१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

फेरि निषेधाज्ञा गर्नुपर्ने अवस्था ननिम्त्याऔं

सम्पादकीय

कोभिड–१९ फैलिनबाट रोक्न लगाइएको निषेधाज्ञा खुकुलिने क्रमसँगै संक्रमण फेरि अकासिन थाल्नु चिन्ताको विषय हो । पछिल्ला दिनहरूमा डेढ महिनाअघिकै विन्दुमा नयाँ संक्रमितहरू थपिन थालेका छन् ।

फेरि निषेधाज्ञा गर्नुपर्ने अवस्था ननिम्त्याऔं

मंगलबार मात्रै करिब ३ हजार ९ सय जनामा संक्रमण पाइएको छ, जुन सात सातायताकै उच्च हो । डराउनुपर्ने त पछिल्लो १० दिनमा संक्रमित हुनेको संख्या दोब्बर भएको छ । यही गतिमा महामारी फेरि फैलिँदै जाने हो भने केही सातामै संक्रमण अहिलेसम्मकै उच्च विन्दुमा पुग्न पनि सक्छ । त्यसो हुन नदिन आम नागरिक, सरकार, राजनीतिक दललगायत सबैले उचित होसियारी अपनाउनु अपरिहार्य छ । केही गरी सरकार महाव्याधिविरुद्धको प्रतिकार्यमा चुक्यो र राजनीतिक दललगायत नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड पालनामा खेलाँची गरिरहे भने अर्को भयावह अवस्था निम्तिने निश्चितजस्तै देखिन्छ । तसर्थ, फेरि कडा निषेधाज्ञा लगाउनुपर्ने स्थितिसम्म पुग्न नदिई महामारीलाई नियन्त्रणमै राखिराख्न सबैले आ–आफ्नो स्थानबाट भूमिका खेल्न जरुरी छ ।

वैशाख दोस्रो सातापछि झन्डै दुई महिनासम्म कडा निषेधाज्ञा गर्दा पनि सरकारले संक्रमण दरलाई सन्तोषजनक स्थितिमा ओराल्न सकेको थिएन । असार दोस्रो साता निषेधाज्ञा खुकुलो बनाउँदै गर्दा पनि परीक्षण गराउनेमध्ये दिनहुँ २० प्रतिशतभन्दा बढीमा संक्रमण पाइने गरेको थियो । त्यसपछिका दिनमा पनि यो दर कहिल्यै घट्न सकेन । बिस्तारै निषेधाज्ञा झन्–झन् खुकुलिँदै गयो, सहरबजार खुल्दै गए, सार्वजनिक यातायात चल्न थाले, मानिसको भीडभाड पनि त्यही रूपमा बढ्न थाल्यो । तर राम्रोसँग मास्क लगाउने र भौतिक दूरी कायम गर्ने नियमको पालनामा भने कतिले ध्यानै दिएनन्, दिएका छैनन् । यसैबीचमा राजनीतिक सरगर्मी पनि बढ्दै गयो । विभिन्न पक्षीय जुलुस, भेला, सभा जारी रहे । यस्ता कुनै पनि कार्यक्रममा भौतिक दूरी कायम गरिएकै थिएन/छैन । यिनै लापरवाहीको दुष्परिणाम अहिले देखिन थालेको हो । तसर्थ, समयमै सचेत भएर सबै पक्षले आफ्नो आनीबानी सुधार्न आवश्यक छ ।

सडक–बजारको जथाभावी भीडले महामारीको अर्को लहर निम्त्याउने चिन्ता विज्ञहरूको छ । वास्तवमा दोस्रो लहर नै पनि यहाँ उल्लेख्य घट्नै सकेन । झन्डै नेपालजति नै जनसंख्या रहेको भारतीय राजधानी नयाँदिल्लीमा संक्रमण दर एक प्रतिशतभन्दा पनि तल झरेको निकै दिन भैसक्यो । तीन महिनाअघि दैनिक २६ हजार जनासम्म नयाँ संक्रमित थपिएको त्यहाँ पछिल्ला दिनहरूमा यो संख्या दुई अंकमा सीमित छ । नेपाल सरकारले पनि त्यहीअनुरूप व्यवस्थापन कौशल अपनाउनुपर्छ, संक्रमण बढ्न नदिन प्रतिकार्यको वेग बढाउनुपर्छ । अघिल्लो सरकार प्रभावकारी ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने र परीक्षण बढाउने कार्यमा चुकेको थियो । नयाँ सरकारले पनि यो मामिलालाई गम्भीरतापूर्वक लिएको छाँट देखिएको छैन । दुई सातासम्म त स्वास्थ्य मन्त्रालयलाई नेतृत्वविहीन नै राखियो, बल्ल राज्यमन्त्रीको नियुक्ति गरिएको छ । व्यवस्थापन कौशलकै अभावमा यसअघि महामारी नियन्त्रणमा लिन समस्या देखिएको थियो । अब पनि त्यही समस्या दोहोरिनु हुन्न ।

यतिबेला कोरोना भाइरसका नयाँ–नयाँ प्रजातिहरू देखिइरहेका छन् । बढी संक्रामक मानिएको कोभिड–१९ डेल्टा भेरिएन्टमा थप परिवर्तित रूप पाइएको छ । उता, संक्रमितको संख्यामा वृद्धिसँगै अस्पतालमा भर्ना हुने गम्भीर खालका बिरामीहरू बढ्न थालेका छन् । स्वास्थ्य मन्त्रालयले कोरोनाको ‘सम्भावित तेस्रो लहर’ आउने सम्भावना रहेको भन्दै केन्द्र र प्रदेशहरूमा अक्सिजन व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएको छ । भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न प्रत्येक प्रदेशमा कम्तीमा एक हजार सिलिन्डर र केन्द्रमा दुई हजार सिलिन्डर भरेर राख्न भनेको छ । अक्सिजन प्लान्ट, अक्सिजन ट्यांक तथा कन्सन्ट्रेटर चुस्त र चालु अवस्थामा राख्न निर्देश गरेको छ । मन्त्रालयले निर्देशन दिएर मात्र पुग्दैन, त्यसबमोजिम कार्य भए–नभएको अनुगमन पनि गर्नुपर्छ । अस्पतालहरूमा फेरि चाप देखिएमा कसरी बिरामीको व्यवस्थापन गर्ने भन्ने प्रस्ट योजना मन्त्रालयले अहिल्यै बनाउनुपर्छ । सकेसम्म त त्यस्तो अवस्था नै आउन नदिन सरकार जुट्नुपर्छ ।

महामारी रोकथाम तथा नियन्त्रणका नियमित कार्यका अतिरिक्त सरकारले मुख्य प्राथमिकता खोपमा दिनुपर्छ । खोप लगाएकाहरू संक्रमित भैहालेमा पनि गम्भीर बिरामी हुने सम्भावना नगण्य छ । धेरै जनसंख्यालाई खोप लगाउन सक्दा अर्को लहर नआउन सक्छ, आइहाले पनि अस्पतालहरूमा पहिलेजस्तो चाप नपर्न सक्छ । त्यसैले सरकारले सबै पक्षमा सक्रियता देखाउनुपर्छ, जनस्वास्थ्यका मापदण्ड पालनामा नागरिक सचेत बन्नुपर्छ । कसैले पनि जानीजानी जोखिम निम्त्याउनु हुँदैन । कथं स्वास्थ्य पूर्वाधारले धान्नै नसक्ने गरी संक्रमण बढ्यो भने मानिसको आवागमनमा कडाइ गर्नुको विकल्प नहुन सक्छ । जगजाहेरै छ— त्यसरी लकडाउन/निषेधाज्ञा लगाउनुपर्‍यो भने मुलुकको आर्थिक जीवनदेखि सर्वसाधारणको जीविकासम्म त्यसको असर कति पर्छ ? त्यसैले आजको अवस्थामै रोकथामका सम्पूर्ण तयारी गरेर निषेधाज्ञाको अवस्थामा पुग्नबाट जोगिनु नै सर्वोत्तम उपाय हो ।

प्रकाशित : श्रावण १४, २०७८ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?