दलनविरुद्ध दिमाग र दिल- विचार - कान्तिपुर समाचार

दलनविरुद्ध दिमाग र दिल

कुन मान्छे कहाँ, कसको कोखमा जन्मन्छ भन्ने कुरा बिलकुल संयोग मात्र हो, जसलाई समाजशास्त्रीहरू जन्मे चिट्ठा अर्थात् ‘बर्थ लटरी’ भन्छन् ।
उत्तमबाबु श्रेष्ठ

१३ फेब्रुअरी २००८ । क्यानबेरास्थित अस्ट्रेलियाली संसद्भवन । प्रधानमन्त्री केभिड रडले क्षमायाचना गर्दै भने, ‘विगतदेखि वर्तमानसम्मका सरकारहरूद्वारा निर्मित नीतिनियम र कानुनहरूका कारण अगाध दुःख, कष्ट र क्षति बेहोरेका तपाईं आदिवासी अस्ट्रेलियनहरूसमक्ष म सरकारका तर्फबाट माफी माग्दछु ।’ उनले थपे, ‘यतिखेर इतिहासमा तपाईंहरूमाथि हामीबाट भएका अत्याचार र दुर्व्यवहार सम्झन्छौं । इतिहासको एउटा कालखण्डको त्यो दागलाई सम्झेर ती गल्तीहरूलाई सच्याउँदै अगाडि बढ्न चाहन्छौं । विगतमा हामीबाट भएका अन्यायहरूको स्वीकारोक्तिसँगैको यो क्षमायाचना अस्ट्रेलियाको भविष्यतर्फको पहिलो पाइला हो । त्यस्तो भविष्य जहाँ अस्ट्रेलियाका आदिवासी र गैरआदिवासीबीच विद्यमान आयु, शैक्षिक स्थिति र आर्थिक अवसरहरूको असमान खाडल पुरिनेछ । त्यस्तो भविष्य जहाँ हामी पारस्परिक सम्मान, साझा संकल्प र समान जिम्मेवारी लिएर बाँच्नेछौं ।’

रडको ३६३ शब्द लामो लिखित मन्तव्यलाई विपक्षीहरूले तत्काल समर्थन गरे । क्षमायाचना प्रस्तावलाई संघीय संसद्ले एकैस्वरमा पारित गर्‍यो । उक्त ऐतिहासिक सम्बोधन प्रत्यक्ष सुन्न हजारौं मानिस संसद्भवनमा ओइरिएका थिए । औपचारिक कार्यक्रमको समाप्तिपछि त्यहाँ भेला भएका नागरिकहरूले एकअर्कामा अंकमाल र चुम्बन गरेर खुसी साटे । केभिन रडले पनि त्यहाँ उपस्थित एक आदिवासी वृद्घ महिलालाई अँगालो हाले । उनी हजारौं किलोमिटर पार गरेर राजधानी क्यानबेरा पुगेकी थिइन् । प्रधानमन्त्रीले अँगालो हालेपछि भक्कानिँदै उनले भनिन्, ‘म सत्तरी वर्षकी भएँ, मेरो जीवनमा मलाई अंकमाल गर्ने तिमी नै पहिलो श्वेत पुरुष हौ ।’ उक्त घटनालाई ‘अत्यन्त दुःखद’ को संज्ञा दिँदै रड भन्छन्, ‘हामीले कस्तो देश बनाएका रहेछौं, जहाँ एउटा समुदायले अर्को समुदायलाई पुस्तौंपुस्तासम्म छुँदैन, अंकमाल गर्दैन !’

केभिन रडको उक्त ऐतिहासिक सम्बोधन युट्युबमा सुन्न सकिन्छ । युट्युबमै विद्या चापागाईंको समूहले निर्माण गरेको ‘पानीको कथा’ (हेर्ने कथा शृंखला–५७) पनि छ । कथा पश्चिम सुर्खेतको दुर्गम गाउँ रेक्चाको हो, जहाँ पानीको चरम अभाव छ । कुवाको पानी पिउनुपर्ने गाउँमा दुई घर कामीका लागि छुट्टै कुवा छ । पानीको हाहाकार भए पनि त्यो गाउँमा दलित समुदायलाई गैरदलितको कुवामा निषेध छ । गाउँमा गैरदलितको जनसंख्या धेरै भएकाले उनीहरूको कुवाको पानी चाँडै रित्तिन्छ । त्यति बेला उनीहरूले दलितका लागि छुट्याइएका कुवाबाट पानी लग्छन् तर त्यसको प्रयोग गाईवस्तुलाई खुवाउन मात्र हुन्छ । उक्त कथा नेपाली समाजको कुरूप कथाहरूमध्येको एउटा हो । जातीय विभेद अन्त्य भएको छ दशक पुग्न लाग्दा पनि त्यस्ता कथाहरू अझै सुनिनु हाम्रो सामूहिक असफलताको द्योतक हो ।

कानुनी रूपमा जातीय भेदभावको अन्त्य मुलुकी ऐनले २०२० भदौ १ मै गरेको हो । २०४७ सालको संविधान, अन्तरिम संविधान र अहिलेको संविधानमा जातीय भेदभाव र छुवाछुतविरुद्घको हकलाई मौलिक हकका रूपमा राखिएको छ । जातीय भेदभाव तथा छुवाछुत ऐन–२०६८ ले जातीय विभेद तथा छुवाछुतजन्य कार्य गर्नु मात्रै होइन, त्यस्ता कार्यलाई समर्थन गर्नु, दुरुत्साहन गर्नु वा उक्साउनुलाई समेत दण्डनीय बनाएको छ । तर रेक्चाको जस्तो जातीय विभेदका घटनाहरू अझै पनि देशभरि बग्रेल्ती छन् । आज यो देशका १३ प्रतिशत दलित समुदायमा त्यस्तो कुनै सदस्य भेटिँदैन जसले जातीय विभेद र छुवाछुतजन्य दुर्व्यवहार नभोगेको होस्, अत्याचार नसहेको होस् । संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयको गत वर्ष प्रकाशित प्रतिवेदनले भन्छ— आफूले जातीय विभेद भोगेको बताउने दलितको संख्या ९७ प्रतिशत छ ।

नेपालमा दलित हुनु भनेको

कुन मान्छे कहाँ, कसको कोखमा जन्मन्छ भन्ने कुरा बिलकुल संयोग मात्र हो, जसलाई समाजशास्त्रीहरू जन्मे चिट्ठा अर्थात् ‘बर्थ लटरी’ भन्छन् । तर जन्मजस्तो मानिसको नियन्त्रणबाहिरको विषयकै आधारमा नेपालमा विगतदेखि वर्तमानसम्म विभेदपूर्ण संरचनाहरू र उत्प्रेरणा प्रणालीहरू विद्यमान छन् । जातकै आधारमा एकाधिकार, विशेषाधिकार, बन्देज, नियन्त्रण र बहिष्करणको व्यवस्था गरियो । मानवनिर्मित, अझै भन्दा कथित उपल्लो जातिनिर्मित धर्मविधि र पेसागत विभाजन र त्यसैमा आधारित भेदभावपूर्ण नीतिनियम र कानुनी संरचनाका कारण उत्पादनको साधन जमिनमाथिको दलितहरूको स्वामित्व हरण भयो । शिक्षा र सीप विकासका अवसरबाट उनीहरूलाई वञ्चित गरियो । एउटै कसुरमा दलितहरूले बढी सजाय भोग्नुपर्ने नियम बनाइयो । उनीहरूको श्रम र सीपलाई तुच्छ मान्ने उत्प्रेरणा–संरचना निर्माण गरियो, जसका कारण यतिखेर दलित समुदाय राजनीतिक, सामाजिक र आर्थिक रूपमा सीमान्तकृत बन्न पुगे ।

सामाजिक संरचनागत क्षतिका कारण दलित समुदायमा अहिले जन्मेको बच्चा आफ्नो दोषबिना नै पाइलैपिच्छे आर्थिक, सामाजिक र राजनीतिक विभेद भोग्न बाध्य छ । अहिले दलित समुदायमा जन्मेको बच्चाले आफ्नो पाँचौं जन्मदिन मनाउन नपाउने सम्भावना अन्य जातिको भन्दा बढी छ । संरचनाका कारण उक्त बच्चा स्कुले अध्ययन पूरा नगरी ‘ड्रप आउट’ हुने सम्भावना उच्च छ । कथंकदाचित् स्कुले पढाइ पूरा गरेर सहरमा उच्च शिक्षा हासिल गर्न आउँदा जातकै कोठा नपाइने वा कोठा छोड्नुपर्ने अवस्था प्रबल छ । पढाइ पूरा गरेर गाउँमा शिक्षक भएमा पनि ऊ जातकै कारण जतिखेर पनि गाउँनिकाला हुन सक्छ । प्रतिनिधित्वको हिसाबले राज्यका नेतृत्व तहदेखि कर्मचारीतन्त्र, सेना–प्रहरी, न्यायालयजस्ता क्षेत्रहरूसम्म पुग्न अन्य जातिका तुलनामा उसलाई कठिन छ । उसले उत्पादन गरेका दूध, तरकारी वा फलफूल बिक्री नहुने सम्भावना धेरै छ । यदि ऊ महिला भए बोक्सी करार भएर जतिखेर पनि मलमूत्र खुवाइन सक्छ । सदियौंदेखि हालसम्म जारी यो राजनीतिक, आर्थिक र सामाजिक भेदभाव यतिखेर जैविक विभेदमा परिणत भएको छ । दलित यस देशका अन्य समुदायको मानिसभन्दा कम आयु बाँच्छ । त्यति मात्रै होइन, देशमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपहरू आएमा दलितहरू मर्ने सम्भावना उच्च छ ।

जातीय भेदभावको मूल्य

तर यस्ता जातीय विभेदका कारण पीडित समुदायको प्रगति मात्रै रोकिएको छैन, त्यसले समग्र देशको प्रगतिमा नकारात्मक असर पारेको छ । एउटा समूहमाथिको विभेदले विविधताको एकीकृत उत्पादकत्व घटाएको छ । र, सामाजिक वस्तुको अधिकतम उपयोग पनि हुन सकेको छैन । छुवाछुतको पर्खालले हाम्रो देशको अद्वितीय जातीय र भाषिक विविधताको तागतलाई उजागर हुनबाट रोकेको छ । प्रकृतिमा धेरै विविधतायुक्त पर्यावरणीय प्रणालीलाई उत्पादनशील मानिन्छ । विविधतालाई अंगीकार गर्ने व्यापारिक प्रतिष्ठानले बढी मुनाफा आर्जन गरेका हुन्छन् । विविधतायुक्त अनुसन्धान संस्था बढी उत्पादनशील हुन्छन् । र, त्यसलाई आत्मसात् गर्ने देश बढी अभिनव र विकसित हुन्छन् । उदाहरणका लागि, नेपालले मुलुकी ऐन–२०२० मा छुवाछुत अन्त्यको घोषणा गरेको दुई वर्षपछि स्वतन्त्र भएको सिंगापुरले स्वतन्त्रतासँगै जातीय समावेशिता र अन्तरघुलनको कार्यक्रमलाई बढायो, जातको अनुपातमा एकीकृत बसोबासको नीति ल्यायो र विभिन्न समुदायका मानिसहरूलाई सँगै बस्ने र सहकार्य गर्ने संस्कृति निर्माण गर्‍यो ।

जसरी शरीरको कुनै अंगले काम गरेन भने त्यसको भारले सम्पूर्ण शरीरलाई कमजोर तुल्याउँछ, त्यसरी नै दलित समुदाय विकासमा पिछडिनुको असर उपल्ला जातिहरूलाई पनि परेको छ । उदाहरणका लागि, जातकै कारण रेक्चाका गैरदलितहरू आफ्नो कुवामा पानी सुक्दासमेत ‘दलितको कुवा’ को पानी पिउनबाट वञ्चित भए । त्यसैगरी मन्दिरमै जातीय भेदभावबिना निर्बाध प्रवेश हुने भए मन्दिरको उपयोग सबैले गर्न सक्थे । सायद त्यसबाट उठ्ने भेटीले पुजारी समुदायलाई नै बढी लाभ हुन्थ्यो । त्यसकारण छुवाछुतले सार्वजनिक वस्तुको अधिकतम उपयोग हुन रोकेको छ । त्यसैगरी दलितलाई कोठा दिन्नँ वा दलितसँग आर्थिक क्रियाकलाप गर्दिनँ भन्ने मान्यताले घरधनीलगायतका व्यवसायीलाई नै घाटा पुर्‍याएको छ ।

थप, हालको लोकतान्त्रिक प्रणाली भनेको धेरै अगाडि बढ्नेले पछि रहेकाहरूको हितमा करमार्फत खर्च गर्नुपर्ने व्यवस्था पनि हो । त्यसकारण नेपालमा मानव विकास सूचाकांकमा तल रहेका दलित समुदायको विकासकेन्द्रित कार्यक्रममा अहिले खर्च हुने रकम, यदि उनीहरू अन्य जातिसरह हुन्थे भने, सबै समूहलाई फाइदा पुग्ने कार्यक्रमहरूमा लगाउन सकिन्थ्यो । यसले प्रस्ट पार्छ, छुवाछुतको आर्थिक मूल्य समाजमा त्यसबाट पीडित समूहलाई मात्रै छैन, यो समाजको हरेक तप्कामा बाँडिएको छ । नेपालमा छुवाछुतले पारेको आर्थिक मूल्यको हिसाब गरिएको छैन, तर अमेरिकामा सिटी ग्रुपले गरेको अनुसन्धानअनुसार, रंगभेदका कारण त्यहाँको अर्थतन्त्रमा लगभग १६ ट्रिलियन डलर बराबर घाटा छ । त्यसकारण जातीय विभेद दलितको मात्रै मुद्दा होइन, गैरदलित र समग्र देशको समस्या हो ।

छुवाछुत र विभेद राजनीतिक, आर्थिक र सामाजिकसँगै आत्मसम्मानसँग जोडिएको मुद्दा पनि हो । जात, रङ, लिंग धर्म, क्षेत्रका आधारमा भएका विभेदहरूबाट सृजित आर्थिक–सामाजिक समस्याहरूलाई हल गर्न संसारभर मुख्यतः दुई उपाय अपनाइएका छन् । एउटा, पीडित समूहलाई थप हानिबाट जोगाउने सेफगार्डÙ र अर्को, उनीहरूलाई लाभ वा क्षतिपूर्ति दिने कार्यक्रम । सामाजिक विभेदलाई हटाउन कानुनी र संस्थागत संरचनाको निर्माण पहिलो विधि हो जसले पीडित समूहलाई सुरक्षा प्रदान गर्छ । नेपालमा जातीय भेदभावलाई कसुर करार गरेर विभिन्न समयमा बनाइएका ऐनकानुनहरू पीडितको सुरक्षाका लागि बनाइएका हुन् । दोस्रो, उनीहरूका लागि पहिले बन्द गरिएका अवसरहरू, जस्तै— शिक्षा, रोजगारीको ढोका खोल्ने हो । आरक्षण प्रणाली त्यस्तै एउटा विधि हो जसले योगदान गर्ने अवसरहरूबाट इतिहासमा वञ्चित समूहका लागि योगदान गर्न बाटो खुला गर्छ, अवसरको समान वितरण गर्नलाई सघाउँछ, ऐतिहासिक संरचनाका कारण क्षमताको परख गर्न नपाएकाहरूलाई क्षमता देखाउने मौका दिन्छ ।

अन्त्यमा, केभिड रड भन्छन्— ऐतिहासिक विभेद कम गर्न र समाजमा अमनचयन कायम राख्न दिमाग र दिलले सँगै काम गर्नुपर्छ । दिमागले गर्ने कार्य भनेको माथि उल्लिखित भेदभावपूर्ण कार्य रोक्न र पीडितलाई क्षतिपूर्ति दिन बनाइने संरचनाहरू हुन् । दिलले गर्ने कार्य भनेको उच्च जातीय अहंकार त्याग्ने र दलितको आत्मसम्मान बढाउने कदम हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर २०१८ मा केभिन रडसँगै न्युयोर्कमा शान्ति, प्रजातन्त्र र विकास कार्यक्रममा वार्तालाप गरे । रडसँगै वार्ता गरेका उनलाई रूपा सुनार काण्डपछि रडलाई जस्तै लाग्यो होला— कस्तो देश र समाज बनाएछौं हामीले, जहाँ डेरा दिने–नदिने कुराको निर्णय जातले निर्धारण गर्छ !

यो देशमा पलपलमा पिल्सिरहेका ४० लाख रूपा सुनारहरूसँग माफी नमाग्ने प्रधानमन्त्रीज्यू ?

प्रकाशित : असार १६, २०७८ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

कीरा संरक्षणमा चासो

मानिसको खाद्य प्रणाली र पारिस्थितिकीय प्रणालीमा अहं भूमिका खेल्ने, नासिँदै गएका तर संरक्षणमा बेवास्ता गरिएका कीराहरूको संरक्षण यतिखेर झनै आवश्यक छ ।
उत्तमबाबु श्रेष्ठ

१९५१ को अक्टोबर । युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका अनुसन्धानकर्ता जर्ज बर्निमिस्जा त्यहाँको विराट घाँसे मैदानतिर घुम्न निस्किए । उनी नौ महिनाअघि मात्रै पुर्ख्यौली थलो हंगेरीबाट अस्ट्रेलिया बसाइँ सरेका थिए । अस्ट्रेलियाको घाँसेमैदान युरोपको जस्तो गाईवस्तुको गोबर कुहिएर माटो भई जीवन्त थिएन, बरु नकुहिएको सुकेको गोबरले ढाकिएको थियो । कारण— गाईवस्तुको गोबर कुहाउने गोब्रेकीराका प्रजातिहरू अस्ट्रेलियामा थिएनन् । 

१९ औं शताब्दीमा युरोपेलीहरू अस्ट्रेलिया ‘माइग्रेट’ हुने क्रममा आफूसँगै गाईवस्तुहरू लिएर नयाँ मुलुक त गए तर गोब्रेकीरा लैजाने हेक्का उनीहरूलाई भएन । अस्ट्रेलियाका रैथाने गोब्रेकीराहरू त्यहाँका कंगारुजस्ता आदिवासी जनावरका साना, साह्रा र सुक्खा बड्कौंला कुहाउन मात्रै अभ्यस्त थिए, आगन्तुक गाईवस्तुको जस्तो ठूलो, गिलो, नरम गोबरलाई होइन । चरनभर गुइँठा थुप्रिएका कारण घाँस उम्रने जमिन प्रत्येक वर्ष घट्दो थियो । नकुहिएको गोबरले झिंगा निम्त्याउँथ्यो, जसमा उत्पन्न कीटाणुले गाईवस्तुलाई रोग लगाउँथ्यो । रोगले गाईवस्तु मर्थे । चरनमा थुप्रिएको गुइँठाले सुक्खायाममा डढेलो लगाउने इन्धनको काम गर्थ्यो । नोक्सान कम गर्न जर्जले अस्ट्रेलिया सरकारलाई गोबर खाने गोब्रेकीरा आयात गर्न सुझाव दिए, जसअनुसार अस्ट्रेलिया सरकारको प्रमुख अनुसन्धान संस्था सीएसआईआरओले सन् १९६५ मा ‘राष्ट्रिय गोब्रेकीरा परियोजना’ सुरु गर्‍यो । सुरुमा अमेरिकाको हवाईबाट गोब्रेकीरा ओसारियो । बीस वर्ष चलेको उक्त परियोजनाअन्तर्गत विभिन्न देशबाट ४३ प्रजातिका १७ लाखभन्दा बढी गोब्रेकीराले अस्ट्रेलियाको ‘भिसा’ पाए । आयातित गोब्रेकीराले त्यहाँको चरनमा थुप्रिएको गोबर कुहाइदिएपछि चरनहरूले पुनर्जीवन पाए । उत्पादकत्व बढ्यो, गाईवस्तुलाई लाग्ने रोगमा कमी भयो । केही वर्षपहिले चाल्र्स स्टुवार्ट विश्वविद्यालयले गरेको अध्ययनको निष्कर्ष थियो— आयातित गोब्रेकीराले अस्ट्रेलियाका किसानहरूलाई पुर्‍याएको सेवाको मूल्य बर्सेनि १ अर्ब डलरभन्दा बढी छ ।

कीराको मानवसेवा

मानिसले अक्सर हेला गर्ने गोब्रेकीराका केही प्रजातिले एउटा देशलाई दिएको पर्यावरणीय सेवाको मूल्य त वार्षिक अर्बौं डलर छ भने यस पृथ्वीमा भएका असंख्य कीराले दिने सेवाहरूको मूल्य कति होला ? कीराहरूले मानिसलाई दिने महत्त्वपूर्ण सेवा परागसेचन हो । संसारभरका करिब दुईतिहाइ खाद्यबाली परागसेचनका लागि कीरा जगत्मा निर्भर छन् । कृषिबालीहरूमा मानिसको आहारा अर्थात् फल लाग्नका लागि परागसेचन हुनु अनिवार्य छ । फुड सेक्युरिटी जर्नलमा प्रकाशित लेखअनुसार, कीराको परागसेचन सेवालाई मौद्रिकीकरण गर्ने हो भने त्यसको मूल्य वार्षिक १९५–३८७ अर्ब डलरसम्म पुग्छ ।

गोबरजस्ता जैविक तत्त्वलाई कुहाउने र परागसेचन गर्नेबाहेक कीराहरूले माटोको इन्जिनियरिङ गरेर मलिलो बनाउन सहयोग गर्छन् । महदेखि सिल्कसम्मको उत्पादन पनि कीराहरूकै कारण सम्भव भएको हो । नेपालमा वार्षिक अर्बौंको व्यापार हुने यार्सागुम्बु पनि झुसिलकीरा र ढुसीको मिश्रण हो । कीराहरू चरा–चमेरादेखि माछा र मानिससम्मका खाना पनि हुन् । १३० भन्दा बढी देशका २ अर्ब मानिस कीरा खाने गर्छन् । संसारभर लगभग १५०० प्रजातिका कीरा मानिसले खाने गर्छन् । नेपालमा पनि अरिंगाल, बारुलो, फट्यांग्रा, सलहजस्ता कीराहरू खाने गरिन्छ । त्यस्तै अहिले कीरापालन गरेर कुखुराको दानाका रूपमा प्रयोग गर्न थालिएको छ । कतिपय विकसित देशमा कीराहरूको व्यावसायिक उत्पादन गरेर खानाका रूपमा प्रयोग गर्न पनि थालिएको छ ।

कीराको महत्त्वपूर्ण उपयोगिता साहित्यदेखि वैज्ञानिक अनुसन्धानसम्म छ । पुतली, भमरा, झुसिलकीरा, जुनकीरीजस्ता कीराहरू साहित्यका स्रोत हुन् । तिनीहरूका बारेमा थुप्रै कथा, कविता र उपन्यास लेखिएका छन् । ड्रोसोफिला मेलानोगास्टर भनिने, फलफूलमा लाग्ने भुसुना वैज्ञानिक ज्ञानको ठूलो भण्डार हो । आनुवंशिक विज्ञान अनुसन्धानका लागि ड्रोसोफिला लगभग अपरिहार्य ‘मोडल प्राणी’ हो । कम खर्चमा चाँडै हुर्काउन सकिने, छोटो आयु भएको र अथाह आनुवंशिक स्रोत भएका कारण वैज्ञानिक अनुसन्धानहरूमा यसको व्यापक प्रयोग गरिन्छ । आधुनिक विज्ञानको उपलब्धि मानिएका जिन थेरापीदेखि ह्युमन जिनोम प्रोजेक्ट र अनुवंशको सम्पादन गर्ने क्रिस्पर प्रविधिसम्मको अनुसन्धानको मुख्य आधारशिला ड्रोसोफिलामै गरिएका अनुसन्धानहरू हुन् । वैज्ञानिक जर्नलहरूमा कुनै एउटा जीवको नाममा असंख्य कागज र मसी खर्चिइएका छन् भने त्यो ड्रोसोफिला मेलानोगास्टरकै लागि हो । ड्रोसोफिलामै आधारित अनुसन्धानहरूले हालसम्म सातवटा नोबेल पुरस्कारसमेत जितेका छन् ।

यी थुप्रै सेवाको बावजुद कतिपय कीराले मानव जीवन, अर्थतन्त्र र जीविकाका लागि अकल्पनीय चुनौती पनि थपेका छन् । बालीनाली खाएर मानिसलाई नोक्सानी पुर्‍याउनेदेखि परजीवीका रूपमा मानिसलाई दु:ख दिनेसम्मका कीराहरू पनि छन् । तर कीराहरूले पुर्‍याउने यस्ता हानिहरू मानिसले गरेको प्रकृतिदोहनका कारण सृजना भएका हुन् । औलो, डेंगी, एल्लो फिभर, जिकाजस्ता रोग फैलाउनमा कीरा अर्थात् लामखुट्टेको मुख्य भूमिका छ । मानव इतिहासमै सबैभन्दा बढी मानिसको ज्यान मानवबाहेक कुनै प्राणीले लिएको छ भने त्यो लामखुट्टेले नै लिएको छ । ‘द मस्किटो : अ ह्युमन हिस्ट्री अफ डेड्लिएस्ट प्रिडेटर’ पुस्तकका लेखक टिमोटी वाइनगार्डका अनुसार, २ लाख वर्षयता यस पृथ्वीमा जन्मेका १०८ अर्ब मानिसमध्ये आधाजसो अर्थात् ५२ अर्ब मानिसको मृत्युको कारक हो— लामखुट्टे । यति धेरै मानव प्रगतिका बावजुद लामखुट्टेजस्तो सानो कीराले अझै ठूलो संख्यामा मानिसलाई मारिरहेको छ । सन् २०१८ मा लामखुट्टेका कारण संसारमा ८ लाख ३० हजार मानिस मरेका थिए भने, मानिसबीचको आपसी द्वन्द्वमा परेर मर्नेहरूको संख्या ५ लाख ८० हजार थियो । मानिसको ज्यान लिएको मात्रै होइन, लामखुट्टे मानव इतिहासमै ठूलो सामाजिक र आर्थिक परिवर्तनको वाहक हो । नेपालको इतिहासमा पनि चन्द्रशमशेर, महेन्द्र र प्रचण्डजतिकै प्रभावशाली भूमिका कुनै गैरमानवको छ भने त्यो लामुखुट्टेकै भएको इतिहास–अध्येता टम रोबर्टसनको तर्क छ । किनभने सन् १९५० सम्म नेपालको तराईको इतिहास धेरै हदसम्म औलोको वरिपरि घुमेको छ ।

लोप हुँदै कीराहरू

कीरा यस पृथ्वीमा भएका प्राणीहरूमध्ये सबैभन्दा प्रभावशाली मात्रै होइन, सबैभन्दा धेरै विविधता र प्रचुरता भएको प्राणी समूह पनि हो । पृथ्वीमा करिब ५५ लाख प्रजातिका कीरा भएको अनुमान गरिन्छ, जसमध्ये हालसम्म करिब १० लाखको मात्रै पहिचान र नामांकन भएको ‘क्याटलग अफ लाइफ’ मा पाइन्छ । अर्थात्, यस संसारमा पाइने कुल कीराका प्रजातिमध्ये ८० प्रतिशत प्रजातिको अझै वैज्ञानिक पहिचान र नामांकन हुन बाँकी छ । पीएनएएस जर्नलमा प्रकाशित एउटा लेखअनुसार, पृथ्वीमा उपलब्ध प्राणी जगत्को कुल बायोमास अर्थात् जैविक मात्रा (जनावर वा वनस्पतिको शारीरिक संरचनाभित्र मौजुद जैविक अंश) को २.५ प्रतिशत मानिसले र ४ प्रतिशत घरपालुवा पशुपक्षीले ओगट्छन्, जबकि कीरा समूह एक्लैले प्राणी जगत्को कुल जैविक मात्राको ४२ प्रतिशत अंश ओगट्छन् । यस्तै अकल्पनीय प्रभाव, विविधता र प्रचुरताका कारण कीरा समूहलाई क्रमिक उत्पत्तिको हिसाबले पृथ्वीकै सबैभन्दा सफल जैविक समूह मानिन्छ ।

तर यतिखेर संसारभर कीराहरू लोप हुँदै छन् । गत वर्ष बायोडाइभर्सिटी कन्जर्भेसन जर्नलमा प्रकाशित लेखअनुसार, विश्वभर ४० प्रतिशत कीरा लोप हुने खतरामा छन् जसमध्ये पुतली, भमरा, गोब्रेकीरा र मौरी उपसमूहमा पर्ने कीराहरू मुख्य छन् । मौरी लगायतका कीराहरू यसरी ठूलो संख्यामा विलोप हुनुको कारण बढ्दो कीटनाशक विषादीको प्रयोग र उच्च प्रदूषण, जलवायु परिवर्तन, मिचाहा प्रजातिको फैलावट अनि कीराको बासस्थानको विनाश र फेरबदल हो । यसरी संसारभर परागसेचन गराउने उपयोगी कीराहरू मासिँदै जाँदा त्यसले मानिसको खाद्य उत्पादन प्रणालीमा ल्याउने संकट चुलिँदो छ । त्यसकारण यतिखेर संसारभर मानवसेवामा हाजिर सेवक कीराहरूको संरक्षणको चासो र चिन्ता बढिरहेको छ ।

नेपालमा कीराहरूको पछिल्लो अवस्थाबारे अद्यावधिक जानकारी छैन । विश्व संरक्षण संघ (आईयूसीएन) नेपालले सन् १९९७ मा नेपालका कीराहरूको सूची (इन्भेन्टरी) प्रकाशित गरेको थियो, जसमा ५,०५९ प्रजातिका कीराहरू सूचीकृत थिए, जुन विश्वमा पाइने कीरा समूहको प्रजातिगत विविधताको अनुपातमा र नेपालमा पाइने जैविक विविधताको तुलनामा एकदमै न्यून संख्या हो । नेपालमा विश्वमा पाइने स्तनधारी जनावरको ४ प्रतिशत, चराको ९ प्रतिशत र उभयचरको २.५ प्रतिशत, पुतलीको ४ प्रतिशत र फूल फुल्ने वनस्पतिको ३.२ प्रतिशत प्रजातिगत विविधता पाइन्छ । अन्य जैविक समूहहरूको अनुपातमा नेपालमा कीराहरू पाइने हो भने विश्वमा पाइने कीराको कम्तीमा २.५ प्रतिशत (उभयचरजतिकै) देखि बढीमा ९ प्रतिशत (चराजतिकै) सम्म कीराहरू हुन सक्छन् । त्यसकारण एकदमै अनुदार (कन्जर्भेटिभ) अनुमान गर्दा विश्वभर पत्ता लागेका कीराको १ प्रतिशत मात्रै नेपालमा पाउने हो भने पनि यहाँ कम्तीमा १० हजार प्रजातिका कीरा हुन सक्छन् । उक्त अनुमानलाई पछिल्ला तथ्यहरूले पनि भरपर्दो आधार दिन्छन् ।

नेपालमा भएका प्राणी अन्वेषण (जुलोजिकल एक्प्लोरेसन) हरूमा अन्य प्रजातिभन्दा बढी प्रजातिका नयाँ कीराहरू भेटिने गरेका छन् । त्यसको अर्थ, यहाँ थप कीराका प्रजातिहरू पत्ता लाग्न बाँकी नै छ । त्यसकारण राम्रो अध्ययन र अनुसन्धान हुने हो भने नेपालमा थुप्रै प्रजातिका नयाँ कीराहरू भेटिने सम्भावना छ । तर नेपालमा कीरासम्बन्धी विज्ञता र अनुसन्धान निकै कम छ । नयाँ पुस्ताका अनुसन्धानकर्ताहरू कीराप्रति खासै आकर्षित छैनन् । त्यसको स्पष्ट कारण नेपालमा यस्ता ‘अन्डरडग’ जैविक विविधताको अन्वेषण, अध्ययन र संरक्षणमा लगानी र उत्प्रेरणा लगभग शून्य हुनु हो ।

हाम्रा अनुसन्धान र संरक्षणका अधिकांश नीतिनियम, कार्ययोजना र कार्यक्रमहरू ठूला र आकर्षक (करिस्म्याटिक) जीवजन्तुहरूमै सीमित छन् । उदाहरणका लागि, नेपालका २६ स्तनधारी जनावर, ९ प्रजातिका चरा र ३ प्रजातिका सरीसृपलाई संरक्षित जनावरको सूचीमा राखिएको छ । त्यसै गरी साइटिस महासन्धिको सूचीमा ५७ प्रजातिका स्तनधारी जनावर, ४० चरा, १ उभयचर, १३ सरीसृप, २ पुतली र १३ वनस्पति पर्छन् । ससाना जीवजन्तुको नाम संरक्षण सूचीमा नभेटिनुको कारण तिनीहरूका बारेमा कम अनुसन्धान हुनु पनि हो ।

आईयूसीएनले पनि हालसम्म विश्वभरका १ प्रतिशत मात्रै कीराहरूको अवस्थाको मूल्यांकन गरेको छ । अध्ययनको कमीका साथै नीतिगत तहमा बाघ, गैंडा, पान्डा, हिउँचितुवा वा कस्तूरीजस्ता ठूला जनावरको संरक्षण भए त पुगिहाल्यो भन्ने सोच हावी छ । जैविक विविधता संरक्षण भनेको केही जनावरको मात्रै संरक्षण होइन । मानिसको खाद्य प्रणाली र पारिस्थितिकीय प्रणालीमा अहं भूमिका खेल्ने, नासिँदै गएका तर संरक्षणमा बेवास्ता गरिएका कीराहरूको संरक्षण यतिखेर झनै आवश्यक छ । किनभने मानवोपयोगी कीराहरू नभएमा हामीलाई अकल्पनीय संकट आउन सक्छ । त्यसकाण कीरा जोगाउनका लागि कीटनाशक औषधिको उपयोगमा नियमन, प्रदूषण नियन्त्रण र कीरा लगायतका जीवहरूको वासस्थानको संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

प्रकाशित : असार २, २०७८ २०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×