कोभिडविरुद्ध हातेमालो- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडविरुद्ध हातेमालो

दुर्गा कँडेल छत्कुली

सारा विश्व कोभिड–संकटबाट गुज्रिरहेकै छ । विश्वभरि १८ करोड ३९ लाख ४८ हजार संक्रमित भएका छन् भने, ३९ लाख ८२ हजारको मृत्यु भइसकेको छ । भारतमा ४ लाखभन्दा बढीको ज्यान लगिसक्यो । नेपालमा ६ लाख ४४ हजार संक्रमित भइसके, मृतकको संख्या पनि ९ हजार २ सय पुगिसक्यो । 

कोभिडको तेस्रो लहर देखा परिसकेको समाचार आइरहेको छ । तर, नेपाल सरकारले पछिल्लो निषेधाज्ञालाई अलि खुकुलो बनाउनुबाहेक महामारी रोकथामको पूर्वतयारी प्रभावकारी रूपमा गर्न सकेकै छैन । जनताको जीवनरक्षा कसरी गर्ने भन्ने चिन्ता हुनुपर्ने बेला राजनीतिक नेताहरू कुर्सीकै खेल लागिरहेकै छन् । यद्यपि यस्तो ठूलो महामारीसँग जुध्ने सामर्थ्य सरकार एक्लैले राख्न सक्दैन । त्यसैले सेवाप्रदायक संस्था, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला सबैले आ–आफ्ना तहबाट सकेको गर्नुपर्छ ।

सरकारी भूमिका : विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण जति बेला पनि बढ्न सक्ने भएकाले सबै देश पूर्वतयारीमा रहनुपर्ने चेतावनी दिइरहेकै छ । नेपाललाई उसले उच्च जोखिमयुक्त मुलुकमा राखेको छ । पहिलो लहरमा कम क्षति बेहोरेको नेपालमा दोस्रो लहरले भने संक्रमित र मृतकको संख्या ह्वात्तै बढाइदियो । नेपाल भारतको भन्दा असामान्य स्थितिबाट गुज्रिनुपर्‍यो र स्थिति अझै सहज भइसकेको छैन । सरकार महामारी नियन्त्रणको दिशामा गम्भीर भइरहनैपर्छ, स्वास्थ्य सेवालाई चुस्त बनाउन र महामारीले अर्थतन्त्रमा पारेको असर कम गर्ने योजनामा लागिरहनैपर्छ । महामारीका बेला सरकारले ‘आफू नागरिकको साथमा छु’ भन्ने जनविश्वास दिलाउन सके क्षति केही हदसम्म कम गर्न सकिन्छ । विपत्का बेला आपत्कालीन निर्णय गर्दा र साधनस्रोतको व्यवस्थापन गर्दा जिम्मेवार तहका व्यक्तित्वहरूले विज्ञहरूको राय सुझाव लिनुपर्छ । छिमेकी देशहरूसँगको सहकार्य, नागरिकका सास्तीको सम्बोधन र शीघ्र निर्णय गर्नुपर्छ । दैनिक मजदुरीका भरमा जीवन चलाइरहेकाहरूको सरोकार सम्बोधनका लागि पनि सरकारले योजना ल्याउनुपर्छ ।

गैरसरकारी भूमिका : महामारीका बेला अत्यावश्यक सेवाबाहेकका सबै संघ–संस्था, व्यवसाय, कार्यालय बन्द भए, जसका कारण यस्ता संस्थाले निकै ठूलो संकटको सामना गर्नुपर्‍यो । अब लगानी र प्रतिफलको उचित प्रयोग गर्दै यस्ता संस्था जनसेवामा समर्पित हुने समय आएको छ । सेवा संख्यामा भन्दा पनि गुणात्मकतामा मापन गरिने भएकाले यस्ता संस्थाहरूले गुणात्मक सेवा दिई आफूलाई उदाहरणीय बनाउनुपर्छ । निजी लगानीका संघसंस्था वा व्यक्तिहरूले ‘महामारीसँग सम्बन्धित काम हाम्रो होइन, सरकारको हो’ भन्ने नसोची विपत्को घडीमा मानवहितका लागि हातेमालो गरिरहनुपर्छ । सबै तह र तप्काबाट यस्तो जिम्मेवारीबोध हुन सके सरकारको आत्मबल बढ्नेछ । निजी अस्पतालहरू यो विपत्मा स्वस्फूर्त अगाडि सर्नुपर्छ । निजी क्षेत्र राज्यको बलियो खम्बा भएकाले राष्ट्रिय संकटको घडीमा निजी क्षेत्रको सकारात्मक पहलले निकै राहत पुग्न सक्छ । त्यस्तै, देशको चौथो अंग मानिने सञ्चार क्षेत्रले तथ्यपूर्ण समाचारहरूको प्रवाह गर्नुपर्छ । जनमानसमा भ्रम पैदा हुने, डर बढ्ने र मानसिक असर पर्ने खालका समाचार दिन हुन्न ।

नागरिकको भूमिका : यति बेला हामी दोस्रो विश्वयुद्धपछिकै त्रासद समयमा छौं । हामी अदृश्य भाइरसविरुद्ध लडिरहेका छौं । अमेरिका, अस्ट्रेलिया, जापान, चीनजस्ता विकसित देशलाई त साह्रै गाह्रो भइरहेका बेला अरूको सहयोग ताक्ने हाम्रो जस्तो कमजोर अर्थतन्त्रले कसरी यसको सामना गर्ला ? सरकार र नागरिकको अवस्था भोलिका दिनमा के हुने हो, थाहा छैन । आज सरकारले महामारी नियन्त्रणका लागि के–कति काम गर्न सक्यो, के गरेन वा के गर्नुपर्थ्यो भन्नेमा धेरै जोड दिनुभन्दा पनि हामी स्वयं सचेत भई सरकारको पहलकदमीमा हातमा हात मिलाउनुपर्छ । कोरोनाविरुद्धको लडाइँमा विजय हासिल गर्न नागरिक स्तरबाटै पहल गर्नुको विकल्प छैन । भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन–पानीले हात धुनेजस्तो सामान्य क्रियाकलापका लागि नागरिक गम्भीर नभएसम्म महामारीको रोकथाम हुन्न । नागरिकले आ–आफ्ना क्षेत्रबाट सकेको सहयोग गरे कोभिड–क्षतिलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ ।

महामारी रोकथाममा लाग्नु हामी सबैको कर्तव्य हो । सम्भावित चुनौती सामना गर्ने दीर्घकालीन योजना, त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र सबैको साथ–सहयोगले मात्र कोरोना भाइरसविरुद्ध विजय हासिल गर्न सकिनेछ । कोभिडले निम्त्याएको निराशालाई चिरेर जनमानसमा आशा जगाउन पनि सबैको हातेमालो हुनुपर्छ ।

प्रकाशित : असार २०, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

जनता भुल्ने राजनीति

सत्ता–शक्तिमा पुगेपछि जे गर्दा पनि हुन्छ भन्ने अहंकारी सोच नेतृत्वमा हावी हुने गरेको छ, जुन क्षम्य छैन ।
दुर्गा कँडेल छत्कुली

राजनीति मूलतः जनसेवाको, राष्ट्रसेवाको विषय हो । राजनीतिकर्मीहरू सक्षम र योग्य भए जनताको मुहार फेरिँदै जान्छ । राजनीतिकर्मीहरूको आचरण शुद्ध रहे देश प्रगतितर्फ लम्किन्छ भने विकृत भए देश न जनता, कसैले पनि चैनको, शान्तिको सास फेर्न पाउँदैनन् ।

हाम्रो राजनीति धेरै समयदेखि यही बाटामा हिँडिरहेको छ, उल्टो बाटामा । भीरतिरको त्यो गति अहिले त झन् बढिरहेझैं लाग्छ । आफ्नो स्वार्थको परिपूर्तिलाई जनसेवा र राष्ट्रसेवा सम्झिनेहरूका हातमा गएको छ देशको लगाम । हाम्रो देशको राजनीति यति विकृत हुनुको कारणलाई बुँदागत रूपमा यसरी बुझ्न सकिन्छ ।

आजीवन व्यवसाय : राजनीतिलाई पेसा–व्यवसायका रूपमा लिने गरिएको छ । कमाउने धन्दा बनिसकेको छ राजनीति । कुनै पनि पेसा–व्यवसायमा उमेरको हद हुन्छ, निश्चित समयपछि मानिसले अवकाश लिन्छ, त्यसअघि उसले आफ्नो उत्तराधिकारी बनाइसकेको हुन्छ । तर हाम्रा राजनीतिकर्मीहरूमा यो कुरा लागू हुँदैन । आफू मृत्युशय्यामा पुग्दा पनि पदलोलुपता तिनले छाड्न सकेको देखिन्न । राजनीति एकातिर निवृत्त हुनुपर्ने पेसा रहेन, अर्कातिर सात पुस्तालाई पुग्ने कमाउने भाँडोका रूपमा स्थापित हुँदै गयो । नयाँ सोच, जोस–जाँगर भएकाहरूलाई अगाडि ल्याऔं र हामी पछाडिबाट सहयोग गरौं भन्ने भावना राजनीतिकर्मीहरूमा पाइँदैन । हरेक क्षेत्रमा परिवर्तन भयो, काम गर्ने तौरतरिका बदलिए, प्रणालीमा परिवर्तन भयो, सबैभन्दा ठूलो परिवर्तन राजनीतिमा भयो तर नेतृत्वको कार्यशैलीमा परिवर्तन आउन सकेन ।

फोहोरी : राजनीति अत्यन्त फोहोरी खेल बनिसकेको छ । यहाँ जसले जे गरे पनि हुन्छ । साँचोलाई झुटो र झुटोलाई साँचो बनाउन सक्ने खेल बनेको छ राजनीति । स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न वा तोड्न सक्ने, अपराध गर्न सक्ने, आरोप–प्रत्यारोप लगाउन सक्नेहरू हर्ताकर्ता बनेका छन् । एकअर्कालाई नङ्ग्याउने, खुइल्याउने मानौं होडबाजी चलेको छ । आउने पिँढीले वर्तमान राजनीतिक नेतृत्वबाट यस्तै कुरा सिक्ने हो ?

राजनीति र अपराधबीच पर्खाल नहुनु : राजनीति र अपराध फरक विषय हुन् । यी दुई विषयबीच निकै दूरी हुनुपर्छ । विडम्बना, आज हरेक घटना–परिघटना तथा अपराधलाई राजनीतीकरण गरिन्छ । चाहे यौन शोषण होस्, चाहे महिला हिंसा, चाहे दलितको हत्या वा चाहे भ्रष्टाचारका मुद्दाहरू होऊन्, हरेक विषयमा राजनीति रङ पोत्ने गरिन्छ । यी दुई विषयबीच कुनै पर्खाल रहेन । त्यही भएर अपराधलाई राजनीतिले चोख्याइन्छ र राजनीतिलाई आपराधिक क्रियाकलापमा प्रयोग गर्न सजिलो भएको छ ।

महँगो : बजारमा सबै वस्तु तथा सेवाको मूल्य बढेको छ । प्रत्यक्ष रूपमा महँगीले दिन–प्रतिदिन सर्वसाधारणको जीवन असहज बन्दै गएको छ भने, अप्रत्यक्ष रूपमा राजनीतिमा भएको महँगीले अझ बढी प्रभाव पार्न थालेको देखिन्छ । हिजो निष्ठा, आदर्श, त्याग, सम्मान, समर्पणको राजनीति हुन्थ्यो । मानिसहरू अरूका लागि आफूलाई सिध्याउने गर्थे र तिनै गुण तथा विशेषताका आधारमा नेतृत्व चयन हुन्थ्यो । तर आज पैसा सबैभन्दा माथि पुगेको छ । उम्मेदवारीको टिकट किन्न पैसा चाहिन्छ, चुनावमा पैसाको खोलो बगाउनुपर्छ । चुनावताका विविध शीर्षकमा हुने खर्चले गर्दा राजनीति अत्यन्त महँगो भएको छ । पैसा हुने एउटै मान्छे भिन्नभिन्न दलमा नेतृत्वमा रहेका उदाहरणहरू त्यसैले पाइने गरेका हुन् । पैसा हुने तर अयोग्य मानिस नेतृत्वमा जान सक्ने र पैसा नहुने तर योग्य मानिस नेतृत्वमा जान नसक्ने परिस्थिति छ ।

अनैतिक : जनताको साथ र समर्थन लिएर पदीय जिम्मेवारीमा पुगेपछि राजनीतिकर्मीहरू जनताको मतलाई अवमूल्यन गर्दै पद र स्वार्थका लागि प्रयोग गर्ने गर्छन् । हरेक राजनीतिकर्मीले बोलेपिच्छे आमजनताको दुहाई दिइरहँदा व्यवहार भने स्वार्थी रहेको सबैले छर्लंग बुझिसकेका छन् । देश र जनताको जति अहित गरेको भए पनि पटकपटक जिम्मेवारी पाइरहने प्रवृत्ति नेपाली राजनीतिमा अब नौलो रहेन । राजनीतिकर्मीमा नैतिकता हराएकाले सबैजसो क्षेत्रमा अनैतिकताको बिगबिगी छ ।

मैमत्त : सत्ता–शक्तिमा पुगेपछि जे गर्दा पनि हुन्छ भन्ने अहंकारी सोच नेतृत्वमा हावी हुने गरेको छ, जुन क्षम्य छैन । नेतृत्वले आफूलाई संविधानभन्दा माथि सम्झने प्रवृत्ति नत्यागेसम्म देश समृद्धिको यात्रामा अगाडि बढ्न सक्दैन ।

अन्त्यमा, नेपाली जनता अब त शान्तिको सास फेर्न पाइन्छ भन्दै हरेक आन्दोलनमा होमिँदै आएका हुन् । त्यस क्रममा कतिले ज्यान गुमाए, कतिले परिवार गुमाए, कति आजीवन अपांग भए । हरेक आन्दोलनपछि राजनीतिकर्मीहरूले भने, ‘राजनीतिक क्रान्ति समाप्त भयो । अब आर्थिक क्रान्ति गर्ने हो ।’ तर, त्यो आर्थिक क्रान्ति उनीहरूकै लागि मात्र भयो, न कि आम जनताका लागि । जुनै दल सत्तामा पुगे पनि राम्राले भन्दा हाम्राले स्थान पाइरहँदा, ‘पहुँचवालालाई अवसर, क्षमतावान्लाई पर सर’ को वातावरण रहिरहँदा आम जनतामा निराशा छाई नै रह्यो ।

अहिले देश कोरोना–संकटमा छ, युवा शक्ति देशबाहिर छ, लगानी गर्ने वातावरण बन्न सकेको छैन, बेरोजगारी व्याप्त छ, व्यापार घाटा दिनहुँ चुलिँदो छ, कृषियोग्य जमिन बाँझै रहेको वा खण्डीकरण भएको छ, मानिसमा परिश्रम गर्ने बानी हराउँदै गएको छ । अर्थलोलुप, पदलोलुप, आफूलाई अजम्बरी सम्झिने व्यक्तिहरूले राजनीतिको लगाम समाएका छन्, जसका कारण नेपाली जनताका दुर्दिन चाँडै सकिने छाँट छैन । सत्य के हो भने, राजनीति यही हिसाबले अघि बढिरहे देश पछिपछि सर्दै गइरहनेछ ।

प्रकाशित : वैशाख २३, २०७८ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×