हाम्रो अनुसन्धान–वातावरण- विचार - कान्तिपुर समाचार

हाम्रो अनुसन्धान–वातावरण

युनेस्कोको सन् २०११ को तथ्यांकअनुसार, विश्वमा प्रति १० लाखमा औसत १०८० वैज्ञानिक छन् । सबैभन्दा धेरै फिनल्यान्डमा ७७०७, सिंगापुरमा ६०८८, अमेरिकामा ४६६३, चीनमा १०७१, पाकिस्तानमा १५७, भारतमा १३७, श्रीलंकामा १५७ छन् भने नेपालमा जम्मा ५९ जना ।
उत्तमबाबु श्रेष्ठ

१३ जुन २००८ को अंक (पूर्णांक ३२०) मा विश्वकै अग्रणी वैज्ञानिक जर्नल ‘साइन्स’ ले नेपालसम्बन्धी एउटा खबर छाप्यो । जर्नलको ‘न्युज अफ द विक’ स्तम्भमा छापिएको आधा पृष्ठको उक्त समाचारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर पनि थियो ।

हाम्रोजस्तो विज्ञान, प्रविधि र अन्वेषणमा पिछडिएको देशका समाचार, यहाँ अनुसन्धानरत वैज्ञानिकहरूका अनुसन्धानात्मक लेख र भनाइहरू साइन्स जर्नलमा एकदम विरलै छापिन्छन् । साइन्स जर्नलमा लेख छापिनु प्राज्ञिक जगत्मा प्रतिष्ठाको विषय मानिन्छ । ‘संघर्षरत नेपालको मुहार फेर्न विज्ञानमाथिको भरोसा’ शीर्षकको ५६४ शब्दको उक्त समाचारमा भनिएको थियो— नेपालका नयाँ नेताहरूले शिशु गणतन्त्रलाई सफलतामा पुर्‍याउन विज्ञानमा लगानी बढाउने आश्चर्यजनक रणनीति सार्वजनिक गरेका छन् ।

सफल अर्थमन्त्रीको जस पाएका डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको बजेटमा तत्कालीन विज्ञान, प्रविधि र वातावरण मन्त्रालयलाई दिइने बजेट अघिल्लो वर्षका तुलनामा बाह्र गुणाले वृद्घि गरिएको थियो । सधैंजस्तो उपेक्षित विज्ञान क्षेत्रमा जनयुद्घ लडेर आएका राज्यका नयाँ सञ्चालकहरूले एक्कासि बजेट बढाउँदा उक्त कुरा ‘साइन्स’ मा छापिनयोग्य समाचार बनेको थियो । विज्ञानलाई प्राथमिकतामा राख्नुका पछाडि प्रचण्डको कृषि विज्ञानको शैक्षिक पृष्ठभूमिले काम गरेको भन्दै समाचारमा तत्कालीन माओवादीको चुनावी घोषणापत्रमा उल्लिखित अंशलाई यसरी उद्धृत गरिएको थियो, ‘विज्ञानको विकासबिना देशको विकास असम्भव छ ।’

अनुसन्धान–वातावरण

वैज्ञानिक अनुसन्धानमा लगानी बढाएर यस क्षेत्रको विकासका लागि गरिएको प्रचण्ड–पहल राम्रो भए पनि अनुसन्धानका लागि लगानी मात्रैले पुग्दैन । विज्ञानमा फड्को मार्न समग्र अनुसन्धान–वातावरण (रिसर्च इकोसिस्टम) लाई राम्रो बनाउनुपर्छ । मोटामोटी रूपमा अनुसन्धानको वातावरणअन्तर्गत चार कुराहरू पर्छन् । (क) वैज्ञानिक संस्कार जसले नयाँ विचार र सोच पैदा गर्छ, (ख) मानव संसाधन जसले अनुसन्धानात्मक कार्य गर्छ अनि ज्ञान उत्पादन र प्रसारमा भूमिका खेल्छ, (ग) आर्थिक स्रोत जसले अनुसन्धानका लागि आवश्यक पैसाको व्यवस्थापन गर्छ, र (घ) ज्ञान उत्पादन र संश्लेषण जुन वैज्ञानिक लेख, पेटेन्ट, सिद्घान्तका रूपमा सूचीकृत हुन्छन् र जसलाई समाजले आवश्यकताअनुसार उपयोग गर्छ । यो लेख नेपालको वर्तमान अनुसन्धान–वातावरणमा केन्द्रित छ ।

अनुसन्धानको उचित वातावरण निर्माणका लागि समाजमा वैज्ञानिक संस्कार र भविष्यका वैज्ञानिकहरूमा कल्पनाशीलता र सिर्जनशीलताको लेप जरुरी छ । ‘थिंक लाइक अ फ्रिक’ पुस्तकमा स्टिवन लेभिट र स्टेफेन डब्नर भन्छन्, ‘ठूला समस्या समाधान गर्न बच्चाको जस्तो — जिज्ञासु, पूर्वाग्रहविहीन र भयरहित — सोचाइ चाहिन्छ ।’ वैज्ञानिक अनुसन्धानका लागि अत्यावश्यक गुण हुन् यी । तर हाम्रो औपचारिक शिक्षाको विधि र पढाउने शैलीले बच्चाहरूमा विद्यमान त्यो जन्मजात गुणलाई निखार्नुको साटो कलिलै अवस्थामा निमोठिदिन्छ । त्यसैले हामीले वैज्ञानिक संस्कार बसाल्नका लागि प्राथमिक तहदेखिको सिकाइ प्रक्रियामा अवलोकन गर्ने, प्रश्न सोध्ने, अनुमान लगाउने, नयाँ सोचलाई परीक्षण गर्ने, तथ्यांक संकलन गर्नेजस्ता आधारभूत सीपहरू सिकाउन र त्यस्ता गुण भएका बच्चाहरूलाई थप उत्प्रेरणा दिन जरुरी छ ।

हाल नेपालको विज्ञान–प्रविधि क्षेत्रमा मानव संसाधनको संख्यात्मक र गुणात्मक अवस्था निकै कमजोर छ । नेपालमा सुचारु र प्रस्तावित गरी चौधवटा विश्वविद्यालय भइसकेका छन् तर विश्व–उत्कृष्टताको कसीमा ती सबै पुछारमा छन् । सन् २०२० मा टाइम्स हायर एडुकेसनले निकालेको विश्वका १५०० विश्वविद्यालयको सूचीमा नेपालको एक मात्र विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय उत्कृष्ट ८०० देखि १००० औं श्रेणीमा परेको थियो । विश्वविद्यालयको उत्कृष्टताको श्रेणीमा मात्रै होइन, वैज्ञानिक संख्यामा पनि हामी दक्षिण एसियामै सबैभन्दा पुछारमा छौं । युनेस्कोको सन् २०११ को तथ्यांकअनुसार, विश्वमा प्रति १० लाखमा औसत १०८० वैज्ञानिक छन् । सबैभन्दा धेरै फिनल्यान्डमा ७७०७, सिंगापुरमा ६०८८, अमेरिकामा ४६६३, चीनमा १०७१, पाकिस्तानमा १५७, भारतमा १३७, श्रीलंकामा १५७ छन् भने नेपालमा जम्मा ५९ जना ।

अन्यत्रका तुलनामा देशमा वैज्ञानिक जनशक्ति कम त छँदै छ, भएकाहरू पनि अनुसन्धान संस्थाहरूबाट घट्दै छन् । उदाहरणका लागि, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार अनुसन्धान केन्द्र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) मा पनि अनुसन्धानकर्ताहरू खाली छन् । कुनै बेला ८० भन्दा बढी कर्मचारी हुने सेडा अहिले तीन जनामा खुम्चिएको छ । त्यसै गरी कुनै बेला १०० भन्दा बढी अनुसन्धानकर्ताहरूले भरिभराउ हुने रिकास्टमा हाल करिब ४० जनाजति मात्रै कर्मचारी छन्, त्यसको पनि दुईतिहाइ त प्रशासनिक कर्मचारी हुन् । त्यसै गरी कुनै बेला ९० भन्दा बढी अध्येताहरूले अनुसन्धान गर्ने सिनास अहिले एक दर्जनभन्दा कम अनुसन्धानकर्तामै सीमित हुन पुगेको छ ।

विश्वविद्यालयभित्रका कुनै जमानाका अब्बल ज्ञान उत्पादनका थलो मानिने संस्थानहरूको जस्तै गएगुज्रेको अवस्था देशका अन्य अनुसन्धान संस्थानहरूको पनि छ । जस्तै— कृषि क्षेत्रको अनुसन्धान र ज्ञान प्रसार गर्न स्थापित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक जनशक्ति स्थापनाकालताकाको भन्दा घटेर लगभग एकतिहाइ मात्रै बाँकी छ । नार्कमा घटेको जनशक्ति परिपूर्ति गर्न नयाँ नियुक्तिको आह्वान गर्दासमेत त्यहाँ वैज्ञानिक नपाउने अवस्था छ । पाँच वर्षअघि नार्कमा उपसचिवस्तरको एस ३ वैज्ञानिकका लागि २५ पदमा आवेदन माग हुँदा मात्र ८ जना छनोट भएका थिए । नार्कको जस्तै अवस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को छ । विगत छ वर्षदेखि नास्टमा नयाँ वैज्ञानिकहरू भर्ती हुन पाएका छैनन्, जसका कारण देशको सबैभन्दा उपल्लो वैज्ञानिक अनुसन्धान गर्ने भनिएको संस्थामा वैज्ञानिकभन्दा दोब्बर प्रशासनिक कर्मचारी थुप्रिएका छन् ।

वैज्ञानिक मानवजस्तै कमजोर अवस्था नेपालको विज्ञान क्षेत्रमा गरिने आर्थिक लगानीको पनि छ । केपी आचार्यलगायतको समूहले गरेको एउटा अनुसन्धानअनुसार, अनुसन्धान र विकासमा नेपालको सरदर लगानी कुल गार्हस्थ्य उत्पादनको मात्रै ०.३ प्रतिशत छ, जुन विकसित देशका तुलनामा निकै कम हो । सानो देश भए पनि विश्व नवप्रवर्तन सूचकांकमा ७ औं नम्बरमा पर्ने इजरायलले कुल गार्हस्थ्य उत्पादनको ४.९ प्रतिशत रकम अनुसन्धान र विकासमा खर्च गर्छ । इजरायलपछि दक्षिण कोरियाले ४.६ प्रतिशत, ताइवानले ३.५ प्रतिशत, अमेरिकाले ३.१ प्रतिशत, चीनले २.२ प्रतिशत, भारतले ०.७ प्रतिशत, पाकिस्तानले ०.३ प्रतिशत रकम अनुसन्धान र विकासमा खर्चेका छन् । सामान्यतया देशको कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत रकम अनुसन्धान र विकासमा खर्च गर्ने प्रचलन छ । नेपालमा अनुसन्धान र विकासमा निकै कम खर्च गरिने मात्रै होइन, खर्च गरिएको भनिएको रकम पनि कोर अनुसन्धानमा भन्दा संस्थानहरूको प्रशासनिक खर्चमै ज्यादा सकिने गरेको हुन्छ ।

वैज्ञानिक अनुसन्धानका लागि सरकारबाट मात्रै होइन, निजी क्षेत्रबाट समेत उल्लेख्य रकम खर्च गरिएको हुन्छ । अमेरिकालगायतका विकसित देशहरूमा विश्वविद्यालय र अन्य अनुसन्धानशालाहरूले गर्ने अनुसन्धानमा सहायताको उल्लेख्य हिस्सा निजी व्यापारिक प्रतिष्ठानहरूबाट आउँछ । जस्तै— सन् २०१७ मा अमेरिकामा निजी दाताहरूले ४६ विश्वविद्यालयलाई दिएको सहायता रकम २.३ बिलियन डलर बराबरको थियो । भारतमा पनि निजी सहयोगले विज्ञानको विकास र अनुसन्धानमा गर्ने खर्च बढ्दो छ । अजिम प्रेमजी, नन्दन निलकानीजस्ता उदीयमान खर्बपतिहरूले आफ्नो आम्दानीको ठूलो हिस्सा वैज्ञानिक अनुसन्धान र उच्च शिक्षामा दान दिने गरेका छन् । तर नेपालमा निजी क्षेत्रबाट विज्ञानको विकासका लागि अनुसन्धान सहायता उपलब्ध गराउने गरिएको खासै पाइँदैन ।

नेपाली परोपकारिता मन्दिर र धर्मशाला बनाउने, रूख रोप्ने, अनाथलाई खाना खुवाउनेजस्ता कार्यमै सीमित छ । अमेरिकी स्टिल बादशाह एन्ड्र्यु कार्नेगीले विश्वविद्यालय खोले, सूचना प्रविधिका हस्ती बिल गेट्सले विश्व जनस्वास्थ्य र कृषिको अनुसन्धानमा ठूलो रकम खर्चे, भारतीय महिन्द्रा गाडी उत्पादकले विश्वविद्यालयलाई ठूलो रकम चन्दा दिए तर हाम्रोमा शिक्षा क्षेत्रबाट प्रशस्त कमाएकाहरूले समेत शैक्षिक क्षेत्रमै परापकारी काम गर्नभन्दा अन्य नाफाका क्षेत्रमा लगानी गरेका उदाहरण प्रशस्त भेटिन्छन् । शैक्षिक क्षेत्रबाट अर्बपति बनेका शेष घलेले १ अर्ब रुपैयाँको शैक्षिक कोष बनाउने घोषणा त गरे, तर चार वर्षसम्म पनि उक्त काम थालिएको सुनिएको छैन् । नबिल बैंकले नास्टको सहकार्यमा वैज्ञानिक पुरस्कार दिने कार्य पनि यतिखेर बन्द छ ।

विज्ञानमा लगानीजस्तै अवस्था वैज्ञानिक ज्ञान उत्पादनमा छ, विशेषतः नवप्रर्वतनको प्रमाण मानिने पेटेन्ट अधिकार र ज्ञान उत्पादनको आधार मानिने पियर रिभ्यु प्रकाशनमा । वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी डेटाबेसका अनुसार, सन् २०१९ मा विश्वभर २७५९०० पेटेन्ट दर्ता गरिएका थिए, जसमध्ये सबैभन्दा धेरै चीनले ६८७२०, अमेरिकाले ५९२३०, त्यसपछि जापानले ५०५२० पेटेन्ट दर्ता गरे । नेपालबाट सन् २०१७ मा जम्मा २० वटा मात्रै पेटेन्ट दर्ता गरिएका थिए । पेटेन्ट अधिकारको आवेदन दिने नेपालीमा अधिकांश नेपालबाहिर बस्नेहरू थिए ।

नेपालमा अन्य देशका तुलनामा पियर रिभ्यु वैज्ञानिक प्रकाशनहरूको अवस्था पनि कमजोर छ । साइमागो डेटाबेसका अनुसार, सन् १९९६ देखि २०२० सम्ममा २४० देशका वैज्ञानिकहरूले प्रकाशन गरेका जर्नल लेखका आधारमा नेपाल ९१ औं नम्बरमा थियो । उक्त अवधिमा अमेरिकाले १ करोड ३८ लाख, चीनले ७४ लाख, भारतले २१ लाख र पाकिस्तानले २ लाख, बंगलादेशले ६७ हजार, श्रीलंकाले २६ हजार लेख प्रकाशन गरेका थिए भने नेपालका वैज्ञानिकहरूले जम्मा २० हजार लेख अन्तर्राष्ट्रिय इन्डेक्स जर्नलमा प्रकाशित गरेका थिए । गत वर्ष नेपालबाट २५ सय हाराहारी त्यस्ता वैज्ञानिक लेखहरू छापिएका थिए । अन्तर्राष्ट्रिय प्रकाशनको संख्याजस्तै छ, देशभरका अनुसन्धान जर्नलहरूको गुणस्तरको अवस्था पनि । नेपालबाट प्रकाशित हुने जर्नलहरूको अनलाइन डेटाबेस नेप्जोलमा हाल २२९ जर्नल सूचीकृत छन् तर तीमध्ये जम्मा चार जर्नल मात्रै अन्तर्राष्ट्रिय इन्डेक्समा समावेश छन् । तीमध्ये पनि क्वार्टाइल ४ (सबैभन्दा कमसल) मा तीन र क्वार्टाइल ३ मा एउटा नेपाली जर्नल परेका छन् । यसले हाम्रो वैज्ञानिक ज्ञान उत्पादन र प्रसारको अवस्था देखाउँछ ।

समग्रमा देशको आर्थिक–सामाजिक प्रगतिको छाप अनुसन्धान–वातावरणका चारै अवयवमा परेको देख्न सकिन्छ । नेपालको अर्थतन्त्रको आकार अन्य देशसँग तुलना गर्ने हो भने हाम्रो श्रेणी लगभग ९०–१०० औं स्थानतिर परेजस्तै नेपालको अनुसन्धानको विश्व–अवस्था पनि लगभग त्यस्तै छ । त्यसलाई फेर्नका लागि माओवादी सरकारले जसरी एक्कासि बजेट मात्रै बढाएर हुँदैन, यसको सम्पूर्ण वातावरण नै सुधार्न जरुरी छ ।

प्रकाशित : श्रावण १४, २०७८ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

व्यक्ति होइन, प्रवृत्ति परिवर्तन

कांग्रेसबाट प्रशस्त गल्ती–कमजोरीहरु भए, भैरहेकै छन् । आम नागरिकका समस्या सम्बोधन गर्ने सन्दर्भमा कांग्रेसबाट कैयन् चूकहरु भए । यस्ता कमीकमजोरी भैरहँदा नेतृत्वमा बस्नेहरुमाथि नागरिकले प्रश्न उठाइरहे । कांग्रेसबाट जवाफ आएन ।
नेपाली कांग्रेसमा माथिदेखि तलसम्म नैतिक आचरणमा स्खलन आएको छ भनी स्विकार्न सके मात्र पार्टी, नेता–कार्यकर्तामा सुधारको सम्भावना रहन्छ ।
रामचन्द्र पौडेल

केही महिनाअघि अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन र हालै नेपालमा सरकार परिवर्तनका घटनाले सत्तामा बस्नेको ‘सबै थोक मै हुँ’ भन्ने व्यक्तिवादी सोच टिकाउ नहुने देखाएका छन् । सत्तामा पुगेपछि त्यसलाई सदाका लागि पेवा ठान्ने र लोकतन्त्रको सुन्दर पक्ष ‘सहज सत्ता हस्तान्तरण’ लाई स्विकार्न नसक्ने प्रवृत्ति पराजित भएको छ, नेपाल र अमेरिका दुवैतिर ।

सत्ता हस्तान्तरणको असहज परिस्थितिको पटाक्षेपपछि नेपालमा कांग्रेसको चौधौं महाधिवेशन अगाडि आएको छ । महाधिवेशन कस्तो होला, होला कि नहोला भन्नेजस्ता संशयबीच कांग्रेसजन यो महायज्ञमा होमिँदै छन् । महाधिवेशन किन र कसले गर्दा कांग्रेस विधानले तोकेको समयमा सम्पन्न हुन सकेन भन्ने विषयमाथि पनि महाधिवेशनका सदस्यहरूले चर्चा–परिचर्चा गर्ने नै छन् ।

कांग्रेसको महाधिवेशनले आगामी दिनमा कस्तो नेतृत्वको खोजी गर्ला ? र, मुलुकका जल्दाबल्दा समस्याहरूको पहिचान गरी निदानका उपायहरू कसरी अगाडि आउलान् ? यस्ता सबै पक्षमाथि महाधिवेशनमा सहभागी सबै सक्रिय सदस्य, समर्थक, शुभेच्छुकलगायत देश–विदेशमा कांग्रेसलाई माया गर्नेहरूबीच छलफल, बहस चल्नेछ भन्ने मैले विश्वास लिएको छु ।

कुनै पनि निरंकुशतालाई नस्विकार्नु कांग्रेसको मूल चरित्र हो । कांग्रेस नेपालको लोकतान्त्रिक भावधाराको एक मात्र यस्तो नदी हो, जसको निरन्तर प्रवाहमा अन्य विचारधाराका राजनीतिक दलहरू विभिन्न कालखण्डमा समाहित भएका छन् । तसर्थ कांग्रेसको भविष्य कांग्रेसको लोकतान्त्रिक आचरण र मूल्यपद्धतिमै खोज्नुपर्छ ।

चौधौं महाधिवेशनले कांग्रेसजन र मुलुकलाई गुणस्तरीय लोकतन्त्रको मार्गचित्र खिच्ने अवसर दिएको छ । कस्तो लोकतन्त्र र कसका लागि लोकतन्त्र भन्ने विषय आज नेपालमा मात्र होइन, विश्वव्यापी बहसको विषय भएको छ । लोकतन्त्रको मात्र माला जपेर यो लोकतान्त्रिक व्यवस्थालाई टिकाउन र अगाडि बढाउन सम्भव छैन ।

हाम्रा जननेता बीपी कोइरालाले लोकतन्त्रलाई मलजल गर्न कांग्रेसमा समाजवादको प्रवेश साढे छ दशकअगाडि नै गराउनुभएको हो । नेपाल राष्ट्र र यसको राष्ट्रियताका विषयमा पनि कैयन् पटक चर्चा–परिचर्चा भएका छन् । समावेशी लोकतान्त्रिक विविधतायुक्त नेपालमा राष्ट्र राज्य बन्ने दिशातर्फको हाम्रो संवैधानिक प्रावधानलाई अझ दृढतापूर्वक र व्यापकस्तरमा अगाडि बढाउनुपर्नेछ । कांग्रेसको इतिहास यिनै माथिका केही गम्भीर राजनीतिक मूल्यपद्धतिसँग जोडिएर मात्र अगाडि बढ्न सक्छ ।

कुनै पनि पार्टीको रूपान्तरण आफ्नो गौरवशाली इतिहासको निरन्तरतामा मात्र खोज्न सकिन्छ भन्ने मेरो दृढ मान्यता छ । कांग्रेसको विगत गौरवशाली भए पनि वर्तमानमा यो खुम्चिएको छ । यो पार्टीलाई आम नेपाली जनताको भरोसा र विश्वासयोग्य बनाउन मेरातर्फबाट जीवनभर अनेकन् प्रयत्नहरू भएका छन् । संघर्षको मोर्चामा रहँदाबस्दा होस् वा राज्यको कुनै भूमिकालाई निष्कलंक भएर सम्पादन गर्ने सिलसिलामै किन नहोस्, मेरो प्रयत्न सदा सद्विचार एवं पारदर्शी र उत्तरदायी शासनतर्फ नै रह्यो ।

भावी महाधिवेशन कांग्रेसको गौरवशाली इतिहासको रक्षा गर्दै भविष्यको कांग्रेस निर्माणमा कोसेढुंगा हुनुपर्छ भन्ने आफ्नो मत म सम्पूर्ण साथीहरूसमक्ष राख्छु । विगत तीन दशकको लोकतान्त्रिक परिपाटीमा मलगायत साथीहरूबाट भएका कमी–कमजोरीलाई लिएर आत्मालोचना गर्ने अवसर पनि यही हो । कांग्रेसबाट मुलुक र आमनागरिकका लागि कैयन् युगान्तकारी कामहरू भए पनि यसबीच नागरिक तहबाट हामीले प्रशस्तै आलोचना खेप्नुपरेको छ । यस्तो आलोचना सत्ताको दुरुपयोग अर्थात् भ्रष्टाचारका अनेकन् काण्डहरूले गर्दा र पदमा बस्नेहरूको अक्षमतालाई लिएर उठ्ने गरेको छ ।

पार्टीको तेह्रौं महाधिवेशन उद्घाटन गर्दा मेरा केही विचारहरू अगाडि आएका थिए । मैले माथिकै पृष्ठभूमिलाई आत्मसात् गर्दै राजनीति र राजनीतिज्ञप्रति वितृष्णा जागेको छ भनेको थिएँ । राजनीतिलाई सम्मानित क्षेत्र बनाउनुपर्ने चुनौती हामी पर्खेर नबसौं पनि भनेको थिएँ । फेरि पनि हाम्रो पार्टीबाट प्रशस्त गल्ती–कमजोरीहरू भए, भैरहेकै छन् । खासगरी संगठन निर्माण प्रक्रियामा र आम नागरिकका समस्या सम्बोधन गर्ने सन्दर्भमा कांग्रेसबाट कैयन् चूकहरू भए । यस्ता कमीकमजोरी भैरहँदा नेतृत्वमा बस्नेहरूमाथि नागरिकले प्रश्न उठाइरहे । कांग्रेसबाट जवाफ आएन । कांग्रेसको उपस्थिति संसद्, सडक र संघर्षका कैयन् मोर्चाहरूमा फितलो भयो । नेतृत्वपंक्ति कहीँकतै पनि भौतिक रूपले उपस्थित नहुँदा जनतामा निराशा फैलियो । संसद् निष्क्रिय भैरहँदा तत्कालीन प्रधानमन्त्री ओलीलाई निरंकुशतातर्फको यात्रामा अगाडि बढ्न सजिलो भयो ।

विगतको आमनिर्वाचनमा जनताले अपार मत दिएको नेकपा अधिनायकवादी प्रवृत्तिका कारण आज विघटन भएको छ, थप विघटनतर्फ उन्मुख छ । व्यक्ति नै सर्वेसर्वा हुने र व्यक्तिमा देखिने चरम महत्त्वाकांक्षाले नेपालको कम्युनिस्ट आन्दोलनले आजको अवस्था भोग्नुपरेको हो । कांग्रेसको गुटबन्दी र विभाजनबाट कम्युनिस्ट पार्टीहरूले शिक्षा लिन चाहेनन् ।

मेरो प्रयत्न कांग्रेसलाई सधैं गुटबन्दीबाट जोगाउनमा रह्यो । पार्टीमा कुनै गुट बनाउन नसक्ने नेता भनेर मैले आरोप पनि खेप्नुपर्‍यो । अझै पनि मेरो प्रयत्न नेपाली कांग्रेसलाई गुटबन्दी, भागबन्डा, विघटन, विभाजनकारी र अति महत्त्वाकांक्षी प्रवृत्तिबाट जोगाएर अगाडि बढाउने नै रहनेछ । चौधौं महाधिवेशनलाई निष्ठा र समर्पणको राजनीति बचाउने अभियानमा परिणत गर्नु छ । कांग्रेस इतिहासको ब्याजबाट होइन, भविष्यको सपनाबाट जीवन्त रहन सक्छ भन्ने विश्वास र भरोसाबाट कांग्रेसलाई अगाडि बढाउन अब ढिलो गर्नु हुँदैन । चौधौं महाधिवेशन यस दिशातर्फ सबै कांग्रेसजनका लागि उत्प्रेरक बनोस् भन्नेमा मेरो प्रयत्न रहनेछ ।

पार्टीलाई निरन्तरको वैचारिक बहसबाट जीवन्त पार्न सकिन्छ भनी आम कांग्रेस कार्यकर्ताले बुझ्न जरुरी छ । कांग्रेसको उज्ज्वल भविष्यका लागि पार्टीभित्र वैचारिक बहसको थालनी हुनुपर्छ । पार्टीको जीवन्तता निरन्तरको बहस, छलफल र तदनुरूपको कार्ययोजनाबाट मात्र सम्भव हुन सक्छ । नेपाली कांग्रेसको लामो परम्परा पनि यही हो र यसैको निरन्तरतामै कांग्रेसको भविष्य खोजिनुपर्छ । मैले धेरै अगाडिदेखि पार्टीको यो परम्परालाई जीवन्त राख्ने प्रयत्न गर्दै आइरहेको छु ।

कांग्रेसको महाधिवेशन व्यक्ति परिवर्तन मात्र हैन । महाधिवेशन प्रवृत्ति परिवर्तनको माध्यम बन्नुपर्ने बहस र छलफल हामीबीच घनीभूत रूपमा अगाडि बढाउनुपर्नेछ । कस्तो प्रवृत्तिलाई कांग्रेसमा हावी हुन नदिने, यो गम्भीर विषय छ । पार्टीमा पैसावालहरूको प्रभाव बढ्यो भन्नेमा साथीहरूमा तिक्तता छ । यो कुरा सत्य हो । बीपी कोइराला स्वयंले सत्तामा गएको कांग्रेसलाई हुने–खाने र सुकिलामुकिलाहरूले घेर्छन् भनी सतर्क गराउनुभएको हामी स्मरण गरौं । हाम्रो लडाइँ यस्तै प्रवृत्तिविरुद्ध हो अनि कांग्रेसमा पैसा, शक्ति, नातागोता र आफन्त मात्रले अवसर नपाऊन् भनी संघर्ष गर्नुपरेको हो । चौधौं महाधिवेशनमा सहभागी साथीहरूले यस दिशातर्फ नसोच्ने हो भने कांग्रेसभित्र कांग्रेसजन नै अल्पमतमा पर्छन् र यो पार्टीको अपहरण हुने खतरा छ, सुकिलामुकिलाहरूबाट ।

कांग्रेस अब पन्ध्रौं महाधिवेशनबाट सुधारतर्फ बढ्छ भनी पर्खने समय छैन । विगतका गल्ती–कमजोरी र आरोप–प्रत्यारोप गरेर मात्र पनि हामी भविष्यको कांग्रेस निर्माण गर्न सक्तैनौं । पार्टी विधानले निर्दिष्ट गरेबमोजिम चार वर्षको कार्यकालभित्र सम्पन्न गरिसक्नुपर्ने महाधिवेशन अनेकन् कारणले संभव भएन । महाधिवेशन सम्पन्न गर्न अहिले पनि चुनौतीहरू कम छैनन् । तर यिनै अवरोध र चुनौतीहरूका अनेक पर्खाल पार गर्दै कांग्रेसले आफ्नो इतिहास निर्माण गरेको हो । तसर्थ अगाडिका चुनौतीहरूको सामना गर्दै महाधिवेशन सम्पन्न गर्नुको विकल्प अब छैन ।

कांग्रेसको महाधिवेशनलाई धकेल्दैधकेल्दै आज असहज अवस्थामा पुर्‍याइएको छ । कांग्रेसको वैधानिकतामाथि मात्र होइन, नेतृत्वको क्षमतामाथि पनि नागरिकले प्रश्न उठाउने स्थिति भएको छ । यिनै आरोह–अवरोधको समीक्षा गर्दै नेपाली कांग्रेसको वर्तमान अवस्थालाई ध्यानमा राखेर सार्वजनिक रूपमै मैले महाधिवेशनका केही मूलभूत एजेन्डा साथीहरूसमक्ष राखेको छु ।

विचारको राजनीति

कुनै पनि पार्टीको पहिचान विचारबाट हुन्छ । कांग्रेसको पहिचान स्थापित भएकै यसको लोकतान्त्रिक विचारका कारण हो । त्यस्तै, समाजवादमार्फत कांग्रेस नेपाली समाजको अन्तिम सीमान्तकृत व्यक्तिसमक्ष न्याय गर्न पुग्छ भन्ने मान्यता यसको आर्थिक दर्शन हो ।

राजनीतिक स्वतन्त्रता मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक स्वतन्त्रता सबै मानिसको समान नैसर्गिक अधिकार हो भन्ने विचार कांग्रेसको जग हो । यसमा केही धमिरा लागेका छन्, जसलाई हटाउन र विचारका अंकुरहरू प्रस्फुटन गर्न भावी महाधिवेशनले सार्थकता पाउने मेरो विश्वास छ । राज्य अन्तिम मानिससम्म पुग्ने र तिनलाई हेर्ने समाजवादमा मेरो विश्वास छ अनि कांग्रेसलाई त्यस दिशातर्फ बढाउनुपर्ने हामी सबैको जिम्मेवारी हो ।

सिद्धान्त र आचरणमा समानता

कांग्रेसका सिद्धान्तहरू सर्वोत्कृष्ट छन् तर सिद्धान्तहरू एक्काइसौं शताब्दीमा देशको स्थिति, परिस्थिति र समयानुकूल सुधार भएर अगाडि बढेका छन् । जस्तो— चीन राजनीतिक रूपले नियन्त्रित तर आर्थिक रूपले खुला र उदारवादी अर्थनीतिबाट विश्वशक्ति हुन सम्भव भयो । नेपालको संविधान पनि समावेशी लोकतन्त्रमा आधारित छ । नेपाली जनताको संघर्षबाट आएको यो संविधानमा संसदीय व्यवस्थाको मौलिक विशेषतासहित केही अन्य व्यवस्था पनि गरिएका छन् । यो नयाँ प्रयोगबाट नेपालको राजनीतिमा केही असहजता र अनौठोपन देखिएको छ । केही खराबी पार्टीभित्र प्रवेश गरेका छन् ।

खासगरी समानुपातिक प्रतिनिधित्व गर्दा नेतृत्वले विवेक नपुर्‍याएको र न्याय गर्न नसकेको गुनासो आएको छ अनि गम्भीर त्रुटिहरू भएको भनी सबै पक्षबाट आवाज उठेको छ । लोकतन्त्र र कांग्रेसको भविष्य यसलाई सञ्चालन गर्ने नेतृत्वको आचरणमा भर पर्छ । कांग्रेस नेतृत्व सिद्धान्तविपरीत आचरण गरेको भनी समाजमा आरोपित छ । यसर्थ जतिसुकै राम्रो संविधान र पार्टी सिद्धान्त भए पनि नेतृत्वको सामान्य त्रुटिले पार्टीहरूको इमेज ध्वस्त भएको छ, कांग्रेसले आफ्नै अनुभवबाट पनि यो शिक्षा लिएको हुनुपर्छ ।

नेपाली कांग्रेसमा माथिदेखि तलसम्म नैतिक आचरणमा स्खलन आएको छ भनी स्विकार्न सके मात्र पार्टी, नेता–कार्यकर्तामा सुधारको सम्भावना रहन्छ । भावी महाधिवेशनमा कांग्रेसको सिद्धान्त र आचरणबीच समभाव राख्ने नेतृत्व विकास हुन सक्छ कि सक्दैन, यो अहम् प्रश्न आज कांग्रेसजनसामु छ । आम नागरिकको अपेक्षा कांग्रेसले राजनीतिमा नैतिक पक्षलाई गौण नठानोस् भन्ने छ । हामी कांग्रेसजनलाई नागरिकको अपेक्षामा खरो उत्रने चुनौती छ ।

कांग्रेसको संगठनभित्र अराजनीतिक मानिसहरूको भीड जम्मा भएका गुनासाहरू पनि आउँछन् । कांग्रेस नेतृत्वमा बस्नेहरूको असफलता हो यो । कांग्रेस नेतृत्वबाट देशभरिका कार्यकर्ताले वैचारिक नेतृत्व नपाएको युगौं भयो । तसर्थ वैचारिक रूपमा कांग्रेसलाई धारिलो बनाउन कांग्रेसको भावी महाधिवेशनले यस दिशातर्फ ठोस काम गर्ला भन्नेमा मलाई विश्वास छ ।

नेपाली कांग्रेसको विकास र समृद्धिको धारणाबारे पनि यो महाधिवेशनले व्यापक छलफल र बहस गर्नेछ । कस्तो विकास र कसका लागि विकास भन्ने प्रश्न आज विश्वसामु छ । कांग्रेस समतामूलक समाज निर्माण गर्न समाजवाद–उन्मुख राष्ट्र निर्माणमा कसरी अगाडि बढ्ने, नेपाल के गर्दा समाजवाद–उन्मुख राष्ट्र हुन्छ भन्नेबारे गहन छलफल र बहस जरुरी छ । अझ खासगरी कृषितर्फको सुधार, औद्योगिक विकासको वातावरण र सेवाक्षेत्रमा देखिएका अवसरहरूबारे कांग्रेस पार्टीमा छलफल नै बन्द भएका छन् । भावी महाधिवेशनबाट कृषि, उद्योग र सेवाक्षेत्रबारे हामीले ठोस निर्णय गरी अगाडि बढ्न सक्दा मात्र मुलुकले सही दिशा समात्नेछ ।

विकाससँगै वातावरण गाँसिएको हुन्छ । नेपालमा प्रकृतिले अनेकन् उपहार दिएको छ । यी प्राकृतिक स्रोतहरूको भण्डारलाई भावी पुस्ताका लागि पनि सुरक्षित राख्दै वातावरणमैत्री विकास मोडलबाट हामी नेपाललाई समृद्ध राष्ट्रमा पुर्‍याउन सक्छौं । तर समृद्धि नाराबाट आउँदैन; यसका लागि त्याग, समर्पण र राजनीतिक इच्छाशक्ति चाहिन्छ । प्रश्न छ, कांग्रेस कार्यकर्ताहरूमा यो इच्छाशक्ति छ त ? मेरो राजनीतिक जीवनको लामो अनुभवबाट भन्न सक्छु— कांग्रेसका निष्ठावान् कार्यकर्ता, सक्षम र विज्ञहरूबीचको समन्वयबाट देशको समृद्धि र नेपाली समाजको रूपान्तरण सम्भव छ ।

अन्तमा, कांग्रेस कार्यकर्ताहरूको मिसन अब सत्ता मात्र रहनु भएन । नेपाली जनताका समस्याहरू पहिचान गरी तिनको समाधानबारे अब नयाँ ढंगले चिन्तन र बहस गर्नुपर्ने टड्कारो आवश्यकता छ । यस्तो बहसको प्लेटफर्म हामीलाई चौधौं महाधिवेशनले अहिले देशभरि उपलब्ध गराएको छ । नयाँ कांग्रेस निर्माणका लागि महाधिवेशन नयाँ नेतृत्व चयनको अवसर त हो नै, नयाँ विचार र संगठन निर्माणको अवसर पनि हो ।

प्रकाशित : श्रावण १४, २०७८ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×