कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

देउवाज्यू, कृपया परिणाम दिनुहोस्

कृपया आफू स्वयं, मन्त्रीहरू, सल्लाहकार र आसेपासेहरूलाई भुइँतिर हेर्न भन्नुहोला । आकाशतिर हेरेर धरती देखिँदैन । हाम्रो धरतीमा दुःखको समुद्र बग्छ हजुर, कृपया त्यसमा पौडिन सिक्नुहोला ।
केशव दाहाल

कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँचौं पटक प्रधानमन्त्री हुनुभएकामा बधाई ! खासमा यो बधाई एउटा सामान्य औपचारिकता मात्र हो । देउवा महोदय, नढाँटी भन्न चाहन्छु, तपाईं प्रधानमन्त्री हुनुभएकामा म पटक्कै खुसी छैन ।

देउवाज्यू, कृपया परिणाम दिनुहोस्

निश्चय नै ओलीराजको अन्त्य भयो । त्यसमा खुसी छु । अवश्य नै अहंकार, सत्तान्धता र फासीवादउन्मुख शासनको अन्त्य भयो । निश्चय नै संविधानमाथि पटकपटक भएका अनैतिक र मूर्खतापूर्ण प्रहारहरूको हिसाबकिताब भयो । लोकतन्त्रमाथि मडारिएको मैलो बादल हट्यो । तर राजनीतिक बदलाव आजको आवश्यकता हो । त्यो अर्थमा तपाईंको सत्तारोहणले कुनै नयाँ आशा, अपेक्षा र सपनाहरू देखाउँदैन । मलाई लाग्छ, तपाईंको पुनरागमन एउटा असफल इतिहासको पुनरावृत्ति मात्र हो, जसले विगतमा हामीलाई अनेकौं निराशा दिएको थियो । अतः म आशंकासाथ तपाईंलाई भन्न चाहन्छु, यो पटक चमत्कार गरेर देखाउनुहोस् महोदय । शुभकामना !

प्रधानमन्त्री महोदय, सर्वप्रथम म सोध्न चाहन्छु— जनआन्दोलन २०६२/६३ का नारा, सपना र अपेक्षाहरू तपाईंलाई कति थाहा छ ? सोध्न चाहन्छु, हाम्रो संविधानको भावना र आदेशबारे तपाईंलाई कति थाहा छ ? तपाईं स्वयं आन्दोलनको नेता हो । अवश्य नै धेरै कुरा थाहा होला । तर के तपाईंलाई जनआन्दोलनयताका पन्ध्र वर्ष कसरी बिते भन्ने थाहा छ ? के तपाईंलाई पछिल्ला वर्षहरूमा देशले भोगेका पत्रपत्र निराशाहरू थाहा छ ? के तपाईंलाई विगतमा खेर फालिएका हाम्रा अनमोल दिनहरूको मूल्य थाहा छ ? मलाई लाग्छ, यी प्रश्नहरू तपाईंका लागि नयाँ छन् । किनभने तपाईंको भव्य दरबारभित्र सडकको धूलो पुग्दैन । किनभने बूढानीलकण्ठ दरबारका मोटा पर्खालहरूभित्र सडकको चीत्कार र होहल्ला सुनिँदैन । तपाईंको आँगन मान्छेको आँसु र आक्रोशभन्दा निकै टाढा छ महोदय । त्यसैले तपाईंले नागरिकहरूको कथा, व्यथा र आक्रोश सुन्नुभएको छैन । स्वर्गमा बस्नेहरूलाई नर्कको कुरा के थाहा ? त्यसैले भन्दै छु, तपाईंलाई धेरै कुरा थाहा छैन । कृपया, आफू स्वयं, मन्त्रीहरू, सल्लाहकार र आसेपासेहरूलाई भुइँतिर हेर्न भन्नुहोला । आकाशतिर हेरेर धरती देखिँदैन । हाम्रो धरतीमा दुःखको समुद्र बग्छ हजुर, कृपया त्यसमा पौडिन सिक्नुहोला ।

तपाईंलाई सोध्नुपर्ने प्रश्न अरू पनि छन् । जस्तो, के तपाईंलाई गत साल भोकले मरेका मलर सदा र सूर्यबहादुरहरूको नाम थाहा छ ? यी प्रतिनिधि नामहरू मात्र हुन् । सत्य के हो भने, हाम्रो देशमा अझै पनि मान्छेहरू भोकले मर्छन् । सत्य यस्तो छ, आज पनि महिलाहरूमाथि विभेद छ । आज पनि नवराज विकहरू नदीमा बगाइन्छन् । दुई वर्षअगाडि मात्र हो, एक बाबुले आफ्नो मृत बच्चालाई गाड्न जमिन नपाएर कोसीमा हेलेको । सहरका छिँडी, गाउँका अनकन्टार कुनाहरूमा आज पनि मान्छेहरू अलपत्र छन् । बैंकको ब्याज, साहुको फन्दा र मालिकको दुर्व्यवहारको के हिसाब ! आज पनि हामी दाल, भात र तरकारी विदेशबाट किन्छौं र आफ्ना किसानहरूलाई उपहारमा आँसु दिन्छौं । आज पनि स्कुल जाने बच्चाहरू भैंसी र सुँगुर धपाउन बाध्य छन् । प्रत्येक दिन मान्छेको लास विदेशबाट बाकसमा आउने देशको प्रधानमन्त्री हो तपाईं । ओडार, कान्ला र अनकन्टार भूगोलमा भोक, रोग र विभेदले थिलथिलो पारिएका चेपाङ, सदा र खत्वेको देश हो यो । अपमानको थप्पड खाँदै, दिनदिनै मर्दै बाँचेका मान्छेहरूका लागि तपाईंले संविधानमा लेख्नुभएको समाजवाद मात्र एउटा जाली कुरा हो । के यो कटु सत्य तपाईंलाई थाहा छ ?

मान्छेहरूको गुनासो छ, हाम्रो लोकतन्त्रले परिणाम दिन सकेन । सोच्नुभएको छ, यस्तो किन भयो ? हाम्रो राजनीति जनअपेक्षाभन्दा कोसौं टाढा पुग्दै छ । किन यस्तो हुँदै छ ? आन्दोलनले स्थापना गरेका शीतलनिवास र सिंहदरबारहरू स्वयं पश्चगमनको मतियार बन्दै छन् । किन यस्तो हुँदै छ ? खासमा हाम्रो लोकतन्त्रले सत्ता र शक्तिका परम्परागत चक्रव्यूहहरू भत्काउनै सकेन । लोकतन्त्रले पुराना शक्ति र स्वार्थका संरचनाहरू तोड्नुपर्थ्यो । तर उल्टो पुरानो संरचनाले लोकतान्त्रिक नेतृत्वकै आस्थाको पहाड तोडिदियो । परिणाम, तपाईं फेरिनुभयो, ओली फेरिए, प्रचण्ड फेरिए । जनताको मनबाट तपाईंहरू निकै टाढा पुग्नुभयो । तपाईंसँगै सडकमा नारा लगाउनेहरू भुइँमा छुटे तर तपाईं दरबारको अट्टालिकामा बसेर स्वर्गको स्वाद लिँदै हुनुहुन्छ । यस्तो फरक किन ? के यसले तपाईंको मन पोल्छ ? अन्यथा, तपाईं हाम्रो प्रधानमन्त्री हुन लायक मान्छे होइन ।

निश्चय नै सतहमा हेर्दा सबै कुरा ठीकठाक देखिन्छ । संसद् छ । सरकार छ । बालुवाटार छ । लोकतन्त्र छ । समाजवाद छ । तर भित्र नियाल्दा सबै कुरा गडबड देखिन्छ । जस्तो, संरचना पुरानै छ । शासकीय संस्कृति पुरानै छ । उत्पादन सम्बन्ध पुरानै छ । वर्चस्व पुरानै छ । बिचौलियाहरूको रजगज पुरानै छ । व्यवस्था फेरिएर के भयो ? स्वार्थकेन्द्र पुरानै छ । जानुपर्ने स्वर्गतिर, यात्रा छ नर्कको । यसको अर्थ के हो ? जनताको भाग्य र भविष्य बदल्न राज्यको छानो फेरेर मात्र हुँदैन । संरचना वा जग बदल्नुपर्छ । के जग बदल्ने सामर्थ्य छ तपाईंसँग ? के पुरानो र सडे–गलेको संरचना भत्काउने हथौडा छ तपाईंसँग ? त्यो हथौडा हान्ने तागत छ तपाईंका पाखुरामा ? अन्यथा, ओलीको स्थानमा देउवा आएर हामीलाई के फरक पर्छ ?

यहीँनेर अरू पनि प्रश्न गरौं । जस्तो, यो देश चलाउँछ कसले ? सत्ताको आसनमा बस्छ को ? प्रहरी, प्रशासन चलाउँछ कसले ? अड्डा–अदालतमा को छन् ? अख्तियारमा को आउँछ ? भन्नलाई संविधान छ । सरकार छ । कानुनहरू छन् । तर पनि जनताको अवस्था फेरिएन, किन ? सुशासन छैन, किन ? भ्रष्टहरूलाई कारबाही हुँदैन, किन ? पछिल्ला वर्षहरूमा सबैभन्दा धनी को भयो ? गरिब किन झन् गरिब हुँदै गए ? ध्यानपूर्वक हेर्ने हो भने स्पष्ट हुन्छ, यो सम्पूर्ण खेलकुदको सिंहासनमा छ एउटा जब्बर समूह, जसले हिजो प्रजातन्त्र चलाउँथ्यो, आज लोकतन्त्र चलाउँछ । राजधानीका अनेक दरबारमा निर्बाध आउजाउ गर्ने त्यो समूहमा सय वा पाँच सय मान्छे छन् । र, तिनै मुठ्ठीभर मान्छेहरूका लागि स्वर्ग हो यो देश ।

तपाईंको भव्य दरबारमा दैनिक आउजाउ गर्ने ती मान्छेहरू को हुन्, चिन्नुहुन्छ ? बालुवाटारमा चोटाकोठा चहार्दै तपाईंका लागि उपहार टक्र्याउने ती मान्छेहरू को हुन्, चिन्नुहुन्छ ? तपाईंलाई दाइ–दाइ भन्दै दायाँबायाँ हल्लने ती मान्छेहरू को हुन्, थाहा छ ? ती तिनै मान्छेहरू हुन् जो हिजो ओलीसँग थिए । ती तिनै मान्छेहरू हुन् जो जग्गाजमिन, व्यापार–व्यवसाय, ठेक्कापट्टा, हाइड्रो सर्वत्र छन् । ती तिनै मान्छेहरू हुन्, जो ठूलठूला अन्तर्राष्ट्रिय परियोजनाहरूको मध्यस्थता गर्छन्, जो आयातनिर्यातको नियम बनाउँछन् । ठेक्का पार्छन् । ठेक्का बाँड्छन् । ती तिनै मान्छेहरू हुन् जो राज्यबाट उपचार खर्च लिन्छन् ।

ती तिनै मान्छेहरू हुन् जो कालो धन र सेतो धनको व्यापार गर्छन् । उनीहरूले अडिट गर्नुपर्दैन । बेरुजु फर्स्योट गर्नुपर्दैन । राज्यलाई दायित्व तिर्नुपर्दैन । उनीहरूलाई व्यापार गर्न न कोरोनाले रोक्छ, न त भुइँचालोले । ती तिनै मान्छेहरू हुन् जो राज्यदोहनको षड्यन्त्र बुन्छन् र त्यसमाथि समाजवादको लेप लगाउँछन् । यत्रतत्र भेटिने र स्वयं तपाईंसँग रामरमाइलो गर्ने ती मान्छेहरूको सत्ताबारे तपाईंलाई कति थाहा छ ? कतै तपाईं स्वयं उनीहरूको मतियार त हुनुहुन्न ? हाम्रो लोकतन्त्र र समाजवाद तिनै मुठ्ठीभर दलालहरूको इसारामा चल्न अभिशप्त छ । उनीहरूको हातबाट लोकतन्त्र खोसेर जनताको हातमा पुर्‍याउने तागत छ तपाईंसँग ? मान्छेहरू भन्छन्, तपाईं भाग्यमानी हुनुहुन्छ । तर एउटा नेता भाग्यमानी हुनुको अर्थ के हो ? जनताको भाग्य र भविष्य फेरौं श्रीमान् । अन्यथा, तपाईं जतिसुकै भाग्यमानी भए पनि हामीलाई के मतलब ?

सरकारी मान्छेहरू भन्छन्— देशमा पैसा छैन । थाहा छ, गर्नुपर्ने कामहरू धेरै छन् र स्रोतसाधनको कमी छ । अवश्य नै, त्यसैले त हामीलाई योग्य प्रधानमन्त्री चाहिएको हो । जसले चुनौतीहरूको सामना गरोस् । जसले आफ्ना सपनाहरूलाई जनताका सपनाहरूसँग एकाकार गरोस् । जसले परिणामहरू दिन सकोस् । के तपाईंसँग अक्करमा हिँड्ने सामर्थ्य छ ? के तपाईंसँग नयाँ गर्ने सोच, सृजनशीलता र हिम्मत छ ? जस्तो कि, सार्वजनिक खर्च पुनरवलोकन आयोगका अनुसार हाम्रा छवटा मन्त्रालय, तीन दर्जन आसपास महाशाखा, दर्जनौं विकास समिति र अनेक आयोगहरूलाई या खारेज गर्न या त मिलाउन सकिन्छ । त्यसो गर्दा अहिले नै ५० हजार कर्मचारीहरूको खर्चबोझ कम हुन्छ ।

सरकारले एक वर्ष नयाँ गाडी खरिद नगर्ने हो भने करोडौं जोगिन्छ । खर्च घटाउन आर्थिक अनुशासन आवश्यक हुन्छ । जस्तो, विदेश भ्रमण नगरौं । भोजभतेर नगरौं । सरकारी चियापान र अतिथि सत्कार बन्द गरौं । अहिले साप्ताहिक बिदा एक दिन दिइन्छ, दुई दिन गरौं । बिदामा सरकारी साधनको दुरुपयोग रोकौं । त्यसैगरी मन्त्रिपरिषद्, संसद्, आयोग, समिति, सरकारी कार्यालयका अनेक बैठकहरूमा दिइने भत्ता कटाऔं । यसरी खर्बौं जोगाउन सकिन्छ । यस्तो बचत मुख्यतः निःशुल्क शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, रोजगारी सृजना र कृषिमा लगाउन सकिन्छ । के तपाईं यो काम गर्न सक्नुहुन्छ ? के तपाईं ओलीराजमा भएमा असंवैधानिक नियुक्तिहरू बदर गर्न सक्नुहुन्छ ? के तपाईं ठूलठूला भ्रष्टाचारका घटनाहरूको छानबिन गर्नुहुन्छ ? कतिपय घटनामा तपाईं स्वयंको मिलेमतो छ भन्ने आशंका गरिन्छ । के त्यो शंका निवारण गर्ने हिम्मत छ तपाईंसँग ?

महोदय, जनता बदलाव चाहन्छन् । अन्यथा पुरानै काम, पुरानै संरचना, पुरानै मान्छेहरू र उस्तै प्रवृत्तिले नयाँ परिणाम दिँदैन । पुरानै चीजको निरन्तरता हो भने नयाँ सरकारको के अर्थ ? अतः तपाईंलाई अनुरोध छ, कृपया आफूलाई बदल्नुहोस् । सल्लाहकारहरू बदल्नुहोस् । मुख्यतः युवाहरूलाई विश्वास गर्नुहोस् । थाहा छ, तपाईंको कार्यकाल लामो छैन । थाहा छ, तपाईंका आफ्नै सीमाहरू छन् । तर कम्तीमा केही राम्रो र नयाँ सुरुआत गर्नुहोस् । अन्त्यमा यति भनें— कृपया परिणाम दिनुहोला, कृपया यो पटक असफलताको भारी नबोक्नुहोला । अन्यथा, इतिहासका गल्तीहरू पानीका फोका होइनन्, जो सजिलै उठ्छन् र बिलाउँछन् । ती ढुंगामा कुँदिएका अक्षरहरू हुन् महोदय, जसको हिसाबकिताब आज नहोला, एक दिन अवश्य हुन्छ । त्यसैले इतिहाससँग डराउनुहोला ।

[email protected]

प्रकाशित : श्रावण ३, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?