२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

मुखमा मार्क्स, मनमा मनु

प्रायः देशभित्रका विविधता, मूलतः धार्मिक बहुलतालाई एउटा कठोर सूत्रमा जोड्न कुनै न कुनै देशी वा विदेशी शत्रु खडा गर्ने र द्वन्द्व–टक्कर–हिंसाको नकारात्मक मानसिकताका आधारमा ‘राष्ट्र’ को अस्तित्व टिकाउने खेलको क्रममै अनेक भाष्य कुँदिने हुन् ।
राजेन्द्र महर्जन

विश्वले प्रख्यात अभिनेता दिलीप कुमारलाई ९८ वर्षमा गुमाएको छ । मोहम्मद युसुफ खानबाटै दिलीप कुमारको विराट् व्यक्तित्व बनाइएको हो । जीवनभन्दा ठूलो व्यक्तित्व र जीवन्त अभिनयले उनलाई हतपती मर्न दिँदैनन् ।

मुखमा मार्क्स, मनमा मनु

खासमा देहान्तचाहिँ युसुफ खानको भएको हो, दिलीप कुमारको होइन । दिलीप कुमार त ब्रिटिस–इन्डियाको पेसावरमा मुसलमान परिवारमा जन्मेका खानमाथि ओढाइएको हिन्दु नाम हो । उनको मुसलमान पहिचान हिन्दु मानसिकता भएका दर्शकका लागि, भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघलाई स्वीकार्य भएन । उनको बहुलवादी, उदार र ‘सेकुलर’ विचार शिवसेनालाई तीतो साबित भयो । त्यसैको फलस्वरूप घरमा हमला हुँदा कहिले जवाहर लाल नेहरूले त कहिले अटलबिहारी वाजपेयीले बचाउनुपरेको थियो ।

‘सर्वधर्म समभाव’ भएको ‘सेकुलर’ (धर्म वा पन्थ निरपेक्ष) राज्यको अभ्यास गर्ने भारत त्यस्तो देश हो, जुन धर्मकै आधारमा विभाजित भएको थियो । भारत त्यस्तो मुलुक पनि हो, जहाँ राष्ट्रपिताको दर्जा दिइएका मोहनदास करमचन्द गान्धीसमेत धार्मिक दुराग्रहीहरूबाट देश विभाजनको निहुँमा सन् १९४८ मा मारिएका थिए । राष्ट्रिय स्वयंसेवक संघका सेवक नाथुराम गोड्सेले गोली हान्नुको खास कारण थियो— इस्लाम धर्मावलम्बी र मुसलमान समुदायका लागि पाक/शुद्ध मुलुक (पाकिस्तान) बनाइएजस्तै, भारत वा इन्डियालाई हिन्दु धर्मावलम्बी र हिन्दीभाषीहरूको मात्र हिन्दुस्तान बनाउने चाहना । त्यही चाहनाको विस्तार हो, अल्पसंख्यकहरूको व्यापक परायाकरण (अदरिङ), परायाहरूमाथि हत्या–हिंसा, आलोचक व्यक्तित्वमाथि हमला, विदेश–पाकिस्तान निष्कासनको धम्की ।

मुखमा गान्धी छ, मनमा गोड्से

सबै धर्मप्रति समभाव राख्दाराख्दै पनि, मूलतः हिन्दु धर्म र हिन्दु स्वराजको पक्षपाती रहेका गान्धीलाई समेत हत्या गर्ने गोड्सेहरूको राष्ट्रिय स्वयंसेवक संघ र त्यसको राजनीतिक दल भाजपाका लागि पटक्कै स्वीकार्य छैन— सेकुलरिजम । गान्धी र हजारौं मुसलमानलाई मार्ने हिन्दुत्ववादीहरूको धार्मिक–सांस्कृतिक राष्ट्रवादको एकांगी नजरमा दिलीप कुमार त केवल मुसलमान थिए, विभाजनपछि पाकिस्तानमा परेको पेसावरबाट आएका विधर्मी र विदेशी ! आज पनि खान नायकहरूमाथि अनेक हमला हुनुको एउटा कारण त्यही हिन्दु राष्ट्रवाद हो, जुन अरू धर्मावलम्बीप्रति मात्रै होइन, आफ्नै धर्मका दलितप्रति पनि असहिष्णु र आक्रामक छ ।

चाहे मुसलमान होऊन् या दलित या अन्य अल्पसंख्यक, आफूभन्दा फरक समुदायलाई सिकार बनाउँदै आइरहेका धार्मिक राष्ट्रवादीहरूको मुखमा गान्धी–गान्धी छ, मनमा चाहिँ गोड्से–गोड्से । यसबीच उनीहरूले सरकारी स्तरबाट फरक मत राख्ने आनन्द तेलतुमडे, वरवर राव र स्टेन स्वामीहरूको गिरफ्तारी र सुस्त गतिमा मृत्युको मुखमा धकेल्ने काम मात्रै होइन, नयाँ गोड्सेहरूबाट नरेन्द्र दाभोलकर, गोविन्द पानसरे, गौरी लंकेश र एमएम कलबुर्गीको हत्या भइसकेको छ । गेरुवा भीडबाट गौमाताको रक्षा र ‘भारत माता की जय’ को नारामा हत्या–हिंसासँगै धर्म–पन्थ निरपेक्ष मूल्य–मान्यता र संरचनामाथि हमला जारी छ, सन् २०२५ सम्ममा भारतवर्षलाई नै हिन्दुराष्ट्र बनाउने धृष्टताका साथ ।

सेकुलरिजममाथि हमला

सिंगो देश, राज्य र समाजलाई हिन्दुकरण गर्न चाहने होऊन् कि अन्य धर्मको अनुकूलन गर्नेहरू, सबैजसो धार्मिक कट्टरपन्थीका लागि सबै समस्याको मूल जरो हो— सेकुलरिजम । कुनै सरकारले गरिबी घटाउन, विकास बढाउन, भ्रष्टाचार कम गर्न सकेन भने पनि सेकुलरिजमलाई नै दोष थोपर्ने गरेको छ । धार्मिक राष्ट्रवादले गर्ने अनेक समस्याको व्याख्या र दोषारोपणको इतिहास हेर्दा विभिन्न धार्मिक कट्टरपन्थीहरूको पोल खुल्छ ।

अध्येता अभय कुमार दुबेका अनुसार, श्रीलंकामा सिंहली बौद्ध राष्ट्रवादीहरूले यस्ता समस्याको दोष सेकुलर राष्ट्रवादको अत्यधिक मूल्यहीनतामाथि आरोपित गरे । इरानका धार्मिक नेता अयातुल्लाह खोमेनीले इरानी सेकुलरवादीहरूको पश्चिमीपरस्त नीतिको नतिजाका रूपमा व्याख्या गरे । इजिप्टको मुस्लिम ब्रदरहुडले यसलाई सेकुलर शासकहरूको विश्वासघातसँग जोड्यो भने पाकिस्तानका इस्लामी कट्टरपन्थीले यसलाई सरियत (धर्मशास्त्र) का नियम–कानुनको उल्लंघनको दुष्परिणाम बताए । भारतका हिन्दुत्ववादीले यसलाई अल्पसंख्यकहरूको तुष्टीकरण (अपिजमेन्ट) को टाउकामा थोपरे भने सिख पृथकतावादीले पन्थका नियमको उल्लंघनको अर्थमा गरे ।

प्रायः देशभित्रका विविधता, मूलतः धार्मिक बहुलतालाई एउटा कठोर सूत्रमा जोड्न कुनै न कुनै देशी वा विदेशी शत्रु खडा गर्ने र द्वन्द्व–टक्कर–हिंसाको नकारात्मक मानसिकताका आधारमा ‘राष्ट्र’ को अस्तित्व टिकाउने खेलको क्रममै अनेक भाष्य कुँदिने हुन् । पाकिस्तान, इस्लाम धर्मावलम्बी र मुसलमान समुदायको शत्रु निर्माण गर्दै भारतलाई हिन्दुस्तान बनाउन उद्यत गोड्सेहरूको संघ र पार्टीले फैलाएको असहिष्णुता, अन्य–घृणा र हिंसाबाट तागाधारी नेपाली शासकहरूले कुनै नकारात्मक पाठ सिकेको देखिँदैन । उनीहरू बरु कुनै न कुनै निहुँ र नारामा एक धर्मको धागोमा उन्ने धार्मिक राष्ट्रवादी खेल खेल्नमै उद्यत रहेको देखिन्छ ।

नेपालमा गेरुवाकरणको खेल

यही खेल–मैदानमा ‘मुखमा मार्क्स, मनमा मनु’ राख्ने एमालेका एक छेत्री नेता महेश बस्नेत निवर्तमान हुँदै गरेका अवैध प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका स्ट्राइकर भएर उत्रिएका छन्, नेपालमा केही समयअघि संविधानमा लेखिएको धर्मनिरपेक्षताबारे र केही अभ्यास गर्न थालिएको संघीयताबारे समीक्षाको माग गर्दै । सही अर्थ र मर्मका साथ अभ्यासै नगरीकन समीक्षा गर्ने हतारोको नेपथ्यमा धर्मनिरपेक्षताविरोधी भाजपा र हिन्दुत्ववादी मोदी सरकारसँग ‘कम्फर्टेबल’ हुने विदेशनीति हुन सक्छ ।

चुच्चे नक्साको भौगोलिक राष्ट्रवादबाट राम–अयोध्या–हिन्दु राष्ट्रको धार्मिक राष्ट्रवादमा छलाङ मार्नेहरूका लागि बेइजिङबाट दिल्लीसम्म फड्को मार्न कुनै कठिनाइ छैन । संविधान लेखनदेखि सत्तामा आसीन हुने अवधिसम्म बेइजिङको गुणगान गाउने एमाले नेताहरूका लागि दक्षिणको पर–राष्ट्रलाई वर–राष्ट्र बनाउने अचूक ओखती हो— धार्मिक राष्ट्रवाद । यही धार्मिक राष्ट्रवादी सुपरग्लुले संसद्, संविधान र लोकतन्त्रको हत्याका लागि समेत दक्षिणी आशीर्वाद पाउने गरी दुई दल, दुई सरकार, दुई विचारलाई जोड्न सक्नु कुनै पहेली होइन ।

यही जोडाइको असर जसपाको ठाकुर–महतो समूह सत्तारोहण, तेह्रथुम–झापाका कुमाइ ब्राह्मण ओली र तराईका ब्राह्मण ठाकुरबीच सहकार्य, मधेसका महतोदेखि परदेशका मोदी–शाहसँग हातेमालोमा देखिएको छ । यस्तो गठबन्धन र सत्ता–जोड राष्ट्र–राज्य र सरकारको हिन्दुकरणका रूपमा मात्रै होइन, तराई–मधेसको जनमानसलाई गेरुवाकरण गर्ने अभियानका रूपमा पनि पोखिने खतरा छ, जुन धर्मसापेक्ष अभियानको एक अंग हो । उनीहरूको नजरमा पहाडमा चुच्चे नक्साको भौगोलिक राष्ट्रवादले एउटा युद्ध जितिसकेको छ भने अब धार्मिक राष्ट्रवादले विजय हासिल गर्दै छ ।

ठोरीमा अयोध्याको खोज, माडीमा राम–सीताको मन्दिर स्थापना, बालुवाटारदेखि माडीसम्म राजकीय धार्मिक यात्रा तथा पशुपतिमा पूजाआजा र नक्कली जलहरी लेपन गर्ने धार्मिक राष्ट्रवादले धर्मसापेक्षताको अर्को लडाइँ जित्दै छ । अब बजेटमार्फत हिन्दु मठमन्दिरमा पोखिएको ठूलो रकम, त्यस क्रममा गरिने पूजा–अर्चना र धार्मिक अनुष्ठानले त्यस लडाइँमा थप योगदान दिने विश्वास गरिएको छ । यसै क्रममा मोदी–शाहसँग वैचारिक मिलन, ठाकुर–महतोसँग सत्ता–जोडसँगसँगै तराई–मधेसमा गेरुवाकरण गर्न सकियो भने भावी चुनावमा दुईतिहाइको सपना पूरा हुने रणनीति बुनिएको हुन सक्छ । यसका लागि गेरुवाकरण हुँदै गएको एमाले–जसपा समूहले हिन्दुत्ववादी राप्रपादेखि नेपाली कांग्रेसभित्र धर्मसापेक्षताको पक्ष लिने धार्मिक राष्ट्रवादी शक्तिसँग हातेमालो गर्न सक्छ ।

तत्कालका लागि धार्मिक राष्ट्रवादीहरूको गेरुवाकरण अभियान तराई–मधेसमा जनाधार भएको नेपाली कांग्रेस, जसपाको भट्टराई–यादव समूह र माओवादी केन्द्रविरुद्ध लक्षित राजनीतिजस्तो मात्रै देखिन सक्छ । तर खसोखास भन्दा यो धर्मनिरपेक्षता, संविधान र लोकतन्त्रविरुद्ध बृहत् युद्धघोष हुन सक्छ । यसले कुनै न कुनै रूपमा देशमा एकल धर्म, एकल पन्थ, एकल संस्कृति मात्रै होइन, एकल वर्ण–जात–लिंगकै अभिजातीय प्रभुत्व हुने हिन्दु राष्ट्र–राज्यतिर फर्काउन जोडबल गर्ने हो ।

‘असिल् हिन्दुस्थाना’ का नयाँ–नयाँ भेरियन्ट

साढे पाँच सयभन्दा बेसी देशमा विभाजित भारतवर्षमा हिन्दु धर्मावलम्बी शासकहरूको पराजय तथा इस्लामी धर्मावलम्बी र इसाई धर्मावलम्बी शासकहरूको द्वन्द्वसँगै नेपाललाई हिन्दुकरण तीव्र पारिएको इतिहास छ । अब भारतमा हिन्दुत्ववादी शासकहरूको दबदबासँगै नेपालमा पनि ‘असिल् हिन्दुस्थाना’ को नयाँ भेरियन्टको वकालत भएको हुन सक्छ । विगतमा धार्मिक सहिष्णुतायुक्त पूर्व शासन व्यवस्थाबाट सिक्नुको सट्टा ‘असिल् हिन्दुस्थाना’ का असली हिन्दुपति हुने लोभले कति बिगार्‍यो, लेखाजोखा छैन । हिन्दु अधिराज्यले अन्य धर्मावलम्बीमा मात्रै होइनन्, आफ्नै धर्मावलम्बीका विभिन्न वर्ण–जात–लिंगका दुनियाँ–रैयत–रैती–प्रजाको जीवनमाथि कति भयावह कहर फैलायो, कुनै हिसाब–किताब भएकै छैन ।

हिन्दु अधिराज्यभित्र गैरहिन्दुहरूको दुरवस्था बुझ्न १९५३ सालदेखि हिन्दु धर्म, परम्परा र संस्कृतिभित्रै सुधारको मागसहित उदाएको आर्य समाजको दमनको एउटा घटना हेरे पुग्छ । १९६२ सालमा आर्य समाजका अगुवा माधवराज जोशीलाई शास्त्रार्थका नाममा लौरो र छाताले रगताम्मे हुने गरी पिट्दै दुई वर्ष सश्रम कैद गर्ने शाह–राणा शासकहरू आफूलाई हिन्दु अधिराज्यका राजा–महाराज ठान्थे भने, राजगुरु पुरोहितहरूचाहिँ भ्याटिकन सिटीका पोपजस्तै मान्थे । त्यसैले पुरोहित्याइँ, कर्मकाण्ड, जातभात र ब्राह्मणवादको विरोध गर्ने तथा ‘पशुपतिनाथ ढुंगाको मूर्ति हो, ईश्वर होइन’ भन्ने जोशीजस्ता आर्य समाजीहरू हिन्दु शासकसँगै तिनका पुरोहित, राजगुरु र पण्डितसँगै ब्राह्मणहरूका आँखाको कसिंगर बन्न पुगे । उनीहरूले हिन्दु अधिराज्यलाई बचाइराख्न दुईवटा रणनीति अख्तियार गरे । एक, ‘चलिआएको मजहव धर्ममा खलल हुने मत प्रचार गर्ने र एका मजहव छोडी–छोडाई अर्को मजहवमा जाने लिनेलाई समेत बात लाग्ने, सरकारवादी मुद्दा ठोक्ने तथा वर्षौंवर्ष कैद, अंशबाट बेदखल तथा विदेशी भए देशनिकालाको सजाय’ गर्ने कानुन बनाइयो । श्री ३ महाराज जंगबहादुर राणाले १९१० सालमा बनाएको मुलुकी ऐनको ‘अदलको’ महललाई संशोधन गर्दै लेखियो :

‘गोरखाराजमा सनातनदेखि हिन्दुजातिमा चलिआएका मजहव धर्ममा र जात–विशेषमा खलल हुने गरी आर्यसमाजी...जैन.., ईशाई, इसलाम इत्यादि विधर्मी विदेशी मतहरू कसैले चलाउन प्रचार गर्न र सो चलाउनाको उद्देश्यले मानिसहरूको मजहव बिग्रनजाने हिसाबको व्याख्यान वक्तृता दिन र ब्राह्मणदेखि पानी चल्ने जातसम्मका हाम्रा कसैलाई पनि आफ्ना मतमा लैजानसमेत हुँदैन... यसो भए गरेमा अड्डा अदालत ठाना अमालबाट वादी खडा नभए पनि सरकार वादी भई हेरी तहकिकात गर्नुपर्छ.’

धर्मकै नाममा उत्पीडनको प्रतिरोध

अर्कातिर, यही महललाई लागू गर्ने क्रममा महाराज र बडागुरुज्यूहरूले जेलमा रहेका जोशीका छोराहरू अमरराज र शुक्रराजलाई दरबार स्कुलबाट निकाला गरे भने प्रधानाध्यापकले पहिल्यै पानीबाहेक गरे । भारतबाट शास्त्रीका रूपमा दीक्षित भएर फर्केपछि शुक्रराजले १९९४ सालदेखि ‘नागरिक अधिकार समिति’ बाट नेपालमा नागरिक आन्दोलन चलाउने, सार्वजनिक रूपमा सम्भवतः पहिलो आमसभा र भाषण गर्ने तथा वेद, गीता र पुराण वाचनमार्फत समयबोध पनि गराउने उपक्रम थाले । श्री ३ महाराज जुद्धशमशेरको ‘स्पिच’ बाट थाहा हुन्छ, शुक्रराजलाई नागरिक आन्दोलन चलाएर राजद्रोह गरेकाले मात्रै होइन, गैरब्राह्मण नेवाः भएर पनि गल्ली–गल्लीमा गायत्री मन्त्र पाठ गर्दै ‘धार्मिक उपद्रव’ गरेकाले पनि झुन्ड्याइएको हो, उपद्रवीका नाइके ठान्दै ।

बुद्धलाई जाँडे देउता र बुद्ध धर्मलाई भोटे धर्म भन्ने तागाधारी शासकहरू कति हदसम्म असहिष्णु थिए, यो २००१ सालमा बुद्ध धर्मका अनुयायी नेवार भिक्षुहरूको देशनिकालाबाट प्रस्ट हुन्छ । नेपाललाई एक मात्र स्वतन्त्र हिन्दुराज्यका महाराज ठान्ने र भारतको विश्व हिन्दु सभाबाट हिन्दु शिरोमणि राजा सभापतिको उपाधि पाएर मक्ख हुने हिन्दुपतीय प्रवृत्तिबाट धेरैजसो राजा र नेता मुक्त छैनन् । कोही असिल् हिन्दुस्थानामा हिन्दुपति त कोही हिन्दु अधिराज्यका महाराज, कोही सनातन धर्मसंस्कृतिको रक्षा गर्ने धर्मनिरपेक्ष राज्यका हिन्दुत्ववादी प्रधानमन्त्री–राष्ट्रपति ! उनीहरूबाट बहुधार्मिक नेपालमा धार्मिक सहिष्णुताको आस गर्नु आकाशे फलको आशा गर्नुभन्दा कठिन छ ।

यतिखेर फेरि एक पटक विभिन्न धर्म, पन्थ, सम्प्रदाय, समुदायका संघर्ष अनि सेकुलर विचारका हजारौं मानिसका रगत, पसिना र आँसुले लेखिएको र सीमित अर्थ भएको धर्मनिरपेक्षता शब्दसमेत हिन्दुत्ववादीहरूको तारो भएको छ । यसरी तारो हानिँदा धर्म–पन्थ निरपेक्ष लोकतन्त्र मात्रै मासिने होइन, कसैका गौमाता, कसैका धर्म, कसैका सनातन परम्परा, कसैका वर्ण–जात–लिंगको सर्वोच्चताका लागि पुनःस्थापना गरिने नयाँ भेरियन्टको ‘असिल् हिन्दुस्थाना’ ग्यास च्याम्बर नै बन्ने हो ।

आर्य नस्लको श्रेष्ठता र विश्वमाथि शासनाधिकार स्थापित गर्न खोज्ने अडोल्फ हिटलर र बेनितो मुसोलिनीको फासीवाद ‘असिल् हिन्दुस्थाना’ को बीसौं शताब्दीको भेरियन्ट हो, जुन हिन्दुत्ववादीहरूका लागि प्रिय शासन हो । एक्काइसौं शताब्दीमा पनि नयाँ भेरियन्टको धार्मिक शासन पुनःस्थापना गरियो भने लाखौं मानिस जेलमा सडाइने, जातको उत्पीडनको मारमा पर्ने, आस्था र अनुष्ठानको अधिकार खोसिने तथा लैंगिक हिंसासँगै अनागरीकरणको सिकार भइरहने उपक्रम झनै बढ्नेछ । यस्तो खतरा नजिक आएको दृश्य हेर्दै बस्ने कि प्रतिरोध गर्ने, यो समयको मुख्य फ्रश्न बन्दै छ ।

प्रकाशित : असार २९, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?