१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३६

सधैं–सधैं अविस्मरणीय

तत्कालीन राजा वीरेन्द्रलाई नेपालका सबै दल वा भिन्न विचार राख्नेहरूले त सम्मान गर्थे नै, अन्तर्राष्ट्रिय जगत्मा पनि उहाँको स्थान धेरै उच्च थियो ।
टीका धमला

आज जेठ १९ गते, राजा वीरेन्द्रको अकल्पनीय अस्त भएको दिन । नारायणहिटी दरबार हत्याकाण्डका बारे मलाई धेरैले सोधिरहन्छन् । त्यस्तो बेला एक मनले भन्छ, कति बयान दिइरहनु, कति एउटै कुरा दोहोर्‍याइरहनु, अब त रोक्नुपर्छ; अर्कोले मनले भन्छ, २०५८ पछि जन्मिएको पुस्तालाई राजा वीरेन्द्रबारे मैले जाने–बुझेको सुनाउनैपर्छ । अनि फेरि कलम–कापी समाउने गर्छु । 

सधैं–सधैं अविस्मरणीय

२०६२/६३ अघि संवैधानिक राजसंस्थात्मक बहुदलीय व्यवस्था थियो । देश त्यसपछि गणतन्त्रात्मक बहुदलीय व्यवस्थामा गयो । आजको भाँडभैलो र अन्योलले गर्दा राजा वीरेन्द्रलाई चिन्ने सबै स्वदेशी–विदेशीले उहाँको शासनकाल झलझली सम्झिरहेको हुनुपर्छ । आज सांसदहरू आफ्नो लोगो लगाएर हिँड्दा आफ्नै जनताबाट असुरक्षित ठान्छन्, किन ? सांसदहरूले ‘लोगो लगाएर हिँड्नै लाज भो’ भन्ने गरेका सञ्चारमाध्यमहरूमा प्रशस्तै आउँछन् । यसको मतलब, के हाम्रो सबै तहका अधिकांश राजनीतिकर्मी भारतीय आध्यात्मिक व्यक्तित्व रजनीशले कुनै बेला भनेझैं बेकामे भएका हुन् त ?

रजनीशले एउटा प्रवचनमा भनेका थिए, ‘अहिलेको राजनीति डकैतीको आधुनिक संस्करणजस्तै भएको छ ।’ यसलाई प्रस्ट्याउन उनले डाकु र मन्त्रीको संवाद सुनाए, जुन यसप्रकार थियो— डाकुले एक दिन मन्त्रीलाई भनेछ, ‘मन्त्रीज्यू, तपाईं र हामी उस्तैउस्तै हौं । दुवैलाई जनताले नै बनाएका हुन् । तपाईंलाई भोट दिएर बनाए, हामीलाई नोट दिएर । तपाईंसँग सत्ता छ, हामीसँग बन्दुक । हामी दुवैको निसाना अचुक छ । हामी अड्डा परिवर्तन गरेर बाँचिरहेका छौं, तपाईंहरू दल परिवर्तन गरेर । वास्तवमा हामी एकआपसका घनिष्ठ मित्र हौं किनकि जनता लुट्न हामी दुवै माहिर छौं । हामी दुवैको बाटो हेर्दा अलग देखिए पनि, उद्देश्य समान छ— नगद बटुल्नु । हामी दुवैसँग पुलिस हरहमेसा हुन्छ; तपाईंहरूको अगाडि हुन्छ, हाम्रो पछाडि । आज हामी एउटा सम्झौता गरौं । हामीले बैंक लुट्ने दिन आसपासमा तपाईंले आमसभा गरिदिनुहोस्, ताकि जनता र पुलिसको ध्यान त्यतै जाओस् र बैंक लुट्न सजिलो होस् । यसको बदलामा हामी तपाईंलाई आगामी चुनावमा मद्दत गरौंला ।’ अहिलेका नेपालका अधिकांश राजनीतिकर्मी रजनीशले उदाहरण दिएको मन्त्रीजस्तै छन् कि छैनन्, विचार गर्नुपर्ने बेला भएको छ । उनको यो उदाहरणले सही नेतृत्व नहुँदा देशमा भाँडभैलो हुन्छ भन्ने सन्देश दिन्छ । राजा वीरेन्द्रको असामयिक देहावसानपछि, नेपालको माटोले भनिरहेको छ— नेताहरू, राजा वीरेन्द्रको नेतृत्वको कदर गर, सबै नेपाली अटाउने राजनीतिको व्यवस्था गर । निषेधको राजनीति बन्द गर । सत्तामा बस्नेहरूले आफू मात्रै ठीक, अरू बेठीक नभन । राजा वीरेन्द्रले जस्तै विद्यमान नियम–कानुनको अक्षरशः पालना गर ।’

बडामहाराजा पृथ्वीनारायण शाहले एकीकरण गरेको यो देश चार जात छत्तीस वर्णको साझा फूलबारी हो । यसमा राजा महेन्द्रले शल्यक्रिया गरी राष्ट्रियताको मुटु प्रत्यारोपण गर्नुभयो । राजा वीरेन्द्रले मेचीदेखि महाकालीसम्म, तराईदेखि हिमालसम्मका सबै जातजाति र भाषाभाषीहरूलाई एकसूत्रमा गाँसी नेपाल राष्ट्र र राष्ट्रियतालाई अटल बनाइराख्न राजा र जनताको हातेमालोबाट प्रजातान्त्रिक अभ्यास गराउनुभयो । क्षेत्रीय र अन्तर्राष्ट्रिय परिवेशमा आफ्नै मौलिक संस्कृति र परम्परामा आधारित प्रजातान्त्रिक व्यवस्थाका लागि राजा वीरेन्द्रसगै बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारीलगायत सबै नेपालीको होस्टे र हैंसेमा अघि बढेको देश हो— नेपाल ।

राजा वीरेन्द्रको जस्तो स्वच्छ नेतृत्व नहुँदा कोभिडलगायत अन्य कारण आज हामी नैराश्यको उत्कर्षमा पुगेका छौं । नेपाल मणि हराएको सर्पजस्तो भएको छ । राज्य सञ्चालनका अधिकांश निकायले बाटो बिराइरहेका छन् । एकातिर जनताको असन्तुष्टि छताछुल्ल छ, अर्कातिर देश हाँक्नेहरूको व्यक्तिगत स्वार्थका लागि भएको लडाइँको पराकाष्ठा, जसका कारण नेपाल असफल राष्ट्र हुने दिशातिर धकेलिइरहेको छ । अहिलेको व्यवस्थाप्रति दिन–प्रतिदिन बढ्दै गएको असन्तोष, उदासीनता, नैराश्य र विरोधका कारण यसको विकल्प खोज्न सुरु भैसकेको छ । अहिलेको संविधानलाई आमूल परिवर्तन नगरी नेपालको समग्र विकास नहुनेमा देशी–विदेशी शक्तिकेन्द्र, बुद्धिजीवी, राजनीतिक विश्लेषकहरू र आमजनता स्पष्ट भैसकेका छन् । तर सत्ताको हालीमुहाली गरिरहेका सबै तहका प्रायः नेतृत्व महाभारतको धृतराष्ट्र बनी कहिले यता, कहिले उताको आड र भरोसामा राष्ट्रिय एकतालाई धुजाधुजा पार्दै छन्; निषेधको राजनीतिमा लिप्त छन् ।

आजको युगमा कुनै पनि देश निषेधको राजनीतिले पार लाग्नेवाला छैन । ‘अरूलाई सक्छु, म मात्रै हालीमुहाली गर्छु भन्नेहरू’ कालान्तरमा आफैं सकिन्छन् । सबै सकिने राजनीति कसैले पनि नगरौं । नेपालको राजनीतिको वर्तमान शीर्ष नेतृत्व र भविष्यका नेतृत्वका आकांक्षीहरू एउटा सानो गुटमा मात्रै सीमित रहेर कसरी देश चलायमान होला र ? अहिलेको विपत्का बेला राजा वीरेन्द्रले जस्तै सबैलाई समेट्न सक्ने सबल नेतृत्वको खाँचो छ । राजा वीरेन्द्रलाई देशभित्रका राजनीतिक दलहरू वा भिन्न विचार राख्नेहरूले त सम्मान गर्थे नै, अन्तर्राष्ट्रिय जगत्मा पनि उहाँको स्थान धेरै उच्च थियो । सार्कको त उहाँ इन्जिनियरै हुनुहुन्थ्यो । संयुक्त राष्ट्रसंघ, असंलग्न सम्मेलन, भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलन, निर्धन राष्ट्रहरूको सम्मेलन आदिमा सबल नेतृत्व र दूरदर्शिताका कारण उहाँको स्थान धेरै उचो थियो, जसले गर्दा नेपाल र नेपालीलाई विश्वमानचित्रमा सम्मानका दृष्टिले हेरिन्थ्यो । तर, आज हामी कहाँ छौं ? अहिलेको नेतृत्वले फर्केर हेरेका छन् कि छैनन् ?

राजा वीरेन्द्र नेपाल र नेपालीका आशाको केन्द्र हुनुहुन्थ्यो । उहाँको कालमा नेपाल आफूले धान्न सक्ने र देश सुहाउँदो प्रजातान्त्रिक अभ्यासतिर अघि बढ्दै थियो । त्यसैले त, उहाँकै कालमा शासन व्यवस्थाको छनोटका लागि जनमतसंग्रह भयो । शासन व्यवस्थाका लागि जनमत गराउने राजा संसारमै विरलै होलान् । उहाँको दरिलो आँटले नै यस्तो सम्भव भएको थियो । ‘मैले हारे पनि, नेपालले जितेमा आखिरमा जित मेरै त हुन्छ’ भन्ने सोच उहाँमा थियो । त्यसैले त उहाँको कार्यकालमा नेपाल र नेपालीले हार्ने काम कहीँ–कतै भएन । २०३६, २०४२ र २०४६ सालका राजनीतिक उतारचढावमा कतै कसैसँग नझुकी आफ्नै जनतासँग बृहत् छलफल गरी सही निकास निकाल्ने काम भयो ।

राजा वीरेन्द्रको एउटा अनौठो बानी थियो— बलियालाई शंका गर्ने, निर्धालाई माया । २०३८ सालमा विकास क्षेत्रको भ्रमणको सिलसिलामा दिपायलमा एक दिन बेलुका पञ्चायतकालका एक मन्त्रीलाई दर्शनभेट भएको थियो । दर्शनभेटपछि सवारी क्याम्पवरिपरि पैदल हिँड्दा मलाई राजाले भन्नुभयो, ‘अघि मैले भेटेको मन्त्रीलाई चिन्छौ ? यो मानिस अलि खराब छ रे, जनतालाई दुःख दिन्छ रे, यसको ठाउँमा त्यसै इलाकाको अर्को कुनै राम्रो मानिस खोज्नुपर्छ । महिला पाए झनै राम्रो हुन्थ्यो । तिमीले कोही चिनेका छौ ?’ उहाँबाट यस्तो सुन्दा मलाई अचम्म लागेको थियो । त्यसकै केही दिनपछि राजाबाट तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका त्यसै इलाकाका शीर्ष नेता, पन्त थरका एक व्यक्तिलाई दर्शनभेट भयो । दर्शनभेटपछि पन्तजी प्रफुल्ल मुद्रामा निस्केका थिए । केही दिनपछि उनले आफ्ना समकक्षीसँग ‘राजा वीरेन्द्र हामीभन्दा पनि बढी प्रजातन्त्रवादी रहेछन्, हामी पनि अब गोप्य रूपमा राजासँगै मिलेर देशमा प्रजातन्त्र ल्याउनुपर्छ’ भनेको सुनियो । यसरी राजा वीरेन्द्रबाट सबै नेपालीप्रति समय र परिस्थितिको सीमाभित्र रहेर समान व्यवहार हुन्थ्यो । यस्ता उदाहरण कैयौं छन् ।

राजा वीरेन्द्रका पालामा राजा र जनताको सम्बन्ध धेरै राम्रो थियो । सबै नेपालीले आआफ्नै मौलिक संस्कृति र परम्परामा रमाएर बाँच्न पाउनुपर्छ भन्ने सोच राख्ने विशाल हृदय भएका राजा हुनुहुन्थ्यो, उहाँ । सबै समुदायका चाडपर्वमा सम्मिलित हुने राजा । उहाँको कार्यकालमा कसैको पनि अस्तित्व मेटिने र मेटाउने काम भएन जसले गर्दा सबै जातजाति, भाषाभाषीमा गहिरो मिलाप थियो ।

जनताले राजाकै छत्रछायामा प्रजातन्त्रका लागि आफ्नो प्राणको आहुति दिएर सहिद भएको र राजा स्वयं प्रजातन्त्रका सहयात्री भएको इतिहास छ, नेपालमा । जनता आफैं निर्णायक हुन् र हामी जे–जे गर्छौं, ती सबैमा जनताको इच्छा, आशा र आकांक्षा प्रतिविम्बित हुनुपर्छ भन्ने राजा वीरेन्द्रलाई, नेपालको माटो रहेसम्म कसैले बिर्सनै सक्दैन ।

(राजा वीरेन्द्रका अंगरक्षक रहेका धमला नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।)

[email protected]

प्रकाशित : जेष्ठ १९, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?