कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विसंगत अवस्थामा कांग्रेस

कांग्रेसमा आन्तरिक विपक्ष कमजोर छ । नेताको दौराको फेरो समातेर हिँड्ने, नेतृत्व रिझाएर माथि उक्लिने चाहनाले सधैं प्रश्रय पायो ।
किशोर नेपाल

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार वक्तव्य प्रकाशित गर्दै आगामी भदौ तेस्रो साता कांग्रेसको चौधौं अधिवेशन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विसंगत अवस्थामा कांग्रेस

विपक्षीले सभापति देउवामाथि लगाइरहेको महाधिवेशन गराउन नचाहेको आरोपको प्रतिवाद गर्न यो वक्तव्य आएको हो, जसले पार्टीभित्र नेताहरूबीचको तिक्तता समाप्त गर्ला–नगर्ला, भन्न सकिँदैन । तर, वक्तव्यले देखाउने एउटा पाटो हो— नेपाली कांग्रेस अहिले निकै ठूलो अलमलमा परेको छ ।

हो, अलमल छ नै । नेपाली कांग्रेस माओवादी केन्द्र र एमालेको नेपाल–खनाल समूहसँग सरकारविरोधी गठबन्धनमा छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा छ । अध्यादेशबाट देश चलाउने प्रधानमन्त्री ओली छन् । चुनावको टुंगो छैन । पार्टीको महाधिवेशन अलमलमा छ । सर्वोपरि, देश महामारीको चपेटामा छ ।

संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको तयारी समयमा गर्न नसक्नु आफैंमा विडम्बनापूर्ण विषय हो । कांग्रेस कार्यसमितिको पाँचवर्षे पदावधि गत फागुनमा पूरा भैसकेको थियो । त्यस बेलासम्म पनि महाधिवेशन प्रतिनिधिहरूको चयन, सदस्यता र प्रदेश निर्वाचनका विवादको टुंगो अहिलेसम्म लागेको छैन । यसैबाट थाहा हुन्छ, पार्टीको अवस्था संगतिपूर्ण छैन । नेतृत्वको चाहना र कार्यकर्ताहरूको अपेक्षाबीच तालमेल छैन । पार्टीमा गुटहरूले प्रभुत्व जमाएका छन् । नेपाली कांग्रेस संस्था कुन गुटले सञ्चालन गरेको छ, त्यो पत्ता लगाउन कठिन छ । सभापति देउवाका नाममा बेग्लाबेग्लै अस्तित्व भएका एक दर्जनजति गुट सक्रिय रहेको बताइन्छ । सभापति देउवाकी धर्मपत्नी डा. आरजु कांग्रेसको सक्रिय राजनीतिमा छिन्, जो आफैं गुट परिचालनमा लागेकी छन् । पार्टीका समस्या छरिएका छन्, जसलाई देखेर सभापति देउवा आफैं पनि सन्तुष्ट नहोलान् । पछिल्लो समय कोरोना महामारीका कारण पार्टीका काम अवरुद्ध भए पनि महामारीको समयमा गर्न सकिने कामसम्म भएका छैनन् । पार्टीलाई राम्रोसँग चलाउने मामिलामा उनी असफल भएका छन् ।

सभापति देउवा कुण्ठित देखिन्छन् । उनी त्यस्तो कुण्ठाको प्रदर्शन बेलाबेलामा आफैं गर्ने गर्छन् । मंगलबार उनले पार्टीका अपेक्षाकृत कम उमेरका केही नेताहरू सांसद गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल लगायतसँग भेटेका थिए । त्यस बेला उठेको सभापति देउवाको उत्तराधिकारी को त भन्ने प्रश्नमा उनको दम्भपूर्ण जवाफ थियो, ‘को छ त को छ, को छ अर्को !’ यसबाट थाहा हुन्छ, सभापति देउवाले पार्टीमा आफूले पत्याउने र आफूलाई विस्थापित गर्न सक्ने कोही देखेकै छैनन् ।

यो उत्तर आफैंमा सभापति देउवाको कुण्ठाको अभिव्यक्ति हो । उनलाई कांग्रेसको आगामी अधिवेशनमा सभापति पदका सम्भावित उम्मेदवारबारे थाहा नभएको होइन । ती उम्मेदवारबारे नेपालका सञ्चारमाध्यममा प्रशस्त समाचार प्रवाहित भैसकेका छन् । कांग्रेसका उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले सभापति पदमा उम्मेदवारीको इच्छा उहिल्यै सार्वजनिक गरिसकेका हुन् । कार्यसमितिका सदस्य शेखर कोइरालाले पनि धेरै अघि उम्मेदवारीको घोषणा गरिसकेका छन् । यसबाहेक, अरू अघोषित उम्मेदवार पनि छन् जो समय आएपछि मात्रै त्यस्तो घोषणाको मनस्थितिमा छन् ।

सभापति पदमा उम्मेदवारीको विषय त्यति बेला सार्थक हुन्छ जति बेला महाधिवेशन यथार्थमा परिणत हुन्छ । कोरोना महामारीका कारण फागुनमा हुनुपर्ने महाधिवेशन भदौ तेस्रो साता हुने भनिएको छ । त्यो अधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्ने प्रस्तावको विरोध स्वयं वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । पौडेलको आशंका छ— सभापति देउवाले आफ्ना प्राविधिकहरू लगाएर इलेक्ट्रोनिक भोटिङ मेसिनमा पनि धाँधली गर्नेछन् । निर्वाचन जिल्ला तहमा गर्ने निर्णय लिन बाँकी नै छ । भदौसम्म महामारी सुस्त वा शान्त भएमा वैकल्पिक व्यवस्था के गर्ने भन्ने प्रश्न पनि छँदै छ । प्रदेश निर्वाचन क्षेत्रमा झन्डै एक सयवटा विवाद यथावत् छन् । पूरै प्रदेश २ मा महाधिवेशन प्रतिनिधिहरूको चयन र सदस्यताको चेकजाँच बाँकी नै छ ।

यी त भए प्राविधिक समस्या जसको समाधान तदारुकतासाथ गर्न नसकिने होइन । त्योभन्दा पर, अहिले नेपाली कांग्रेसमा राजनीतिक दर्शनको संकट पर्न थालेको छ । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले धर्म र राजनीतिलाई एकै ठाउँमा जोड्नुभएको थिएन । उहाँ वर्गीय उत्थानको पक्षमा हुनुहुन्थ्यो— तल्लो वर्गलाई माथिल्लो वर्गमा उत्थान गर्ने समतामूलक, समाजवादी व्यवस्थाका पक्षपाती । तर, अहिले कांग्रेसमा हिन्दु धर्मको प्रभाव बढ्दो छ । अढाई वर्षअघिको महासमिति बैठकमा करिब साढे आठ सय सदस्यले कांग्रेसको नीति हिन्दु धर्मको पक्षमा हुनुपर्ने लिखित माग राखेका थिए ।

कांग्रेस केन्द्रीय समितिका सदस्य शेखर कोइराला भन्छन्, ‘राष्ट्रको धर्म हुन्छ भन्नेमा मेरो विश्वास छैन । धर्म र राजनीतिलाई एकै ठाउँमा जोड्नु हुँदैन भन्ने पक्षमा छु म ।’ तर, यो सत्य हो कि कांग्रेसभित्र हिन्दु धर्मको प्रभाव निकै बढेको छ । संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था खारेज गरेर राजा महेन्द्रले २०१९ सालमा हिन्दु राष्ट्रको धारणा निरन्तर राखे । अहिले हामी गणतन्त्रमा छौं । हाम्रो संविधानले ‘सनातनदेखि चलिआएको धर्म–संस्कृतिको संरक्षण गर्दै’ धर्मनिरपेक्ष नीति अख्तियार गरेको छ । एउटा कुरा म मान्छु— धर्म मानिसको स्वतन्त्रताको विषय हो । कसैले पनि कसैलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउनु हुँदैन । यो मुख्य मान्यता हुनुपर्छ ।

यी देखिने समस्याबाहेक नेपाली कांग्रेस नदेखिने समस्याबाट पनि ग्रस्त छ । कांग्रेसको अहिलेको अवस्था दाह्रा–नंग्रा खुस्किएको बूढो बाघको जस्तो छ । आफ्नो राजनीतिक जीवनमा यो पार्टीले अथक संघर्ष गरेर राणातन्त्रबाट देशलाई मुक्त गरेको छ भने, २०१७ पुस १ को दुर्घटनापछि निरन्तर ३० वर्षसम्म निर्दलीय पञ्चायतको नामले राजाको नेतृत्वमा चलेको तानाशाही व्यवस्थाविरुद्ध कडा संघर्ष गरेको छ । २०४६ सालमा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा भएको कांग्रेस र वामपन्थीको संयुक्त जनआन्दोलनले निर्दलीय व्यवस्थाको अन्त्य गरेको थियो, राजालाई संवैधानिक परिधिमा राखेको थियो र बहुदलीय व्यवस्थाको प्रारम्भ भएको थियो । यो परिवर्तनलाई नेपाली जनताले एक उपलब्धिका रूपमा स्वीकार गरेका थिए तापनि यसका विरुद्ध उठेका राजनीतिक आवाज यथावत् थिए ।

परिवर्तनपछिको चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएको थियो । तर, आन्तरिक सत्ता संघर्षका क्रममा भएको गृहकलहका कारण कांग्रेसको बहुमत विभाजित भयो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि चुनावको घोषणा गरे । पार्टीका लागि मध्यावधि चुनावको घटना दुःस्वप्न साबित भयो । त्यसपछि भएका अनेकौं राजनीतिक प्रयोगका कारण कांग्रेस कमजोर भयो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा भएको २०५६ सालको चुनावपछि कांग्रेस अलिकति बलियो नभएको होइन । त्यो बलको दुरुपयोग भयो । त्यसपछिका घटनाक्रमहरू — राजा वीरेन्द्रको दुःखद वंशनाश, राजगद्दीमा ज्ञानेन्द्र शाह, एकतन्त्रीय शासनको प्रयोगको प्रारम्भ, माओवादी जनयुद्धमा तीव्रता, कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीसँग आठ राजनीतिक दलको सम्झौता र सहकार्य अन्त्यमा गणतन्त्रको आगमन–नयाँ नेपालको प्रारूपका रूपमा देखा परे ।

तर, यत्रो युगान्तकारी घटना र ऊहापोहपछि पनि नेपाली कांग्रेसको अवस्थामा कुनै परिवर्तन आएन । माओवादीलाई हातमा समाएर, डोर्‍याएर गणतन्त्रको ढोका खोल्ने नेपाली कांग्रेस पार्टी संविधानसभाको चुनावमा नराम्रोसँग पराजित भयो । कांग्रेस, एमाले लगायतका दलहरू र सञ्चारमाध्यमहरूले समेत सबभन्दा पुछारमा भनेर पन्छाएको माओवादी पार्टी संविधानसभामा सबभन्दा ठूलो दलका रूपमा देखा पर्‍यो । त्यो पराजयपछि पनि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र देउवा पछिल्लो समय प्रधानमन्त्री भैसकेका छन् । नेपाली कांग्रेसको हालत भने झन्झन् खुम्चिँदै गएको छ । यो पार्टीमा युवाशक्तिको उपस्थिति नै देखिँदैन । पार्टीका युवा नेतृत्व भनेर चिनिएका र प्रशंसा गरिएका गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेहरूको व्यक्तिगत प्रभाव र लोकप्रियताको कुनै राजनीतिक उपयोगिता देखिएको छैन । यी नेताहरू एउटा आन्दोलन हाँक्न पनि सक्षम छैनन् । यिनका हजारौं समर्थक भाषण सुनेर रमाउँछन्, ताली ठोक्छन् तर यिनीहरूको आह्वानमा कुनै आन्दोलन प्रस्ताव गरियो भने त्यसमा झन्डा बोक्न आउँदैनन् । कांग्रेसमा आन्तरिक विपक्ष कमजोर छ । नेताको दौराको फेरो समातेर हिँड्ने, नेतृत्व रिझाएर माथि उक्लिने चाहनाले सधैं प्रश्रय पायो ।

‘शेरबहादुर देउवा २०५१ सालमा गिरिजाप्रसाद कोइरालासँग झगडा गरेर प्रधानमन्त्री भएका थिए । अहिले २०७८ सालसम्म उनी नेतृत्वकै तहमा छन् । यति लामो समयसम्म एउटै नेता केन्द्रीय नेतृत्वमा रहिरहन्छ ?’ युवा नेता प्रदीप पौडेल भन्छन् । उनको विचारमा, ‘‘पार्टीको कार्यशैली नबदलिएसम्म परिवर्तन आउँदैन । ‘नियमानुसार गर्ने’ भाषा बदल्नुपर्छ । पार्टीमा नेतृत्वलाई चुनौती दिन सक्ने साहसी कोही नभएपछि परिवर्तन दोबाटोमै अलमलिन्छ ।”

(बिहीबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : जेष्ठ २६, २०७८ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?