कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोपको अर्थ–राजनीति र संशयका आयाम

अक्सफोर्ड विश्वविद्यालयको ‘आवर वर्ल्ड इन डेटा’ परियोजनाको पछिल्लो आँकडाअनुसार विश्वको कुल जनसंख्याको ३० प्रतिशतले न्यूनतम एक मात्रा खोप लगाइसकेका छन् । विडम्बना, कम–आय समूहका मुलुकहरूमा यो प्रतिशत नगण्य (१.१) छ ।
जनार्दन थापा

खोपका बारेमा देखिएका आशंकाहरू नवीन तथ्य होइनन् । खोपको इतिहास खोतल्ने हो भने यसको विकासको सुरुवातदेखि नै प्रतिरोध र बहिष्कारका घटनाहरू भएका थिए । उन्नाइसौं शताब्दीको प्रारम्भमा बेलायत र अमेरिकामा बिफरविरुद्धको खोपका प्रतिरोधहरूले आन्दोलनकै रूप लिएका थिए ।

खोपको अर्थ–राजनीति र संशयका आयाम

‘एन्टी–भ्याक्सिनेसन लिग’ जस्ता संगठनहरूको उदय भएको थियो जसलाई निस्तेज पार्न र खोपलाई अनिवार्य गर्न कानुन नै निर्माण गर्नुपरेको थियो । यस्ता प्रतिरोधहरू पछिल्लो समयसम्म निरन्तर रूपमा देखिए र अहिले कोभिड–१९ विरुद्धका खोपहरू पनि अपवाद रहेनन् । विकसित भनाउँदा मुलुकहरूमै खोपहरूप्रतिको हिचकिचाहट र आशंकाले खोप अभियान चुनौतीपूर्ण बनेको छ । नेपालमा

खोपको पहुँच नै निकै कमजोर रहेकाले यस्ता संशय र भ्रमका प्रभावहरू मुखरित भइसकेका छैनन् । यद्यपि भोलिका दिनमा खोपको उपलब्धता बढ्दै जाँदा र खोप अभियानले तीव्रता लिएसँगै यो एउटा मुख्य चुनौतीका रूपमा आइलाग्न सक्छ भन्ने संकेतहरू देखिइसकेका छन् । हाम्रो सन्दर्भमा खोपको घरेलु र अन्तर्राष्ट्रिय अर्थ–राजनीतिक परिवेश तथा फितलो सूचना सम्प्रेषणले पनि आशंका र भ्रमलाई बढावा दिएका छन् । तसर्थ पनि आममान्छेका चासो र संशयहरूलाई त्यत्तिकै निराधार भनेर पन्छाउनु प्रत्युत्पादक हुन सक्छ ।

खोपको अर्थ–राजनीति

कोभिड–१९ खोपको औपचारिक उत्पादन नहुँदै धनी र शक्तिशाली राष्ट्रहरूमा खोप राष्ट्रवादको ज्वरो सुरु भयो र खोप कब्जा गर्ने होडबाजी देखियो । परिणामस्वरूप तिनले आफ्ना आवश्यकताभन्दा कैयौं गुणा बढी मात्रामा खोप ओगट्ने काम गरे । यस्तो राष्ट्रियताका कारण कोभिड–१९ विरुद्धको खोपको वितरण र पहुँचमा गम्भीर असमानता देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयको ‘आवर वर्ल्ड इन डेटा’ परियोजनाको पछिल्लो आँकडा (अगस्ट ८ सम्मको) अनुसार विश्वको कुल जनसंख्याको ३० प्रतिशतले न्यूनतम एक मात्रा खोप लगाइसकेका छन् ।

विडम्बना, कम–आय समूहका मुलुकहरूमा यो प्रतिशत नगन्य (१.१) छ । वैश्विक स्वास्थ्य असमानताको यो एउटा गतिलो उदाहरण हो र सँगै यो धनी मुलुकहरूले पहिरिएका समानता एवं मानवअधिकारका मुखौटाहरूप्रतिको व्यंग्य पनि हो । संसारभरि पूर्ण मात्राको खोप लगाएको जनसंख्या १५ प्रतिशत छ र अहिले दैनिक झन्डै ४ करोड मात्राको खोप प्रयोग भइरहेको छ । उल्लिखित स्रोतअनुसार नेपालमा कुल जनसंख्याको ६.९ प्रतिशतले आंशिक र ८.६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् (जोन्सन कोभिड–१९ एक मात्रालाई नै पूर्णमा गनिएको छ) । छिमेकी मुलुक भारतमा यो संख्या क्रमशः २० र ८.२ प्रतिशत छ ।

खोपको उत्पादनको सुरुवातमा देखिएको राष्ट्रवादको ज्वरो अहिले वितरणको अन्तर्राष्ट्रिय कूटनीतिक होडबाजीमा रूपान्तरण भएको छ । खोप अर्थ राजनीतिक स्वार्थको हतियार बन्दै गएको देखिन्छ । यस सन्दर्भमा नेपालभित्र पनि ‘हाम्रो खोप कूटनीति फितलो भएकाले प्राप्तिमा असफलता हात लागेको हो’ भन्ने भाष्य निर्माण भएको छ । यी परिवेशहरूले निश्चय पनि खोपसम्बन्धी चासो र संशयलाई बढावा दिएका छन् । उसै पनि नेपालमा सार्वजनिक बहसहरूमा षड्यन्त्र सिद्धान्तहरूको खपत उल्लेखनीय छ । नेपालजस्ता विकासोन्मुख मुलुकहरूलाई चिकित्सकीय अनुसन्धानको प्रयोगशाला बनाइन्छ भन्ने मान्यताले हाम्रो समाजमा पनि बलियो जरो गाडेको छ । महामारीको सुरुवातमा कोभिड–१९ विषाणुलाई प्रयोगशालामा बनाइएको हो र महामारी विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूद्वारा फैलाइएको ‘हौवा’ मात्र हो भन्ने धारणा पनि प्रबल थियो । अहिलेसम्म पनि शक्तिराष्ट्रहरूकै बीचमा यस विषयमा खिचातानी चलिरहेको छ । यस्ता अर्थ–राजनीतिक स्वार्थका टकराबहरूले नटरिसकेको महामारीको खतरा सम्बोधनका लागि खोपलगायतका क्षेत्रहरूमा आवश्यक अन्तर्राष्ट्रिय सहकार्यलाई गम्भीर रूपमा आघात पुर्‍याउने सम्भावना छ । प्रकारान्तरले, यसको प्रत्यक्ष मारमा पर्नेहरूमा विकृत घरेलु राजनीतिक ‘भाइरस’ ले समेत थलिएका नेपालजस्ता मुलुकहरूका भुइँमान्छेहरू नै हुनेछन् ।

खोपका बारेमा देखिएको र देखिन सक्ने आशंकाहरूका लागि केही हदसम्म आम नागरिकको राज्यप्रतिको अविश्वास पनि उत्तिकै जिम्मेवार छ । विगतको र अहिलेको सरकारका मुखमा खोप–खोप रहे पनि बगलीमा सत्ता दाउपेच नै प्राथमिकतामा थियो र रहनेछ भन्ने तर्कमा कमैको असहमति रहला । जीवनरक्षक खोपमा आर्थिक चलखेलका कारण खोपप्राप्ति नै प्रभावित भएका तथ्यहरू पनि सञ्चारमाध्यमहरूबाट बाहिर आएको धेरै भएको छैन । नेपालमा उत्पादन क्षेत्रको दुर्गति रहे पनि सेवामूलक मानिएको स्वास्थ्य क्षेत्र ठूलो उद्योगका रूपमा फस्टाएको छ ।

जनस्वास्थ्य, नाफाखोरी र बिचौलियातन्त्रको सम्भवतः सबैभन्दा आकर्षक क्षेत्र बनेको छ यो । समग्रमै पनि राज्य संयन्त्र बिचौलियातन्त्रको माखेसाङ्लोमा परिसकेका सन्दर्भमा आगामी दिनमा पनि अपारदर्शिता र चलखेलको पुनरावृत्ति हुने अनि त्यसले आम नागरिकको खोपमाथिको पहुँचलाई गम्भीर रूपमा प्रभावित गर्ने सम्भावना यथावत् छ । अर्कातर्फ, लोकरिझ्याइँको दबाबमा रहेको सरकारले अदूरदर्शी सौदाबाजी गर्ने र त्यसका कारण कम सुरक्षित खोपको प्रयोग हुने अनि मुलुक दीर्घकालीन आर्थिक, कूटनीतिक र रणनीतिक स्वार्थको पासोमा पर्न सक्ने चिन्ताहरूलाई षड्यन्त्र सिद्धान्तकै उपज हुन् भनेर पन्छाउन मिल्ने अवस्था छैन ।

शंकाहरूको सांस्कृतिक आयाम

स्वास्थ्यसम्बन्धी विश्वास र भ्रम निर्माणमा सामाजिक–सांस्कृतिक सन्दर्भहरूको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । अहिले आम जनमानसमा केही खोपका सम्बन्धमा देखिएको संशय र हिचकिचाहट मूल रूपमा कोभिड–१९ संक्रमणबारेकै आशंका र भ्रमहरूको निरन्तरता पनि हो । यसमा सञ्चारमाध्यमहरू, खासगरी सामाजिक सञ्जालहरूको भूमिका महत्त्वपूर्ण छ । विगतमा कोभिड–१९ संक्रमणका बारेमा अनेक भ्रामक सूचनाहरू फैलाउन यी माध्यमहरूको ठूलो भूमिका थियो । अहिले पनि सामाजिक सञ्जालहरूमा चिकित्सा र खोप विज्ञानसँग साइनो नभएकाहरूले पनि खोपका ‘खतराहरू’ का बारेमा बढाइचढाइ गरी तयार गरेका सामग्रीहरूको बिगबिगी छ ।

फ्रान्सेली समाज वैज्ञानिक जँ बोद्रियाको भनाइ सापटी लिने हो भने अहिलेको संसारमा सञ्चारमाध्यमहरूले बनावटी यथार्थ उत्पादन गर्छन्, जुन मानिसका लागि वास्तविक यथार्थभन्दा पनि बढी वास्तविक (हाइपर रियालिटी) लाग्छ । मानिसहरू वस्तुगत यथार्थभन्दा बनावटी कुराहरूतर्फ बढी आकर्षित हुन्छन् । कोभिड–१९ महामारी र खोपका सम्बन्धमा पनि यो कुरा लागू भएको देखिन्छ । अझ, वैज्ञानिक सूचनाहरूको खडेरीले सिर्जना गरेको रिक्ततालाई भर्ने मौकासमेत यस्ता भ्रामक सूचनाका उत्पादकहरूले पाएका छन् । एक हदसम्म, आममान्छेले यस्तै सूचनाहरूमार्फत महामारी र खोपका बारेमा धारणा बनाइरहेका छन् अनि यसले खास प्रकारको सामाजिक मनोदशा (सोसल मुड) बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

निश्चय पनि, खोप मात्र होइन सबैजसो स्वास्थ्य उपचारका विधिहरूका धेरथोर स्वास्थ्य जोखिमहरू हुन्छन् । तापनि अहिले अनुमतिप्राप्त सबैजसो खोपहरूले कोभिड–१९ संक्रमणका कारण गम्भीर बिरामी र ज्यानै गुमाउनुपर्ने जोखिमहरूबाट धेरै हदसम्म जोगाउने तथ्यहरू प्रामाणिक हुन् । यसरी हेर्दा खोपहरूले प्रदान गर्ने सुरक्षाका तुलनामा यिनका सम्भावित स्वास्थ्य जोखिमहरू निकै कमजोर देखिन्छन् । हाम्रो सन्दर्भमा जिम्मेवार निकायहरूबाट खोपका बारेमा पर्याप्त सूचनाहरू दिएको देखिन्न । सम्प्रेषण भइरहेका सूचनाहरूको प्रकृतिमा पनि समस्या छ किनकि यी सूचना र जानकारीहरूले भुइँ यथार्थलाई समाउन सकेका छैनन् । सूचना–सञ्चार–शिक्षाका सामग्रीहरूमा ठाडो अनुवादले सार्वजनिक संवादमा जटिलता ल्याइरहेको छ । सूचना सामग्रीहरूलाई अनुवाद होइन, हाम्रो लवजसापेक्ष रूपान्तरण (ट्रान्सक्रिएसन) गर्न आवश्यक देखिन्छ । अर्कातर्फ, सञ्चारमाध्यमहरूमा धेरैजसो विज्ञले पनि संवादमा चिकित्सकीय शब्दजालहरू (जार्गन) कै प्रयोग गरेको देखिन्छ । स्वाभाविक रूपमा चिकित्सा विज्ञानका शब्दावली र तथ्यहरूलाई हाम्रो परिवेश सुहाउँदा गरी रूपान्तरण गर्न सहज छैन । तर यो सोचेजस्तो जटिल पनि छैन ।

अन्त्यमा, आधुनिक चिकित्सा विज्ञानको इतिहासमा यस्ता धेरै उदाहरण छन्, जहाँ नवीन तथ्यहरूले पुराना निष्कर्षहरूलाई र अझ बढी सुरक्षित तथा प्रामाणिक उपचार विधिहरूले पुरानाहरूलाई प्रतिस्थापन गरेका छन् । कोभिड–१९ विरुद्धका खोपहरूसम्बन्धी शोधहरू जारी छन् र यीमार्फत अहिले उपलब्ध खोपहरूलाई भोलिका दिनमा अझ बढी सुरक्षित खोपहरूले विस्थापित गर्ने सम्भावना छ । अहिलेका लागि भने यो औतारी र जिद्दी विषाणुको कहरबाट बचाउने सुरक्षाकवचहरू भनेकै आम प्रयोगका लागि आधिकारिक मान्यताप्राप्त खोपहरू नै हुन् । तसर्थ महामारी र खोपहरूका बारेमा विज्ञहरूका राय र जानकारीहरूलाई सक्दो रूपमा हाम्रो संस्कृतिसापेक्ष र ग्रहणीय बनाउनुपर्ने टड्कारो आवश्यकता छ । साथै सुरक्षित खोपमा सबैको समान पहुँचसहित मुलुकको बृहत्तर हितलाई समेत प्रभावित गर्न सक्ने आन्तरिक र बाह्य साँठगाँठ (नेक्सस) हरूका बारेमा पनि नागरिक समाजलगायत सूचना र ज्ञानमा तुलनात्मक रूपमा सहज पहुँच भएका सबै नागरिकको निरन्तर चासो र खबरदारी आवश्यक पर्ने देखिन्छ ।

(थापा त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र विषय प्राध्यापन गर्छन् ।)

प्रकाशित : श्रावण २७, २०७८ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?