कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैक्षिक संकट क्षेत्र

अनलाइन वा अफलाइन पढ्दै गरेका सबै विद्यार्थीलाई उनीहरू समाजमा, आफ्नै घरवरपर सक्रिय भएबापत अंक दिइनुपर्छ ।
टीका भट्टराई

यो लेखन अभिभावकका दृष्टिले जसमा लक्षित गरिएको छ, सम्भवतः, उहाँहरूले पढ्न कमै पाउनुहुन्छ । नीतिनिर्माता तथा सञ्चारकर्मीहरूले मनन र कार्यान्वयन योग्य सम्झनुभयो भने केही फरक पार्ला । सत्ता जोगाउने कसरतमा त नाथे शिक्षाको के कुरा ! कुरा भइहाले पनि भए पनि हरेक तवरबाट शिक्षाका नाममा त्यसका वरिपरि हुने औपचारिक प्रक्रियाहरूको कुरा हुन्छ । 

शैक्षिक संकट क्षेत्र

हामीकहाँ शिक्षा मन्त्रालय हैन, शिक्षा (प्र)शासन मन्त्रालय मात्र छ । यस्तो अवस्थालाई इभान इलिचले शिक्षाको तामझाम नै शिक्षा ठहरिन थालेको भनेका थिए । यो त्यति अनौठो विषयचाहिँ होइन । केही वर्षअगाडि कृषिका नीतिको अध्ययन गर्दा के थाहा भयो भने, खेती खानाका लागि भनेर हाम्रो देशका नीतिहरूमा कतै लेखिएको पनि रहेनछ ! आफैं अभिभावक वा उपभोक्ता भएर विचार नगरिएसम्म नीतिहरू खाना वा सिकाइसम्म आइपुग्न गाह्रो हुने रहेछ । मन्त्रालयहरू परियोजना तथा परीक्षामा केन्द्रित छन् । सिकाइ हुनु वा नहुनु, खाना हुनु वा नहुनु भन्ने कुरा व्यक्ति वा परिवारको तजबिजमा छ । सायद अलि असल कुरो के हो भने, शिक्षाजस्तो सरकारले खाना वा जमिनको राष्ट्रियकरण गरेको छैन (त्यसैले पुनर्वितरण पनि गर्न सकेन, त्यो अलग कुरा हो) ।

कम से कम जमिन हुने जनसाधारणले संकटका बेला पनि आफ्नो खाना बन्दोबस्त गर्ने क्रम टुङ्ग्याउनुपरेको छैन । स्वास्थ्यमा पनि सरकारले शिक्षामा जस्तो जिम्मा लिएको छैन । शिक्षा भने सरकारले समाजबाट लिएर निजीका पोल्टामा समेत हालिदियो । यसको असरबारे पुस्तौंपुस्तासम्म छलफल हुने नै छ । अहिले त अझ ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ जस्ता शब्दावलीको तामझाम पनि थपिसक्यौं । अहिले त्यो छलफलको विषय होइन । जे–जे भए पनि केटाकेटीलाई शिक्षा र अझ अक्षर चिनाउने र लेखाउने जिम्मेवारी परिवारबाट विद्यालयमा सरेको छ । लेखकका पुस्तासम्म त्यो परिवारमै थियो, यद्यपि यो निश्चित समुदाय र परिवारहरूमा सीमित थियो । संकटका बेला शिक्षालाई यस यथार्थबाट हेरिनु अझ जरुरी छ ।

यति बेला देशभर, विश्वभर कोभिड महाव्याधिका कारण गुमेको वा ढिलो भएर अप्ठेरो पर्ने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र केटाकेटीको साक्षरता हो । अक्षर चिनेका र पढ्न–लेख्न जानेका केटाकेटीसँग थुप्रै निर्देशनात्मक काम हुन सक्छन् । गए साल मन्त्रालयले सबै कक्षाका पाठ टीभी वा इन्टरनेटमा उपलब्ध गराउने प्रशंसनीय काम गरेकै हो । यो नेपाली विद्यार्थीका लागि उपयुक्त नेटमा उपलब्ध हुने सामग्रीका हिसाबले महत्त्वपूर्ण फड्को हो तर लेख्न–पढ्न सिकाउने काम भने विद्युतीय प्रविधिबाट शिक्षा लिन पाउने सुविधा भएकाहरूमा पनि निकै कठिन छ । घरका अभिभावक यस्तो काम गर्न नसक्ने भएमा त्यो काम निकै चुनौतीपूर्ण छ । यसमा शिक्षाकर्मी, शिक्षावादी, शिक्षाविद्, शिक्षा अर्थशास्त्री सबैको ध्यान जानु जरुरी छ । केटाकेटीलाई ‘माइनर’ याने खुद्रा भनिने र लिइने मानसिकता छ । स्वाभाविक रूपमा अभिभावक पनि लगानी धेरै भइसकेका ठूला छोराछोरीमै जोखिमको कुरा गर्छन् । कुरा माथिल्ला कक्षाहरूको मात्र हुने गर्छ । माथिल्ला कक्षाहरूमा भन्दा केटाकेटीमा साक्षरता ढिलो भएको मूल्य धेरै हुनेछ । निवृत्त सेलेब्रिटी शिक्षक धनञ्जय शर्मा थप्छन्, ‘उनीहरू त्रासपूर्ण कुरा सुन्छन् । सबै बुझ्दैनन्, त्रास पालेर बस्छन् । यसले उनीहरूमा यसको दीर्घकालीन मानसिक आघात हुने डर पनि छ ।’ यो घाटाको कम गर्न यहाँ एकाध उपाय सुझाउन कोसिस गरिएको छ ।

कक्षा र परीक्षामा केन्द्रित हाम्रो मानसिकता तुरुन्त बदल्न सम्भव छैन । यो विषय चर्चामा आउनु र महसुस गरिनु महत्त्वपूर्ण छ । अनलाइन पढ्दै गरेका वा अफलाइन पढ्दै गरेका सबै विद्यार्थीलाई उनीहरू समाजमा, आफ्नै घरवरपर सक्रिय भएबापत अंक दिइनुपर्छ । यस्तो मानकीकरण याने एक्रेडिसन वर्तमान प्रणाली सिकाइ अभिमुख गर्ने महत्त्वपूर्ण औजार हो । यति बेला तहअनुसार विद्यार्थीले कोभिडकै बारेमा भए–गरेका जानकारी हरेक विषयका दृष्टिले संकलन र प्रस्तुत गर्न सक्छन् । यो शिक्षकहरूका सङ्घ–महासङ्घहरूमार्फत, विभागमार्फत र सबै शिक्षकमार्फत गर्न सकिन्छ । यसरी गर्न दिइने अरू काममा आफ्ना भाइबहिनी, छरछिमेकका केटाकेटीलाई साक्षर बनाउने कामलाई महत्त्वका साथ हेर्नुपर्‍यो । त्यस्ता केटाकेटी विद्यालय भर्ना भएका वा नभएका जेसुकै हुन सक्छन् । सम्भवतः छ कक्षादेखि माथिका केटाकेटीले यो काम गर्न सक्छन् । सरकार, अभिभावक, विद्यार्थी सबैको हितमा छ यो । पढाइलाई सिकाइमा रूपान्तरित गर्ने काम संस्थागत गर्ने अवसर पनि हो यो ।

सहरी केटाकेटीहरूमा मनोवैज्ञानिक त्रासको समस्या अझ धेरै हुने देखिन्छ । किनभने उनीहरू आफ्ना गाउँले समकक्षीभन्दा बढी सञ्चार माध्यमको प्रभावमा पर्छन् । यद्यपि आजकल विकट बस्तीका घाँसफुसका छानामा पनि टीभीको डिसका च्याउ उम्रिरहेका छन् । सहरी केटाकेटीहरूसँग बाहिर खुलामा निस्कने अवसर पनि कम छ । विश्वभरकै मनोवैज्ञानिकहरू मिलेसम्म प्रकृतिको सान्निध्य र अन्तरक्रियाले मनको घाउमा मल्हमको काम गर्ने कुरामा सहमत छन् (अंग्रेजी भाषा र विद्युतीय प्रविधिमा पहुँच हुनेहरूका लागि फ्रान्सिस बर्नेटको ‘द सिक्रेट गार्डेन’ पुस्तक र त्यसमा आधार राखेर बनाइएका सिनेमाहरू एवम् त्यसका समीक्षाहरू यस विचारमा सहायक एउटा सम्भ्रान्त उदाहरण हुन सक्छ) । प्रकृतिमा रमाउन अवसर हुने–नहुने दुवैलाई खेत–बगैंचामा गरिने कामले यो अन्तरक्रियालाई अझ सघन बनाउँछ । अझ अभिभावकको संवाद र सहयोगसहित यस्तो काम भएमा अनगिन्ती फाइदा हुनेछन् । यो काम ‘इस्कुलको कलि’ लागेर माटो छुँदा मरेतुल्य सम्झने बनेर हुर्काइएका ठूला केटाकेटीभन्दा ससाना नानीहरूमा सम्भव छ । यद्यपि प्रौढहरूलाई पनि यसले त्यत्तिकै फाइदा पुर्‍याउँछ ।

(शिक्षाकर्मी भट्टराई शिक्षा नीति तथा अभ्यास केन्द्रसँग सम्बन्धित छन् ।)

[email protected]

प्रकाशित : जेष्ठ १८, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?