कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिम्रो स्वतन्त्रता, हाम्रो स्वतन्त्रता

हामी राजनीतिक स्तरका कुरा कूटनीतिमा गाँस्छौं र कूटनीतिक विषयलाई राजनीतिक खपतका लागि प्रयोग गर्छौं ।
चन्द्रकिशोर

नेपाल–भारत सम्बन्ध दुई राज्यको सम्बन्ध हो, तर राज्यको सम्बन्ध भन्दाभन्दै पनि त्यसको निरन्तरताको कडी जनता हो । दुइटै राज्यले आधुनिक स्वरूप ग्रहण गर्नुभन्दा अगाडिदेखिको सम्बन्ध हो यो । नेपाल–भारत सम्बन्ध शासकहरूको स्वार्थबाट निर्देशित भइरहेको छ कि जनताको आकांक्षालाई केन्द्रविन्दुमा राखेर अघि लम्किँदै छ ?

तिम्रो स्वतन्त्रता, हाम्रो स्वतन्त्रता

नेपाल–भारत सम्बन्धको इतिहास यस्तो छ जहाँ जहिले पनि राज्य र जनतालाई हेर्ने नाउँमा शासकहरूलाई हेर्ने परिपाटी बस्यो । यही कारण ‘रोटी–बेटी’ सम्बन्धको जयजयकारबीच जहिले पनि अलमल र बाधा–अड्चन देखिन्छ । नेपाल–भारत सम्बन्ध प्रायः पारस्परिक हार्दिकता, सामञ्जस्य र सहयोगको सरलरेखामा हिँड्ने गरेको छैन । बेलाबखत शासकहरूले अंकमाल गरेका दृश्यहरू हेर्दाहेर्दै पुस्तौं बिते पनि सम्बन्धको गर्भनाल शासक कि जनता भन्ने प्रश्न जहाँको तहीँ छ ।

नेपालसँग भारतको कस्तो ऐतिहासिक सम्बन्ध छ, त्यो बताइरहनुपर्दैन । तर पनि नेपाल पक्षमा आशंका र द्विविधा रहिरहेकै छ । स्वतन्त्र भारतका शासकहरूले आफूलाई ब्रिटिस भारतका उत्तराधिकारीको मानसमा राख्न खोजे र त्यसैलाई राज्य सम्बन्धको निरन्तरता ठाने । तर राज्य–राज्य सम्बन्धमा केही आधारभूत मान्यताहरू हुने गर्छन् र त्यो यी दुई अभिन्न छिमेकीको जनसम्बन्धमार्फत परिभाषित भइराख्नुपर्थ्यो । नेपाल र भारतको जनस्वार्थ उस्तैउस्तै छ भन्ने सत्य न विगतमा नेपालले भारतलाई प्रस्टताका साथ बुझाउन सक्यो, न भारतले नै बुझ्न सक्यो । अभाव, गरिबी, पछौटेपन, अन्धविश्वास, प्राकृतिक प्रकोपजस्ता समस्या समान छन् । दुवै मुलुक यस्ता समस्याहरूबाट मुक्तिका लागि अनेकौं आन्तरिक प्रयोग गर्दै आआफ्ना स्तरमा सफलताको सिँढी उक्लिँदै छन् । तर नेपाल आफ्नो राजनीतिक स्थिरताबाट मात्रै भारतको जनहितमा सहयोगी बन्न सक्ने यथार्थबोध भारतीयले गरिदेऊन् भन्ने सोच राख्छ ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ, जुन प्रभावकारी र परिमार्जित हुँदै गए भारतीय राज्यका हित र चासोको भरपर्दो सम्बोधन हुन सक्ने सोच राख्नुको सट्टा भारतले, लोकतन्त्रमा पनि, यसको वा त्यसको पक्षधरता लिने गर्दै आएको छ । फलानो भारतीय पक्षको वा अर्को कुनै पक्षको चर्चा चल्ने गर्छ, छोटो समयान्तरमा । आफ्नो स्वतन्त्रता र ऐक्यबद्धताको लामो अभ्यास गरिसकेर विशेष पहिचान बनाइसकेको भारतले नेपालको विकसित राजनीतिक परिवेश र सम्बन्धप्रतिको दृष्टिकोणमा तालमेल प्रतिध्वनित गर्न नसक्दा नेपाली विमर्श ‘डेभिएट’ हुने गर्छ । एक्काइसौं शताब्दीमा लोकतन्त्रका एकभन्दा बढी मोडल विकसित भैसकेका छन् तर यीभित्र स्वतन्त्रताको मात्रामा गहिरो भिन्नता छ । कतै निर्वाचित सरकार भएर पनि त्यसलाई प्रश्न गर्न सकिँदैन तर भारतभित्र अझै सडकदेखि संसद्सम्म जुनसुकै कुरा सोध्न सकिन्छ । सरकार चाहे नेपालको होस् वा भारतको, जनसम्बन्धको कोणबाट प्रश्नहरू सधैं पानीझैं उम्लिँदै गर्नुपर्छ । विश्वविख्यात भारतीय कवि रवीन्द्रनाथ ठाकुरको एउटा काव्यपंक्ति छ, ‘जहाँ मन होस् भयबाट मुक्त र शिर गर्वले उचो ।’ यो कविता नेपाल–भारत जनसम्बन्धको सबैभन्दा सुन्दर सम्भावित अवस्थाका सन्दर्भमा जोडिन सक्छ । यो अवस्था मूलतः युटोपिया होइन, एउटा सपना हो । खुला आँखाले देख्न सकिने सपना । परिपक्व आँखाको सपना । सिद्ध नेत्रहरूको सपना ।

तुइन घटना अनुसन्धानमा भारतको ‘असहयोग’ आशयका समाचारहरू त्यतिखेर प्रकाशित भैरहेका छन् जतिखेर भारत स्वतन्त्रताको ७५ औं उत्सव मनाउने तयारीमा छ । भनिन्छ, दार्चुला सदरमुकाम खलंगा जान साउन १५ गते व्यास गाउँपालिका–२, खाङदाङ (मालघाट) मा रहेको तुइनबाट महाकाली नदी तर्ने क्रममा ३३ वर्षीय जयसिंह धामी खसेर बेपत्ता भएका थिए । यसको सत्य निरूपणमा तदारुकताका साथ भारतीय पक्षको समन्वय–सहयोग हुन सक्नुपर्थ्यो । जन–जनको सम्बन्ध हो भने जनलाई प्रत्यक्ष मार्का परेको सवालमा तत्काल सुनुवाइ हुनुपर्थ्यो । यस विषयमा अलमल गर्नुको तुक नै थिएन । यो त सीमावर्ती जिल्ला प्रशासनकै समन्वयमा फत्ते हुने विषय हो । रिक्तता कहाँ छ ? त्यो बाहिर आउन सक्छ । सीमाञ्चल सम्बन्धको माधुर्य भनेकै तत्काल जनसवाललाई सम्बोधन गर्ने थिति कायम रहनु हो । भारतीय तन्त्रभित्र कहाँ के छ, नेपालभित्र एकदमै होहल्ला नभएसम्म साना घटनाहरूप्रति समेत तिनीहरू हेलचेक्य्राइँ गरिरहन्छन् । नेपाल–भारत जनसम्बन्ध प्रगाढ, आधुनिक र न्यायमुखी तब मानिन्छ जब त्यसको लाभ समाजमा माथिबाट तल होइन पीँधबाट टुप्पोमा पुग्छ । काठमाडौं र दिल्लीका अभिजातहरू जस्तोसुकै परिस्थितिमा लाभग्राही नै हुने गर्छन्, पिल्सिने त अनामहरू नै हुन् । नेपाल–भारत सम्बन्ध स्थिर र विश्वासिलो बनाउन भारतले आफ्ना तन्त्रभित्रका किलाकाँटालाई ठीक पार्न ढिलाइ गर्नु हुँदैन । धरातलीय यथार्थमा उभिएर नै सम्बन्धको यथोचित निर्वहन गर्न सकिन्छ ।

भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीहरूको महत्त्वपूर्ण योगदान छ । एकअर्को मुलुकमा जनस्वतन्त्रताका लागि सहयोगको सुरुआत नेपाली सीमाञ्चलका बासिन्दाहरूका तर्फबाट भएको हो । एउटा अधिनायकतावादी शासकले अर्को अधिनायकलाई जनआकांक्षा कुल्चिने क्रममा सहयोग गरेर जनसम्बन्धको लोकतान्त्रिक अध्याय लेखनको सुरुआत नेपालका तर्फबाट भएको हो । सन् १९४२ को भारत छोडो आन्दोलनका क्रममा त्यहाँका तेजस्वी नेताहरू जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंहहरू हजारी बाग जेल तोडेर भूमिगत रूपमा नेपाल आइपुगे । यहाँ सप्तरीका अग्रणी युवाहरूले तिनलाई आश्रय दिए, राजनीतिक सम्मेलनको चाँजोपाँजो मिलाइदिए र तिनीहरूकै चाहनाबमोजिम गुरिल्ला युद्धका निम्ति प्रशिक्षणको बन्दोबस्त गरिदिए । अन्ततोगत्वा भारतको अंग्रेज सरकारको दबाबमा राणा सरकारले यी भूमिगत भारतीय आन्दोलनकारीलाई पक्राउ गरी हनुमाननगर गोश्वाराको कारागारमा बन्दी बनायो । पछि स्थानीय नेपालीहरूको सहयोगमा ती नेताहरूलाई जेलमुक्त गरी सकुशल भारत पठाइयो । तर यता सहयोग गरेका नेपाली नागरिकमध्ये कैयौंलाई राणा प्रशासनले जेलमा थुन्यो, यातना दियोÙ कोही जेलमै बिते, कैयौंको सम्पत्ति हरण भयो, कोही भारत निर्वासित भए, भूमिगत भए ।

यसरी नेपाली सीमाञ्चलका बासिन्दाहरूका तर्फबाट पुर्‍याइएको योगदानलाई भारतीयहरूले बिर्सेनन् । राणाशाहीविरुद्धको सशस्त्र संघर्षमा भारतीय समाजवादी नेता डा. कुलदीप झाले शहादत नै दिए । भारतमा आपत्काल लागू हुँदा कैयौं भारतीय नेता नेपालको सीमाञ्चलमा ओत लागे । जनस्तरबाट यी दुवै मुलुकमा जनस्वतन्त्रता स्थापित गर्न एकअर्कालाइ सहयोग पुर्‍याउने परम्परा नै चल्यो । यसलाई ‘क्रान्ति’ को सम्बन्ध भनेर चिनाइन्छ । यहाँनिर उल्लेख गर्नुपर्ने पक्ष हो, रोटी–बेटी वा क्रान्तिको सम्बन्ध कुनै शासकले इच्छाएर होइन कि समयको हाँक र बासिन्दाहरूको स्वस्फूर्त सहयोगको संकल्पबाट स्थापित भएको हो । हनुमाननगरदेखि भारतीय स्वाधीनता आन्दोलनलाई सहयोग गर्ने नेपालीजनको चाहनाले गर्दा भारतकै जेलमा कतिपय नेपालीजन थुनिए, अनन्त दण्ड भोगे । यस कोणबाट भारतको स्वतन्त्रता संघर्ष नेपाली सपनाको संघर्ष पनि हो ।

यो स्वतन्त्रताको सपना, साधना र सिद्धिसम्म आइपुग्दा यसले जनसम्बन्धलाई सहज बनायो कि जटिल ? विगतको अनुभव र ठूलो–सानो भन्ने मनोविज्ञानले कतै अविश्वासको स्थिति खडा गरिदियो कि ? नेपाल र नेपालीहरूले भारतका विभिन्न क्षेत्रमा गरेको योगदानलाई भारतले भुल्यो कि ? यता नेपालले पनि सीमाञ्चलका भारतीयहरूले विभिन्न जनसंघर्षमा गरेको मद्दतलाई बिर्सेर भारतलाई जहिले पनि शंकाको दृष्टिले नै हेर्ने गरेको छ कि ? आज नेपाल र भारतमा यस्ता सार्वजनिक बुद्धिजीवीहरूको खाँचो छ जसले जनसम्बन्धको धरातलमा उभिएर स्वतन्त्रताको उच्चतम उपयोग गर्दै आवश्यक परे आफ्नो सरकारको समेत आलोचना गर्न सकून् । नेपालको भारत नीति निर्माणमा केकस्ता प्रवृत्तिहरू हावी छन् ? भारतले नेपालसम्बन्धी परराष्ट्र नीति तयार गर्दा उसलाई के–केबाट आवश्यक सहयोग आउँछ ? यी दुई राज्यलाई एकअर्काप्रति नीति बनाउन कसले निर्देशित गर्छ ? यिनले कस्ता संस्थाहरू, कस्ता व्यक्ति र निकायहरूबाट सुझाव ग्रहण गर्छन् र नीति निर्माणमा जान्छन् ? थिंक ट्यांक फोरमहरूको गुणस्तर के–कस्तो छ ? सार्वजनिक विमर्शका लागि प्राप्त हुने सूचनाहरू कति भरपर्दा छन् ? काठमाडौंले दिल्लीको र दिल्लीले काठमाडौंको नाडी कसरी छाम्छन् ? विचार गरिनुपर्छ ।

भारत र नेपाल निकै विविधतापूर्ण छन् । हाम्रो सम्बन्धको स्वरूप प्याजको पत्रजस्तै छ । विभिन्न सामाजिक वा वैचारिक समूहहरू एकआपसमा जेलिएका छन् । दुवैतिर त्यसको व्यवस्थापनमा खासखास समयमा समस्या र चुनौती आउने गरेका छन् । तर आधुनिक समयमा दुवै राज्यले लोकतन्त्रलाई बलियो बनाउने चेष्टा गर्नुपर्छ । लोकतन्त्रमा समेत यो दल वा त्यो नेताअनुकूलको छ भनेर हुँदैन । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका कठिनाइहरू के–कस्ता छन्, यसलाई के–कस्तो सहयोग आवश्यक पर्छ ? यसबारेमा भारतमा विश्लेषण भएको पाइँदैन । त्यसैले नेपालबाट कोही कुम्भ स्नान गर्न जाँदैमा र त्यहाँ तिनले न्यानो स्वागत पाउँदैमा नेपालभित्र अफवाह, आशंका र अनुमानको खेती सुरु भैहाल्छ ।

हरेक चीजमा दिल्ली देख्ने हाम्रो प्रवृत्ति पनि दोषी छ । भारतको एकता र स्वतन्त्रताको आधार त्यहाँको संविधान हो । अहिले त्यहाँ लोकतन्त्रका नाममा प्रयोग भैरहेका अभ्यासहरू कस्ता छन् ? भारतको स्थायित्वका निम्ति हाम्रो आन्तरिक एवं द्विपक्षीय राजनीतिको स्थायित्व जरुरी छ । घरीघरी बल्झिरहने समस्याहरूलाई थाती राख्न छाडेर हामी खुला संवाद किन गर्दैनौं ? नेपाल–भारतबीच अनेकौं विषयगत समितिहरू छन् । हामी राजनीतिक स्तरका कुरा कूटनीतिमा गाँस्छौं र कूटनीतिक विषयलाई राजनीतिक खपतका लागि प्रयोग गर्छौं । ‘गंगा गए गंगादास, जमुना गए जमुनादास’ भनेझैं सत्तामा हुँदा अनुकूलता हेरीहेरी कहिले आक्रामक त कहिले नरम हुने फेरि त्यही व्यक्ति विपक्षमा हुँदा अर्कै उखान कथ्ने विरोधाभास यथावतै छ ।

प्रश्न गर्न पाउने स्वतन्त्रता सबैभन्दा ठूलो स्वतन्त्रता हो । नेपाल होस् वा भारत, जनसंघर्षको साझा इतिहासलाई स्मृतिमा राख्दै आआफ्ना देशका सरकारसँग प्रश्न गर्न सक्नुपर्छ, जब कुनै जनसाधारणले एकअर्को मुलुकमा आफ्नो हित असुरक्षित ठान्छ । यही नै हो असली मित्रता । जनस्तरमा चनाखोपन नभए शासकहरूले आआफ्ना राज्यको स्वार्थको भाष्य रच्दै कठोर धरातल निर्माण गर्दै जान्छन् नै, त्यतिखेर रोटी–बेटी वा सँगसँगै क्रान्ति गरेका किस्साहरूले सम्बन्धको जटिलतालाई कम गर्न पनि सक्दैनन् । वेदको एउटा कथन छ— ‘मृत्यो मुक्षीय मामृतात्’ । अर्थात्, क्लेश र विनाशबाट निस्किएर अमृततर्फ बढौं, अमरतातर्फ बढौं । नेपाल–भारत जनस्तरबाट यस्तै संकल्पको आवश्यकता छ ।

प्रकाशित : श्रावण २८, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?