कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो समय स्टार्ट अपको हो

ज्योतिचन्द्र ओझा

यसपालिको बजेटमा गरिबी निवारण, रोजगारी सृजना र आयवृद्धिका लागि भन्दै सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र विस्तार गरिएको छ । स्टार्ट अप व्यवसायका लागि परियोजना धितोमा १ प्रतिशत ब्याजमा बीउपुँजी उपलब्ध गराउन ‘च्यालेन्ज फन्ड’ को व्यवस्था, शैक्षिक प्रमाणपत्र धितोमा राखेर २५ लाख रुपैयाँसम्मको ऋण लगायतका कार्यक्रम पनि बजेटमा अटाएका छन् । 

यो समय स्टार्ट अपको हो

यस्तै खाले कार्यक्रम बजेटमा पहिले पनि पर्थे, सीप तथा उद्यमशीलता विकासका लागि धेरै लगानी भएका थिए तैपनि कर्जा र कार्यक्रमबीच तारतम्यको अभावमा वाञ्छित उपलब्धि हासिल गर्न सकिएन । कर्जालाई उद्यमशीलता र अन्य पूरक सेवासँग समन्वयात्मक ढंगले अगाडि बढाउन सके मात्र यस्ता कार्यक्रमले अपेक्षित नतिजा दिन्छन् । त्यस्ता सहुलियतपूर्ण कर्जाको परिणाममुखी कार्यान्वयनका लागि परम्परागत सोचको चौघेराबाट निस्कनुपर्छ । साथै हाम्रै अनुभव र अन्य देशका सफलताबाट स्थापित अभ्यासबाट शिक्षा लिनुपर्छ । यस्ता कार्यक्रममा गैरव्यावसायिक पक्ष हावी हुन दिन हुन्न, जसका लागि निम्न पक्षमा ध्यान दिनुपर्छ ।

उद्यमशीलता र पूरक सेवा

कर्जा लगानीले मात्र युवालाई व्यावसायिक बनाउन सकिँदैन । कर्जालाई उत्पादक बनाउन चाहिने ज्ञान र सीपका लागि तालिमका साथै कर्जाका पूरक अन्य सेवाहरू, प्रविधि, कच्चा पदार्थको उपलब्धता, उत्पादित सामानको बजार व्यवस्था, उत्पादनको उचित मूल्य प्राप्त हुने प्रबन्ध हुनुपर्छ । युवामा व्यावसायिक अवसर पहिचान गर्न सक्ने क्षमता विकास गर्नु पनि महत्त्वपूर्ण हुन्छ । हामीकहाँ सीप विकास र तालिममा ठूलो धनराशि खर्च गरिए पनि सीप विकास कार्यक्रम र बैंक कर्जा कार्यक्रमले एक्लै–एक्लै यात्रा गर्दा यस्ता कार्यक्रमबाट आशानुरूप प्रतिफल पाउन सकिएको छैन । तालिमको प्रमाणपत्र लिएर बैंकमा कर्जा लिन जानुभन्दा बैंक र तालिम दिने संस्थाको संयुक्त सहभागितामा सञ्चालित तालिम तथा सीप विकास कार्यक्रमले सफलता दिलाउँछन् ।

संयुक्त रूपमा काम गर्दा बैंकले अपनत्वको भावना लिने र तालिमसमेत परिणाममुखी हुन्छ । तसर्थ बैंकहरूलाई मुनाफाको थोरै अंश भए पनि अहिलेका र भविष्यमा हुन सक्ने ग्राहकको उद्यमशीलता विकासका लागि लगानी गर्ने व्यवस्था मिलाउनुपर्छ । बैंकहरूबाट लघुउद्यमको विकासका लागि हुने योगदान लगानी हो न कि खर्च, आखिर घुमीफिरी यसको प्रतिफल बैंकको पोल्टोमै जाने हो ।

महिला सहभागिता

सामाजिक, सांस्कृतिक, आर्थिक अवरोधका बावजुद सफल व्यवसायी बन्ने अद्भुत क्षमता महिलामा छ । परिवारमा महिला सदस्यको आम्दानी बढ्दा परिवारका सदस्यको स्वास्थ्य, पोषण, बालबच्चाको शिक्षामा अनुकूल प्रभाव पारेको विभिन्न अध्ययनले देखाएका छन् । तसर्थ यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन महिला सहभागिता बढाउनुपर्छ । यसका लागि लघुवित्त संस्थाहरूको हालको महिलाकेन्द्रित पद्धति उत्तम रहे पनि यसलाई अझ सबलीकरण गर्न आवश्यक छ ।

उपभोक्ता सहकारी

ग्रामीण क्षेत्रमा मूलतः कृषि र कृषिजन्य उद्योग सञ्चालन गर्न सकिन्छ । स्टार्ट अप व्यवसाय सुरुमा सानै रूपमा सञ्चालन हुन्छ । यस्ता व्यवसाय एक्लैले उत्पादनका साधनको प्रबन्ध, उत्पादनको बजारीकरण, उचित मूल्यमा बिक्री आदि गर्न कठिन हुन्छ । यस्ता व्यवसाय आपसमा मिली समुदायमा आधारित सहकारी गठन गर्न सक्छन् । सहकारीले स्थानीय बासिन्दालाई बजारसँग जोड्न प्रभावकारी भूमिका खेली व्यवसाय सफल बनाउनमा योगदान पुर्‍याउँछन् । सरकारले यस्ता सहकारीलाई महँगा कृषि उपकरण किन्न अनुदान दिने र यस्ता उपकरणको चालु खर्च धान्ने गरी सहकारीले आफ्ना सदस्यहरूलाई भाडामा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ ।

लगानी तथा असुली

स्टार्ट अप व्यवसाय सञ्चालनका लागि अधिकांश लगानी ‘च्यालेन्ज फन्ड’ बाट गरिए पनि, त्यसको थोरै अंश भए पनि व्यवसायीको लगानी हुनुपर्छ । यस्तो लगानी व्यवसायीले आफ्नै स्रोतबाट व्यवस्था गर्नुपर्छ । त्यो सम्भव नभए बैंकबाट कर्जा लिन सकिन्छ । ‘च्यालेन्ज फन्ड’ बाट अधिकांश लगानी हुने भएकाले बैंकले यसमा बिनाहिचकिचाहट लगानी गर्नेछन् । कुल लगानीमा स्वलगानीको हिस्सा कम्तीमा २० प्रतिशत हुनु राम्रो हुन्छ ।

स्टार्ट अप व्यवसायका लागि निरन्तर प्राविधिक सहयोग, परामर्श, अनुगमन र सुपरिवेक्षण गर्नुपर्छ । यस्ता कार्यलाई भरपर्दो र दिगो बनाउन आवश्यक पर्ने स्रोतसाधनका लागि व्यवसायीबाट थोरै रकम सेवाशुल्क लिई लगानी गर्न सकिन्छ । स्टार्ट अप व्यवसायको भुक्तानी अवधि व्यवसायले प्रतिफल दिने समयका आधारमा तय गर्न सकिन्छ । आवश्यकताअनुसार ‘ग्रेस पिरियड’ दिई त्रैमासिक रूपमा किस्ता असुल गर्न सकिन्छ । ‘च्यालेन्ज फन्ड’ मा भएको असुलीबाट सोही परियोजना विस्तारका लागि वा नयाँ व्यवसायीलाई लगानी गर्न सकिन्छ । यस्ता स्टार्ट अप व्यवसायलाई सफल मानिन्छ जसले बैंक वा अन्य लगानीकर्ताबाट लगानी आकर्षित गर्न सक्छन् । यस्तो हुन सके ‘च्यालेन्ज फन्ड’ को आवश्यकता पर्दैन ।

सूचना प्रणाली

स्टार्ट अप परियोजनाको सफल सञ्चालनका लागि सूचना प्रणालीको ठूलो महत्त्व हुन्छ । व्यवसायसम्बन्धी महत्त्वपूर्ण सूचकहरू निर्धारण गरी कार्यान्वयन गर्ने निकायले निरन्तर अनुगमन गर्नुपर्छ । यस्ता सूचक व्यवसायीले मोबाइल वा कम्प्युटरका माध्यमबाट दैनिक वा साप्ताहिक रूपमा पठाउने व्यवस्था मिलाउनुपर्छ । व्यवसायीले आफ्नो व्यवसायसम्बन्धी हरेक सूचना तुरुन्त र सजिलो गरी पाउने व्यवस्था गर्नु जरुरी छ । जस्तो— बाख्रा पाल्ने व्यक्तिले राम्रा र उन्नत जातका बाख्रा कहाँ पाउन सकिन्छ, बाख्राका राम्रा फर्म कहाँकहाँ छन्, व्यवसाय तथा रोगसम्बन्धी परामर्श कहाँबाट लिने, उत्पादित वस्तु कसरी कहाँ बेच्ने आदि सूचना सहजै नपाए व्यवसाय चलाउन गाह्रो हुन्छ ।

कार्यान्वयन गर्ने निकाय

स्टार्ट अप व्यवसाय सफलतापूर्वक सञ्चालनका लागि सम्बन्धित संस्थाहरूबीच समन्वय गर्न त्यसैमा समर्पित एउटा संस्थाको आवश्यकता पर्छ । यसका लागि थप साधन, स्रोत, समय खर्चिनुभन्दा विगतमा सरकारकै पहलमा सञ्चालित संस्थालाई परिचालन गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट समेत उच्च मूल्यांकन गरिएका, सहकारी तथा लघुवित्त संस्थालाई थोक कर्जा दिइरहेका सफल संस्थालाई यो काममा लगाउनु उपयुक्त हुन्छ ।

यो कार्यक्रम देशभरि सञ्चालन गर्नुपर्ने हुनाले स्थानीय स्तरमा लघुवित्त संस्था र सहकारीमार्फत कार्यान्वयन गर्नु राम्रो हुन्छ । यसो गर्दा कार्यक्रम प्रभावकारी हुने, साधनस्रोतको दुरुपयोग वा अपचलन नहुने, पारदर्शी र निष्पक्ष ढंगबाट व्यावसायिक मूल्य अनि मान्यताअनुसार कार्यक्रम कार्यान्वयन हुने हुन्छ । नेपालको आर्थिक प्रगति अब स्टार्ट अप व्यवसाय गर्ने युवा जनशक्तिको रचनात्मकता र सृजनशीलताबाटै सम्भव छ ।

(ओझा रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) का प्रमुख कार्यकारी अधिकृत हुन् ।)

प्रकाशित : श्रावण १५, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?