कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता नेपालीबारे बेखबर सरकार

सम्पादकीय

क्यारेबियन सागरमा डुंगा पल्टिएर जुनसुकै देशका नागरिक हराए पनि त्यो एउटा दुःखद अन्तर्राष्ट्रिय समाचार अर्थात् विश्वव्यापी चासोको विषय हो । तर विडम्बनापूर्ण भन्नुपर्छ— दस हजार माइल पर उक्त सागरमा तीन सातादेखि आफ्नै सात नागरिक हराइरहँदा नेपाल सरकार भने पूरै किंकर्तव्यविमूढ देखिएको छ ।

बेपत्ता नेपालीबारे बेखबर सरकार

हराइरहेका नागरिकका परिवारले आफ्नो मान्छेको खोजीनिती गर्न अनेकतिर हारगुहार गरिरहेका छन् । दलाललाई ऋण–धन गरेर बुझाएको लाखौं रुपैयाँको हिसाबभन्दा पहिला उनीहरूलाई आफन्तको अवस्थाबारे जानकारी चाहिएको छ, मरे–बाँचेको निधो गर्नु छ । तापनि अभरको यो घडीमा उनीहरूले राज्यका निकायहरूबाट यथोचित सहयोग पाउन सकेका छैनन् । सरकारले न सम्बन्धित परिवारलाई भेटेर सत्यतथ्यको जानकारी तथा सान्त्वना–ढाडस दिएको छ, न उनीहरूलाई विदेश लैजाने मानव तस्करहरूविरुद्ध उजुर–बाजुर लिने र अनुसन्धान गर्ने तदारुकता नै देखाएको छ । विदेशस्थित कूटनीतिक नियोगहरूलगायत परराष्ट्र मन्त्रालय र प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो सबैले यस मामिलामा देखाएको निष्क्रियता चरम गैरजिम्मेवारीको द्योतक हो ।

मानव तस्करीका भयानक दुष्परिणाम देखिँदासमेत यसलाई न्यूनीकरण गर्न सरकार यति विघ्न उदासीन देखिएकैले ‘जसरी पनि अमेरिका’ को अवैध र आत्मघाती यात्रा अविराम अघि बढिरहेको हो । सरकारी बेवास्ताकै कारण मानव तस्करहरू अमेरिका सपनाको जालो बिछ्याउन सफल भैदिँदा घरी अफ्रिका त घरी दक्षिणी अमेरिकाका जंगल तथा समुन्द्रको बाटोमा नेपाली नागरिकहरूको ज्यानै जाने जोखिमको यात्रा नरोकिएको हो । त्यसैले सरकारले यतिबेला हराइरहेका नागरिकको हरहालतबारे पत्ता लगाउनेलगायतका तत्कालीन सवाललाई सम्बोधन गर्नुपर्छ । र आगामी दिनमा यस्तो दुष्प्रवृत्ति दोहोरिन नदिन मानव तस्करीको जालो तोड्ने सार्थक पहल थाल्नुपर्छ ।

अवैध बाटो अमेरिका छिर्न लागेको ८ नेपालीलगायत चढेको डुंगा असार ५ गते कोलम्बियाको समुद्रमा दुर्घटना पर्दा सात नेपाली बेपत्ता भएका हुन् । १८ जना सवार उक्त डुंगाबाट एक नेपाली र पाँच बंगलादेशीको उद्धार भए पनि सात नेपालीसहित १२ जना हराइरहेका छन् । बेपत्ता भएकामध्ये दाङका २१ वर्षीय एन्जल बुढामगरको त मृत्यु नै भएको ‘निश्चय गरी’ परिवारले काज किरियासमेत गरिसकेको छ । बेपत्ता नेपालीमा एन्जलसहित दाङकै हेमराज अधिकारी र रेशम डिंगामगर, पर्वतका दिनेश गौतम र राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा अनि जिल्ला र नाम नखुलेका अर्का एक जना छन् । उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन् ।

एन्जलबाहेकका परिवारहरू घटना के भएको हो भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । डुंगा चढ्न होटलबाट हिँडेको बताएका कोही पनि त्यसयता कसैको सम्पर्कमा नआएकाले परिवारहरू चिन्तित छन् । उनीहरू अनेक हल्ला सुन्छन्, तर भएको यसो हो भनेर सरकार केही भन्दैन । लाग्छ, सरकारलाई यो सब कुनै मतलबै छैन । हाम्रा राजनीतिक नेताहरू पनि बरु ताल न सुरसित भेनेजुयलाका बारेमा विज्ञप्ति निकाल्न उद्यत हुन्छन्, तर झन्डै त्यतैउतै पुगेर आफ्ना नागरिक हराएको बारेमा भने कुनै चासो दिँदैनन् । सरकारदेखि राजनीतिक नेताहरूसम्मको देखाएको यो संवेदनहीनता निन्दनीय छ ।

विश्वका जुनसुकै कुनामा रहे–पुगेका नागरिकको हरहालतबारे जानकारी राख्नु सरकारको प्राथमिक कर्तव्यभित्र पर्छ । तर यति लामो अवधिदेखि यी बेपत्ता नागरिकबारे सरकारी संयन्त्रहरूले खोजखबर गरेकै छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा खबर आएलगत्तै आवश्यक कार्यका निम्ति तात्नुपर्ने सरकारी पक्ष परिवारका सदस्यले दुर्घटनाबारे परराष्ट्र अधिकारीलाई जानकारी गराइसक्दा पनि त्यसै मौनप्रायः रहनु उदेकलाग्दो छ । उता, प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरो पनि यसबारे पूरै बेसरोकारजस्तै देखिन्छ । मानौं, यो उसले हेर्नुपर्ने विषय नै होइन । घटनाबारे आफूहरूले औपचारिक सूचना नपाएको भनेर यस्तै कामका लागि खडा गरिएको ब्युरो टक्टकिन मिल्दैन । ज्यान जोखिममा राखेर जसरी पनि अवैध बाटोबाट अमेरिका छिर्ने यात्रालाई रोक्ने आफ्नो दायित्व उसले भुल्नु हुँदैन ।

मानव बेचबिखन नेपालका निम्ति अति गम्भीर मामिला हो । सन् २०२० जुनमा अमेरिकी सरकारले प्रकाशित गरेको ‘ट्राफिकिङ इन पर्सन रिपोर्ट’ मा नेपाललाई टायर २ देशको सूचीमा राखिएको छ । जसको अर्थ मानव बेचबिखन रोक्नका निम्ति बनाइएका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नेपाल सरकारको पहल पर्याप्त छैन भन्ने हो । २०७५ सालमा राष्ट्रिय मानवअधिकार आयोगले प्रकाशित गरेको प्रतिवेदनले पनि करिब ३५ हजार नेपाली मानव बेचबिखनमा परेको र १५ लाख जना यसको जोखिममा रहेको आकलन गरेको छ । यस्तै, महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४–७५ मा १ हजार १ सय १६ मुद्दा मानव बेचबिखन तथा ओसारपसार र वैदेशिक रोजगारसँग सम्बन्धित थिए । मानव बेचबिखनका कति घटना त अभिलेखको चरणसम्म आउनै सकेका छैनन् ।

यही मानव बेचबिखनको तथा तस्करीको एउटा पाटो हो— अवैध बाटोबाट अमेरिका । यसरी अमेरिका हिँडेकाहरू कोलम्बियाको दुर्गम गाउँ कपुरगानाबाट डेरियन ग्याप भनिने घनाजंगलको बाटो हुँदै पानामा छिर्ने गर्छन् । आईओएमले सन् २०१६ मा प्रकाशित गरेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षकको प्रतिवेदनले नै ‘घोस्ट ट्रेल’ नाम दिएको उक्त जंगल यात्रामा अहिलेसम्म कति नेपाली पीडित बनिसकेका छन् । कान्तिपुरकै अध्ययनमा यी ८ नेपालीलाई पनि तीन फरक–फरक दलालले विभिन्न मितिमा काठमाडौंबाट उडाएको र उनीहरूलाई अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्‍याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको देखिन्छ । कोलम्बियासम्म पुग्ने क्रममा औसतमा जनही ३० लाख हाराहारी खर्च गरेको पाइन्छ । त्यसैले सरकारले पहिले त यी नागरिकको यथार्थ पत्ता लगाई परिवारलाई जानकारी दिनु जरुरी छ । र, यसबारे प्रहरीको सम्बन्धित ब्युरोले उचित अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अपरिहार्य छ । नत्र, संगठित मानव तस्करहरूको आश्वासनको पासोमा परेर दर्जनौं देश छिचोल्दै गरिने महिनौं लामो अवैध यात्राको यो क्रम कहिल्यै रोकिने छैन ।

प्रकाशित : असार २७, २०७८ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?