।

‘जसरी पनि विद्यार्थीले पढ्नुपर्छ र शिक्षकले पढाउनुपर्छ’ भन्ने मानसिकताबाट निर्देशित यस्ता पुस्तक कालान्तरमा हाउगुजी बन्ने निश्चित छ । निजी विद्यालयबाट भर्खरै पूर्वप्राथमिक तह छिचोलेका विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा कनीकुथी शब्द र वाक्य पढ्न सिकेका हुन्छन्, अधिकांशले त अक्षर र मात्रासम्म खुट्याउन सक्दैनन् । यस्ता विद्यार्थीहरूका लागि मोटा पुस्तकहरू पढाउनुको कुनै अर्थ छैन ।

विद्यालय चाहे निजी होऊन् या सामुदायिक, शिक्षाको माध्यम या त अंग्रेजी हुन्छ या नेपाली । पहिले सामुदायिक विद्यालयको चर्चा गर्नु मनासिब होला, जहाँ स्थापनाकालदेखि शिक्षाको माध्यम नेपाली भाषा छ । यस्ता विद्यालयले नेपाली भाषामा पढाइरहँदा पनि जहिल्यै शिक्षाको गुणस्तर खस्कियो भन्दै सरोकारवालहरूले चासो–चिन्ता व्यक्त गरिरहन्छन् । तर, किन, कसरी खस्क्यो, खस्किँदै छ भन्ने प्रश्नको जवाफ तिनले खोजेका छैनन् । भाषाको माध्यमबाटै शिक्षा ग्रहण गर्नुपर्नेमा, त्यही भाषा ती विद्यार्थीका लागि हाउगुजी बन्छ भने, के अर्थ रह्यो र पढ्नु–पढाउनुको ?

केही समययता कतिपय सामुदायिक विद्यालयले बालविकास कक्षाका लागि भर्ना लिन थालेका छन् । बालबालिकालाई यस कक्षामा राखेर कक्षा एकका लागि तयार गरिन्छ । बालविकास कक्षा छिचोलेका सामुदायिक विद्यालयका साना विद्यार्थीहरूको उमेर र रुचिलाई विशेष ध्यान दिनु जरुरी छ । किनभने निजी विद्यालयमातहत सञ्चालित यस्ता बालविकास कक्षा तथा प्ले ग्रुप कक्षामा केही महिना या एक वर्ष बिताएका साना विद्यार्थीहरूलाई शिशु कक्षाका लागि तयार गरिन्छ र शिशु कक्षापछि पुनः दुई वर्ष अर्थात् पूर्वप्राथमिक तह छिचोलेपछि मात्रै ती कक्षा एकमा पुग्छन् ।

सामुदायिकको तुलनामा कतिपय निजी विद्यालयले सञ्चालन गरेको बालविकास कक्षा वा मन्टेसोरीमा साना विद्यार्थीहरूलाई लेख्न–पढ्नभन्दा पनि सर्वांगीण विकास गराउन अतिरिक्त क्रियाकलाप गराइन्छ । यस्ता क्रियाकलापअन्तर्गत बोलीको विकास गराउन केही समय बालगीत गाउन सिकाइन्छ । अक्षर लेखाउनुअघि धर्साहरू कोर्न र चित्रहरूमा रंग भर्न सिकाइन्छ । यस्ता क्रियाकलापपछि बल्ल अक्षर कोर्ने आधारभूत सीप सिक्छन् ती विद्यार्थीहरूले । यसपछि ती विद्यार्थीहरू शिशु कक्षामा पुग्छन्, जहाँ एक वर्ष लगाएर अंग्रेजी, नेपाली र गणितका साउँअक्षर र अंक लेख्न, पढ्न र चिन्न सिक्छन् । यसरी एक वर्ष शिशु कक्षामा बिताएका ती विद्यार्थीहरूले एलकेजी पुगेपछि नेपाली र अंग्रेजी भाषाका सामान्य शब्द लेख्न र पढ्न सिक्छन्, अनि यूकेजी पुगेपछि वाक्य बनाउन र पढ्न सक्छन् ।

कतिपय पूर्वप्राथमिक तहका विद्यार्थीहरूलाई शिशु कक्षादेखि नै बालचित्रकथाका पुस्तकहरू हेर्न दिँदा उनीहरूले आफूले सिक्दै गरेका अक्षर र शब्द खोज्न सिक्छन् । अभिभावकहरूले यस्ता बालचित्रकथाका पुस्तकहरू नियमित पढेर सुनाउँदा बालबालिकामा कथा सुन्ने बानीको विकास हुन्छ, पछि उनीहरूमा पढ्ने अभिरुचि पनि जाग्छ । तर, हाम्रोमा धेरै बालबालिकाले यस्ता पुस्तकहरू पाएका छैनन् ।

भाषासिकाइको वैज्ञानिक र सहज आधारभूत शिक्षणलाई नजरअन्दाज गरी पाठ्यक्रम विकास केन्द्रले तयार गरेका पुस्तकहरू अव्यावहारिक र अवैज्ञानिक छन् । ती पुस्तकका पाठ र अभ्यासहरू सरसर्ती हेर्दा सबै मात्रा मिसिएका शब्द र वाक्य कसरी पढ्ने र पढाउने भन्नेबारे विद्यार्थी र शिक्षकहरू अलमलमा पर्छन् । साना विद्यार्थीहरूलाई नेपाली र अंग्रेजी भाषाका साउँअक्षर चिनाइसकेपछि बल्ल मात्राबारे ज्ञान दिनुपर्ने हुन्छ । यसरी सबै मात्रा चिनाइसकेपछि बल्ल उनीहरूलाई मिश्रित मात्रा मिसिएका शब्द र वाक्य गठन गर्न सिकाउनुपर्ने हुन्छ ।

यसै पनि निजी विद्यालयका विद्यार्थीलाई नेपाली भाषाका साउँअक्षर र मात्रा चिनाउन धेरै समय लाग्छ । सामुदायिकका बालविकास कक्षा छिचोलेका साना विद्यार्थीहरूले साउँअक्षर राम्ररी चिनी नसकी कक्षा एकमा भर्ना हुन्छन् । यसो हुँदा, नेपाली र अंग्रेजी भाषा सिकाइको प्रारम्भिक चरण दुवै थरी विद्यालयका विद्यार्थीहरूलाई असहज पनि देखिन्छ । नेपाली भाषाको शिक्षणसिकाइको अवैज्ञानिक सुरुआतको दूरगामी र नकारात्मक प्रभाव विद्यार्थीको समग्र सिकाइमा पर्छ भन्ने वास्तविकतालाई सरोकारवालाहरूले आत्मसात् गरेको देखिँदैन । यी र यस्ता कतिपय कारण भाषासिकाइको वैज्ञानिक र सहज सिकाइ हुन सकेको छैन । यसलाई वैज्ञानिक र सहज बनाउन शिक्षाविद्लगायत सरोकारवालहरूले प्रतिवेदनजस्ता देखिने पाठ्यपुस्तकबारे बहस गर्नु जरुरी छ ।

प्रकाशित : श्रावण २९, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?