दहीचिउरा कि बेबी सावर ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दहीचिउरा कि बेबी सावर ?

पुरुषहरूलाई हाम्रो प्रश्न— गर्भवती बुहारीको भुँडीसँग फोटो त खिचाउनुभयो, तर नातिनी जन्मी भने उसलाई पैतृक सम्पत्ति नातिलाई जत्तिकै दिने कि नदिने ?
नम्रता शर्मा, अरुणा उप्रेती

प्राणीजगत्‌को निरन्तरताका लागि गर्भधारण जरुरी हुन्छ । यसबारे गर्भावस्था र सुत्केरीका विभिन्न कालखण्डमा विभिन्न ढंगबाट व्याख्या भएको छ । एक समय यस्तो पनि थियो, सन्तान जंगल र गुफामा जन्माइन्थे र सामूहिक तरिकाले हुर्काइन्थे ।

तर मानव सभ्यताको विकाससँगै परिवार संस्थाको जरुरी भयो अनि विभिन्न परिधि र सीमारेखाहरू कोरिन थाले । सम्पत्ति आदि लुटिँदा महिलामाथि पनि आक्रमण हुन थाल्यो, बलात्कार सुरु हुन थाल्यो । अनि यस्तो कालखण्ड पनि आयो, जहाँ महिलाहरूलाई सम्भावित आक्रमणबाट जोगाउन अन्नसँगसँगै जमिनमुनि लुकाउन थालियो । विशेष गरी गर्भवती महिलाहरूलाई सुरक्षित राख्ने निहुँले लुकाउन थालियो । सायद यही कारण गर्भधारणसँग कतै न कतै लज्जा जोडिएको छ । अनि गर्भको प्रक्रिया र धारणलाई सरमको आवरण पहिर्‍याउने प्रथाको पनि थालनी भयो ।

समय बित्दै गएपछि हरेक समुदायमा महिला गर्भधारण र अधिकारलाई लिएर विभिन्न सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र राजनीतिक धारणा र नियमहरू बन्न थाले । मानव जंगलबासबाट अहिलेको आधुनिक युगसम्म आइपुग्दा गर्भधारण र गर्भावस्थाले धेरै रूपान्तरण भोग्नुपरेकामा दुईमत नहोला । हाम्रो समाजमा आज पनि अविवाहिताले गर्भधारण गरे त्यसलाई लज्जाजनक विषयका रूपमा हेरिन्छ । तर कतिपय ठाउँमा त गर्भ रहेपछि महिलालाई जन्मघरबाट बिदाइ गर्ने चलन छ । नेपाल र भारतमा पनि महिलावादी आन्दोलन ‘आफ्नो शरीरमाथि आफ्नै अधिकार’ हुन्छ र गर्भधारण लज्जा होइन गर्वको विषय हो भनेर स्थापित गर्न सफल भएको छ । तैपनि संसारभरि रङ, लिंग, जात, शारीरिक बनोट आदिमा आधारित विभेद र त्योसँगै जोडिएका गर्भावस्थासम्बन्धी अनेक कुरीति, नियम र अत्याचार अझै धेरै छन् । जस्तै— अविवाहिता/एकल महिलाले कतै अझै विभेद सहनुपरिरहेको छ भने गर्भधारण गरेपछि केहिले त्यसलाई खुला प्रदर्शन गर्न थालेका छन् । गर्भधारणपछि फोटो खिचाउने विदेशको चलन नेपालमा पनि भित्रिएको छ ।

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए ।

हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— बेबी सावर । के रहेछ यो भनेर गम्दै भित्र पसेपछि हामी छक्क पर्‍यौं ।

घरकी जेठी बुहारी पाँच महिनाकी गर्भवती रहिछन् । उनका वरिपरि जम्मा भएका मानिसहरू गर्भवतीको पेट देखाउँदै, हाँस्दै, रमाउँदै फोटा खिचाउँदै रहेछन् । सत्तरी वर्ष नाघेका सासू–ससुरा पनि संकोच मान्दै बुहारीको उत्साह हेर्दै त्यस माहोलमा रमाउन खोज्दै रहेछन् ।

‘बेबी सावर’ विदेशमा प्रायः गर्भस्थ बच्चाको लिंग के छ भन्ने थाहा पाएपछि गरिन्छ । केवल महिलाहरू जम्मा हुन्छन्, गर्भवतीलाई उपहार दिन्छन्, भ्रूण छोरा वा छोरी जे हो त्योअनुसारको नीलो वा गुलाबी लुगा आदि दिने र रमाइलो गर्ने गर्छन् । त्यसैले नेपालमा ‘बेबी सावर’ मनाउनुको तुक छैन । किनभने नेपालमा भ्रूणको लिंग पहिचान गर्नु कानुनी अपराध हो । नेपाली समाजले भ्रूण पहिचान गरेर, अपराध गरेर, रमाइलो गर्न थालेको हो कि भन्ने प्रश्न मनमा आउँछ । हामी विदेशका राम्रा बानी, अनुशासन, सरसफाइ, समयको वास्ता गर्ने र किताब पढ्ने बानी, आफ्ना सांस्कृतिक महत्त्वका वस्तुहरूको वास्ता गर्ने, स्वस्थ खाना खाने आदिको चाहिँ वास्ता गर्दैनौं । हाम्रो संस्कृति र कानुनसँग नमिल्ने ‘बेबी सावर’ चाहिँ धुमधामसँग मनाउने प्रयत्न गर्छौं । केक काट्छौं । जबकि केकले गर्भवती महिलालाई बेफाइदा गर्न सक्छ, शरीरमा चिनीको मात्रा बढाउँछ, भ्रूणलाई खराबी गर्न सक्छ । ‘कामकुरा एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेको सायद यही होला ।

हाम्रो संस्कृतिमा हरेक समुदायका महिलाहरू गर्भवती भएपछि सुरक्षा दिन, उनको स्वास्थ्यको ख्याल राख्न अनेक चलन छन् । गर्भवतीलाई ‘दही–चिउरा’ खुवाउनु त्यस्तै एउटा चलन हो । ‘दही–चिउरा’ खान दिने भनेर अनेकथरीका स्वास्थ्यकर भोजन पनि दिइन्छ । घरमा खाना भाग लगाउँदा ‘दोजिया’ अर्थात् ‘दुई जीउकी’ का लागि भनेर भोजनको केही बढी भाग दिइन्छ । नेवार समुदायमा पनि गर्भवतीका लागि विशेष खाना बनाइन्छ । तर, ‘भुँडी देखाएर’ फोटो खिच्ने–खिचाउने चलन छैन ।

‘बेबी सावर’ जस्तो चलनले गर्भवती महिलालाई फाइदा गर्दैन । गर्भको व्यापारीकरण भयो । नेपालका सिने नायिकाहरूले गर्भावस्थाको फोटो खिचाएर राखेपछि सहरका नेपाली गर्भवती महिलाहरूलाई पनि भुँडी देखाएर फोटो खिचेर राख्ने इच्छा बढ्न सक्छ, बढिरहेको छ । ‘बेबी सावर’ का नाममा अनेक महिला–पुरुष जम्मा भई ‘भुँडीको फोटो’ खिचेर सामाजिक सञ्जालहरूमा राखेको देखिन्छ । तर वास्तवमा ‘वेबी सावर’ को अर्थै नबुझी, यस्तो ठाउँमा को–को जम्मा हुन्छन् भन्ने नबुझी, त्यसको प्रतीकात्मक अर्थ नबुझी नक्कल गर्दा, अनेक फोटा राख्दा विदेशीहरू कति हाँस्दा होलान् !

नेपालमा पहिलेपहिले गर्भवती महिलाहरू आफ्नो बढेको पेट लुकाएर हिँड्थे, गर्भ रहेको कुरा गर्न लाज मान्थे । पुरुषले आफू बाबु बन्न लागेको कुरा कसैलाई भन्दैनथे, लाज हुन्छ भनेर । त्यस्तो गर्नुपर्ने अवस्था अहिले जरुरी छैन । बिस्तारै महिलावादी आन्दोलन र शिक्षाले गर्भावस्था लज्जाको विषय रहेन, तर यसको अर्थ कुरै नबुझी विदेशीहरूको नक्कल गर्नु होइन ।

धेरैजसो नेपाली महिलालाई गर्भावस्थामा योगासन गर्नुपर्छ भन्नेबारे थाहा छैन, स्वास्थ्यकर खानेकुरा खानुपर्ने कुरा वास्ता गरिन्न, गाउँघरका महिलाहरूलाई कामको बोझले गर्भावस्थामा गाह्रो भएको वास्ता गरिन्न, तर ‘नक्कल गरेर बेबी सावर’ गर्नचाहिँ हामी खप्पिस हुँदै गएका छौं । नेपाली ‘बेबी सावर’ मा पुरुषहरू आफ्ना गर्भवती बुहारी, भान्जी, भतिजीको पेटमा हात राखेर फोटो खिच्छन् र सामाजिक सञ्जालमा राख्छन् । यी सबै पुरुषलाई हाम्रो प्रश्न— गर्भवती बुहारीको भुँडीसँग फोटो त खिचाउनुभयो, तर नातिनी जन्मी भने उसको अधिकारको पैतृक सम्पत्ति नातिलाई जत्तिकै दिने कि नदिने ? कि सदियौंदेखि छोरी जन्मनेबित्तिकै ऊ अरूको ‘नासो’ हो भनी धनी घरको छोरो खोजी बिहे गर्नुपर्छ भन्ने ?

प्रकाशित : असार १४, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वलडाकु बने ‘शान्तिका नायक’

दुई जोडी पूर्वमाओवादी लडाकुले दक्षिणी सुडानमा महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दा पाए राष्ट्रसंघद्वारा पदक
जगदीश्वर पाण्डे

काठमाडौँ — राज्य पुनःसंरचनाका लागि भएको सशस्त्र द्वन्द्वमा होमिएका धेरै जनामध्येका उनीहरू पनि थिए । २०५२ सालदेखि १० वर्षसम्म चलेको द्वन्द्वमा दुई जोडी राजाराम पण्डित–कविता रिजाल तथा रमेश पराजुली–मेनुका सिलवाल पनि परिआए ‘मार्ने र मर्ने’ संकल्पसहित राज्यविरुद्ध लडेका थिए ।

दक्षिणी सुडानमा राष्ट्रसंघीय मिसनमा खटिएका नेपाली सैनिक । तस्बिर : दक्षिणी सुडानका लागि राष्ट्रसंघीय मिसन

उनीहरूलाई त्यस बेला नेपाल सरकारले मात्र होइन, अमेरिकालगायतले ‘आतंककारी’ को सूचीमा राखेका थिए । त्यस्तो ट्याग लागेमध्येका यिनै दुई जोडीले शान्ति पदक पाएका छन् । शान्ति प्रक्रियामा आएको डेढ दशकपछि नेपाली सेनामार्फत दक्षिण सुडानमा खटिएका उनीहरूलाई ‘विश्वशान्ति स्थापना’ मा महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले पदक प्रदान गरेको हो ।

राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानस्थित शान्ति स्थापनार्थ मिसनमा तैनाथ कालीध्वज गण १० औं डफ्फाका यी दुई जोडीलाई असार ३ गते नेपालका अन्य सैनिकसँगै पदक दिएर सम्मान गरिएको नेपाली सेनाले जनाएको छ । राजाराम पण्डित सहसेनानी र कविता रिजाल अमल्दार हुन् । रमेश पराजुली गुल्म कार्य हुद्दा र मेनुका सिलवाल हुद्दा हुन् ।

अवकाश प्राप्त उपरथी विनोज बस्न्यात यो घटनालाई शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण भागको रूपमा लिन सकिने मान्छन् । ‘पहिला उनीहरू माओवादीमा लागे पनि नेपाली सेनामा छिरेपछि विगतलाई बिर्सिए । सेनामा छिरेपछि त्यहाँको मूल्य–मान्यता र अन्तर्राष्ट्रिय छवि छ । त्यसैलाई उनीहरूले आत्मसात गरेका छन्,’ उनले भने, ‘यी पूर्वलडाकुहरू सैद्धान्तिक रूपमा भन्दा पनि तत्कालीन अवस्थामा परिवार र अन्य अवस्थाले माओवादीमा लागेको देखिन्छ । सेनामा छिरेपछि उनीहरू त्यहीअनुसार चल्न थाले ।’

सिद्धान्तअनुसार लागेका माओवादीहरू भने सेना समायोजनमा नबसेको पनि उनले बताए । नेपाली सेनाको अन्तर्राष्ट्रिय छविका कारण उनीहरूले यस्तो मौका पाएको बस्न्यातको भनाइ छ ।

सरकार–माओवादी दुवै पक्षले माओवादीका पूर्वलडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने र स्वैच्छिक अवकाश लिने प्रस्ताव ल्याएका थिए । २०६३ मंसिरमा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो । नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को नेपाल आगमन र बिदाइ तथा त्यसपछि लामो रस्साकसीपछि २०६९ सालमा आएर मात्र सेना समायोजनको काम पूरा भएको थियो । २०६९ भदौ २१ गते सुरु भएको समायोजन छनोट प्रक्रियामा अधिकृतका लागि ७५ सहित पदिक, अन्य दर्जाका लागि जम्मा १४ सय ६० जना पूर्व माओवादी लडाकुले सेनामा समायोजन रोजेका थिए ।

सेनामा समायोजन भएका अधिकांशले यूएनको विश्व शान्ति मिसनमा गरेर काम गरिसकेको सैनिक स्रोतको भनाइ छ । तत्कालीन माओवादी लडाकु सेनामा समायोजनमा भएपछि यमबहादुर अधिकारी अहिले सहायक रथी भइसकेका छन् । उनी माओवादी लडाकुबाट सेनामा समायोजन भएर सबैभन्दा माथिल्लो पदमा पुग्ने व्यक्ति हुन् ।

दक्षिण सुडानमा पदक सम्मान पाउनेमा माओवादी लडाकुबाट सेनामा समायोजन भएर शान्ति स्थापना गर्न गएका दुई जोडीसँगै अर्को एक जोडी सह–सेनानी प्रमोद राउल (श्रीमान्) र सह–सेनानी ऋतु पाण्डे (श्रीमती) पनि रहेका छन् । यसपटक पदक पाउनेमा अर्को संयोग थियो, सेक्टर इस्टका कमान्डर तथा सिनियर नेसनल अधिकृत सहायक रथी दीपककुमार बानियाँ (बाबु) र मेडिकल अधिकृतमा कार्यरत प्राविधिक उपसेनानी डा. दिव्यप्रताप बानियाँ (छोरा) । उनीहरू दुवैले पदक पाएका हुन् ।

हुद्दाहरू रामकुमार खड्का र लक्ष्मण खड्का (जुम्ल्याहा दाजुभाइ) ले पनि एकैपटक पदक पाए । ‘यसपालि एक हिसाबले पदक पाउनेमा संयोग नै पर्‍यो,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

प्रकाशित : असार १४, २०७८ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×