कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लाबाट विश्वलाई नयाँ वनस्पति

सौसुरिया टालुंगेन्सिस ढुंग्यानी भिरालोमा, समुद्र सतहबाट ४३ सय मिटर उचाइमा भेटिएको थियो । यो जुलाईदेखि सेप्टेम्बरसम्म फुल्ने–फल्ने रहेछ ।
कमल मादेन

हरेक वर्ष विश्वभर वनस्पतिका करिब २ हजार नयाँ प्रजाति पत्ता लाग्ने गरेका छन् । यो तथ्यांक ब्याक्टेरिया र फन्जाईबाहेक अन्य वर्गका वनस्पतिको हो । सन् २०१६ मा, प्रसिद्ध जर्नल ‘फाइटोट्याक्सा’ मा प्रकाशित ‘द नम्बर अफ नोन प्लान्ट्स स्पेसिस इन द वर्ल्ड एन्ड इट्स एनुअल इन्क्रिज’ शीर्षक लेखअनुसार, विश्वभर फूल फुल्ने वनस्पतिका २ लाख ९५ हजार ३ सय ८३ प्रजातिको पहिचान भएको रहेछ । 

हुम्लाबाट विश्वलाई नयाँ वनस्पति

रोयल बोटानिक गार्डेन्स, लन्डनले सन् २०२० मा प्रकाशित गरेको ‘स्टेट अफ द वर्ल्डस् प्लान्ट्स एन्ड फन्जी’ शीर्षक पुस्तकअनुसार एसिया, दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया, युरोप र उत्तर अमेरिकाबाट अहिलेसम्म क्रमशः ३६, ३४, १२, ८, ५ र ५ प्रतिशत वनस्पति पहिचान भएको जनाइएको छ । फन्जाई अर्थात् ढुसी वर्गको वनस्पति एसियाबाट ४१ प्रतिशत पहिचान भएको रहेछ ।

एसियामा वनस्पति प्रजाति सबैभन्दा बढी हुने १० देशमा चीन, इन्डोनेसिया, म्यान्मार, भारत, मलेसिया, पपुवा न्युगिनी, फिलिपिन्स, भियतनाम, इरान, थाइल्यान्ड छन् । नेपाल ११ औं स्थानमा पर्छ । विश्वमा भने ब्राजिल, चीन, भारत र नेपाल क्रमशः १, २, १३ र ३५ औं स्थानमा छन् । लाओस, पाकिस्तान, भुटान, अफगानिस्तान क्रमशः ३६, ३८, ४४ औं स्थानमा छन् ।

नेपालबाट केही वर्षयता फूल फुल्ने वनस्पति प्रतिवर्ष दुई–तीन प्रजाति पत्ता लागिरहेका छन् । यो वर्ष अप्रिल र जुलाईमा एक–एक प्रजाति भेटिइसकेका छन् । ती दुईमध्ये अप्रिलमा पत्ता लागेको नयाँ प्रजातिबारे चर्चा यहाँ गरिँदै छ । त्यो जानकारी सुरेशकुमार घिमिरे र हुमकला रानाले पत्ता लगाएको सम्बन्धी लेख ‘फाइटोट्याक्सा’ को १६ अप्रिलको संस्करणमा प्रकाशित छ । लेख भने सात जनाले लेखेका हुन्; हुमकला, सन्तोषकुमार राना, लक्ष्मीराज जोशी, सुरेशकुमारसहित दुई चिनियाँ र एक जापानी अनुसन्धानकर्ताले ।

सौसुरिया टालुंगेन्सिस

नयाँ वनस्पतिको वर्गीकरण प्रणाली ‘द एन्जिओस्पर्म्स फाइलोजेनी ग्र्रुप’ (चौथो संस्करण, सन् २०१६) अनुसार, फूल फुल्ने वनस्पतिका जम्मा ४ सय १६ परिवार छन् । तीमध्ये सूर्यमुखीको परिवार अर्थात् एस्टेरेसीअन्तर्गत सबैभन्दा बढी करिब १९ सय जाति र ३२ हजार प्रजाति छन् । सौसुरिया यही परिवारको एउटा जाति हो, जसमा मात्रै ५ सयजति प्रजाति छन् ।

नेपालमा पाइएका सौसुरियाका ४५ मध्ये ६ प्रजाति रैथाने छन् । तीमध्ये एक सुरेशकुमार घिमिरे र हुमकला रानाले नै सन् २०१८ मा हुम्लामै भेटेका हुन् । त्यसको नमुना सन् २०१२ मा संकलन गरिएको थियो ।

घिमिरे र रानाले सन् २०१२ मै सौसुरिया जातिअन्तर्गत नयाँजस्तो देखिने अर्को प्रजाति हुम्लाकै टालुङ उपत्यकामा फेला पारेका थिए । तिनले सुरुको अवस्थामा त्यो वनस्पतिलाई सौसुरिया रोयलिई हो कि भन्ठाने । अझ, त्यो त सौसुरिया लानाटाजस्तो पनि देखिन्थ्यो । पछि थप अध्ययन गर्दै जाँदा त्यसको स्वरूप उल्लिखित दुवैभन्दा केही भिन्न हो कि जस्तो पाए । अनुसन्धानकर्ताले ती तीनबीच के–कति फरक छ भनेर ११–११ बुँदामा विवरण तुलना गरे; जस्तो— काण्डको गोलाइ, पातको भेट्नु, पातको आकारप्रकारसहित फूलका विभिन्न भाग । बाहिर देखिने ११ वटै बुँदामा फरक नै देखियो ।

पहिले बाहिरी स्वरूपका आधारमा नयाँ प्रजाति ‘डिस्कभर्ड’ गर्ने चलन थियो । हिजोआज सम्भव भएसम्म आन्तरिक संरचना अर्थात् डीएनए तहको अध्ययन पनि गरिन्छ । डीएनए अध्ययनलाई अन्य प्रजातिका डेटा बैंकसँग तुलना गरिन्छ । फरक देखिए, वनस्पति नयाँ नै हो भनेर नामकरण गर्ने चलन छ ।

रानाले चीनमा त्यो वनस्पतिको क्लोरोप्लास्ट जिन सिक्वेन्स अध्ययन गरिन् । यसका निम्ति प्रयोगशालामा नेस्ट–जेनरेसन सिक्वेन्सिङ टेक्नोलोजी अपनाइयो । अन्ततः, यो अध्ययनले पनि अहिलेसम्म जानकारीमा नभएको प्रजाति भन्ने देखायो । घिमिरे र रानाले यसको नामकरण, टालुङ उपत्यकामा पाइएको हुनाले, ‘सौसुरिया टालुंगेन्सिस’ गरे ।

सौसुरिया टालुंगेन्सिस ढुंग्यानी भिरालोमा, समुद्र सतहबाट ४३ सय मिटर उचाइमा भेटिएको थियो । यो जुलाईदेखि सेप्टेम्बरसम्म फुल्ने–फल्ने रहेछ । २२ देखि ५० सेन्टिमिटरसम्म अग्लो हुने यो वनस्पतिको नमुना नेसनल हर्बेरियम एन्ड प्लान्ट ल्याबोरेटोरी गोदावरी (होलोटाइप), केन्द्रीय वनस्पति विभाग (सिनटाइप) र हर्बेरियम अफ कन्मिङ इन्स्टिच्युट अफ बोटनी/द चाइनिज एकेडेमी अफ साइन्स (सिनटाइप) मा संग्रह गरिएको छ । लेखकहरूमध्ये काजुमी फुजिकावाले नेपालबाट यसअघि निकैवटा सौसुरिया प्रजाति पत्ता लगाइसकेकी छन् ।

अवस्थिति

हिजोआज विश्वका निम्ति नयाँ वनस्पति फेला पार्नु कठिन काम हो । पहिले पनि भेटिएको तर त्यसको सूक्ष्म अध्ययन हुन नसकेको अवस्थामा नयाँ वनस्पति अक्सर पत्तो लाग्छ । अर्थात्, तिनीहरूको नमुना पहिल्यै संकलन भएको हुन्छ, तर पहिचान गलत भइरहेको हुन्छ । यस्तै, कुनै ठाउँमा दुर्लभ अवस्थामा छ र अनुसन्धानकर्ताले अहिलेसम्म संकलन गर्न छुटाइरहेको भए त्यसबाट स्वाभाविक रूपमा नयाँ प्रजाति फेला पर्छ । पछिल्लो अवस्थामा नयाँ ‘डिस्कोभर्ड’ वनस्पतिको संख्या बासस्थानमा कमै हुने सम्भावना हुन्छ । किनभने दुर्लभ भएर नै संकलन नभई रहेको हुन्छ । अर्को कुरा, नेपाललगायत कतिपय देशमा ठाउँविशेषका वनस्पतिबारे बृहत् अध्ययन अझै भएको छैन । हुम्ला, जुम्ला, मुगु, बाजुराका कतिपय विकट ठाउँमा वनस्पतिविज्ञ अझै पुग्न सकेका छैनन् ।

उक्त लेखमा उल्लेख भएअनुसार, टालुङको अन्दाजी ५ सय वर्गमिटर क्षेत्रमा सौसुरिया टालुंगेन्सिसका ५० वटाजति वयस्क बोट थिए । यो निकै थोरै संख्या हो । पाउने भूगोलको क्षेत्रफल पनि थोरै हो । तर, यो प्रजाति टालुङ उपत्यकामा मात्र नभई अन्यत्र पनि हुन सक्छ ।

सौसुरिया टालुंगेन्सिस भेडा, चौरी चर्ने ठाउँमा भेटिएको थियो । यदि संख्या थोरै नै हो भने, चाँडै विनाश हुन पनि सक्छ । त्यस्तै, त्यो ठाउँमा यार्सागुम्बासहित अन्य औषधिजन्य वनस्पतिको संकलन गरिँदो रहेछ । यी दुवै कारणले, संकलित क्षेत्रमा यो वनस्पति त्यति सुरक्षित देखिन्न । त्यो त्यही मात्रै हो भने स्थिति अत्यन्त खराब मान्नुपर्छ । यस्तो प्रजातिलाई इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरले अति संकटापन्न (क्रिटिकल्ली इन्डेन्जर्ड) मान्छ । यस्ता प्रजातिलाई तत्काल संरक्षण नगरिए लोप हुने सम्भावना बढी हुन्छ ।

फ्लोरा अफ पान–हिमालय

चीनले अफगानिस्तानको उत्तरपूर्वदेखि म्यान्मारसम्मको हिमालय क्षेत्रका वनस्पतिबारे अध्ययन–अनुसन्धान गरिरहेको छ । यसको नतिजा ‘फ्लोरा अफ पान–हिमालय’ शीर्षकमा ५० भोल्युमअन्तर्गत जम्मा ८० पुस्तकमा प्रकाशन हुने लक्ष्य सन् २०११ मा जानकारी गराइएको थियो । यसमा उन्यु, जिम्नोर्स्मस र फूल फुल्ने वनस्पति करिब २० हजार प्रजाति रहने अनुमान छ । फ्लोरा अफ पान–हिमालयको भोल्युम ४८ मा नेपालमा पाइने सौसुरिया जातिका वनस्पतिबारे सन् २०१६ मै प्रकाशित भइसकेको छ ।

फ्लोरा अफ पान–हिमालयका निम्ति बझाङ जिल्लामा वनस्पति संकलन भैसकेको छ । उक्त अभियान कैलालीबाटै सुरु गरिएको थियो । त्यस दौरान जम्मा ५ सय ३ प्रजातिका नमुनाको संकलन भएको थियो । संकलित नमुनाको नामावली तीर्थराज पाण्डेय र अरूहरूलिखित ‘नोट्स अन द फस्ट सिनो–नेपाल जोइन्ट बोटानिकल एक्सपिडिसन टु बझाङ, वेस्ट नेपाल’ (सन् २०२०) शीर्षक लेखमा छ । त्यो लेखमा सौसुरियाको चाहिँ एउटै प्रजाति पनि समावेश छैन ।

फ्लोरा अफ पान–हिमालय परियोजनामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा नेपाली सहभागी छन् । कैयन् नेपालीले चीनका विभिन्न अनुसन्धान केन्द्र तथा विश्वविद्यालय मातहतका प्रयोगशालामा हिमालयका वनस्पति अध्ययन गर्न जाने–आउने क्रम जारी छ । केही दशकयता नेपालीको गुरुकुल चीन भइरहेजस्तो अवस्था छ ।

सौसुरिया टालुंगेन्सिस हुम्लामा सौसुरिया रोयलिई वा सौसुरिया लानाटा वा अन्य कुनै प्रजातिबाट लाखौं वर्षअघि उद्विकास भएको हुनुपर्छ । यो प्रजाति फ्लोरा अफ पान–हिमालयको अनुसन्धानसँग जोडिनाले पत्ता लाग्यो । उल्लिखित परियोजनाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा हाम्रो हिमालयको वनस्पति अध्ययन–अनुसन्धानमा टेवा पुगेको छ ।

प्रकाशित : श्रावण १७, २०७८ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?